नेपाल लाइफ र हिमालय स्पोर्ट्सबीच विश्वकप प्रसारण सहकार्य

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा हुने फिफा विश्वकप २०२६ को प्रसारणका लागि हिमालय स्पोर्ट्स सँग सह–प्रायोजकको रूपमा सहकार्य गरेको छ ।

यस सहकार्यअन्तर्गत नेपाल लाइफ फिफा विश्वकप २०२६ को प्रसारणमा हिमालय स्पोर्ट्स टिभी तथा डीगो एप मार्फत सहभागी हुने बताइएको छ ।

यस अवसरमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले विश्वकै सर्वाधिक लोकप्रिय खेल महोत्सवसँग सहकार्य गर्न पाउनु गर्वको विषय भएको बताएका छन् ।

उनले फिफा विश्वकप २०२६ ले विश्वभरका अर्बौं दर्शकलाई एकताबद्ध गर्ने भएकाले यस ऐतिहासिक प्रतियोगितासँग जोडिनु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे ।

पराजुलीका अनुसार यस सहकार्यले नेपाली दर्शकलाई विश्वकपको उत्साह अझ नजिकबाट अनुभव गराउने मात्र होइन, नेपाल लाइफको ब्राण्डलाई खेलप्रेमीहरूसँग थप सशक्त रूपमा जोड्ने विश्वास गरिएको छ । 

Share News