हुम्लाका चार केन्द्रमा चिसोका कारण मतदान सुरू भएन
सिमकोट । नाम्खा गाउँपालिका–६ का तीन मतदान केन्द्र र वडा–५ को मुचुमा चिसोका कारण मतदान सुरूआत हुन सकेको छैन । अत्यधिक चिसोले नाम्खा–६ को तिल, जाङ, हलजी र वडा नम्बर–५ को मुचुमा मतदान हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । लिमिको हल्जी गाउँको सुनखानी, आधारभूत विद्यालयको मतदान केन्द्र, जाङ गाउँको भृकुटी आधारभूत विद्यालय मतदान केन्द्र, तिल गाउँको हिमशिखर आधारभूत मतदान केन्द्र र मुचुको खासरपानी आधारभूत मतदान केन्द्रमा चिसोले मतदान हुने नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए । ५९ मतदान केन्द्रमध्ये ५५ मतदान केन्द्रमा मतदान सुरू भइसकेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त प्रमुख श्यामबहादुर रानाले जानकारी दिए । जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्णरूपमा मतदान सुुरू भइरहेको उनको भनाइ छ ।
वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गरे मतदान
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आफ्नो मतदान गरेका छन् । उनले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा आफ्नो मत खसालेका हुन् । उनले काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रमा पुगेर मत खसालेका हुन् ।
निर्वाचन बिथोल्न विप्लव समूहको प्रयास, प्रहरीले गर्याे हवाई फायर
काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले चितवनमा निर्वाचन बिथोल्ने प्रयास गरेपछि प्रहरीले हवाइ फायर गरेको छ । चितवन क्षेत्र नम्बर–१ को राप्ती–८ स्थित ब्रम्हस्थानी आधारभूत विद्यालयको मतदान केन्द्रमा नेकपा माओवादी पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने प्रयास गरेका थिए । नेकपा माओवादीका १५–२० जनाको समूहले निर्वाचन बिथोल्ने प्रयास गरेका थिए । उनीहरुले निर्वाचन बिथोल्ने प्रयास गरेपछि एक राउण्ड हवाई फायर गरिएको चितवन प्रहरीका प्रवक्ता डिएसपी विजयराज पंडितले जानकारी दिए । हवाई फायरपछि उनीहरू भागेको छन् । अहिले उनीहरुको खोजी कार्य भइरहेको र मतदान पुनः सुरू भइसकेको उनको भनाइ छ ।
गुल्मी क्षेत्र नम्बर–२ र चितवन क्षेत्र नम्बर–१ मा मतदान स्थगित
काठमाडौं । गुल्मी र चितवनको मतदान रोकिएको छ । गुल्मी क्षेत्र नम्बर–२ को मालिका गाउँपालिका–५ र चितवन क्षेत्र नम्बर–१ को रत्ननगर नगरपालिका–१४ स्थित द्वाारिकादास मावि मतदान केन्द्रमा मतदान प्रक्रिया स्थगित भएको हो । गुल्मी क्षेत्र नम्बर–२ को मालिका गाउँपालिका–५ स्थित मतदान केन्द्रमा प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र अघिपछि भएको भन्दै विरोध भएपछि मतदान स्थगित भएको हो । मतपत्रको विषयलाई लिएर सत्ता गठबन्धनले नै विरोध गरेको हो । यस्तै, सुरुमा प्रतिनिधिसभातर्फको मतपत्र दिनुपर्नेमा प्रदेशसभातर्फको दिएपछि चितवन क्षेत्र नम्बर–१ को रत्ननगर नगरपालिका–१४ स्थित द्वाारिकादास मावि मतदान केन्द्रमा १८ मत खसेपछि मतदान स्थगित गरिएको हो । चितवन क्षेत्र नम्बर–१ का मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले अब फेरि सर्वदलीय बैठक बसेर मतदान गराउने प्रक्रिया अगाढि बढाइने बताए ।
माओवादी अध्यक्ष दाहालले चितवनबाट गरे मतदान
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शिवनगरबाट मतदान गरेका छन् । अध्यक्ष दाहालले चितवन निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गतको शिवनगरस्थित मतदान केन्द्रमा मतदान गरेका हन् । दाहालले भरतपुर १४ शान्तिपुर नेपाल प्रहरी विद्यालयको ‘क’ केन्द्रबाट पहिलो मतदान गरेका हुन् । माओवादी अध्यक्ष दाहाल आफू गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार भए पनि चितवनका मतदाता हुन् ।
कुलमान घिसिङले खसाले भोट
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो भोट खसालेका छन् । उनले प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनाका लागि रामेछापबाट आफ्नो मतदान गरेका हुन् । घिसिङले रामेछापको सुनापति गाउँपालिका वडा नं ४ डहु मतदान केन्द्रबाट मतदान गरेका हुन् । कार्यकारी निर्देशक घिसिङले उक्त मतदान केन्द्रबाट पहिलो मतदान गरेको बताइएको छ ।
मन्त्री अथकले गरे मतदान
काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मतदान गरेका छन् । उनले बाँके क्षेत्र नं. १ (२) अन्तर्गत कोहलपुरको पिपिरीस्थित मतदानस्थलबाट पहिलो मतदान गरेका हुन् । मतदान पछि प्रतिक्रिया दिदैं मन्त्री अथकले संविधानको रक्षा र स्थायीत्वकालागि मतदान गरेको बताए । माओवादी केन्द्रका स्थायी समिती सदस्य समेत रहेका मन्त्री अथकले गोलाकार भित्रको हँसिया हथौडामा मतदान गरेको बताउँदै सबैलाई निर्वाचनमा सहभागी भई गठबन्धनका उम्मेदवारलाई मतदान गर्न समेत आग्रह गरेका छन् । बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका मन्त्री अथकले आगामी पाँच वर्षसम्म संसद भङ्ग नहुने विश्वास ब्यक्त गरे । उनीसहित यो क्षेत्रबाट प्रतिनिधि सभामा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छ ।
योगेश भट्टराईले गरे ताप्लेजुङको मौवाखोलाबाट मतदान
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी मावी मतदान केन्द्रमा मतदान गरेका छन् । उनले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि आज मंसिर ४ गते भइरहेको निर्वाचनमा आफ्नो मतदान गरेका हुन् । पहिलो मतदान गर्दा गर्वको अनुभूती भएको उनको भनाइ छ । नागरिकको सार्बभौमसत्ताको प्रयोग गर्ने माध्यम निर्वाचन जसले व्यवस्था कमजोरीलाई हटाउँदै लोकतन्त्रलाई अझ सुदृढ बनाउने उनले बताए ।