यसरी भयाे एसबिआई बैंकको शाखामाथि लुटपाट

काठमाडौं । सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंकका कर्मचारी मंगलबार साँझ घर हिँडिसकेका थिए । बैंकमै बस्ने तीन जना कर्मचारी खाना खान हिँडेका थिए । बैंकका सुरक्षा गार्ड रुद्र कार्की बैंकको सुरक्षासँगै खाना पनि पकाउँदै थिए ।  साढे ६:३० बजेको समयमा ६ जनाको समूह बैंकमा प्रवेश गर्‍यो । त्यो समूहले सुरुमै सुरक्षा गार्ड रुद्र कार्कीलाई प्रहार गर्‍यो । उनको हातमा ठूलो चोट लाग्यो । उनी घाइते भए । त्यसपछि उनीहरूको टार्गेटमा कर्मचारीहरू परे । त्यो समूहले बैंकमा रहेका कर्मचारीको हात बाँधे । कर्मचारीहरू प्रतिवाद गर्न नसक्ने अवस्थामा पुगे । लुटेराहरूले धमाधम बैंकको नगद बोरामा राखे ।​​​​​​​ बैंकका सुरक्षा गार्ड कार्कीले आफू भान्सामा खाना पकाइरहेको बेला आएर आक्रमण गरेको जानकारी दिए । उनका अनुसार उनी भान्सामा खाना पकाइरहेका थिए भने बैंकका तीन जना कर्मचारी खाना खान गएका थिए ।    ‘म भान्सामा खाना पकाइरहेको थिएँ । अचानक ६ जनाको समूह आयो, चार जनाले खुकुरी देखाए भने दुई जनाले पेस्तोल देखाए । मलाई खुकुरीले पनि प्रहार गरे, हात बानेर राखे । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी आएर ढोका खोलेपछि हामी बाहिर आएका हौं । मुखुण्डो लगाएर आएका थिए । मान्छे पहिचान नै गर्न सकेनौं,’ कार्कीले भने ।  जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी निरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसार सुरक्षा गार्ड र कर्मचारीमाथि कुटपिट गरेपछि लुटेराहरूले स्वतन्त्र रूपले बैंक लुट्न पाए ।  लुटेराहरूले बैंकमा भएको नगद बोरामा लगेर जंगलतर्फ लागेको उनले जानकारी दिए ।  सुवेदीका अनुसार लुटपाट लगत्तै इलाका प्रहरी कार्यालय, बस्तीपुरको टोली घटनास्थल पुगेको थियो । मंगलबार राति नै प्रहरी र स्थानीय मिलेर जंगल तथा आसपासका क्षेत्रमा लुटेराको खोजी गर्दा एक करोड ८० लाख रुपैयाँ नगद फेला परेको उनले जानकारी दिए ।  अहिले चार जना लुटेरा पनि पक्राउ भइसकेको सुवेदीले जानकारी दिए । उनीहरूलाई घ्याङलेख-१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको उनले बताए । घ्याङलेख काभ्रेपलाञ्चोकसँग सीमा जोडिएको दुर्गम स्थानीय तह हो । बैंकले भने ३ करोड बढी रुपैयाँ लुटपाट भएको जानकारी दिएको छ । १० वर्षअघि पनि रौतहटको चन्द्रनिगाहपुरस्थित मेनरोडमा रहेको नेपाल एसबीआई बैंकको शाखामा पनि लुटेराहरूले गोली चलाएर लुटपाट गरेका थिए । 

कामना सेवाले एमफिल र स्नातकोत्तरका विद्यार्थीलाई अनुसन्धान अनुदान दिने

काठमाडौं । कामना सेवा विकास बैंकले एमफिल तथा स्नातकोत्तर तहमा अध्ययनरत शोधकर्ता विद्यार्थीलाई अनुसन्धान अनुदान प्रदान गर्ने भएको छ । बैंकले अर्थशास्त्र र व्यवस्थापन विषयमा एमफिल गर्दै गरेका तथा व्यवस्थापन, अर्थशास्त्र, कम्प्युटर साइन्स र सूचना प्रविधि विषयमा स्नातकोत्तर तहमा अध्ययनरत शोधकर्ता विद्यार्थीलाई अनुसन्धान कार्यका लागि अनुदान उपलब्ध गराउने जनाएको हो । बैंकिङ, अर्थतन्त्र तथा सूचना–प्रविधिसँग सम्बन्धित विभिन्न क्षेत्रमा गरिने शोध कार्यका लागि एमफिल तहका दुई जना शोधकर्ता विद्यार्थीलाई जनही १ लाख रुपैयाँका दरले तथा स्नातकोत्तर तहका चार जना शोधकर्ता विद्यार्थीलाई जनही ५० हजार रुपैयाँका दरले अनुसन्धान अनुदान प्रदान गरिने बैंकले जनाएको छ । अनुदान प्राप्त गर्न इच्छुक विद्यार्थीले सम्बन्धित कलेजको सिफारिससहित आगामी १४ मार्च २०२६ भित्र बैंकसमक्ष शोध प्रस्तावना पेश गर्नुपर्नेछ । प्राप्त प्रस्तावनाका आधारमा सम्बन्धित विषयका विज्ञसमेत रहेको छनोट समितिले विद्यार्थी छनोट गर्ने बैंकले जनाएको छ। शोध कार्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिकोणले भरपर्दो, प्रमाणित गर्न सकिने तथ्यांकमा आधारित र मौलिक हुनुपर्ने शर्त राखिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले उक्त अनुसन्धान अनुदानले एमफिल र स्नातकोत्तर तहका शोधकर्ता विद्यार्थीलाई अध्ययन र अनुसन्धानमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । नेपाल राष्ट्र बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वविद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीलाई शोध तथा अनुसन्धानका लागि अनुदान प्रदान गर्न सक्ने व्यवस्था गरेसँगै कामना सेवा विकास बैंकले यो कार्यक्रम अघि सारेको हो । नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार अनुसन्धान अनुदान प्रदान गर्ने कामना सेवा विकास बैंक पहिलो वित्तीय संस्था भएको बैंकको दाबी छ । अनुसन्धान अनुदानसम्बन्धी विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने जनाएको छ ।

अधिकांश बैंकले माघमा पनि घटाए ब्याजदर, प्राइमले बढायो

काठमाडौं । वाणिज्य बैंकहरूले माघमा पनि ब्याजदर घटाएका छन् । माघ १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।  माघ महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.१५ प्रतिशत घटेर औसत ४.६८ प्रतिशतमा झरेको छ । जबकि पुसमा औसत ब्याजदर व्यक्तिगततर्फ ४.८६ प्रतिशत थियो । यस्तै, माघमा मुद्दती निक्षेपमा ब्याजदर संस्थागततर्फ औसत ०.०६ प्रतिशत घटेर ३.३८ प्रतिशतमा झरेको छ । यसअघि पुसमा संस्थागततर्फ औसत ३.३७ प्रतिशत ब्याजदर थियो । माघ महिनाका लागि ११ बैंकले ब्याजदर घटाएका छन् भने ८ बैंकले ब्याजदर स्थिर राखेका छन् । तर, प्राइम बैंकले भने माघमा ब्याजदर बढाएको छ ।  कृषि विकास बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक र सानिमा बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।  यस्तै, नेपाल बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) र एनआईसी एशिया बैंकले भने मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेका छन् । प्राइम बैंकले माघमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.१५ प्रतिशत बढाएर ४.४० प्रतिशतमा पुर्याएको छ  । जबकि पुसमा व्यक्तिगततर्फ ४.२५ प्रतिशत ब्याजदर तोकेको थियो । तर, बैंकले संस्थागततर्फ भने ब्याजदर स्थिर राखेको छ ।