ओलीले संविधानलाई मनपरी प्रयोग गरे : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचन देशलाई कता लैजाने भन्नेमा निर्भर रहेको बताएका छन् ।शनिवार चितवनमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट किन हटाउनुपरेको भन्नेकुरा सबैलाई थाहा भइसकेको भन्दै लोकतन्त्र, गणतन्त्रलाई स्थायी बनाउन आवश्यक भएकाले संविधानको रक्षा गर्न ओलीलाई सरकारबाट हटाएको जानकारी दिए । प्रधानमन्त्री देउवाले अहिले देशमा लोकतन्त्र र गणतन्त्रलाई स्थापित गर्नुका साथै समावेशी शासन व्यवस्था दिलाउनु जरुरी भएको बताए । उनले आसन्न निर्वाचनमा चितवनबाट गठबन्धनको जित हुनु आवश्यक रहेको छ भने । प्रधानमन्त्री देउवाले चितवनबाट नै स्थानीय तहको निर्वाचनमा पनि सत्तारुढ गठबन्धनले विजयी हाँसिल गरेको उल्लेख गर्दै प्रतिनिधि सभामा पनि जिताएर चितवनका जनताले गठबन्धनको जितको श्रेय लिनुपर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तामा रहँदा संविधानलाई मनपरी रुपमा प्रयोग गरेर संसद विघटन गरेको उल्लेख गर्दै कुनैपनि प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नरहेको उल्लेख गरे ।
आन्तरीक पर्यटकलाई शहरभन्दा गाउँ प्यारो
कास्की । कास्कीका मुख्य पर्यटकीय गाउँमा पाहुनाको घुइँचो लाग्न थालेको छ । दशैं–तिहारलगत्तै कास्कीको घान्द्रुक, सिक्लेस, ताङतिङ, धम्पुस, ल्वाङघलेललगायत गाउँमा पर्यटकको चहलपहल बढ्न थालेको छ । पोखरा घुम्न आएकाहरू आजभोलि पोखरामा मात्र सीमित हुन चाहँदैनन् । उनीहरुको रोजाइ हुने गरेको छ, वरपरका गाउँबस्ती र थुम्का । पोखराको सुविधासम्पन्न होटलमा आरामदायी सुविधा लिएका पर्यटक गाउँसम्म पुगेर त्यहाँको आतिथ्यता र प्राकृतिक सुन्दरतासँग रमाउन थालिसकेका छन् । पर्यटकीय गाउँ घान्द्रुकमा दैनिक दुई हजारभन्दा बढी पर्यटक पुग्ने गरेको स्थानीय व्यावसायी अमृत गुरुङले जानकारी दिए । कोरोनाका समयमा पर्यटकका लागि बन्द रहेको गाउँ गत वर्ष असोज १ गतेदेखि खुला गरिएपछि पाहुना जाने क्रम सुरु भएको उनले बताए । यो वर्ष झन् थामिनसक्नु पर्यटक घान्द्रुक पुगेको उनले जानकारी दिए । उनले भने, ‘शुक्रबार र शनिबार घान्द्रुकका होटल र होमस्टे सबै भरिभराउ भए । त्यसैले घान्द्रुक घुम्न आउँदै छन् भने पूर्वजानकारी गराएर मात्र आउनुहुन अनुरोध गर्दछु ।’ शुक्रबार दुई हजार तीन सयको हाराहारीमा पर्यटक त्यहाँ पुगेको थिए । तीमध्ये दुई हजारले बास भएको उनले जानकारी दिए । बाँकी लगभग तीन सय पहुना बास नपाएर फर्कन बाध्य भएको उनले सुनाए । घान्द्रुकमा पाहुना राख्नका लागि ५० को हाराहारीमा होटल र २० वटा होमस्टे रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । यसमा पाहुना धेरै भएको अवस्थामा १० घर जतिमा व्यवस्थापन गर्न सकिने उनले बताए । सत्तरी–असी होटल होमस्टेमा एक दिनमा दुई हजारसम्म मात्र पाहुना राख्न सकिने अध्यक्ष गुरुङले जानकारी दिए । कास्कीको अर्को पर्यटकीय गाउँ सिक्लेसमा पनि दैनिक एक हजार पर्यटक पुग्ने गरेको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए । ‘सिक्लेसमा ५०–६० जनासम्म राख्न सक्ने होटल १५ वटा छन्, दर्ता भएका नभएका गरी २७ होमस्टे छन्’, उनले भने, ‘होटल र होमस्टेमा गरेर दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म राख्न सकिन्छ । यतिबेला सबै प्याक छन् ।’ सिक्लेस नजिकैको गाउँ ताङतिङमा पनि उत्तिकै सङ्ख्यामा पर्यटक पुग्ने गरेको गुरुङले बताए । ग्रामीण क्षेत्रमा हाउसफुल हुँदा पोखरामा भने सोचेजस्तो पर्यटक नभएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए । ‘पछिल्लो समय विदेशीसँगै आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । यसले व्यवसायीमा आशा त जगाएको छ’, उनले भने, ‘तर हामीले सोचेको जस्तो बढेको चाहिँ होइन । अब यो कतिसम्म जान्छ भन्ने हो । यो क्रम बाह्रैमास भएमा पर्यटन क्षेत्र उकासिन्छ ।’ उनले पोखरा भित्रने बाटो बन्दै गरेकाले छिटो निर्माण गर्न सरकारलाई आग्रह गरे । ‘बाटो बन्नु भनेको हाम्रा लागि राम्रो कुरा हो तर बाटो बन्दै गर्दा वैकल्पिक बाटो पनि सरकारले बनाउनुपर्छ’, उनले भने, ‘यसो भयो भने पर्यटक जाममा नपर्ने गरी समय जोगिन्छ ।’ होटल सङ्घ पोखरा पनि पोखरामा सोचेजस्तो पर्यटक नआएको जनाएको छ । अहिले पोखराको होटेल ‘अकुपेन्सी’ २० देखि ३० प्रतिशत हाराहारी रहेको होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । ‘पछिल्ला समय केही आशा जगाएको छ’, उनले भने, ‘केही होटलमा ५० प्रतिशत जति छ केहीमा १०–२० प्रतिशत, त्यो हिसाबले एभरेजमा २०–२२ प्रतिशत अकुपेन्सी छ ।’ नवौँ राष्ट्रिय खेलकुद हुने समयमा ६०–७० प्रतिशत अकुपेन्सीको भए पनि पछिल्लो समय घटेको सुवेदीको भनाइ थियो । कोरोनाभन्दा अघि यही समयमा कोठा नपाएर भनसुन गर्नुपर्ने अवस्था रहेको उनले विगत सम्झिए । सङ्घसँग आवद्ध चार सय २५ होटल छन् भने उत्तिकै सङ्ख्यामा सङ्घमा आवद्ध नभएका होटल पोखरामा रहेको उनले जानकारी दिए । रासस
लाभांश पारित गर्ने प्रस्ताव सहित जीस्वाँ सहकारीले बोलायो साधारण सभा
काठमाडौं । जीस्वाँ बचत तथा ऋण सहकारी संस्थाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । सहकारीको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं वार्षिक साधारण सभा मंसिर १७ गते काठमाडौंमा बोलाएको हो । पछिल्लो समय सहकारीमा समस्या देखिएको बेलामा यस सहकारीले भने आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने पस्ताव गरेको छ । कति प्रतिशत लाभांश वितरण गर्ने भनेर उल्लेख नगरेपनि आर्थिक वर्ष २०७८÷७९ मा सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, संचालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिबेदन तथा बजेट पेश गरी सो पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८÷७९ को वासलात नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गर्ने, आर्थिक वर्ष २०७८÷७९ को कार्यक्रम तथा अनुमानित बजेट पारित गर्ने, आर्थिक वर्ष २०७८÷७९ को लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, संचालक समितिबाट विभिन्न मितिमा गरेका निर्णयहरु समर्थन गरी पारित गर्ने, साधारणसभाको निर्णय पुस्तिका प्रमाणित गर्न सदस्यहरुको मनोनयन गर्ने, जोखिम ब्यबस्थापन तथा सम्पति शुद्धिकरण विवरण कार्यन्वयन नीति २०७७ र ऋण नीति २०७७ साधारणसभाबाट पारित गर्नेछ ।
मतदाता भन्छन् : ‘निर्वाचनपछि काम गरेर खान पाइयोस, सुखले बाँच्न पाइयोस्’
भरतपुर । आसन्न निर्वाचन आउन अब सात दिन मात्र बाँकी छ । राजनीतिक दल र नेताहरू मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा लागेका छन् । कोही घरदैलो गर्दै हिँडिरेका छन् त कोही कोणसभा र चुनावीसभा । पछिल्लो साता राजनीतिक माहोल तातिरहेका बेला दिनभर काम गरेर खाने निम्न वर्गका मतदातालाई भने चुनावले खासै तताउन सकेको छैन । उनीहरु अहिले पनि कसरी आफ्नो गर्जो टार्ने भन्ने चिन्तामा छन् । निर्वाचनको समयमा गरेका बाचा जितेर गइसकेपछि भुल्ने नेताहरूलाई किन भोट हाल्ने भन्ने उनीहरुको प्रश्न छ । भरतपुर महानगरपालिका–१ लीलाचोककी बाटुलीमाया श्रेष्ठ चुनाव जितेर गएपछि नेताहरू पाँच वर्ष देखा नै नपर्ने गरेको गुनासो गरिन् । ‘भोट हालेर चुनावमा जिताएर के गर्ने ? काम गरीखाने ठेला महानगरमा छ । काम गरेर पनि खान दिइएन’, उनले गुनासो गरिन् । ‘रोजगारी दिन्छु भन्दै भोट मागेको सम्झदै उहाँले नेताहरू जितेपछि फर्केर नआएकामा कसलाई गुनासो गर्ने’, भनिन् । उनले ठेलामा मकै पोलेर परिवार पाल्दै आएकि छिन् । उनले साँझ बिहानको हातमुख जोर्ने ठेला भरतपुर महानगरपालिकाले लगिदिएको छ । सडकमै मकै बेच्दै गर्दा महानगरपालिकाबाट आएका नगर प्रहरीले उनको ठेला नियन्त्रणमा लिएका थिए । ‘पटक–पटक महानगर धाउँदा पनि ठेला पाइएन’, उनले भनिन्, ‘हामी सोझा मान्छेको पहुँचमा मान्छे छैनन् ।’ उनले निर्वाचनपछि काम गरेर खाना र सुखले बाँच्न पाए अरु केही नचाहिने बताइन् । भरतपुर महानगरपालिका–११ भोजाडकी मतिमाया कुमाल यसपटकको निर्वाचनमा दोधारमा रहेको बताउँछिन् । ‘यसअघि पटक–पटक भोट हाल्यौँ, तर हाम्रो जीवनमा परिवर्तन आएन’, उनले भनिन् । खाद्यान्नको मूल्य आकाशिएको भन्दै उनले साँझ बिहानको छाक पनि टार्न नसक्ने अवस्था आउन लागेको गुनासो गरिन् । ‘महँगी दिनदिनै बढ्छ, मजदुरको ज्याला बढ्दैन, जनताको दुःख बुझ्ने नेता को छ र ?’ उनले प्रश्न गर्दै भनिन् । प्यारालाइसिसका कारण एउटा हात नचल्ने उनका श्रीमान्ले ज्याला मजदुरी गर्छन् । यसैबाट घरमा चुलो बलेको छ । आफूलाई भोट हाल्न मन नलागे पनि श्रीमान्ले भने एकपटक सोचेर भोट दिनुपर्छ भन्ने गरेको उनले बताइन् । भरतपुर महानगरपालिका–१ की लक्ष्मी श्रेष्ठले प्रत्येक चुनावमा लालपुर्जाको आश्वासन दिँदै उम्मेदवार भोट माग्न आएको बताइन् । उनी भन्छिन्, ‘हामीलाई आश देखाएको वर्षौँ भइसक्यो, अब कहिलेसम्म पर्खने ।’ उनले आफ्नै घर अगाडिको भत्केको सडक देखाउँदै यिनीहरूलाई कसरी भोट दिने भनिन् । “तीन वर्षअघि कालोपत्र गरेको कमसल काम भएका कारण भत्कियो”, उनले भनिन्, ‘अहिले दिनभर धुलो खाँदै बस्नुपरेको छ ।’ अटो चलाउँदै आएका भरतपुर–१ का रामबहादुर क्षेत्री काम गर्ने वातावरण नभएकै कारण हजारौं युवा विदेशिनुपरेको बताउँछन् । ‘निर्वाचनका बेला जनताको माग र आवश्यकता उम्मेदवारको घोषणापत्रसँग मिल्दोजुल्दो हुन्छ । पदमा गएपछि ती सबै कागजमा सीमित हुन्छ’, उनले भने । भरतपुर–१ स्थित पोखरा बसपार्कका रामजी शर्माले निर्वाचनको समयमा मत दिँदा विचार पु¥याउनुपर्ने बताए । ‘फकाउन र प्रलोभन दिन घर–घरमा आउन सक्छन्’, उनले भने, ‘देशको अवस्था हेरेर सोचविचार गरेर मत दिने ।’ दियालो टोल विकास समिति भरतपुर–१ की अध्यक्ष सुवद्रा श्रेष्ठले पार्टीप्रति आफ्नो आस्था भए पनि सही व्यक्ति छनोट गर्नुपर्ने बताए । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चितवनका चार लाख आठ हजार तीन सय ४२ मतदाताले भोट हाल्दैछन् । यसमा महिला दुई लाख नौ हजार तीन सय नौ रहेका छन् भने पुरुष एक लाख ९९ हजार ३२ जना छन् । रासस
बझाङमा भूकम्प गएपछि प्रहरीद्वारा घर बाहिर बस्न ‘माइकिङ
बझाङ । खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलमा केन्द्र भएर शनिबार साँझ पुनः भूकम्प गएपछि नेपाल प्रहरीले स्थानीयवासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको छ । पाटादेवल प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक रामबहादुर बमका अनुसार गत मङ्गलबार मध्यराति आएको भूकम्पले स्थानीयका घर चर्किएपछि स्थानीयलाई बाहिर बस्न माइकिङ गरेको हो । ‘मङ्गलबार राति आएको भूकम्पले चर्किएका घर शनिबारको भूकम्पले थप चर्किएपछि भित्र बस्न जोखिम भन्दै माइकिङ गरिरहेका छौँ’, उनले भने । उनका अनुसार पाटादेवल, राजकोट, तिउने, पुजारीगाउँमा घरबाहिर आगो ताप्दै बसेका छन् । खप्तडछान्ना–५ मा पनि स्थानीय आगो ताप्दै बाहिर बसेका छन् । मङ्गलबारको भूकम्पमा चर्किएका घर थप चर्किएपछि स्थानीयवासी चिन्तित भएको स्थानीय कुलप्रसाद जोशीले बताए । जिल्ला सदरमुकाम चैनपुरवासी सुदूरपश्चिमाञ्चल बोर्डिङ स्कुलको चौरमा रात बिताएका छन् । घटनाबारे जानकारी आइसकेको छैन । रासस
समता घरेलु लघुवित्तको नाफा ६३.७२ प्रतिशत घट्यो
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ६३.७२ प्रतिशत घटेर ४१ लाख ६२ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ करोड १४ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ५.७२ प्रतिशत घटेर ४ करोड ९० लाख ६७ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्ष १ करोड ८० हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको लघुवित्त यस वर्ष भने २५ लाख ५५ हजार रुपैयाँ सञ्चालन नोक्सानीमा छ । समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २० प्रतिशत बढेर ३४ करोड २७ लाख रुपैयाँ, जगेडा कोष २८ प्रतिशत बढेर २३ करोड ९९ लाख रुपैयाँ, सापटि २ प्रतिशत बढेर १ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ, निक्षेप १६ प्रतिशत बढेर १ अर्ब १५ करोड ३२ लाख रुपैयाँ र कर्जा ७.७७ प्रतिशत बढेर ३ अर्ब २८ करोड ६४ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ९७ पैसा रहेको छ । लघुवित्तको कस्ट कफ फण्ड ७.९६ प्रतिशत र खराब कर्जा ४.८६ प्रतिशत छ ।
गणपति लघुवित्तको नाफामा १५४ प्रतिशत छलाङ, ईपीएस पनि बढ्यो
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खुद नाफा १५४.६८ प्रतिशत बढेर ६८ लाख ९२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २७ लाख ६ हजार खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी १.६२ प्रतिशत घटेर ३ करोड ५६ लाख ३४ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको ३ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । पहिलो त्रैमाससम्म लघुवित्तको सञ्चालन मुनाफा १५४.६६ प्रतिशत बढेर ९८ लाख ४६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा सञ्चालन मुनाफा ३८ लाख ६६ हजार रूपैयाँ रहेको थियो । समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १५ करोड १५ लाख रुपैयाँ, जगेडा कोष ३.७५ प्रतिशत बढेर ३ करोड ६ लाख ३४ हजार रुपैयाँ, सापटि ६.२२ प्रतिशत बढेर १ अर्ब ५५ करोड रुपैयाँ, निक्षेप ०.६२ प्रतिशत घटेर ५६ करोड ९६ लाख रुपैयाँ र कर्जा ३.३९ प्रतिशत बढेर २ अर्ब २७ करोड ५२ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २.७६ रुपैयाँ बढेर ४.५५ रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ४७ पैसा छ । लघुवित्तको कस्ट अफ फण्ड ८.४६ प्रतिशत, बेस रेट १३.७१ प्रतिशत र खराब कर्जा २.१९ प्रतिशत रहेको छ ।
स्वाभिमान लघुवित्त नोक्सानमा, ईपीएस ऋणात्मक
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६७ लाख ८२ हजार रुपैयाँ नोक्सानमा छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ७४ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ६८.२९ प्रतिशत घटेर ६७ लाख १३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ४८ लाख ९६ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेकोमा यस वर्ष ६७ लाख ८२ हजार रुपैयाँ सञ्चालन नोक्सानमा छ । समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३२.३० प्रतिशत बढेर १२ करोड १७ लाख रुपैयाँ, जगेडा कोष ६०.४२ प्रतिशत बढेर ११ करोड २७ लाख रुपैयाँ, सापटि ५.३२ प्रतिशत बढेर १ अर्ब ३४ करोड ११ लाख रुपैयाँ, निक्षेप २६.४३ प्रतिशत बढेर ६९ करोड ६२ लाख रुपैयाँ र कर्जा २४.३१ प्रतिशत बढेर २ अर्ब १३ करोड १ लाख रुपैयाँ रहेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी ऋणात्मक छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २२ रुपैयाँ २८ पैसा ऋणात्मक छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ २७ पैसा छ ।