नेपाल इन्स्योरेन्सका सञ्चालक श्रेष्ठले दिए राजिनामा
काठमाडौं । नेपाल इन्स्योरेन्सका सञ्चालक रोमलकृष्ण श्रेष्ठले राजिनामा दिएका छन् । कार्तिक २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनको राजिनामालाई स्वीकृत गरिदिएको हो ।
काठमाडौं महानगरपालिकाका सहकारीलाई पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न आग्रह
काठमाडाैं । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका सबै सहकारीलाई आगामी पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न आग्रह गरेको छ । कामपा सहकारी विभागले उक्त मितिसम्ममा साधारणसभा सम्पन्न गरी त्यसको १५ दिनभित्र प्रतिवेदन ल्याउन आग्रह गरेको हो । कोरोना भाइरसका कारण धेरै सहकारीले साधारणसभा गर्न बाँकी रहेको अवस्थामा सहकारीहरुलाई स्वास्थ्य मापदण्ड पालना गर्दै साधारणसभा सम्पन्न गर्न यस किसिमको आग्रह गरिएको विभागका उपनिर्देशक सुमन अधिकारीको भनाइ छ । सहकारीहरुले साधारणसभा (कार्यव्यवस्था निर्देशिका, २०७६) बमोजिम गणपूरक सङ्ख्या पु¥याएरमात्र साधारणसभा गर्नुपर्नेछ । हाल कामपामा सञ्चालनमा रहेको एक हजार ८५६ सहकारी घटाएर ७०० बनाउने कामपाको लक्ष्य रहेको छ । यसरी सहकारीलाई एकीकरण गर्नका लागि पनि साधारणसभा आवश्यक पर्छ । सहकारी ऐन, २०७४ र कामपाको सहकारी ऐन, २०७४ अनुरुप कानूनीरूपमा नै एकीकृत गर्न सकिने व्यवस्था छ । सहकारीलाई एक बनाउन दुई सहकारी एकअर्कामा एकीकृत हुन तयार रहनुपर्छ । एकीकृत हुन चाहने दुईवटै सहकारीले कामपाको सहकारी विभागमा निवेदन दिनुपर्छ । त्यसपछि कामपाले थप प्रक्रिया अघि बढाउने छ । सहकारी गाभ्न कामपाको चाहनाले मात्र नहुने हुँदा सञ्चालकले इच्छा राख्नुपर्दछ । समान प्रकृतिका सहकारी एकापसमा गाभ्न सकिने छ । कामपामा सबैभन्दा बढी बचत तथा ऋण सहकारी एक हजार ६४४, बहुद्देश्यीय १५६ र विषयगतअन्तर्गत उपभोक्ता, दुग्ध, कृषि, शिक्षा, सञ्चारलगायत सहकारी छन् । संवैधानिक व्यवस्थाअनुसार १ साउन ०७५ सालदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेज भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन गर्नुपर्ने व्यवस्था रहेको छ ।
गण्डकी प्रदेशका ११ जिल्लामा कृषि बीमा निःशुल्क
म्याग्दी । म्याग्दीलगायत गण्डकी प्रदेशका ११ जिल्लामा निःशुल्क कृषि बीमा कार्यक्रम लागू भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बाली र पशु बीमा गर्दा कृषकले तिर्नुपर्ने प्रिमियम शुल्क उपलब्ध गराउने कार्यक्रम ल्याएको हो । सङ्घीय सरकारले कृषि बीमाको प्रिमियम शुल्कमा ७५ प्रतिशत अनुदान दिँदै आएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र म्याग्दीका प्रमुख नारायण कुसुमले कृषकले तिर्दै आएको प्रिमियम शुल्कको २५ प्रतिशत रकम अनुदान दिएर कृषि र बाली बीमालाई निःशुल्क बनाउन लागिएको जानकारी दिए । “यस वर्षदेखि प्रदेश सरकारले कृषि बीमालाई निःशुल्क बनाएको छ”, उनले भने, “कृषि बीमाप्रति आकर्षण बढ्ने र कृषकलाई हानी नोक्सानीको क्षति कम भएर राहत मिल्ने तथा व्यवसायबाट पलायन हुनबाट बचाउँछ ।” विसं २०७७ साउन १ गतेदेखि कृषि बीमा गरेका कृषकलाई बीमा शुल्क तिरेको बिललगायतका कागजातसहित निवेदन दिन कृषि र पशु केन्द्रले आग्रह गरेको छ । आगामी २०७८ असार १५ गतेसम्म निवेदन दिन सक्ने भए पनि पहिला निवेदन दर्ता गर्नेले प्राथमिकता पाउने कार्यविधि छ । प्रदेशका सबै जिल्लामा यो कार्यक्रम लागू भएको हो । बीमा गर्ने कृषकलाई अनुदान दिन म्याग्दी र मुस्ताङ जिल्ला कार्यक्षेत्र भएका बेनीस्थित भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रलाई रु४५ लाख र कृषि ज्ञान केन्द्रमा रु चार लाख बजेट आएको छ । यसैगरी बाँझो जमिनमा खेती गर्ने कृषकलाई अनुदान दिने कार्यक्रमसमेत प्रदेश सरकारले ल्याएको छ । कम्तीमा तीन वर्षदेखि बाँझो जमिनमा खेती गर्ने कृषकलाई प्रतिरोपनी तीन हजार अनुदान दिइने कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए । “यो कार्यक्रमका लागि रु २४ लाख बजेट पठाएको छ”, उनले भने, “इच्छुक कृषकलाई आवेदन दिन सूचना जारी गरेका छौँ ।” यस्तै कम्तीमा दुई रोपनी वा न्यूनतम २०० वर्गमिटर क्षेत्रफलको प्लाष्टिक घरभित्र वार्षिक दुई सिजन तरकारी खेती गर्नेलाई प्रतिरोपनी रु तीन हजारका दरले अनुदान दिने कार्यक्रम पनि रहेको छ । प्लाष्टिक घरभित्र गर्ने कृषकलाई प्रति १०० वर्गमिटर तीन हजारका दरले प्रोत्साहनस्वरुप नगद अनुदान दिन १५ लाख बजेट पठाएको छ । यसैगरी कृषकलाई दूध उत्पादनका आधारमा अनुदान उपलब्ध गराउने व्यवस्था मिलाएको छ । दूध उत्पादन गरेर सहकारीमार्फत बिक्री गर्नेहरुका लागि कार्यविधि र मापदण्डअनुसार अनुदान उपलब्ध गराउन ५१ लाख ४० हजार बजेट आएको छ । कृत्रिम गर्भाधानबाट जन्मिएका २०० पाडापाडी एक वर्ष पालेर हुर्काएबापत रु १० हजारका दरले उपलब्ध गराउन रु २० लाख बजेट विनियोजन भएको छ । रासस