चन्द्रागिरि वडास्तरीय फुटसल प्रतियोगिताको उपाधि वडा नं १५ ले जित्यो, ८० हजारसहित ट्रफी र पदक
काठमाडौं । चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७९’ को उपाधि चन्द्रागिरी–१५ ले चुमेको छ । नगरपालिकाको सर्वाधिक राशिको तेस्रो संस्करणको सो प्रतिप्रतियोगितामा उसले वडा नं ९ लाई एकका विरुद्ध पाँच गोल गर्दै ८० हजार रुपैयाँसहित ट्रफी र पदक चुुमेको छ भने वडा ९ दोस्रो भई ४० हजार रुपैयाँसहित ट्रफी र पदक हात पारेको छ । चन्द्रागिरि–९ स्थित मच्छेगाउँमा नवनिर्मित मत्स्य फुटसल एरिनामा शनिबार साँझ भएको कडा प्रतिस्पर्धात्मक खेलमा चन्द्रागिरि– १५ ले आफ्नो अपराजित यात्रालाई कायम राखेको हो । का तर्फबाट खेलाडी समिर कार्की, दिनेशसिंह खड्का, अविरल रिजाल, रञ्जन श्रेष्ठ, राहित थापा, सञ्जय पुरी, अभय खड्का, सुजित रावत, प्रज्ज्वल कार्की, रोहित थापा र सुशन घिमिरे मैदानमा उत्रिएका थिए । यसैगरी दोस्रो स्थान प्राप्त गरेको वडा नं ९ का तर्फबाट अजय महर्जन, सञ्जीव महजर्न, निकेश श्रेष्ठ, गौरव श्रेष्ठ, राजकुमार श्रेष्ठ, रितेश श्रेष्ठ, रफि श्रेष्ठ, ईश्वर थापामगर र राजीव मान्धर मैदानमा उत्रिएका थिए । पश्चिम संयुक्त क्लबको संयोजन तथा चनपाद्वारा प्रयोजित सो प्रतियोगितामा नगरका १५ वडाका २२ टिमले भाग लिएका थिए भने खेल अन्तर्राष्ट्रिय नियमानुसार खेलाइएको थियो । प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय एवं सान्त्वना प्राप्त टिमलाई नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, नगप्रवक्ता कृष्णकुमार खड्गी र क्लबका अध्यक्ष रामनारायण घिमिरेले संयुक्तरूपमा नगदसहित ट्रफी र पदक प्रदान गरे । सोही अवसरमा उनीहरूले उत्कृष्ट टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई नगद रु पाँच–पाँच हजारसहित ट्रफी र पदक प्रदान गरे । प्रतियोगिताको उत्कृष्ट टिमको उपाधि वडा नं १५ ले प्राप्त गरेको थियो भने उत्कृष्ट गोलकर्ता सविन महर्जन र उत्कृष्ट गोलकिपर प्रकट रिजालले प्राप्त गरेका थिए । सो अवसरमा नगरप्रमुख गिरीले नगरपालिकाले खेल क्षेत्रको विकासमा प्राथमिकता दिँदै आएको जानकारी दिँदै आगामी दिनमा युवापुस्ताले नै खेलकुदमार्फत नगरपालिका र सिङ्गो राष्ट्रलाई नै चिनउने बताए । उनले भने, ‘नगरको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यका क्षेत्रमा धेरै काम भएका छन् ।’ क्लबका अध्यक्ष घिमिरेले नगर क्षेत्रमा क्लबले विभिन्न खेलकुद प्रतियोगिताको संयोजन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा नगरपालिकाले खेल गतिविधिमा क्लबलाई साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । उनले भने, ‘अगामी दिनमा खेल क्षेत्रमा सरकारले लगानी बढाउन जरुरी छ । खेल क्षेत्रको विकास र विस्तारले मात्र युवाको सशक्तीकरण हुन्छ ।’ क्लबका सल्लाहकार भुवन गिरीले पश्चिम क्षेत्रमा खेलकुद विकास र प्रवद्र्धन गर्न क्लबले विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिए । प्रतियोगिताका संयोजक क्लबका उपाध्यक्ष साजन महर्जनले विभिन्न सङ्घ तथा संस्थाको साथ र सहयोगले प्रतियोगिता सम्पन्न भएको बताए ।
चुनाव जित्नेमा ढुक्क छु, मलाई डर छैन : पम्फा भुसाल
काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं नेकपा (माओवादी केन्द्र) की उपमहासचिव पम्फा भुसालले आसन्न प्रतिनिधि सभाको निर्वाचमा आफू विजयी बन्नेमा ढुक्क रहेको बताएकी छिन् । आईतवार ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी घरदैलो कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । मन्त्री भुसालले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट आफू यसअघि पनि दुई पटक विजयी भइसकेको उल्लेख गर्दै यस पटक पनि विजयी हुनेमा विश्वस्त रहेको बताइन् । उनले आफूले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ का जनताको लागि राम्रा कामहरु गरेकाले पराजय भोग्नुपर्ने अवस्था नआउने दाबीसमेत गरिन् । मन्त्री भुसालले घरदैलो कार्यक्रममा आम मतदाताहरु सत्ता गठबन्धन र विशेषगरी आफूसँग खुशी र सन्तुष्ट रहेको बताइन् । ‘यो क्षेत्रमा राम्रा कामहरु गरेको छु, जनतालाई नराम्रो लाग्ने कुनै काम पनि गरेको छैन, यसभन्दा अगाडि पनि दुई पटकसम्म जितिसकेको हो, त्यस्तो मलाई डर छैन, जनताले, मतदाताले धेरै राम्रो प्रतिक्रिया दिनुभएको छ, विगतमा झैँ यस पटक पनि आम मतदाताहरु खुशी हुनुहुन्छ, सबैको साथ र सहयोग मलाई प्राप्त छ । गठबन्धन र विशेष गरेर यही क्षेत्रको नागरिक भएकाले जनताले हामीलाई धेरै मन पराउनुभएको छ,’ उनले भनिन् ।
निर्वाचनको ७२ घण्टाअघिदेखि नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय
जनकपुरधाम । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ । भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमानाका बन्द गर्ने निर्णय गरेको हो । खुला सीमानाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमानाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुई पक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपोसार नियन्त्रणलगायतका विषयमा पनि छलफल भएको प्रजिअ पौडेलले बताए । बैठकमा नेपालतर्फको नेतृत्व प्रजिअ पौडेलले र भारततर्फको नेतृत्व मधुवनी जिल्लाका डिएम अरबिन्दकुमार बर्माले गरेका थिए ।
झापामा पुलबाट खसेर साइकल यात्रीको मृत्यु
झापा । झापाको मेचीनगरमा पुलबाट खसेर बुद्धशान्ति–५ का ४५ वर्षीय होमबहादुर पोखरेलको मृत्यु भएको छ । दोकानडाँडाबाट पूर्व मेचीनगर–३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर साइकलयात्री पोखरेलको गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए ।
अपाङ्गता भएका मतदाता भन्छन् : ‘भोट दिने मेरो अधिकार म आफैँ प्रयोग गर्न चाहन्छु ’
तनहुँ । तनहुँको व्यास नगरपालिका–१० निवासी कृष्ण थापा शारीरिकरूपमा अपाङ्गता छन् । उनलाई हिँडडुल गर्न ह्वीलचियरको सहायता पर्दछ । ह्वीलचियरको सहारामा उनको दैनिकी गुज्रिरहेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पनि मतदान गर्न तयारी अवस्थामा हुनुहुन्छ । निर्वाचनमा मतदान केन्द्र अपाङ्गतामैत्री नहुँदा थापाजस्तै थुप्रै अपाङ्गता भएका व्यक्तिलाई समस्या हुँदै आएको छ । ‘मतदान केन्द्र अपाङ्गमैत्री नहुँदा मतदान गर्न जान निकै अप्ठ्यारो हुँदै आएको छ, मतदान केन्द्र अपाङ्गतामैत्री भइदिए सहजरूपमा मतदान गर्न पाउँथ्यौँ’, उनले भने, ‘चौर भएको ठाउँमा ह्वीलचियर गुडाउन गाह्रो हुन्छ, मेरो ह्वीलचियर त बरु त्यस्तो ठाउँमा पनि गुड्न सक्ने भएकाले म आफैँ एक्लै मतदान केन्द्रसम्म पुग्न सकेँ ।’ मतदान केन्द्रमा मतपेटिका अग्लो स्थानमा राखिदिँदा मत खसाल्ने बेला अप्ठ्यारो हुने गरेको उनको अनुभव छ । ‘छाप लगाउने ठाउँमा टेबल अग्लो भइदिँदा हामीजस्ता ह्वीलचियर प्रयोगकर्तालाई छाप लगाउन गाह्रो हुने गरेको छ, मतपेटिका पनि अग्लो स्थानमा राखिदिँदा मत खसाल्न गाह्रो हुन्छ’, उनले भने । मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाउन पटक–पटक माग गर्दै आए पनि आफूहरूको मागको सुनुवाइ हुन नसकेको उनको गुनासो छ । अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको सहृदयी मञ्च तनहुँका सचिव रहेकी उनले भनिन्, ‘हामीहरूले यस विषयमा आवाज उठाउँदै आएका छौँ, तर पनि सुनुवाइ हुँदैन ।’ अधिकांश मतदान केन्द्रमा ह्वीलचियर लैजान नै नसकिने उनको अनुभव छ । मतदान केन्द्र विद्यालयमा हुने र त्यहाँ प्रवेशद्वार हुने भएकाले ह्वीलचियर लैजान समस्या हुँदै आएको छ । ‘प्रवेशद्वार अपाङ्गतामैत्री हुँदैन, सिँढी हुन्छ, कतिपय प्रवेशद्वार खोलिदैन’, आफ्नै अनुभव सुनाउँदै उनले भनिन्, ‘ह्वीलचियर लैजान नमिलेपछि मलाई उचालेर भित्र लगिएको थियो ।’ स्थानीय तह निर्वाचनमा आफूसँग गएको सहयोगीले तपाईँ गेटमै बस्नुस्, म भोट हाल्दिहाल्छु नि भनेको सम्झिँदै उनले आफूहरू त्यस्तो नचाहने बताइन् । ‘हाम्रो भोट अरुले हालिदिओस् भन्ने हामी चाहँदैनौँ, म अपाङ्गता हो, मेरो आधा शरीरले काम नगर्ला, मेरो एउटा अङ्गले काम नगर्ला’, उनले भनिन्, ‘मतदान गर्ने मेरो अधिकार म आफैँ प्रयोग गर्छु ।’ मतदान केन्द्रमा जानका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिने गरिए तापनि केन्द्र नै अपाङ्गतामैत्री नहुँदा समस्या हुँदै आएको रिसेड तनहुँका उपाध्यक्ष ईश्वर बाँस्तोलाले बताए । अपाङ्गता भएका व्यक्तिलाई मतदान केन्द्रसम्म पुगेर मतदान गर्न अप्ठ्यारो हुने भएकाले सहजरूपमा वातावरण मिलाउन माग गरिए पनि मागको सुनुवाइ हुन नसकेको सहृदयी मञ्चका अध्यक्ष सावित्री सुवेदीले जानकारी दिइन् । निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले मतदान केन्द्र व्यवस्थापन गर्दा अपाङ्गता भएका व्यक्तिलाई सहजरूपमा मतदान गर्न पाउने व्यवस्था मिलाइने बताए । ‘मतदान केन्द्रलाई तत्कालै केही गर्न सक्ने अवस्था छैन, मौजुदा केन्द्रहरूमा अपाङ्गता भएका व्यक्तिलाई सहजरूपमा मतदान गर्न पाउने व्यवस्था मिलाउँछौँ’, ढकालले भने । जिल्लामा तीन सय पाँच मतदान केन्द्र छन् । सबै मतदान केन्द्र विद्यालय र गाविस भवनमा निर्धारण गरिएको छ । विद्यालय र गाविस भवनका मतदान केन्द्र अपाङ्गतामैत्री छैनन् । रासस
सुकुम्बासी भन्छन्– ‘हामीले लालपुर्जा कहिले पाउने ?’
ढोरपाटन । ‘हाम्रो आफ्नो घर, जग्गा, जमिन केही छैन, हामी सुकुम्बासी हौँ, जीविका चलाउन निकै गाह्रो भइरहेको छ, अघिपछि यो गाउँमा नेताहरू आउँदै आउँदैनन्, अहिले चुनाव आयो त्यही भएर होला नेताहरू दिनदिनै भोट माग्न आउँछन्, आश देखाएर जान्छन्, चुनाव जितेपछि फर्किएर आउँदैनन् ।’ बागलुङ नगरपालिका–१२ अमलाचौरका ७५ वर्षीय इसुफ मियाँ भने । उनको आफ्नो र पैतृक सम्पत्ति केही छैन । मियाँलाई हरेक चुनावमा लालपुर्जा दिलाउने आश्वासन धेरै उम्मेदवारले दिए । आफूलाई लालपुर्जा दिलाउन नसकेको उनले गुनासो पोखे । उनी आफ्नो जग्गा, जमिन र बस्ने बाससमेत नभएको जनाउँदै अरुको आश्रय लिएर बस्नुपरेको बताउँछन् । नेताले जित्नका लागि सुकुम्बासी बस्तीमा आएर भोटका लागि अनेक आश्वासन दिने तर काम भने नगरेको उनको भनाइ छ । ‘अहिलेसम्म दर्जनौँ नेताले सुकुम्बासीलाई जग्गा व्यवस्थापन गरेर लालपुर्जा दिन्छौँ भनेर आश्वासन दिए, हामी पनि होला भन्दै आश गरेर बस्यौँ तर अहिलेसम्म न जग्गा पाइयो, न लालपुर्जा । धेरै व्यवस्था फेरियो तर हाम्रो अवस्था उस्तै छ, कहिल्यै फेरिएन, दिनदिनैको बढ्दो महँगी उस्तै, निकै दुःख पाएका छौँ’, उनले भने, ‘चुनाव आउने बेला जहिले पनि सुकुम्बासीको काम गर्न हामी चुनावमा उठेका छौँ, जितेपछि तपाईँहरूका लागि यो गर्छौँ, त्यो गर्छौँ भन्छन् तर जितेर गए भने एकपटक पनि हामीलाई भेट्न आउँदैनन्, हाम्रा आशाहरू यतिकै मरे ।’ आफ्ना छ भाइ छोरामध्ये कान्छो छोराले मात्रै घडेरी किनेर घर बनाएको जनाउँदै अन्य पाँच भाइ सुकुम्बासी नै रहेको मियाँले बताए । उनले वर्षौँदेखि सरकारसँग गाँस, बास र कपासको ग्यारेन्टीका लागि माग गरे पनि कुनै सुनुवाइ नभएको गुनासो पोखे । आफूहरूले वर्षौँदेखि मजदुरी गरेर जीविका चलाइरहेको उनको भनाइ छ । स्थानीय आमुला खातुनले चुनावका बेला आश्वासन दिने नेताले सुकुम्बासीका लागि रोजगारको व्यवस्था मिलाइदिए दैनिकी चलाउन सहज हुने बताए । उनले रोजगारसमेत नहुँदा दैनिकी चलाउनसमेत गाह्रो पर्ने बताए । खातुनले वृद्धवृद्धाले नसके पनि युवाहरूले काम गर्न सक्ने र परिवार चलाउन सहज हुने उनको भनाइ छ । सुकुम्बासीका लागि राज्यको नजर पुग्न नसकेको उनले बताए । ‘सांसद, मन्त्रीहरू भएका सबै हामीहरूले मत दिएर जितेका त हुन् नि, उनीहरूलाई हामीले माथि पुर्यायौँ, तर हाम्रा लागि कसैले केही गर्न सकेन, चुनावका बेला भोट माग्न आएर यो गदिन्छौँ र ऊ गदिन्छौँ भन्नेले केही नगरेर सुकुम्बासीलाई रोजगरको व्यवस्था गरिदिए त आफैँ कमाएर जीवन चलाउन सकिन्थ्यो नि’, उनले भने, ‘काम केही गर्न पर्दैन, भाषण मात्रै दिन्छन्, जितेर गए भने पाँच वर्ष फर्किएर गाउँ आउँदैनन्, यस्ता नेतालाई के भोट दिनु, भोट मात्रै खेर गइरहेको छ ।’ उनले यहाँका बालबालिका, वृद्धवृद्धालाई अझ बढी समस्या पर्ने गरेको बताए । उनले सुकुम्बासीहरू अरुको आश्रयमा बसेको हुँदा खाना, बस्न र औषधोपचारमा बढी समस्या हुने गरेको हुँदाको भनाइ छ । सरकारले सुकुम्बासीका लागि निःशुल्क स्वास्थ्योपचार र खाद्यान्नको व्यवस्था गरे आफूहरूलाई ठूलो राहत मिल्ने बताउँछन् । उनी भन्छन्, ‘नेताहरूसँग हाम्रो ठूलो अपेक्षा छैन, हामीहरूको आधारभूत आवश्यकता पूरा गरिदिए अरु हामी जसोतसो जीविका चलाउन सक्थ्यौँ, जाडो सुरु हुन थाल्यो, लत्ताकपडाको समस्या हुन्छ, खाना र अरुको कुरा त सबै समस्याको विषय भयो, यहाँ त खानेपानीको पनि निकै समस्या छ, यहाँका केटाकेटीले पढ्न पनि समस्या छ, औषधोपचार पाउनै गाह्रो छ ।’ स्थानीय यज्ञबहादुर क्षेत्री सुकुम्बासी बन्नुपरेको धेरै समय भएको छैन । आधा दशक अगाडिसम्म उनको व्यवसाय, गाडी थियो । परिवार राम्रोसँग चलेकै थियो । बैंकबाट ऋण लिएर गाडी किनेको केही समयै दुर्घटनामा परेपछि क्षेत्रीको घर, सम्पत्ति र व्यवसाय सबै डामाडोल बन्यो । बैंकले घर जग्गा कब्जा गरेपछि क्षेत्री परिवार सुकुम्बासी हुनुपर्यो । आफू सुकुम्बासी भएपछि धेरै नेताले घर बासको व्यवस्थापन गरीदिने आश्वासन दिए काम नगरेको बताए । उनले अहिले भोट माग्न आउने उम्मेदवारलाई आफूजस्ता सुकुम्बासीको समस्या समाधान नगरेसम्म मत नदिने बताए । उनले भने, ‘नेताले त कुरामात्रै गर्ने हुन् काम गर्दैनन्, यो गाउँमा यति धेरै सुकुम्बासी छौँ, चुनाव आउँदा मात्रै गाउँ आउँछन्, जितेपछि कहाँ जान्छन्, थाहा हुँदैन, हामी आफैँ पीडामा छौँ, त्यहीमाथि चुनावका बेला आएर आश्वासन दिन्छन्, आश लाग्ने केही गर्छन् कि भन्ने तर केही नगर्दा हामी निकै निराश छौँ, यिनीहरूलाई भोट दिएर काम छैन, हाम्रो अवस्था कहिल्यै फेरिएन, उनीहरूलाई किन भोट दिने ?’ अमलाचौर गाउँमा मात्रै करिब १५ भन्दा बढी घरपरिवार सुकुम्बासी छन् । आफूहरूलाई स्वास्थ्य, शिक्षा, खानेपानी निकै समस्या रहेको उनीहरू बताउँछन् । यो चुनावमा आफूहरू एकजुट भएर आफ्ना समस्या समाधान गरीदिने नेतालाई मात्रै भोट दिने योजना बनाएको उनीहरूको भनाइ छ । रासस
यूनाइटेड इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक २५ गते बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ५.२६३२ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर ०.२६३२ प्रतिशत नगद गरी कूल ५.२६३२ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश बीमा प्राधिकरणको स्वीकृति पश्चात् आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । कम्पनीले आर्थिक वर्ष २०७१/७२ मा २० प्रतिशत र आर्थिक वर्ष २०७२/७३ मा १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
हेलिकोप्टरमा गएर मतदातालाई धम्क्याएको आरोप, उम्मेदवार गुरुङलाई आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट मनाङ जिल्लाका प्रतिनिधि सभा सदस्य उम्मेदवार टेकबहादुर गुरुङलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। हेलिकोप्टरमा दलबलसहित गएका टेकबहादुर गुरुङले मतदातालाई धम्काएपछि स्थानीयद्वारा प्रतिकार’ भन्ने विषयको समाचार नयाँ पेज अनलाइनमा प्रकाशन भएको सन्दर्भमा आयोगको गम्भीर ध्यानाकर्षण भएकाले गुरुङलाई स्पष्टीकरण पत्र लेखेको आयोगले जनाएको छ। स्पष्टीकरणमा कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय, मनाङमा स्वयम् उपस्थित भएर सत्यतथ्य व्यहोरा खुलाई लिखित स्पष्टीकरण पेश गर्न उनलाई अनुरोध गरिएको छ। निर्वाचन आचारसंहिता, २०७९ को दफा १४ मा सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणहरू उल्लेख गरिएको छ। सोही आचारसंहिताको दफा १४ को उपदफा (१) को खण्ड (क) मा ‘निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईपाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन र त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सक्ने तर विदेशी नम्बर प्लेटको सवारी साधनलाई त्यस्तो अनुमति दिइने छैन।’ साथै, उपदफाको खण्ड (ख) माकुनै पदको निर्वाचन प्रचारप्रसारको लागि राजनीतिक दलले खण्ड (क) बमोजिमको प्रक्रिया पूरा गरी सोही बमोजिमको सङ्ख्या र प्रकारका सवारी साधन मात्र प्रयोग गर्नुपर्ने’ व्यवस्था छ । आचारसंहिताको दफा १४ को उपदफा (१) को खण्ड (छ) मा ‘राजनीतिक दलले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनु पर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने’ भन्ने व्यवस्था छ ।