विकासन्युज

मेलम्चीको पानीका लागि दोस्रो चराणमा वितरण सञ्जाल निर्माण

मेलम्ची । मेलम्चीको पानी राजधानीमा वितरण गर्न दोस्रो चरणमा काठमाडौ‌ उपत्यका खानेपानी लिमिटेड केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालयले सात सय ९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ । बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको सात सय ९६ किमी वितरण सञ्जालमध्ये चार सय २७ किमीको काम सकिएको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिए । बाँकी काम पनि चालु आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तसम्म सकिने उनको भनाइ थियो । वितरण सञ्जालमा चार वटा निर्माण कम्पनीले काम गरिरहेका छन् । स्वयम्भू क्षेत्रमा शर्मा÷रमा जेभी, बालुवाटार क्षेत्रमा धुम्/टिम्स्कु/मार/सिएभी/क्याब जेभीले काम गरिरहेको निर्देशनालयले जनाएको छ । यसैगरी मण्डिखाटार क्षेत्रमा टुँडी कन्स्ट्रक्सनले वितरण सञ्जाल निर्माणको काम गरिरहेको छ । कपन क्षेत्रमा भने लिपेल/शैलुङ जेभीले काम गरिरहेको छ । सात अर्ब ३६ करोड तीन लाख ८४ हजार रुपैयाँको लागतमा दोस्रो चरणको सात सय ९६ किमी वितरण सञ्जालको काम भइरहेको हो । निर्देशनालयले पहिलो चरणमा एक हजार १० किमी वितरण सञ्जाल निर्माण गरिसकेको छ । त्यसमध्ये पाँच सय ३२ किमी वितरण सञ्जालमा मेलम्चीको पानी परीक्षण भइसकेको छ । पहिलो चरणमा निर्माण भइसकेको क्षेत्रमा पनि पानी परीक्षणको काम भइरहेको छ ।

५५४ भूकम्प पीडितले पाए लालपुर्जा

गोरखा। गोरखाको धार्चे गाउँपालिका–४, लाप्राकस्थित गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमूना बस्तीका ५५४ भूकम्पपीडित परिवारले लालपुर्जा पाएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को सहयोगमा लाप्राकका भूकम्पपीडितकोे पुनःस्थापनाका लागि निर्माण गरिएको नमूना बस्तीका पाँच सय ७३ मध्ये पाँच सय ५४ परिवारले लालपुर्जा प्राप्त गरेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । बाँकी रहेका भूकम्पपीडित परिवारलाई पनि केही समयभित्रै लालपुर्जा वितरण गर्ने तयारी भइरहेको उनले बताए । विसं २०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी गोरखा भूकम्पले लाप्राकको पुरानो बस्ती ध्वस्त बनाएकाले बस्ती नै पुनःस्थापना गर्नुपरेको थियो । त्यसका लागि गुप्सीपाखामा रहेको सरकारी जग्गामा मन्त्रिपरिष्दबाट स्वीकृति लिएर एकीकृत बस्ती निर्माण गरिएको हो । भूकम्पको झण्डै आठ वर्षपछि भूकम्पपीडितले लालपुर्जा पाएका हुन् । गाउँपालिकाले दोस्रो चरणमा यहीँ पुस महिनामा थप दुई सय ७४ जनालाई लालपुर्जा वितरण गरेको उनले बताए । उनीहरूलाई २०७७ सालदेखि नै लालपुर्जा वितरण थालिएको भए पनि लामो समयदेखि वितरण रोकिएको थियो । पहिलो चरणमा दुई सय ८० घरपरिवारले लालपुर्जा पाएका थिए । एकीकृत बस्तीका भूकम्पपीडितलाई लालपुर्जा वितरणका लागि जिल्ला मालपोत कार्यालयको टोली लाप्राक नै पुगेको थियो । कार्यालयबाट आठ जनाको टोली लाप्राक पुगेर दुई सय ९० परिवारको लालपुर्जा तयार गरेर कार्यालयको टोली सदरमुकाम फर्किएको हो । वितरण गर्न बाँकी रहेकामध्ये केही विदेशमा रहेका र केहीको मृत्यु भइसकेकाले ढिलाइ भएको अध्यक्ष गुरुङले जानकारी दिए । एनआरएनएले लाप्राकमा १८ दशमलव ३२ हेक्टर क्षेत्रफल जमिनमा प्रत्येक परिवारका लागि करिब तीन आना जग्गा पर्ने गरी घर निर्माण गरिदिएको हो । दुई तला रहेको प्रत्येक चार कोठा रहेका छन् । त्यस्तै प्रत्येक घरका लागि छुट्टै शौचालयको समेत व्यवस्था गरिदिएको छ । रासस

सम्पर्कमा छैनन् काठमाडौंका ३०० बढी सहकारी

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सहकारीको नियमनमा समस्या देखिएको छ । राजधानीभित्रै यो खालको समस्या छ भने देशका अन्य स्थानको अवस्था के होला ? आम मानिसमा जिज्ञासा उत्पन्न हुनु स्वभाविक नै छ । तर, देशकै सबैभन्दा ठूलो काठमाडौँ महानगरपालिका भित्रै सहकारीको नियममा समस्या मात्रै नभइ कतिपय त सम्पर्कमासमेत छैनन् । महानगरपालिका अन्तर्गतको सहकारी विभागका अनुसार नियामकको सम्पर्कमै नआउने र सम्पर्कमा आएर पनि कानुन बमोजिम विवरण नबुझाउनेको सङ्ख्या अत्याधिक रहेका छन् । यसबाट सहकारीको मर्म एवं भावना अनुसारको काम हुन नसकेको पाइएको छ । विभागका अनुसार काठमाडौँ महानगरपालिका मात्रै कार्यक्षेत्र रहनेगरी हालसम्म दर्ता भएको सहकारीको सङ्ख्या एक हजार नौ सय ६९ रहेको छ । तीमध्ये झण्डै तीन सय बढी सहकारी अहिलेसम्म सम्पर्कमा आएका छैनन् । आधा बढी सहकारीले नियमअनुसार समयमा विवरण अद्यावधिक गरेका छैनन् । सहकारी ऐन तथा नियमावलीअनुसार प्रत्येक सहकारीले आर्थिक वर्ष सकिएको छ महिनाभित्र सम्बन्धित सहकारी विभागमा साधारणसभा तथा कर चुक्ताको प्रमाणपत्रसहित विवरण अद्यावधिक गर्नुपर्छ । तर, एक हजार बढी सहकारी अघिल्लो आर्थिक वर्षकै विवरण अद्यावधिक गरेका छैनन् । विभागका प्रमुख देवेन्द्र पोखरेलका अनुसार अघिल्लो पुससम्म आर्थिक वर्ष २०७७र७८ को विवरणसहित सात सय सहकारी अद्यावधिक भएका थिए । असार मसान्तसम्म पुग्दा यस्तो सङ्ख्या नौ सय हाराहारीमा पुगेको थियो । बाँकी सहकारीले एक वर्षभन्दा बढी अवधिदेखि विवरण अद्यावधिक गरेका छैनन् । आर्थिक वर्ष २०७८र७९ को विवरणसहित अद्यावधिक गर्ने अन्तिम मिति नजिकिएको छ । पुस मसान्तसम्म यस्तो विवरण बुझाउनुपर्नेमा दुई साता मात्रै बाँकी रहँदा यो सङ्ख्या चार सय ५० हाराहारीमा मात्रै पुगेको विभागले जनाएको छ । यो वर्ष सहकारीको अद्यावधिक गर्न कोपोमिसमा आवद्धता र अपडेट अनिवार्य हुनुपर्ने व्यवस्था सहकारी विभागले गरेको छ । यस कारणले समयमा अद्यावधिक गर्नेको सङ्ख्या थप घट्नसक्ने अनुमान विभागको छ । एक हजार छ सय बढी सहकारी कोपोमिसको दायरामा समयमा अद्यावधिक नभए पनि विभागको सहकारी व्यवस्थापन प्रणाली (कोपोमिस) सफ्टवेयर प्रयोग गर्नेको सङ्ख्या भने उच्च छ । हालसम्म करिब एक हजार छ सय सहकारी संस्थाले यो सफ्टवेयरको युजरनेम र पासवर्ड लिइसकेको विभागले जनाएको छ । अझै पनि तीन सय बढी सहकारी संस्था प्रणालीबाट बाहिर छन् । तर, पछिल्लो समय प्रणालीमा आवद्ध हुने सहकारीको सङ्ख्या बढ्दै गएको विभागीय प्रमुख पोखरेल बताउछन् । ‘पछिल्लो समय कोपोमिसमा आवद्ध हुन आउनेको सङ्ख्या बढेको छ । दैनिक दुई/तीन वटा सहकारी यसका लागि आउने गरेका छन्’, पोखरेलले भने, ‘हाम्रो पहिलो उद्देश्य भनेकै सबैलाई सम्पर्कमा ल्याउने र प्रणालीमा आवद्ध गराउने हो । सम्पर्कमा आएपछि मात्रै हामी नियमनको दायरालाई फराकिलो बनाउन सक्छौँ ।’ त्यसो त सहकारीको नियमनलाई फराकिलो बनाउन काठमाडौँं महानगरपालिकाले प्राथमिकता दिएको छ । यसका लागि कार्यपालिका बैठकले सहकारी हेर्न छुट्टै समिति गठन गर्ने निर्णय गरिसकेको छ । यसअघि सामाजिक समिति अन्तर्गत रहेको विभागलाई हेर्न छुट्टै समिति बनेकोले यसको सकारात्मक प्रभावपर्ने पोखरेलको विश्वास छ । समितिले पूर्णता पाउने वित्तिकै थप तीव्र गतिका साथ काम थाल्ने उनले बताए । सहकारी सञ्चालकविरुद्ध उजुरीको चाङ सहकारी क्षेत्रमा बचत फिर्ताको समस्या आउँदा विभागमा उजुरी बढ्दै गएको छ । तत्कालीन दायित्व भुक्तानीमा समस्या भएर केही सहकारी संस्था समस्यामा परेसँगै यसको असर समग्र सहकारी क्षेत्रमा पर्दै गएको छ । सो विभागमा मात्रै पछिल्लो समय विभिन्न सहकारी संस्था र सञ्चालकविरुद्ध एक सय २० भन्दा धेरै उजुरी परेको विभागले जनाएको छ । यसरी परेको उजुरीमा विभागले पक्षलाई बोलाएर आवश्यक मध्यस्तकर्ताको भूमिका निर्वाह गर्ने गरेको विभागीय प्रमुख पोखरेल बताउछन् । तर, त्यसरी बोलाउँदा नआउने, सम्पर्कमा रहेर पनि विभागको मध्यस्ततामा चित्त नबुझाउने तथा सहमति गरेर पनि उल्लङ्घन गर्नेविरुद्ध भने कारबाही गर्न प्रहरीमा सिफारिस गर्ने गरेको उनको भनाइ छ । हालसम्म विभागले ५० भन्दा बढी उजुरी उपर कारबाही गर्न प्रहरीलाई सिफारिस गरेको विभागीय प्रमुख पोखरेलले जानकारी दिए । रासस

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन प्रक्रिया अगाडि बढाउन आयोगलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको १ स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीहरुसँग आग्रह गरेका हुन । ‘रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोस, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि हामी राजनीतिक दलहरुबिच छलफल गर्छौँ र हामी एउटा निष्कर्षमा पुगौला’, उनले भने । सो अवसरमा प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन, प्रदैश सभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद व्यक्त समेत गरेका थिए । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया लगायत आयुक्तहरुले निर्वाचन आयोगको कामकार्वाही र निर्वाचन प्रक्रियाबारे जानकारी गराएका थिए ।

शीतलहर र जाडोबाट जनतालाई जोगाउने योजना बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले शीतलहर र जाडोबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई निर्देशन दिएका छन् । उनले सोमबार भर्चुअल माध्यमबाट भएको बैठकमा मुलुकभरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखलाई यस्तो निर्देशन दिएका हुन् । बैठकमा मन्त्री लामिछानेले सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न र राजश्व चुहावट नियन्त्रणमा पनि ध्यान दिन निर्देशन दिएका छन् ।

पञ्चकन्या ग्रुपका अध्यक्ष श्रेष्ठ लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित

काठमाडौं । पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ लाइफ टाइम एचिभमेन्ट अवार्ड २०२२ बाट सम्मानित भएका छन् । उद्योग व्यवसायको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै श्रेष्ठलाई सम्मानित गरिएको हो । १४ पुसमा आयोजित विशेष समारोहका बीच श्रेष्ठलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गरेका हुन् ।

होटल व्यवसायी महासङ्घको महाधिवेशन चितवनमा

काठमाडौं । होटल व्यवसायी महासंघको चौथो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन चितवनमा हुने भएको छ। महासंघका अध्यक्ष हीराध्वज शाहले यही पुस १९ र २० गते भरतपुरमा सम्मेलन गर्ने जानकारी दिए। महासंघले समग्र व्यवसायलाई नै पर्यटनमैत्री बनाउने दिशामा अग्रसर गराउँदै आइरहेकाले सम्मेलनबाट चितवनको पर्यटन क्षेत्र चलयमान हुने आशा गरिएको छ। सम्मेलनमा देशभरका प्रदेश सङ्घ, जिल्ला सङ्घ तथा इकाईहरुबाट सम्पूर्ण व्यवसायीको प्रतिनिधित्व गर्दै करिब सात सय प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने उनले बताए। महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेले कोरोना तथा आर्थिकमन्दीको कारणले २० देखि ३० प्रतिशत व्यवसायी पलायन भएको बताए। ‘नारायणगढ बजारमा पनि अधिकांश सटर अहिले बन्द भएका छन्। व्यवसायमा पूरै मन्दी आएको छ। सम्मेलनले व्यवसाय क्षेत्रमा केही आशाको सञ्चार गर्नेछ।’ उनले भने। सम्मेलनमा पर्यटनसम्बन्धी विभिन्न प्रस्तुति र कार्यशाला पनि हुने उपाध्यक्ष चुकेले जानकारी दिए। उनले भने, ‘राष्ट्रिय सम्मेलनबाट भरतपुर महानगरको पर्यटकीय गतिविधि चलायमान पनि हुनेछ।’ विसं २०६७ मा स्थापना भएको होटल व्यवसायी सङ्घको पहिलो महाधिवेशन पनि चितवनमा नै भएको थियो। यसपटक हुने चौथो महाअधिवेशन तथा दशौँ वार्षिक साधारणसभा उद्घाटन अघि भरतपुरको चौबीस कोठीबाट उद्घाटनस्थलसम्म विभिन्न सांस्कृतिक झाँकीसहितको प्रभात फेरी गरिने छ। रासस

भृकुटीमण्डपमा पुस २१ गतेबाट १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले भृकुटीमण्डपमा १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्ने भएको छ । फुटवेयरले आयोजना गर्ने अन्तर्राष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनी भृकुटीमण्डपमा तीन दिन सञ्चालन हुने छ । यही पौष २१ गतेदेखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा उक्त प्रदर्शनी हुने भएको हो । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न प्रदर्शनीको माध्यमबाट व्यापक प्रचारप्रसार गरी बाह्य बजार समेत विस्तार गर्ने रणनीतिक पहल गर्नका लागि यो प्रदर्शनी गर्न लागिएको उक्त एशोसिएसनका अध्यक्ष नानिराज घिमिरेले बताए । साथै उनले जुत्ता उत्पादनको हिसाबले आत्मनिर्भर रहेको समेत जानकारी दिए । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका अनुसार स्वदेशी जुत्ता, चप्पल बजारमा ६० प्रतिशत भन्दा बढी स्थान ओगट्न सफल भएको छ । नेपालमा लघु उद्योग, साना, मझ्यौला र ठुला गरी देशभर छरिएर रहेका १५ सय संख्यामा जुत्ता चप्पल उत्पादकहरू रहेको अनुमान गरिएको छ । जसमध्ये ठुला तथा मझ्यौला २ सय २९, साना तथा परम्परागत शिल्पीहरुमा आधारित १ हजार ७२ फेल्ट तथा हस्तकलामा आधारित २ सय रहेका छन् । हाल ९ करोड जोडी जुत्ता चप्पल आन्तरिक बजारको माग रहेको पनि फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष तथा मेला संयोजक सुरज बञ्जाडेले बताए । प्रदर्शनी विभिन्न ब्राण्डका छाला तथा अन्य चप्पल बनाउने कम्पनीहरूको सहभागितामा हुनेछ । बञ्जाडेका अनुसार नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हुन लागेको हो । देश भरीबाट ४० देखि ५० हजार औद्योगिक, डिलर, होलसेलर, खुद्रा व्यापारीको सहभागी हुने अपेक्षा छ, प्रदर्शनीमा विदेशी कच्चा पदार्थ, मेशिनरी र प्रविधि सहितको ४० भन्दा बढी कम्पनीका स्टल रहने छन्, नेपाली फुटवेयरका ५० कम्पनी सहभागी हुने छन्,’ उनले भने । प्रर्दशनीमा एउटै छाना मुनि देशभरिका उद्योगी हुने हुँदा नयाँ डिजाइन, विकास र प्रतिस्पर्धी मूल्य छानेर कारोबार गर्नको लागि सहजता हुने आयोजक टिमको विश्वास छ । प्रदर्शनीमा नेपालका ठूला उत्पादकदेखि साना घरेलु उद्योगहरूलाई समावेश गरिएको स्टलको मूल्य तिर्न नसक्नेलाई निःशुल्क स्टलको व्यवस्था मिलाएको पनि बञ्जाडेले जानकारी दिए । तीन दिने प्रदर्शनीमा लाखौं विदेशी तथा नेपाली नागरिक अवलोकन गर्ने अपेक्षा आयोजक टिमले लिएको छ ।