यूनाइटेड अजोडको हकप्रदमा आवेदन दिने समय लम्बियो, अब कहिलेसम्म पाइन्छ ?

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय लम्बिएको छ । चैत २६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा अब लगानीकर्ताहरूले वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँको १० प्रतिशत अर्थात् १०० कित्ता सेयर बराबर नयाँ १० कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले २३ करोड १० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २३ लाख १० हजार कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँ​​​​​डपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत फागुन १७ गते बुकक्लोज गरेको थियो । त्यसैले फागुन १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् ।  कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै लक्ष्मी सनराइज बैंकको नारायणगढ चितवन, धनगढी कैलाली, जनकपुर धनुषा, इटहरी सुनसरी, दमक झापा, धरान सुनसरी, घोराही दाङ, बनेपा काभ्रेपलान्चोक र हेटौंडा मकवानपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । 

नेपाल माईक्रो इन्स्योरेन्सका अध्यक्ष आशीष श्रेष्ठ पक्राउ

काठमाडौं । नेपाल माईक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ ।  बीमा सम्बन्धी ऐन, २०७९ अन्तर्गतको कसूरमा संलग्न रहेको अभियोगमा ४६ वर्षीय श्रेष्ठ पक्राउ परेका हुन् । नेपाल बीमा प्राधिकरणको आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनले कम्पनीमा गम्भीर अनियमितता भएको देखाएपछि प्राधिकरणले गत वैशाख ८ गते अनुसन्धानका लागि प्रहरीमा पत्राचार गरेको थियो ।  सोही प्रतिवेदनको निष्कर्ष र सुझावका आधारमा श्रेष्ठमाथि अनुसन्धान सुरु गरिएको हो। उक्त निरीक्षण प्रतिवेदनमा नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी समेतको संलग्नतामा बीमा ऐन, २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) बमोजिमको कसूर भएको उल्लेख गरिएको छ ।  वारदातमा संलग्नता देखिएपछि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट वैशाख १४ गते पक्राउ अनुमति प्राप्त गरेको थियो ।  सोही अनुमति बमोजिम श्रेष्ठलाई आज वैशाख १५ गते काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नं. ५ बाट नियन्त्रणमा लिइएको हो ।  पक्राउ परेका श्रेष्ठमाथि हाल थप कानुनी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जीडीपीमा वित्तीय तथा बीमा क्षेत्रको योगदान ६.७२ प्रतिशत

काठमाडाैं । आर्थिक वर्ष २०८२/८३ मा वित्तीय तथा बिमा क्षेत्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ६.७२ प्रतिशत योगदान रहने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै साे अनुमान गरेकाे हाे । त्यस्तै कुल मूल्य अभिवृद्धि वृद्धिदर ९.१६ प्रतिशत हुने प्रारम्भिक अनुमान तथ्यांक कार्यालयले गरेको छ । तथ्यांक कार्यालयका अनुसार बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धि, निर्जीवन बीमा तथा जीवन बीमाको नवीकरण बीमाशुल्क प्रिमियम कलेक्सनमा वृद्धि तथा सामाजिक सुरक्षा कोष, सञ्चय कोष, नागरिक लगानी कोष तथा धितोपत्र कारोबार व्यवसायिक तथा मर्चेन्ट बैंकहरूको आयमा समेत वृद्धिका कारण यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा बढोत्तरी हुने अनुमान गरिएको हो । आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर ७.५५ प्रतिशत रहने संशोधित अनुमान गरिएको  थियो । आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ९.९६ प्रतिशत कायम भएको थियो ।