हिमालयन रि-इन्स्योरेन्सकी सीईओ पौडेल अस्वस्थ, उपचारका लागि भारतमा

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल उपचारका लागि भारत गएकी बुझिएको छ । केही समयदेखि दिमागको नशामा रगत जम्ने समस्या देखिएपछि उनी उपचारका लागि भारत गएकी हुन् । 

उनले स्वास्थ्यकाे फलोअपका लागि भारत पुगेको जानकारी दिइन् । उनका अनुसार अहिले स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।

यसैबीच नेपाल बीमा प्राधिकरणले सीईओ पौडेलसहित पाँच जना उच्च व्यवस्थापनका अधिकारीसँग सात दिने स्पष्टीकरण सोधेको छ । प्राधिकरणले कम्पनी सञ्चालनका क्रममा आर्थिक अनियमितता भएको आशंकामा सात दिने स्पष्टीकरण सोधेको हो ।

यस सन्दर्भमा कतिपयले यही विषयलाई लिएर उनले राजीनामा दिएको हल्ला चलाएको भए पनि त्यसमा सत्यता नभएको उनले बताइन् ।

कम्पनीप्रति आफ्नो उच्च जिम्मेवारी भएको जानकारी दिँदै उनले उपचारपछि छिट्टै कार्यालय फर्किने योजना रहेको सुनाइन् । भारत जानुअघि एक साताको बिदा लिएको र पछि सो बिदा थप गरेको उनको भनाइ छ । साथै, उनले नेपाल बीमा प्राधिकरणबाट बिदा स्वीकृत गराएर भारत गएको स्पष्ट पारिन् । 

पौडेलले २०८२ चैत १६ गते प्राधिकरणलाई विदेश जाने सम्बन्धमा जानकारी दिएकी थिइन् ।

Share News