विकासन्युज

केपी ओली भन्छन् : मंसिर १५ गतेपछि एमालेको बहुमतको सरकार बन्छ

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मन परेको पार्टीमा मतदान गर्न आह्वान गरेका छन् । अध्यक्ष ओलीले आईतबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ को महेन्द्र शान्ति मा।वि।को मतदान केन्द्रबाट मतदान गर्दै उहाँले निर्वाचनबाट एमालेले बहुमत ल्याउने दाबी गरे । अध्यक्ष ओलीले आगामी मंसिर १५ गतेसम्ममा एमालेको बहुमतको सरकार बन्ने र त्यो नभए एमालेसँग साझेदार गरेका दलहरुसँग मिलेर सरकार बनाउने बताए । ‘नेकपा एमालेले बहुमत ल्याउने र बहुमत नआएको खण्डमा एमालेसँग सहकार्य गरेका दलहरुको सरकार बन्नेछ, शान्तिपूर्ण रुपमा, निर्वाध रुपमा निर्वाचन सम्पन्न हुनेमा विश्वस्त छु,’ उनले भने । अध्यक्ष ओली झापा ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् । अध्यक्ष ओलीले भोट हालेको क्षेत्रमा भने नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवराका रुपमा एमाले नेता महेश बस्नेत छन् ।

देशभर १२ः४५ सम्म ३२ प्रतिशत मतदान

काठमाडाैं । आज जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर १२ः४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिएका हुन् । साथै, प्रवक्ता पौडेलले केही छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण रुपमा मतदान जारी रहेको बताए

मनाङमा ५१ प्रतिशत मत खस्यो

मनाङ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो १२ः३० बजेसम्म ५१ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १२ः३० बजेसम्म यहाँ ५१ प्रतिशत मतदान भएको हो । कुल २९ वटा मतदान केन्द्र रहेको मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन् । यहाँ कुल छ हजार सात सय ७९ मतदाता छन् ।

ओलीले भक्तपुरबाट गरे मतदान

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । आइतबार भक्तपुरको बालकोटमा रहेको निर्वाचन केन्द्रबाट ओलीले मतदान गरेका हुन् । ओली झापा-५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका छन् ।

पूर्वसहमति बिना मतदान स्थगित नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाडाैं । निर्वाचन आयाेगले पूर्वसहमति बिना मतदान स्थगित नगर्न मतदान अधिकारीहरुलाई निर्दशन दिएकाे छ । आयाेगले सूचना जारी गर्दै मतदान केन्द्रमा सामान्य विवाद हुँदैमा पूर्वसहमति बिना मतदान स्थगित नगर्न निर्दशन दिएकाे हाे । ‘मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सूचारु गर्ने र साँझ ५ बजेसम्म स्थिगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ, स्थिगित गर्नै पर्ने भए निर्वाचन आयोगको पूर्वसहमति लिनु पर्नेछ,’ सुचनामा भनिएकाे छ ।  

नेकपा बहुमतका कार्यकताले कास्कीमा फुटाए मतपेटिका

काठमाडौं । राजनिती दलकै कार्यकर्ताले कास्कीमा मतपेटिका फुटाएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाएका हुन । माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परियारले बिहान मतपेटिका उचालेर भुइमा बजारेका थिए । उनले मतपेटीका फुटाएपछि रोकिएको मतदान ११ बजेपछि पुनः सुरु भएको छ । मतपेटिका फुटाएका परियारलाई प्रहरी निरीक्षक समीक्षा घिमिरे नेतृत्वको टोलीले नियन्त्रणमा लिएको छ ।

देशको समृद्धि र सुशासनको पक्षमा काम गर्ने उम्मेदवारलाई जिताउनुस् : अध्यक्ष गोल्छा

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मतदान गरेका छन् ।उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ को सीतापाइला मा.वि.स्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशको समृद्धि र सुशासनको पक्षमा काम गर्ने उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरे । उनले देशमा समृद्धि ल्याउनसक्ने विश्वास बोकेकाहरुलाई जिताउन आवश्यक रहेको बताए । अध्यक्ष गोल्छाले मतदानको अधिकार संविधानले दिएको नैतिक र कानूनी जिम्मेवारी भएकाले सबैले आफ्नो अधिकारको प्रयोग गर्न अनुरोध गरे । उनले भने, ‘जसले यो देशलाई अघि बढाउन सक्छ, जसले देशमा समृद्धि ल्याउनसक्छ र जोसँग विश्वास छ, जसले यो देशलाई राम्रो दिशा दिनसक्छ, त्यसैलाई भोट दिऔँ । यो हाम्रो नैतिक जिम्मेवारी पनि हो । कानूनी जिम्मेवारी पनि हो । संविधानले दिएको अधिकारबाट कोही पनि वञ्चित हुनु हुँदैन ।’ अध्यक्ष गोल्छाले देशलाई परिवर्तन गर्नसक्ने नेतृत्वको चयनका लागि सबै उपस्थित भएर मतदान गर्न आग्रह गरे । आज एकै चरणमा देशभर प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । आज बिहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजेसम्म मतदान गर्न सकिनेछ ।

फिफा विश्वकपको पहिलो खेल आज राति पौने दश बजेबाट शुरु हुँदै

एजेन्सी । २२ औं फिफा विश्वकप आजबाट शुरु हुँदैछ । विश्वकपमा विश्वभरबाट ३२ टोली सहभागी हुँदैछन् । अहिलेसम्म खेलिएका सबै विश्वकप जुन र जुलाई महिनामा आयोजना गरिएको थियो तर कतारको हावापानी र गर्मीलाई ध्यानमा राख्दै यसपटकको विश्वकप भने नोभेम्बर र डिसेम्बरमा राखिएको छ । पहिलो विश्वकप सन् १९३० मा उरुग्वेमा खेलिएको थियो र आयोजक टोली उरुग्वेले जितेको थियो। विश्वयुद्धका कारण सन् १९४२ र १९४६ मा विश्वकप हुन सकेन तर त्यसपछि हरेक चार वर्षको अन्तरालमा फिफा विश्वकप निरन्तर रुपमा सञ्चालन हुँदै आएको छ । आज राती ९ः४५ बजे उद्घाटन विश्वकपको पहिलो खेल कतार र इक्वेडरबीच नेपाली समय अनुसार राति ९ः४५ बजे शुरु हुनेछ । त्यस्तै नेपाली समय अनुसार साँझ ७ः४५ बजे उद्घाटन समारोह दोहाबाट ४० किलोमिटर टाढा अल–बैत रंगशालामा हुनेछ । विश्वकपमा पदर्शन दक्षिण कोरियाली ब्यान्ड बीटीएस उद्घाटन समारोहको मुख्य आकर्षण हो। बीटीएसका सदस्य जंगकुक पहिलो पटक विश्वकपको उद्घाटन समारोहमा प्रदर्शन गर्नेछन्। यसबाहेक बलिउड अभिनेत्री नोरा फतेहीले पनि प्रस्तुति दिनेछिन् । सोसँगै अमेरिकी ब्याण्ड ब्ल्याक आइड पिस, कोलम्बियन गायक जे बाल्भिन, नाइजेरियन गायक प्याट्रिक नेमेका ओकोरी र अमेरिकी र्‍यापर लिल बेबीले प्रस्तुति दिनेछन् ।