बीमा अनुसन्धान र ज्ञान आदानप्रदानका लागि नेपाल बीमा प्राधिकरण र त्रिवि बीच समझदारी
काठमाडौं । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच बीमासम्बन्धी अनुसन्धान र ज्ञान आदानप्रदानसम्बन्धी संयन्त्रण निर्माण गर्ने सम्बन्धी समझदारी भएको छ । बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्मा र त्रिवि तथ्याङ्कशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रभात उप्रेतीले आइतबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा सो सम्बन्धी सझादारीपत्रमा हस्ताक्षर गरे । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले बीमा सम्बन्धी अनुसन्धानलाई अगाडि बढाउन र प्राधिकरणका लागि आवश्यक बीमा सम्बन्धी तथ्याङ्क प्राप्त गर्न समझदारीबाट सहयोग पुग्ने बताए । अध्यक्ष शर्माले विश्वमा नयाँ नयाँ अनुसन्धान र नविनतम् प्रविधि विकसित हुँदै गरेको सन्दर्भमा द्विपक्षीय सहकार्य आगामी दिनमा अझ प्रभावकारीरूपले व्यापक हुँदै जाने विश्वास व्यक्त गरे । तथ्याङ्कशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रभात उप्रेतीले द्विपक्षीय समझदारीबाट अनुसन्धानकर्ता र विद्यार्थीहरूलाई बीमा सम्बन्धी अनुसन्धान एवम् ज्ञान आदान–प्रदानमा सहयोग पुग्ने धारणा राखे । समझदारीपत्रमा बीमा क्षेत्रको अवस्था, प्रभावकारिता र चुनौती, बीमा नीति, बीमाको पहुँच, नयाँ बीमालेखको आवश्यकता, दिगो विकासमा बीमा क्षेत्रको योगदान, बीमा सम्बन्धी सरकारी नीति र वित्तीय क्षेत्र लगायतसँग सम्बन्धित अनुसन्धानलाई अगाडि बढाइने उल्लेख छ । यसैगरी, नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी अनुसन्धानका क्षेत्र पहिचान गर्ने, त्रिवि तथ्याङ्कशास्त्र केन्द्रीय विभागले प्राधिकरणको प्राथमिकताका आधारमा बीमा सम्बन्धी अनुसन्धानका लागि विज्ञहरू उपलब्ध गराउने, प्राज्ञिक तथा अनुसन्धानका लागि तथ्याङ्कहरू आदान–प्रदान गर्ने र बीमा अनुसन्धान सम्बन्धी विषयमा तालिम संचालन गर्ने लगायतका विषय समझदारीपत्रमा उल्लेख छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी, निर्देशक पुजन ढुंगेल अधिकारी, निर्देशक कुन्दन सापकोटा, निर्देशक शाम्भ राज लामिछाने र निर्देशक निर्मल अधिकारी तथा त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागका प्रा.डा. श्रीजन लाल श्रेष्ठ र लेक्चरर अरूण यादव उपस्थित थिए ।
राष्ट्रिय जीवन बीमा कम्पनीको सञ्चालक समितिको अध्यक्षमा रमेश अर्याल नियुक्त
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रमेश अर्याल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले कम्पनीका सञ्चालक र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक रहेका उनलाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले अर्याललाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराए । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल अधिकारी र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पन्थी लगायत पदाधिकारीहरू उपस्थित थिए ।
शिखर इन्स्योरेन्सको २१औं वार्षिकोत्सवमा ३० कर्मचारीले पाए चाँदीको सिक्का
काठमाडौं । शिखर इन्स्योरेन्सले आफ्नो २१औं वार्षिकोत्सव सम्पन्न गरेको छ । कार्यक्रमका अवसरमा कम्पनीले २० वर्ष सेवा पूरा गरेका ११ जना कर्मचारीलाई सुनको सिक्का र १० वर्ष सेवा अवधि पूरा गरेका ३० जना कर्मचारीलाई चाँदीको सिक्का तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरेको छ । कर्मचारीको समर्पण र मेहनतलाई कदर गर्दै सम्मान गरेको कम्पनीले जनाएको छ । साथै कम्पनीले देशभर आयोजित रक्तदान कार्यक्रममार्फत १४३९ युनिट रगत संकलन गरेको छ । आगामी दिनमा प्रविधिमैत्री सेवा विस्तार, ग्राहक–मैत्री सेवा प्रवाह र सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमहरूलाई अझ सुदृढ गर्दै उत्कृष्ट, भरपर्दो तथा नवप्रवर्तनयुक्त बीमा सेवा उपलब्ध गराउने प्रतिबद्धता शिखर इन्स्योरेन्सले व्यक्त गरेको छ । शिखर इन्स्योरेन्स नेपाल वित्तीय प्रतिवेदन मानक (एनएफआरएस- १७) अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकको संक्षिप्त वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बीमा कम्पनीसमेत हो । शिखर इन्स्योरेन्सले २०६१ मंसिर २ गतेबाट औपचारिक रूपमा बीमा सेवा शुभारम्भ गरेको थियो । १० करोडको चुक्ता पुँजीबाट स्थापना भएको यस कम्पनीको हाल २ अर्ब ६५ करोडको चुक्ता पुँजी रहेको छ । साथै ७ अर्ब ६५ करोड भन्दा बढी नेटवर्थ सहित निजि क्षेत्रबाट प्रवर्द्धित बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी नेटवर्थ रहेको निर्जीवन बीमा कम्पनीका रूपमा स्थापित हुन सफल भएको छ । नेपालमा बीमाको पहुँच अभिवृद्धि गर्न शिखर इन्स्योरेन्सले जुम्ला, हुम्ला, कालिकोट, मुगु, मुस्ताङ, बझाङ, दैलेख, डोटी, डोल्पा, ताप्लेजुङ, संखुवासभा जस्ता दुर्गम भेगमा समेत गरी ११२ शाखा कार्यालय मार्फत बीमा सेवा प्रदान गर्दै आएको छ । यस कम्पनीले हिमाली क्षेत्रमा पहिलो पटक मौषममा आधारित स्याउ बीमा गरेर किसानहरूलाई राहत समेत प्रदान गरेको छ । त्यस्तै, कम्पनीले चितवनमा गरेको केरा बीमा समेत उत्कृष्ट र नमुना बीमाको रूपमा परिचित छ। २०६१ साल जेठ १५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको शिखर इन्स्योरेन्स कम्पनीले २०६१ साल कार्तिक २६ गते बीमा समितिबाट निर्जीवन बीमा सेवा प्रवाह गर्ने लाइसेन्स पाएको थियो । बीमा समितिबाट लाइसेन्स पाएको १ साताभित्रै अर्थात् मंसिर २ गतेबाट औपचारिक रूपमा बीमा सेवा शुरू गरेको थियो ।