डिशहोमले विश्वकप २ के रिसोलुसोनमा प्रशारण गर्दै
काठमाडौं । डिश मिडिया नेटवर्कले आफ्नो फिफा विश्वकप २०२२ अभियान फिल द म्याजिक अफ फुटबल इन डिशहोम अभियान शुरु गरेको छ । डिशहोमले लामो समयदेखि प्रतिक्षा गरिएको फिफा विश्वकप फुटबलको प्रशारण गर्नेछ । हरेक चार चार वर्षमा हुने विश्वकप फुटबललाई नेपाली फुटबलका फ्यानहरुले हर्षोल्लासका साथ स्वागत गर्ने गरेका छन् । नेपाली सामाजिक सञ्जालको लोकप्रियता र फ्यानहरुको गतिबिधीलाई मध्यनजर गर्दै डिशहोमले धेरै उपहारहरु सहित सामाजिक सञ्जालका लागि विभिन्न डिजिटल अभियानहरु जारी गरेको छ । त्यस अभियानमा सहभागी हुनका लागि सहभागीहरुले डिशहोमको फेसबुक पेजमा गइ पोस्टमा म्याजिक मुमेन्टसमा उनीहरुको मनपर्ने टिम जस्तै, म्याजिकल मुमेन्टस अफ पोर्चुगल प्रयोग गर्नुपर्नेछ । साथै आफूले समर्थन जनाएको देशको म्याजिकल क्षणहरुको भिडियो क्लिप वा फोटो पोस्ट गर्नुपर्नेछ ।
रुसको साखालिन क्षेत्रमा ग्यास विस्फोट हुँदा सात जनाको मृत्यु
एजेन्सी । रुसको सुदूर पूर्वीसखालिन क्षेत्रको टिमोभस्कोए गाउँमा शनिबार बिहान एउटा आवासीय भवनमा भएको ग्यास विस्फोटमा तीन बालबालिकासहित सात जनाको मृत्यु हुनाका साथै अन्य नौ जना घाइते भएका छन् । सखालिन क्षेत्रका गभर्नर भ्यालेरी लिमारेन्कोले उद्धारकर्ताले अझै तीन जनाको खोजी गरिरहेको बताएका छन् । स्थानीय सरकारले सामाजिक सञ्जालमा उल्लेख गरेअनुसार अनुचीत भण्डारण र घरेलु प्राकृतिक ग्यास ट्याङ्कीको प्रयोगले विस्फोट गराएको बताएको छ । मस्को समयअनुसार बिहान ५ बजे उक्त विस्फोट भएको र भवनका केही भागमा क्षति पुगेको रुसको सरकारी समाचार एजेन्सी तासले स्थानीय आपतकालीन सेवालाई उद्धृत गर्दै जनाएको छ ।
गलत प्रचार गरेकोमा कांग्रेस र माओवादीको आपत्ति
काठमाडौं । निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी गलत प्रचार गरिएको भन्दै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले आपत्ति प्रकट गरेका छन् । निर्वाचनको अन्तिम घडीमा मतदातामा अन्योल सिर्जना हुने गरी रचिएको भ्रमपूर्ण षड्यन्त्रले एकथरी तत्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल र माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘कांग्रेस, माओवादी केन्द्रलगायत पाँच दल लोकतान्त्रिक वाम गठबन्धनप्रति पूर्ण प्रतिबद्ध छन् र गठबन्धनमा कोही कसैकाप्रति घात हुने कल्पनासमेत गर्दैनन्’, संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘भ्रमपूर्ण र मिथ्या सूचनामा विश्वास नगर्न हामी आम नागरिकमा आह्वान गर्दछौँ ।’ गत सूचनाप्रति आपत्ति जनाउँदै सो संयुक्त विज्ञप्तिमा यसलाई निर्वाचन अपराधका रुपमा लिएर कानुनी कारबाहीका लागि निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको छ । कांग्रेस र माओवादीले अपराधपूर्ण यस काममा संलग्न व्यक्तिको खोजी गरी कानुनी कारबाहीका लागि सरकारसँग माग गरेको छ । प्रेस सेन्टरको आपत्ति प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको स्थिर समय (मौन अवधि) चलिरहेको अवधिमा गलत प्रचार गरेको भन्दै प्रेस सेन्टर नेपालले आपत्ति जनाएको छ । प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटाले नेकपा (एमाले)को प्रचार विभाग सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायत केहीले स्थापित अनलाइन तथा पत्रिकाका समाचारलाई प्रविधिको दुरुपयोग (सोर्स कोड परिवर्तन) गरी सामाजिक सञ्जालमा शेयर गरेर अफवाह फैलाएको घटनाप्रति ध्यानाकर्षण भएको बताए। केही स्थापित सञ्चारमाध्यमका समाचारमा सोर्स कोड परिवर्तन गरी हुँदै नभएको विषयलाई शीर्षक र समाचार बनाई ‘स्क्रीनसट’ गरेर सामाजिक सञ्जालमा पोष्ट गरिएको अध्यक्ष सापकोटाको भनाइ छ । ‘सञ्चारमाध्यममा प्रकाशित समाचारलाई इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रम फैलाउनु, सोर्स कोड परिवर्तन गर्नु र त्यसकै ‘स्क्रीनसट’ गरी सामाजिक सञ्जालमा पोष्ट गर्नु साइबर अपराध हो । सम्बन्धित सञ्चारमाध्यमको लोगो र नाम जोडेर बदनाम गर्नु अर्को अपराध हो’ अध्यक्ष सापकोटाले भने, ‘यस्तो गलतकार्य पत्रकारिताको मूल्यमान्यता र आचारसंहिताको उल्लङ्घन पनि हो ।’ आम निर्वाचनको समयमा सञ्चारमाध्यम र पत्रकार संवेदनशील भएर मतदातालाई स्वतन्त्र र भयरहितरुपमा मतदान गर्ने वातावरण बनाउनुपर्ने अवस्थामा पेसागत पत्रकार सङ्गठनको अध्यक्ष भएको व्यक्तिले नै भ्रामक सन्देश फैलाउनु निर्वाचन आचारसंहिताको घोर उल्लङ्घन भएको ठहर गर्दै प्रेस सेन्टरले उक्त घटनालाई गम्भीररुपमा लिई आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपाल र निर्वाचन आयोगलाई अनुरोध गरेको छ ।
पानी ट्याङ्करको ठक्करबाट बालकको मृत्यु
काठमाडौं । चाँगुनारायण नगरपालिका(३ झौखेलबाट भक्तपुर नगरपालिकातर्फ आउँदै गरेको बा ५ ख ९१४२ नं को पानी ट्याङ्करले भक्तपुर नगरपालिका(२ ब्यासी कासन पुल नजिक सडकमा ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । आज सडकमा खेलिरहेको बालकलाई पानी ट्याङ्करले ठक्कर दिई घाइते भएका रामेछाप सुनापाती गाउँपालिका ४ घर भई हाल ब्यासीमा बस्ने रबिन्द्र तामाङको छोरा सात वर्षीय विवेश तामाङको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिए । प्रहरीले बालकलाई ठक्कर दिने ट्याङ्करका चालक भक्तपुर नगरपालिका–९ कमलबिनायक बस्ने सिताराम पक्का नेवारलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको उनले जानकारी दिए।
निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो : आयोग
काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आईतवार (भोलि) हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । शनिवार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको बताए । उनले स्थिर समयमा आचारसंहीताको प्रभावकारी कार्यान्वयनको लागि निर्वाचन अनुगमन टोली र मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सुक्ष्म अनुगमनको कार्य भइरहेको बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले मतदानका दिन आवश्यक सेवाका लागि सञ्चलन हुने तथा सञ्चारकर्मी, पर्यवेक्षक, अनुगमन कर्ता लगायतका सवारीसाधनलाई अनुमति लिनु नपर्ने गरी व्यवस्था गरेको बताए । उनले भने, ‘नेपालको संविधानले प्रत्याभुत गरेको जनताको प्रतिष्पर्धात्मक लोकतान्त्रिक शासनप्रणाली, जनतामा निहीत सार्वभौम सत्ता, नागरिक स्वतन्त्रता,मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ ।’ प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगबाट स्वीकृत मापदण्ड बमोजिम निर्वाचनको स्वच्छता र स्वतन्त्रतामा प्रतिकुल असर नपर्ने गरी यातायातको व्यवस्थित सञ्चालन तथा सवारी आवागमनको उपयुक्त प्रवन्ध मिलाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरु र तोकिएका अधिकारीहरुलाई आग्रह गरिसकेको पनि बताए ।
भोट हाल्न जाँदा मतदाताले मतदाता परिचय पत्र अनिवार्य बोक्नुपर्ने
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गर्न जाँदा मतदाता परिचय पत्र अनिवार्य लैजान आग्रह गरेका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाता परिचयपत्र नभएकाले आयोगले तोके बमोजिम आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पूर्जा, सवारी अनुमति पत्र वा राष्ट्रिय परिचयपत्र मध्ये कुनै एउटा परिचय पत्र बोकेर जानसक्ने बताए । उनले मतदाताहरुले मतदानका लागि जाँदा मोबाइल, क्यामेरा, सलाई, लाइटर लगायतका कुनैपनि निषेधित वस्तुहरु बोक्न नहुने बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले निषेधित वस्तुहरु मतदान केन्द्रमा लिएर गए सामग्रीहरु जफत गर्ने चेतावनी दिए । उनले मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मी, कर्मचारी र मतदान अधिकृतहरुले मतदाताका हरेक गतिविधिहरुको निगरानी गरिरहेको हुनाले आयोगको आँखा छलेर अनावश्यक गतिविधि नगर्न सचेत गराए । प्रमुख निर्वाचन आयुक्त भण्डारीले अरुको नाममा मत नहाल्न, दोहो¥याएर मत हाल्ने प्रयास नगर्न, आफ्नो मत अरुलाई हाल्न नदिन र मतपत्र लिँदा मतपत्रमा मतदान अधिकृतको दस्तखत भए÷नभएको यकिन गर्न पनि आग्रह गरे । उनले मतदान गर्न आउने अशक्त, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, कृयापुत्री, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सहयोग गर्न र सबैभन्दा पहिला मतदान गर्ने व्यवस्था मिलाउन पनि सम्बन्धित पक्षसँग अनुरोध गरे । उनले भने, ‘मतदान गर्न जाँदा साथमा आफ्नो मतदाता परिचय पत्र लिएर जानुहोस् । यदी मतदाता परिचय पत्र नभए आयोगले तोके बमोजिमको आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पूर्जा, सवारी अनुमति पत्र वा राष्ट्रिय परिचयपत्र मध्ये कुनै परिचय पत्र लिएर जानुहोस् । तर मोबाइल, कुनै क्यामेरा, सलाई, लाइटर र यस्तै कुनैपनि निषेधित वस्तुहरु साथमा लिएर नजानुहोस् ।’ प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा अनावश्यक होहल्ला नगर्न, भीडभाड नगर्न, कुनैपनि तर्कवितर्क नगर्न पनि सचेत गराए । उनले चार वटा मतपत्रमा स्वस्तिक छाप लगाएर ४ वटा छुट्टै मतपेटिकामा मतदान गरिसकेपछि मतदानको कार्य सकिने भएकाले मतदान केन्द्रबाट बाहिरि निस्किएपछि आफ्नो सिधा वासस्थानतर्फ लाग्न पनि आग्रह गरे ।
कालीकोटका गाउँमा नै विशेषज्ञ उपचार सेवा
कालीकोट । कालीकोट जिल्लाका दुर्गम रहेका स्वास्थ्य संस्थाहरुले गाउँमा नै विशेषज्ञ उपचार सेवा दिन थालेका छन् । कालीकोट जिल्लाका नौ स्थानीय तहमध्ये रास्कोट नगरपालिकाको नगर अस्पताल र तिलागुफा नगरपालिकाकोे नगर अस्पतालले गाउँमा नै विशेषज्ञ सेवा दिन थालेका हुन् । रास्कोट नगर अस्पताल र तिलागुफा नगर अस्पतालले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, जिल्ला अस्पताल कालीकोट र विशेषज्ञ सेवा दिने अन्य अस्पतालको सहयोगमा नगरपालिकाको स्वास्थ्य सेवा कार्यक्रमको आयोजनामा गाउँगाउँमा विशेषज्ञ सेवा प्रदान गर्दै आएका छन् । रास्कोट नगरपालिकाले ‘मेयर हेल्थ केयर कार्यक्रम’ मार्फत विभिन्न अस्पतालको सहयोगमा गाउँमा नै एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने गरेको छ भने तिलागुफा नगरपालिकाले ‘स्वास्थ्य सेवामा सबैैको पहुँच’ कार्यक्रम सञ्चालन गरेर स्वास्थ्य सेवा दिँदै आएका छन् । ‘मेयर हेल्थ केयर कार्यक्रम’ मार्फत गाउँगाउँमा स्वास्थ्य परीक्षण, बैंकमार्फत घरघरमा सामाजिक सुरक्षा भत्ता कार्यक्रम, साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत घरघरमा आयोडिनयुक्त नुन वितरण, कृषि सेवा, पशु सेवा र आयुर्वेद सेवामार्फत उपचार दिँदै आएको छ । रास्कोट नगरपालिकाले प्रत्येक तीन महिनामा विशेषज्ञ सेवासहित हरेक टोल तथा गाउँमा नागरिकको स्वास्थ्य परीक्षणका ‘मेयर हेल्थ केयर कार्यक्रम’ मार्फत भिडियो एक्स–रे, गर्भवती जाँच, क्षयरोग जाँच तथा उपचार, मधुमेह, रक्तचापलगायतका रोगको उपचार र औषधी वितरण गर्ने गरिएको रास्कोट नगर अस्पतालका प्रमुख कौशल न्यौपानेले जानकारी दिए । ‘हामीले देशका प्रतिष्ठित अस्पतालसँगको सहकार्यमा गाउँमा नै घुम्ती शिविर चलाएर विशेषज्ञसहित उपचार सेवा दिने गरेका छौँ ।’ विशेषज्ञ सेवामार्फत गाउँमा नै चालु आर्थिक वर्षमा झन्डै दुई हजार नागरिकलाई मोतियाविन्दुको उपचार, गर्भवती सेवा, दन्त रोगको उपचार सेवा, दम रोग, छाला रोग, अन्य जटिल प्रकारका शल्यक्रियालगायतका सेवा दिएको नगर अस्पतालका प्रमुख न्यौपानेले बताए। उनले भने, ‘नागरिकलाई जटिल रोग लाग्न नदिन पहिलो प्राथमिकता गाउँमा नै विशेषज्ञ उपचार सेवा दिएर रोगको निदान गर्नु हो ।’ गुणस्तरीय प्रभावकारी स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच पु¥याउन बस्तीस्तरमा ‘मेयर हेल्थ केयर कार्यक्रम’ मार्फत सेवा सुरुआत गरिएको रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले बताए । ‘वडास्तरमै यस कार्यक्रममार्फत विशेषज्ञसहितको चिकित्सकको टोली परिचालन गरी नागरिकलाई स्वास्थ्य सेवा दिइनेछ’, उनले भने, ‘आपत्कालीन बिरामीहरु नगर अस्पताल र स्वास्थ्य संस्थामा ल्याउनुपर्र्छ । नियमित स्वास्थ्य जाँच र थप उपचारका लागि बस्तीमा नै डाक्टरसहितको टोली पुग्ने गर्दछ ।’ ‘मेयर हेल्थ केयर कार्यक्रम’ जिल्ला अस्पताल कालीकोट, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका देशका अन्य प्रतिष्ठित विशेषज्ञ अस्पतालसँग सहकार्य गरे गाउँमा नै स्वास्थ्य शिविरमार्फत कार्यक्रम सञ्चालन गर्ने गरिएको प्रमुख शाहीले जानकारी दिए ।। गत कात्तिक २६ र २७ गते रास्कोट नगरपालिकाका विभिन्न गाउँमा मोतियाविन्दु तथा आँखा उपचार सेवाको शिविर सञ्चालन गरिएको थियो । शिविरमा एक सय ५२ जनाको मोतियाविन्दु तथा आँखाको शल्यक्रिया गरिएको प्रमुख शाहीले बताए । नगरपालिकामा आयोजनामा तेजको हिल एन्ड रुइट फाउन्डेसन आँखा अस्पताल सुर्खेतको आर्थिक सहयोगमा मोतिविन्दु तथा आँखाको निःशुल्क शल्यक्रिया गरिएको थियो । दुवै आँखा दुई वर्षदेखि देख्न छाडेको र अहिले गाउँमा नै शल्यक्रिया गरेर दुवै आँखा देख्न पाउँदा रास्कोट नगरपालिका–२ का ६७ वर्षीय अमनाथ सिम्खाडा निकै खुसी भए । ‘मेरो दुवै आँखा देख्न नपाएको दुई वर्ष भयो । उपचारका लागि बाहिर जान सक्ने अवस्था थिएन’, उनले भने, ‘दुई वर्षपछि यो संसार देख्न पाउँदा निकै खुसी भएको छु ।’ स्थानीयवासीले स्वास्थ्य परीक्षणका साथै उपचार पाएपछि नागरिकहरु गाउँमा नै सिंहदरबार आएको अनुभूति भएको वडा नं ९ का नानकली तिरुवाले बताउनुभयो । ‘बल्ल गाउँमा सिंहदरबार आएको अनुभूति छ’, उनले भने, ‘हामी गाउँका मान्छे बाहिर उपचार गर्न जान पनि डराउँछौँ ।’ मेयर–हेल्थ केयर कार्यक्रम नगरपालिका सबै वडामा प्रत्येक महिनामा सञ्चालन गरिने नगरपालिका निमिक्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले जानकारी दिनुभयो । उनले भने, ‘शत्प्रतिशत नागरिकलाई स्वास्थ्यको पहुँच पु¥याउने लक्ष्य राखेका छौँ ।’ तिलागुफा नगरपालिकाले नगरको स्वास्थ्य सेवा सुदृढीकरणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र तिलागुफा नगरपालिकाबीच विशेषज्ञ सेवा सञ्चालन गर्नका लागि सम्झौता गरेको छ । प्रतिष्ठानसँगको सहकार्यमा तिलागुफा नगरपालिका–४ को राँचुलीमा रहेको नगर अस्पतालमा नियमित विशेषज्ञ सेवा सुरु भएको र नियमित रुपमा स्वास्थ्य सेवा पाउने गरेको नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी दिए । ‘नगरवासीले उपचारका लागि टाढा नगई घर नजिकै उपचार पाउने सुनिश्चित गरिएको छ”, उहाँले भन्नुभयो, “हामीले नगरमा नै स्वास्थ्यको विशेषज्ञ सेवा नगरपालिकामा नै उपलब्ध गराउने गरेका छौँ ।’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनाको उद्देश्य तथा सातौँ सभाले निर्णय गरी निर्देशन गरेअनुसार कर्णाली प्रदेशका सबै जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि स्थानीय तह तथा सरकारी स्वास्थ्य संस्थासँग सहकार्य गर्ने र प्राविधिक सहयोग गर्ने उद्देश्यअनुरुप नै प्रतिष्ठान र तिलागुफा नगरपालिकाबीच सम्झौता भएको प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले जानकारी दिए। ‘नगरपालिकाको स्वास्थ्य संस्थामा गुणस्तरीय स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक विशेषज्ञ चिकित्सक खटाउने गरेका छौँ’ उनले भने, ‘प्रतिष्ठानले विशेषज्ञ सेवाका लागि महिनामा कम्तीमा एक पटक विशेषज्ञ चिकित्सकद्वारा शिविर सञ्चालन हुनेछ ।’ नगरपालिका स्वास्थ्य संस्थाबाट उपलब्ध हुने गुणस्तर सेवा विस्तार सुधार गर्दै नगर अस्पताल राँचुली स्वास्थ्य संस्थाबाट नियमित विशेषज्ञ सेवा सञ्चालन भएको नगर उपप्रमुख शाहीले जानकारी दिए । ‘प्रतिष्ठानले गुणस्तरीय छिटो र छरितो स्वास्थ्य सेवाका लागि टेलि–मेडिसिन सेवा सञ्चालन गरेका छौँ’, उनले भने, ‘नगरपालिका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।’ यता तिलागुफा नगरपालिकाले नगरवासीको स्वास्थ्य बीमा गर्दा ५० प्रतिशत छुट दिने गरेको छ । नगरपालिकाको पहिलो निर्णयमा नै नगरवासीको स्वास्थ्य बीमा गर्दा लाग्ने रकमको ५० प्रतिशत छुट दिने र बिरामीलाई अन्यन्त्र उपचारका लागि लैजानु परेमा निःशुल्क एम्बुलेन्स सेवा दिने रहेको छ । नगरपालिकाभित्रका गर्भवती तथा सुकेरी र ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षणका साथै निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले जानकारी दिए । ‘स्थानीय सरकारको अनुभूति गराउनका लागि हामीले स्वास्थ्य बीमामा छुट, निःशुल्क एम्बुलेन्स सेवा र गाउँमा नै स्वास्थ्यको विशेषज्ञ सेवा सञ्चालन गर्ने गरेका छौँ’, उनले भने, ‘नागरिकको स्वास्थ्यभन्दा अरू कुनै ठूलो हैन भन्ने हाम्रो लक्ष्य रहेको छ ।’ हामीले गाउँगाउँमा गएर स्वास्थ्य शिविर तथा गाउँमा नै उपचार सेवा दिन थालेको नगर अस्पताल राँचुलीका प्रमुख डा टङ्क आचार्यले जानकारी दिए।‘नगरपालिकामा नै हामीले सक्ने जति विशेषज्ञ सेवा दिने गरेका छौँ”, उहाँले भन्नुभयो, “जटिल प्रकारका बिरामीको मात्रै अन्यन्त्र उपचारका लागि पठाउने गरिएको छ ।’ हालसम्म नगर अस्पतालबाट गर्भवती, दन्त, हाडजोर्नी, छाला, दमलगायतका अन्य बिरामीको उपचार गर्ने गरिएको चालु आवमा दुई हजार एक सयजनाले उपचार लिएको डा आचार्यले बताए । ‘यहाँ सबै प्रकारका सेवा दिने गरेका छौँ । जनशक्ति कम भएका कारणले अलि समस्या रहेको छ’, उनले भने, ‘अन्यन्तै जटिल प्रकारको उपचार पहिलो चरणमा गाउँमा नै गर्न सकिन्छ भन्ने सन्देश हामीले दिएका छौँ ।’ नागरिकलाई स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्नका लागि नगर अस्पताल राँचुलीबाट ल्याब सेवा सञ्चालन गरिएको नगरपालिकाका ल्याब असिस्टेन्ट विमल बुढाले बताउनुभयो । ‘हामीले ल्याब सेवा सञ्चालन गरेका छौँ । सङ्क्रात्मक रोग, गर्भवतीको जाँच, सरुवा रोग, मलेरिया, क्षयरोग, मिर्गौला, रगत जाँचलगायतका विभिन्न प्रकार ल्याबको जाँच गर्ने गरेका छौँ’, उनले भने, ‘दुर्गममा रहेका अस्पतालबाट नागरिकले राम्रो सेवा पाऊन् भन्ने हाम्रो लक्ष्य रहेको छ ।
सोलुखुम्बुमा सुतेकै ठाउँमा मृत भेटिए मतदान अधिकृत
फाइल फाेटाे सोलुखुम्बु । सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । जिल्लाको नेचासल्यान गाउपालिका(४ स्थित फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिलजङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका रायलाई बिहान ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत फेला पारेका थिए । घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमान्डमा प्रहरी घटनास्थलमा खटिएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राईले जानकारी दिए। सर्लाही हरिपुर्वा नगरपालिका-५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए । उनले लामो समयदेखि सुगर र मुटुको औषधि प्रयोग गर्दै आएका खुलेको छ ।