भृकुटीमण्डपमा पुस २१ गतेबाट १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै
काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले भृकुटीमण्डपमा १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्ने भएको छ । फुटवेयरले आयोजना गर्ने अन्तर्राष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनी भृकुटीमण्डपमा तीन दिन सञ्चालन हुने छ । यही पौष २१ गतेदेखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा उक्त प्रदर्शनी हुने भएको हो । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न प्रदर्शनीको माध्यमबाट व्यापक प्रचारप्रसार गरी बाह्य बजार समेत विस्तार गर्ने रणनीतिक पहल गर्नका लागि यो प्रदर्शनी गर्न लागिएको उक्त एशोसिएसनका अध्यक्ष नानिराज घिमिरेले बताए । साथै उनले जुत्ता उत्पादनको हिसाबले आत्मनिर्भर रहेको समेत जानकारी दिए । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका अनुसार स्वदेशी जुत्ता, चप्पल बजारमा ६० प्रतिशत भन्दा बढी स्थान ओगट्न सफल भएको छ । नेपालमा लघु उद्योग, साना, मझ्यौला र ठुला गरी देशभर छरिएर रहेका १५ सय संख्यामा जुत्ता चप्पल उत्पादकहरू रहेको अनुमान गरिएको छ । जसमध्ये ठुला तथा मझ्यौला २ सय २९, साना तथा परम्परागत शिल्पीहरुमा आधारित १ हजार ७२ फेल्ट तथा हस्तकलामा आधारित २ सय रहेका छन् । हाल ९ करोड जोडी जुत्ता चप्पल आन्तरिक बजारको माग रहेको पनि फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष तथा मेला संयोजक सुरज बञ्जाडेले बताए । प्रदर्शनी विभिन्न ब्राण्डका छाला तथा अन्य चप्पल बनाउने कम्पनीहरूको सहभागितामा हुनेछ । बञ्जाडेका अनुसार नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हुन लागेको हो । देश भरीबाट ४० देखि ५० हजार औद्योगिक, डिलर, होलसेलर, खुद्रा व्यापारीको सहभागी हुने अपेक्षा छ, प्रदर्शनीमा विदेशी कच्चा पदार्थ, मेशिनरी र प्रविधि सहितको ४० भन्दा बढी कम्पनीका स्टल रहने छन्, नेपाली फुटवेयरका ५० कम्पनी सहभागी हुने छन्,’ उनले भने । प्रर्दशनीमा एउटै छाना मुनि देशभरिका उद्योगी हुने हुँदा नयाँ डिजाइन, विकास र प्रतिस्पर्धी मूल्य छानेर कारोबार गर्नको लागि सहजता हुने आयोजक टिमको विश्वास छ । प्रदर्शनीमा नेपालका ठूला उत्पादकदेखि साना घरेलु उद्योगहरूलाई समावेश गरिएको स्टलको मूल्य तिर्न नसक्नेलाई निःशुल्क स्टलको व्यवस्था मिलाएको पनि बञ्जाडेले जानकारी दिए । तीन दिने प्रदर्शनीमा लाखौं विदेशी तथा नेपाली नागरिक अवलोकन गर्ने अपेक्षा आयोजक टिमले लिएको छ ।
बजेटले खारेज गरेको मेलम्ची खानेपानी विकास समितिको कार्यक्षेत्र काठमाडौं उपत्यका समेत हुने
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को बजेटले मेलम्चीबाट काठमाडौं खानेपानी ल्याउनको लागि काम गरिरहेको समितिलाई खारेज गरिदिएको थियो । बजेटले विकास समितिलाई खारेज गरेर सो समितिबाट सम्पादन हुने काम खानेपानी तथा ढल व्यवस्थापन विभागबाट हुने भनी निर्णय गरेको थियो । तर, बजेटमा गरिएको निर्णयलाई कार्यान्वयन गर्ने भन्दापनि खानेपानी मन्त्रालयले विकास समितिलाई नयाँ कार्यक्षेत्र विस्तार सहित अगाडि बढाउन आवश्यक तयारी गरेको मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले बताए । पौडेलका अनुसार काठमाडौं उपत्यका भित्र रहेका अन्य खानेपानीका स्रोतहरुमा समेत काम गर्नेगरी नयाँ विकास समिति बनाउने गरी मन्त्रालयले आवश्यक कानूनी प्रकृया अगाडि बढाएको छ । गठन आदेशबाट निर्माण गरिएको समितिलाई मेलम्ची–काठमाडौं खानेपानी विकास समितिको नयाँ नाम राखेर निर्माण गर्न खोजिएको उनले बताए । ‘काठमाडौं उपत्यकाभित्र रहेका अन्य खानेपानीका स्रोतहरु पनि छन्, ती स्रोतहरुमा समेत काम गर्ने गरी हामीले नयाँ व्यवस्थाको लागि कानून मन्त्रालयमा ड्राफ्ट पठाएका छौं’, उनले भने, ‘विगतको व्यवस्थालाई समयानुकुल समृद्ध बनाएर नयाँ कार्यक्षेत्र सहित समिति बन्नेछ ।’ कानून मन्त्रालयले राय सुझाव दिइसकेपछि मन्त्रीपरिषदको बैठकमा गठन आदेशको नयाँ प्रकृयालाई पेस गरिनेछ । विकास समितिलाई खारेज गर्ने निर्णय गरेपछि भने समितिमा काम गर्ने कर्मचारीको तलब भत्तामा नियमितता हुन सकेको छैन् । चालु आर्थिक वर्षको बजेटले मेलम्ची खानेपानी विकास समिति खारेज गरिदिएपछि समिति मातहत रहेका कर्मचारीहरुको पारिश्रमिक नियमित हुन नसकेको हो । समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तका अनुसार चालु आर्थिक वर्षको बजेटले समिति खारेज गरिदिएपछि समिति मातहतका कर्मचारीहरुको तलब भत्ता नियमित हुन नसकेकाे बताए । उनका अनुसार पछिल्लो असोज देखि मंसिरसम्म ३ महिनाको तलब विकास समितिका कर्मचारीले पाएका छैनन् । सूचना अधिकारी पन्तका अनुसार गएको दशैंमा कर्मचारीहरुले अनुरोध गरेपछि समितिका निर्देशकले पहल गरेर कर्मचारीहरुलाई २ महिनाको तलब र दशैं भत्ता उपलब्ध गराएका थिए । त्यसपछि बोर्डको अभावमा समितिले कुनै निर्णय गर्न नसकेको उनले विकासन्युजलाई बताए । तलब भत्ताको प्रकृयामा ढिलाई भएपनि त्यो समस्या नहुने खानेपानी मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले बताए । ‘तोकिएको तलब पाउने विषयमा कुनै समस्या रहन्न् तर छुट्टै भत्ता भुक्तानीको लागि अर्थले स्वीकृति दिएमा मात्रै सम्भव छ’, उनले भने । मेलम्ची खानेपानी विकास समितिमा ६८ जना कर्मचारी कार्यरत रहेका छन् । जसमध्ये ३२ जना निजामती सेवातर्फका र ३६ जना विकास समिति तर्फका कर्मचारी रहेका छन् । जसमध्ये १६ जना विकास समितिका स्थायी कर्मचारी रहेका छन भने अन्य करार सेवाका रहेका छन् । सूचना अधिकारी पन्तका अनुसार विकास समितिका स्थायी कर्मचारी प्रकृया परीक्षाको प्रकृया पुरा गरेर नै स्थायी भएका हुन् ।
प्राविधिक विश्लेषणको क्षेत्रमा एक निवनतम सफ्टवेयर ‘मेरोलगानी एआईचार्ट’ सार्वजनिक
काठमाडौं । एस्ट्रिक टेक्नोलोजीले प्राविधिक विश्लेषणको क्षेत्रमा एक निवनतम सफ्टवेयर ‘मेरो लगानी एआईचार्ट’ सार्वजनिक गरेको छ । अंग्रेजी नयाँ वर्ष सन २०२३ को जनवरी १ (पुस १७ गते) को अवसरमा एस्ट्रिक टेक्नोलाजीले, निष्पक्ष रुपमा प्राविधिक विश्लेषण गर्ने एआई चार्ट बजारमा ल्याएको हो । विगत १० वर्षदेखि नेपाली पूँजीबजारलाई मूख्य धार बनाइ समग्र अर्थतन्त्रसम्बन्धि समाचार सम्प्रेषण गर्दै आएको मेरोलगानी डटकम सञ्चालन गर्ने एस्ट्रिक टेक्नोलोजीले हरेक वर्गका लगानीकर्ताहरुका लागि यो नयाँ प्रडक्ट अनवरण गरेको जनाएको छ । कम्पनीले सर्वाजनिक गरेको यो नविनतम सफ्टवेयरमा नेप्सेका हरेक सूचक, हरेक सेक्टर, हरेक स्टकहरुको निष्पक्ष प्राविधिक विश्लेषण हेर्न सकिनेछ । प्राविधिक विश्लेषणका हरेक पाटाहरुलाई नियाल्दै ‘स्मार्ट मनि कन्सेप्ट र प्राइस एक्सन ट्रेडिङ्ग’ लाई प्रयोग गरेर ‘इन्स्टीच्युसनल अर्डर फ्लो’हरुलाई ट्रयाक गरी निष्पक्ष विश्लेषण यस सफ्टवेयरमा देख्न सकिने कम्पनीले जनाएको छ । यो एकदमै एडभान्स लेभलको सफ्टवेयर हो । कुनै पनि बजारमा शतप्रतिशत मिल्ने गरी प्रक्षेपण गर्न सकिँदैन । यस सफ्टवेयरले हरेक लगानीकर्ताहरुलाई व्यवहारिक रुपमा ७० देखि ८० प्रतिशतसम्मको एक्यूरेशि दिने कम्पनीको भनाई छ । जथाभावी विश्लेषण गरेर प्राविधिक विश्लेषण र विश्लेषक दुबै बदनाम भइरहेको अवस्थामा यस सफ्टवेयरले प्राविधिक विश्लेषणमाथि आम लगानीकर्ताको अवधारणा नै परिवर्तन गर्ने कम्पनीको विश्वास छ । यस सफ्टवेयरको सहयोगले हरेक लगानीकर्ताहरुले बजार अब कता जान्छ ? जोखिम कति छ ? प्रतिफल कति छ ? कहिले खरिद गर्ने ? कहिले बिक्री गर्ने ? लगायतका विश्लेषण आफैले गर्न सक्ने कम्पनीले जनाएको छ । यस एआईचार्ट जो कोही लगानीकर्ताले पनि बुझ्न सकिने गरि निर्माण गरिएको छ । भर्खरै शेयर बजारमा प्रवेश गरेका लगानीकर्ताहरुका लागि सजिलो हुने गरी यसमा सेल जोन र बाई जोन राखिएको छ जसका आधारमा जो कोहीले पनि लगानीको निर्णय गर्न सक्ने कम्पनीले दाबी गरेको छ ।
दूधको मूल्यवृद्धि स्थगन, अध्ययन गरेर समायोजन गर्ने सहमति
काठमाडौं । दूधको उत्पादन लागत बढेको भन्दै बिक्री मूल्य बढाएका डेरी व्यवसायीहरूले मूल्यवृद्धिको निर्णय फिर्ता लिएका छन्। आज कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव, दुग्ध विकास बोर्ड र सरोकारवालाबीच भएको छलफलपछि दूधको मूल्यवृद्धिको निर्णय स्थगन भएको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले जानकारी दिए। ‘आज सरोकारवाला निकायहरूसँग बसेको बैठकको निर्णयअनुसार हाल वृद्धि गरिएको दूधको मूल्य स्थगन गरिएको छ। दूधको उत्पादन लागत मूल्य, बजार मूल्यको वृद्धि तथा उपभोक्ता क्रयशक्तिसमेतको वैज्ञानिक तवरबाट यथाशीघ्र अध्ययन गरी मूल्य समायोजन गर्न सहमति भएको छ’ यादवले भने। दूधको मूल्यवृद्धि स्थगन भएको बारे राष्ट्रिय दुग्ध विकास बोर्डले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी सङ्घ र डेरी उद्योग सङ्घलाई आइतबार नै पत्राचार गरिसकेको छ। तर, नेपाल डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले भने आजको छलफलबाट कुनै सहमति नभएको प्रतिक्रिया दिए। ‘आजको छलफलबाट आएको निष्कर्षप्रति हामी सहमत छैनौँ। कुन आधारमा मूल्य बढाउन पाइँदैन र बढाएको मूल्य लिन पाइँदैन भनेर बोर्डले हामीलाई पत्र काटोस्। हामी फिर्ता लिन्छौँ’, दाहालले भने। आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन, २०१७ मा दूधलाई आवश्यक खाद्य पदार्थमा उल्लेख गरेको छ। तर केही उद्योगहरुले शनिबारदेखि लागू हुनेगरी दूधको मूल्य आफूखुसी प्रतिलिटर रु १४ सम्म बढाएका थिए। किसानबाट खरिद गर्दा महँगो परेका कारण बजार बिक्री मूल्य पनि महँगो भएको उनीहरुको भनाइ छ। केही सीमित डेरी उद्योगीहरुले मात्रै आफूखुसी मूल्य बढाएपछि नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी सङ्घ, किसानका छाता संस्था र उपभोक्ता अधिकारकर्मीहरुले त्यसको विरोध गरेका थिए। दूधमा अहिले भएको मूल्यवृद्धि विद्यमान कानुनी व्यवस्थाभन्दा विपरीत छ। राष्ट्रिय दुग्ध विकास नीति २०७८ मा ‘वार्षिक मूल्यवृद्धि एवम् उत्पादन लागतका आधारमा दूधको मूल्यलाई हरेक दुई वर्षमा दुग्ध विकास बोर्डको अध्ययन प्रतिवेदनका आधारमा पुनरावलोकन गर्ने व्यवस्था गरिनेछ’, भनी उल्लेख छ। त्यस्तै, राष्ट्रिय दुग्ध विकास बोर्ड ऐन २०४८ को दफा ६ (ख) मा ‘दुग्ध विकास बोर्डले दूधको मूल्य निर्धारण गर्ने नीति तर्जुमा गरी नेपाल सरकार समक्ष सिफारिस गर्ने’ उल्लेख छ। यसरी विद्यमान कानुनी व्यवस्थाले दूधको मूल्य हरेक दुई वर्षमा परिमार्जन गरिनुपर्ने व्यवस्था रहेपछि व्यवसायीहरुले भने ११ महिनामै मूल्य बढाएका हुन्। यसअघि बोर्डको सिफारिसमा सरकारले २०७८ माघमा दूधको मूल्य तोकेको थियो। तर, एक वर्ष नपुग्दै व्यवसायीहरुले एकतर्फी रुपमा मूल्य बढाएका थिए। दूधको उत्पादन लागत बढेको र किसानबाट खरिद गर्ने मूल्य नै महँगो परपछि मूल्य बढाउनु परेको डेरी उद्योगीहरुको भनाइ छ। दाना, चोकरको मूल्य बढेको, कर्मचारीको तलबदेखि बैंकको ब्याजसम्म बढेको र मूल्य बढाउन किसानले पटक–पटक दबाब दिए कारण मूल्य बढाउनु परेको उनीहरुले बताउँदै आएका छन्।
प्रधानमन्त्री प्रचण्डले बोलाए सचिवहरुको बैंठक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न मन्त्रालयका सचिवहरुको बैठक बोलाएका छन् । उनले बिहान ११ बजे सिंहदरबारमा मन्त्रालयका सचिवहरुको बैठक बोलाएका हुन् । मन्त्रालयकोे अबस्थाबारे जानकारी लिदै प्रभावकारी ढंगले काम गर्न निर्देशन दिन सबै मन्त्रालयका सचिवको बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सन नेपाल लाइफको अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न, ५ शाखाका अभिकर्तालाई तालिम
काठमाडौं । सन नेपाल लाइफले विभिन्न जिल्लामा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले गत १३ गतेदेखि शनिबारसम्म बित्र्तामोड, इलाम, बिराटनगर, इटहरी र धरान शाखा कार्यालयहरुमा अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । जनमानसमा बिमाको महत्व, बिमा दावि भुक्तानी लगाएतका महत्वपूर्ण प्रशिक्षण कम्पनिका महाप्रबन्धक कमलराज गौतमद्धारा प्रदान गरीएको थियो । कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो । देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन समेत गर्न गइरहेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : अर्थतन्त्र चलायमान हुने विश्वास
पोखरा । पोखरामा आइतबारदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सही उपयोग भएमा यसले पोखरासँगै समग्र राष्ट्रको अर्थतन्त्र चलायमान गराउने विश्वास व्यक्त गरिएको छ । झण्डै पाँच दशकको निरन्तरको प्रयाससगै विमानस्थलबाट जहाज उड्ने र अवतरण हुन थालेसँगै आगामी दिनमा यो पोखराको समृद्धि र विकासका लागि कोसेढुङ्गा बन्नुपर्ने सरोकारवालाले बताएका छन् । विमानस्थल सञ्चालनका विभिन्न पूर्वाधारको अभावकै बीच विमानस्थल सञ्चालनमा आएपनि यसले पोखरेलीलाई कति उत्साहित बनाएको थियो भन्ने कुरालाई आइतबार उर्लेको पोखरेलीको जनसागरले प्रष्ट सङ्केत गर्दथ्यो । हजारौँ पोखरेलीको सहभागितामा भव्यताका साथ उद्घाटन भएको विमानस्थल सञ्चालनमा आएसँगै यसले आगामी दिनमा यसले गण्डकी प्रदेशसँगै समग्र राष्ट्रको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने विषय गम्भीरताका साथ उठेको छ । हालसम्मको अवस्थाले गण्डकी प्रदेश उद्योग व्यवसायका क्षेत्रमा पछि नै रहेको छ । नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्य पोखरामा हालसम्म आन्तरिक उडानका लागि सानो क्षमताको घरेलु विमानस्थल रहीआएकोमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलसँगै त्यसले अन्य सम्भावनालाई उजागर गरेको लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेय बताउँछन् । हाल पोखराबाट लगभग आधा घण्टाको दूरीमा मात्र उडान भइरहेका अवस्थामा अब भने यहाँबाट सिधैँ छ घण्टासम्मको दूरीमा यात्रा गर्न सकिने भएको छ । उद्घाटन समारोहमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले यो विमानस्थलबाट पाँच/छ घण्टाको दूरीको यात्रा गर्न सकिने भनिरहँदा पोखरेलीले लगातार ताली वर्षाएर खुसी व्यक्त गरेका थिए । यो सँगै पोखराबाट विभिन्न छिमेकी राष्ट्रमा उडान गर्न सकिने बाटो खुलेको छ । यसका लागि हवाई मार्ग तय गर्ने सम्बन्धमा राज्यले कूटनीतिक छलफल तत्काल बढाउनु अपहिार्य देखिएको छ । विमानस्थलसँग जोडिएको मुख्य पूर्वाधार सडकलाई तत्काल व्यवस्थित गर्नु अपरिहार्य देखिएको अध्यक्ष आत्रेयको भनाइ छ । ‘विमानस्थल सुरु भएसँगै आइतबार पोखराबाट लेखनाथसम्म आइपुग्न झण्डै तीन/चार घण्टा लागेको छ’, उनले भने, ‘विमानस्थलसम्म सहजरुपमा आवतजावत गर्नका लागि ट्राफिक व्यवस्थापनलाई तत्काल गम्भीरताका साथ लिनुपर्ने भएको छ ।’ विमानस्थल सञ्चालनमा आएसँगै पर्यटकलाई बस्ने किसिमका पूर्वाधारको विस्तार गर्नु आवश्यक रहेको उनले बताए । विमानस्थललाई सहीरुपमा उपयोगको वातावरण निर्माणतर्फ राज्यले ध्यान दिनुपर्ने बताउँदै उनले यसले पोखरासँगै समग्र राष्ट्रको अर्थतन्त्रमा विशिष्ट योगदान पुग्ने उल्लेख गरे । ‘आगामी दिनमा पोखरासहित समग्र गण्डकी प्रदेशमा उत्पादनलाई पनि जोड दिनु आवश्यक छ’, उनले भने, ‘यहाँका उत्पादनलाई बाहिर पठाउने अवस्था भयो भने त्यसले प्रत्येक स्थानीयको आम्दानी बढाउने र समग्र अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छ ।’ पोखरामा विद्यमान पर्यटकीय पूर्वाधारलाई पनि व्यवस्थितरुपमा उपयोग गर्नुपर्ने सरोकारवाला बताउँछन् । पोखरामा प्रत्येक दिन ४० हजारसम्म पर्यटक राख्न सक्ने क्षमता रहेको पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । तथ्याङ्कअनुसार काठमाडौं आएका विदेशी पर्यटकमध्ये ४० देखि ४५ प्रतिशत पर्यटक पोखरा आउने गर्दछन् । नेपाल आएकामध्ये करिब ६० प्रतिशत विदेशी पर्यटक मनोरञ्जनका लागि आउने गरेको र ४० देखि ४५ प्रतिशत पोखरा पुग्ने गरेका छन् । पोखरा देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा रहेको अवस्थामा सञ्चालनमा आएको पोखरा अन्तराष्ट्रिय विमानस्थलले यहाँको पर्यटनमा ठूलो योगदान पु¥याउने नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेशका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले बताए । पर्यटन क्षेत्र उद्योग, व्यवसाय, यातायातलगायतका धेरै क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित रहेको उल्लेख गर्दै उनले यसबाट धेरै क्षेत्र लाभान्वित हुने बताए । ‘पर्यटकको आगमन बढेसँगै स्वभाविकरुपमा खानेकुराको खपत हुन्छ, त्यसले उत्पादित खाद्यान्नले बजार पाउँछ’, उनले भने, ‘खाद्यान्नसँगै त्यससँग जोडिएका खाद्य उद्योग सञ्चालनमा आउने र अर्थतन्त्रलाई चलायमान बनाउने हुन्छ ।’ हिमाली, पहाडी र तराई क्षेत्रमा समेटिएको गण्डकीमा विभिन्न किसिमका उत्पादन हुने गर्दछ । हिमाली क्षेत्रमा उत्पादन हुने स्याउलगायतका फलफूलसँगै जिम्बु आदि जडीबुटीलाई निर्यात गर्न सकिन्छ भने पहाडी क्षेत्रमा फल्ने कोदो, मकै, फापर आदिलाई बजारमा पुर्याउन सकिन्छ । तराईको नवलपुर क्षेत्रमा उत्पादन हुने धान, गहुँ आदिको उत्पादन बढाउँदै आयआर्जन बढाउन सकिने सरोकारवालाको बताउँछन् ।
पहिलोपटक खुल्यो क्यासलेस मेडिकल सेन्टर : सुरूमा उपचार, त्यसपछि भुक्तानी
काठमाडौं। नेपालमै पहिलो पटक सुरूमा उपचार सेवा लिएपछि मात्रै भुक्तानी गर्न मिल्ने गरि क्यासलेस मेडिकल सेन्टर सञ्चालनमा आएको छ। जसबाट सुरूमै रकम बोकेर जानुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ। सुरूको उपचार सेवालाई विशेष ध्यान दिँदै पहिले सेवा र त्यसपछि मात्र भुक्तानी भन्ने अवधारणा ल्याइएको सञ्चालक डा. विशाल ढकालले बताए। यस किसिमको सेवा नेपालमै र संभवत दक्षिण एशियामै पहिलोपटक हो। यस मेडिकल सेन्टरमा सुरूमा उपचार सेवा लिएपछि मात्र अन्तिममा बिल प्राप्त हुनेछ। जुन रकमको भुक्तानी कुनैपनि माध्यमबाट सोही महिनाको अन्तिममा तथा किस्ताबन्दीमा भुक्तानी गर्न सकिने कार्यविधि बनाइएको छ। मेडप्रो इन्टरनेशनल प्रालीको सञ्चालनमा मेडप्रो इन्टरनेशनल मेडिकल सेन्टर राजधानीको धुम्बाराहीमा सञ्चालनमा आएको हो। जहाँ सुरूमा उपचार गरेर मात्र भुक्तानीको प्रक्रिया सुरू हुनेछ। मेडिकल सेन्टरको सुविधा लिन सुरूमा सदस्य बन्नुपर्नेछ। यस सेन्टरबाट सदस्य बनेपछि मात्र सेवा लिन सकिने भएकाले सुरूमा दर्ता हुनुपर्नेछ। यस सेन्टरमा क्रेडिट बेशमा सेवा लिन पाइनेछ। जहाँ डाक्टरहरूको अपोइन्टमेन्ट लिएर मात्र उपचार गर्न सकिनेछ। यो पोलिक्लिनकल स्तरको मेडिकल सेन्टर रहेको छ। जसमा एक्स्रे, अल्ट्रासाउण्ड, ल्याब्रोटरी सेवा, विशेषज्ञ डाक्टरहरूको परामर्श सेवा जस्ता सुविधाहरू रहेका छन्। एकैस्थानबाट सबै किसिमका उपचार हुनेछन्। जसले घरमै पुगेर समेत उपचार सेवा गर्ने छ। अंग्रेजी नयाँ वर्ष २०२३ को उपलक्ष्यमा यस मेडिकल सेन्टरलाई सञ्चालनमा ल्याइएको हो। कम्पनीबाट सुरूमा रोग निदान गरेर सोही अनुसारको सेवा प्रदान हुनेछ। यसमा सुगर,प्रेसर, मुटुरोग लगायतका दिर्घरोगीका साथै सबै किसिमका रोगहरूको उपचार सेवा प्रदान हुनेछ। यसमा सेन्टरले विभिन्न किसिमका उपचार प्याकेज बनाएको छ। जसअन्तरगत २४ घण्टा औषधी, ल्याव तथा चिकित्सक परामर्श सेवाको सुविधा हुनेछ।