५२० किमी रेन्जसहितको जीडब्लूएमको नयाँ विद्युतीय एसयूभी नेपालमा आउँदै

काठमाडौं । जीडब्लूएमको आधिकारीक बिक्रेता भीजी इम्पेक्सले नेपाली विद्युतीय सवारीसाधन बजारमा नयाँ ऊर्जा र अत्याधुनिक प्रविधिसहित प्रवेश गर्ने तयारी गरेको छ । विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै लाखौं ग्राहकको विश्वास जित्न सफल कम्पनीले नेपालका लागि नयाँ पुस्ताको विद्युतीय एसयूभी सार्वजनिक गर्ने तयारीमा रहेकाे छ ।

यद्यपि, कम्पनीले उक्त मोडलको औपचारिक घोषणा गरिसकेको छैन, प्रारम्भिक विवरणहरू सार्वजनिक भएसँगै अटोमोबाइल क्षेत्र तथा विद्युतीय सवारी पारखीहरूबीच उत्सुकता बढेको छ । कम्पनीअनुसार, उक्त नयाँ एसयूभीमा करिब ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज, स्मार्ट डिजिटल प्रविधि, उन्नत कनेक्टिभिटी, आधुनिक सुरक्षा प्रणाली तथा सहज ड्राइभिङ अनुभव प्रदान गर्ने विभिन्न सुविधाहरू समावेश हुने अपेक्षा गरिएको छ।

आकर्षक डिजाइन, प्रिमियम बाह्य संरचना र विशिष्ट लाइटिङ सिग्नेचरले यसलाई सडकमा फरक पहिचान दिने विश्वास गरिएको छ । विशेषगरी, गाडीको बाहिरी सतहमा बहु–तह सुरक्षात्मक प्रविधि प्रयोग गरिएको बताइएको छ, जसले सानातिना स्क्र्याचहरूलाई सूर्यको तापबाट स्वतः पुनःस्थापित गर्न सक्ने क्षमता राख्ने चर्चा छ, जसले गाडीको सौन्दर्य र चमकलाई लामो समयसम्म कायम राख्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

जीडब्लूएमले विश्व बजारमा इलेक्ट्रिक मोबिलिटी, स्मार्ट कनेक्टिभिटी, सुरक्षित यात्रा तथा प्रयोगकर्ता–केन्द्रित नवप्रवर्तनमार्फत आफ्नो छुट्टै पहिचान स्थापित गर्दै आएको छ र यही अनुभव तथा प्रविधिको संयोजन नेपाली ग्राहकले पनि प्रत्यक्ष अनुभव गर्न पाउने अपेक्षा गरिएको छ ।

नेपालमा विद्युतीय सवारीसाधनप्रतिको बढ्दो आकर्षण, पूर्वाधार विस्तार र वातावरणमैत्री यातायातप्रतिको सकारात्मक सोचका बीच कम्पनीको नयाँ मोडललाई बजारको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । कम्पनीले यस सम्बन्धमा थप जानकारी तथा औपचारिक घोषणा निकट भविष्यमा सार्वजनिक गर्ने जनाएको छ ।

Share News