विकासन्युज

स्वाभिमान लघुवित्त नोक्सानमा, ईपीएस ऋणात्मक

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६७ लाख ८२ हजार रुपैयाँ नोक्सानमा छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ७४ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ६८.२९ प्रतिशत घटेर ६७ लाख १३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ४८ लाख ९६ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेकोमा यस वर्ष ६७ लाख ८२ हजार रुपैयाँ सञ्चालन नोक्सानमा छ । समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३२.३० प्रतिशत बढेर १२ करोड १७ लाख रुपैयाँ, जगेडा कोष ६०.४२ प्रतिशत बढेर ११ करोड २७ लाख रुपैयाँ, सापटि ५.३२ प्रतिशत बढेर १ अर्ब ३४ करोड ११ लाख रुपैयाँ, निक्षेप २६.४३ प्रतिशत बढेर ६९ करोड ६२ लाख रुपैयाँ र कर्जा २४.३१ प्रतिशत बढेर २ अर्ब १३ करोड १ लाख रुपैयाँ रहेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी ऋणात्मक छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २२ रुपैयाँ २८ पैसा ऋणात्मक छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ २७ पैसा छ ।

मातातीर्थ सबस्टेसनको ट्रान्सफर्मरमा समस्या आउँदा विद्युत आपूर्ति प्रभावित

काठमाडौं । चन्द्रागिरि नगरपालिका स्थिति १३२ केभी मातातीर्थ सबस्टेसनको पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या आएको छ । १३२/११ केभी सबस्टेसनमा रहेको २२.५ एमभिए क्षमताको पावर ट्रान्सफर्मरमा शनिबार दिउँसोबाट समस्या देखिएपछि मातातीर्थ क्षेत्रको विद्युत आपूर्ति प्रभावित भएको छ । यसबाट करिब ५ हजार ग्राहककोमा विद्युत आपूर्ति समस्या देखिएको हो । नेपाल विद्युत प्राधिकरणले सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि प्रयोग भएका मातातीर्थ र सतुंगल फिडरको लोडलाई क्रमश : थानकोट र बलम्बू फिडरमा सारेर वैकल्पिक रुपमा विद्युत आपूर्तिको व्यवस्था गरेको छ । तर, थानकोट र बलम्बू फिडरले त्यस क्षेत्रको मागलाई नधान्ने हुँदा आंशिक रुपमा विद्युत आपूर्तिको व्यवस्था गरिएको छ । वैकल्पिक व्यवस्थाको रुपमा धादिङको कानाकोटबाट ‘ब्याक सप्लार्ई’ लिने र थानकोट फिडरको विस्तार गरी आइतबारबाट विद्युत आपूर्तिको व्यवस्थापन गरिने छ । यसका लागि काम सुरु भइसकेको छ । प्राधिकरणले समस्या आएको ट्रान्सफर्मरलाई हटाएर भक्तपुर सबस्टेसनबाट ट्रान्सफर्मर लैजाने छ । यसका लागि केही दिन लाग्ने छ । प्राधिकरणले भक्तपुर सबस्टेसनमा रहेका २२.५ एमभिएका ३ वटा ट्रान्सफर्मरमध्ये २ वटालाई ४५/४५ एमभिएले प्रतिस्थापन गर्दै छ । त्यहाँ रहेका २२.५ एमभिएका दुई वटा ट्रान्सफर्मरमध्ये १ वटालाई मातातीर्थ सबस्टेसनमा लगेर जडान गरिने छ ।

निर्वाचनको दिन क-कसले सवारी चलाउन पाउँछन् ?

काठमाडौं । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतदानको दिन सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ । सो मापदण्डबमोजिम उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन प्रयोग गर्नका लागि तोकिएको ढाँचामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ । उम्मेदवारबाहेक अन्य निकाय वा संस्थाले मतदानको दिन सवारी साधन प्रयोग गर्न सम्बन्धित निकाय वा संस्थाको आधिकारिक लेटर प्याडमा सवारी साधन नम्बर, सवारी साधनको किसिम र सवारी साधन प्रयोगकर्ताको नामसमेत उल्लेख गरी अनुमति जारी गर्ने निकाय वा अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ । स्वीकृत मापदण्डबमोजिम मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरूको हकमा पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा बासस्थानदेखि विमानस्थलसम्म र विमानस्थलदेखि यात्रुको बासस्थानसम्मको आवागमनको लागि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले सहजीकरण गर्नुपर्नेछ । अपाङ्गता भई आफैं हिँड्डुल गर्न नसक्ने व्यक्तिको लागि बासस्थानदेखि मतदान केन्द्रसम्म र मतदान केन्द्रदेखि बासस्थानसम्म आवतजावत गर्न अवधि कायम रहेको पूर्ण अशक्त वा अति अशक्त अपाङ्गता परिचयपत्रका आधारमा सवारी साधनको प्रयोग गर्न सकिनेछ । अशक्तताको कारणले आफैँ हिँडडुल गर्न नसक्ने व्यक्तिको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिसमा निर्वाचन अधिकृतले तोकिएको ढाँचामा अनुमतिपत्र जारी गर्न सक्नेछ । मतदानको दिन बिरामी बोकेको एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दुध बोक्ने सवारी साधन, दमकल, सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानुनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचयपत्र वाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन प्रयोग गर्न मिल्नेछ । यस्तै दूरसञ्चार तथा केबल सेवाका लागि प्रयोग हुने सवारी साधन, शव वाहन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन, निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी, फलफूल तथा विद्युत सेवाका लागि प्रयोग हुने सवारी साधन, कूटनीतिक नियोग, युएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन, सुरक्षाकर्र्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन, आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधनका लागि अनुमति लिनुनपर्ने व्यवस्था गरिएको छ । तर त्यस्ता सवारी साधन मतदाता ओसारपसार गर्ने कामको लागि प्रयोग गर्न पाइने छैन । मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारी साधन कब्जामा लिई आवश्यक कानुनी कारबाही गर्नेछ ।

मिर्मिरे लघुवित्तको नाफा ४९.३८ प्रतिशत गिरावट, बेसरेट १५.१८ प्रतिशत

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४९.३८ प्रतिशत घटेर २ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्मा लघुवित्तको खुद ब्याज आम्दानी ३.६० प्रतिशत बढेर १२ करोड ६१ लाख रुपैयाँ, सञ्चालन नाफा ४९.३९ प्रतिशत घटेर ४ करोड ३ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २२.१० प्रतिशत बढेर ५३ करोड १२ लाख रुपैयाँ, जगेडा कोष ३७.२४ प्रतिशत बढेर ३० करोड ३१ लाख रुपैयाँ, सापटि १.३५ प्रतिशत बढेर ५ अर्ब ५३ करोड ४२ लाख रुपैयाँ, निक्षेप २९.८२ प्रतिशत बढेर २ अर्ब ७७ करोड ७८ लाख रुपैयाँ र कर्जा १०.१७ प्रतिशत बढेर ८ अर्ब ९५ करोड ४८ लाख रुपैयाँ रहेको छ । तीन महिनाको अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ३४ पैसाले घटेर २१ रुपैयाँ २८ पैसामा झरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ५८ रुपैयाँ ५८ पैसा रहेको थियो । लघुवित्तको मूल्य आम्दानी अनुपात ४४.१७ गुणा छ भने प्रतिसेयर नेटवर्थ १९९.०१ गुणा रहेको छ । यस अवधिमा लघुवित्तको खराब कर्जा ३.४७ प्रतिशत, बेस रेट १५.१८ प्रतिशत र कस्ट अफ फण्ड ११.०८ प्रतिशत रहेको छ ।

नेरुडे लघुवित्तको खुद नाफा ६४.१४ प्रतिशत घट्यो, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ६४.१४ प्रतिशत बढेर १ करोड ७० लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३६.५० प्रतिशत घटेर १० करोड ९१ लाख रुपैयाँ र सञ्चालन नाफा १ करोड ६९ लाख सञ्चालन नोक्सानमा छ । समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २१.४८ प्रतिशत बढेर ६० करोड रुपैयाँ, जगेडा कोष १५.२३ प्रतिशत बढेर ८१ करोड ८७ लाख, सापटि २०.४५ प्रतिशत बढेर ५ अर्ब २४ करोड ३९ लाख रुपैयाँ, निक्षेप १९.२७ प्रतिशत बढेर ३ अर्ब २८ करोड २९ लाख रुपैयाँ । कर्जा १८.९० प्रतिशत बढेर १० अर्ब २२ करोड ३४ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी २७ रुपैयाँ १५ पैसा घटेर ११ रुपैयाँ ३७ पैसामा सिमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ५२ पैसा रहेको थियो । लघुवित्तको मूल्य आम्दानी अनुपात ७४.२४ गुणा छ भने प्रतिसेयर नेटवर्थ २३६.४६ रुपैयाँ रहेको छ । लघुवित्तको खराब कर्जा ४.९३ प्रतिशत, कस्ट अफ फण्ड १०.४३ प्रतिशत रहेको छ ।

प्रत्येक वर्ष बेरुजु बढ्दै

काठमाडौं । आर्थिक कारोबार गर्दा बेरुजु आउने गरी गर्ने र बेरुजु नहुने गरी गर्नेलाई दण्ड र पुरस्कारको प्रावधान कार्यान्वयन नहुँदा नेपालमा प्रत्येक वर्ष बेरुजु बढेको पाइएको छ । बेरुजु फर्स्योट गर्ने र नगर्नेबीच कुनै किसिमको फरक नहुँदा बेरुजु बढ्ने र फर्स्योट नहुने समस्या देखिएको सरकारी अध्ययनले देखाएको हो । राष्ट्रिय योजना आयोगले तयार गरेको ‘नेपालमा लेखापरीक्षण र बेरुजु फर्स्योटको स्थिति अध्ययन प्रतिवेदन, २०७९’ले दण्ड र पुरस्कारको व्यवस्था नहुँदा दण्डहीनता मौलाएकाले यस्तो प्रवृत्ति देखिएको उल्लेख गरेको हो । प्रतिवेदनले नेपालको लेखापरीक्षणमा देखिएको समस्या र बेरुजुको बढ्दो प्रवृत्तिलाई बुँदागत रूपमा उजागर गरेको छ । खासगरी आयोजनाको आवश्यकता पहिचान र कार्यक्रमहरूको पूर्वतयारी अवस्था मूल्याङ्कन गरेर बजेटमा समावेश गर्ने परिपाटी कमजोर हुँदा पनि यस्ता खालका समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

निर्धन उत्थान लघुवित्तको नाफा ८४ प्रतिशत घट्यो, ईपीएस ४१ रुपैयाँ गिरावट

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खुद नाफा ८३.८८ प्रतिशत घटेर ३ करोड २५ लाख ५० हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २० करोड १९ लाख ३७ हजार खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ६.९६ प्रतिशत घटेर ४८ करोड हजार रुपैयाँ, सञ्चालन मुनाफा पनि ८३.८८ प्रतिशत घटेर ४ करोड ६५ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी २ अर्ब १९ करोड ५० लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ७८ करोड ६ लाख रुपैयाँ रहेको छ । यस अवधिमा लघुवित्तको सापटि ५.४५ प्रतिशत घटेर ५ अर्ब ९४ करोड ५३ लाख रुपैयाँ, निक्षेप १.६३ प्रतिशत बढेर १८ अर्ब ४८ करोड ९ लाख रुपैयाँ र कर्जा १.९९ प्रतिशत घटेर २६ अर्ब ८८ करोड ९० लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी ४१.७२ रुपैयाँले घटेर ५.९३ रुपैयाँमा सिमित भएको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात १५३.६४ गुणा छ भने प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ १२ पैसा रहेको छ । समिक्षा अवधिमा लघुवित्तको खराब कर्जा ७.१४ प्रतिशत, बेस रेट १३.३७ प्रतिशत र कस्ट अफ फण्ड ८.६१ प्रतिशत रहेको छ ।

बढी लिएको रकम फिर्ता गराउँदै राष्ट्र बैंक

काठमाडौं । बैंक, वित्तीय संस्थाको ब्याजदर, सेवा शुल्क, हर्जानाको विरोध गर्दै उद्योगी व्यवसायी आन्दोलित भएका बेला नेपाल राष्ट्र बैंकले कानूनविपरीत कर्जाको नवीकरण र प्रिमियम वृद्धि गरी ऋणीबाट उठाएको रकम फिर्ता गराउन थालेको छ । राष्ट्र बैंकले बैंकहरूको वार्षिक साधारणसभा स्वीकृतिका लागि ब्याजदर निर्देशनविपरीत उठाएको रकम फिर्ता गर्ने प्रतिबद्धता गराउन थालेपछि बैंकहरूले पनि ग्राहकसँग उठाएको रकम फिर्ता गर्न थालेका हुन् । साधारणसभा स्वीकृतिका लागि नै नियमविपरीत वृद्धि गरेको ब्याजदर र ब्याज रकम फिर्ताको शर्त तोकिएकाले बैंक, वित्तीय संस्थाले फिर्ता गर्न थालेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । तर, अहिलेसम्म फिर्ता भएको र फिर्ता गर्नुपर्ने रकमबारे यकीन तथ्यांक उपलब्ध नभएको प्रवक्ता भट्टको भनाइ छ । एकीकृत निर्देशनको कर्जासम्बन्धी व्यवस्थामा बैंक, वित्तीय संस्थाले आफ्नो लागतमा शून्य दशमलव ७५ प्रतिशत नाफासमेत जोडेर आधार दर तय गर्ने र त्यसैमा निश्चित प्रतिशत प्रिमियम थप गरी ब्याजदर निर्धारण हुने व्यवस्था छ । प्रत्येक त्रैमासिकमा बैंकको आधार दर घट्दा कर्जाको ब्याजदर स्वतः घट्ने र बढ्दा स्वतः बढ्ने भए पनि एकपटक तोकेको प्रिमियम दर परिवर्तन गर्न पाइँदैन । तर, पछिल्लो समय तरलता अभावको कारण देखाएर बैंकहरूले नयाँ कर्जाको ब्याजदर बढाएपछि पुराना ग्राहकको पनि प्रिमियम दर नै परिवर्तन गरी ब्याजदर महँगो बनाएका थिए । यसमा उद्योगी व्यवसायी र सर्वसाधारणले विरोध गर्न थालेपछि केन्द्रीय बैंकले पनि कडाइ गर्न थालेको हो । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।