महालक्ष्मी विकास बैंक ३२औँ वर्षमा प्रवेश, विविध सामाजिक कार्यक्रम सम्पन्न
काठमाडौं । महालक्ष्मी विकास बैंक ३२औँ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले जेष्ठ २ गतेदेखि जेष्ठ ७ गतेसम्म विभिन्न सामाजिक, वित्तीय तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरी वार्षिकोत्सव मनाएको छ । वार्षिक उत्सवअन्तर्गत जेष्ठ २ गते बैंकको केन्द्रीय, प्रादेशिक तथा शाखा कार्यालयका कर्मचारीहरूको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा मोबाइल बैंकिङ, स्मार्ट क्यूआर, निक्षेप, कर्जा तथा विप्रेषणलगायत बैंकिङ सेवासम्बन्धी जानकारी प्रदान गरिएको बैंकले जनाएको छ । त्यसैगरी, जेष्ठ ४ गते केन्द्रीय कार्यालयमा बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा जेष्ठ ५ गते दन्त तथा आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो। यी शिविरहरूबाट करिब २०० जनाले लाभ लिएका थिए । वार्षिकोत्सवकै अवसरमा जेष्ठ ६ गते देशभरका विभिन्न कार्यालयहरूमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो, जसबाट करिब २०० पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ । रगत व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो । यसै अवसरमा बैंकले विभिन्न स्थानका महालक्ष्मी मन्दिरहरूमा सरसफाइ सामग्री वितरण गर्नुका साथै ललितपुरको महालक्ष्मीस्थानस्थित मन्दिरमा बगैंचा व्यवस्थापन र डिजिटल दक्षिणा प्रवर्द्धनका लागि सहयोग गरेको छ । जेष्ठ ७ गते बैंकका कर्मचारीहरू स्थानीय भेषभूषामा उपस्थित भई सांस्कृतिक विविधता झल्काउने कार्यक्रम आयोजना गरिएको थियो । सोही दिन नारायणहिटीस्थित गुठी व्यवस्थापन समितिलाई खानेपानी व्यवस्थापनका लागि पानी ट्यांकी हस्तान्तरण गरिएको छ । यसैबीच, बैंकले 'महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता' अन्तर्गत संकलित तस्बिरहरूको प्रदर्शनी समेत केन्द्रीय कार्यालयमा आयोजना गरेको छ, जसको उद्देश्य स्थानीय साना तथा मझौला व्यवसायको प्रवर्द्धन गर्नु रहेको छ । बैंकले विगत चार वर्षदेखि सञ्चालन गर्दै आएको महालक्ष्मी कर्पोरेट क्रिकेट प्रतियोगिताको पाँचौँ संस्करण पनि यही जेष्ठ महिनामा आयोजना गर्ने जनाएको छ ।
कामना सेवाको सहयोगमा अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले 'हाम्रो बाल संरक्षण धरोहर नेपाल' मा रहेका अनाथ तथा असहाय बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकको शाखा कार्यालय गोंगबु मार्फत आयोजित कार्यक्रममा काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले कक्षा एल.के.जी. देखि १० सम्म अध्ययनरत २८ जना बालबालिकाका लागि आवश्यक शैक्षिक सामग्री संस्थाका संस्थापक बिनिता अर्याललाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै संस्थापक अर्यालले बैंकको सहयोगले संस्थामा आश्रित बालबालिकाको शैक्षिक पहुँच विस्तारमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिन् । उनले यस्तो सहयोगले बालबालिकामा अध्ययनप्रति थप उत्साह र प्रेरणा मिल्ने बताइन् । यस अवसरमा बालबालिकाहरूले खुशी व्यक्त गर्दै बैंकप्रति आभार प्रकट गरेका थिए । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
एकाएक बैंक खाताबाट पैसा रित्तिएपछि...
काठमाडौं । मोबाइल बैंकिङ चलाउँदैनन् उनी । आफूदेखि बाहेक कसैले पनि उनको मोबाइल चलाउँदैन थियो । उनी अर्थात् सागर बस्नेतले ओटीपी पनि कसैलाई दिएका थिएनन् । उनले सामाजिक सञ्जालमा कुनै लिङ्क चलाएका थिएनन् । केही दिनअघि उनको खाताबाट एक्कासि खाताबाट तीन लाख रुपैयाँ हरायो । एक पटकमा सागरको खाताबाट २० हजार मात्र झिकिन्छ । उनले पैसा हराएको थाहा पाएनन् । बिहानीपख मोबाइलमा म्यासेज देखेपछि मात्र उनले थाहा पाए । खाताबाट पैसा काटियो । उनले त्यसलाई बेवास्ता गरे । भोलिपल्ट पनि उस्तै समयमा ठूलो मात्रामा रकम काट्यो । एक सातामै उनको बैंक खाताबाट तीन लाख रुपैयाँ हरायो । सागर आत्तिए । परिवार, साथी र बैंकमा सल्लाह गरे । उनले त्यसपछि प्रहरीकोमा जाने निर्णय गरे । उनी लगत्तै भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्यूरोमा पुगेर निवेदन दिए । रमेश थापा सरकारी कार्यालयमा कार्यरत छन् । अझ उनी उच्च पदमा छन् । डिजिटल कारोबारमा उनी अभ्यस्त छन् । मोबाइल बैंकिङ चलाउँथे । तर, प्रविधिको भित्री ज्ञान भने उनमा थिएन । रमेशको मोबाइलमा अचानक एउटा फोन आयो । ट्रु कलरमा ‘बैंक सपोर्ट अफिस लेखिएको थियो । रमेशले फोन उठाए । ‘नमस्कार रमेशजी, म तपाईंको ‘वालेट र बैंक सपोर्ट’ हेड आशिष शर्मा बोलेको । तपाईंको खाताको (केवाइसी) अपग्रेड नभएकाले अकाउन्ट ब्लक हुन लागेको छ । हामी त्यसलाई सुचारु गर्दैछौँ,’ फोनमा उनी बोले । उनले भने, ‘अरे ! अफिसको तलब आउने बेला भयो, ब्लक भयो भने बर्बाद हुन्छ । के गर्नुपर्छ सर ।’ आशिषले उनलाई केही गर्नु पर्दैन । तपाईंको मोबाइलमा एउटा ६ अंकको भेरिफेकिसन कोड आएको छ, त्यो भनिदिनुस्। हामी यहाँबाट सिधै सिस्टम अपग्रेड गरिदिने बताए । ठिक त्यही बेला रमेशको मोबाइलमा एउटा ओटीपी आयो । खाता ब्लक हुने डरले रमेशले सोच्दै नसोची त्यो कोड फोनमा भनिदिए । तर, फोन काटिएको एक मिनेट पनि भएको थिएन । उनको मोबाइलमा लगातार म्यासेजहरू आउन थाले । खातामा पैसा भरिएको म्यासेज आयो । तर पुनः सोही खाताबाट पटक–पटक गरेर पैसा काटिन थाल्यो । रमेशको आँखै अगाडि उनको कमाइ, झन्डै साढे १ लाख रुपैयाँ केही मिनेटमै शून्य भयो । उनले तुरुन्तै त्यो नम्बरमा फोन गरे, तर फोन ’स्वीच अफ’ भइसकेको थियो । पछिल्लो समय प्रविधिले विकासको फड्को मारेसँगै अपराधको स्वरुप फेरिँदै गएको छ । जति प्रविधिको विकास भयो, उति नै मानिसहरूले सुविधाको खोजी गर्न थाले । प्रविधिको माध्यमबाट वित्तीय अपराध बढ्दै गएको छ । सर्वसाधारणले बैंकबाट लाखौं रुपैयाँ गुमाउन थालेका छन् । घरमा चोरी हुनु सामान्य मानिन्थ्यो । तर, अहिले भने बैंक खाताबाट पैसा हराउन थालेको छ । यसैको उदाहरणस्वरुप धेरै सेवाग्राहीले बैंक खाताबाट पैसा गुमाउन थालेका छन् । विभिन्न व्यक्तिहरूको प्रलोभनमा वा त्रुटी गरेर सेवाग्राहीले बैंक खाताबाट पैसा गुमाइरहेका छन् । सुविधाको विकास भएसँगै प्रविधिको चुनौतीलाई सामना गर्न नसक्दा क्षति भोग्नेको संख्या बढिरहेको छ । सामाजिक सञ्जालका विभिन्न लिङ्क थिच्दा वा ओटीपी तथा बैंकको विवरण सार्वजनिक गर्दा थप वित्तीय संकटमा परिरहेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोमा मात्र सर्वसाधारणको बैंक खातमा अनाधिकृत पहुँच पु¥याएर पैसा हराउने क्रम बढेको भन्दै उजुरी दिने क्रम बढेको छ । प्रत्येक वर्ष बैंक खाताबाट पैसा हराएको भन्दै सेवागाह्रीहरू प्रहरीको उजुरी दिन थालेका छन् । साइबर ब्यूरोमा मात्र बैंक तथा वालेट अफिसबाट बोलेको भन्दै र स्क्रनिङ सेयर, फिसिङ, ओटीपी तथा वालेट ह्याक गरेर पैसा हराएको उजुरी परेको छ । साइबर ब्यूरोका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा बैंक तथा वालेट अफिसबाट बोलेको भन्दै २९० उजुरी परेको थियो । आव २०८१/०८२ मा ३ सय ३६ उजुरी र २०८२/०८३ मा २९७ उजुरी परेको थियो । आर्थिक वर्ष २०८०/ ०८१ मा ओटीपी , फीसीङ लिङ्क र स्क्रिनिङ सेयर गरेर बैंकमा पहुँच पु¥याएर पीडित ३ सय १९, आर्थिक वर्ष २०८१/०८२ मा २ सय ८९ र आव २०८२/०८३ मा १ हजार १९६ उजुरी परेको थियो । ब्यूरोका प्रवक्ता दिलिप गीरीले उजुरी परेका धेरै निवेदनका अनुसार पीडक समक्ष पुग्ने गरेको बताए । बैंकको खाता अनुसार पीडक तथा ह्याक गर्नेको नजिक पुग्न सकिने उनको भनाइ छ । बैंक खाताबाट गएको पैसा अर्को खातामा पैसा पुग्दा स्क्याम गर्नेको नजिक पुग्न सकिने प्रवक्ता गिरीले बताए । बैंक खाता नम्बरबाट सम्बन्धित व्यक्ति समक्ष पुगिने उनले बताए । बैंकिङ खाताबाट पैसा झिक्ने समूहहरू एकै हुने गरेको उनको बुझाइ छ । वित्तीय सचेतनाको अभाव बैंकिङ सचेतना नहुँदा मानिसहरूका बैंकका खातामा ह्याकरको प्रवेश बढ्न थालेको ज्ञानेन्द्र अधिकारी बताउँछन् । बैंकिङको विषयमा धेरै सरोकार राख्नेहरूले यस्ता विषयमा सचेतना फैलाउनु पर्ने उनको सुझाव छ । प्रलोभनमा पर्ने मानिसहरू धेरै देखिएकाले यस्ता घट्नाहरू सार्वजनिक हुन थालेको अधिकारीको भनाइ छ । मुलुकमा रोजगार नहुँदा र उत्पादनकमुलक काममा नलाग्दा मानिसहरू थोरै–थोरै पैसाको लोभमा पर्न थालेको उनको बुझाइ छ । अहिलेका युवाहरूमा बढी महत्त्वकांक्षा भएकाले तीब्र रुपमा पैसाको खोजी गर्नेहरू बढ्न थालेको अधिकारीको धारणा गरे । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ अन्तर्गत ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) मुद्दा चल्छ । त्यसो गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना हुने गर्छ ।