विदेशी पर्यटकलक्षित नेपालमै पहिलोपटक टुर प्याकेज बीमा, अन्डरराइटर आईजीआई प्रुडेन्सियल

काठमाडौं । हिमालयन गार्डियन नेपाल (एचजीएन) ले नेपालमै पहिलो पटक यन्त्र आधारित टुर प्याकेज बीमा पोलिसी कम्प्रेहेन्सिभ टुरिजम गार्ड (सीटीजी) सुरु गरेको छ । एचजीएनले नेपाल बीमा प्राधिकरणको सहकार्य तथा नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृतिमा विदेशी पर्यटकलक्षित टुर प्याकेज बीमा सुरु गरेको हो । यन्त्र आधारित यो बीमा प्रणालीको अन्डराइटर आइजीआई प्रुडेन्सियल रहेको छ । एचजीएनका अनुसार आइजीआई प्रुडेन्सियलले जोखिमको मूल्यांकन गरी पोलिसी जारी गर्नेदेखि जोखिम बहन गर्ने र दाबी भुक्तानीको जिम्मेवारी लिएको छ । एचजीएनले आईजीआईसँगै विदेशी बीमा कम्पनीहरू लिओडिस अफ लन्डन, (इग्ल्यांन्ड), एभरेष्ट रि (बेरमुडा, ह्यान्डओभर रि (जर्मनी), ह्वाटवाई इन्स्योरेन्स (चीन) र इभरप्रो इन्स्यारेन्स (चीन) सँग पनि साझेदारी गरेको छ । त्यस्तै, चिकित्सकीय सहयोगमा ह्याम्स अस्पतालसँग साझेदारी गरेको छ भने उद्दारको लागि अलपाइन रेस्क्यू सर्भिसँग साझेदारी गरेको कम्पनीले जनाएको छ । नेपाल साहसिक पर्यटनका लागि विश्वकै प्रमुख गन्तव्यको रूपमा मानिन्छ । तर पछिल्लो दशकमा हेलिकप्टर सेवाको तीव्र विकाससँगै बीमा ठगीसम्बन्धी गतिविधिहरू बढ्दै गएका छन् । केही हेलिकप्टर कम्पनीहरूले उद्दार खर्च कृत्रिम रूपमा देखाउने गरेका घटनाहरू पनि बेलाबेला बाहिर आउने गरेका छन् ।  साथसाथै केही अस्पतालहरूले पनि अनावश्यक परीक्षण गरी उपचार बिल अस्वाभाविक रूपमा बढाउने, यसमा केही ट्रेकिङ व्यवसायीरूको पनि संलग्न रहेको घटनाहरू आउने गरेका छन् । एचजीएनले साहसिक पर्यटनमा हुने यस्ता गतिविधि रोक्न नसक्नुमा केही कारण औंल्याएका छन् । एचजीएनका अनुसार एउटा कारण अधिकांश अवस्थामा बीमा दाबीहरू सिधै विदेशी बीमा कम्पनीहरूमा दर्ता हुनु  र उनीहरूले उद्दार, हेलिकप्टर र अस्पताललाई सिधै भुक्तानी गर्नु हो । यो अवस्थामा नेपाल सरकार, बीमा प्राधिकरण र अन्य नियामक निकायसँग आवश्यक तथ्यांक र जाँच गर्ने अधिकार नहुँदा समस्या बढेको हो ।  बीमामा मौलाएको यो समस्या उजागर हुन थालेपछि पर्यटन मन्त्रालयले छानबिन समिति गठन भएपनि समितिले. दोषीलाई निरीक्षण गर्नु, कारबाही नहुनु र आजसम्म पनि छानबिन प्रतिवेदन सार्वजनिक नगर्दा यसले विश्वमा पनि नकारात्मक सन्देश प्रवाह हुने गरेको कम्पनीको धारणा छ । नयाँ प्रणालीबाट हुने व्यवस्था कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) श्रीहरि आचार्यले यो बीमा प्रणाली सञ्चालनमा आएसँगै उद्धार, उपचार र बीमा दाबी प्रक्रियामा देखिँदै आएको विकृति तथा ठगी नियन्त्रणमा सुधार हुने बताए । डीसीईओ श्रीहरि आचार्य । उनका अनुसार सेवा जिपिएस ट्र्याकर डिभाइसमार्फत सञ्चालन हुन्छ । जसले वास्तविक समयममा ट्र्याकिङ र एसओएस अलर्ट सुविधा प्रदान हुने उनले बताए । यसले आपत्कालीन अवस्थामा उद्दार टोली परिचालन गर्नेदेखि लिएर चिकित्सकीय उपचार उद्दार खर्च आकस्मिक सेवा तथा शव वा यात्रु फिर्ता पठाउने सुविधा उपलब्ध हुने छ । डीसीईओ आचार्यका अनुसार यो प्रणालीमार्फत उद्दार र उपचारसम्बन्धी गतिविधि वास्तविक डेटा र ट्र्याकिङ प्रणालीमा आधारित हुने छ । यसले हेलिकप्टर उद्दार खर्चमा हुने अनियमितता, अनावश्यक मेडिकल परीक्षण तथा झुटा बीमा दाबी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा लिइएको छ । ‘बीमा दाबी यथार्थ, जीपीएस डेटामा आधारित स्वीकृत हुन्छ,’ डीसीईओ आचार्यले भने, ‘यसले झुटा दाबी स्वत : रोकिन्छन् ।’ बीमा प्याकेजहरू एचजीएनले हाललाई यो प्याकेज विदेशी पर्यटकको लागि मात्रै सुरु गरेको छ । कम्पनीका अनुसार साधारण पर्यटकदेखि व्यावसायिक पर्वतारोहीसम्मको लागि फरक–फरक प्याकेजहरू उपलब्ध छन् । सामान्य पर्यटकको १६ डलरदेखि व्यावसायिक पर्वतारोहीको लागि ५ सय डलरसम्म शुल्क लाग्ने कम्पनीले जनाएको छ ।  एचजीएनका अनुसार प्याकेजहरूको अवधि न्यूनतम ७ दिनदेखि अधिकतम ६० दिनको हो । अहिलेको लागि १८ देखि ६० वर्षसम्मको लागि यी प्याकेजहरू उपलब्ध हुनेछन् । कम्पनीका अनुसार यो प्रणालीअन्तर्गत विदेशी पर्यटकका लागि हाल तीन प्रकारका बीमा प्याकेज उपलब्ध गराएको छ । जसअन्तर्गत टुर बीमा प्याकेज (३, ५०० मिटर सम्म), ट्रेकिङ बीमा प्याकेज (५,५०० मिटर सम्म) र ट्रेकिङ बीमा प्याकेज (५,५०० मिटर सम्म) रहेको छ। टुर बीमा प्याकेजअन्तर्गत चिकित्सकीय तथा दुर्घटना बीमा, उद्धार र अस्पताल सेवा समावेश गरिएको छ । त्यस्तै, ट्रेकिङ बीमा प्याकेजमा चिकित्सकीय तथा दुर्घटना बीमा, उचाइसम्बन्धी उपचार, हेलिकप्टर उद्दार र रियल टाइम ट्र्याकिङ सेवा सुविधा समावेश रहेको छ ।  क्लाइम्बिङ बीमा प्याकेजअन्तर्गत उच्च उचाइ जोखिम बीमा, एएमएस उपचार, आपतकालीन उद्दार र अस्पताल सेवा, उचाई डाटा आधारित निगरानी  समावेश गरिएको छ। एचजीएनले आगमी दिनमा थप नयाँ प्याकेजहरु पनि ल्याउने घोषणा गरेको छ । कम्पनीले सुपर बेसिक (२००० मिटरसम्म) को प्याकेजलगायत नयाँ प्याकेज ल्याउने तयारी गर्नुका साथै आगामी दिनमा नेपालीहरूको लागि पनि बीमा प्रणाली सुरु गर्ने जनाएको छ । 

नेशनल लाईफको साधारण सभा सम्पन्न, बीमाशुल्क १०.२६ प्रतिशतले बढ्यो

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८ औं वार्षिक साधारण सभा बुधबार अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ । सभामा अध्यक्ष प्रेमा सिंहले समिक्षा वर्ष २०८१/८२ मा विश्व अर्थतन्त्र लचिलो रहेको बताइन् । उनले कोभिड महामारी र भुराजनैतिक कारणले बढेको विश्व मुद्रास्फीति अहिले घट्ने क्रममा रहेको र यसले अधिकांश केन्द्रीय बैंकहरूले लचिलो मौद्रिक नीति अपनाएको बताइन् । नेपालको राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान अनुसार आ.व. २०८१/८२ मा नेपालको आर्थिक वृद्धि दर ४.६१ प्रतिशत रहेको छ । यद्यपि, आ.व. २०८२/८३ मा बढ्दो राजनीतिक र सामाजिक अस्थिरताका कारण वृद्धिदरमा संकुचन आउन सक्ने सम्भावना छ। कम्पनीको व्यवसाय समिक्षा वर्षमा सन्तोषजनक रहेको छ । कूल बीमाशुल्क १०.२६ प्रतिशतले वृद्धि भई  २,२५९.३७ करोड रूपैयाँ पुगेको छ । समिक्षा वर्षको संचालनबाट १,४९८.५९ करोड रूपैयाँ थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ भने कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १८.८३ प्रतिशतले वृद्धि भई ९,४५८.७७ करोड रूपैयाँ पुगेको छ । कम्पनीले मृत्यु दावी, अवधि समाप्ती, आंशिक अवधि समाप्ती, सर्मपण मूल्य र अन्य दावी भुक्तानीमा ९४८.६५ करोड रूपैयाँ भुक्तानी गरेको छ । अध्यक्ष सिंहले सबै लगानी योग्य रकमहरू नेपाल बीमा प्राधिकरणको निर्देशित क्षेत्र भित्र पारदर्शी तथा दीर्घकालीन प्रतिफल सुनिश्चित गर्ने औजारहरूमा लगानी भइरहेको जानकारी दिइन् । यसले बीमितहरूको अधिकतम हित संरक्षण गर्नेमा कम्पनी विश्वस्त रहेको बताइएको छ । समिक्षा वर्षमा कम्पनीको कूल लगानी ११.०४ प्रतिशतले वृद्धि भई ७,७९०.२० करोड रूपैयाँ पुगेको छ । लगानी प्रतिफलमा स्थायित्व ल्याउन कम्पनी दीर्घकालीन निक्षेपमा अधिकतम लगानी गर्न प्रयासरत छ । यसैगरी वार्षिक औसत प्रतिफल दर ८.७६ प्रतिशत कायम रहेको छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८.४२ प्रतिशत लाभांश पारित

काठमाडौं  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारण सभा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष सम्झना अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै, सोही आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ । पारित प्रस्तावअनुसार कम्पनीले ४ प्रतिशत बोनस सेयर र ४.४२१ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्नेछ । साधारण सभाले गत आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिकसमेत निर्धारण गरेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि पुस २१ गते बुक क्लोज गरेको जनाएको छ । बुक क्लोजको आधारमा पुस २० गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्रै उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।