ई-बिडिङ: यसरी गर्थे ह्याकर र ठेकेदारले चलखेल
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे गत शुक्रबार पक्राउ परे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंस्थित उनकै निवासबाट नियन्त्रणमा लिएको थियो । प्रधानमन्त्री कार्यालय अन्तर्गत रहने सार्वजनिक खरिद अनुगमन कार्यालयको उक्त पोर्टल नियन्त्रणमा लिई आफ्नो कम्पनी कालिका कन्स्ट्रक्सनलाई ठेक्का पार्न पाण्डेले कागजातहरू हेरफेर गरेको प्रारम्भिक अनुसन्धानले देखाएको सीआईबीले जनाएको छ । अहिले पाण्डेसहित १३ जना सीआईबीको हिरासतमा छन् । भोटाहिटीस्थित साइबर ब्यूरोमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको थियो । सार्वजनिक खरिद अनुगमन कार्यालयमा विभिन्न ठेक्का कम्पनी समूहले आफूले दररेट गरेको रकमभन्दा कम देखाउने गरेको गुनासो गरेका थिए । बढी रकम दररेट गरे पनि कम दररेट देखाएपछि ठेक्का कम्पनीले कार्यालयमा उजुरी दिएका थिए । यही विषयमा अहिले विभिन्न निर्माण कम्पनीका ठेकेदार तथा कर्मचारीलाई नियन्त्रणमा लिएर सीआईबीले अनुसन्धान गरिरहेको छ । साइबर ब्यूरोका एक अनुसन्धान अधिकृतका अनुसार विक्रम पाण्डे ई-बिडिङमा प्रत्यक्ष संलग्न नभए पनि उनी मातहतका कर्मचारी यसमा संलग्न देखिएका छन् । ठेक्का प्रणालीमा रहेर ठेक्काको दर परिवर्तन गर्न पाण्डे समूहका व्यक्तिहरू लाग्ने गरेको अनुसन्धान अधिकृतले बताए । ‘गिरोह समूहले ठेक्का बन्द हुने अन्तिम दिनको अघिल्लो रात ई-बिडिङ प्रणालीमा पहुँच पु¥याएर दर परिवर्तन गर्ने गरेका थिए,’ अनुसन्धान अधिकृत भन्छन्, ‘एक कम्पनीले ५ करोडको लागत पर्ने ठेक्का हालेका हुन्थे भने त्यसलाई परिवर्तन गरेर अर्को कम्पनीले बढी रकम कबोल गरिदिन्थे । सबै कम्पनीले हालेको रकम हेर्थे त्यसपश्चात आफ्नो कम्पनीले सबैभन्दा कम रकम कबोल गर्ने गरेका थिए ।’ ती अनुसन्धान अधिकृतका अनुसार प्रणालीमा प्रवेश गरेर अरू कम्पनीले ठेक्काको दररेट परिवर्तन गरिदिन्थे । १९ करोडको हालेका हुन्थे भने सिस्टममा प्रवेश गरेर १८ करोड लाई ९० लाख रुपैयाँ बनाएर पहुँच पु¥याएर अरू कम्पनीको भन्दा कम बनाउने गरेका थिए । उनीहरूले ठेक्कामा अप्लाई गरेका सबै कम्पनीका दररेट हेर्नका लागि छुट्टै स्टाफ खटाएर राख्ने गरेको उनले बताए । ‘ठेकेदारले कार्यालयमा ई-बिडिङ सम्बन्धी काम गर्नका लागि कर्मचारी राख्ने गर्दा रहेछन्,’ ती अनुसन्धान अधिकृतले भने । कर्मचारीहरूले पनि ठेकेदारका मान्छेलाई ठेक्का भर्ने आज अन्तिम दिन भनेर खबर गर्ने गरेको अनुसन्धान अधिकृतले विकासन्युजलाई बताए । ठेकेदारले कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर ई–बिडिङ प्रणाली आफ्नो कब्जामा पार्ने गरेको उनले बताए । सार्वजनिक खरिद अनुगमन कार्यालयका उच्च तहका कर्मचारीहरूको मिलेमतोमा ठेकेदारले सिस्टम ह्याक गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । उच्च तहका कर्मचारीहरू पनि यसमा तानिने सम्भावना रहेको ती अधिकारीले जानकारी दिए । ठेकेदार कम्पनीले आफ्ना कर्मचारीलाई यस्तै इ–बिडिङसम्बन्धी तालिम दिने गरेको उनले बताए । सिस्टम ह्याक गरेर ठेक्काको दररेट अदलबदल गर्नेको समूह धेरै रहेको उनले खुलाए । ती अनुसन्धान अधिकृतले राज्यले लगाउने हरेक ठेक्कामा उनीहरूको पहुँच हुने गरेको बताए । एउटा ठेक्कामा मात्र नभई प्रत्येक ठेक्कामा ठेकेदार कम्पनीको पहुँच पुग्ने गरेको उनले जानकारी दिए । ठेक्का प्रणालीमा शंकास्पद गतिविधि र प्रारम्भिक चरणमा प्रणालीको दुरुपयोग भएको पाइएपछि अनुसन्धान पक्रिया अगाडि बढेको सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता राम प्रसाद आचार्यले बताए । ‘ठेकेदार कम्पनीले ठूलो मात्रामा रकम कबोल गरेर दाबी गर्दा पनि पछि रकम घटेको भन्दै उजुरी गुनासो गर्ने गरेका थिए,’ उनले भने,’ ई-बिडिङको सिस्टममा प्रवेश गरेर ठेक्काको दररेट परिवर्तन गर्थे । ठूलो रकममा हाले पनि ह्याक गरेर थोरै रकममा हालेको बनाइदिन्थे ।’ राज्यका ठूला–ठूला गौरवका आयोजनाहरूमा ह्याकरले सहजै प्रवेश गरेर कुन–कुन कम्पनीले कति रकम हाले भनेर हेर्ने गरेको आचार्यले जानकारी दिए । ह्याकरको काम कसले कम मूल्यमा हाल्यो त्यसको सूचना पाएर ठूलो रकममा ठेक्काको दररेट बढाएर हाल्ने गर्दथे,’ उनले अगाडि थपे । उनका अनुसार कार्यालयले र गुनासोकर्ताले अनुसन्धान गर्ने निकायमा उजुरी हालेका थिए । सार्वजनिक खरिद अनुगमन कार्यालयको सिस्टम नै ह्याक गरी अरबौंका ५६ वटा ठेक्कामा चलखेल भएको खुलासा भएपछि निर्माण क्षेत्र तरंगित बनेको छ । निर्माण व्यवसायीहरू यस प्रकरणमा राज्य संयन्त्रको कमजोरी र सेटिङबारे गम्भीर अनुसन्धान हुनुपर्ने बताउँछन् । नेपाल निर्माण व्यवसायी महासंघका पूर्वमहासचिव रोशन दाहालका अनुसार यो समस्या आजको मात्र नभई दुई वर्षअघि नै सुरु भएको थियो । ‘हामीले २०७९ सालकै असोज–कात्तिकतिर यसरी सिस्टममा चलखेल भइरहेको संकेत पाएका थियौं,’ दाहालले भने, ‘२०७९ मंसिरमा मैले आफैं चिठी लेखेर सीआईबी र सार्वजनिक खरिद अनुगमन कार्यालयलाई छानबिनका लागि आग्रह गरेको थिएँ ।’ ‘तर, विडम्बना ! त्यतिबेला राज्यका निकायहरूले केही समस्या छैन भन्दै प्रतिवेदन दिएर बसेका थिए, हामीले पत्राचार गर्दा पनि कार्यान्वयन भएन, हामी चुप लागेर बस्नुको विकल्प थिएन,’ दाहालले थपे । यसरी हुन्थ्यो चलखेल अहिलेको ह्याकिङ शैली पहिलाको भन्दा फरक र प्राविधिक रहेको व्यवसायीहरूले दाबी गरेका छन् । पहिला दररेटमा मात्रै प्रतिस्पर्धा हुन्थ्यो । तर, अहिले प्राविधिक प्रस्तावमै सेटिङ हुन थालेको छ । महासंघका वर्तमान महासचिव शिवहरि घिमिरेका अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा छिरेर सेटिङ गर्ने गिरोहमा निर्माण व्यवसायी, ह्याकर र स्वयम् सरकारी कर्मचारीहरूकै संलग्नता देखिएको छ । ‘सिस्टम नै कमजोर भएपछि त्यसको फाइदा उठाएर झन्डै ५५/५६ वटा ठेक्कामा चलखेल गरिएको बुझिएको छ । यो राज्यको लगानी र प्रणालीमाथिको ठुलो प्रहार हो,’ उनले भने । सीआईबीको पछिल्लो सक्रियतासँगै यस प्रकरणमा संलग्न रहेको आरोपमा निर्माण व्यवसायी, कर्मचारी र बिचौलिया गरी १३ जना पक्राउ परिसकेका छन् । महासचिव घिमिरेले भने, ‘यो अत्यन्तै गम्भीर विषय हो । नेपाल सरकारले आफ्नो सिस्टमलाई सुरक्षित बनाउनुपर्छ र सार्वजनिक खर्चमा पारदर्शिता कायम गर्न इमानदारी देखाउनुपर्छ ।’
कुलतको हब बन्दै काठमाडौं
घटना-१ : लागुऔषध र खैरो हेरोइनजस्तो देखिने १५ ग्रामसहित इलाम, सन्दपुर गाउँपालिका २ का २२ वर्षीय प्रोमिश राई पक्राउ परे । शुक्रबार काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र. ०१ ००२ ख ०९४ नम्बरको यात्रु वाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुङ्गासहितको संयुक्त टोलीले चेकजाँच गर्दा उनी पक्राउ परे । घटना-२ : बिहीबार धादिङ, थाक्रे गाउँपालिका १ का १९ वर्षीय सुमन तामाङ पक्राउ परे । चन्द्रागिरि नगरपालिका २ नागढुङ्गास्थित प्वाइन्टमा धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ५९९५ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गा तथा लागु औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुङ्गा समेतको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उनी पक्राउ परे । घटना-३ : लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७३ ग्रामसहित २२ वर्षीय रोहित महरा र २६ वर्षीय अशोक अधिकारी पक्राउ परे । गत बिहीबार काठमाडौंको प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले २ जनालाई चेकजाँच तथा खानतलासी गर्दा लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७.७३ ग्रामसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । घटना-४ : दुई साताअघि ४ हजार ६८० क्याप्सुल ट्रामाडोलसहित २४ वर्षीय सुनिल चिम्से भन्ने सुनिल गोलेलाई पक्राउ ग¥यो । गत चैत १८ गते नागार्जुन नगरपालिका ३ मा एक घरमा डेरामा बस्ने गोलेलाई कोठा खानतलासी गर्दा लागु औषधसहित प्रहरीले नियन्त्रणमा लिएको थियो । घटना-५ : चैत ४ गते काठमाडौंको नरेफाँटबाट सन्तोषकुमार झालाई प्रहरीले २२.८५० ग्राम लागु औषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिएको थियो । उनले काठमाडौंका विभिन्न स्थानमा लागु औषध कारोबार गर्ने गरेको सूचना पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । पछिल्लो समय काठमाडौं लगायत देशैभर लागुऔषध कारोबारी तथा प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । काठमाडौंमा प्रहरीले पक्राउ गर्दै मुद्दा चलाउनेको संख्या बढ्दै गएको बताएको छ । समाजमा दुर्व्यसनीकाे संख्या बढ्दै गएपछि प्रहरीले पनि उत्तिकै चासो दिएर निगरानी गरिरहेको छ । केही सातादेखि प्रहरीले काठमाडौं लगायत विभिन्न सहरबाट आयात हुने लागुऔषध प्रयोगकर्ता र कारोबारीलाई प्रहरीले पक्राउ गर्न थालेको छ । काठमाडौं जिल्ला प्रहरी परिसरमा मात्र ६ आर्थिक वर्षमा ३ हजार ४४३ लागुऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा २ सय ४० जनालाई मुद्दा दर्ता भएको थियो । सोही वर्ष ३ सय ३४ जना पक्राउ परेका थिए । आर्थिक वर्ष (आव) २०७८/०७९ मा ३३९ विरुद्ध मुद्दा र ४९२ जना पक्राउ परेका थिए । २०७९/०८० मा ३६८ जनालाई मुद्दा दर्ता गराइएको र ५९८ जना पक्राउ परेका थिए । २०८०/०८१ मा ३६३ जनाविरुद्ध दर्ता भएको र ६ सय ४ जना पक्राउ परेका थिए । आव २०८१/०८२ मा ४३१ जना मुद्दा दर्ता र ७२५ जना पक्राउ परेका थिए । त्यसैगरी, २०८२/०८३ मा ४३३ जनाविरुद्ध मुद्दा दर्ता र ६९० जना पक्राउ परेका थिए । नुर्फिन (एम्पुल), डाइजापाम (एम्पुल), पोलेन (ग्राम) नाइट्राभेट (ट्याब्लेट), खैरो हेरोइन, चरेश, गाँजा, फेनारगन, ब्राउन सुगर, ट्रामाडोल, कोरेक्स, ओपोट्याब, एपीनडोल, प्रोमेथओजिन, ट्रमानिल, आइस (ग्राम), स्पामो, अफिम, कोकिन र अन्य लागुऔषधसहित प्रहरीले काठमाडौबाट ६ आर्थिक वर्षमा प्रयोगकर्ता र कारोबारीलाई पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार पाँच वर्षमा मात्रमा देशभरबाट ३१ हजार २३ जनालाई विभिन्न लागु औषधसहित प्रहरीले पक्राउ गरेको हो । आर्थिक वर्ष २०७८/०७९ मा ३ हजार ८५६ मुद्दा दर्ता भएको थियो । पुरुष ५ हजार ३२१, महिला २४७, भारतीय पुरुष १९८, महिला ५, अन्य विदेशी पुरुष ३ र महिला १० जना पक्राउ परेका थिए । उक्त वर्ष कुल ५ हजार ७८४ व्यक्तिहरू पक्राउ परेका थिए । आव २०७९/०८० मा ६ हजार १८७ व्यक्तिहरू पक्राउ परेका थिए । नेपाली पुरुष ५ हजार ६३५, महिला ३२४, भारतीय पुरुष १९४ र महिला ११,विदेशी पुरुष १५ र महिला ८ जना पक्राउ परेका थिए । सोही वर्ष ४ हजार १०२ मुद्दा दर्ता भएको थियो । त्यसैगरी, २०८०/०८१ मा ४ हजार ३९९ मुद्दा दर्ता भएको थियो । नेपाली पुरुष ६ हजार ७२ र महिला ३५१, भारतीय पुरुष २ सय ४९, महिला २०, विदेशी पुरुष १७ र महिला ६ जना पक्राउ परेका थिए । सोही वर्ष ६ हजार ७१५ व्यक्ति पक्राउ परेका थिए । आर्थिक वर्ष २०८१/०८२ मा ७ हजार ८९० व्यक्ति पक्राउ परेका थिए । नेपाली पुरुष ७ हजार १४६ र महिला ४१९, भारतीय पुरुष २८३ र महिला २२, विदेशी पुरुष १३ र महिला ७ जना पक्राउ परेका थिए । सोही वर्ष ५ हजार ६१ मुद्दा दर्ता भएको थियो । चालु आर्थिक वर्ष २०८२/०८३ को माघसम्म २ हजार ८५१ मुद्दा दर्ता भएको छ । नेपाली पुरुष ४ हजार ४, महिला २१८, भारतीय पुरुष २०६, महिला ११, विदेशी पुरुष ६ र महिला २ जना पक्राउ परेका थिए । सात महिनामा देशभरबाट ४ हजार ४४७ व्यक्तिहरु पक्राउ परेका थिए । लागू औषध कारोबार तथा सेवन गर्नेहरुमा विभिन्न उमेर समूहका व्यक्तिहरू रहेका छन् । १८ वर्षदेखि ६१ वर्षसम्मका व्यक्तिहरू लागुऔषधका मुद्दामा पक्राउ पर्ने गरेका छन् । ब्यूरोका अनुसार विभिन्न पेशामा आवद्ध व्यक्तिहरू लागुपदार्थको कुलतमा छन् । कृषि पेशा, सार्वजनिक यातायातका चालक तथा सहचालक, ज्यामी मजदुर, बेरोजगार, विद्यार्थी, गृहिणी, व्यापार व्यवसाय, कर्मचारी, वैदेशिक रोजगारीमा गएकाहरु र अन्य व्यक्तिहरू लागू पदार्थको कुलतमा फस्ने गरेको ब्यूरोको भनाइ छ । शिक्षित व्यक्तिहरू नै कुलतमा काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले काठमाडौंमा १५ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरू लागु पदार्थ सेवन गर्ने गरेको पाइएको बताए । उनका अनुसार लागु औषध सेवनकर्ताहरू शिक्षित, विद्यार्थी, मेडिकल क्षेत्रमा आबद्धहरू, इन्जिनिरियङ, बेरोजगार र अन्य पेशामा रहेकाहरू बढी छन् । लागुऔषध कारोबारी तथा प्रयोगकर्ताहरू पटके अपराधमा संलग्न, पारिवारिक विखण्डनमा परेका र सामाजिक प्रतिष्ठा गुमाएकाहरू हुने गरेको भट्टराईले बताए । नेपाली युवा युवतीहरु माध्यमिक शिक्षा पार गरेका र वैदेशिक रोजगारीमा पुगेर फर्केकाहरू कुलतमा फस्ने गरेको उनको भनाइ छ । ‘काठमाडौंमा महिलाको तुलनामा पुरुषहरू कुलतमा लागेको पाइएको छ,’ उनले भने, ‘काठमाडौंमा भित्रिने तराईका जिल्ला र भारतबाट लागू पदार्थ भित्रिने गरेको अनुसन्धानबाट खुल्ने गरेको छ ।’ काठमाडौंका विभिन्न स्थानमा नेपाली लगायत विदेशीसमेत लागुपदार्थ कारोबारीमा भेटिने गरेको उनले बताए । कोशी प्रदेशमा लागुऔषधको कारोबारी बढे लागु औषध नियन्त्रण ब्यूरोका सह–प्रवक्ता जीवन निरौलाले बेरोजगार हुँदाको परिणाम र साथी संगतको लहैमा लागेर दुव्र्यसनीमा फसेको बताए । उनका अनुसार अभिभावकको माया नपाएका र प्रत्यक्ष निगरानीमा नरहेकाहरू बढी दुव्र्यसनीमा फसेका छन् । मुलुक बाहिर रहेका अभिभावकका सन्तानहरू दुव्र्यसनीनमा लागेको निरौलाले उल्लेख गरे । एक्लै बस्ने सन्तान र परिवारका ठूला सदस्यहरूको साथ नपाएकाहरू कुलतमा फस्ने गरेको उनको भनाइ छ । निरौलाले कोशी प्रदेशमा सबैभन्दा बढी लागू पदार्थ कारोबारी र प्रयोगकर्ता रहेको जानकारी दिए । झापा, मोरङ्ग र इलाममा बढी प्रयोगकर्ता हुने गरेको उनी बताउँछन् । मधेस प्रदेशको सिराहामा बढी दुव्र्यसनी रहेको उनले जानकारी दिए । ‘काठमाडौंमा भित्रिनेहरूले धेरैजसोले हेरोइन जस्ता लागुऔषध ल्याउने गरेका छन्,’ निरौलाले भने, ‘मँहगा–मँहगा लागुपदार्थहरू भारतबाट आयात गर्छन् । उनीहरूले काठमाडौंमा बिक्री गर्ने र सेवन गर्ने उद्देश्यले भित्र्याउने गरेका छन् ।’ इलामका व्यक्तिहरू उपचार गर्न आउने उद्देश्य लागुपदार्थहरू बोकेर काठमाडौं आउने गरेको उनले जानकारी दिए । उपचार गर्ने आर्थिक स्रोत अभाव हुँदा लागुपदार्थ बिक्री गर्ने गरेको एक अनुसन्धानबाट खुलेको निरौला बताउँछन् । अधिकांश लागुऔषध अहिले काठमाडौंमा कोशी र मधेस प्रदेशबाट भित्रिने गरेको उनले जानकारी दिए । यस अघि काठमाडौंमा लागू औषध वीरगञ्ज र नेपालगञ्जबाट ल्याइने गरेको थियो । साठीको दशकमा बढी लागुऔषध वीरगञ्ज क्षेत्रबाट आउने गरेको उनले जानकारी दिए । बेरोजगारी हुनु नै मुख्य कारण दुर्व्यसनमा फस्नु रहेको समाजशास्त्री सुदीप नकर्मी बताउँछन् । फुर्सद हुँदा पनि कुलतजन्य व्यवहारमा फस्ने गरेको उनको बुझाइ छ । ‘परिवार तथा साथीभाइसँगै बसे पनि एक्लो महसुस गर्नेहरु लागुपदार्थको कुलतमा लाग्ने गरेका छन्,’ उनले भने, ‘साथीभाइको संगत र सांस्कृतिक प्रभावको कारण एक हुन सक्छ । सांस्कृतिक व्यवहार कतिपय अवस्थामा दैनिक व्यवहार बन्ने गरेका छन् ।’ परिवारभित्र भए पनि पारिवारिक अंग नबनेको महसुस गर्ने दुव्र्यसनीमा लाग्ने गरेको नकर्मीले बताए । समाज र परिवारबाट अलग भएको महसुस गर्नेहरू फरक व्यवहार गर्ने गरेको उनको बुझाइ छ । पुँजीवादी समाजमा मूल्य मान्यताको क्षयीकरण हुँदा मानिसहरू कुलत जन्य गतिविधिमा लाग्ने गरेको समाजशास्त्री नकर्मीले बताए । समाजमा आफूले गर्नुपर्ने योगदानको महत्व बुझ्न नसक्नेहरू आफ्नो मात्र संसार रहेको बुझ्नेहरू कुलतमा लागिरहेको उनले उल्लेख गरे । पारिवारिक वातावरण भएमा र व्यक्तिको आफ्नो महत्त्व बुझाउन सकेमा कुलतमा युवाहरू नफस्ने उनले सुनाए । काममा व्यस्त हुने र युवाहरूलाई समय–समयमा मनोपरामर्श गरिदिँदा लागुऔषधबाट टाढा जान सक्ने उनले बताए । मनोरञ्जनले कुलतमा लागू पदार्थममा लागेकाहरू सुरुमा मनोरञ्जनका लागि सेवनकर्ता हुने तर पछि कुलतमा फस्ने नमस्ते फाउण्डेसनका अध्यक्ष रोशनसिंह लामा बताउँछन् । साथीसंगत र मनोरञ्जनकै कारण लागुऔषधको सिकार हुने गरेको उनको बुझाइ छ । ‘पारिवारिक तनाव, प्रेम सम्बन्ध बिग्रेपछि, आर्थिक कारोबार बिग्रदा र साथीको संगतका कारणले कुलतमा फस्ने गरेका छन्,’ सुधार गृहका सञ्चालक लामा भन्छन्,’ कुलतमा फसेकाहरू जुनसुकै समयमा प्रयोग गरिरहन्छन् । शौचालयमा जाँदादेखि निद्राबाट ब्युझँदासम्म सेवन गरिहाल्छन् ।’ रिकभर भएर घर फर्केका ९५ प्रतिशत व्यक्तिहरू कुलतमा फस्ने गरेको लामाको अनुभव छ । सुधार गृहमा बस्दासम्म अनुशासन जीवनमा हुने घर पुगेपछि स्वतन्त्र हुँदा कुलतमा लाग्ने गरेको उनले बताए । सुधार गृहमा पुग्नेहरू गाँजा, ब्राउन सुगर, इन्जेक्सन र मिश्रण औषधी खानेहरू पुग्ने उनको भनाइ छ । अधिकांश कुलतमा फसेकाहरू युवायुवती हुने र श्रमिक हुने गरेको उनले बताए ।अधिकांश कुलतमा फसेकाहरु भारतबाट आयात भएको लागुऔषध प्रयोग गर्ने गरेको लामाले जानकारी दिए । यस्ता छन् असर लागुऔषधको सेवनले एचआईभी एड्स, हेपाटाईटिस तथा यौनजन्य रोगहरू संक्रमण हुने, तौल घट्ने, शरीर दुब्लाउने, खानामा रूचि नहुने, ओभरडोज भएर मृत्यु समेत हुने गरेको चिकित्सकहरु बताउँछन् । यसको प्रयोगले एकोहोरोपन, फ्रस्टेसन, डिप्रेशन, सोच्न सक्ने शक्ति हराउने, स्मरण शक्ति कम हुने र नकारात्मक भावनाको श्रृजना हुने गर्छ । यस्तै, यसले पारिवारिक असमझदारी बढ्ने, घरको सामानहरू चोरी हुने, दैनिक झगडा गर्ने, सम्पत्ति घट्दै जाने, पारिवारिक दुरि बढने, अनैतिक कार्यमा संलग्न हुने गर्दछ ।
८ महिनामा ३३२ जनाको हत्या, असंवेदनशील बन्दै समाज
घटना-१ : पाटन दरबार स्क्वायरमा बुधबार साँझ छुरा प्रहार गरी दुई जना दाजुभाइको हत्या भयो । ललितपुर बस्दै आएका ३३ वर्षीय सुमित नेम्वाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्वाङको हत्या भयो । सिर्जन नेम्वाङले झुक्किएर अर्कै नम्बरमा फोन गरेपछि सुरु भएको विवादले हत्यासम्म पुर्यायो । बुधबार ४ बजेतिर ललितपुरको मंगलबजार घुम्ने क्रममा सिर्जनले एक साथीलाई फोन गर्दा झुक्किएर पाटन भोलढोका वडा नम्बर ९ निवासी सञ्जीव नेपालीको नम्बरमा गएको र त्यहीँबाट विवादको सुरुवात भएको थियो । फोन रिसिभ गर्ने व्यक्तिले अपशब्द प्रयोग गर्दै गाली गरेपछि दुवै पक्षबीच भनाभन भएपश्चात उनीहरूले मंगलबजारमै भेट्ने सहमति गरेका थिए । घटना-२ : ललितपुर महानगरपालिका-२६ को ढोलाहिटीमा केही समयअघि दुई युवाको हत्या भयो । कारण थियो ‘पुरानो रिसिबी’ । ढोलाहिटीस्थित डि-पोपिना रेस्टुरेन्टमा दुई जनामाथि चक्कु प्रहार भएको थियो । सुनसरीको धरान घर भएर ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र पाँचथर घर भएर खुमलटार बस्ने ३० वर्षीय पुजन राईलाई अस्पतालले मृत घोषणा गरेको थियो । घटना-३ : गत मङ्सिरमा बारा प्रसौनी गाउँपालिका–६ भलुही चोका रहेको किरण बेभरेज नेपाल प्रालिका म्यानेजर रामकिशोर सिंहको हत्या भयो । गढीमाइको मेलामा गाडीको क्लच जलाएको निहुँमा राजकुमार र मृतक रामकिशोरबीच झगडा भएको थियो । त्यही झगडापछि राजनकुमारले जागिर छाडेका थिए । रामकिशोरको शव मंसिर १२ गते बिहान पौने ८ बजे उद्योगभन्दा २५ मिटर उत्तरको खाल्डोमा फेला परेको थियो । वीरगञ्जमा सँगै बसेर मदिरा सेवन गरेपछि उनीहरूले हत्या गर्ने योजना बनाएका थिए । हत्याको योजना बनाएपछि राति साढे ८ बजेतिर उनीहरू दुबै जना धारिलो हतियार बोकेर गएका थिए । उद्योगभित्र पसेर उनीहरूले छुरा र इँटाको प्रयोग गरी हत्या गरेका थिए । यी तीन घटनाले हत्यालाई सामान्यीकरण बनाउँदै लगेको देखिन्छ । धेरैजसो घटना रिसिबी र सामान्य कुरा सहन गर्न नसक्दा हत्या भएको देखिन्छ । अस्थिर समाजको परिणाम समाज विचलनमा गएको समय यस्ता व्यक्ति हत्या घटना तथा असामाजिक गतिविधि बढ्ने गरेको समाजशास्त्री टीकाराम गौतम बताउँछन् । सामाजिक संरचना तथा समाज संक्रमणकालमा रहेको समयमा असामाजिक घटनाको संख्या बढ्ने उनको भनाइ छ । ‘सामाजिक मूल्यमान्यताको ख्याल नगर्नेहरूले समाजलाई बढी असर पुर् याउँछन्,’ समाजशास्त्री गौतमले भने, ‘बाल्यकालीन अवस्थाको समय तथा पारिवारिक पृष्ठभूमिले ठूलो प्रभाव पार्ने गर्छ । समाजमा रहँदा विगतमा गरेको गल्ती नसच्याउने तथा बानी परिसकेकाले नकारात्मक गतिविधि गर्ने गर्छन् ।’ व्यक्तिले गर्ने गलतलाई पनि सामान्य ठान्दा यस्ता हत्या जस्तो जघन्य अपराध गर्ने गरेको उनको भनाइ छ । संक्रमणकालीन समाजमा यस्तै हत्या जस्तो गतिविधि हुने गरेको उनले उल्लेख गरे । योजनाबद्ध हत्या पाटन घटना तथा कोही मानिस एक्कासि भएको भेटघाटमा अवस्थामा हत्या गर्न पुग्नेहरू अगाडि योजनासहित जाने गरेको मनोविद डा. पशुपति महतले बताए । मानिसहरूको पेसाले पनि उसको बानी व्यवहार कस्तो हुने त्यहीँ अनुसार प्रस्तुति हुने गरेको उनको भनाइ छ । पाटनको घटनामा मासु काट्ने पेशामा आवद्ध रहेकाले मृत्यु तथा काटमारलाई सामान्य ठानेको हुन सक्नाले डा. महतले बताए । उमेर समूह तथा विगतमा गरेका क्रियाकलापले पनि मानिसलाई असामाजिक काम गर्न प्रोत्साहन गर्न सक्ने उनले बताए । रिस व्यवस्थापन गर्न नसक्नेहरू अन्त्यमा गएर द्वन्द्वमा सामेल हुने डा. महतको बुझाइ छ । व्यक्तिको स्वभाव अनुसार मानिसले व्यवहार देखाउने सक्ने उनले बताए । असामाजिक तथा फरक स्वभावका मानिसले अवाञ्छित गतिविधि गर्न सक्ने उनको भनाइ छ । नैतिक शिक्षाको कमीले समाज आक्रामक बन्दै असामाजिक गतिविधि गर्ने तथा अरूलाई दुःख दिएर आफू खुसीहरू अपराध कर्म गर्नतिर अग्रसर हुने मनोविश्लेषक वासु आचार्य बताउँछन् । नैतिकता नमान्ने र दिमागको उत्तेजना तथा उत्तेजना नियन्त्रण गर्न नसक्नेहरू असामाजिक गतिविधि गरिरहेको उनले बताए । आफ्नो भविष्य कस्तो हुन्छ तथा आफ्नो बारेमा मतलब नगर्नेहरू आपराधिक गतिविधि गर्न तल्लीन हुने आचार्यले बताए । आफूले गरेको कर्मले आगामी परिणाम कस्तो हुन्छ भनेर ख्याल नगर्नेहरू अपराध गर्ने गरेको उनको बुझाइ छ । ‘आचरणमा समस्या तथा झगडा गर्ने बानी भएकाहरू कुनै न कुनै समयमा जघन्य अपराध गर्न सक्छन्,’ आचार्यले भने, ‘गलत संगत, पारिवारिक पृष्ठभूमिको कारण व्यक्तिको आनीबानीको विकास हुने गर्छ ।’ रिस नियन्त्रण गर्न नसक्नेहरू अपराध कर्ममा सामेल हुने गरेको उनले उल्लेख गरे । गरिसकेको कर्मको कस्तो परिणाम आउने भनेर होसियार नहुनेहरू अवाञ्छित गतिविधि गर्ने उनको भनाइ छ । अभिभावक तथा परिवारका सदस्यले अन्य सदस्यको गतिविधि नियाल्नुपर्ने आचार्यले बताए । आवेग नियन्त्रण गर्न नसक्नेहरूले गलत गतिविधि गरिरहेको हुन नसक्ने उनले बताए । हत्याको श्रृङ्खला बढ्दै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्ले आवेगमा आएर गरिने क्रियाकलापले समाज असंवेदनशील गएको बताउँछन् । विद्यालयमा नैतिक शिक्षा पढाउन पनि जरुरी रहेको पनि उनले बताए । प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/०८२ मा पाँच सय २२ जनाको हत्या भएको छ । व्यक्ति हत्यामा ५१० मुद्दा दर्ता भएको छ । चालु आर्थिक वर्ष फागुनसम्ममा ३३२ जनाको हत्या भएको छ । व्यक्ति हत्यामा ३२७ मुद्दा दर्ता भएको छ । अभिभावकको माया र प्रेम नपाएकाहरूमा आपराधिक गतिविधि गर्ने गरेको पाइएको उनले बताए । असल संगतमा नहुने र आवेगमा आउनेहरूले चाँडै अपराध गर्न सक्ने काफ्लेको भनाइ छ ।
हातमा हतकडी लागेका गृहमन्त्रीहरु
काठमाडौं । गत शनिबार पूर्वगृहमन्त्री रमेश लेखक भक्तपुरको कटुञ्जेबाट पक्राउ परे । गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा हेलचक्र्याइँपूर्वक मानिस मारेको भन्दै त्यतिबेला गृह मन्त्रालयको नेतृत्व गरेकाले जाँचबुझ आयोगले लेखकलाई तीनदेखि १० वर्षसम्म कैद सिफारिस गरेअनुसार नै प्रहरीलाई उनलाई पक्राउ गरेको हो । यो समाचार तयार पार्दासम्म लेखक प्रहरी हिरासतमै छन् । उनी २०८१ असार ३१ गतेदेखि २०८२ भदौ २२ गतेसम्म गृहमन्त्री बनेका थिए । रमेश लेखक २०८१ कात्तिक २ गते सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परे । जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको थियो । उनी पहिलो पटक २०७९ पुस ११ गतेदेखि माघ १३ गतेसम्म गृहमन्त्री बनेका थिए । त्यसैगरी, दोस्रो पटक २०८० फागुन २३ गतेदेखि २०८१ असार ३० गतेसम्म गृहमन्त्री बनेका थिए । रवि लामिछाने बलात्कार प्रयासको आरोप लागेका पूर्व सभामुख तथा गृहमन्त्रीको जिम्मेवारी निभाई सकेका कृष्णबहादुर महरा पनि पक्राउ परे । प्रहरीले उनलाई २०७६ असोज १९ गते साँझ बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको थियो । महरामाथि १२ असोजको साँझ संसद सचिवालयकी एक महिला कर्मचारीले बलात्कारको प्रयासको आरोपमा पक्राउ परेका थिए । उनी २०६८ वैशाख २० गतेदेखि २०६८ साउन १५ गतेसम्म गृहमन्त्री भएका थिए । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि पूर्वगृहमन्त्री हुन् । यो समाचार तयार पार्दासम्म ओली पनि प्रहरी हिरासतमा छन् । उनी २०५१ मङ्सिर १४ गतेदेखि २०५२ असोज ५ गतेसम्म गृहमन्त्री भएका थिए । ओलीलाई भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै प्रहरीले ओलीलाई पक्राउ गरेको हो । केपी शर्मा ओली बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री विजयकुमार गच्छदारविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । यद्यपि उनी भने पक्राउ परेनन् । गच्छदार २०६८ भदौ १२ गतेदेखि २०६९ फागुन ३० गतेसम्म गृहमन्त्री बनेका थिए । पूर्वगृहमन्त्री बालकृष्ण खाँण पनि पक्राउ परेका थिए । उनी २०८० वैशाख २७ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले निवासबाट पक्राउ गरेको थियो । खाँण २०७८ असार २९ गतेदेखि २०७९ पुस ११ गतेसम्म गृहमन्त्री भएका थिए । बालकृष्ण खाँण पूर्वगृहमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए । २०८१ साउन १३ गते न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको थियो । जोशी २०५५ वैशाख ८ गतेदेखि २०५६ असार १५ सम्म गृहमन्त्री बनेका थिए । मान्छेले चाहेर आफू कहिले पनि कलंकित वा अपराधी बन्दैनन् । उनीहरू आफूलाई अपराधी बनाउन चाहँदैनन् । त्यस्तै, परिस्थितिहरूको निर्माण हुन्छ, जसले उनलाई अपराध कर्ममा उक्साउँछ । कतिपय अवस्थामा मानिसहरू प्रत्यक्ष रूपमा उपस्थित भएर अपराध गर्छन् त कोही बेला मानिस आफै अप्रत्यक्ष रूपमा नीतिगत रूपमा अपराध गर्न अग्रसर हुन्छन् । यस्तै–यस्तै उदाहरण नेपालका राजनीतिक व्यक्तित्वमा प्रभाव पर्ने गर्छ । राजनीति गरेर उदाएका व्यक्तिहरू नै नीतिगत अपराध गरेर वा विवेक प्रयोग गर्न नसक्दा प्रहरीको हिरासतमा पुग्ने गरेका छन् । यो समाचार तयार पार्दासम्म नेपालका आठ जना पूर्वगृहमन्त्रीहरू प्रहरी हिरासतमा पुगेका छन् । अझ प्रधानमन्त्री भइसकेका व्यक्तिसमेत प्रहरीको अनुसन्धानमा पुगेका छन् । कुनै समय प्रहरीले तिनै गृहमन्त्रीलाई अगाडि–पछाडि सुरक्षा दिएर हिँड्ने गर्थे । अहिले भने तिनै व्यक्तिहरू प्रहरी हिरासतमा रहेका छन् । गृह मन्त्रालयले मुलुकको सबैभन्दा ठूला प्रशासनलाई चलाउने गर्छ । देशभरको जिल्ला प्रशासन कार्यालयदेखि विभिन्न निकायसम्मको नेतृत्त्व गृहमन्त्रालय अन्तर्गत पर्ने गर्छ । गृहमन्त्रालय सबैभन्दा शक्तिशाली मन्त्रालयमा पर्छ । समग्र प्रहरी प्रशासनदेखि ७७ जिल्लाको स्थानीय प्रशासन वा सीमा सुरक्षासमेत गृहमन्त्रालय अन्तर्गत पर्छ । सामान्य मानिसलाई नागरिकताको पहिचान दिएर नागरिक बनाउने काम पनि गृह मन्त्रालयले गर्ने गर्छ । समग्रमा देशकै प्रशासन सञ्चालन गर्ने गृहमन्त्रीहरूले विवेक र आफ्नो जिम्मेवारी बिर्सिँदा विभिन्न समयमा तिनै मन्त्रीहरू प्रहरीको हिरासतमा पुगेका दृष्टान्त छन् । केही दिनअघि मात्र पूर्वगृहमन्त्रीहरू प्रहरी हिरासतमा पुगेका छन् । पूर्वगृहमन्त्री तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि दिल्लीका पूर्व मुख्यमन्त्री अरबिन्द केजरीवालले आफ्नो पुरानो कुकर्मका कारण नेपालका पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ परेको बताएका थिए । सामाजिक सञ्जालमा एबीपी न्युजको समाचार सेयर गर्दै उनले आफ्नो पुरानो कुकर्मका कारण नेपालका पूर्व प्रधानमन्त्री र पूर्वगृहमन्त्री पक्राउ परेको बताएका हुन् । नेतृत्वमा रहँदा समग्र मान वविकासको अध्ययन नगर्दा उच्चपदस्थमा रहेका व्यक्तिहरू अन्त्यमा प्रहरीको हिरासतमा पुग्ने गरेको दृष्टान्त रहेको पूर्वसचित गोपी मैनाली बताउँछन् । शक्तिमा रहँदा नेतृत्वहरूले विवेक प्रयोग गर्न नसक्नेहरू नै अन्त्यमा प्रहरीको अनुसन्धानको दायरा पर्ने गरेको उनको भनाइ छ । ‘शक्तिमा रहँदा शक्तिको सदुपयोग नगर्ने तर शक्तिको दुरुपयोग गर्नेहरू प्रहरीको हिरासतमा पुग्ने गरेका छन्,’ उनले भने, ‘नेतृत्त्वमा रहेका व्यक्तिहरूले सधैं प्रशासनका लागि पाएका जिम्मेवारी पुरा गर्नुपर्छ । आफू के का लागि राजनीति गरेको र किन त्यो पदमा पुगे त्यसको आत्ममूल्यांकन गरेमा त्यस्ता व्यक्तिले शक्तिको दुरुपयोग गर्दैन थिए ।’ नेताहरूमा हरेक कुरालाई स्वीकार्न सक्ने क्षमता हुने गरेको स्वमनोविद् वासु आचार्य बताउँछन् । नेताहरूको स्वभाव स्वीकार्ने हुन्छ र मनोविज्ञान फरक प्रवृत्तिका हुने गरेको उनको भनाइ छ । ‘कुनै पनि कुरालाई नेताले सामान्य रुपमा लिने गर्छन्,’ मनोविद आचार्य भन्छन्,’ मैले केही गरेको छैन । मेरो गल्ती कहीँ भएको छैन जस्ता कुरा गरेर जिद्दी गरेका हुन्छन् ।’ ठूला–ठूला पदमा पुगेका नेता तथा कर्मचारीहरूको पर्सनालिटी फरक किसिमको हुने गरेको उनले बताए । शक्तिको महत्त्व नबुझ्दा हिरासतमा शक्ति भएपछि संयम गुमाउनेहरू प्रहरीको फन्दामा पुग्ने गरेको वरिष्ठ पत्रकार तीर्थ कोइराला बताउँछन् । शक्तिमा भएपछि के गर्न हुन्छ वा हुन्न त्यसको निर्णय गर्न नसक्नेहरू प्रहरीको हिरासतमा पुगेको उनको भनाइ छ। शक्तिको दुरुपयोग गर्ने र शक्ति केही होइन भन्ने मानसिकता त्याग्न नसक्नेहरू कुनै न कुनै हिसाबले कानुनको फन्दामा पर्ने गरेको कोइरालाले बताए । शक्तिको उन्माद लाग्नेहरू प्रहरीको हिरासतमा पुग्ने नेपाल प्रहरीको पूर्व डीआइजी हेमन्त मल्ल ठकुरी बताउँछन् । गृहमन्त्रालय पावरफुल मन्त्रालय भएकाले शक्तिको मिस युज गरेकाले प्रहरीको अनुसन्धानमा दायरामा आउने गरेको उनको भनाइ छ । ‘अधिकार सम्पन्न मन्त्रालयको अधिकार र कर्तव्य नबुझेकाहरू प्रहरीको हिरासतमा पुगेका छन्,’ उनले भने ।
स्क्यामरको पासोले बैंक खाता रित्तियो
काठमाडौं । ‘हेल्लो म खल्ती एपको म्यानेजर बोलेको हुँ । तपाईंले खल्ती एप चलाउनु हुँदो रहेछ । बधाई छ, तपाईंलाई ६ हजार रुपैयाँको बोनस प्राप्त भएको छ,’ ललितपुरका नवीन श्रेष्ठको फोनमा नयाँ नम्बरको ह्वाट्सएपबाट अनौठो आवाज सुनिन्छ । उनी अपरिचित नम्बरबाट पैसा प्राप्त भएको खबर सुनेर मख्ख पर्दै बोल्छन् । ती व्यक्तिको कुराले नवीन उत्साहित पनि भए । उनीहरूबीच केही समय कुराकानी लम्बिन्छ । अपरिचित व्यक्तिले उनलाई बोनसको पैसा प्राप्त गर्न खल्ती एपको लिङ्कको सम्पूर्ण विवरणसहितको नम्बर लगायत सबै जानकारी पठाउन अनुरोध गरे । नवीनले पनि बोनस पाउने लोभमा खल्ती एपको सबै विवरणसहितको लिङ्क अपरिचित व्यक्तिलाई ह्वाटसएपमा पठाइदिन्छन् । त्यसपछि उनले फोन राखे । फोनमा कुरा गरेको तीन दिनपछि ४२ वर्षीय नवीनको खल्ती एपबाट क्षण–क्षणमा गरेर ९० हजार काट्यो । लगत्तै खल्तीको अफिसमा गए । त्यहाँ जाँदा उनले सबै थाहा पाए । पैसा अरु कसैले लगेको । खल्तीको प्रतिनिधिले जब उनलाई सोधे, ‘तपाईंले कसैलाई खल्तीको एप वा ओटीपी दिनु भएको थियो,’ नवीनले जवाफ दिए, ‘हो मैले एकजनालाई खल्ती एपको लिङ्क दिएको थिए ।’ खल्ती एपका प्रतिनिधिले पुनः भने, ‘तपाईं प्रहरीकोमा जानू । तपाईंको पैसा कसैले लगेको देखिन्छ । प्रहरीकोमा गएर उजुरी दिनू ।’ नवीन लगत्तै प्रहरीकोमा उजुरी दिन पुगे । सबै डिटेल लिएर उजुरी दिन पुगे । उनको पैसा काठमाडौंकै हिमाल भन्ने व्यक्तिको खातामा गएको देखियो हिमालसँग सम्पर्क गर्दा उनले पनि आफ्नो पैसा हराएको सुनाउँछन् । ईसेवाबाट आफू ठगिएको भन्दै २७ वर्षीय सीता तामाङ पनि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगिन् । ईसेवाको कर्मचारी भन्दै उनलाई एक साताअघि फोन आएको थियो । ईसेवाकी महिला कर्मचारी बताउनेले उनलाई फोन गर्दै भनेकी थिइन्, ‘म्याम नमस्ते । हजुरलाई बधाई ।’ केका लागि बधाई पाइन् त्यसको चाल सीताले थाहा पाइनन् । उनलाई बिहान आएको फोन पुनः सोही नम्बरबाट साँझ आयो । बेलुकी फोन गर्दा पनि ती महिलाले सीताले भनिन्, ‘बधाई छ । हजुरको ईसेवामा बोनस आएको छ । तर, हजुरले बोनस रकम प्राप्त गर्न केवाइसी भर्नु पर्छ ।’ सीता पनि सित्तैमा पैसा पाइने भएपछि फुरुङ्ग भइन् । उनले भनिन्, ‘केवाइसी फाराम कसरी भर्नु ? यो भनेको के हो मलाई थाहा छैन ।’ ती महिलाले सीतालाई भनिन, ‘केवाइसी फारम भर्न नआएमा हामी नै सहजीकरण गरिदिन्छौं । हामी तपाईंहरूका लागि सहयोग गर्न बसेका हौ ।’ यति भनेपछि सीताले पनि उनको कुरामा विश्वास गरिन र समर्थन जनाइन् । सीतालाई ती महिलाले तपाईंको मोबाइल म्यासेजमा एउटा नम्बर आएको होला हेरेर ओटीपी नम्बर बताइदिन आग्रह गरिन् । उनको मोबाइलमा पनि नम्बर आएको रहेछ लगतै ओटीपी नम्बर बताइदिन् । नम्बर पाएपछि उनले सीतालाई भनिन्, ‘मैले नम्बर पाएँ । सबै प्रक्रिया पुरा गरेपछि बोनस आउँछ र संकलन गर्नूहोला ।’ सीता र उनको कुरा भएको भोलिपल्ट ईसेवाबाट पैसा काटियो । उनको खातामा १२ हजार थियो । ईसेवाबाट ५ सय रुपैयाँ मात्र राखेर उनको पैसा हरायो । उनी आत्तिन र चिनेजानेका साथी तथा आफन्तलाई आफ्नो समस्या सुनाइन् । उनले अन्ततः स्क्यामरबाट ठगिएको थाहा पाइन् । उनले पनि नवीनको जस्तै प्रक्रिया गरेर बुझिन् । ईसेवामा सम्पर्क गरिन् । ईसेवाबाट पैसा हरायो । कसरी यस्तो भयो भनेर ईसेवामा सोधपुछ गरिन् । तर, ईसेवाको जवाफ पाएपछि उनी आफू ठगिएको र स्क्यामरको सिकार बनेकी थाहा पाइन् । अनलाइनको भर पर्दा पैसा गुम्यो डल्लुकी २३ वर्षीय कल्पना महर्जन अनलाइनबाट लुगा मगाउँथिन् । फेसबुक र इन्स्टाग्राममा लुगाका राम्रा–राम्रा विज्ञापन देख्थिन् । अनलाइनमा लुगाको राम्रो विज्ञापन देखेर अनलाइनबाट लुगा मगाइन् । उनले विभिन्न आइटमका लुगाका साथै लेडिज ब्याग मगाइन् । उनले सामान प्राप्त गर्नका लागि फेसबुक र इन्स्टाग्राममा रहेको नम्बरमा सम्पर्क गरिन् । फोन गरेर आफूले चाहेको लुगा मगाइन् । पहिलोपटक कल्पनाले १२ हजार रुपैयाँ पठाइन् । फेसबुकमा रहेको नम्बरको ईसेवामा पैसा पठाइन् । पैसा पठाए पनि अनलाइन सपिङ्गको नम्बरबाट पैसा नआएको उनलाई बताइन्छ । कल्पनाले पैसा पठाए पनि उताबाट पैसा अड्किएको बताइन्छ । अनलाइनवालाले पैसा नआउनुको कारण कल्पनालाई बताउँछन् । ‘तपाईंको सायद केवाइसी नभरेकाले त्यसरी पैसा अड्किएको हुन सक्छ,’ अनलाइनवालाले कल्पनालाई भन्छन् । उनले पनि केवाइसी नभरेको जानकारी दिन्छिन् । केवाइसी नभरेको भए हामी भरिदिन्छौ । तपाईंको मोबाइलमा ओटीपी नम्बर आएको होला मलाई भन्दिनु । सबै काम एकैछिनमा सकिने र अड्किएको सबै पैसा यता आउने अनलाइनवालाले उनलाई बताउँछन् । ओटीपी नम्बर कल्पनाले हतपत्त अनलाइनवालालाई दिन्छिन् । उताबाट अड्केको पैसा पनि आफूले पाएको उनलाई खबर दिन्छन् । त्यसको भोलिपल्ट कल्पनाको ईसेवामा खातामा रहेको ४५ हजार सबै हराउँछ । उनी पनि सीताजस्तै आत्तिइन पैसा हराएपछि लगत्तै ईसेवालाई सम्पर्क गरिन् । पैसा हराएको विवरण र सम्पूर्ण जानकारी ईसेवालाई दिइन् । ईसेवाले सम्पूर्ण पैसा स्क्यामरबाट लगिएको कल्पनालाई जानकारी दियो । आफू ठगिएको थाहा पाएपछि कल्पना काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी लिएर पुगिन् । पछिल्लो समय काठमाडौं उपत्यका अपराध अनुसन्धा कार्यालयमा पनि खल्ती, ईसेवा र अनलाइन लुगा पसलबाट ठगिएको भनेर उजुरी दिन पुग्नेको संख्या बढेको छ । दैनिक जसो ओटीपीको माग गरेर पैसा हराएको भन्दै सेवाग्राहीहरू गुनासो पुग्न थालेका छन् । अपराध अनुसन्धान कार्यालयका एक अनुसन्धान अधिकृतका अनुसार ओटीपीको माग गरेर पैसा हराएको भन्दै दैनिक ८–९ वटा निवेदन पर्न थालेका छन् । केवाईसी अपडेट गर्नुपर्ने भन्दै स्क्यामरले ओटीपी माग गरेर पैसा हराएको भन्दै सेवाग्राही आएको उनले जानकारी दिए । ह्वाट्सएपमा मात्र कुराकानी सेवाग्राहीबाट नयाँ नम्बरबाट ¥यान्डमली व्यक्तिलाई फोन आउने गरेको उनले सुनाए । अपरिचित व्यक्तिबाट पैसा पाउने प्रलोभनमा परेर सेवाग्राहीहरू पनि बोल्ने गर्दा फस्ने गरेको ती प्रहरी अनुसन्धान अधिकृतले विकासन्युजलाई बताए । स्क्यामरले साथीहरूको फेसबुकबाट फ्रेण्ड लिस्ट हेरेर फ्लोअप गर्ने गरेको अनुसन्धानबाट खुलेको उनको भनाइ छ । पैसा गुमाउनेमा शिक्षित तथा सबै प्रकारका मानिसहरू पर्ने गरेको ती प्रहरीको अनुभव छ । स्क्यामरहरूले ह्वाटसएपबाट मात्र कुरा गर्ने गरेको उनले जानकारी दिए । स्क्यामरले ह्वाट्सएपबाट मात्र कुरा गर्ने भएकाले भेट्न नसकिने प्रहरीको भनाइ छ । उनीहरूले व्यक्तिको हराएका नम्बर फेला पारेर कुरा गर्ने गरेको उनको भनाइ छ । स्क्यामरहरू विदाको दिनमा सक्रिय कलेजका विद्यार्थी तथा सरकारी पेन्सन खाने कर्मचारीहरू ओटीपी माग गरेर ठगी भएको भन्दै उजुरी दिन आउने पीडितको संख्या बढिरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्का बताउँछन् । स्क्यामहरूले सेवाग्राहीहरूको रूचि अनुसारको कुरा गरेर ओटीपी माग गर्ने गरेको उनले बताए । ‘स्क्यामरले सेवाग्राहीको रुचि तथा स्वभावका कुरा गर्छन्,’ उनले भने, ‘सेवाग्राहीको कुरा तथा भावना बुझेपछि सोही अनुसारको कुरा गरेर ओटीपी माग्न सफल हुन्छन् ।’ सेवाग्राहीले पनि एक पटक कसलाई र किन नम्बर दिँदैछु भनेर नसोची ओटीपी नम्बर दिने गरेको प्रमुख खड्का बताउँछन् । ठगीमा पर्नेहरू विभिन्न पेशामा आवद्ध र घरायसी काम गर्नेदेखि विद्यार्थीहरू समेत ठगिएको उनले जानकारी दिए । प्रलोभनमा परेर, अरुलाई विश्वास र सोधखोज नगरी पैसा तथा ओटीपी नम्बर दिँदा आममानिसहरू पीडित बनिरहेको खड्काले अनुभव सुनाए । पेन्सन खाने कर्मचारीलाई वाणिज्य बैंकबाट बोलेको भन्दै प्रलोभनमा परेर बैंक डिटेल मागेर लैजाने गरेको उनले बताए । स्क्यामरले खाताग्राहीको सम्पूर्ण विवरण पाएपछि खाताको सबै पैसा झिकेको भन्दै उजुरी दिन आएको उनले जानकारी दिए । स्क्यामरले ह्वाट्सएपबाट मात्र कुराकानी गर्ने गरेको खड्काले बताए । स्क्यामरले धेरैजसो विदाको अघिल्लो दिन पारेर वा विदाको दिनमा पैसा झिक्ने गरेको उनले बताए । बिदाको दिन अफिस बन्द रहने भएकाले बैंकमा कम्प्लेन गर्न नसकून् भनेर उनीहरूले त्यस्तो गरेको हुन सक्ने खड्काले बताए। स्क्यामरहरूलाई नियन्त्रणमा लिन धेरै गाह्रो पर्ने उनको भनाइ छ । उनीहरूलाई नियन्त्रणमा धेरै समय लाग्ने गरेको उनले उल्लेख गरे । ‘ओटीपी कसैलाई नदिनू’ साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार फेसबुक तथा इन्स्टाग्रामबाट अनलाइन लुगा तथा अन्य सामग्री मगाएर पैसा नआएको भन्दै ओटीपीको माग गरिएको छ । सामान मगाउँदैमा पैसा आएन भनेर ओटीपी नदिने उनले आग्रह गरे । स्क्यामरले ओटीपी राख्न लगाएर मोबाइल बैंकिङबाट पैसा लैजान सक्ने अवस्थीको भनाइ छ । सेवाग्राहीलाई प्रलोभनमा पारेर स्क्यामरले बैंक खाताबाहकको विवरण लिने गरेको अवस्थी बताउँछन् । म समस्या वा अप्ठ्यारोमा परेको छु, तुरुन्त पैसा पठाइदिनुहोस्, मेरो बैंकिङ्ग एपमा समस्या आएर मैले पैसा पठाउन सकिरहेको छैन । तपाईं यस क्यूआरमा पैसा पठाइदिनुहोस् भन्ने प्रकारका म्यासेज आएर ठगी क्रम बढेको उनले उल्लेख गरे । उनले साथीभाई लगायत आफन्तहरूलाई पठाई ठगी गर्ने घटनाहरू बढिरहेकोले यस्ता घटनाबाट जोगिन सचेत गराए । उनले ह्वाटसएपमा आएका म्यासेजहरूमा तुरुन्त विश्वास नगर्न आग्रह गरे । सम्भव भएसम्म व्यक्तिलाई प्रत्यक्ष फोन गरेर शंकास्पद लिंक, कोड वा फाइल क्लिक/डाउनलोड नगर्न आग्रह गरे । टु स्टेप भेरिफेकसन अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने अवस्थीको भनाइ छ । आफ्नो ओटीपी तथा भेरिफेकिसेन कोड कसैलाई नदिन अवस्थीले बताए । डिजिटल साक्षरता नहुँदा पैसा गुमाउने बढे आम मानिसमा डिजिटल साक्षरता नहुनुमा ओटीपी नम्बरको माध्यमबाट पैसा गुमाउनेको संख्या बढ्दै गएको साइबर विज्ञ बिक्रम लामा बताउँछन् । डिजिटल कारोबार गर्ने मानिसले मुख्यतया लोभ त्याग गर्नुपर्ने उनको भनाइ छ । ‘डिजिटल कारोबार गर्दा कस्ता मानिससँग आर्थिक व्यवहार गर्दैछु, त्यस विषयमा सचेत हुनुपर्ने र सोच्नुपर्छ,’ साइबर विज्ञ लामाले भने, ‘कसैले गिफ्ट दिँदैछ भनेर फोन गर्छ भने किन र कसले सित्तैमा दिन्छ भनी सोचेर प्रश्न गर्नुपर्छ ।’ उनका अनुसार नियामक निकाय नेपाल राष्ट्र बैंक तथा डिजिटल कारोबार गर्ने पसल वा इकमर्स बजारले डिजिटल साक्षरता बढाउन ध्यान दिनुपर्छ । बैंकमा खाता खोल्दा अनिवार्य रूपमा केवाइसी फाराम भर्नु पर्दछ । केवाईसी फाराममा आफ्नो फोटो, परिचयपत्र, ठेगाना र पारिवारिक विवरण पूर्ण रूपमा खुलाउनु पर्दछ । बचत खाता खोल्न बचत खाता खोल्ने फाराम, फोटो र आवासको प्रमाण (जस्तैः धारा, टेलिफोन वा बिजुलीको रसिद) आवश्यक पर्छ ।
सहकारीकी कर्मचारी प्रेममा परेर ठगिएपछि...
काठमाडौं । उनको दैनिकी कार्यालय जाने आउनेमा बितिरहेको थियो । एक सहकारीमा क्यासियर काम गर्ने उनले आफूलाई बदलिरहेकी थिइन् । सोचेभन्दा फरक जीवनशैली थियो उनको अर्थात् उदयपुरकी सोबिता दाहालको । स्वावलम्बी बनेकी उनी आफ्नो मनमौजीले काठमाडौंमा बस्दै आएकी थिइन । उनी सहकारीमा क्यासियरको मात्र काम गर्दैन थिइन्, सहकारीमा आउने बचतकर्ता र ऋणीसँग पनि कुरा गर्थिन् उनी । सोबिताको सहकारीमा नियमित आइरहने बचतकर्तासँग एक दिन चिनजान हुन्छ । उनी जुम्लाका २२ वर्षीय दीपक बुढा (परिवर्तित नाम)सहकारीमा बचत गरेको पैसा लिन आउँथे । उनीहरुबीच कुराकानी मात्र हुन्न, एक आपसमा मोबाइल नम्बर पनि साटछन् । बिस्तारै उनीहरूंको कुराकानी सामाजिक सञ्जालमार्फत् पनि हुन थाल्यो । दीपक पसलमा काम गर्थे । काम गरेको पैसा सहकारीमा बचत गर्थे । उनीहरुको भेटघाट र कुराकानी बाक्लिदै गयो । दिपक र सोबिताबीचको कुराकानी प्रेममा बदल्यो । उनीहरू बिस्तारै दैनिक रुपमा भेटघाट गर्न थाले । बसुन्धारा बस्ने दिपकले पनि सोबिताको खोजी गर्न थाले । उनी भने कमल पोखरीमा काम गर्थिन् । उनीहरूको नियमित भेट गहिरो प्रेममा परिणत भयो । उनीहरू अब सँगै बस्ने निधो गर्छन् । सँगै पनि बस्छन् । तर, सामाजिक रुपमा उनीहरू दिदीभाई कोठामा भनेर बस्ने गरेका थिए । टोलमा वा वरपरको पसलमा भने दिदीभाइको सम्बन्ध परिचय बनेको थियो । बाहिर उनीहरूको परिचय भने प्रेमी–प्रेमिकाको सम्बन्ध थियो । सँगै बसे पनि उनीहरुको काम भने फरक– फरक ठाउँमा थियो । डेरामा सँगै बसे पनि काम गर्ने स्थान फरक थियो । सोबिता काम गर्ने सहकारीमा थरि–थरिका मानिसहरू आउँथे । सबैसँग उनी बोल्थिन् । दीपकजस्तै गरेर सहकारीमा आएका अन्य व्यक्तिसँग पनि उनको परिचय हुन्छ । उसैगरी उनीहरुको कुराकानी बढ्दै जान्छ । दीपकसँग सँगै बसे पनि उनले नयाँ युवकसँग बोल्न भने छोडिनन् । हेटौडाका २५ वर्षीय नारायण प्रसाद घिमिरे (परिवर्तित नाम) सँग पनि सोबिताको कुराकानी र भेटघाट बाक्लिँदै गयो । कार्यालयमा हुँदा उनले नारायणसँग फेसबुक र ह्वाटसएपमा कुरा गर्थिन् । कोठामा पुगेपछि भने उनीहरुको कुराकानी बन्द हुन्थ्यो । किनभने उनी कोठामा दिपकसँग बस्थिन् । सोबिता बिहान ९ बजे कोठाबाट निस्किन्थिन् । अफिसमा पुग्नसाथ उनको र नारायणको कुराकानी हुन सुरु हुन्थ्यो । नारायण र सोबिताको कुराकानीले बाक्लै रुप लिएपछि प्रेममा नै परिणत हुन्छ । उनले अफिस बिदा हुनेबित्तिकै नारायणलाई समय दिने गर्थिन् । हरेक दिन उनको भेटघाट नारायणसँग हुन थाल्यो । उनीहरूको प्रेम सम्बन्धबाट शारीरिक सम्बन्धसम्म पुग्छ । नारायणसँग सम्बन्ध बढेपछि सोबिताको दिपकसँग खटपट बढ्न थाल्छ । दिपक र सोबिताको दैनिक झगडा हुन थाल्छ । बिस्तारै सोबिता पनि दीपकसँग भन्दा नारायणसँग नजिक हुन्छिन् । नारायणले पनि सोबितालाई नजिक पारेपछि आफ्नो समस्या खुलेर बताउँन थाल्छन् । उनले आफ्नो भन्दा परिवारको समस्या बताउन थाल्छन् । सोबितालाई समस्या सुनाएर ऋणमा पैसा पनि माग्छन् । उनले पनि प्रेम गरेकीले पहिलो पटक पैसा माग्न साथ १० लाख रुपैयाँ दिन्छिन् । पैसाले उनीहरू बीचको निकटता झन कायम ग¥यो । यता नारायणसँग सम्बन्ध बढेपछि दीपकसँगको सम्बन्ध बिग्रदै गयो । नारायणले पनि पैसा पाइने लोभमा नाटकीय रुपमा झन गहिरो प्रेममा परेको आभास दिलाए । उनले सोबितासँग पुनः ५ लाख रुपैयाँ मागे तर उनले दिन सकिनन् । नारायणले पैसा मागेर हैरान बनाए । हैरान मात्र बनाएनन् । ब्ल्याकमेलिङसमेत गर्न थाले । ह्वाटसएप र फेसबुकमा अनैतिक सम्बन्धको फोटो सार्वजनिक गरिदिने भन्दै धम्क्याउन थाले नारायणले । उनले सामाजिक सञ्जालमा पैसा नदिएपछि निरन्तर धम्क्याउन थालेपछि अन्त्तयमा नेपाल प्रहरीको साइबर ब्यूरोमा उनी पुग्छिन् । सोबिताले साइबर ब्यूरोमा उजुरी दिइन् । ब्यूरोका प्रहरी अनुसन्धान अधिकृतका अनुसार नारायले सोबितालाई फेसबुक म्यासेन्जरमा पोर्न फिल्मको फोटो पठाउँथे । अश्लील भिडियो/फोटोमा सोबिताको टाउको राखेर फोटो सार्वजनिक गरिदिने धम्की दिने गरेका थिए । ब्यूरोमा उजुरी परेपछि नारायणलाई बोलाएर अनुसन्धान गरिएको ब्यूरोका एक प्रहरी अनुसन्धान अधिकृत बताउँछन् । सामाजिक सञ्जालबाट बढी यातना दिने गरेकाले नारायणको मोबाइल नियन्त्रणमा लिएर फर्म्याट गरि बुझाएको उनको भनाइ छ । ब्यूरोका प्रहरी निरीक्षक राजकुमार श्रेष्ठले केटालाई बोलाएर अबदेखि सामाजिक सञ्जालबाट धम्की नदिने र यातना नदिने बताएपछि सम्झाएर छाडिएको बताए । उनले करिब दश दिनअघि ब्यूरोमा उजुरी दिएकी ब्यूरोले जनाएको छ । विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद-९ मा उल्लेख गरिएका अपराधहरू साइवर अपराध अन्तर्गत पर्छन् । ऐनको दफा ४६ अनुसार कुनै संस्थालाई गलत तरिकाले हानी नोक्सानी पुर्याउनका लागि कम्प्युटरमा रहेको कुनै सूचनालाई नष्ट गरेमा, क्षति पु¥याए वा मेटाएमा र हानिकारक प्रभाव पारेमा कसुर गर्ने व्यक्तिलाई दुई लाखसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै हुन सक्छ । ऐनको दफा ४७ मा उल्लेख भएअनुसार सार्वजनिक रुपमा नैतिकता शिष्टाचार विरुद्धका सामग्री प्रकाशन वा प्रदर्शन गरेमा, कसैप्रति घृणा वा द्वेष फैल्याउने वा कम्प्युटर वा इन्टरनेटको प्रयोगबाट विभिन्न सामाजिक सञ्जाल मार्फत सार्वजनिक जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गरेमा, महिलालाई जिस्काउने, हैरानी गर्ने, अपमान गर्ने वा अर्मयादित कार्य गरेमा र गर्न लगाएमा साइबर अपराध गरेको मानिने छ । यस्ता अपराध गर्ने व्यक्तिलाई १ लाख रूपैयाँ जरिवाना र पाँच वर्षसम्म कैद गरिने वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।
ठमेलमा दिपक मनाङ्गेको ‘कम ब्याक’
काठमाडौं । गत शनिबार दिउँसो ठमेलको नोभा क्लबको प्राङ्गणमा फरक दृश्य देखियो । अरूबेला सुनसान हुने क्लब शनिबार भने युवाहरूको भीडले खचाखच थियो । युवाहरूको भीड, मोटरसाइकल तथा अन्य सवारीसाधनको लावालस्कर क्लब वरिपरि थियो । सबैको हात–हातमा खादा र माला थिए । मानौं उनीहरूट्ठ ठूलै भीआईपीलाई कुरिरहेका थिए । केहीबेरमै आइपुगे भर्खरै जेलबाट छुटेका पूर्वमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङ्गे । उनको स्वागत गर्ने युवाहरूको भीड र तछाडमछाड थियो त्यहाँ । नेपाली कांग्रेसका नेता गणेश लामादेखि कांग्रेसका अन्य कार्यकर्ताको पनि बाक्लै उपस्थिति थियो । कार्यक्रममा पुगेका युवाहरू ‘दिपक दाईको कार्यक्रम छ’ भन्दै आइरहेका थिए । जेलबाट छुटेका मनाङ्गे पुग्दा ठमेलका व्यवसायी र समर्थकले क्लब नोभामा स्वागत गरे । मनाङ्गे ज्यान मार्ने उद्योगको कसुरमा कैद काटेर डिल्लीबजार कारागारबाट बुधबार मात्र छुटेका थिए । नोभा क्लबको आयोजनामा चियापान तथा भेटघाट कार्यक्रम मनाङ्गे नै प्रमुख अतिथि थिए । उनलाई स्वागत गर्न राखिएको कार्यक्रममा उनी केन्द्रबिन्दुमा देखिनु सामान्य नै थियो । स्वागत कार्यक्रममा चिया तथा बिस्कुट राखिएको थियो । सबै युवाहरू खादा र माला लगाउँदै चिया पिउँदै गफिरहेका थिए । सबैभन्दा रोचक पक्ष त कार्यक्रममा सहभागी युवाहरूले भनिरहेका थिए– ‘दीपक दाईको कमब्याक भयो ।’ त्यतिका धेरै युवाहरू भने ठमेलका मात्र थिएनन् । ठमेलदेखि बाहिरबाट समेत उनीहरू त्यहाँ आएका थिए । एक समय मनाङ्गे काठमाडौंमा ‘गुन्डा नाइके’का रूपमा परिचित थिए । उनले ठमेलबाटै आफ्नो परिचय बनाए । उनको उपस्थितिबिना त्यहाँ कुनै काम गर्न पाइँदैनथ्यो । उनलाई असुली बुझाउने शर्तमा काम अगाडि बढ्ने गरेको चर्चा पनि हुन्थ्यो । उनी जब राजनीतिमा लागे, उनको परिचय बदलियो । समाजसेवी र राजनीतिको रूपमा उनको परिचय बन्यो । मनाङ्गे स्वतन्त्र सांसदका रूपमा गण्डकी प्रदेशसभाका सदस्य बने । कुनै समय कानुनले नगर भनेकै मात्र काम गरिहिँड्ने मनाङ्गेसँग कानुन बनाएको अनुभव समेत छ । अहिले कानुन र समाजको बारेमा राम्रो ब्रिफिङ दिनसमेत पोख्त भएका छन् । उनी सुशासन, सभ्य समाज र राष्ट्र निर्माण गर्ने दौडमा लागेकाले पनि होला उनको स्वागत र सम्मानमा युवाहरूको उपस्थिति थियो । उनै मनाङ्गे अहिले भने अहिले मुलुक र समाजलाई राम्रो कर्म गरेर युवाहरूलाई जोड्न सकिने बताउने गरेका छन् । काठमाडौंका एक उच्च प्रहरी अधिकारीले भने उनको भेलालाई लिएर केही शंकाको सुविधा दिनु पर्ने बताए । उनका अनुसार अहिले पनि ठमेलमा मेरो उपस्थिति रहने तथा प्रभाव रहेको सन्देश दिन खोजेको जस्तो देखिन्छ । ठमेलका व्यवसायीलाई यहीँ भीडभाड देखाएर आफ्नो प्रभाव देखाउन खोजिएको जस्तो देखिने ती प्रहरीको बुझाइ छ । राजनीतिमा लागिसकेकाले उनले यहीँ भीडलाई देखाएर राजनीतिमा प्रवेश गर्ने पनि सम्भावना उत्तिकै रहेको उनले बताए । ठमेलमा मनाङ्गेको कार्यक्रम भएको बारेमा जानकारी भएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले बताए । उनको सम्मान, स्वागत कार्यक्रम तथा भेलालाई व्यक्तिको स्वतन्त्रता तथा भेला हुने र कार्यक्रम गर्न पाउने अधिकार रहेको भन्दै सामान्य रूपमा हेरिएको धारणा राखे । कुनै पनि व्यक्तिको अपराध तथा आपराधिक क्रियाकलाप बढेको खण्डमा प्रहरीले निगरानी गर्ने उनको भनाइ छ । प्रहरीले भने उनको भेलालाई सामान्य रूपमा लिएको उनको धारणा छ । त्यसो त शनिबारको स्वागत कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताको बाक्लै उपस्थिति थियो । कार्यक्रममा मनाङ्गेको छेउमा अर्का नेपाली कांग्रेसका युवा नेता गणेश लामाको उपस्थिति थियो । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा उनी शेरबहादुर देउवा पक्षमा खुलेका थिए । विशेष महाधिवेशनपछि लामाले पार्टी कार्यालयको सुरक्षासमेत दिएका थिए । विशेष महाधिवेशन पक्षधर गगन थापा समूहलाई उपस्थिति हुन नदिनलाई लामा समूहले पार्टी कार्यालयको सुरक्षा दिएर बसेका थिए । मनाङ्गेको राजनीतिक यात्रा बारम्बार विवादमा पर्दै आएको थियो । सायद अब त्यहीँ विवादित चरित्रलाई सुधार्ने पक्षमा उनी देखिएकाले राजनीतिको मैदानमा देखिने लामाको उपस्थितिले संकेत गर्छ । गत असारमा सर्वोच्च अदालतले मनाङेलाई गण्डकी प्रदेशको सांसदबाट पदमुक्त गरेको थियो । उनी मनाङ प्रदेश (२) बाट निर्वाचित भएका थिए । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडालको संवैधानिक इजलासले फौजदारी कसुरमा सजाय पाएको हुनाले उनको निर्वाचित पद जारी रहन नसक्ने फैसला गरेको थियो । अधिवक्ता वीरेन्द्रराज कार्कीले फौजदारी अभियोग लागेका मनाङ्गे प्रदेशसभा सदस्य हुन अयोग्य भएको भन्दै उनको उम्मेदवारी नै खारेज गराउन माग गर्दै निर्वाचन आयोगविरुद्ध २०७९ पुस ११ मा रिट दायर गरेका थिए । विसं २०६१ वैशाख ३१ गते महाराजगन्जमा खुकुरी प्रहारबाट चक्रे मिलनको हात काटिएको थियो । सोही घटनामा अभियुक्त ठहर गर्दै मनाङ्गे जेल परेका थिए । सोही मुद्दामा पाँच वर्ष जेल सजाय सुनाइएका मनाङे यस पटक एक वर्ष ४ महिना कैद भुक्तानी गरेर छुटेका हुन् । जेनजी आन्दोलनका बेला भदौ २४ गते देशभरका जेलबाट कैदीबन्दीहरू भाग्दा मनाङ्गे ‘फेरि आउनुपर्छ, किन भाग्ने ?’ भन्दै जेलमै बसेका थिए । उनी आफू मात्रै बसेनन्, आफूसँगै रहेका अन्य कैदीबन्दीलाई पनि रोकेका थिए।
प्रहरी हेडक्वाटरदेखि मेटासम्म सक्रिय हुँदा शान्तिपूर्ण बन्यो निर्वाचन
काठमाडौं । प्रतिनिधि सभा २०८२ को निर्वाचन सम्पन्न भइसकेको छ । फागुन २१ गते भएको निर्वाचन समग्रमा शान्तिपूर्ण रूपमा भयो । यस पटकको निर्वाचनमा सरकारी निकायले सामाजिक सञ्जाललाई अवसर र चुनौतीको रुपमा लिए । धेरै राजनीतिक दल तथा उम्मेदवारहरू सामाजिक सञ्जालकै कारण उदाएका छन् । राजनीतिक दल तथा उम्मेदवारले आफ्नो बारेमा निर्वाचनको प्रचारप्रसार सामाजिक सञ्जालबाट गरेका थिए । सामाजिक सञ्जाल मार्फत उम्मेदवारको एजेण्डाहरू भिडियोबाट प्रसारित भएका थिए । तर, उम्मेदवारविरुद्ध गालीगलौज तथा भ्रामक सूचनाहरू पनि सामाजिक सञ्जालबाट नै बाहिर आएका थिए । कतिपय उम्मेदवार सामाजिक सञ्जालमा चर्चित भएकाहरू निर्वाचितसमेत भएका छन् । त्यसैले पनि होला निर्वाचन आयोग र नेपाल प्रहरीले सबैभन्दा बढी ध्यान सामाजिक सञ्जाललाई दियो । निर्वाचन बिथोल्न खोज्ने समूहहरू र निर्वाचन हुनुपर्छ भन्ने दुवै समूहहरू सामाजिक सञ्जालमा सक्रिय देखिन्थे । निर्वाचन बिथोल्ने गतिविधि गर्नेलाई प्रहरीले नियन्त्रणमा पनि लिएको थियो । सामाजिक सञ्जालमा समाज भड्काउ तथा निर्वाचन बिथोलिने खालका अभिव्यक्ति दिने व्यक्तिलाई प्रहरीले पक्राउ गर्यो । निर्वाचन आयोगले र प्रहरीले सबैभन्दा बढी चुनौतीको रुपमा सामाजिक सञ्जाललाई ठानेको थियो । किनभने निर्वाध रुपमा मानिसले खुलेर आ-आफ्ना दल तथा मन परेको उम्मेदवारको पक्षमा समर्थन गरिरहेका थिए । राजनीतिक दलका उम्मदेवारप्रति सामाजिक सञ्जालमार्फत समर्थन र विरोध भएका थिए । सोही अनुसार प्रहरीले पनि सामाजिक सञ्जालमा हुने गतिविधिलाई पूर्ण रुपमा कडाइको साथ निगरानी गरेको थियो । त्यसैले पनि शान्तिपूर्ण निर्वाचन सम्पन्न भयो । धेरैले अहिले भएको निर्वाचन इतिहासमै शान्तिपूर्ण भएको भनेर चर्चासमेत गर्न थालेका छन् । निर्वाचनको मौन अवधि सुरु भएपछि सामाजिक सञ्जाल कसरी संयमित भयो ? यी र यस्तै–यस्तै कुराहरू बुझ्न विकासन्युजले प्रहरीका विभिन्न निकाय तथा निर्वाचन आयोगलाई सम्पर्क गरेको थियो । प्रहरी प्रधान कार्यालयमै एआई एडभान्स एनालाइटिक्स सेल स्थापना गरेर निर्वाचन अवधिभर सामाजिक सञ्जाललाई सबैभन्दा बढी निगरानी गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता अविनारायण काफ्लेले बताए । ‘साइबर ब्यूरो लगायत प्रहरीका साइबर युनिटलाई पूर्ण रुपमा परिचालन गरिएको थियो,’ उनले भने, ‘साइबर ब्यूरोमा २ वटा डेस्क खडा खरिएको थियो । सामाजिक सञ्जालबाट भ्रामक घृणा फैलाउने, निर्वाचन विरोधी गतिविधि गर्ने तथा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सबैलाई पूर्ण रुपमा निगरानी गरिएको थियो ।’ उनका अनुसार केन्द्रीय प्रहरी कार्यालय, प्रदेश, जिल्ला र उपत्यकामा निर्वाचन सेल बनाएर सामाजिक सञ्जालको निगरानी गरिएको काफ्लेको भनाइ छ । केन्द्रबाट निर्वाचनको अन्तिम समयसम्म नियमित रूपमा सामाजिक सञ्जालको निगरानी गरिएको उनले खुलाए । काफ्लेका अनुसार प्रहरी प्रधान कार्यालयमा ५ वटा डेस्क खडा गरिएको थियो । प्रहरी उपरीक्षकको नेतृत्वमा निर्वाचन सेलले काम गरेको थियो । सामाजिक सञ्जालबाट अनावश्यक सूचना प्रवाह हुन नदिने । निर्वाचनलाई लक्षित कुनै पनि गतिविधि गरिएको सामाजिक सञ्जालमा देखिएमा कारबाही गर्ने र उक्त पोष्ट हटाउन अनुरोध सम्म गरिएको थियो । सामाजिक सञ्जाल निगरानी गर्न दरबन्दी थप्दै निकट भविष्यमा प्रहरीले एआई एडभान्स एनालाइटिक सेललाई प्रदेशमा दरबन्दी थप्ने गरेर तयारी भइरहेको काफ्लेले जानकारी दिए । उनले आवश्यक नीति बनाएर सामाजिक सञ्जालबाट समाजलाई दिग्भ्रमित पार्ने गतिविधिलाई रोक्न प्रहरीको यो कदमले सहयोग पुग्ने बताए । सामाजिक सञ्जाललाई निगरानी गर्न प्रविधियुक्त डिभाइस राखिने काफ्लेले बताए । ‘सामाजिक सञ्जालबाट के-कस्ता गतिविधि हुन लागेको छ । ठूला-ठूला गतिविधि सामाजिक सञ्जालबाट हुने र प्रयोगकर्ताले धारणा लिने र अवाञ्छित गतिविधि हुन नदिने तथा मुलुकभित्र भौतिक तथा मानवीय क्षति हुन नदिन यस्ता प्रविधिले जानकारी दिने र सुरक्षा रणनीति बनाएर अगाडि बढ्न सजिलो हुन्छ,’ उनले भने । नेपालमा निर्वाचन गतिविधि भएकाले त्यसको विरुद्ध हुने गतिविधिलाई हटाइदिन भनेर मेटालाई अनुरोधसम्म गरिएको काफ्लेले बताए । माघको तेस्रो सातादेखि प्रहरीले सामाजिक सञ्जाललाई पूर्ण रूपमा निगरानी गरेको थियो । निर्वाचन आयोगमा डिएसपीको नेतृत्वमा निर्वाचन सेल खडा गरिएको थियो । प्रहरीले डिप फेक र निर्वाचन आचारसंहिता विपरीतका कन्टेन्ट हेर्ने र हटाउने समेत काम गरेको थियो । सामाजिक सञ्जाललाई निरन्तर रुपमा निगरानीमा राखेर निर्वाचन विरुद्ध कुनै पनि पोष्टलाई सामाजिक सञ्जालमा राख्न दिएको थिएन । ‘निर्वाचन अथवा युवा लक्षित प्रहरीले पोष्ट पनि सार्वजनिक गरेको थियो,’ प्रवक्ता काफ्लेले भने, ‘प्रेम दिवसमा भनौं अन्य दिनमा नेपाली युवाहरूलाई सामाजिक सञ्जालबाट अवाञ्छित गतिविधि नगर्न र पासवर्ड नसाट्न भनेर सचेतनामूलक पोष्ट गरेका थियौं ।’ उनका अनुसार प्रहरीले निर्वाचन विरोधी गतिविधि गर्ने व्यक्तिहरूलाई समयमै पहिचान गरी कानूनी कारबाही तथा नियन्त्रणमा समेत लिएको थियो । निर्वाचनमा प्रहरीले सोसल मिडियालाई अवसर र चुनौती दुवैको रुपमा लिएको उनले बताए । प्रहरीलाई नागरिकसमक्ष सूचना पु¥याउन धेरै सहज भएको छ । तर यही माध्यमको कारण समाजमा गलत सूचना तथा भ्रामक समाचार फैलने उत्तिकै जोखिम रहेको उनको भनाइ छ । निर्वाचन सुरक्षा व्यवस्थापन प्रभावकारी कार्यान्वयन, निर्वाचन आयोगसँग निरन्तर समन्वय र सहकार्य गरेर सुरक्षा व्यवस्था थप व्यवस्थित बनाइएको थियो । टिकटकका कन्टेन्ट पनि हटाइयो निर्वाचन विरोधी कन्टेन्ट टिकटकमा देखिएमा हटाउने काममा साइबर ब्यूरो सक्रिय भएर लागेको ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले बताए । ‘मौन अवधि सुरु भएपछि टिकटकले त्यस्ता कन्टेन्ट हटाउने गरेको थियो,’ उनले भने, ‘युजर डिटेल उपलब्ध गराउनेदेखि टिकटक प्रयोगकर्ताले हालेका कन्टेन्ट हटाउन ठूलो सहयोग गर्यो ।’ नेपालमा टिकटक सूचीकृत भएकाले पनि धेरै सहज भएको उनको भनाइ छ । अन्य सामाजिक सञ्जाल सूचीकृत नहुँदा भने कतिपय कन्टेन्ट हटाउन समय लागेको र युजर डिटेल ढिला पाइएको उनले जानकारी दिए । नेपालको जिल्ला अदालतले विदेशस्थित रहेका अदालतले युजरको डिटेल पठाउन माग गर्ने गरेको उनले बताए । अदालती प्रक्रियाको झन्झटले युजर पत्ता लगाउन र कन्टेन्ट हटाउन केही समस्या आउने गरेको उनले सुनाए । अदालतले चिठ्ठी पठाउने व्यवस्था गरेमा टिकटक जस्ता सोसल मिडिया कम्पनीले युजर पत्ता लगाउने तथा कन्टेन्ट हटाउन अझ सहज हुने उनले धारणा व्यक्त गरे । ‘साइबर ब्यूरोले सोसल इन्जिनियरिङको काम गरेको थियो । निर्वाचन आयोग र प्रेस काउन्सिलबाट समेत पत्र आएको थियो,’ अवस्थीले भने । सोसल मिडियाको महत्त्व निर्वाचन जस्तो संवेदनशील विषयलाई लिएर सबैजना गम्भीर बनेकाले पनि मौन अवधिभरमा सामाजिक सञ्जालमा मानिसहरू सभ्य बन्न सकेको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताएका छन् । सोसल मिडिया युजरहरू गम्भीर, जिम्मेवार तथा सभ्य बन्दा केही घटनाबाहेक निर्वाचनको वातावरण राम्रो बनेको उनको भनाइ छ । यो निर्वाचनले सामाजिक सञ्जाललाई अवसर र चुनौतीको रुपमा बुझाउन सफल भएको उनले बताए । सोसल मिडिया आफैँमा नराम्रो नभएको तर प्रयोगकर्ताहरू सचेत हुनुपर्ने अवस्था आएको उनको भनाइ छ । ‘राजनीतिक दल र उम्मेदवारले पनि यसपालिको निर्वाचनमा सामाजिक सञ्जालको महत्त्व बुझेको हुन सक्छन्,’ उनले भने, ‘मतदाता शिक्षाको कार्यक्रम भए पनि सामाजिक सञ्जालबाट भएको कार्यक्रम प्रभावकारी देखिन्थ्यो ।’ उनका अनुसार सोसल मिडियाहरू आयोगसमक्ष सम्पर्क आए । उनीहरूलाई अवसर र चुनौती दुवैको बारेमा बुझाएको उनले बताए । ‘यहाँ आएकालाई टक्सिक इन्फर्मेसन निर्वाचनका लागि थ्रेट हुन्छ भन्यौं,’ उनले अगाडि भने । आयोगले निरन्तर नेपाल प्रहरी, नेपाली सेना र प्रेस काउन्सिलसँग समन्वय र सहकार्य गर्दै गएको उनले बताए । सोसल मिडिया प्रयोगकर्ताहरू सबैभन्दा बढी जिम्मेवार बनेको उनको बुझाइ छ । सोसल मिडियामा के-के कुराहरू समस्या हुन्, त्यसको पहिचान गरिएको भट्टराईले बताए । ‘एआईबाट निर्मित सूचना र डिप फेक इन्फर्मेसनको पहिचान सबैभन्दा चुनौती बनेको थियो । तर, त्यस्ता सूचनाहरूको पहुँचमा पनि सहजै पुगेकाले धेरै सहज भएकाले निर्वाचनको शान्तिपूर्ण वातावरणमा छ,’ उनले भने ।