काठमाडौं । सानिमा बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गोरखास्थित प्रदेश अस्पताल गोरखालाई ५ वटा पिडियाट्रिक (बाल उपचार) बेड सहयोग गरेको छ ।
अस्पतालमा आयोजित एक कार्यक्रमबीच बैंकले उक्त सामग्री हस्तान्तरण गरेको हो । बालबालिकाको स्वास्थ्य सेवा थप प्रभावकारी, सहज तथा गुणस्तरीय बनाउने उद्देश्यले बेड उपलब्ध गराइएको बैंकले जनाएको छ ।
बैंकले आवश्यक मापदण्डअनुसारका आधुनिक पिडियाट्रिक बेड उपलब्ध गराएको छ । उक्त बेड अस्पतालको बाल वार्डमा प्रयोग गरिनेछ भने त्यसको संरक्षण, सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी अस्पतालकै रहने जनाइएको छ ।
अस्पताल पक्षले सानिमा बैंकको सहयोगले विशेष गरी विपन्न वर्गका बालबालिकाको उपचार सेवा थप सहज हुने विश्वास व्यक्त गरेको छ ।
कार्यक्रममा दुवै पक्षले स्वास्थ्य क्षेत्रसहित सामाजिक सेवामा आपसी सहकार्य र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।
सानिमा बैंकले आफूलाई वित्तीय कारोबारमा मात्र सीमित नराखी समाजको दिगो विकासमा योगदान गर्ने उद्देश्यसहित शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा सामुदायिक विकासका क्षेत्रमा निरन्तर काम गर्दै आएको जनाएको छ ।
बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरेको छ ।