गौतमबुद्ध विमानस्थलमा ३ बैंकका एटीएम राखिने, भाडा १.९२ लाख रुपैयाँ
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फरक फरब बैंकका तीन वटा एटीएम मेशिन सञ्चालन गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक आगमन (डोमेस्टिक अराइभल) भवन बाहिर एटीएम लाउन्ज सञ्चालन गरिने भएको हो । विमानस्थल नागरिक उड्डयन कार्यालय सिद्धार्थनगर, रूपन्देहीले बैंकहरूलाई एटीएम सेवा सञ्चालनका लागि ठेक्का प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ । कार्यालयका अनुसार आन्तरिक आगमन भवन बाहिर प्रत्येक एटीएमका लागि २ वर्गमिटर क्षेत्रफलका दरले जम्मा ३ वटा फरक-फरक बैंकका एटीएम राखिनेछ । यसको ठेक्का अवधि ५ वर्ष रहनेछ । प्रति एटीएम न्यूनतम ठेक रकम १ लाख ९२ हजार ९६० रुपैयाँ तोकिएको छ । विमानस्थल सेवा शुल्क नियमावली, २०७८ अनुसार बढाबढ प्रक्रियाबाट ठेक्का बन्दोबस्त गरिने कार्यालयले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वा ‘ख’ वर्गको इजाजत प्राप्त इच्छुक बैंकहरूले २१ दिनभित्र तोकिएको दस्तुर बुझाएर बोलपत्र फारम खरिद गर्न सक्नेछन् ।
एनएमबि बैंकका ग्राहकलाई भारतको मेदांता अस्पतालमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । एनएमबि बैंकले भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूका लागि भारतस्थित मेदांता अस्पतालमा स्वास्थ्य सेवामा विशेष छुटको व्यवस्था गरेको छ । यस सहकार्यसँगै बैंकका ग्राहकहरूले मेदांता अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट पाउनेछन् । बैंकका अनुसार ओपिडी परामर्श, ल्याब तथा रेडियोलोजी सेवा र प्रिभेन्टिभ हेल्थ प्याकेजमा १५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । त्यसैगरी, आइपिडी सेवाअन्तर्गत रुम भाडा तथा विभिन्न जाँच सेवाहरूमा १० प्रतिशत छुट पनि प्रदान गरिनेछ । ग्राहकहरूको स्वास्थ्य र सुविधालाई प्राथमिकतामा राख्दै बैंकिङ सेवाभन्दा बाहिर पनि थप लाभ उपलब्ध गराउने उद्देश्यले यस्तो सहकार्य गरिएको बैंकले जनाएको छ । थप जानकारीका लागि ग्राहकहरूले बैंकको ग्राहक सेवा नम्बर ०१–५९७०१५० मा सम्पर्क गर्न वा इमेलमार्फत जानकारी लिन सक्नेछन् । हाल एनएमबि बैंकले देशभर १९८ शाखा, १७६ एटिएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।
तेस्रो सांग्रिला क्विज २०८३ सम्पन्न, दाङ सब क्लस्टर विजेता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आयोजना गरेको तेस्रो सांग्रिला क्विज २०८३ सम्पन्न भएको छ । प्रतियोगिताको फाइनल चरण ‘कन्ट्रि राउन्ड’मा सहभागी १० टोलीमध्ये दाङ सब क्लस्टरका पिताम्बर बाँस्तोला र बालिका पाण्डे विजेता घोषित भए भने इटहरी क्लस्टरका विष्णुबहादुर खड्का र विपुल नेपाल उपविजेता बने । विजेता टोलीले जनही ६० हजार रुपैयाँ तथा उपविजेताले जनही ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । ‘कन्ट्रि राउन्ड’मा ‘क्लस्टर राउन्ड’बाट छनोट भएका १० क्लस्टर तथा सब क्लस्टरका दुई–दुई जना गरी २० जनाले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रमका अवसरमा बैंकमा लामो समय सेवा गरेका तथा विभिन्न तालिममा प्रशिक्षकको भूमिका निर्वाह गरेका कर्मचारीहरूलाई समेत सम्मान गरिएको थियो । विजेता, उपविजेता, प्रतिस्पर्धी तथा सम्मानित व्यक्तित्वहरूलाई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारी, प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी, प्रमुख कर्जा अधिकृत रजित मास्के तथा रिकभरी तथा एनपीएल व्यवस्थापन इकाइ प्रमुख जयन्द्र बहादुर खड्काले पुरस्कार तथा मायाको चिनो प्रदान गरेका थिए । हाल आम नागरिकको विश्वास र भरोसाका साथ बैंकले देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा राख्दै बैंकले आगामी दिनमा सेवा विस्तारलाई अझ तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।