अधिकतम मूल्यमा भयो सानिमा जनरल इन्स्योरेन्सको पहिलो कारोबार, खरिद बिक्रीको अर्डर शून्य
काठमाडौं । दोश्रो बजारमा सानिमा जनरल इन्स्योरेन्स कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३११ रुपैयाँमा भएको छ । जुन नेप्सेले तोकेको मूल्यको अधिकतम मूल्य हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता न्युनतम १०३.७३ रुपैयाँदेखि अधिकतम ३११.१९ रुपैयाँ तोकेको थियो । बुधबार नेप्सेको स्पेसल प्रिओपन सेसन (बिहान १०ः३० देखि १०ः४५) मा कम्पनीको पहिलो कारोबार भएको हो । साे अवधिमा कम्पनीकाे २० कित्ता सेयर प्रतिकित्ता ३११ रूपैयाँकाे दरमा काराेबार भएकाे छ । त्यसपछिकाे बजारमा कम्पनीकाे सेयर मूल्य १२ रूपैयाँले बढेर बढेर प्रतिकित्ता ३२३ रूपैयाँ पुगेकाे छ । जुन प्रतिशतकाे आधारमा ३.८६ प्रतिशतले बढी हाे । याे समाचार तयार पार्दासम्म कम्पनीकाे सेयर किनबेचकाे लागि कसैले पनि अर्डर गरेका छैनन् । कम्पनीको सेयर गत मंगलबार(कार्तिक १८ गते) नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीको अंकित मूल्य एक सय रुपैयाँ कायम भएको एक करोड कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो ।
आरएमडीसी लघुवित्तको नाफा ६ करोड बढी, प्रतिसेयर नेटवर्थ २५३ रुपैयाँ
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा साढे १७ प्रतिशत घटी हो । गत आर्थिक वर्षमा संस्थाले ७ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा संस्थाले १० करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुत गत आवको तुलनामा एक करोड ६७ लाख रुपैयाँ घटी हो । संस्थाले गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ११ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । त्यस्तै, सो अवधिमा लघुिवत्तको सञ्चालन नाफा ११ करोड ५६ लाख रुपैयाँबाट घटेर ९ करोड ६१ लाख रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा लघुवित्तको निक्षेप संकलन ७ अर्ब ५५ करोड रुपैयाँबाट घटेर ६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा लगानी ८ अर्ब ११ करोड रुपैयाँबाट बढेर ८ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । हाल एक अर्ब ३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस संस्थाको जगेडा कोषको रकम बढेर एक अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, संस्थाको प्रतिसेयर आम्दानी(वार्षिक) २३.४३ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ २५३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३६.५३ गुणा रहेको छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९ सय ५६ रुपैयाँ रहेको छ । त्यसैगरी, लघुवित्तको कष्ट अफ फण्ड घटेर ५.५९ प्रतिशत र निष्क्रिय कर्जा बढेर ०.००५९ प्रतिशतमा रहेको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद(कर समेत) गरी २० प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ । संस्थाकाे उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरिसकेकाे छ भने संस्थाकाे आगामी वार्षिक साधारणसभाले भने पारित गर्न बाँकी रहेकाे छ । सभाले पारित गरेसँगै सेयरधनीले साे मात्राकाे लाभांश पाउनेछन् । ८९ करोड ९३ लाख रुपैयाँ संस्थाकाे चुक्ता पुँजी १५ प्रतिशत बोनस सेयर पश्चात १ अर्ब ३ करोड रूपैयाँ पुग्ने छ ।
सिभिल लघुवित्तको अध्यक्षमा रायमाझी, सञ्चालकमा नेवा र ढकाल नियुक्त
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा सचिन जङ्ग रायमाझी नियुक्त भएका छन् । कार्तिक १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले सचिन जङ्ग रायमाझी, सचिन नेवा र आँचल ढकाललाई सञ्चालक पदमा नियुक्त गरेको थियो । सोही बैठकको निर्णय अनुसार सञ्चालक समितिको रिक्त रहेकाे अध्यक्ष पदमा रायमाझीलाई चयन गरेको हो । बैठकले संस्थापक सेयरधनी सिभिल बैंकको तर्फबाट प्रतिनिधिको रुपमा मनोनयन भएका तीनै जनालाई कार्तिक १८ गतेदेखि लागू हुने गरी नियुक्त गरेको हो ।