अतिन आचार्य

चम्किला कार र ट्याक्सीभित्रको एउटा कुरूप कथा

काठमाडौं । दिनभर यात्रु बोकेर काठमाडौंका सडकमा गुड्ने एउटा ट्याक्सी रात पर्नासाथ अर्कै यात्रामा निस्कन्थ्यो । गन्तव्य हुन्थे राजधानीका विभिन्न होटल र यात्रु हुन्थे युवतीहरू । बाहिरबाट हेर्दा सामान्य ट्याक्सी सेवा जस्तो देखिने यो गतिविधिको भित्री कथा भने यौन व्यवसायको संगठित सञ्जालसँग जोडिएको प्रहरीले दाबी गरेको छ । केही दिनअघि गौशाला क्षेत्रमा प्रहरीले गरेको अपरेसनले यस्तै एउटा सञ्जालको पर्दाफास गरेको छ । रातको समयमा कार र ट्याक्सीमा युवतीहरू राखेर ग्राहक खोजिरहेको अवस्थामा प्रहरीले १६ जनालाई नियन्त्रणमा लियो । पक्राउ पर्नेमा चार पुरुष र १२ युवती छन् ।  प्रहरीका अनुसार सञ्जाल सञ्चालनमा संलग्न व्यक्तिहरूमध्ये सर्लाहीको लालबन्दी नगरपालिका-१४ का ३४ वर्षीय सुनिल तामाङ, मकवानपुरको बकैया गाउँपालिका-८ का २८ वर्षीय विवेक स्याङ्तान, काठमाडौं-९ शम्भुमार्गका राजकुमार गौतम र मकवानपुरको मनहरी गाउँपालिका-२ का ३३ वर्षीय विकास भुलन रहेका छन् ।  प्रहरीले युवती ओसारपसारमा प्रयोग गरिएको बीएसी ०८९० नम्बरको मारुती सुजुकी कार र बा २ ज २३२७ नम्बरको ट्याक्सी समेत नियन्त्रणमा लिएको छ । प्रहरीको अनुसन्धानले देखाए अनुसार विवेक स्याङ्तान लामो समयदेखि काठमाडौंमा ट्याक्सी चालकका रूपमा काम गर्दै आएका थिए । यात्रु बोक्दै राजधानीको जीवनशैली, मानिसहरूको व्यवहार र रात्रीकालीन गतिविधिबारे उनी परिचित भइसकेका थिए । यही क्रममा उनले केही युवतीहरूसँग सम्पर्क विस्तार गरे र त्यसलाई आम्दानीको अर्को स्रोत बनाउने योजना बुने । प्रहरीको दाबी अनुसार स्याङ्तानको समूहले होटलहरूमा युवती उपलब्ध गराउने काम गर्दै आएको थियो । ग्राहक खोज्ने, युवतीको तस्बीर र भिडियो पठाउने, मूल्य तय गर्ने र होटलसम्म पुर्‍याउने काम उनीहरूको नियमित गतिविधि बन्दै गयो ।  अनुसन्धानबाट खुलेअनुसार ग्राहकहरूमध्ये विदेश जाने–आउने नेपाली र भारतीय पर्यटकको संख्या उल्लेख्य थियो । ग्राहकको रोजाइअनुसार युवती पठाइने, मन नपरेमा फिर्ता बोलाएर अर्की युवती पठाइने व्यवस्था समेत मिलाइएको प्रहरीको भनाइ छ । सामाजिक सञ्जाल र विशेषगरी ह्वाट्सएप उनीहरूको कुराकानी र सेटिङको प्रमुख माध्यम बनेको थियो । त्यहीँ तस्बिर आदानप्रदान हुन्थ्यो, त्यहीँ मूल्यमा मोलमोलाइ चल्थ्यो । प्रहरीका अनुसार एउटा ‘डिल’ को न्यूनतम रकम १५ हजार रुपैयाँबाट सुरु हुन्थ्यो । तर, ग्राहकबाट लिइएको सम्पूर्ण रकम युवतीसम्म पुग्दैनथ्यो । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार समूहले ग्राहकसँग जति रकम लिए पनि अधिकांश युवतीलाई पाँच हजार रुपैयाँ मात्रै दिने गरेको देखिएको छ । प्रहरीले बरामद गरेका मोबाइल फोनहरूमा यौन कारोबार सम्बन्धी संवाद, रकमको मोलमोलाई र ग्राहक व्यवस्थापनका विवरण भेटिएको जनाएको छ । केही युवतीहरू काठमाडौंमा अध्ययनका लागि बसेका र केहीलाई बाहिरी जिल्लाबाट ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार ट्याक्सी चालक, युवती र केही होटलबीच पहिलेदेखिको सम्पर्क रहेको देखिएको छ । ‘प्रारम्भिक अनुसन्धानमा ट्याक्सी चालक, युवती र होटलबीच समन्वय रहेको देखिएको छ । ग्राहक भेटाउने, मोलमोलाई गर्ने र होटलसम्म पु¥याउने प्रक्रिया संगठित ढंगले सञ्चालन भएको संकेत भेटिएका छन्,’ भट्टराईले भने ।  प्रहरीका अनुसार ग्राहक र युवतीबीच प्रत्यक्ष भेटपछि अन्तिम मूल्य निर्धारण हुने गरेको थियो । अनुसन्धानबाट एक युवतीका लागि तीन हजारदेखि २० हजार रुपैयाँसम्म शुल्क लिने गरिएको तथ्य समेत खुलेको छ । हाल पक्राउ परेका सबैमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ । अनुसन्धानको दायरा विस्तार हुँदै जाँदा अन्य कसुर आकर्षित हुने सम्भावना रहेको प्रहरीको भनाइ छ । राजधानीका चम्किला होटल, रातको सहर र सामान्य देखिने ट्याक्सीको यात्राभित्र लुकेको यो सञ्जालले काठमाडौंमा अझै पनि विभिन्न स्वरूपमा यौन व्यवसाय सञ्चालन भइरहेको संकेत दिएको छ । अब अनुसन्धानले यो नेटवर्क कति ठूलो थियो र यसमा अरू को-को जोडिएका थिए भन्ने प्रश्नको उत्तर खोजिरहेको छ । नेपाल प्रहरीको अनुसन्धान पनि त्यहीँतर्फ मोडिएको छ । 

आन्दोलनमा जलेका गाडीको चेसिस नम्बर चोरीका गाडीमा राखेर बिक्री

काठमाडौं । तपाईंले काठमाडौंका सडकमा गुडेका कारहरू देख्नु भएकै होला । नयाँ ब्लुबुकसहितका लोभलाग्दो कारहरू गुडिरहेका हुन्छन् ।  नयाँ गाडी देखेर तपाईं खरिद गर्न लालायित हुनु त भएको छैन ? यदि त्यसो हो भने होसियार हुनु पर्ने बेला भएको छ । काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न सहरमा भन्सार छलीका गाडीहरू पाउन थालेका छन् । केही समयदेखि काठमाडौं उपत्यकामा भन्सारमा छलेर कारहरू भित्र्याउने पेशेवर समूहका गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । ६९ वर्षीय विश्वचन्द्र वादे श्रेष्ठ र ५३ वर्षीय नविन जिसी गत शुक्रबार ललितपुरबाट पक्राउ परे । भारतबाट भन्सार छलेर ल्याएका सवारी साधनसहित उनीहरू पक्राउ परेका हुन् ।  उनीहरूको साथबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले निशान कम्पनीको एक्स ट्रायल, सेफिरो गाडी १ र हुन्डाइको १ थान कारसहित नियन्त्रणमा लिएको हो ।  चार पाँग्रे सवारी साधन बिक्री वितरण गर्न राखिएको भन्ने विशेष सूचनाको आधारमा कार्यालयबाट खटिएका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । उनीहरूले भारतबाट चोरी भएका गाडी ल्याएर काठमाडौं लगायतका विभिन्न स्थानमा बिक्री गर्ने गरेका थिए । जसका नाइके वा प्रमुख विश्वचन्द्र वादे श्रेष्ठ थिए । श्रेष्ठले भारतबाट भारतीय प्लेटसहितको कार नेपाल भित्र्याउने गर्थे । उनी आफ भारतीय गाडी चलाएर भन्सारबाट नेपाल आउने गरेका थिए । भारतका विभिन्न व्यक्तिसँग तथा गिरोहसँग सम्पर्क गरी चोरी भएका सवारीसाधन नेपालका विभिन्न नाका प्रयोग गर्ने गरेका थिए । उनले नेपालका भन्सार नाकामा यात्रा गर्न अनुमतिको राजश्व तिरेर भारतीय प्लेटका गाडी भित्र्याउँथे । वैधानिक बाटो खोज्ने गरेका थिए । जसमा श्रेष्ठले यात्रा अनुमतिको राजस्वको सहारा लिने गरेका थिए । उनले नाकासम्म भारतीय चालकलाई प्रयोग गर्ने गरेका थिए । भन्सार नाकामा यात्रा अनुमति राजस्व तिरेर उनीहरूले कार भित्र्याउने गरेका थिए ।  केही समयसम्म उनीहरूले काठमाडौं, ललितपुर, चितवन र हेटौंडा जस्ता ठाउँमा कुँदाउँथे । किनभने उनीहरूको साथमा राजस्व तिरेको पत्र साथमा थियो । कुदाइ रहुन्जेल काठमाडौं लगायत विभिन्न स्थानमा ग्राहकको खोजी गर्ने गर्थे । गाडी किन्ने ग्राहक भेटेपछि उनीहरूले बिक्रीका लागि राख्ने गरेका थिए । चितवन, हेटौंडा, नेपालगञ्ज, बुटवल र वीरगञ्जका ग्राहकलाई गाडी बिक्री गर्ने गरेका थिए । हेटौंडाबाट भने फेक नम्बर हालेर मोटरसाइकल मात्र काठमाडौं भित्र्याउने गरेका थिए । विश्वचन्द्रले राजश्व तिरेको निश्चित समयसम्म भारतीय प्लेटमा निर्वाध रुपमा गाडी कुदाउने गरेका थिए । यातायात कार्यालयमा पुगेर दुर्घटना र जेनजी आन्दोलनमा जलेका गाडीका चेसीस नम्बर लिने गरेका कार्यालयका प्रमुख सन्तोष खड्काले बताए । उनका अनुसार यातायात कार्यालयमा बिचौलिया प्रयोग गरेर सडकमा नकुदेका गाडी खोजी गर्ने गर्थे । भन्सार छली ल्याएका कम्पनीका गाडी भेटेमा चेसीस नम्बर र नम्बर प्लेट हाल्ने गर्थे । विश्वचन्द्रले भारतबाट चोरी भएका गाडी नेपाल ल्याउने पेशा नै बनाएका थिए । मुलुकका विभिन्न ठाउँमा पुगेर मोडिफाई गर्ने भनेर १० देखि २० लाखसम्ममा गाडी बिक्री गर्ने गर्थे । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अनुसन्धान अधिकृतले यातायात कार्यालयमा जाने पुराना तथा दुर्घटना वा जलेका गाडी नम्बर पत्ता लगाउने गरेका थिए । जलेका गाडी र दुर्घटना भएका गाडीको चेसीस नम्बर कपी र नम्बर प्लेट हाल्ने गरेका थिए । उनका अनुसार विश्वचन्द्रको मोबाइलमा ह्वाटसएपमा कारको मात्र फोटो रहेको थियो । उनले भारतबाट कार बिक्री गर्नका लागि ल्याउने गरेको देखिने ती प्रहरी अधिकृतले बताए । अहिलेसम्मको अनुसन्धानबाट उनले कार बिक्री गर्ने गरेको उनले बताए । गाडी मात्र नक्कली नभई ब्लुबुकसमेत फेक बनाउने गरेको खुलेको उनले जानकारी दिए । गाडकी मोडल अनुसार चेसिस खोजी गर्ने गरेको उनको भनाइ छ । उनीहरूले धेरै ग्राहकलाई पुरानो गाडीमा नयाँ सामान हाल्दिने भनेर सम्पर्क गर्ने गर्थे । पुराना गाडीमा भारतबाट ल्याएका गाडीबाट इन्जिन झिकेर पुराना गाडीलाई नयाँ जस्तै बनाइदिने गरेको ती प्रहरी अधिकृतले जानकारी दिए। उनीहरूले बिक्रीका लागि सामाजिक सञ्जालको प्रयोग गर्ने गरेका थिए । फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जालमा गाडीको विज्ञापन गर्ने गरेका थिए । उनीहरूले फेसबुकको मार्केट प्लेसमा चोरी र भन्सार छलेका गाडीहरू बिक्रीमा राख्थे । गाडी देखाएर एडभान्स रकम सुरुमा लिने गर्थे र पैसा लिएपछि ग्राहकसँग सम्पर्कविहीन हुने गरेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा  भन्सार छली गरेका सात वटा सवारीसाधन नियन्त्रणमा परेका थिए । मोटरसाइकल २ वटा र विभिन्न कम्पनीका पाँचवटा कारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका कार तथा मोटरसाइकलहरू अनुसन्धान तथा आवश्यक कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालय गौचरण पठाउने गरेको कार्यालयले जनाएको छ ।

१६ हजारको जागिरबाट यसरी करोडौंको मालिक बनिन् तुलसी

काठमाडौं । तुलसा अधिकारी भन्ने तुलसी अधिकारीलाई बिहीबार ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । बिहीबार जिल्ला अदालत, ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । उनलाई केही दिनअघि थाइल्याण्डबाट पक्राउ गरेर नेपाल ल्याइएको थियो । उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो । जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले चार महिनाअघि तुलसीविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । हनी ट्र्याप अर्थात् आपराधिक लाभ र ठगीको कसुरमा कुमार चिमोरियाले दिएको जाहेरीको आधारमा अधिकारीविरुद्ध आपराधिक लाभ, ठगी र सम्पत्ति शुद्धीकरण समेतमा मुद्दा भएको थियो । तुलसाले चिमोरियासँग पहिले सम्बन्धमा रहँदाका अन्तरंग फोटो र भिडियो गोप्यरूपमा रेकर्ड गर्ने गर्थिन् । पछि त्यही फोटो र भिडियो देखाएर पटक–पटक सार्वजनिक गरिदिने धम्की दिँदै रकम लिने गरेकी थिइन् ।  रकम नदिए पुरुष अर्थात् पीडितको श्रीमती, परिवार तथा आफन्तसमेतलाई भनिदिने धम्की दिने र कतिपय अवस्थामा फोटो र भिडियोसमेत देखाएर धम्काउने गरेको खुलाइएको छ ।  चिमोरिया कामको शिलशिलामा बुटवल गइरहन्थे । सामान्य चिनजान थियो सुरुमा उनीहरूको । तुलसीले आफ्नो बारेमा बताएपछि चिमोरियाले उनलाई नजिक बनाए । नजिक मात्र बनाएनन्, काम खोजेर जीवनयापन सहज हुने वातावरणसमेत बनाइदिए । बुटवलदेखि ललितपुर ग्वार्कोको मेगा मोटर्समा काममा लगाइदिए उनले । उनले १६ हजार ५ सय रुपैयाँ तलबको काम पाइन् । त्यसपछि काठमाडौं आएकी तुलसीले ग्वार्कोको मेघा मोटर्समा ३ महिना काम गरिन् । तुलसीले २०७७ मंसिरमा २३ हजार ७६० रुपैयाँ, पुसमा २९ हजार ७०० रुपैयाँ र माघमा १६ हजार ७१० रुपैयाँ कमाएकी थिइन् । अधिकारीले आपराधिक लाभ र सम्पत्ति शुद्धीकरण गरी ललितपुरको भैंसेपाटीमा ४ करोड रुपैयाँभन्दा बढी रकमको घर खरिद गरिसकेकी छन् । उनले २०८२ असार १० गते ललितपुरको सैंबु–४, भैंसेपाटीमा ४ आना क्षेत्रफलमा बनेको घर कम्तीमा ४ करोड रुपैयाँमा खरिद गरेकी हुन् ।  ललितपुरमा घर किन्नुभन्दा करिब ६ महिनाअघि मात्रै तुलसी अधिकारीले रुपन्देहीको बुटवलमा समेत घडेरी किनेको थिइन् । तुलसाले २०८१ माघ २४ गते सुनवल ४, बुटवलमा कित्ता नम्बर ४१८ को १० धुर जग्गा ५ लाख रुपैयाँको लिखत गरेर किनेको थिइन् । चीनमा पनि कम्पनी स्थापना यता नेपालमा कम्पनी लगातार घाटामा गइरहँदा तुलसीले चीनमा समेत कम्पनी खोलेर व्यवसाय गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनले हुन्डीमार्फत रकम लगेर कम्पनी खोलेको खुलेको छ ।  भैंसेपाटीमा उनले ४ करोड रुपैयाँ पर्ने घर खरिद गरिसकेकी छन् । ललितपुरमा घर किन्नुभन्दा करिब ६ महिना अगाडि मात्रै अधिकारीले रुपन्देहीको बुटवलमा समेत घडेरी किनेको थिइन् । उनले २०८१ माघ २४ गते सुनवल ४, बुटवलमा कित्ता नम्बर ४१८ को १० धुर जग्गा किनेकी हुन् । यस्तै, उनले छोरीलाई चीनको एक विद्यालयमा वार्षिक १५ लाख रुपैयाँ शुल्क तिर्ने गरी अध्ययन गराइरहेकी छिन् । 

कर बढ्ने सूचना र मौखिक रिपोर्टले रातारात तरंग

काठमाडौं । अर्थमन्त्रालयले जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको थियो । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उनको टिम बजेटसँगै करका दर हेरफेरमा व्यस्त थियो । जेठ १३ गते व्यवसायीलाई एउटा सूचना गयो, ‘गाडीमा कर बढ्दैछ ।’ विद्युतीय सवारीसाधन (ईभी) मा कर नबढ्नेमा ढुक्क रहेका व्यवसायी एकाएक तरंगित बने । करसँगै गाडी आयातमा राजस्व पनि बढी तिर्नुपर्ने भयले उनीहरू त्यही दिन चीनबाट गाडी ल्याउन तम्सिए ।  आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनु एक दिनअघि अर्थात् जेठ १४ गते मुस्ताङको कोरला नाकाबाट ठूलो परिणाममा विद्युतीय गाडी आए । कोरला भन्सार कार्यालयका अनुसार त्यो दिन ६४९ सवारीसाधन भित्रिए । करिब ६० देखि ७० करोड राजस्व बुझाएर सवारीसाधन भन्सारको यार्डबाट नेपालतर्फ ल्याइयो । एक्कासि धेरै सवारीसाधन नेपाल भित्रिरहेको सूचना त्रिपुरेश्वरस्थित भन्सार कार्यालमा पुग्यो । यसले विभागमा एक किसिमको तरंग पैदा गर्‍यो । ईभीमा भन्सारको दर वृद्धि हुने सूचना कसरी बाहिरियो ? व्यवसायीले एक दिनमै किन ल्याए यति धेरै गाडी ? भन्ने जिज्ञासासहित विभागले आफ्ना कर्मचारीलाई छड्के अनुगमनका लागि नाकामै पठायो ।  व्यवसायीले नाकादेखि केही किलोमिटर पर ल्याएर गाडी राखेका थिए । व्यवसायीलाई पनि एकैपटकमा सवारीसाधन काठमाडौं ल्याउन सम्भव थिएन । बजेट सार्वजनिक भएपछि काठमाडौंबाट चालक लगेर सवारीसाधन आयात गर्न थाले । बजेट अगावै सवारीसाधन आयात गर्न व्यवसायीले अनुमति पाएका थिए । उनीहरूले राजस्व पनि भुक्तानी गरिसकेका थिए । अनुगमनका लागि पुगेका कर्मचारीले ठूलो मात्रामा नेपाल पट्टिका विभिन्न ठाउँमा सवारीसाधन पार्किङ गरेर राखेको देखे । केही सवारीसाधनहरू बाटामा काठमाडौंमा आइरहेको कर्मचारीले देखे । अनुगमनका लागि पुगेका कर्मचारीले मुस्ताङ भन्सार नाकामा पुग्दा केही कैफियत पाए । जहाँ सार्वजनिक भएको सूचना बमोजिम केही शंकास्पद काम भएको थियो । काठमाडौं फर्केलगत्तै अनुगमनमा पुगेका विभागका एक कर्मचारीले सवारीसाधन आयात गर्दा भन्सार कानुन उल्लंघन भएको शंका लागेको बताए ।  ‘हामीले अनुगमनपछि विभागका महानिर्देशकलाई मौखिक रुपमा जानकारी दियौं,’ उनले विकासन्युजसँग भने, ‘बाटाभरि गाडी आयात भइरहेका छन् । भन्सार कानुन पनि केही उल्लंघन भएका छन् ।’ नाकाबाट ठूलो मात्रामा त्यत्रो विद्युतीय सवारीसाधन कसरी आयात भयो भनेर छानबिन भइरहेको ती कर्मचारीले बताए । ‘केही समयमा प्रतिवेदनले पूर्णता पाएपछि हामीले फाइनल रूप दिनेछौं,’ उनले थपे । मुस्ताङ भन्सार नाकाबाट कर्मचारी फर्के लगत्तै काठमाडौंतर्फ आइरहेका ७७४ विद्युतीय सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लियो । भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले कोरला नाकाबाट आयात भएका सबै विद्युतीय सवारीसाधनहरू बीवाईडीका मात्र रहेको जानकारी दिए । अन्य कुनै पनि कम्पनीका सवारीसाधनहरू आयात नभएको उनले उल्लेख गरे ।  ‘जाँचपास भएका सवारीसाधनहरू आउँछन् । जाँचपास भएका सवारीसाधनहरू आउने र यहाँबाट टोली खटाइएको छ,’ उनले भने, ‘सशस्त्र प्रहरीलाई केही सूचनाहरू पुग्यो । सवारीसाधन रोकिएका कुरालाई क्लियर गर्न विभागबाट टोली खटाइएको छ ।’ मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुँडालका अनुसार ६४९ वटा गाडीहरू जेठ १३ गते बेलुकासम्ममा आवश्यक कागजात प्रक्रिया पूरा गरी जाँचपास भइसकेका थिए ।  बजेट आउनुअघि (जेठ १४ गतेसम्म) सबै प्रक्रिया सकिएको भन्दै भन्सारले गाडीहरू नियमसंगत भित्र्याएको उनको भनाइ छ । गाडी भन्सार पास भएका गाडीहरू एकै पटक बजारमा नदेखिनुको कारण चालकको अभाव रहेको उनले बताए । ६५० वटा गाडी एकैपटक ल्याउन त्यति नै संख्यामा ड्राइभर आवश्यक पर्ने थियो । कम्पनीले काठमाडौंबाट समूह–समूहमा ड्राइभर पठाएर गाडी ल्याउने क्रममा केही समय लागेको उनको भनाइ छ ।  चुँडालका अनुसार जनशक्तिको अभावका कारण केही गाडीहरू मुस्ताङको लोमान्थाङ र यार्डमै अड्किएका थिए । रसुवा नाकामा देखिएको गाडी आयात सम्बन्धी विवादपछि कोरोला नाकाबाट भित्रिएका यी गाडीहरूमाथि पनि राजस्व अनुसन्धान विभाग र प्रहरीले निगरानी बढाएको छ ।  जेठ १५ गते (बजेट भाषण) पछि गाडी भित्र्याएर अघिल्लो मितिमा कागजात बनाएको हुन सक्ने आशंकामा प्रहरीले जोमसोम र घाँसा लगायतका स्थानमा गाडीहरू रोकेर प्रज्ञापन पत्र चेकजाँच गरिरहेको छ । यद्यपि भन्सार विभागका अधिकारीले भने आफूहरूले कुनै गल्ती नगरेको र सबै गाडी बजेटअघि नै पास भएकोमा ढुक्क रहेको उनले बताए । विभागको अनुगमन टोलीले यसबारे विस्तृत अध्ययन सुरु गरिसकेको छ । बिवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इङ्क प्रालिले पनि आफ्ना गाडीहरू जेठ १४ गतेभन्दा अगाडि नै भन्सार प्रक्रिया पूरा गरेर निकालिएको स्पष्ट पारेको छ । कम्पनीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, ‘हामीले जेठ १२ देखि १४ गतेभित्रै गाडी निकालिसकेका हाैं । प्रहरीले केवल चेकजाँचका लागि रोकेको हो, हामीसँग सबै आधिकारिक प्रमाणहरू छन् ।’ हाल राजस्व अनुसन्धान विभाग र भन्सारको संयुक्त टोलीले गाडीहरूको प्रज्ञापन पत्र र सीमा नाका प्रवेशको समय रुजु गरिरहेको छ । बजेटमा करको दर परिवर्तन हुने सुइँको पाएपछि व्यवसायीले गाडी ल्याउन खोजेको सरकारी अधिकारीको बुझाइ छ । 

जो मलेसिया पुगेको २५ दिनमै एचआइभी बोकेर फर्किए

काठमाडौं । 'जाँदैछु म है विदेशमा ,धन कमाइ ल्याउने आशैमा । न रौ है आपा, ए आमा । म आउँछु दुई चार वर्षमा ।' गायक निमा रुम्बाको कुनै समय चर्चित गीत हो । यो गीतमा परिवारको दुःखलाई बिर्साउन र धन कमाउन विदेश जाने नेपाली युवाको कथा बोलेको छ ।अभिभावकलाई धन कमाइ सुखमा राख्ने एक कर्मशील नेपाली छोराको भावना हो ।  यो गीतले आज आम नेपाली युवाको भावना बोकेको छ भन्दा फरक नपर्ला । गीतमा दुई-चार वर्षमा फर्कन्छु भनेर गएका तर यही सपना बोकेर मलेसिया पुगेका बुटवलका २० वर्षीय सागर चौधरी भने २५ दिनमै पीडा बोकेर स्वदेश फर्किएका छन् । दुःखमा हुर्केका थिए । बिहान र बेलुकी दुई छाक जुटाउन पनि गाह्रो थियो उनलाई । सुखको कल्पना मात्र गरेका उमेर बढेसँगै पारिवारिक जिम्मेवारी उनको काँधमा थपिँदै गयो । परिवारको आर्थिक अवस्था राम्रो थिएन । सानै उमेरमा जिम्मेवारीको भारी उनमा आइपरेको थियो । उनले विदेश जाने निधो गरे । गाउँमा तल्लो र माथिल्लो घरका सबै जना विदेश पुगेका थिए । उनलाई पनि अरु गएको देख्दा जाउँ-जाउँ लाग्यो । गाउँमा भनेजस्तो रोजगारी उनले पाएनन् । रोजगारी पाए पनि उनले उचित पारिश्रमिक पाउँदैन थिए । सागरलाई पनि विदेश जाने हुटहुटीले सताउन थाल्यो । किताबभन्दा पासपोर्टको रंग मन पर्न थालेको थियो उनलाई । १२ कक्षाको परीक्षा दिएर बसेका थिए । किताबको पाना सेतो थियो । पासपोर्टको रंग कलेजी रंगको थियो । परिवारलाई सुखमा पाल्ने र दुःखलाई घरको आँगनमा टेक्न नदिने सागरले सोच्दै थिए । उनको मनमा उठेका जिम्मेवारीका ज्वारभाटाहरूले सताउँदै लगेको थियो ।  अभाव के हो भनेर सोध्नुछ भने उनले बेली विस्तार लगाउन सक्थे । २० वर्षीय सागरले सरकारी विद्यालयबाट कक्षा १० पास गरे ।  सामान्य परिवारमा हुर्केका उनले नयाँ शैक्षिक सत्रमा किताब र कपीसम्म कपी किन्न सक्दैन थिए । सबै साथीहरू हातमा किताब बोकेर कक्षा कोठामा पुग्दा उनी कपी मात्र बोकेर विद्यालय पुग्थे । समयमा पुस्तक किन्न नसक्नु उनको बाध्यता थियो । उनी नेपालमा बसेर आफ्नो अवस्था बदल्न सक्ने थिएनन्। समय बदलियो तर उनको दुःख बदलिएन। सुख टाढा र दुःख झन गाढा भएर बस्यो उनको जीवनमा । सागर परिवारको जेठा सन्तान भएकाले पनि आवश्यकता पुरा गराउन वैदेशिक रोजगारमा जाने निधो गरिसकेका थिए । विदेश जाने र परिवारलाई सुखमा राख्ने वाचा गरे ।  विदेश यात्राका लागि लगभग बाटो उनका खुल्दै गएको थियो । छिमेकी दाइ पनि मलेसिया पुगेका थिए । छिमेकी दाइसँग फेसबुकमा साथी थिए । बेला- बेलामा उनको कुराकानी हुने गर्दथ्यो ।  कुराकानीमा उनले विदेश जाने मन छ । के गर्ने होला भनेर सोधि रहन्थे ? सागरको जिज्ञासामा छिमेकी दाइले विदेश जानै पर्ने सल्लाह दिए ।  उनको दुःख नजिकबाट देखेका थिए । काठमाडौंकै एक मेनपावरको नम्बर दिए उनलाई । त्यहाँ जान सुझाए । तराईमा तापक्रम उकालो लाग्दै थियो । सागरको मनमा भने चिसो नै थियो । बाहिरी तापक्रम बढे पनि उनको भित्री तापक्रम घट्दै गइरहेको थियो । उनी भने विदेश जाने चक्करले उत्साहित हुँदै थिए । काठमाडौंको यात्रा तय गरे । उनलाई काठमाडौंको बिहान र बेलुकीको चिसोले स्वागत गर्यो । पहिलो पटक माघ अन्तिम साता काठमाडौं आए । उनलाई सहज थियो । किनभने छिमेकी दाइले सबै भनेका थिए ।  म्यानपावर खोजे । पासपोर्ट बुझाए । अन्तवार्ता दिए । पास भए । मलेसिया जान ग्लबस बनाउने फ्याक्ट्रीमा उनले नाम निकाले । पहिलो पटक स्कुलमा कक्षा चढे भन्दा बढी खुसी भए सागर । परिवारलाई सम्झिए । मेडिकल गरे । सबैमा फीट भए । उनले सुख पाएको सपना बुन्दै आफ्नै गाउँ फर्किए । विदेश जान पाइने आशामा खुसीले उनले एक पटक भुँइ छोडे । परिवारमा फोन गरेर सुनाए,' मलेसिया जानका लागि पास भए।' फ्रि टिकट र फ्रि भिसामा उनी मलेसिया जान तयारी हुँदै थिए । उनको चाहना र सपनाले पछ्याइरहेको थियो ।  सुन्दर भविष्यको कल्पना गर्दै बसे । उनले निःशुल्क मलेसियाको भूमिमा टेक्ने वाला थिए । धन कमाइ परिवारलाई सुखमा राख्ने सोच्दै थिए । उनका लागि विदेश यात्रा धेरै टाढा थिएन । वैदेशिक यात्रा नजिक आइरहेको थियो ।  सागर दु:खलाई भगाउन पाइने भयो भन्दै गाउँ जाने बसको खोजीमा गोंगबु पुगे । गाउँ पुगेको केही सातामै मेनपावरबाट फोन आयो 'मलेसिया जान तयार हुनु ।' फोन आएको भोलिपल्ट झोला बोके परिवारसँग विदा मागे । गाउँलाई विदा मागे, परिवारलाई र साथीहरूलाई मागे । चैत २३ मा काठमाडौंबाट मलेसिया उडे । हटालिया एनजीसी कम्पनीमा ग्लबस बनाउन । म्यानपावरले उनलाई मासिक १७ सय रिङ्गेट तलब उपलब्ध गराउने सम्झौता गर्‍यो । मलेसिया विमानस्थलमा कम्पनीको मान्छेले रिसिभ गर्न आएको सागर बताउँछन् । उनी केही दिन कम्पनीको होस्टेलमा बसे । काममा पनि जान थाले ।  काममा जान थालेको केही दिनमै उनी स्वास्थ्य परीक्षणका लागि पुगे । स्वास्थ्य परीक्षणमा गए पनि उनी काममा भने गइरहेका थिए । कम्पनीमा जाने र तालिम गर्ने गरिरहेका थिए । स्वास्थ्य परीक्षण गरेको एक सातापछि उनलाई होस्टल इन्चार्जले बोलाए । उनी इन्चार्जको कोठामा पुगे । इन्चार्जले उनलाई भने,' सन्चै छौ होला। काम कस्तो लाग्दैछ । तर तिमी स्वास्थ्य परीक्षणको रिपोर्ट भने राम्रो आएको छैन ।' सागर झस्किए । इन्चार्जको कुरा सुनेर । स्वास्थ्य परीक्षणको रिपोर्ट आउनु उनका लागि सुखद समाचार थिएन ।  इन्चार्जले उनलाई केही दिनपछि बताउने जवाफ दिए । अहिले नआत्तिएर काममा जान सल्लाह दिए । काममा आउजाउ गरिरहे । सागरलाई एक दिन पुनः इन्चार्जले आफ्नो अफिसमा बोलाए । उनी अफिसमा पुगे । तर, यो पल्ट उनले कल्पना गरेको भन्दा फरक जवाफ पाए इन्चार्जबाट ।  इन्चार्जले  सागरलाई भने,' तिमीलाई एचआइभी पाेजेटिभ देखिएको छ। तिमीले यहाँ बस्न पाउँदैनौं । नेपाल फर्कनुपर्छ ।' उनको कुरा सुनेर अगाडि भक्कानिए । स्वर एकाएक हराएको जस्तो लाग्यो । अगाडि कालो देखे ।  २६ औं दिनमा नेपाल आइ पुगे उनी । गाउँ र परिवारमा  उनले काम गर्न नसकेर स्वदेश फर्किएको बताएका छन् ।   मंगलबार त्रिपुरेश्वरस्थित कन्सुलर विभाग परिसरमा सागर भेटिए । उनले एचआइभी लागेको रिपोर्ट आएपछि आफ्नो अगाडि कालो आएर बसे जस्तो लाग्यो केही देख्न नसकेको बताए । स्वास्थ्य परीक्षणपछिको रिपोर्ट आएपछि मलेसियामा भोगेको पीडा आफूले भन्न नसक्ने सागर बताउँछन् ।  'सायद मेरो ठाउँमा अरु कोही भएको भए मलेसियाबाट म नभइ शव आउँथ्यो होला,’ उनी भक्कानिदै भन्छन्,’ २५ दिन मात्र मलेसिया बसें । मेरो जीवनको पहिलो र अन्तिम वैदेशिक यात्रा मलेसिया भनेर सम्झिएँ ।' गाउँ नफर्केर मलेसियामै अन्तिम श्वास फेरौं जस्तो पनि लागेको उनले सुनाए । कति रात निदाउनसमेत नसकेको उनले बताए । 'दुःखको दिन सकिए भनेर मलेसिया पुगेको थिएँ तर झन ठूलो महाप्रलय थपिएको सुनेपछि सम्हालिन धेरै गाह्रो भयो,’ उनले अगाडि थपे,’ सामान्य रोगको कल्पना गर्न सक्दिन । मलाई त्यस्तो ठूलो रोग होला भनेर कल्पनासम्म गर्न सकिनँ ।' अहिले पनि मानसिक रुपमा स्वस्थ्य नभएको उनले बताए । यस्तो रोग भएको थाहा पाएमा समाजले मलाई र परिवारलाई तिरस्कार गर्ने सागरले दुः खेसो पोखे । नेपालमा आएर अहिले ८ पटक स्वास्थ्य परीक्षण गरिसकेको उनले जानकारी दिए । सरकारीदेखि निजी मेडिकल तथा अस्पतालमा परीक्षण गर्दा एचआइभी नेगेटिभ देखाइसकेको उनको भनाइ छ । 'स्वस्थ्य रहेको प्रमाण देखाउन कहाँ जाउँ,' उनले प्रश्न गर्दै भने,' मलेसियाको स्वस्थ्य रिपोर्टकै कारण मेरो परिवार र जीवनमा दुःख थपिने निश्चित छ ।' अहिले म स्वस्थ्य रहेको प्रमाणपत्र पेश गर्न कन्सुलर विभागमा आएको सागरले बताए । मलेसियामा गरेको स्वास्थ्य परीक्षणको कारणले अन्यायमा परेको उनको भनाइ छ।  'सरकारी निकायबाट केही पहल हुन्छ कि भन्ने आशामा विभागमा आएको हुँ,' उनले मलिन स्वरमा भने,' मलाई रोग लागेको भए  विभिन्न लक्षण देखा पर्थ्यो होला । मलाई त्यस्तो केही पनि भएको छैन ।' सागरको जस्तो केस पहिलोपटक कन्सुलर विभागमा आएको महानिर्देशक दुरपदा सापकोटाले बताइन् । सागरको निवेदन दर्ता गरेको उनले जानकारी दिइन् । ‘सरकारको तर्फबाट उहाँको निम्ति सक्दो सहयोग हुन्छ । मलेसियास्थित नेपाली दूतावासबाट कम्पनी र सरकारलाई एक पटक नेपाली कामदारको निम्ति पहल गर्न आग्रह गर्छौ,’ उनले भनिन् ।

नेपालबाट करोडौं डलर तस्करी

काठमाडौं । घटना-१ : सोमबार रसुवाबाट ४३ हजार डलरसहित धादिङका ३७ वर्षीय सुशील गुरुङ पक्राउ परे । प्रहरीका अनुसार उनको साथबाट ४३ हजार अमेरिकी डलर बरामद गरिएपछि प्रहरीले राजस्व अनुसन्धान विभाग ललितपुरमा पठाएको थियो । घटना-२ः  गत चैत ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली नागरिक पक्राउ परे । काठमाडौं नागार्जुन–१ की अनिता लामा, सिन्धुपाल्चोक सुनकोशी–६ की संगीता लामा र लिशंखुपाखर–७ का विनोद लामा पक्राउ परेकी हुन् । प्रहरीले विमानस्थलबाट ह्यान्ड ब्यागेज चेकिङका क्रममा उनीहरू विदेशी मुद्रा बाहिर लैजान खोज्दै गर्दा पक्राउ परेका थिए । उनीहरूको साथबाट क्रमशः १० हजार, १० हजार र ८ हजार ९०० अमेरिकी डलर बरामद गरिएको थियो ।  घटना-३ः २०८० माघ २२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिक पक्राउ परे । अवैध रुपमा लुकाएर लान लागेको अवस्थामा २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक २९ वर्षीय क्यू विन क्यानलाई पक्राउ प्रहरीले पक्राउ गरेको थियो । नेपाल प्रहरीका अनुसार मुलुकका विभिन्न स्थानबाट सात वर्षमा विदेशी मुद्रासहित नेपाली र विदेशी नागरिकसहित १ हजार ३० जना पक्राउ परेका छन् । विभिन्न मुलुकका नागरिक तथा नेपालीसहित विदेशी मुद्रा अपचलन गरेको आरोपमा १ हजार ३० जना पक्राउ परेका हुन् । राजस्व अनुसन्धान विभागले सात वर्षमा विदेशी मुद्रा विनिमय अपचलनमा ६ सय ३ मुद्दा दर्ता गराएको छ । विभिन्न मुलुकका नागरिक तथ नेपालीसहित लाई विदेशी मुद्रा अपचलनमा ६ सय बढी मुद्दा चलाएको हो ।  राजस्व अनुसन्धान विभागका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा १ सय ८२ जना पक्राउ परेका थिए । सोही वर्ष विदेशी अपचलनको ९१ वटा मुद्दा चलाइएको थियो । ४ अर्ब ६१ करोड ५५ लाख बिगोसहितको मुद्दा दायर भएको थियो । आर्थिक वर्ष २०७६/०७७ मा २ सय २६ जना पक्राउ परेका थिए । विभागले १ सय ४७ मुद्दा दर्ता गराएको थियो । १ अर्ब २२ करोड ९७ लाख बिगो रकमसहित मुद्दा दर्ता गराएको थियो । त्यसैगरी, आर्थिक वर्ष २०७७/०७८ मा १ सय १४ जना पक्राउ परेका थिए । जिल्ला अदालतमा १४ जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा ९१ जना पक्राउ परेका थिए । सोही वर्ष ६० मुद्दा दर्ता भएका थिए र ३ अर्ब २४ करोड ६४ लाख बिगोसहितको मुद्दा दर्ता भएको थियो । आर्थिक वर्ष २०७९/०८० मा ६९ जना पक्राउ परेका थिए भने त्यसमध्ये ४३ वटा मुद्दा दर्ता हुँदा ६ करोड ४ लाख १२ हजार बिगोसहितको मुद्दा दर्ता भएको थियो । विभागको वार्षिक प्रतिवेदन अनुसार २०८०/०८१ मा १ सय ६४ जना पक्राउ परेका थिए । ८८ मुद्दा दर्ता भएका थिए । उनीहरूमाथि ४९ करोड ५७ लाख ७७ हजार बिगोसहितको मुद्दा दायर गरिएको थियो ।  आर्थिक वर्ष २०८१/०८२ मा १ सय ८४ जना पक्राउ परेका थिए । १ सय २० वटा मुद्दा दर्ता भएका थिए भने १ अर्ब २७ करोड ९९ लाख बिगोसहित मुद्दा दर्ता भएको थियो । मुलुकका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेर बुझाएपछि अनुसन्धान गरिने विभागका सूचना अधिकारी आशिष अर्यालले बताए । आवश्यक कारबाहीका लागि सम्बन्धित जिल्लाको जिल्ला अदालतमा पेश गरिने उनले बताए ।  ‘बरामद भएका विदेशी मुद्रा तुरुन्तै राष्ट्र बैंकमा पठाइने गरिएको छ,’ उनले विकासन्युजसँग भने, ‘अदालतबाट मुद्दाको फैसला नहुँदै राष्ट्र बैंकमा आवश्यक कारबाहीका लागि पठाइन्छ ।’ विदेशी मुद्राको कारोबारमा विदेशी नागरिक र नेपाली दुवै पक्राउ पर्ने उनले जानकारी दिए । पक्राउ गरिएका सबैलाई मुद्दा चलाइने उनको भनाइ छ । एक जना नेपाली नागरिकले साथमा ३ हजार अमेरिकन डलर राखेर यात्रा गर्न पाउने र विदेशी नागरिकले ५ हजार डलर राखेर यात्रा गर्न पाउने व्यवस्था रहेको छ ।  भन्सारमा घोषणा गरेको प्रमाणित गरेर तोकेको भन्दा बढी डलर बोक्न पाइने अर्यालले उल्लेख गरे ।  त्यसैगरी, राष्ट्र बैंकले  नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर ५ हजार सम्म (भारतीय रुपैयाँको हकमा अमेरिकी डलर ५ हजार बराबर हुन आउने भारतीय रुपैयाँसम्म र राष्ट्र बैंकबाट विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत अमेरिकी डलर ५ हजार बराबरसम्म भन्सार घोषणा बिना नेपालमा भित्र्याउन सक्ने व्यवस्था गरेको छ । 

एकाएक बैंक खाताबाट पैसा रित्तिएपछि...

काठमाडौं । मोबाइल बैंकिङ चलाउँदैनन् उनी । आफूदेखि बाहेक कसैले पनि उनको मोबाइल चलाउँदैन थियो । उनी अर्थात् सागर बस्नेतले ओटीपी पनि कसैलाई दिएका थिएनन् । उनले सामाजिक सञ्जालमा कुनै लिङ्क चलाएका थिएनन् । केही दिनअघि उनको खाताबाट एक्कासि खाताबाट तीन लाख रुपैयाँ हरायो । एक पटकमा सागरको खाताबाट २० हजार मात्र झिकिन्छ । उनले पैसा हराएको थाहा पाएनन् । बिहानीपख मोबाइलमा म्यासेज देखेपछि मात्र उनले थाहा पाए । खाताबाट पैसा काटियो । उनले त्यसलाई बेवास्ता गरे । भोलिपल्ट पनि उस्तै समयमा ठूलो मात्रामा रकम काट्यो । एक सातामै उनको बैंक खाताबाट तीन लाख रुपैयाँ हरायो । सागर आत्तिए । परिवार, साथी र बैंकमा सल्लाह गरे । उनले त्यसपछि प्रहरीकोमा जाने निर्णय गरे । उनी लगत्तै भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्यूरोमा पुगेर निवेदन दिए ।  रमेश थापा सरकारी कार्यालयमा कार्यरत छन् । अझ उनी उच्च पदमा छन् । डिजिटल कारोबारमा उनी अभ्यस्त  छन् । मोबाइल बैंकिङ चलाउँथे । तर, प्रविधिको भित्री ज्ञान भने उनमा थिएन ।  रमेशको मोबाइलमा अचानक एउटा फोन आयो । ट्रु कलरमा ‘बैंक सपोर्ट अफिस लेखिएको थियो । रमेशले फोन उठाए । ‘नमस्कार रमेशजी, म तपाईंको ‘वालेट र बैंक सपोर्ट’ हेड आशिष शर्मा बोलेको । तपाईंको खाताको (केवाइसी) अपग्रेड नभएकाले अकाउन्ट ब्लक हुन लागेको छ । हामी त्यसलाई सुचारु गर्दैछौँ,’ फोनमा उनी बोले । उनले भने, ‘अरे ! अफिसको तलब आउने बेला भयो, ब्लक भयो भने बर्बाद हुन्छ । के गर्नुपर्छ सर ।’ आशिषले उनलाई केही गर्नु पर्दैन । तपाईंको मोबाइलमा एउटा ६ अंकको भेरिफेकिसन कोड आएको छ, त्यो भनिदिनुस्। हामी यहाँबाट सिधै सिस्टम अपग्रेड गरिदिने बताए । ठिक त्यही बेला रमेशको मोबाइलमा एउटा ओटीपी आयो । खाता ब्लक हुने डरले रमेशले सोच्दै नसोची त्यो कोड फोनमा भनिदिए । तर, फोन काटिएको एक मिनेट पनि भएको थिएन । उनको  मोबाइलमा लगातार म्यासेजहरू आउन थाले । खातामा पैसा भरिएको म्यासेज आयो । तर पुनः सोही खाताबाट पटक–पटक गरेर पैसा काटिन थाल्यो । रमेशको आँखै अगाडि उनको कमाइ, झन्डै साढे १ लाख रुपैयाँ केही मिनेटमै शून्य भयो । उनले तुरुन्तै त्यो नम्बरमा फोन गरे, तर फोन ’स्वीच अफ’ भइसकेको थियो ।  पछिल्लो समय प्रविधिले विकासको फड्को मारेसँगै अपराधको स्वरुप फेरिँदै गएको छ । जति प्रविधिको विकास भयो, उति नै मानिसहरूले सुविधाको खोजी गर्न थाले । प्रविधिको माध्यमबाट वित्तीय अपराध बढ्दै गएको छ । सर्वसाधारणले बैंकबाट लाखौं रुपैयाँ गुमाउन थालेका छन् । घरमा चोरी हुनु सामान्य मानिन्थ्यो । तर, अहिले भने बैंक खाताबाट पैसा हराउन थालेको छ । यसैको उदाहरणस्वरुप धेरै सेवाग्राहीले बैंक खाताबाट पैसा गुमाउन थालेका छन् । विभिन्न व्यक्तिहरूको प्रलोभनमा वा त्रुटी गरेर सेवाग्राहीले बैंक खाताबाट पैसा गुमाइरहेका छन् । सुविधाको विकास भएसँगै प्रविधिको चुनौतीलाई सामना गर्न नसक्दा क्षति भोग्नेको संख्या बढिरहेको छ । सामाजिक सञ्जालका विभिन्न लिङ्क थिच्दा वा ओटीपी तथा बैंकको विवरण सार्वजनिक गर्दा थप वित्तीय संकटमा परिरहेका छन् ।  नेपाल प्रहरीको साइबर ब्यूरोमा मात्र सर्वसाधारणको बैंक खातमा अनाधिकृत पहुँच पु¥याएर पैसा हराउने क्रम बढेको भन्दै उजुरी दिने क्रम बढेको छ । प्रत्येक वर्ष बैंक खाताबाट पैसा हराएको भन्दै सेवागाह्रीहरू प्रहरीको उजुरी दिन थालेका छन् । साइबर ब्यूरोमा मात्र बैंक तथा वालेट अफिसबाट बोलेको भन्दै र स्क्रनिङ सेयर, फिसिङ,  ओटीपी तथा वालेट ह्याक गरेर पैसा हराएको उजुरी परेको छ । साइबर ब्यूरोका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा बैंक तथा वालेट अफिसबाट बोलेको भन्दै २९० उजुरी परेको थियो । आव २०८१/०८२ मा ३ सय ३६ उजुरी र २०८२/०८३ मा २९७ उजुरी परेको थियो । आर्थिक वर्ष २०८०/ ०८१ मा ओटीपी , फीसीङ लिङ्क र स्क्रिनिङ सेयर गरेर बैंकमा पहुँच पु¥याएर पीडित ३ सय १९,  आर्थिक वर्ष २०८१/०८२ मा २ सय ८९ र आव २०८२/०८३ मा १ हजार १९६ उजुरी परेको थियो । ब्यूरोका प्रवक्ता दिलिप गीरीले उजुरी परेका धेरै निवेदनका अनुसार पीडक समक्ष पुग्ने गरेको बताए । बैंकको खाता अनुसार पीडक तथा ह्याक गर्नेको नजिक पुग्न सकिने उनको भनाइ छ । बैंक खाताबाट गएको पैसा अर्को खातामा पैसा पुग्दा स्क्याम गर्नेको नजिक पुग्न सकिने प्रवक्ता गिरीले बताए । बैंक खाता नम्बरबाट सम्बन्धित व्यक्ति समक्ष पुगिने उनले बताए । बैंकिङ खाताबाट पैसा झिक्ने समूहहरू एकै हुने गरेको उनको बुझाइ छ ।  वित्तीय सचेतनाको अभाव बैंकिङ सचेतना नहुँदा मानिसहरूका बैंकका खातामा ह्याकरको प्रवेश बढ्न थालेको ज्ञानेन्द्र अधिकारी बताउँछन् । बैंकिङको विषयमा धेरै सरोकार राख्नेहरूले यस्ता विषयमा सचेतना फैलाउनु पर्ने उनको सुझाव छ । प्रलोभनमा पर्ने मानिसहरू धेरै देखिएकाले यस्ता घट्नाहरू सार्वजनिक हुन थालेको अधिकारीको भनाइ छ । मुलुकमा रोजगार नहुँदा र उत्पादनकमुलक काममा नलाग्दा मानिसहरू थोरै–थोरै पैसाको लोभमा पर्न थालेको उनको बुझाइ छ । अहिलेका युवाहरूमा बढी महत्त्वकांक्षा भएकाले तीब्र रुपमा पैसाको खोजी गर्नेहरू बढ्न थालेको अधिकारीको धारणा गरे । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ अन्तर्गत ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) मुद्दा चल्छ । त्यसो गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना हुने गर्छ । 

धमाधम पक्राउ हुँदै कन्सल्टेन्सी सञ्चालक, विकासन्युजको समाचारपछि भएको थियो अनुसन्धान

काठमाडौं । अहिले प्रहरीको मुख्य अनुसन्धानको विषय कन्सल्टेन्सीमाथिको अनुसन्धान बनेको छ । कन्सल्टेन्सी सञ्चालकहरूले विद्यार्थीबाट ठूलो शुल्क लिने, दर्ताबिनै सञ्चालन गर्ने तथा विद्यार्थीलाई अनेकन प्रभाव देखाएर रकम असुल गर्ने विषय विकासन्युजले प्रकाशन गरेपछि प्रहरीले त्यसतर्फ अनुसन्धान अगाडि बढाएको थियो ।  विकासन्युले सुरुमा विदेश जाने विद्यार्थीबाट दोब्बर शुल्क असुल्छन् कन्सल्टेन्सी, कारवाहीबाट बच्न नगदमा कारोबार र दोस्राे पटक कोरिया जाँदा ६ दर्जन बढी कन्सल्टेन्सीले पौने १ अर्ब ठगेको भन्दै उजुरी, कुन-कुन कन्सल्टेन्सी परे ? शीर्षकमा समाचार सम्प्रेषण गरेकाे थियाे । तिनै समाचारकाे आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काले बताए । अनुसन्धान गर्दा प्रहरीले ६९ सञ्चालकलाई नियन्त्रणमा लिएको थियो। अहिले उनीहरूविरुद्ध मुद्दा पनि चलेकाे छ । कन्सल्टेन्सीविरुद्ध मुद्दा चलेपछि दैनिक सञ्चालकहरू काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुग्न थालेका छन् ।  केही दिनअघिमात्र काठमाडौं उपत्यकाका ९५ वटा कन्सल्टेन्सीमा प्रहरीले छापा मारेको थियो । प्रहरीले छापा नमारेका कन्सल्टेन्सी सञ्चालक समूह बनाएर कार्यालयमा पुग्ने गरेका छन् । कार्यालयका प्रमुख सन्तोष खड्काले प्रक्रिया नपुर्‍याएर सञ्चालनमा आएका कन्सल्टेन्सीलाई मात्र कानुनी कारबाहीमा ल्याइएको बताए । उनका अनुसार कन्सल्टेन्सी सञ्चालक पक्राउ परेपछि कार्यालयमा सञ्चालकको भीड हुने गरेको छ । आइतबार २०-२५ जना सञ्चालकहरू आएका र आज मात्रै ५ जना भेटवार्ता गरेर गएको उनले बताए । प्रहरीको त्रास बढेकाले सञ्चालकहरू कन्सल्टेन्सी बन्द गर्नु परेको गुनासो बोकेर आउने गरेको खड्काले बताए । प्रहरीले कुनै सञ्चालक तथा व्यवसायीलाई नियतवश कारबाही नगरेको उनले बताए । कुनै पनि व्यवसायीलाई दुःख दिने नियत नभएको उनले प्रस्ट पारे । ‘कार्यालयले अहिलेसम्मकै ठूलो संख्यामा कन्सल्टेन्सीमा छापा मारेको छ,’ उनले भने, 'केही सञ्चालकहरू भने बन्द गरेर अन्तै गइसकेको भन्दै यहाँ आउने गरेका छन् ।‘विधि प्रक्रिया पुर्‍याएर व्यवसाय गर्नेहरूलाई कोही पनि डराएर नभाग्नुपर्ने भनेर सम्झाउने गरेको खड्काले बताए ।  दर्ता नभएका कन्सल्टेन्सीहरूले प्रहरीले नियतवश कन्सल्टेन्सीलाई दुःख दिन थालेको भन्दै प्रचार गर्न थालेको उनले बताए । राज्यको कानुन मानेर व्यवसाय गरेकालाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको उनले उल्लेख गरे ।  ३१ वटा कन्सल्टेन्सी सञ्चालकविरुद्ध मुद्दा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लिखतसम्बन्धी कसुर, ठगी र शिक्षा ऐन, २०२८ अनुसार तीनवटा कसुरमा ३१ जनाविरुद्ध मुद्दा चलाएको छ । केही दिनअघि मात्र कार्यालयले गैरकानुनी रूपमा ठगी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ९५ वटा कन्सल्टेन्सीमा छापा मारी ६९ जना सञ्चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको थियो ।  उनका अनुसार कन्सल्टेन्सी दर्ता नभएका, ठगी र सरकारी छाप किर्ते गरेर चलाएकाहरू कारबाहीमा परेका हुन्। कार्यालयले मुद्दा चलाएका सबैलाई ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको खड्काले बताए । अनुमति बिना चलाएका धेरै कन्सल्टेन्सी पाइएको उनले जानकारी दिए । उपत्यकाका तीनवटा जिल्लामा लामाे समय लगाएर अनुसन्धान गरिएको उनले जानकारी दिए। अधिकांश कन्सल्टेन्सीहरू बिना दर्ता चलेको पाइएको उनले उल्लेख गरे । सम्बन्धित सामग्री :  कोरिया जाँदा ६ दर्जन बढी कन्सल्टेन्सीले पौने १ अर्ब ठगेको भन्दै उजुरी, कुन-कुन कन्सल्टेन्सी परे ? विदेश जाने विद्यार्थीबाट दोब्बर शुल्क असुल्छन् कन्सल्टेन्सी, कारवाहीबाट बच्न नगदमा कारोबार विदेश पठाइदिने बहानामा ठगी गर्ने ६९ कन्सल्टेन्सी सञ्चालक प्रहरी नियन्त्रणमा १ वटा कन्सल्टेन्सीविरुद्ध मुद्दा, दर्ता नभएका धेरै विकासन्युजको समाचारका नेक्साको खण्डन