विकासको पर्खाइमा काठमाडौं नाङलेभारेका मतदाता
काठमाडौं । विकासका दृष्टिले राजधानी काठमाडौँको दरबारमार्ग सुविधासम्पन्न मानिन्छ । स्वदेशी र विदेशी महङ्गा ब्राण्डले सजिएको यो क्षेत्र देशकै सबैभन्दा महङ्गोमध्येमा पर्छ । दुई वटा पाँच तारे होटलदेखि सुविधासम्पन्न रेष्टुराँ र पवले यो सानो क्षेत्र हर समय गुञ्जायमान भइरहन्छ । तर यही दरबारमार्गदेखि मात्रै ३० किलोमिटर उत्तर(पूर्वमा पर्ने नाङ्लेभारे भने विकासका दृष्टिले निकै पर धकेलिएको क्षेत्रमा पर्छ । यसले आधारभूत आवश्यकता अन्तर्गतका गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी र सडकको सुविधाको महसुस गर्न पाएको छैन । राजधानी काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने यो त्यही क्षेत्र हो, जसले २०७० र २०७४ सालमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई जिताएको थियो । यसपटक भने सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका ओनसरी घर्ती प्रतिनिधिसभा सदस्य उम्मेदवार छिन् । जसलाई माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गरेको छ । हालैको चुनावी कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रचण्ड ओनसरीलाई जिताए मन्त्री बनाउने र विकासको लहर ल्याउने दाबी गरे । तर प्रचण्डका यी दाबीमा यहाँका मतदाताले विश्वास गर्ने बलियो आधार भने बन्न सकेको छैन । किनभने माओवादी पार्टीका तर्फबाट २०६४ सालमा माधवकुमार नेपाललाई पराजित गर्दै झक्कुप्रसाद सुवेदी विजयी हुँदा पनि यो क्षेत्रले केही पाएन । शङ्खरापुर नगरपालिकाको वडा नं १ मा पर्ने नाङ्लेभारे, चापाबोट र आसपासका समस्या निकै दयनीय अवस्था रहेको बुझ्न सकिन्छ । र, जनताका यी समस्या समाधानमा निर्वाचनमा नेताहरुले भने जस्तै हुन्छ भन्नेमा स्थानीय रोजिता तामाङ विश्वस्त हुन सक्नु भएको छैन । ‘चुनाव हो मत त दिउँला तर जितेपछि यो गाउँमा फर्केर कोही आउँदैनन’, तामाङले भने ‘अघिल्लो चुनावमा ‘एक घर एक धारा’को नारा धेरैले लगाए, तर अहिले एउटा धाराको पानीले २० घर धान्नु परेको छ ।’ तामाङको जस्तै समस्या निर्मला शिवभक्तिले पनि भोग्नु भएको छ । तर उनी अझै आशावादी भने छदन् । ‘हामी जस्ता गरिबका लागि उपचार गर्न गुणस्तरीय स्वास्थ्य सेवा र अध्ययनका लागि शिक्षा भए पुग्ने थियो, हेरौँ अब यसपाली केही भइपो हाल्छ कि ?’, उनले भने । विगतका निर्वाचनमा उम्मेदवारहरुले दिएका विकास निर्माणका कामहरु पूरा भएनन् । ती चुनावी भाषणमा मात्रै सीमित भए । तर आश्वासनहरु अब भने पूरा हुन्छन् कि भन्नेमा स्थानीय कमलनाथ ढकाल आशावादी छन् । ‘पहिलाकाले आश्वासनमात्रै दिए, यसपटक उम्मेदवारले आफ्ना प्रतिबद्धता पूरा गर्लान् कि’, ७२ वर्षे ढकालले भने । चुनावी प्रचारप्रसारका क्रममा मत माग्दै नाङलेभारेका घरदैलोमा पुगेकी उम्मेदवार ओनसरी घर्तीले मतदाताका माग पूरा गर्ने बाचा दिइन् । ‘मलाई निर्वाचित गराएर पठाउनुस् म तपाईंसँग गरेको बाचा र प्रतिबद्धतामा पूरा गर्नेछु, यो विश्वासलाई कायम राख्ने छु ।’ नेतृ घर्तीले गठबन्धन विकास र समृद्धिको एजेण्डाका साथ अघि बढेको उल्लेख गर्दै जनताको आधारभूत आवश्यकता पहिचान गरी प्राथमिकताका आधारमा सम्बोधन गर्दै जाने बचन दिइन् । तर ६८ वर्षे मेघप्रसाद दङ्गाललाई भने उम्मेदवारको प्रतिबद्धताप्रति पटक्कै विश्वास छैन । ‘जो उम्मेदवार आए पनि आश्वासन र भ्रम मात्रै फैलाउने हुन् काम गर्ने होइनन्,’ उनले भने, ‘अब यी कुरामा मलाई विश्वास लाग्न छाड्यो ।’ यो क्षेत्रका मतदाताको एउटै शर्त छ, अब हामीमाथि धोका नहोस् । स्थानीय शम्भुप्रसाद ढकाल निर्वाचनमा कसैलाई मत दिन मन नभएपछि मताधिकार भने गर्ने बताए । ‘चुनावमा भोट माग्न गाडीको लस्करले धुलो उडाएका छन्, तर यो सडकमा कालोपत्रे गर्ने विषयमा कसैको ध्यान छैन’, उनले भने, ‘नेताहरुले वेवास्ता गरेको देख्दा भोट नहालौँ भन्ने लाग्छ तर के गर्नु मताधिकार प्रयोग गर्नैपर्यो ।’ स्थानीय नेता नेत्रप्रसाद दङ्गालले गाउँमा पानीको समस्या रहेको र करिब १२ किलोमिटर दूरी टाढाको सिस्नुखोला र छुलेखोलाको पानी गाउँमा ल्याउने योजना बनिरहेको बताए । नेपाली कांग्रेसकी स्थानीय नेतृ मीरा महर्जनले सडक, खानेपानीको समस्या समाधानका साथै महिलालाई सुस्केरी गराउन विगतमा भोग्नुपरेका समस्या हल भइदिए राहत मिल्ने बताए । नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ क्षेत्र नं २ प्रदेशसभा सदस्यका उम्मेदवार ध्रुव केसीले गाउँको मुहार फेर्न आफू प्रतिबद्धताका साथ लाग्ने दाबी गरे । नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार भरतप्रसाद फुँयालले यहाँका किसानका समस्या समाधानका लागि पहल गर्ने बताए । नौवटा वडा रहेको शङ्खरापुर नगरपालिकामा कुल २२ हजार छ सय मतदाता छन् ।
सन् २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट नेपालमा हुने
काठमाडौं । नेपालले पहिलो पटक आइसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को बोर्ड बैठकले २०२७ मा आयोजना हुने यू–१९ महिला विश्वकप प्रतियोगिता आयोजनाको जिम्मा नेपाल र बङ्गलादेशलाई संयुक्त रुपमा दिएको हो । अब नेपाल र बङ्गलादेश मिलेर प्रतियोगिता आयोजना गर्नेछन् । त्यसैगरी आइसीसीले आज सार्वजनिक गरेको अन्य निर्णयमा सन् २०२४ को यु–१९ पुरुष विश्वकप प्रतियोगिताको आयोजना श्रीलङ्काले गर्ने भएको छ । त्यसैगरी सन् २०२५ को यू–१९ महिला विश्वकप मलेसिया र थाइल्याण्डमा संयुक्त रुपमा आयोजना गर्नेछन् । सन् २०२६ को यू–१९ पुरुष विश्वकप जिम्बावे र नामिबियाले संयुक्त रुपमा आयोजनाको जिम्मा पाएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले आइसीसीको यस किसिमको निर्णयले नेपाली क्रिकेटको खेल पूर्वाधार र खेलकोस्तर माथि पु¥याउन मद्दत पुग्ने विचार व्यक्त गरे । उनले पहिलो पटक आयोजनाको मौका पाएको विश्वकप सफल बनाउन सके थप प्रतियोगिता आयोजनाको मौका पाउन सक्नेसमेत बताउँदै प्रतियोगिता सम्पन्न गर्न कुनै कसर बाँकी नराखिने बताए । अध्यक्ष चन्दले प्रतियोगिता सञ्चालनको लागि करिब चार वर्षको लामो समय भएकाले अब पूर्वाधार विकासको लागि सरकारसँग कुरा गर्ने बताए ।
२८ करोडको लागतमा ‘आरोह फर्टिलाइजर’ले जैविक मल कारखाना खोल्दै
काठमाडौं । नेपालमा पहिलोपटक जैविक मल कारखाना खुल्ने भएको छ । २८ करोड रुपैयाँको लगानीमा आरोह फर्टिलाइजर प्राइभेट लिमिटेडले सो उद्योग सञ्चालनमा ल्याउन लागेको कम्पनीका संचालक शैलेन्द्र शमशेर जंगबहादुर राणाले बताएका छन् । राणाका अनुसार आरोह कम्पनीको तर्फबाट जैविक मल उत्पादन गर्नको लागि धनुषाको तेजनगरमा साढे ३ बिगा जमिन लिएर अहिले उद्योग निर्माणको काम भइरहेको छ । घण्टामा ५ मेट्रिक टन जैविक मल उत्पादन क्षमताको मेसिन जडान गर्ने, उद्योगहरुसँग सम्बन्धित विभिन्न प्रकारका संरचना निर्माण गर्ने र मजदुरहरु बस्ने आवास भवन बनाउने लगायतका कामलाई कम्पनीले अगाडि बढाउन लागेको छ । सिंगापुरमा सफ्टवेरको व्यवसाय गरेका राणाले अमेरिकाको क्यार्लिफोर्नियामा रहेको एउटा अंगुर बगैंचाबाट प्रभावित भएर नेपालमा जैविक मलको कारखाना खोल्न लागेका हुन् । ‘मैले घुम्ने क्रममा अमेरिकाको क्यालिफोर्नियामा देखेको अंगुर बगैँचाबाट प्रभावित भएर जैविक मल कारखाना खोल्ने ठाउँमा आइपुगेको हुँ’, उनले भने, ‘त्यहाँको बगैँचामा अंगुरहरु अरु भन्दा निकै फरक, एकदमै चिल्लो, रसिलो र ठूला थिए ।’ राणाका अनुसार उनलाई ती अंगुरहरु अन्य भन्दा किन धेरै आकर्षक छन भन्ने लाग्यो । त्यसपछि उनले त्यसको मालिक भेटेर सोध्दा बगानको मालिकले त्यो बगानमा बायो फर्टिलाइजरको प्रयोग गरेको उनले बताए । राणाले ती बगैँचाका मालिकबाट बायो फर्टिलाइजर प्रविधिको विषयमा बुझेर नेपाल फर्किएको बताए । नेपालमा खेतिपातीको मौसममा सधैँ मलको हाहाकार सुनिरहेका उनले जैविक मलको कारखाना खोलेर राष्ट्रलाई योगदान गर्ने निर्णयमा आफू पुगेको बताउँछन् । नेपालमा रासायनिक मललाई मात्रै मल भन्ने बुझाई रहेको अवस्थामा निकै संघर्ष गरेर कारखाना सञ्चालनको निकट आइपुगेको उनले बताए । मल कारखाना निर्माणको लागि शुरुमा एक्लै सो विषयमा बुझ्ने र कम्पनी दर्ता गर्ने काम गरेका उनी पछि आफ्नो पारिवारिक सर्कल र आङकामी लामासँग सहकार्य गरेर अगाडि बढेका छन् । कारखाना स्थापनाको प्रकृयामा पुग्न अगाडि कम्पनीको तर्फबाट जैविक मल उत्पादनको लागि धेरै नै परीक्षण गरेको उनी बताउँछन् । ‘शुरुमा हामीले झापामा उत्पादन परीक्षण गर्यौं, त्यसमा अवलोकन गर्नको लागि राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन कृषि मन्त्री चन्द्रपाणी खनाल पनि जानुभएको थियो’, उनले भने, ‘त्यो परीक्षण सफल भयो ।’ परीक्षण सफल भएपछि मात्रै आँफूहरुले २०७६ सालमा कम्पनी दर्ताको प्रकृया अगाडि बढाएको उनले बताए । कम्पनी स्थापना गरेपनि नेपालमा जैविक मल उत्पादनको लागि कानूनी व्यवस्था नभएकाले फेरि त्यसको लागि संघर्ष गर्नुपरेको उनी बताउँछन् । कम्पनी दर्ता भएको २ वर्षपछि मात्रै कृषि मन्त्रालयको सचिवस्तरीय निर्णयले आरोहलाई जैविक मल उत्पादन गर्ने कारखाना खोल्न अनुमति दिएको उनको भनाइ छ । राणाका अनुसार सरकारको तर्फबाट अनुमती पाए लगत्तै कम्पनीले उद्योग निर्माणको प्रकृयालाई तिव्रताकासाथ अगाडि बढाइरहेको छ । नेपालमा कृषि मन्त्रालयले स्वीकृति दिएर जैवीक मल उत्पादन गर्ने लाइसेन्स प्राप्त गरेको आफूहरुकै उद्योग भएको उनको भनाइ छ । राणाका अनुसार उद्योगले जैविक मल, जैविक झोल मल र जैविक–प्राङ्गारिक तयारी मल उत्पादनको तयारी गरिरहेको छ । किसानलाई सजिलो होस भन्नका लागि आफूहरुले सबै प्रकारको मल उत्पादनको तयारी गरेको उनको भनाइ छ । बाली अनुसारको पोषण तत्व फरक–फरक मात्रामा आवश्यक पर्ने भएकाले कम्पनीले चिया, उखु, धान, मकै, आलु, आदि प्रत्येक फरक बाली अनुसारको मल जैविक मल उत्पादन गर्ने तयारी गरेको बताए । त्यसको लागि कम्पनीले देशभरीबाट विभिन्न ठाउँहरुको माटो संकलन गरेर त्यसको परीक्षण गरिरहेको छ । आफ्नो लगानीले मात्रै सम्भव नभएकाले कम्पनीको तर्फबाट बैंकिङ ऋण र अन्तर्राष्ट्रिय स्तरबाट पनि लगानीको लागि पहल भइरहेको राणा बताउँछन् । आफ्नो व्यवसायिक योजनालाई बैंकहरुले मन पराएको तर नयाँ प्रोजेक्ट भएकाले सहज रुपमा स्वीकार गर्न पनि तयार रहेको राणाको भनाइ छ । ठूलो मात्रामा लगानी जुटाउन सकिएमा ७ वटै प्रदेशमा उद्योग विस्तार गर्ने प्रस्ताव पनि कम्पनीले तयार पारेको छ । कम्पनी स्थापनाको प्रकृयामा लगानी पारिवारिक रुपमा गरिएको उनी बताउँछन् । जैविक मल ब्याक्टेरियाबाट बनाइने र विगतमा विदेशबाट ब्याक्टेरिया आयात गरेर त्यस्तो मल उत्पादनको परीक्षण गर्ने गरेकोमा आरोह उद्योगले भने नेपालको माटोबाट नै ब्याक्टेरिया विकास गरेर मल उत्पादनको तयारी गरेको छ । नेपालको कानूनले विदेशबाट ब्याक्टेरियाको आयातमा समेत प्रतिबन्ध लगाएको अवस्थामा आरोहले नेपालको सबै भूगोलको माटो संकलन गरेर सो अनुसारको ब्याक्टेरिया उत्पादनको तयारी गरेको राणा बताउँछन् । उद्योगले बाली अनुसारको ब्याक्टेरिया उत्पादनको लागि पनि तयारी गरेको उनको भनाइ छ । रासायनिक मल राखेर गरिरहेको खेतीबाट भन्दा जैविक मल राखेर गरेको खेतीबाट १० प्रतिशत बढी प्रतिफल दिने आफूहरुको परीक्षणले देखाएको राणाले बताए । पछिल्लो समयमा सबै प्रकारका खेतिपातीमा रासायनिक मलको प्रयोग बढ्दो रुपमा देखिएको छ । साथै रासायनिक मल आयात गर्नका लागि पनि सरकारले अरबौं रकम वार्षिक रुपमा खर्च गरिरहेको अवस्थामा नेपालमा नै गरिने जैविक मलको उत्पादनले माटोको संरक्षण र विदेशी मुद्राको बचतमा टेवा पुर्याउने राणाको भनाइ छ । ‘नेपालमा वार्षिक रुपमा झण्डै १० लाख मेट्रिक टन रासायनिक मलको माग भएको सरकारी तथ्यांकहरुले नै देखाएका छन्, जुन सरकारले नै पुरा गर्न सकेको छैन्, हामीले उत्पादन गर्ने भनेको जम्मा वार्षिक ६ हजार मेट्रिक टन हुन्छ, त्यो भनेको १ प्रतिशत पनि होइन’, राणा भन्छन्, ‘यो क्षेत्रमा अरु धेरै कम्पनी आउन जरुरी छ ।’ छिमेकी भारतले २ वटा राज्यलाई प्राङ्गारिक क्षेत्र घोषणा गरेको र विश्वका विकसित मुलुकहरुले पछिल्लो समयमा अर्गानिक उत्पादनको विषयलाई महत्व दिएकाले जैविक मलको महत्व बढ्नै गएको उनले बताए । जैविक मलको प्रयोगले उत्पादन प्राकृतिक हुने र माटोको सुधारको लागि पनि उपयोगी हुने भएकाले अब भविष्यको मल नै जैविक मल भएको उनको भनाइ छ । विश्वका धेरै मुलुकहरुले रासायनिक मलको प्रयोगलाई घटाउँदै लगेकोे र छिमेकी मुलुक भारतको मेघालय र सिक्किमलाई अर्गानिक क्षेत्र घोषणा गरिएको उनले बताए । कर्णाली सरकारले पनि कर्णाली प्रदेशलाई अर्गानिक क्षेत्र घोषणा गरेको भन्दै जैविक मलको महत्व बढ्दै गएको उनको भनाइ छ । ‘रासायनिक मल प्रयोग गरिएको कुनैपनि ठाउँमा सो ठाउँलाई जैविक मलको प्रयोगले १० वर्षमा पूर्ण रुपमा रासायनिक रुपमा स्वतन्त्र बनाएर पूर्ण प्राकृतिक बनाउन सकिन्छ’, राणाले भने । सो कम्पनीले तयार गर्ने जैविक मल एक एकडमा २ सय किलो प्रयोग गर्नुपर्ने हुन्छ । त्यस्तै तरल पदार्थ छर्किने विधि प्रयोग गर्ने हो भने एक एकडमा १ लिटर प्रयोग गर्नुपर्ने राणाले बनाए । उनका अनुसार तरल मल १ लिटरमा २ सय लिटर पानी हालेर प्रयोग गर्न मिल्छ । आफूहरुले धेरै नाफा कमाउने नभएर अत्यन्त सहुलियत मूल्यमा न्यूनतम नाफा राखेर बेच्ने योजना बनाएको बताए । जैविक मलमा रासायनिक मल पनि मिसायर प्रयोग गर्न सकिने तर त्यसलाई विस्तारै घटाउँदै लैजान सकिने उनले बताए । कम्पनीले निर्माण गर्न लागेको प्लान्ट कस्तो हुन्छ ? कम्पनीले ३ विघा १२ कठ्ठा भन्दा धेरै जमिनमा प्लान्ट स्थापना गर्न लागेको छ । प्लान्टमा २ किसिमको मेशिन रहने राणाको भनाइ छ । ‘त्यहाँ २ किसिमको मेशिन स्थापना गरिन्छ, एउटा व्याक्टेरियाहरु बनाउने, जसलाई बायो रियाक्टरको प्रयोग गर्नुपर्ने हुन्छ’, उनले भने, ‘त्यसलाई निकै महंगो पर्छ, किनभने यो निकै सेन्सेटिभ तथा ल्याब रिलेटेड हुन्छ, यसबाट भ्याक्सिन समेत उत्पादन गर्न सकिन्छ ।’ भारतको महिसुरमा रहेको न्यू बायो साइन्स कम्पनीबाट सो मसिन खरिद गरिने उनले बताए । अर्को मेशिन प्राङ्गारिक मल मिसायर तयार गर्नको लागि राखिने र उत्पादन परीक्षणको लागि केही विघा जमिन र मजदुरहरु बस्ने आवास गृह सहितको संरचना रहने उनले जानकारी दिए ।
सिटिजन्स बैंकमा काम गर्ने अवसर, यी दश पदका लागि माग्यो कर्मचारी
काठमाडौं । सिटिजन्स बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले प्रदेश प्रमुख, काठमाडौं भित्र र बाहिरका लागि शाखा प्रमुख, आइटि डिपार्टमेन्टका लागि सुपरभाइजर, आइटि डिपार्टमेन्ट (नेटवर्क)का लागि सुपरभाइजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । साथै बैंकले कर्पोरेट कम्युनिकेशन डिपार्टमेन्ट (हेड) का लागि अफिसर एकजना, रिलेशनसिप अफिसर, अपरेशन इन्चार्ज, लिगल अफिसर, ब्रान्च अपरेशनका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ भने ह्युमन रिर्सोसेस डिपार्टमेन्टका लागि जुनियर अफिसरमा एकजना कर्मचारीको माग गरेको छ । बैकले आफ्नो उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालय तथा प्रादेशिक कार्यालयका लागि कर्मचारीको माग गरेको हो । बैंकले यी विभिन्न पदको लागि ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले मंसिर ७ गतेसम्म सम्पूर्ण कागजातसहित कम्पनीको अनलाइनमार्फत् आवेदन दिन सकिने जनाएको छ ।
नेपाली कम्पनीको दुईवटा भिटामिनका औषधि गुणस्तरहीन, बजारबाट फिर्ता गर्न विभागको निर्देशन
काठमाडौं । नेपाली कम्पनीले उत्पादन गरेको दुईवटा भिटामिनका औषधिको निश्चित ब्याचलाई औषधि व्यवस्था विभागले बजारबाट फिर्ता गर्न आदेश दिएको छ । आइतबार सूचना जारी गर्दै विभागले काठमाडौंस्थित लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ‘अस्भिट’ ब्याच नं ‘एएस२१२१’ ट्याबलेट र रुपन्देहीस्थित बायोगेन रिमेडिज प्रालिले उत्पादन गरेको ‘बायोकल–डि’ को ब्याच नं ‘बिडि२१०४’ लाई फिर्ता गर्न आदेश दिएको हो । बजार अनुगमनको क्रममा ती औषधि नमुना परिक्षण गर्दा न्युन गुणस्तरको देखिएको बताउँदै विभागले बजारबाट उक्त औषधीको ब्याच फिर्ता गर्न भनेको जनाएको छ । विभागले यी औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोगसमेत नगर्नरनगराउन अनुरोध गरेको छ ।
तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बृद्धि भएको छ । आज छापावाला सुन तोलामा छ सय रुपैयाँले बृद्धि भई प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रति तोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा ५ रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
बैंक बिग मर्जर : चार बैंकको डीडीए रिपोर्ट तयार, कुनको प्रोग्रेस कति ?
काठमाडौं । मर्जरको सम्झौता गरेका १० वटा वाणिज्य बैंक अहिले डीयू डेलिजेन्स रिपोर्ट (डीडीए) रिपोर्ट तयार पार्नमा व्यस्त भएका छन् । अधिकांश बैंकहरु डीडीए रिपोर्ट तयारमा अन्तिम अवस्थामा पुगेका छन् भने नेपाल इन्भेष्टमेन्ट-मेगा बैंक र ग्लोबल आइएमई–बिओके बैंकको डीडीए रिपोर्ट तयार भइसकेको बुझिएको छ । राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई पुस २२ गतेसम्म मर्ज गर्न समयसीमा तोकिसकेको छ । राष्ट्र बैंकले तोकिएको समयभित्र नै एकीकृत कारोबार गर्ने तयारीमा रहेको मर्जर कमिटी सदस्य समेत रहेका मेगा बैंकका संचालक गोपाल खनाल बताउँछन् । खनालका अनुसार यी दुवै बैंकको डीडीए रिपोर्ट तयार भइसकेको छ । उनले वार्षिक साधारण सभाबाट नै मर्जर प्रस्ताव पारित गर्ने योजना रहेकाे बताए । राष्ट्र बैंकले गत वर्षको वित्तीय विवरण स्वीकृत नगरेका कारण ढिला हुन पुगेको उनको भनाइ छ । राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत दिन ढिलाइ गरेपनि मर्जर प्रक्रियालाई भने समयमा नै सम्पन्न गर्ने उनले बताए । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात् नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता सेयर पाउने छ । मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राख्ने प्रारम्भिक सहमति भएको छ । साथै, मर्जरपश्चात् बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे बन्ने सम्झौता भएको छ । यस्तै, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूले पनि डीडीए रिपोर्ट तयार भइसकेको बुझिएको छ । स्रोतका अनुसार ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको डीडीए रिपोर्टमा १:१ को स्वाप रेसियो आएको छ । मर्जरमा जाने निर्णय गरेका दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियत रहने भएको हो । मर्जरपछि बैंकको अध्यक्षमा चन्द्र ढकाल र सीईओ रत्नराज बज्राचार्य हुने सहमति भएको छ । यस्तै, प्रभु बैंक र सेञ्चुरी बैंकबीचपुस मसान्तभित्र एकीकृत कारोबार हुने बताइएको छ । सोही अनुसार डीडीए रिपोर्ट बनिरहेको मर्जर कमिटीका सदस्य मन बहादुर राई बताउँछन् । ‘पुस मसान्तभित्र नै एकीकृत कारोबार गर्ने लक्ष्य हो, यो भन्दा अघि पनि मर्ज हुन सक्छ, राष्ट्र बैंकबाट डीडीए रिपोर्ट स्वीकृत ढिला भएको छ, अझै केही समय लाग्ने जस्तो छ, यसअघिका मर्जर वर्षदिन पछि पनि भएका थिए,’ उनले भने । दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने सहमति भएको छ । मर्जर पश्चात् प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने बन्नेछन् । यस्तै, हिमालयन र सिभिल बैंकले पनि एक साताभित्रै डीडीए रिपोर्ट तयार पार्ने किसिमले काम गरिरहेका छन् । दुवै बैंकको सम्झौता अनुसार स्वाप रेसियो आउने बताइएको छ । सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८१ कित्ता सेयर हुनेछ । मर्जर पश्चात् बन्ने बैंकको सीईओमा हिमालयन बैंकको अशोक राणा र वरिष्ठ डेपुटी सीईओमा सिभिल बैंकका सुनिल कुमार पोख्रेल बन्ने छन् । यस्तै, कुमारी र एनससीसी बैंकले पनि असार मसान्तसम्म एकीकृत गर्ने किसिमले काम गरिरहेका छन् । बैंकले आगामी पुस १७ गतेभित्र एकीकृत कारोबार गर्ने किसिमले काम गरिरहेका छन् ।
चन्द्रागिरि वडास्तरीय फुटसल प्रतियोगिताको उपाधि वडा नं १५ ले जित्यो, ८० हजारसहित ट्रफी र पदक
काठमाडौं । चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७९’ को उपाधि चन्द्रागिरी–१५ ले चुमेको छ । नगरपालिकाको सर्वाधिक राशिको तेस्रो संस्करणको सो प्रतिप्रतियोगितामा उसले वडा नं ९ लाई एकका विरुद्ध पाँच गोल गर्दै ८० हजार रुपैयाँसहित ट्रफी र पदक चुुमेको छ भने वडा ९ दोस्रो भई ४० हजार रुपैयाँसहित ट्रफी र पदक हात पारेको छ । चन्द्रागिरि–९ स्थित मच्छेगाउँमा नवनिर्मित मत्स्य फुटसल एरिनामा शनिबार साँझ भएको कडा प्रतिस्पर्धात्मक खेलमा चन्द्रागिरि– १५ ले आफ्नो अपराजित यात्रालाई कायम राखेको हो । का तर्फबाट खेलाडी समिर कार्की, दिनेशसिंह खड्का, अविरल रिजाल, रञ्जन श्रेष्ठ, राहित थापा, सञ्जय पुरी, अभय खड्का, सुजित रावत, प्रज्ज्वल कार्की, रोहित थापा र सुशन घिमिरे मैदानमा उत्रिएका थिए । यसैगरी दोस्रो स्थान प्राप्त गरेको वडा नं ९ का तर्फबाट अजय महर्जन, सञ्जीव महजर्न, निकेश श्रेष्ठ, गौरव श्रेष्ठ, राजकुमार श्रेष्ठ, रितेश श्रेष्ठ, रफि श्रेष्ठ, ईश्वर थापामगर र राजीव मान्धर मैदानमा उत्रिएका थिए । पश्चिम संयुक्त क्लबको संयोजन तथा चनपाद्वारा प्रयोजित सो प्रतियोगितामा नगरका १५ वडाका २२ टिमले भाग लिएका थिए भने खेल अन्तर्राष्ट्रिय नियमानुसार खेलाइएको थियो । प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय एवं सान्त्वना प्राप्त टिमलाई नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, नगप्रवक्ता कृष्णकुमार खड्गी र क्लबका अध्यक्ष रामनारायण घिमिरेले संयुक्तरूपमा नगदसहित ट्रफी र पदक प्रदान गरे । सोही अवसरमा उनीहरूले उत्कृष्ट टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई नगद रु पाँच–पाँच हजारसहित ट्रफी र पदक प्रदान गरे । प्रतियोगिताको उत्कृष्ट टिमको उपाधि वडा नं १५ ले प्राप्त गरेको थियो भने उत्कृष्ट गोलकर्ता सविन महर्जन र उत्कृष्ट गोलकिपर प्रकट रिजालले प्राप्त गरेका थिए । सो अवसरमा नगरप्रमुख गिरीले नगरपालिकाले खेल क्षेत्रको विकासमा प्राथमिकता दिँदै आएको जानकारी दिँदै आगामी दिनमा युवापुस्ताले नै खेलकुदमार्फत नगरपालिका र सिङ्गो राष्ट्रलाई नै चिनउने बताए । उनले भने, ‘नगरको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यका क्षेत्रमा धेरै काम भएका छन् ।’ क्लबका अध्यक्ष घिमिरेले नगर क्षेत्रमा क्लबले विभिन्न खेलकुद प्रतियोगिताको संयोजन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा नगरपालिकाले खेल गतिविधिमा क्लबलाई साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । उनले भने, ‘अगामी दिनमा खेल क्षेत्रमा सरकारले लगानी बढाउन जरुरी छ । खेल क्षेत्रको विकास र विस्तारले मात्र युवाको सशक्तीकरण हुन्छ ।’ क्लबका सल्लाहकार भुवन गिरीले पश्चिम क्षेत्रमा खेलकुद विकास र प्रवद्र्धन गर्न क्लबले विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिए । प्रतियोगिताका संयोजक क्लबका उपाध्यक्ष साजन महर्जनले विभिन्न सङ्घ तथा संस्थाको साथ र सहयोगले प्रतियोगिता सम्पन्न भएको बताए ।