विकासन्युज

बढी लिएको रकम फिर्ता गराउँदै राष्ट्र बैंक

काठमाडौं । बैंक, वित्तीय संस्थाको ब्याजदर, सेवा शुल्क, हर्जानाको विरोध गर्दै उद्योगी व्यवसायी आन्दोलित भएका बेला नेपाल राष्ट्र बैंकले कानूनविपरीत कर्जाको नवीकरण र प्रिमियम वृद्धि गरी ऋणीबाट उठाएको रकम फिर्ता गराउन थालेको छ । राष्ट्र बैंकले बैंकहरूको वार्षिक साधारणसभा स्वीकृतिका लागि ब्याजदर निर्देशनविपरीत उठाएको रकम फिर्ता गर्ने प्रतिबद्धता गराउन थालेपछि बैंकहरूले पनि ग्राहकसँग उठाएको रकम फिर्ता गर्न थालेका हुन् । साधारणसभा स्वीकृतिका लागि नै नियमविपरीत वृद्धि गरेको ब्याजदर र ब्याज रकम फिर्ताको शर्त तोकिएकाले बैंक, वित्तीय संस्थाले फिर्ता गर्न थालेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । तर, अहिलेसम्म फिर्ता भएको र फिर्ता गर्नुपर्ने रकमबारे यकीन तथ्यांक उपलब्ध नभएको प्रवक्ता भट्टको भनाइ छ । एकीकृत निर्देशनको कर्जासम्बन्धी व्यवस्थामा बैंक, वित्तीय संस्थाले आफ्नो लागतमा शून्य दशमलव ७५ प्रतिशत नाफासमेत जोडेर आधार दर तय गर्ने र त्यसैमा निश्चित प्रतिशत प्रिमियम थप गरी ब्याजदर निर्धारण हुने व्यवस्था छ । प्रत्येक त्रैमासिकमा बैंकको आधार दर घट्दा कर्जाको ब्याजदर स्वतः घट्ने र बढ्दा स्वतः बढ्ने भए पनि एकपटक तोकेको प्रिमियम दर परिवर्तन गर्न पाइँदैन । तर, पछिल्लो समय तरलता अभावको कारण देखाएर बैंकहरूले नयाँ कर्जाको ब्याजदर बढाएपछि पुराना ग्राहकको पनि प्रिमियम दर नै परिवर्तन गरी ब्याजदर महँगो बनाएका थिए । यसमा उद्योगी व्यवसायी र सर्वसाधारणले विरोध गर्न थालेपछि केन्द्रीय बैंकले पनि कडाइ गर्न थालेको हो । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

नेशनल हाइड्रोपावरको विद्युत बिक्री आम्दानी ३६८ प्रतिशत बढ्यो, ईपीएसमा पहिरो

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत बिक्रीमार्फत ६ करोड ३६ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ३५ लाख रुपैयाँ बिक्री बिक्रीमार्फत आम्दानी गरेको थियो । कम्पनीले गत वर्षको तुलनामा यसअवधिमा ३६८.६८ प्रतिशत बढी आम्दानी गरेको हो । समिक्षा अवधिमा कम्पनीको खुद नाफा भने ९८.८४ प्रतिशत घटेर ६८ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५८ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी समीक्षा अवधिमा १८.७० प्रतिशत बढेर १ अर्ब ६४ करोड ५० लाख रुपैयाँ र जगेडा कोष ८९.७३ प्रतिशत घटेर २ करोड ३८ लाख रुपैयाँ रहेको छ । कम्पनीको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ७३ पैसा घटेर १ रुपैयाँ ६६ पैसामा सीमित भएको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ९७.९१ प्रतिशत रहेको छ भने प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ३६ पैसा रहेको छ ।

नबिल फ्लेक्सी क्याप फण्डमा आवेदन दिने समय लम्बियो, अब कहिलेसम्म ?

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने खुलामुखी म्युचुअल फण्डमा आवेदन दिने समय थप गरिएको छ । कात्तिक २३ गतेदेखि खुला गरिएको नबिल फ्लेक्सी क्याप फण्डमा मंसिर ७ गतेसम्म आवेदन दिने समय थप गरिएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका ७ करोड ५० लाख इकाई मध्ये १ करोड १२ लाख ५० हजार वा कुल निष्काशन गरिने इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धकका लागि १४ प्रतिशत वा १ करोड ५ लाख इकाई र योजना व्यवस्थापकका लागि १ प्रतिशत वा ७ लाख ५० हजार इकाई छुट्याइएको छ । बाँकी रहेको ६ करोड ३७ लाख ५० हजार इकाई मध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई निष्काशन गरेको हो । क्यापिटलको लगानीकर्ताले उक्त फण्डमा मंसिर ७ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय इकाई र अधिकतम ७५ लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । उक्त फण्डमा धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । यो फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

लगानीकर्ताको रोजाइमा गरिमा विकास बैंक, यस्तो छ १२ वर्षे लाभांश इतिहास

काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल १४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बोनस वितरण पश्चात् बैंकको चुक्ता पूँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार रुपैयाँ पुग्नेछ । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीहरुले प्राप्त गर्नेछन् । विकास बैंकहरुमा अब्बल मानिएको गरिमा विकास बैंक १५ औं वर्षको यात्रामा छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस बैंकलाई प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकार र अध्यक्ष श्याम प्रसाद बस्यालले नेतृत्व गरिरहेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंकको बिहीबारको सेयर मूल्य अनुसार प्रतिकित्ता सेयर ३८१.९० रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा बैंकको सेयर मूल्य अधिकतम प्रतिकित्ता ६६० रुपैयाँ र न्यूनतम ३१८ रुपैयाँ रहेको छ । बैंकको ४ करोड ५७ लाख ९८ हजार ९२४ कित्ता सेयर सूचीकृत छन् भने चुक्ता पूँजी ४ अर्ब ५७ करोड ९८ लाख ९२ हजार ७३६ रुपैयाँ रहेको छ । बिहीबारको सेयर मूल्य अनुसार बैंकको बजार पूँजीकरण १७ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । बैंकमा संस्थापक समूहको ५०.८८ प्रतिशत र सर्वसाधारण समूहको ४९.१२ प्रतिशत सेयर स्वामित्व रहेको छ । बैंकले आफ्नो १५ वर्षको इतिहासमा सेयरधनीहरुलाई निरन्तर १२ वर्ष लाभांश वितरण गर्दै आएको छ । बैंकको लाभांश इतिहास हेर्दा हालसम्म दोहोर अंकमा नै सेयरधनीहरुलाई लाभांश वितरण गर्दै आएको छ । बैंकले आर्थिक वर्ष २०६७/६८ मा सेयरधनीहरुलाई १८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६८/६९ मा सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६९/७० मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७०/७१ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७१/७२ मा सेयरधनीहरुलाई २० प्रतिशत, आर्थिक वर्ष २०७२/७३ मा  २० प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा  १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७४/७५ मा सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ३.७५ प्रतिशत नगद गरी कूल १३.७५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७५/७६ मा सेयरधनीहरुलाई १६.१५ प्रतिशत बोनस सेयर र ०.८५ प्रतिशत नगद गरी कूल १७ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७६/७७ मा सेयरधनीहरुलाई १३.५ प्रतिशत बोनस सेयर र ०.७१ प्रतिशत नगद गरी कूल १४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७७/७८ मा सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७८/७९ मा सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल १४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

निर्वाचन आयोगद्वारा बाराको पचरौता नगरपालिकाका प्रमुख सिंहलाई २५ हजार जरिवाना

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै बाराको पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धरसिंह जैसवारलाई २५ हजार जरिवाना गरेको छ । वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएकाबाहेकका अन्य कार्यक्रम गरेको भन्दै नगरप्रमुख सिंहमाथि जरिवाना गरिएको हो । आयोगले उक्त नगरपालिकाको तलब भत्ता तथा प्रशासनिक खर्च बाहेक अन्य रकम निकासा नगर्न कोष तथा लेखा नियन्त्रण कार्यालयलाई लेखेर पठाएको छ । आयोगले काठमाडौं क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार पुकार बमलाई पाँच हजार जरिवाना गरेको छ । उनले निर्वाचन प्रचारप्रसारका क्रममा आफ्नो नाम अंकित टिसर्टको प्रयोग गरेको आयोगले जनाएको छ । राजनीतिक गतिविधि तथा प्रचारप्रसारमा संलग्न भएको पाइएपछि आयोगले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अधिकृत गोकुल वस्ती तथा नेकपा (एमाले)को चुनाव प्रचारप्रसारमा लागेकाले अछामको साँफेबगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलक कुँवरलाई पाँच÷पाँच हजार जरिवाना गरेको छ ।

चीनद्वारा अन्तरिक्ष स्टेशन आपूर्तिका लागि कार्गो क्राफ्ट टियानझाउ-५ प्रक्षेपण

एजेन्सी । चीनले अन्तरिक्ष स्टेशनको लागि आपूर्तिहरू पुर्या्उन शनिबार बिहान कार्गो अन्तरिक्ष यान तियानझाउ-५ प्रक्षेपण गरेको छ । अन्तरिक्ष स्टेशनको निर्माण यसै वर्ष पूरा हुने अपेक्षा गरिएको छ। चीनको मानव अन्तरिक्ष एजेन्सीका अनुसार दक्षिणी टापु प्रान्त हेनानको वेन्चाङ अन्तरिक्षयान प्रक्षेपण स्थलबाट तियान्झाउ(५ बोकेको लङ मार्च-७ वाई ६ रकेट विस्फोट भएको छ।

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफ क्लबलाई

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच केहीबेर अघि सम्पन्न फाइनल खेलमा एपीएफले साविक विजेता आर्मी क्लबलाई चार विकेटले हराउँदै उपाधि चुमेको हो । जितसँगै एपीएफले रु १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता आर्मीले पाँच लाख प्राप्त गर्यो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर एपीएफले फिल्डिङ राजेपछि आर्मी क्लबले ब्याटिङ गर्ने क्रममा निर्धारित ४० ओभरको खेलमा ३० ओभरमा सवै विकेट गुमाएर एक सय ७९ रन बनायो । एक सय ८० रनको विजयी लक्ष्य एपीएफले ३८ दशमलव तीन ओभरमा छ विकेट गुमाएर पूरा ग¥यो । एपीएफका लागि भूवन कार्कीले ५५ रन बनाए । उनले ८२ बल खेल्ने क्रममा एक छक्का र चार चौका हाने । यस्तै सुमित महर्जनले ३४ रन बनाए । उनले ४५ बल खेल्ने क्रममा पाँच चौका प्रहार गरे । यस्तै कप्तान शरद् भेषवाकरले अविजित १६, प्रदीप ऐरीले २०, सन्दीप जोराले १७ र आशिफ शेखले १४ रनको योगदान दिए । बलिङतर्फ आर्मी क्लबका जितेन्द्र मुखियाले दुई, सोमपाल कामी, विक्रम सोब र सुशन भारीले एक÷एक विकेट लिए । यसअघि एपीएफलाई एक सय ८० रनको लक्ष्य दिने क्रममा आर्मी क्लबका लागि रोहितकुमार पौडेलले ४९ बनाए । यस्तै जितेन्द्र मुखियाले अविजित २४, सुशन भारीले १९, राजेश पुलामीले १८, कुशल मल्लले १६, हरि चौहानले १५, अर्जुन साउदले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाए । बलिङतर्फ आर्मीका अमर रौटेला र मौसम ढकालले तीन÷तीन तथा किशोर महतोले दुई विकेट लिए । यसअघि आर्मी क्लवले शुक्रबार नेपाल पुलिस क्लवलाई दुई विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । एपीएफ क्लबले भने बिहीबार मधेस प्रदेशलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो । प्रधानमन्त्री कप क्रिकेटमा आर्मी पाँचौँ पटक तथा एपीएफ तेस्रो पटक फाइनल खेल्न पुगेको हो । प्रतियोगिता यही कात्तिक १३ गतेदेखि सुरु भएको हो । प्रतियोगितामा सात प्रदेशका साथै तीन विभागीय टोली सहभागी भएका थिए ।

सत्तारुढ गठबन्धन निर्वाचन परिचालन समितिको बैठक, बागी उम्मेदवारहरुलाई निष्क्रिय बनाउन प्रयास गर्ने निर्णय

काठमाडौं । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उठेका बागी उम्मेदवारहरुलाई निष्तेज पार्न अधिकतम प्रयास गर्ने भएको छ । शनिबार सानेपास्थित नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा बसेको सत्तारुढ गठबन्धनको केन्द्रीय निर्वाचन परिचालन समितिको सचिवालय बैठकले सो निर्णय गरेको हो । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुका कुनै पनि उम्मेदवार पराजित हुन नदिनका लागि बागी उम्मेदवारहरुलाई निष्क्रिय बनाउन अधिकतम प्रयास गर्ने निर्णय लिइएको सो निर्वाचन परिचालन समितिका सदस्य डा. सुरेश आचार्यले बताए । बैठकले बागी उम्मेदवारहरुलाई निष्तेज पार्ने काममा ध्यान दिन गठबन्धन दलका शिर्ष नेताहरुलाई पुनः ध्यानाकर्षण समेत गराएको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै समितिका सदस्य आचार्यले भने, ‘जहाँ गठबन्धनको विरुद्ध गठबन्धनको उम्मेदवारी छ । त्यसलाई निष्क्रिय गराउनका लागि अधिकतम प्रयास गर्ने निर्णय गरिएको छ । त्यसका लागि आवश्यक्ता अनुसार हरेक दलका पार्टीको नेतृत्वलाई आ–आफ्नो तर्फबाट आग्रह गर्ने निर्णय भएको छ । मूल रुपमा चाँही गठबन्धन दलका उम्मेदवारहरु कुनै पनि ठाउँमा पराजित हुने स्थिति आउन नदिनका लागि नै निरन्तर रुपमा हामी यो बैठक गरिराखेका छौं । हामीले सबै आ–आफ्ना दलका तर्फबाट अवस्था कस्तो भनेर उम्मेदवारहरुको मूल्यांकन गरिराखेको छौं। र, सोही मूल्यांकनको आधारमा रणनीतिहरु तय गर्दै जाने निर्णय पनि गरेका छौं ।’ बैठकमा एमाले नेतृत्वको गठबन्धनले चुनावी आचारसंहिता उलंघन गरिरहेको आरोप लगाउँदै निर्वाचन आयोगलाई त्यसबारे सचेत गराउने निर्णय पनि गरेको नेकपा (एकीकृत समाजवादी)का नेता लक्ष्मण केसीले बताए ।