दुर्घटना भए उपचारदेखि क्षतिपूर्तिसम्म, फेवातालमा डुङ्गा यात्रुका लागि बीमा व्यवस्था

काठमाडौं । प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको पोखराको फेवातालमा डुङ्गा चढ्ने यात्रु र चालकको पहिलोपटक बीमा गरिएको छ ।

फेवा डुङ्गा व्यवसायी सङ्गठनले फेवातालमा डुङ्गा चलाउने चालक तथा डुङ्गामा सयर गर्ने यात्रुको बीमा गरेको हो । सङ्गठनले शिखर इन्स्योरेन्स कम्पनीसँग आगामी एक वर्षका लागि लागू हुने गरी बीमा गरिएको सङ्गठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए ।

उनका अनुसार तालमा कुनै किसिमको दुर्घटना भई घाइते भएमा उपचार खर्चबापत एक लाख रुपैयाँ प्रदान गरिने छ भने मानविय क्षति भएमा परिवारले रु पाँच लाख प्राप्त गर्नेछन् । सङ्गठनमा दर्ता भई सञ्चालनमा रहेका डुङ्गामा यो नियम लागू हुने अध्यक्ष गिरीले जानकारी दिए ।

‘बीमाका लागि पहिलादेखिनै प्रयास गरेका थियौं तर सफल हुन सकिएको थिएन । सुरक्षाका दृष्टिकोणले बिमा अत्यावश्यक देखिएकाले पहिलोपटक यो व्यवस्था सुरु गरेका छौं । यसबाट डुङ्गा चालक तथा सवार यात्रुले सुरक्षित महसुस गर्ने वातावरण बनेको छ भने यसको सन्देशले सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौं’, उनले भने ।

फेवातालमा बर्सेनि विभिन्न किसिमका दुर्घटना हुँदै आएका छन् ।

बीमा गरेसँगै डुङ्गा चालकले सुरक्षाको महसुस भएको प्रतिक्रिया दिएका छन् । फेवातालका विभिन्न आठ वटा डुङ्गा स्टेसनबाट ८४७ डुङ्गा सञ्चालन भइरहेका छन् ।

यहाँ झण्डै ३५० जना डुङ्गा चालक छन् । पोखराको प्रमुख पर्यटकीय आकर्षण भएकाले पोखरा घुम्न आउने सबै जना पर्यटक फेवाताल पुग्ने गर्दछन् । फेवातालको बीचमा रहेको तालबाराही मन्दिरका कारण पनि डुङ्गा चढेर दर्शन गर्न जाने पर्यटकको यहाँ सधैंजस्तो घुइँचो हुने गर्दछ ।

Share News