टिभी, दराज, टेबल, कम्युटर, फोन फुटे वा आगलागी भए क्षतिपूर्ति पाइने गरी बीमा गर्न मिल्छ ? कति लाग्छ शुल्क ?
काठमाडौं । टिभी, दराज, टेबल, कम्प्युटर, ल्यापटप, मोबाइल फोन वा यस्तै सामान आगामी, भुकम्प वा अन्य कुनै कारणबाट टुटफुट वा आगलागीमा परी क्षति भएमा के गर्ने भन्ने चिन्तामा हुनुहुन्छ भने विकल्प छ । कामै नलाग्ने गरी फुटेको, आगलागीमा परी जलेको वा नास भएको सामानको क्षतिपूर्ति पाइने गरी बीमा गर्न पाइने भएकोले यसको विकल्प देखिएको हो । घरायसी तथा विद्युतीय सामाग्रीको बीमा गर्न पाइने व्यवस्था अहिले पनि कार्यान्वयनमा छ । अधिकांश बीमा कम्पनीहरुले यस्तो बीमा गराइरहेका पनि छन् । घरायसी सामानको बीमा गर्दा बीमा शुल्क धेरै बुझाउनु पर्दैन । यस्तै, घरायसी सामानहरुको बीमा प्याकेजमा समेत उपलब्ध हुन्छ । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले घरायसी सामानको बीमा गर्दा प्राकृतिक जोखिममा र अन्य विपत्तीबाट भएको क्षतिको क्षतिपूर्ति पाइने भएकोले यसको महत्व धेरै रहने बताए । ‘हाउसहोल्ड पोलिसीबाट यस्ता वस्तु तथा उपकरणहरुको बीमा गर्न मिल्छ, घरलगायत घर तथा सम्पत्तीको बीमा एकै पटकमा गर्न मिल्छ, तर त्यसरी बीमा गराउदा आफ्नो सामानको विवरण भने स्पष्ट तरिकाले पेश गर्नुपर्छ’, सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले विकासन्युजसंग भने । हरेक घरहरुमा विभिन्न किसिमका जोखिम हुने भएकाले हाउसहोल्ड बीमाले सबैलाई साथ दिने उनले बताए । नयाँ स्मार्ट टिभीको पनि बीमा गर्न सकिन्छ भने पुरानो टिभीको पनि बीमा हुन्छ । सम्पत्तीको भ्यालुयसन अनुसार बिमांक तोकिन्छ । फाल्ने बेलामा पुगेकाबाहेक अन्य सामानहरुको भने बीमा गर्न मिल्ने बीमा कम्पनी बताउछन् । यस्तो अवस्थामा पाइन्छ दाबी भुक्तानी बाढी, पहिरो, भुइचालो, आगलागी जस्ता प्राकृतिक विपतहरुका कारण टिभी, मोवाइल, कम्प्युटर जस्ता घरायसी सामाग्रीहरुमा क्षति पुगेमा बीमा कम्पनीबाट क्षतिपूर्ति पाइन्छ । यस्तै, बीमा गरिएका सामान चोरी भएको अवस्थामा पनि बीमा दाबी गर्न पाइन्छ । कति लाग्छ बीमा शुल्क ? हाउसहोल्ड पोलिसीबाट बीमा गराउँदा १ लाखको २ सय रुपैयाँका दरले बीमा गराउन सकिन्छ । यो बीमा पोलिसीले अग्नि, भुकम्प तथा हावाहुरीबाट हुने जोखिमको बीमा हुनेगर्छ । यस्तै, इलेक्ट्रोनिक इक्यूपमेन्ट पोलिसी अनुसार बिजूली सट हुदा, जल्दा विद्युतीय उपकरणहरुको दाबी भुक्तानी लिन सकिन्छ । उक्त इलेक्ट्रोनिक इक्यूपमेन्ट पोलिसी अनुसार सामानको मूल्य अनुसार १ प्रतिशत बीमा शुल्क लाग्छ । अर्थात १ लाख रुपैयाँ मूल्य बराबरको समानको बीमा गराउँदा १ हजार रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ । चट्याङ्को कारण इलेक्ट्रोनिक डिभाइसमा क्षति पुगेको अवस्थामा समेत उक्त बीमालेखबाटै दाबी भुक्तानी पाइन्छ ।
किसान बहुउद्देश्यीय सहकारीको रजतजयन्ती सम्पन्न, अध्यक्ष शाह चाँदीको सिक्कासहित सम्मानित
काठमाडौं । किसान बहुउद्देश्यीय सहकारी संस्थाको २५औं वार्षिकोत्सव एवं रजतजयन्ती सम्पन्न भएको छ । उक्त कार्यक्रम संस्थाले एक औपचारिक समारोहबीच आज(कार्तिक १७ गते) आफ्नो केन्द्रिय कार्यालय लम्कीमा सम्पन्न गरेको हो । रजतजयन्तीको अवसर पारेर संस्थाले सञ्चालमा ल्याएको माटो परिक्षण प्रयोगशालाको उद्घाटन समेत सम्पन्न भएको छ । समारोहका प्रमूख अतिथी एवं न.पा प्रमूख महादेव बजगाईले रिबन काटेर प्रयोगशालाको उद्घाटन गरेका हुन् । समाराेहमा बोल्दै प्रमूख बजगाईले सुदुरपश्चिममा निजी क्षेत्रले सञ्चालनमा ल्याएको पहिलो प्रयोगशाला भएको बताएका छन् । उक्त समारोहमा समुदायमा उत्कृष्ट प्रेरणादायी कार्य गर्ने ३ जनालाई संस्थाका अध्यक्षले जनही ११ हजार १११ रुपैयाँसहित सम्मानित गरेका छन् । यसरी सम्मानित हुनेमा परोपकारी अभियन्ताका रुपमा, बर्दगोरीया गा.पा.२ मा मानसिक सन्तुलन ठिक नभएर वेवारिसे जिवन बिताईरहेका बेसाहराहरुको लागि सहाराघर सञ्चालक बल बहादुर बिष्ट, कृषि अभियन्ताका रुपमा ईजायरबाट अध्ययन अवलोकनगरी फर्केर १५ विगाह जमिन भाडामा लिई खाद्यान्न, तरकारी एवं फुलखेतीमा अग्रसर बर्दगोरीया गा.पा.२ का नविन जोशी र युवा अभियन्ताका रुपमा स्वच्छता अभियान एवं मानविय सहायतामा सक्रिय लम्कीचुहा न.पा.–३ का युवा के.पी.खनाल रहेका छन् । समारोहमा संस्थाका संस्थापक अध्यक्ष ईन्द्र कुमार शाहलाई २५ तोला चाँदीको सिक्का सहित सम्मान गरिएको छ । यसैगरी संस्थाले रजतजयन्तीको अवसर पारेर आयोजना गरेको ‘महिला सशक्तिकरणमा सहकारीको भूमिका’ विषयक जिल्लाव्यापी खुला निबन्ध लेखन प्रतियोगिताका प्रथम, द्वितिय र तृतिय हुनेलाई पुरस्कार वितरण गरेको छ । पुरस्कृत हुनमा प्रथम स्थान हाँसिल गर्न सफल टीकापुरका कुबेर प्रसाद तिमिल्सिना, द्वितिय हुने लम्कीका पुजा शाह र तृतिय हुने टीकापुरका दिक्षा तिमिल्सिना रहेका छन् । समारोहका विशिष्ठ अतिथी लम्कीचुहा न.पा. वडा नं १ का वडाध्यक्ष जनक बमले प्रथम, द्वितिय र तृतियलाई क्रमशः १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र ५ हजार रुपैयाँ नगद सहित प्रशंसा पत्र प्रदान गरेका छन् । उक्त समारोहमा संस्थाको अन्तरशाखा स्तरिय वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले नगद तथा प्रमाणपत्र सहित पुरस्कृत गरेका छन् । यसरी पुरस्कृत हुनेमा लम्की शाखाका अमर राज भण्डारी प्रथम, टीकापुर शाखाका रिता बजगाई दास्रो, हसुलिया शाखाका अर्जुन रिमाल तेस्रो र सुख्खड शाखाका दिपेन्द्र बटाला सान्तवना रहेका छन् । विजेताहरुका लागि पुरस्कार राशी क्रमशः नगद १० हजार रुपैयाँ, ७ हजार रुपैयाँ र ३ हजार रुपैयाँ रहेको छ । यस अघि रजतजयन्ती लाई लक्षित गरि संस्थाले ‘कोभिड १९ को विषम परिस्थितीमा संस्थाको सेवा प्रवाह एवं व्यवसाय विस्तारमा कर्मचारीको भूमीका’ विषयक अन्तर शाखा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो । वि.सं.२०५२ साल कार्तिक १७ गते १ शाखा, १ कर्मचारी र ३६ हजार ६ सय रुपैयाँ सेयर पुँजीबाट सञ्चालन भएको संस्था रजतजयन्तीसम्म आईपुग्दा २१ शाखा, १७८ कर्मचारी र १३ करोड रुपैयाँ सेयर पुँजी रहेको छ । गत आथिर्क वर्षमा संस्थाले ८ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा गरेको छ भने सदस्यहरुका लागि कुल कर्जा लगाानी २ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । त्यसैगरी, कुल निक्षेप २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । संस्थाले हाल २१ शाखा सहित १ एकिकृत कृषफर्म, १ मलखाद बिक्री केन्द्र र १ माटो परिक्षण प्रयोगशाला सञ्चालन गरिरहेको छ ।
युनाईटेड ईदी-मर्दीको आईपीओ बाँडफाँड, आवेदन गर्ने सबैले पाए सेयर
काठमाडौं । युनाईटेड ईदी-मर्दी एण्ड आर.बि. हाईड्रोपावरको आईपीओ बाँडफाँड भएको छ । कास्की जिल्लाको आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई निष्काशन गरिएको उक्त सेयरको बाँडफाँड आज (कार्तिक १७ गते) सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलकाे रजिष्टर्ड कार्यालय काठमाडौंको जमलमा भएको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार रितपूर्वक आवेदन दिने सबैले कम्पनीको सेयर हात पारेका छन् । कम्पनीको सेयरमा कूल १७२ जनाले एक लाख ७६ हजार ९० कित्ता सेयरको लागि रितपूर्वक आवेदन दिएका क्यापिटलले जनाएको छ । कम्पनीले निष्काशन गरेको उक्त कूल २२५ जना आवेदकहरुबाट एक लाख ७९ हजार ४ सय १३ कित्ता सेयरको लागि आवेदन प्राप्त भएको थियो । जसमध्ये हेम्जास्थित संकलन केन्द्रहरु मार्फत १०७ जनाले एक लाख १३ हजार एक सय २० कित्ताको लागि र आश्वा प्रणाली मार्फत ६५ जना आवेदकले ६२ हजार ९ सय ७० कित्ता सेयरको लागि रितपूर्वक आवेदन दिएका क्यापिटलले जनाएको छ । कम्पनीले गत असोज ७ गतेदेखि कार्तिक ६ गतेसम्म उक्त सेयर निष्काशनको बिक्री खुला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्ला अन्तर्गत माछापुच्छ्रे गाउँपालिका वडा नं. १ देखि ९ सम्मका स्थानिय वासिन्दाहरुको लागि बिक्री खुला गरेको थियो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई ४ लाख २० हजार कित्ता सेयर निष्काशन गरेको थियो । उक्त आईपीओमा लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था रहेको थियो ।