पुनर्बीमा कम्पनीलाई अर्थको निर्देशनः बीमा समितिबाट जारी हुने नीति निर्देशनलाई मानेर काम गर्नुस्
काठमाडौं । अर्थ मन्त्रालयले बीमा समितिबाट जारी हुने नीति निर्देशनलाई मानेर कार्य सम्पादन गर्न नेपाल पुनर्बीमा कम्पनीलाई निर्देशन दिएको छ । मन्त्रालयका सचिव (राजस्व) रामशरण पुडासैनीले पुनर्बीमा नीति चाँडै नेपाल सरकारबाट स्वीकिृत भई लागू हुने भएकाले सोहि अनुसारको समितिबाट जारी हुने निर्देशनलाई पालना गरी काम गर्न कम्पनीलाई निर्देशन दिएका हुन् । शुक्रबार(कार्तिक २१ गते) काठमाडाैंमा आयोजित कम्पनीको वार्षिकउत्सवको भर्चुअल कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव पुडासैनीले उक्त निर्देशन दिएका हुन् । साथै, उनले वित्तीय क्षमता अभिवृद्धि गर्न, विदेशमा शाखा कार्यालय स्थापना गर्न, संस्थागत सुशासन कायम गर्न, अन्तर्राष्ट्रिय क्रेडिट रेटिङको प्रकृया थाल्न, जनशक्ति विकास तथा क्षमता अभिवृद्धि गर्न, पूर्वाधार तथा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्न जोड दिन कम्पनीलाई आग्रह गरेका छन् । त्यसैगरी, नेपाल बीमक संघ (जीवन बीमा) का अध्यक्ष शिवनाथ पाण्डेले कम्पनीबाट प्रवाह हुने सेवाहरु छिटो, छरितो, प्रतिस्पर्धी र पारदर्शी बनाउन जोड दिए । नेपाल बीमक संघ (निर्जीवन बीमा) का अध्यक्ष तथा कम्पनीका सञ्चालक दीपप्रकाश पाण्डेले विगतमा विदेशी पुनर्बीमकहरुले नेपालको जोखिम स्वीकार नगरेको विषम परिस्थितिमा स्थापना भएको स्मरण गर्दै कोरोना भाइरसको संक्रमणको कारण आर्थिक जोखिम बढिरहेकाले आगामी दिन चुनौतिपूर्ण भएको बताए । कोरोना बीमाको दाबी भुक्तानीमा उल्लेख्य सहभागिताबाट बीमा क्षेत्रको विकासको लागि कम्पनीले राम्रो कार्य गरेको बताए । कर्मचारीहरुको दक्षता अभिवृद्धिमा र क्रेडिट रेटिङ गर्न समेत सुझाव दिए । कम्पनीका अध्यक्ष यमलाल भुसालले क्षमता विस्तार, लगानीलाई सबल, जोखिम व्यवस्थापन, दायित्व र जिम्मेवारी दुवै भएकोले आगामी दिनमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले विदेशी मुलुकमा अझ व्यवसाय विस्तार गरी राष्ट्रको व्यापार घाटामा कमी ल्याउन मद्दत गर्ने लगायत व्यवसायिक दक्षता अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरको पुनर्बिमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल सरकारको प्रमुख लगानी रहेको यस कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको छ । कम्पनीले यस आर्थिक वर्ष २०७६/७७ मा करिब ८ अर्ब प्रिमियम संकलन गरेको जानकारी गराएको छ । नेपाल पुनर्बीमा कम्पनी आज(कार्तिक २१ गते)बाट स्थापनाको सातौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले शुक्रवार काठमाडौंमा भर्चुअल कार्यक्रम आयोजना गरी सातौं वार्षिकोत्सव मनाएको हो । सम्बन्धित समाचारः पुनर्बीमा कम्पनीद्वारा नेपाल लाइफ र शिखर इन्स्योरेन्स पुरस्कृत
पुनर्बीमा कम्पनीद्वारा नेपाल लाइफ र शिखर इन्स्योरेन्स पुरस्कृत
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीद्वारा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र शिखर इन्स्योरेन्स कम्पनी पुरस्कृत भएका छन् । कम्पनीले सातौं वर्षमा प्रवेश गरेको अवसरमा नाफामूलक पुनर्बीमा व्यवसायको आधारमा दुई इन्स्योरेन्सलाई पुरस्कृत गरेको हो । साथै, कम्पनीले राम्रो कार्य सम्पादन गर्ने कम्पनीका सहायक प्रबन्धक उत्तम पनेरु र वरिष्ठ सहायक सरिता श्रेष्ठलाई नगदद्वारा पुरस्कृत गरी सम्मान गरेको छ । नेपाल पुनर्बीमा कम्पनी आज(कार्तिक २१ गते)बाट स्थापनाको सातौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले शुक्रवार काठमाडौंमा भर्चुअल कार्यक्रम आयोजना गरी सातौं वार्षिकोत्सव मनाएको हो ।
सन्तोष मैनालीको नेतृत्वमा ब्रोकर एशोसिएसनको नयाँ कार्यसमिति चयन
काठमाडौं । स्टक ब्रोकर एशोसिएसन अफ नेपालको अध्यक्षमा सन्तोष मैनाली सर्वसम्मत रुपमा चयन भएका छन् । शुक्रबार सम्पन्न एशोसिएसनको २६औं वार्षिक साधारण सभाले मैनालीको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा धर्मराज सापकोटा, महासचिवमा गुणनिधि भुसाल, सचिव रमनदेव पन्त र कोषाध्यक्षमा भक्तिराम घिमिरे रहेका छन् । त्यस्तै, सदस्यहरुमा मदन पौडेल, सुयोग अधिकारी, फणिन्द्र ढकाल, रविन्द्र श्रेष्ठ र मित्रलाल श्रेष्ठ निर्वाचित भएका छन् । याे नेतृत्वले आगामी दुई वर्षसम्म कार्यभार सम्हाल्ने छ । नवनियुक्त अध्यक्ष सन्तोष मैनाली स्टक ब्रोकर नम्बर ३६, सेक्युर्ड सेक्युरिटीजका सञ्चालक हुन् । उनीसँग एशोसियसनको कार्यसमितिमा महासचिव र सदस्य पदमा काम गरेकाे अनुभव रहेकाे छ। यसअघि ब्रोकर नम्बर ३५, कोहिनुर इन्भेष्टमेण्ट एण्ड सेक्यूरिटिजका प्रमुख कार्यकारी अधिकृत भरत रानाभाटले एशोसिएशनमा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनको दुई वर्षे कार्यकाल गत असोज १२ गते नै सकिएको हो ।