पहिलोपटक खुल्यो क्यासलेस मेडिकल सेन्टर : सुरूमा उपचार, त्यसपछि भुक्तानी
काठमाडौं। नेपालमै पहिलो पटक सुरूमा उपचार सेवा लिएपछि मात्रै भुक्तानी गर्न मिल्ने गरि क्यासलेस मेडिकल सेन्टर सञ्चालनमा आएको छ। जसबाट सुरूमै रकम बोकेर जानुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ। सुरूको उपचार सेवालाई विशेष ध्यान दिँदै पहिले सेवा र त्यसपछि मात्र भुक्तानी भन्ने अवधारणा ल्याइएको सञ्चालक डा. विशाल ढकालले बताए। यस किसिमको सेवा नेपालमै र संभवत दक्षिण एशियामै पहिलोपटक हो। यस मेडिकल सेन्टरमा सुरूमा उपचार सेवा लिएपछि मात्र अन्तिममा बिल प्राप्त हुनेछ। जुन रकमको भुक्तानी कुनैपनि माध्यमबाट सोही महिनाको अन्तिममा तथा किस्ताबन्दीमा भुक्तानी गर्न सकिने कार्यविधि बनाइएको छ। मेडप्रो इन्टरनेशनल प्रालीको सञ्चालनमा मेडप्रो इन्टरनेशनल मेडिकल सेन्टर राजधानीको धुम्बाराहीमा सञ्चालनमा आएको हो। जहाँ सुरूमा उपचार गरेर मात्र भुक्तानीको प्रक्रिया सुरू हुनेछ। मेडिकल सेन्टरको सुविधा लिन सुरूमा सदस्य बन्नुपर्नेछ। यस सेन्टरबाट सदस्य बनेपछि मात्र सेवा लिन सकिने भएकाले सुरूमा दर्ता हुनुपर्नेछ। यस सेन्टरमा क्रेडिट बेशमा सेवा लिन पाइनेछ। जहाँ डाक्टरहरूको अपोइन्टमेन्ट लिएर मात्र उपचार गर्न सकिनेछ। यो पोलिक्लिनकल स्तरको मेडिकल सेन्टर रहेको छ। जसमा एक्स्रे, अल्ट्रासाउण्ड, ल्याब्रोटरी सेवा, विशेषज्ञ डाक्टरहरूको परामर्श सेवा जस्ता सुविधाहरू रहेका छन्। एकैस्थानबाट सबै किसिमका उपचार हुनेछन्। जसले घरमै पुगेर समेत उपचार सेवा गर्ने छ। अंग्रेजी नयाँ वर्ष २०२३ को उपलक्ष्यमा यस मेडिकल सेन्टरलाई सञ्चालनमा ल्याइएको हो। कम्पनीबाट सुरूमा रोग निदान गरेर सोही अनुसारको सेवा प्रदान हुनेछ। यसमा सुगर,प्रेसर, मुटुरोग लगायतका दिर्घरोगीका साथै सबै किसिमका रोगहरूको उपचार सेवा प्रदान हुनेछ। यसमा सेन्टरले विभिन्न किसिमका उपचार प्याकेज बनाएको छ। जसअन्तरगत २४ घण्टा औषधी, ल्याव तथा चिकित्सक परामर्श सेवाको सुविधा हुनेछ।
ऐतिहासिक ‘कोटघर’ पुग्न कलात्मक पदमार्ग तयार
गलकोट । गलकोट नगरपालिका –३ मा रहेको ऐतिहासिक ‘कोटघर’ लाई पर्यटकीय गन्तव्य बनाउन कलात्मक पदमार्ग निर्माण गरिएको छ । गलकोट नगरपालिकाको हटिया बजारबाट कोटघरको पहुँचमार्गदेखि कोटघरसम्म कलात्मक पदमार्ग तयार गरिएको हो । स्थानीय ढुङ्गाको प्रयोग गरेर कलात्मक पदमार्ग तयार गरिएको कोट पूजा व्यवस्थापन समितिका सचिव गुञ्जबहादुर खत्रीले बताए । गण्डकी प्रदेशको पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको दश लाख अनुदान र नगरपालिकाको सहयोगमा पदमार्ग निर्माण गरिएको हो । झण्डै १३ लाख खर्चेर पूरा गरिएको पदमार्गमा स्थानीयले तीन लाख बढीको श्रमदान गरेका थिए । एक सय ४४ सिँढी रहेको पदमार्ग निर्माणका लागि ढाँडको पाखो सामुदायिक वनमा रहेको स्थानीय कालो ढुङ्गाको प्रयोग गरिएको खत्रीले जानकारी दिए । ‘पदमार्ग र कोटघर वरपरका संरचनासमेत मल्लकालीन कलाशैली प्रयोग गरेर तयार गरेका हौँ’, उनले भने, ‘बागलुङमा कालिगड नपाएपछि म्याग्दी र गोरखाबाट ल्याएर ढुङ्गा तयार गरिएको थियो ।’ कालो रङको कटान गर्न सजिलो भएकाले उपभोक्ताले उक्त ढुङ्गा प्रयोगमा ल्याएका हुन् । पदमार्गमा ढुङ्गाको जडान बिन्दुमा मात्रै बालुवा सिमेन्टको प्रयोग गरिएको छ भने बाँकी सबै संरचना स्थानीय ढुङ्गाको प्रयोगबाट तयार भएका छन् । चार वर्षअघि नगरपालिकाले ‘गौरवको आयोजना’ को रुपमा निर्माण थालेको कोटघर पुग्ने पदमार्ग र तारवार तथा पर्खाल निर्माणको काम कोरोना महामारीका कराण रोकिएर अलपत्र परेको थियो । ५० लाखको लागतमा निर्माण थालिएको काम कोरोना महामारीका कारणबीचमै रोकिएर १२ लाख फिर्ता भएपछि पदमार्ग अलपत्र थियो । प्रयोग भएको रु ३८ लाखमध्येबाट कोट पूजा व्यवस्थापन समितिले नेपालकै सबैभन्दा ठूलो दाबी गरिएको ६० किलोको खुकुरी खरिद गरेर कोटघरमा राखेको छ । वडा कार्यालय र नगरपालिकाको पहलमा प्रदेश सरकारले अपुग रकम विनियोजन गरेपछि पदमार्गले पूर्णता पाएको उपभोक्ता समितिका सचिव सन्तबहादुर खत्रीले बताए । कोटघरको वरपर पर्खाल तयार गरिएको छ भने सोही बजेटबाट तारजाली लगाएर सुरक्षित गरिएको खत्रिले बताए । ‘मल्लकालीन इतिहास बोकेको कोटघरमा पर्यटक भित्र्याउने हाम्रो लक्ष्य हो, दसैँ र चैतेदसैँमा लाग्ने मेलामा सर्वसाधारणको भीड लाग्ने गरेको भए पनि पदमार्ग नहुँदा जोखिम थियो’, उनले भने, ‘पौराणिक महत्व झल्किने गरी कोटघरलाई तयार गर्दा पर्यटक आउँछन् र यहाँको विकास हुन्छ ।’
५१ दशमलव २९ प्रतिशतले ‘रिकभर’ भयो पर्यटन आगमन
काठमाडौं । कोरोना महामारी सुरु हुनुभन्दा अघिको तुलनामा नेपाल भित्रिने पर्यटकको सङ्ख्या ५१ दशमलव २९ प्रतिशतले ‘रिकभर’ भएको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार एक वर्षमा ६ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटक भित्रिएका छन् । जुन सन् २०२१ को तुलनामा तीन सय नौ दशमलव ७५ प्रतिशतले बढी हो भने सन् २०२० को तुलनामा एक सय ६६ दशमलव ९२ प्रतिशतले बढी हो । सन् २०२० को सुरुवातमै विश्वव्यापी कोरोना महामारीको सङ्क्रमणका कारण दुई वर्ष उल्लेख्य रुपमा घटेको पर्यटनको सङ्ख्या सन् २०२२ मा भने बढेको हो । सरकारले सन् २०१९ को तुलनामा ७५ प्रतिशतले पर्यटकको सङ्ख्या ‘रिकभर’ गर्ने लक्ष्य लिए पनि ५१ दशमलव २९ प्रतिशत ‘रिकभर’ भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले सरकारले सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने र सन् २०३३ सम्ममा वार्षिक ३५ लाख पर्यटक ल्याउने लक्ष्य लिएको बताए । ‘भारत र चीन दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक भएको नेपालमा हाम्रो लक्ष्य ठूलो होइन,’ उनले भने, ‘पर्यटक बढाउनका लागि आवश्यक पूर्वाधारको निर्माण तथा प्रचारप्रसारमा विशेष ध्यान दिन जरुरी छ ।’ सरकारले सन् २०२३र३३ को अवधिलाई नेपाल भ्रमण दशकका रुपमा मनाउने गरी कार्यक्रम अघि बढाएको छ ।
मुआब्जा विवादका कारण रेल्वे स्टेसन निर्माण अलपत्र
जनकपुर । पूर्वपश्चिम रेलमार्गअन्तर्गत जनकपुर–बर्दिबास–जयनगर खण्डको महोत्तरी बर्दिबासमा बन्न लागेको रेल्वे स्टेसनको निर्माण मुआब्जा विवादका कारण अलपत्र परेको छ । बर्दिबास–जनकपुर–जयनगर रेल्वे विस्तार तथा स्तरोन्नति आयोजनाका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा रेल्वे कम्पनीले नदिएको भन्दै अहिले बर्दिबासका बासिन्दा रेल्वे स्टेसन निर्माणमा अवरोध गर्दै आन्दोलनमा उत्रेका छन् । स्थानीय र रेल्वे कम्पनीबीच भएको सम्झौताका आधारमा मुआब्जा पाउनुपर्ने स्थानीयको माग छ । पुरानो खोल्सी कुलोदेखि पश्चिमको जग्गाको मूल्यांकन प्रतिकट्ठा १५ लाखको दर भए पनि भुक्तानी प्रतिकट्ठा १० लाखको दरले मात्र दिएको भन्दै स्थानीय आन्दोलित बनेका हुन् । सादा (खाली) कागजमा सही गराई सम्झौताभन्दा थोरै रकम दिएपछि मुआब्जा विवाद उत्पन्न भएको स्थानीय जग्गाधनी शंकर फुँयालले बताए । स्थानीय किसान निरज अधिकारीका अनुसार २०२२ सालको सर्वे नापीअनुसार खोल्सी निर्धारण गरी सोभन्दा पश्चिमको जग्गाको मुआब्जा १५ लाख प्रतिकट्ठाको दरले दिने सम्झौता भएको थियो । रेल्वे स्टेसनसमेतको निर्माणस्थलमा परेको जग्गा प्राप्तिको गर्ने प्रयोजनका लागि मुआब्जा पाउनुपर्ने जग्गाधनीहरूले मुआब्जा निर्धारण समितिले उल्लेख गरेको खोल्सी पैनी र बर्दिवास नगरपालिकाले उल्लेख गरेको खौल्सी पैनी भन्ने स्थान फरक परेको बताएका छन् । बर्दिवास नगरपालिकाले निर्धाण गरेको खोल्सी पैनी स्थानलाई आधार मानी बढी मूल्यमा मुआब्जा पाउनुपर्ने माग गरेको उनीहरूको माग छ । त्यसैगरी स्थानीय किसान भरतप्रसाद अधिकारी, पुरुषोत्तम मल्ल, विनोद दाहाल, गौरी हमाल, दुर्गा मल्ललगायत दर्जन बढी किसानहरूका अनुसार बर्दीवासमा रेल्वे स्टेसन तथा बन्दरगाह निर्माण गर्न रेल्वे कम्पनीले स्थानीय जग्गाधनीसँग प्रतिकट्ठा आठ लाखदेखि ८१ लाखसम्मको मूल्यांकन राखी ५४ बिघा जग्गा अधिग्रहण गरेको थियो । जसमा रेल्वे कम्पनीले एक अर्ब छ करोड मुआब्जा वितरण गर्नुपर्छ । अधिग्रहण गरिएका जग्गाका धनीहरूले मालमोतमा सहीछाप गरिसकेको र जग्गा रेल्वे कम्पनीका नाममा कित्ताकाटसमेत भइसकेको छ । जग्गाधनीहरूले सम्झौताअनुसारको मुआब्जा पाइएला भनेर खुरुखुरु औँठा छाप लगाए पनि अहिले बैंकबाट पैसा झिक्न जाँदा प्रतिकट्ठा १५ लाख हुनुपर्नेमा १० लाखमात्र आएको बताएका छन् । यस सन्दर्भमा रेल्वे विभागका प्राविधिक प्रमुख विनोद ओझाले बर्दीवासमा अधिग्रहण गरिएका ५४ बिघामध्ये पाँच/सात बिघा जग्गाको मात्र मुआब्जा विवाद रहेको बताए । उनले बाँकी जग्गाधनीहरूले सम्झौताअनुसार नै मुआब्जा पाएको दाबी गरे । जनकपुर–जयनगर रेल सेवा विस्तार तथा स्तरोन्नति योजनाका क्रममा भंगाहादेखि बर्दिवाससम्मको १७ किलोमिटर रेल लिक विस्तार तथा रेल्वे स्टेसन निर्माणका लागि नेपाल रेल्वे कम्पनीले एक सय १४ बिघा सर्वसाधारणको जग्गा अधिग्रहण गरेको छ । रासस
जीप व्यवसायीको मनपरी, १५ किलोमिटरकै ५५० रूपैयाँ भाडा
बझाङ । खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीका होटल सञ्चालक राजेन्द्र खत्रीलाई नजिकको तमैल बजार जान गाडी भाडाकै चिन्ता लाग्छ । कालुखेतीबाट नजिकको बजार तमैल नै हो । कालुखेतीबाट पैदल हिँड्दा साढे दुई घण्टा लाग्ने तमैलमा जीप जाँदा आधा घण्टा समय लाग्छ । त्यो दूरीमा जीप व्यवसायीले भने तीन सय ५० असुल गर्दै आएका छन् । ‘सानोतिनो सामान ल्याउन तमैल बजार पुग्नैपर्छ’, उनले भने, ‘तमैल पुग्न बाटोमै झण्डै रु हजार सकिन्छ । हामीजस्तो सानो व्यवसायीलाई छोटो बाटोमै बढी खर्च भए पनि केको व्यवसाय गर्नु ?’ खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाका कुलप्रसाद जोशी पनि सदरमुकामबाट घर जान भाडाकै चिन्ता लाग्ने बताउन्छन्। ‘घरतिर हरेक हप्ता जानुपर्छ । बाटोमै धेरै खर्च हुन्छ । जीप सञ्चालकले मनोमानी तरिकाले गाडी भाडा लिन्छन् । प्रतिवाद कसैले गर्दैैनन् ।’ उनका अनुसार छान्नामा जीप सञ्चालक कम यात्रु भए नजाने तर क्षमताभन्दा बढी भए पनि थपिहाल्छन् । ‘कति दिन तमैल बजारमै थुप्रो जीप भएर पनि हिँडेर गइयो’, उनले भने, ‘जीप नभरिञ्जेल कुनै ठाउँबाट पनि हिँड्दैनन् तर जीप भरिए जुन ठाउँबाट चढे पनि रु सयभन्दा तल लिँदैनन् ।’ खप्तडछान्नामा अघिल्लो सरकारको पालामा एक पटक मूल्य निर्धारण गरिएको थियो । ‘प्रतिकिलोमिटर रु १२ तोकेर तमैल–कालुखेती–गडराय–थामलेकको भाडा निर्धारण गरिएको थिय’, खप्तडछान्ना–५ का राजेश कार्कीले भने, ‘त्यो बेलामा कालुखेतीबाट एक सय २० मै तमैल पुग्थ्यौँ । पछि सडक बिग्रेको, डिजेलको मूल्य बढेको भन्दै व्यापारीले मूल्य बढाइरहे । पालिकाले कुनै सुनुवाइ गरेन ।’ उनका अनुसार भाडाको विषयलाई लिएर पटकपटक कुरा उठ्दा पनि पालिकाले चासो दिएको छैन । ‘कालुखेतीबाट गडरायसम्म करिब पाँच किलोमिटर दूरी छ । त्यसमा पनि व्यवसायीले रु दुई सय असुल्दै आएका छन् ।’ उनले भने । गडरायका ध्रुव रोकाया दसैँ बिदामा घर आएको बेला सम्झिँदै भन्छन्, ‘घर आएको बेला गाडी चालकसँग झगडा नै भयो । रुट प्रमिट पाएका सडकमा पनि तेब्बर भाडा लिएको भन्दै झगडा भयो । पछि ठूलो लफडा हुनसक्ने भन्दै बोलेनौँ ।’ उनी पनि पालिकाले भाडा यकिन गरी बढी पैसा असुल्ने जीप व्यवसायीलाई कारबाही गर्नुपर्ने बताउन्छन् । उनले भने, ‘जीप व्यवसायीलाई जसले जति भाडा लिए पनि हुन्छ भन्ने भएको छ । १० मिनेटको बाटोमा गाडी चढे पनि सयभन्दा बढी असुल्छन् ।’ यता जीप व्यवसायी हेमराज थापा जीप भाडा अलि बढी नै भएको स्वीकार्नु हुन्छ । उनले भने, ‘जीपको भाडा अलि बढी नै हो तर सडकको अवस्थाअनुसार त्यो भाडा केही पनि होइनजस्तो लाग्छ ।’ सरकारले सडक अलि गतिलो बनाइदिएको भए भाडा निकै सस्तो हुने उनले भने। ‘गाडी भाडाको विषयमा हामी जीप व्यवसायी आफैँले सल्लाह गरेर एक मूल्य तोकेका हौँ । गाडी छान्नामा दुई/तीन ठाउँमै खोलामा हाल्नुपर्छ । खोलामा हाल्दा हप्तामै रु आठ/दश हजारका टायर फेर्नुपर्छ । त्यो हेर्न हो भने व्यवसायीलाई पनि निकै मर्का छ ।’ उनले भने । थापाका अनुसार सरकारले सडक बलियो बनाइदिए जीप भाडा अन्य ठाउँको जस्तै हुन्थ्यो । ‘सबैले हामीलाई मात्रै दोष दिन्छन् । यहाँ हिउँदकै महिनामा पहिरो आएर सडक अवरुद्ध हुँदासमेत व्यवसायीले पहिरो पन्छाएर यात्रुको सुविधाका लागि जीप गुडाउनुपर्छ ।’ उनले भने अब नयाँ भाडा निर्धारण हुन्छ : पालिका खप्तडछान्ना गाउँपालिकाका प्रवक्ता रमानन्द जोशी भने गाउँपालिकाले प्रतिकिलोमिटर रु २० लिने निर्णय गरेर प्रशासनलाई पठाएको बताउन्छन् । ‘हामीले पालिकामा निर्णय गरेर नयाँ मूल्यदर प्रशासनलाई पठाएका छौँ । उताबाट पत्र आएको छैन । त्यसपछि जीप भाडामा एकरूपता हुन्छ ।’ उनले भने । प्रवक्ता जोशीका अनुसार छान्नामा धेरै ठाउँमा पहिरो आउँदा सडक अवरुद्ध हुने गरेको छ । ‘गत वर्षको बाढीले सडक पूरै तहसनहस गरेको हुँदा बाटो निकै अवरुद्ध हुने भएपछि जीप भाडा निर्धारण गर्न सकिएको थिएन । अब तुरुन्तै नयाँ भाडादर लागू हुन्छ ।’ सडकलाई दिगोरूपमा टिकाउन तथा बाह्र्रै महिना सञ्चालन गर्नका लागि पनि पालिकाले सबै निकायसँग छलफल गरिरहेको उनले बताए। अहिले छान्नामा मात्रै डेढ दर्जन जीप सञ्चालनमा छन् । गाडी भाडा बढी भएकै कारण व्यवसायीले जीप थप्दै गरेको स्थानीयको बुझाइ छ ।
नबिल इन्भेष्टमेन्टले घोषणा गर्याे ५ करोड ४० लाख रुपैयाँ लाभांश
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले १३ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव सहित आफ्नो वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको सञ्चालक समितिको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव पारित गर्न पुस २६ गते बिहान ११ बजे कम्पनीको सभा कक्ष सेन्ट्रल प्लाजा नारायाणचौर काठमाडौंमा बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को यस कम्पनी तथा साविकको नेपाल बङ्गलादेश क्यापिटलको छुट्टाछुट्टै सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । यस्तै, यस कम्पनी र साविकको नेपाल बङ्गलादेश क्यापिटलको लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छुट्टाछुट्टै छलफल गरि पारित गर्नेछ । यस्तै, कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कर सहित ५ करोड ४० लाख रुपैयाँ बराबरको नगद लाभांश पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारीश्रमिक निर्धारण गर्नेछ । यस्तै, साविकको नेपाल बङ्गलादेश क्यापिटलको आर्थिक वर्ष २०७९/८० को मंसिर मसान्त सम्मको वित्तीय विवरणहरुको लेखापरीक्षणको निमित्त लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारीश्रमिक निर्धारण गर्नेछ ।
जलविद्युत् आयोजना भित्रिएसँगै गाउँमा सडक, पैदल हिँड्नुपर्ने झण्झटमुक्त
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा रेलेखोला जलविद्युत् आयोजनाको कारण सडक सञ्जालको पहुँच पुगेको छ । १२० घरधुरीको बसोबास रहेको लेकगाउँमा अक्कर पहाडको कारण वर्षौंदेखि पूरा हुन नसकेको सडकको चाहना आयोजनाले करोडौँ लगानी गरेर पूरा गरिदिएको हो । बेँसीगाउँदेखि लेकगाउँतर्फ सडकको पहुँच पुर्याउन स्थानीयवासीले चन्दा सङ्कलन गरेर प्रयास गरे पनि अक्करे भिरको कारण ठूलो लगानीको अभावमा रोकिएको सडकलाई रेलेखोला जलविद्युत् आयोजनाले पूर्णताः दिएको वडासदस्य श्याम पुर्जाले जानकारी दिउ । बेँसीगाउँदेखि लेकगाउँ जाने बाटोमा रहेको अक्करे भिरमा मात्रै ११ घुम्ती हुँदै सडक विस्तार गरेर लेकगाउँ पुर्याइएको छ । यस भिरमा मात्रै सडक निर्माण गर्न ३ वर्ष बढी समय लागेको थियो । यस आयोजनाले बेँसीबाट लेकगाउँसम्मको ५ किलोमिटर सडक निर्माण गरेपछि मात्रै गाउँमा यातायातको पहुँच पुगेको हो । सडकको पहुँच पुगेपछि वडा, पालिका र सदरमुकाम आउँदा पैदल हिँड्नुपर्ने झण्झट हटेको छ भने सामग्री ढुवानीमा समेत सहज भएको स्थानीयवासी बताउँछन् । आयोजनाको पहुँचमार्गका लागि कूल १८ किलोमिटर सडकको ट्र्याक निर्माण भएको छ । यस आयोजनाले स्थानीयवासीलाई दक्षता र क्षमताअनुसारको रोजगारको अवसरसमेत दिएको आयोजनाका इन्जिनियर आयुष भट्टराईले जानकारी दिए । सडक निर्माण, स्तरोन्नति, पाइप लाइनको पूर्वाधार निर्माणलगायतका क्षेत्रमा स्थानीयवासीले नै नेतृत्व लिएर काम गरिरहेको इन्जिनियर भट्टराईले बताए । ‘हामीले रोजगारको क्षेत्रमा पनि स्थानीयवासीलाई प्राथमिकता दिएका छौँ, स्थानीय युवा क्लब, विद्यालय र आमा समूहका सामाजिक गतिविधिमा समेत सहकार्य गरेका छौँ,’ उनले भने । आयोजनाले स्थानीयका जिभुमे थान निर्माण, क्रान्ति आधारभूत विद्यालयको छानो फेर्न आर्थिक सहयोगसँगै गाउँभित्र सडकको पहुँच विस्तार गर्नेलगायतका कार्यसमेत गरेको छ । अन्नपूर्ण हिमालको फेदीबाट बग्ने रेलेखोलाको पानीलाई उपयोग गरी निर्माण गर्न लागिएको यस आयोजनाको निर्माण कार्य करिब ५० प्रतिशत पूरा भएको छ । हिमकन्सल्ट प्रालिले नदीको बहावमा आधारित रन अफ रिभर मोडलमा ‘पाइप प्रोजेक्ट’ मार्फत यस आयोजनालाई निर्माण गर्न लागेको हो । वि.सं २०७३ देखि नारच्याङको बँेसीदेखि लेकगाउँ हुँदै आयोजना निर्माणस्थलतर्फ पहुँचमार्ग निर्माण सुरु गरेको यस आयोजनाले गत वर्षको फागुनदेखि आयोजनाको निर्माण कार्यलाई सुरु गरेको थियो । अहिलेसम्म करिब पचास प्रतिशत भौतिक प्रगति सम्पन्न भएको र आगामी असारसम्ममा पूर्वाधार निर्माणको काम सक्ने लक्ष्य रहेको आयोजनाका इन्जिनियर भट्टराईले जानकारी दिए । ‘आयोजनाको बाँधस्थल, पाइपलाइन र विद्युत् गृहतर्फको काम तीव्ररुपमा अघि बढेको छ, दैनिकरुपमा एक सय ३० जना बढी मजदुरसँगै आवश्यक मेसिन उपकरण पर्याप्त मात्रामा परिचालन भएका छन्, चिसो मौसमको प्रतिकूलताका बीच पनि निर्माण कार्यलाई तीव्रता दिएका छौँ,’ उनले भने । कालोखोलामा बाँध रहेको आयोजनाको ३ हजार ६ सय मिटर लामो पाइपलाइनमार्फत पानी लगेर हरिस्वाँरामा रहने विद्युत्गृहमा ५ सय ५ मिटर हेडबाट पानी खसालेर विद्युत् उत्पादन गरिनेछ । यस आयोजनामा पानी लैजानका लागि सुरुङमार्गको प्रयोग नगरी पेनस्टक पाइपको मात्रै प्रयोग गरिने भएको छ । आयोजनामा सिभिलतर्फ साकुरा पावर कन्स्ट्रक्सन कम्पनी, हाइड्रोमेकानिकलतर्फ वर्कसप अफ इन्जिनियरिङ र इलेक्ट्रोमेकानिकलतर्फ फोलो भेल इनर्जी प्रालिले ठेक्का लिएका छन् । सिभिलतर्फ बाँधतर्फको ५० प्रतिशत बढी काम सकिएको र पाइपलाइन राख्नको लागि पाइप ढुवानी र पूर्वाधार निर्माणको काम भइरहेको आयोजनाका आवासीय इन्जिनियर लोकबहादुर नायकले बताए । उनका अनुसार लेकगाउँदेखि विद्युत् गृहसम्मको पहुँचमार्ग निर्माण भइसकेर पूर्वाधार निर्माणसमेत थालिएको छ । अहिले बाँधस्थलमा इन्टेक, डिसेन्डर र हेडबक्र्सको काम जारी छ । यस आयोजना निर्माणमा प्रतिमेगावाट २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । हिमालय बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंकले समेत गरी ७० प्रतिशत ऋण लगानी गर्ने सम्झौता भएको छ । आयोजनाबाट उत्पादन हुने विद्युतलाई ४ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइन निर्माण गरी कालीगण्डकी कोरिडोर प्रसारण लाइनको दाना सवस्टेशनमार्फत राष्ट्रिय प्रसारणमा जोडिनेछ । हाइड्रो भिलेजको नामले परिचित नारच्याङमा यसअघि ५ मेगावाटको घलेम्दी खोला र ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भइसकेका छन् । विद्युत् उत्पादनका लागि दर्जन बढी आयोजना दर्ता भएको वडामा नीलगिरि हाइड्रो पावरले निर्माण गर्न लागेको ११० मेगावाट क्षमताको नीलगिरि पहिलो र नीलगिरि क्यासकेड गरी २ वटा आयोजनामा समेत निर्माण कार्यले तीव्रता पाएको छ ।
आज यी ५ कम्पनीको सेयर खरिद गरे लाभांश पाइन्छ, कुनको कति ?
काठमाडौं । विभिन्न ५ कम्पनीको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । सिभिल बैंक, सिवाईसी लघुवित्त, आइसिएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र पोखरा फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी ५ कम्पनीले पुस १९ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन् । सिभिल बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले लाभांश पारित गर्न १२ औं वार्षिक साधारण सभा पुस २८ गते अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । आइसिएफसी फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । फाइनान्स कम्पनीले लाभांश पारित गर्न पुस २९ गते १९ औं वार्षिक साधारण सभा अमृतभोग कालिकास्थान डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे बोलाएको छ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २.४० प्रतिशत बोनस सेयर र ५.२० प्रतिशत नगद गरी कूल ७.६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । फाइनान्सले पुस २९ गते २८ औं वार्षिक साधारण सभा रजिष्टर्ड कार्यालय डिल्लीबजारमा १० बजे बोलाएको छ । पोखरा फाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ०.२१ प्रतिशत नगद गरी कूल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले पुस २९ गते २६ औं वार्षिक साधारण सभा दरबारथोक ब्यांक्वेट पोखरा–९, कास्कीमा बिहान ९ बजे बोलाएको छ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले पुस ३० गते चौंथो वार्षिक साधारण सभा केन्द्रिय कार्यालय पोखरा महानगरपालिका ८ सभागृहचोकमा बिहान ११ बजे बोलाएको छ ।