विकासन्युज

धान पकेट क्षेत्रकै बासिन्दा आयातित चामलमा निर्भर

डुम्रे । तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय अग्रज किसान विष्णुप्रसाद ओझालाई बजारबाट किनेर ल्याएको चामलको भातको स्वाद पटक्कै मनपर्दैन । आफ्नै खेतमा उब्जेको धानको भात खाँदै आएका उनि अहिले बजारको चामलको स्वाद मन नपरे पनि खानुपर्ने बाध्यता रहेको बताउँछन् । पहिले गाउँमा एउटा घरमा मसिनुको चामल पाक्दा गाउँभर नै बास्ना थाहा हुने गरेको सम्झँदै उनले भने, “पहिले चामलको स्वाद गुलियो हुन्थ्यो, अहिले स्वाद नै फरक छ, अहिलेको धानबाट आएको चामलको गुलियोपन छैन ।” प्राङ्गारिक मल प्रयोग खेतीपातीमा गर्ने प्रचलन नै हराएको उनी बताउँछन् । विगतमा प्राङ्गारिक मल र गाईवस्तुको मल हाल्दा उत्पादन राम्रो हुनुका साथै स्वादिलो हुने गरेको उनको भनाइ छ । ओझा भन्छन्, “ढिँकी, जाँतोमा कुटानीपिसानी गर्ने भएकाले पनि स्वादिलो हुन्थ्यो । अहिले विद्युतीय मेसिनमा कुटानीपिसानी हुँदा स्वाद फरक परेको हो ।” अहिले खेतीपाती गर्न खर्चिलो भएको छ । लगानीअनुसारको प्रतिफल हुन छाडेपछि जग्गा बाँझै राखेर बजारबाट चामलको बोरा ओसार्ने क्रम बढ्दै गएको उनको भनाइ छ । उनी भन्छन्, “भकारीको धान निकाल्नु भन्दा बजारको बोरा बोक्न सजिलो मान्छन् मानिसहरु । दुःख किन गर्छन् र ?” आफ्नै खेतबारीमा उत्पादन भएको धान किनेर खानुपर्ने अवस्था आएको बताउँदै उनले भने, “अधियाँ गर्ने मान्छे पाइँदैन । खेत बाँझै रहन्छ । आफ्नो खेत ठेक्कामा दिएर उत्पादन भएको धानलाई बजारबाट किनेर चामल खानु परेको छ ।”विगतमा मङ्सिरे धान मात्रै ७० देखि ८० मुरी धान उत्पादन गर्ने उनले केही वर्षदेखि आफूले खेती गर्न नसकेको बताए । व्यास नगरपालिका–७ का ८० वर्षीय इन्द्रबहादुर शाहीले उत्पादन गर्न नसकेपछि बजारको चामल किनेर खानुपर्ने अवस्था आएको बताए । “खेतीपाती गर्न सकिदैन । छोराछोरी बजार झर्ने र विदेश जाने गर्दा खेतीपाती गर्दैनन् । भएको जग्गाजमिन बाँझो छ र किनेर बजारको चामल खानुपर्ने बाध्यता भएको छ,” शाहीले भने । बजारबाट किनेको चामलको मूल्य भन्दा उत्पादन लागत बढी हुने हुँदा पनि युवा पुस्ताले चासो दिन छाडेको उनको भनाइ छ । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले धान उत्पादन बर्सेनि घट्दो क्रममा रहेको बताए । “धान उत्पादन लागत बर्सेनि वृद्धि हुन्छ तर धानको मूल्य वृद्धि नहुँदा धान खेतीमा युवाको चासो छैन,” उनले भने । जिल्लामा जमिन बाँझिने क्रम बढ्दै गएको तिवारीले बताए । “जबसम्म स्थानीय, प्रदेश र सङ्घ सरकारले जमिन बाँझो राख्न नपाउने नीति निर्माण गर्दैनन्, तबसम्म बाँझो जमिन बढ्दै जान्छ । चालू आर्थिक वर्षमा तनहुँमा धान उत्पादन वृद्धि हुने भएको छ । धान फुल्ने समयमा वर्षा भएकाले उत्पादन बृद्धि भएको वरिष्ठ कृषि विकास अधिकृत तिवारीले बताए । “गत वर्षको तुलनामा यसवर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरेका छौँ”, उनले भने। गत वर्ष आठ हजार सय २० हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ३२ हजार आठ सय २४ मेट्रिकटन धान उत्पादन भएको थियो । यसवर्ष उत्पादन क्षेत्र केही वृद्धि भएको छ । यसवर्ष आठ हजार सात सय ३० हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ३३ हजार आठ सय ४० मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिएको तिवारीले बताए । उत्पादन वृद्धि भए पनि पकेट क्षेत्रकै किसानले धान किनेर खानुपर्ने अवस्था रहेको उनको भनाई छ । कृषि पेसाबाट विमुख कृषि पेसामा लागत वृद्धि हुने क्रम रहेकाले यसबाट विमुख हुने किसान बढ्दै गएका छन् । आफैँले उत्पादन गर्नुभन्दा किनेर चामल खान लागत कम पर्ने भएपछि दुःख गर्न युवा नचाहने बताइएको छ । धान उत्पादनका लागि धेरैखर्च बढ्दा विदेशबाट आयातित चामल किनेर खान किसानले नै थालेको व्यास नगरपालिका–८ बर्लाचीका ७२ वर्षीय अगुवा व्यक्ति दिनानाथ लम्साल बताउँछन् । उनले भने, “पुरानो परम्परागत खेतीपाती गर्ने प्रचलन छैन ।” स्थानीय उत्पादित मल, बीउ हराएको र पूर्ण रुपमा आयातित मल, बिउबिजन हुने भएकोले उत्पादन राम्रो भएको देखिने गरेको उनले बताए । धेरै देखिए पनि दीर्घकालसम्मलाई अन्न नपुग्ने गरेको लम्साल बताउँछन् । रासायनिक मलको प्रयोगले माटो बिग्रने र उत्पादन घट्ने किसानको बुझाइ छ । विगतमा तनहुँ करिब धान उत्पादनमा आत्मनिर्भर रहेको मात्र होइन, अन्यत्र निर्यात समेत हुने गरे पनि हाल आयात हुने गरेको छ । व्यास नगरपालिकाअन्तर्गत साँगेफाँट, रिस्तीफाँट, सेरा, गजौडे, माझफाँट, सिसाघाट, सत्रसय, घाँसीकुवा, भानु नगरपालिकाको चुँदीफाँट, बाइसजागर, आँबुखैरेनी गाउँपालिकाको ढापटार, बन्दीपुर गाउँपालिकाको याम्पाफाँट, सत्रसयफाँट धान उत्पादनको राम्रा क्षेत्र हुन् । त्यस्तै देवघाट गाउँपालिकाको बेटार, म्याग्दे गाउँपालिकाको गुणादी, अकलाफाँट, शुक्लागण्डकी नगरपालिकाको फिर्दीफाँट, क्यान्दीफाँट, मान्द्रेफाँट, भिमाद नगरपालिकाको डुम्रीबेँसी, बुढुवाफाँट, बैडीफाँट, घिरिङ गाउँपालिकाको अत्रौलीफाँट, पुट्टारफाँट, ऋषिङ गाउँपालिकाको पिपलटारफाँटलगायतका क्षेत्रमा धान उत्पादन हुन्छ । धान उत्पादन हुने यी क्षेत्रमा अहिले बस्ती विस्तारसँगै घडेरीका रुपमा खण्डीकरण गर्ने, बाँझो राख्ने क्रमले उत्पादन घट्दै गएको छ । रासस

अर्को चुनावमा मलाई उम्मेदवारको रुपमा देख्नुहुनेछ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले अर्को चुनावमा जनताले आफुलाई उम्मेदवारको रुपमा पाउने बताएका छन् । आइतबार भइरहेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरिसकेपछि अभिनेता हमालले यस्तो बताएका हुन् । हमालले यस चुनावले परिवर्तन ल्याउन सक्ने देखिएको बताएका छन् ।

तस्बिरमा हेर्नुस् देशभरको मतदान (फोटोफिचर)

काठमाडौं । आज प्रतिनिधिसभा तथा प्रदेशसभाका नयाँ सदस्य चुन्न देशभर मतदान भइरहेको छ भएको छ । निर्वाचन आयोगको अनुसार आइतबार बिहान ७ बजेदेखि सुरू भएको मतदान बेलुकी ५ बजेसम्म जारी रहनेछ ।

सधैं व्यस्त हुने व्यापारिक क्षेत्र पनि सुनसान (फोटोफिचर)

काठमाडौं । आज (आइतबार) चुनावको दिन । देशभर मतदान भइरहेको छ । आज नागरिकले आफ्नो प्रतिनिधि छान्ने दिन । आजै हो नागरिकको प्रत्यक्ष मतदानबाट १६५ प्रतिनिधिसभा सदस्य र ३३० जना प्रदेशसभा सदस्य निर्वाचित हुने । नागरिकले आजै प्रतिनिधिससभामा ११० जना समानुपातिक पदका लागि पनि मतदान गर्नेछन् । त्यस्तै प्रदेशसभामा २२० जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमा दुई हजार ४१२ उम्मेदवार छन् । प्रतिनिधिसभामा २७५ र प्रदेशसभामा ५५० सदस्य हुन्छन् । जसमा एक हजार ५४५ जना दलका र ८६७ जना स्वतन्त्र उम्मेदवार छन् । देशभर कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ । कुल मतदाताको संख्या अघिल्लो निर्वाचनको तुलनामा करिव १४ प्रतिशत बढी हो । आज मतदान गर्नैका लागि मानिसहरु काठमाडौं उपत्यकाबाट गाउँ फर्किएका छन् भने उपत्यकामै भएका मतदाताहरु आफ्नो व्यापार व्यवसाय बन्द गरेर मतदान केन्द्रतर्फ लागेका छन् । सरकारले मंसिर ४ र ५ गते सरकारी तथा निजी संघ संस्था तथा संस्थानहरुलाई बन्द गर्ने निर्णय गरेसँगै आज काठमाडौं सुनसान बनेको छ । विशेष गरेर व्यापारिक क्षेत्र मानिने काठमाडौंको दरबार मार्ग, कमलादी र बागबजार क्षेत्र सुनसान बनेका बनेका छन् । यस क्षेत्रका सटरहरुमा आज ताला लागेको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसपछि आर्थिक क्षेत्र खासै माथि उक्लिन सकेको छैन । उद्योगी व्यवसायीहरु समस्यामा परेको गुनासो गरिरहन्छन् । अधिकांश व्यवसायीहरु घरभाडा तिर्नै नसकेर पलायन भएको समाचारहरु पनि विभिन्न समयमा बाहिरी रहन्छन् । तर, आज भने नागरिकहरु स्वस्फुर्त रुपमा मतदानकेन्द्र तर्फ मतदान गर्न जाँदा काठमाडौंका व्यापारिक क्षेत्र मानिने यी क्षेत्रहरु सुनसान बनेका हुन् । हेर्नुस् तस्वीरहरु  

चुनावको दिन बैंक वित्तीय संस्था बन्द, भोलि के हुन्छन् ?

काठमाडौं । आज (आइतबार) देशभरका बै‌कका शाखा तथा काउन्टनरहरु बन्द भएका छन् । आज मतदानको दिन सरकारले सार्वजनिक विदा दिएसँगै बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द भएका हुन् । आइतबार जारी प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि भन्दै सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको थियो । त्यसैले पनि बैंक तथा वित्तीय संस्थाहरु बन्द भएका हुन् । यसअघि गृह मन्त्रालयले सूचना जारी गर्दै सार्वजनिक संघ संस्थाहरु र निजी कम्पनीलाई पनि दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो । योसँगै अतिआवश्यक सेवाको रुपमा लिइएको बैंक तथा वित्तीय संस्था पनि बन्द भएका हुन् । अतिआवश्यक सेवाको रुपमा लिइएको बैंक तथा वित्तीय संस्थाहरु आजव बन्द भएका हुन् । हिजो शुक्रबार बैंक तथा वित्तीय संस्थाहरु आंशिक रुपमा मात्रै खुला भएका थिए । अधिकांश बैंकहरुले केही काउन्टर र शाखाहरु बन्द भएका थिए । तर, आज भने सबै शाखा तथा काउन्टरहरु बन्द भएका हुन् । अब मंसिर ५ गते बैंक तथा वित्तीय संस्थाहरु खुल्छन् वा बन्द हुन्छन् भन्ने विषय सबैको चासोको रुपमा लिइएको छ। केही बैंकहरु भोलि पनि बन्द हुनेछन् भने अधिकांश बैंक खोल्ने बताइएको छ । गत बिहीबार हिमालयन बैंकले सूचना जारी गर्दै मंसिर ४ र ५ गते पूर्ण रुपमा सबै शाखाहरु बन्द रहने जनाएको छ । सो बैंकले ठमेल, न्युरोड र पाटन शाखाहरुमा संचालिन विदाको काउन्टरहरु पनि बन्द रहने बताएको छ । यस विषयमा वाणिज्य बैंकको छाता संस्था नेपाल बैंकर्स संघले भने कुनै निर्णय गरेको छैन । बैंकहरुले सरकारको निर्णय अनुसार बैंक खोल्ने/बन्द गर्ने निर्णय गर्न सक्नेछन् ।

म्याग्दीमा १०७ वर्षीय वृद्धले गरे मतदान

म्याग्दी । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज म्याग्दीमा एक एक सय सात वर्षीय वृद्धले मतदान गर्नुभएको छ । मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गर्नुभएको मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिनुभयो । म्याग्दीका एक सय २० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । म्याग्दीमा ८६ हजार मतदाता छन् । यहाँ प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन् ।

मतदान गर्न लाइनमा बसेका बृद्धको मृत्यु

फाइल फाेटाे काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदान गर्न लाइनमा बसेका एक जना बृद्धको मृत्यु भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्‍न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मतदान गर्न लाइनमा बस्दा मृत्यु भएको हो । मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलका अनुसार लिम्बुको शव आफन्तलाई बुझाइएको छ ।

मतपेटिका खोसाखोस भएपछि सिराहामा गोली चल्यो

काठमाडौं । मतपेटिका खोसाखोस भएपछि सिराहामा प्रहरीले गोली चलाएको छ । दुई पक्षका कार्यकर्ताबीच विवाद बढ्दा मत पेटिका खोसाखोसको अवस्था आएपछि गोली चलेको हो । सिराहाको कर्जन्हा नगरपालिकाका वडानम्बर ६ मिर्चैयास्थित जनता मावि बडहरामाल बुथमा गोली चलेको हो । जनता समाजवादी पार्टी (जसपा) र नेकपा ९एकीकृत समाजवादी० का कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुन थालेपछि प्रहरीले ३ राउन्ड गोली चलाएको हो । स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले बताए । मतपेटिका खोसाखोस भएपछि केहीबेर तनाव भएपनि केहीबेर मतदान स्थगितपछि पुन मतदान सुरु भएको छ ।