
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को बजेटले मेलम्चीबाट काठमाडौं खानेपानी ल्याउनको लागि काम गरिरहेको समितिलाई खारेज गरिदिएको थियो । बजेटले विकास समितिलाई खारेज गरेर सो समितिबाट सम्पादन हुने काम खानेपानी तथा ढल व्यवस्थापन विभागबाट हुने भनी निर्णय गरेको थियो । तर, बजेटमा गरिएको निर्णयलाई कार्यान्वयन गर्ने भन्दापनि खानेपानी मन्त्रालयले विकास समितिलाई नयाँ कार्यक्षेत्र विस्तार सहित अगाडि बढाउन आवश्यक तयारी गरेको मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले बताए ।
पौडेलका अनुसार काठमाडौं उपत्यका भित्र रहेका अन्य खानेपानीका स्रोतहरुमा समेत काम गर्नेगरी नयाँ विकास समिति बनाउने गरी मन्त्रालयले आवश्यक कानूनी प्रकृया अगाडि बढाएको छ । गठन आदेशबाट निर्माण गरिएको समितिलाई मेलम्ची–काठमाडौं खानेपानी विकास समितिको नयाँ नाम राखेर निर्माण गर्न खोजिएको उनले बताए ।
‘काठमाडौं उपत्यकाभित्र रहेका अन्य खानेपानीका स्रोतहरु पनि छन्, ती स्रोतहरुमा समेत काम गर्ने गरी हामीले नयाँ व्यवस्थाको लागि कानून मन्त्रालयमा ड्राफ्ट पठाएका छौं’, उनले भने, ‘विगतको व्यवस्थालाई समयानुकुल समृद्ध बनाएर नयाँ कार्यक्षेत्र सहित समिति बन्नेछ ।’ कानून मन्त्रालयले राय सुझाव दिइसकेपछि मन्त्रीपरिषदको बैठकमा गठन आदेशको नयाँ प्रकृयालाई पेस गरिनेछ ।
विकास समितिलाई खारेज गर्ने निर्णय गरेपछि भने समितिमा काम गर्ने कर्मचारीको तलब भत्तामा नियमितता हुन सकेको छैन् । चालु आर्थिक वर्षको बजेटले मेलम्ची खानेपानी विकास समिति खारेज गरिदिएपछि समिति मातहत रहेका कर्मचारीहरुको पारिश्रमिक नियमित हुन नसकेको हो ।
समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तका अनुसार चालु आर्थिक वर्षको बजेटले समिति खारेज गरिदिएपछि समिति मातहतका कर्मचारीहरुको तलब भत्ता नियमित हुन नसकेकाे बताए । उनका अनुसार पछिल्लो असोज देखि मंसिरसम्म ३ महिनाको तलब विकास समितिका कर्मचारीले पाएका छैनन् ।
सूचना अधिकारी पन्तका अनुसार गएको दशैंमा कर्मचारीहरुले अनुरोध गरेपछि समितिका निर्देशकले पहल गरेर कर्मचारीहरुलाई २ महिनाको तलब र दशैं भत्ता उपलब्ध गराएका थिए । त्यसपछि बोर्डको अभावमा समितिले कुनै निर्णय गर्न नसकेको उनले विकासन्युजलाई बताए ।
तलब भत्ताको प्रकृयामा ढिलाई भएपनि त्यो समस्या नहुने खानेपानी मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले बताए । ‘तोकिएको तलब पाउने विषयमा कुनै समस्या रहन्न् तर छुट्टै भत्ता भुक्तानीको लागि अर्थले स्वीकृति दिएमा मात्रै सम्भव छ’, उनले भने ।
मेलम्ची खानेपानी विकास समितिमा ६८ जना कर्मचारी कार्यरत रहेका छन् । जसमध्ये ३२ जना निजामती सेवातर्फका र ३६ जना विकास समिति तर्फका कर्मचारी रहेका छन् । जसमध्ये १६ जना विकास समितिका स्थायी कर्मचारी रहेका छन भने अन्य करार सेवाका रहेका छन् । सूचना अधिकारी पन्तका अनुसार विकास समितिका स्थायी कर्मचारी प्रकृया परीक्षाको प्रकृया पुरा गरेर नै स्थायी भएका हुन् ।