काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को ९ महिना (चैत महिना) सम्ममा निर्जीवन बीमा कम्पनीहरूले कुल साढे ३६ अर्ब माथि बीमाशुल्क संकलन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १४ बीमा कम्पनीहरुले २२ लाख ९ हजार ९८६ वटा बीमा पोलिसी बिक्री गरी कुल ३६ अर्ब ५८ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
बीमा कम्पनीहरूले चैत्र महिनामा मात्रै ३ लाख ४७ हजार ८७२ बीमालेख जारी गरेर ५ अर्ब ४ करोड ६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । ९ महिनाको अवधिमा सबैभन्दा धेरै व्यवसाय आर्जन गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ ।
शिखर इन्स्योरेन्सले चैत्र मसान्तसम्ममा २ लाख ३८ हजार ६६७ बीमालेख जारी गरेर ४ अर्ब ८० करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । दोस्रो धेरै व्यवसाय सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनीले गरेको छ । उक्त कम्पनीले २ लाख १ हजार ८३८ बीमा लेख जारी गरेर ३ अर्ब ८३ करोड २३ लाख रुपैयाँ बीमाशुलक संकलन गरेको छ ।
तेस्रो धेरै व्यवसाय आर्जन गर्ने कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब ७४ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ९ महिनामा ३ अर्ब १२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
सिद्धार्थपछि आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ३ अर्ब १० करोड रुपैयाँ, एनएलजी इनस्योरेन्स कम्पनीले ३ अर्ब १ करोड रुपैयाँ, नेको इन्स्योरेन्स कम्पनीले २ अर्ब ७२ करोड रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ५६ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेका छन् ।
त्यस्तै, ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब ४२ करोड रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सले २ अर्ब ८ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ६६ करोड रुपैयाँ प्रभु इन्स्योेरेन्स कम्पनीले १ अर्ब ३६ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १४ करोड रुपैयाँ र नेशनल इन्स्योरेन्सले ९८ करोड १२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
