विकासन्युज

आज यी ५ कम्पनीको सेयर खरिद गरे लाभांश पाइन्छ, कुनको कति ?

काठमाडौं । विभिन्न ५ कम्पनीको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । सिभिल बैंक, सिवाईसी लघुवित्त, आइसिएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र पोखरा फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी ५ कम्पनीले पुस १९ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन् । सिभिल बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले लाभांश पारित गर्न १२ औं वार्षिक साधारण सभा पुस २८ गते अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । आइसिएफसी फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । फाइनान्स कम्पनीले लाभांश पारित गर्न पुस २९ गते १९ औं वार्षिक साधारण सभा अमृतभोग कालिकास्थान डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे बोलाएको छ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २.४० प्रतिशत बोनस सेयर र ५.२० प्रतिशत नगद गरी कूल ७.६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । फाइनान्सले पुस २९ गते २८ औं वार्षिक साधारण सभा रजिष्टर्ड कार्यालय डिल्लीबजारमा १० बजे बोलाएको छ । पोखरा फाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ०.२१ प्रतिशत नगद गरी कूल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले पुस २९ गते २६ औं वार्षिक साधारण सभा दरबारथोक ब्यांक्वेट पोखरा–९, कास्कीमा बिहान ९ बजे बोलाएको छ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले पुस ३० गते चौंथो वार्षिक साधारण सभा केन्द्रिय कार्यालय पोखरा महानगरपालिका ८ सभागृहचोकमा बिहान ११ बजे बोलाएको छ ।

३ बैंकसहित ५ कम्पनीको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ५ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा नबिल बैंक, हिमालयन बैंक, महालक्ष्मी विकास बैंक, सिद्धार्थ इन्स्योरेन्स र बुटवल पावर कम्पनीको सेयरमूल्य समायोजन भएको हो । यी ५ कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा कारोबार हुनेछ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको ९ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ५९१.६५ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । आइतबार कम्पनीको सेयर प्रतिकित्ता ६४४.९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । नबिल बैंकको १८.५० प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ७२१.१० रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । आइतबार बैंकको सेयर प्रतिकित्ता ८५४.५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । हिमालयन बैंकको ८ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ३८८.०६ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । आइतबार बैंकको सेयर प्रतिकित्ता ३६५.१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । महालक्ष्मी विकास बैंकको ४ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ३३३.६५ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । आइतबार बैंकको सेयर प्रतिकित्ता ३४७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । बुटवल पावर कम्पनीको ५ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ३२२.३८ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । आइतबार कम्पनीको सेयर प्रतिकित्ता ३३८.५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

पेट्रोलियम पदार्थको मूल्य बढेर आयो, नेपालमा यथावत

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार आइतबार आईओसीबाट मट्टितेलबाहेकका इन्धनको नयाँ मूल्य पठाएको हो । भारतले इन्धनको मूल्य बढाएर पठाए पनि इन्धनको नेपाल आयल निगमले मूल्य यथावत राख्ने जनाएको छ । निगमका अनुसार पेट्रोलमा २.५४ रुपैयाँ, डिजेलमा २.९५ रुपैयाँ, हवाई इन्धनमा ४.१३ रुपैयाँ प्रतिलिटर र एलपीजी ग्याँसमा प्रतिसिलिन्डर ७८.२२ रुपैयाँ मूल्य बढेर आएको छ । मट्टितेलमा भने घटेर आएको छ । अहिलेको मूल्यमा इन्धन बेच्दा एलपीजी ग्याँसमा प्रति सिलिन्डर ३५९.५० रुपैयाँ घाटा रहे पनि समग्रमा भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा भएको नाफाका कारण १५ दिनमा ९९ करोड नाफामा नै रहेको छ । निगमलाई १५ दिनमा एलपीजी ग्याँसमा मात्रै ४६.४४ करोड घाटा भएपनि समग्रमा नाफा नै रहेको छ । निगमको सरकारलाई तिर्नुपर्ने र आइओसीलाई तिनुपर्ने सम्पूर्ण रकम जोडेर झन्डै १८ अर्ब बक्यौता रहेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै लेखनाथवासी खुसी

पोखरा । पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै लेखनाथवासीमा पनि खुसियाली छाएको छ । लेखनाथको खरानेफाँट निवासी कृष्ण तिमिल्सेनाले विमानस्थलको आइतबार उद्घाटनसँगै अब पोखराको मात्र हैन, लेखनाथको पर्यटनमा समेत सहयोग पुग्ने बताए । विमानस्थल कास्कीको मात्र नभई गण्डकी प्रदेशकै गहना भएको उनको भनाइ छ । पूर्वमन्त्री यज्ञबहादुर थापाले यस क्षेत्रको विकासमा अन्तर्राष्ट्रिय विमानस्थको भूूमिका महत्वपूर्ण रहने बताए । पोखरा मात्र हैन विमानस्थलबाट समदूरीमा पोखराको फेवा र लेखनाथको बेगनास ताल पनि पर्ने भएकाले लेखनाथको क्षेत्रको पर्यटन विकाले अब द्रुतगति लिनेमा विश्वास व्यक्त गरे । ‘अब यहाँ आउने पर्यटक पोखराको लेकसाइडले मात्र थेग्न सक्दैन ती पर्यटक बेगनास र रुपा तालतर्फ पनि आउने छन्, कस्केलीको ४ दशक लामो प्रतीक्षाबाट निर्माण सम्पन्न भएको छ यो विमानस्थल सफल बनाउन कस्केली मात्र नभएर सिङ्गो गण्डकीवासी नै जुट्नुपर्छ, अब विदेशी पर्यटक सीधै पोखरा आउनसक्ने भए,’ उनले भने, ‘पोखरा र लेखनाथको मात्र हैन अब समग्र गण्डकी प्रदेशको विकास भएको छ, अब यहाँबाट पर्यटक चितवन, लुम्बिनीमा जानसमेत सक्ने भए ।’ उनले लेखनाथ र पोखरा अब एउटै उपत्यका भएको छ, विमानस्थल सञ्चालनमा आएपछि झनै नजिक बनाइदिएको बताए । अब यहाँका जनप्रतिनिधिले समृद्धि र यहाँका प्रकृतिक संरचनालाई संरक्षण गर्दै गुफा र तालको धनी सहर पोखराको पर्यटक विकासमा जुट्नुपर्ने उनको भनाइ छ । पोखरा–२६ लेखनाथका गणेश अधिकारीले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले समग्र कास्की र वरपरका जिल्लाको पर्यटन विकासमा सहयोग पुर्याउने र यस क्षेत्रका मानिसको जीवनस्तरसमेत माथि उठ्ने विश्वास व्यक्त गरे । ‘समग्र पोखराको पर्यटन विकासमा स्थानीय, प्रदेश र सङ्घका प्रतिनिधि जुट्नुपर्छ, विदेशी पर्यटक अब सीधै पोखरा आउने भएपछि पोखरालाई थप सुन्दर बनाउन विकासका योजना पर्याप्त मात्रामा ल्याउनुपर्छ,’ उनले भने । लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं लेखनाथवासी छत्रधर आत्रेयले विमानस्थल सञ्चालन आएसँगै लेखनाथका सडक विस्तार गर्न आवश्यक भएको बताए । उनले साँघुरा सडक र कच्ची सडकले पर्यटक थेक्न सक्दैन, ट्राफिक जाम नहुने किसिमबाट सडकको विस्तार हुन जरुरी भएको बताए । यस क्षेत्रको पर्यटकीय बेगनास, रुपालगायत अन्य ५ तालको पनि विकास गर्न जरुरी रहेको जनाउँदै उनले लेखनाथका सातै ताललाई जोड्ने सडक निर्माण गर्न जरुरी भएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानास्थलको उद्घाटन गरे । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा विमानस्थलको भौतिक पूर्वाधार तथा प्राविधिक काम सम्पन्न भएको छ । करिब ३ हजार ९ सय रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थलको लगानी २२ अर्ब रुपैयाँ रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थलको हाल २ हजार ५ सय मिटरको धावनमार्ग र ४५ मिटर चौडाइ तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर रहेको छ । विमानस्थलको क्षमता वार्षिक दश लाख यात्रुको रहेको छ । २४ सैँ घण्टा जहाज सञ्चालन गर्न सकिने सो अवसरमा जानकारी दिइएको छ ।

दूधको मूल्य बढाउन किसानको माग

काठमाडौं । चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर उनीहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन् । किसानले दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँले बढाउन भनेका छन् । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द निउरेले प्रतिलिटर १४ रुपैयाँले किसानले पाउने गरी दूधको मूल्य बढाउनुपर्ने बताए । दाना चोकर र परालको मूल्यवृद्धिका कारण किसानको लागतसमेत उठ्ने अवस्था नरहेको भन्दै उनले दूधको मूल्य बढ्न नसके किसान पलायन हुने अवस्था आउने बताए । उनले किसान परिचयपत्रको व्यवस्था र आवश्यकअनुसारको अनुदानको व्यवस्था गर्न माग गरे । ‘कृषि तथा दुग्ध सहकारीको तथा व्यावसायिक फार्मको भौतिक पूर्वाधारमा राज्यले ८० प्रतिशत अनुदान दिनुपर्छ, कृषि कर्जालाई थप व्यवस्थित बनाउनुपर्छ,’ उनले भने । कृषक समाजका सल्लाहकार भगीरथ तिमल्सिनाले दूधको मूल्य राम्रो नभएको र किसानले नाफा अनुदान नपाएकै कारण पशुपालन धरासायी बन्दै गएको बताए । राज्यकै नीतिका कारण किसान दिनप्रतिदिन विदेश पलायन भइरहेको उनको भनाइ छ । नेपालमा २२ लाख घर परिवार दूध उत्पादन गरेर आत्मनिर्भर बनेको समाजले जनाएको छ ।

अब कुमारी बैंकलाई पाँचौं हुने छुट छैन : उपेन्द्र केशरी न्यौपाने

बैंकिङ्ग क्षेत्रका लागि मर्जर प्रकृया सहज कार्य थिएन । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकबीच ९७ दिनभित्र एकीकृत कारोबार भएको छ । नेपालको इतिहासमा प्रारम्भिक सम्झौता भएको यति छोटो दिनमा एकीकृत कारोबार गरेर रेकर्ड कायम गरेको छ । छोटो समयमा मर्जर सम्पन्न गर्न कुमारी बैंकका अध्यक्ष अमिर प्रताप राणाले सबैभन्दा धेरै महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ । अध्यक्ष राणाले एनसीसी बैंकलाई सहज रुपमा ग्रहण गर्नु भएको छ । कुमारी बैंकको परिवारले एनसीसी बैंकलाई ग्रहण गर्नु र एक हुन रोज्नु भयो । म फरक विधाबाट बैंकिङ्ग व्यवसायमा आएको व्यक्ति हो । बैंकिङ व्यवसायमा २०७३ पुस १८ गतेदेखि पदभार ग्रहण गरेको थिए । आज २०७९ साल पुस १७ गते ६ वर्ष पुगेको छ । यो यात्रालाई मैले सफल बनाएको छु । बैंकको अध्यक्षको रुपमा रहेर काम गर्दा कहिलेकाँही गल्ति भएका हुन सक्छन् । तर, मेरो सदनियत, विवेक र असल परिणाम ल्याउन कसैलाई बिझाएको भए क्षमा माग्छु । त्यसमा मेरा ब्यक्तिगत स्वार्थहरु केही पनि थिएनन् । कुमारी बैंकका अध्यक्ष अमिर प्रताप राणाले मलाई अध्यक्षको रुपमा स्वीकार गर्नु भएको थियो । नम्बरको खेलमा जानु हुँदैन । एनसीसी बैंकबाट ४ जना सञ्चालक पदमा नियुक्त हुने र ४ जनाले अध्यक्ष बनाउँछ भन्ने सोचाइ हुन सक्छ । यो सोचाईको ठिक विपरित पनि व्यक्तिहरु उभिन सक्छन् र परिणाम दिन सक्छन् भन्ने मान्यता स्थापित गर्न सफल भएको छु । एनसीसी बैंकले भन्दा कुमारी बैंकले राम्रो परिणाम दिइरहेको छ । त्यो सक्रिय उर्जालाई फेरी सक्रिय मेरो भूमिका रहन्छ । अध्यक्षको कार्यभार तपाईं आफैले ग्रहण गर्न उपयुक्त हुन्छ । मैले प्रस्ताव र समर्थन गर्छु भनेर मैले आग्रह गरेको हो । उहाँले प्रस्ताव स्वीकार गर्नु भयो र एकीकृत कारोबार पश्चात् कुमारी बैंकको अध्यक्ष अमिर प्रताप राणा नियुक्त हुनु भएको छ । हामीहरु नम्बरको खेलमा धेरै विश्वास गर्छौं । तर, नम्बर कहिल्यै पनि निर्णायक हुँदैन । त्यसको पछाडी तर्क, विवेक र परिणाम हुन्छ भन्ने विषयलाई स्वीकार गरेनौं भने नम्बरको खेल जहिल्यै पनि उँदोगति तिर जान्छ । मान्छेले निर्माण गरेको कुनै वस्तु छ भने सबैभन्दा बलियो कानून हो । त्यो कानून पनि विवेक, तर्क र परिणामसँग हार्छ । यो अनुभूति मर्जरबाट दिन सक्नुपर्छ भन्ने मान्यता स्थापित गर्ने प्रयासमा छौं । समाज मूल्य र मान्यताका आधारमा चलिरहेको बेला यी कुराहरुलाई फेरी पनि स्थापित गर्न सकिन्छ भन्ने अपेक्षा छ । यस कार्यमा सबैको सहयोग हुनुपर्छ । सेवाको प्रदानता व्यापारको आधारमा हुनुपर्छ । व्यापारलाई व्यापारको रुपमा मात्रै होइन सेवाका रुपमा पनि ग्रहण गर्नुपर्छ । सेवाबाट आएको मेवा सबैभन्दा मिठो हुन्छ । नेपाली फलफूलमा सबैभन्दा उत्तम फल मेवालाई लिइन्छ । यसकारण यो उखान बनेको हो । त्यसैले बैंकका कर्मचारीहरुले सेवाको प्रदानता व्यापारको आधारमा गर्न सक्नुपर्छ । तपाईंको नम्र निवेदन यसको उर्जा बनोस् । त्यो छवी निर्माण गर्न सक्नुपर्छ । एनसीसी बैंकको अध्यक्ष हुनुभन्दा अगाडि म एक बैंकको ग्राहक थिए । त्यो बैंकमा एकजना कर्मचारी हुनुहुन्थ्यो । त्यो बैंकमा बस्ने एकजना कर्मचारी जुनजुन बैंकमा जानु भयो त्यहि बैंकमा मैले आफ्नो कारोबार गर्थे । यद्यपी उहाँले पहिले शुरु गर्नु भएको बैंकको ब्याजदर भन्दा पछि सुरु गरेको बैंकको ब्याज बढी थियो । तर, उहाँको सेवाका लागि मैले बढीभन्दा बढी ब्याज तिरे । सेवा राम्रो गर्नसक्नु भयो भने बढी ब्याज पाइन्छ । त्यसैले बढी नाफा कमाउन सेवा भाव प्रदान कायम गर्नुपर्छ । सञ्चालक समितिको एकता भएन भने कुनै पनि उर्जा प्राप्त गर्न सकिँदैन । नेपाली बैंंकिङ्ग क्षेत्रमा जुन बैंकको सञ्चालक समितिमा समस्या छ, त्यो बैंक पक्कै पनि समस्यामा रहेका छन् । मूल मन्त्रका रुपमा लिएर हाम्रो सञ्चालक समितिभित्र सबैभन्दा ठूलो सृजनशील एकता हो भनेर बुझ्नुपर्छ । एनसीसीका सेयरधनीहरुले ११ प्रतिशतभन्दा बढी पाए भने र कुमारी बैंकका सेयरधनीहरुले साढे १२ प्रतिशतभन्दा बढी पाए भने मात्रै हामीले क्षमाबाट छुट पाउने छौं । अन्यथा हाम्रो कर्तव्य दायित्व सेयरधनीहरु प्रति पुर्याउन लागि रहेका छौं । सञ्चालक समिति, व्यवस्थापन समिति र कर्मचारीहरुबीच मतभेद हुनु हुँदैन । बैंकको व्यवस्थापन सीईओ र डीसीईओहरुमा निर्भर रहन्छ । नीतिगत प्रष्टता, नीतिगत सपोर्ट व्यवस्थापनको मूल आधार हो । यी बाहेक सबै कुराहरुमा सीईओ र उहाँको टीमले प्रमुख रुपमा व्यवसाय गर्न अग्रता लिएको हुनुपर्छ । त्यो सीईओ र डीसीईओले प्रमाणित गरेर देखाउनु पर्छ । तपाईंको दक्षताका आधारमा नै बैंकको प्रगति हुने हो । बैंकका सबै सूचकहरुले तपाईंको जवाफ दिएन भने तपाईंका तर्कहरु गफ मात्रै हुन्छन् । बैंकका सीईओ र कर्मचारीहरुले इण्डिकेटरलाई जवाफ हुन् र तर्कहरु जवाफदेही होइनन् भनेर स्वीकार गर्नुपर्छ । आजदेखि दुई वटा परिवारबाट एउटा ठूलो परिवार बनेका छौं । त्रेतायां मंत्र शक्तिश्च, ज्ञानशक्तिः कृते युगे । द्वापरे युद्ध शक्तिश्च, संघशक्ति कलौ युगे । अर्थात् आजको युगमा संगठन नै सबैभन्दा ठूलो शक्ति हो । सत्य युग तथ्यको थियो, त्रेता युग मन्त्र शक्ति थियो, द्धापर युग युद्ध शक्ति थियो र कलि युग संगठन शक्तिको हो । हामी एकीकृत हुनुको पछाडी यो शक्ति निर्माण गर्नु पनि हो । यो शक्ति निर्माण गर्न सबैले आ-आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्छ । कन्फिल्क्ट अफ इन्ट्रेस्ट प्रमुख कम्प्लायन्स हेर्ने सुपरभिजन हुनुपर्छ । यो भूमिकामा हामी आफू पनि जोगिनु पर्छ । एनसीसी बैंकमा खराब कर्जाले धेरै ठूलो भूमिका निर्वाह गरेको थियो । त्यसलाई हामीले लामो समयपछि घटाउन सफल भयौं । मर्जर पश्चात् खराब कर्जाका विषयमा ध्यान दिन आवश्यक छ । खराब कर्जालाई न्यूनीकरण गरेर अघि बढ्नुपर्छ । बैंकिङ्ग क्षेत्रमा मर्जर भएका बैंकहरुमध्ये कुमारी बैंक चौथो नम्बरमा छ । बैंकका सीईओ र कर्मचारीहरुलाई तेस्रो हुने अवसर छ, पाँचौ हुने छुट छैन । पहिलो बैंक हुनलाई सुवर्ण अवसर रहेको छ । यसका लागि सबैजना एकाकार भएर अघि बढ्नुपर्छ । यसैमा जीवनको एउटा उर्जा निश्चित गर्न सक्नुपर्छ । (उपेन्द्र केशरी न्यौपानेले कुमारी र एनसीसी बैंकबीचको एकीकृत कारोबार शुभारम्भको कार्यक्रममा राखेका मन्तव्य । एनसीसी बैंकका पूर्वअध्यक्ष न्यौपाने अहिले कुमारी बैंकको सञ्चालक हुन् ।)

प्रभु क्यापिटलको बीमाको सुरक्षासहितको नयाँ डिम्याट ‘९९९ आजीवन डिम्याट खाता’

काठमाडौं । प्रभु क्यापिटलले हालको ९९९ डिम्याट स्किममा अरु विशेषता थपेर ‘प्रभु क्यापिटलको ९९९ आजीवन डिम्याट खोलौ तथा बीमाको समेत सुरक्षा पाऔँ’ भन्ने स्लोगनसहित ‘९९९ आजीवन डिम्याट खाता’ योजना सार्वजनिक गरेको छ । ग्राहकहरूलाई वार्षिक डिम्याट नवीकरणको झन्झट हुने समस्यालाई राहत दिन क्यापिटलले यो योजना ल्याइएको जनाएको छ । डिम्याट खातावालले हाल डिम्याट खाता नवीकरण गर्न प्रत्येक वर्ष १०० नवीकरण शुल्क बुझाउनुपर्ने रहेको छ अन्यथा खाता फ्रिज हुने यावत समस्याले कारोबार गर्दा क्लोज आउटमा परी जरिबाना तिर्नुपर्ने अवस्था भोग्नुपर्ने हुन्छ । सोही समस्याको हल स्वरुप प्रभु क्यापिटलले यो योजना ल्याएको हो, जुन नयाँ तथा पुराना सबै ग्राहकहरुमा मान्य हुनेछ । १ जनवरी, २०२३ बाट शुरु भएकोे यस योजनामा हितग्राहीले एक पटक ९९९ रुपैयाँ शुल्क तिरेर क्यापिटलबाट आजीवन डिम्याट नवीकरणको सुविधा पाउनुका साथै निजले १ वर्षको अवधिमा १ लाख बराबरको दुर्घटना बीमा पनि पाउने क्यापिटलले जनाएको छ । यो योजनाले सक्रिय रुपमा पूँजी बजारमा लाग्ने हितग्राहीलाई डिम्याट खाता नवीकरणका झन्झटबाट राहत दिलाउने तथा नयाँ लगानीकर्तालाई दीर्घकालीन रुपमा भित्रायाउनमा सघाउ पुर्याउने छ । यो डिम्याट खाता देश विदेशमा रहने नेपालीहरुले स्वयम् उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाईन डिम्याट गरी भिडियो केवाइसि सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ । यसमा व्यक्तिले अनलाईन रिक्वेस्ट गर्दा भिडियो केवाईसी वा इन एप भेरिफिकेशन छनोट गरी आफ्नो अनुकूलताअनुसार समय लिई तुरुन्तै अनलाइन डिम्याट खाता खोल्न सक्नेछन् । प्रभु क्यापिटलको ‘९९९ आजीवन डिम्याट खाता’ को विशेषताहरू ९९९ मा आजीवन डिम्याटको सुविधा साथै १ लाख बराबरको दुर्घटना बीमा, लगानी व्यवस्थापन सेवा (पिएमएस)मा पुराना भएका शेयर पोर्टफोलियोको निशुल्क पुनःसंरचना साथै वार्षिक शुल्कमा ५० प्रतिशत छुट इन्स्ट्यान्ट डिम्याट खाता खोल्ने सेवा प्रभु क्यापिटलको वेबसाइट तथा मोबाइल एपबाटै अनलाईनबाट डिम्याट भर्दा भिडियो केवाईसी तथा एप्लिकेशनबाट भर्दा इन एप केवाईसी भेरिफिकेशनको सुविधा ।

म्याग्दीको सिस्नो पाँचतारे होटलदेखि विदेशसम्म

म्याग्दी । म्याग्दीका पाखापखेरामा जताततै पाइने सिस्नोलाई प्रशोधन गरी पाउडर उत्पादन गर्न थालेपछि यहाँको सिस्नो नेपालमा मात्रै होइन विदेशका पाँच तारे होटलसम्म पुग्न थालेको छ । सिस्नो विशुद्ध अग्र्यानिक उत्पादन हो । यसको उत्पादनमा न कीटनाशक औषधिको प्रयोग गर्नुपर्छ, न कृत्रिम भण्डारणको खाँचो नै पर्छ । बजार क्षेत्रमा बसोबास गर्नेहरु पछिल्लो समय ग्रामीण क्षेत्रमा उत्पादन भएका खाद्य सामग्रीको उपभोगतर्फ आकर्षित भएका छन् । कुनै समय गाउँघरका गरिबको खानाको परिकार भनिने सिस्नोलगायतका ग्रामीण उत्पादन अहिले सहरबजारका धनीको रोजाइँमा पर्न थालेका छन् । आयातित र औद्योगिक उत्पादनको उपभोगसँगै विलासी जीवनशैलीका कारण उत्पन्न हुने स्वास्थ्य समस्याबाट बच्नका लागि ग्रामीण क्षेत्रमा विषादीको प्रयोगबिना प्राङ्गारिक तरिकाले उत्पादन गरिएका तरकारी र खाद्य सामग्रीप्रति आकर्षण बढ्न थालेको छ । ग्रामीण क्षेत्रमा उत्पादन भएका खाद्यान्न, गेडागुडी र तरकारीको माग बढ्न थालेपछि सदरमुकाम बेनीमा महिला उद्यमीले ती सामग्री मात्र पाइने पसल खोलेका छन् । उत्पादनले बजार र मूल्य पाउन थालेपछि गाउँका किसान उत्साहित भएका छन् । गाउँमा उत्पादन भएको सिस्नोको पाउडर, सिमी, साग, चामल, दाल, कोदोको पिठो, भुटेको मकै, मह, घ्यू, अचार, टिमुर, बदाम, च्याउ, टुसा, मकैको आटोलगायतको माग बढ्न थालेपछि पसल सञ्चालन गरेको कालीपुलमा आग्र्यानिक उत्पादनको पसल सञ्चालन गरेकी कमला पौडेलले बताइन् । गरिबको खाना भनेर चिनिने सिस्नोको परिकार केही वर्षयता विदेश र सहर बजारमा लोकप्रिय बन्न थालेपछि म्याग्दीका उद्यमीले प्रशस्त आयआर्जन गर्न सफल भएका छन् । म्याग्दीका उद्यमीले उत्पादन गरेको स्वास्थ्यवद्र्धक सिस्नोको पाउडर हाल काठमाडौं र पोखराजस्ता ठूला सहरमा मात्र नभएर विदेशबाट समेत माग हुन थालेको छ । सिस्नो पाउडरको उपभोग गरेमा महिनावारी नियमित हुने, ग्याष्ट्रिक, स्त्रीरोग, बाथ, खाना नरुच्ने, मधुमेहजस्ता रोग निको हुने भएपछि सिस्नोको माग बढेको उद्यामीको भनाइ छ । यसलाई झोल बनाएर खानासँगै प्रयोग गर्न पनि सकिन्छ । जिल्ला लघुउद्यमी सङ्घ, म्याग्दीका अनुसार गतवर्ष म्याग्दीमा एक हजार तीन सय किलोग्राम पाउडर उत्पादन भई अन्यत्र बिक्री भएको थियो । साउनदेखि माघ महिनामा सिस्नोको मुना टिपेर पाउडर बनाउने उपयुक्त समय हो । बेनी, बागलुङ, कुश्मा, मुस्ताङ, पोखरा, काठमाडौंँलगायत स्थानबाट पाउडरको माग हुने गरेको घतान नेप्टेचौरकी उद्यमी अनिता खत्रीले बताइन् । जिल्लाको बेनी, घोरेपानी र तातोपानीका होटल तथा लजहरूमा पनि पाउडरको माग बढिरहेको छ । एक किलोग्राम पाउडरको मूल्य न्यूनतम चार सय रुपैयाँ पर्छ । करेसाबारी, खेतबारीका कान्ला, खाली जमिनमा उम्रेको सिस्नोबाट पनि आम्दानी गर्न सकिने भएपछि महिला उत्साहित भएको दानाकी उद्यमी मैती तामाङले बताए । वनस्पति विज्ञ चन्द्रमणि सापकोटाका अनुसार सिस्नोमा पाइने झुस जस्तो फर्मिक अम्ल र पोल्ने जलन हुने र हिस्टामाइले सुन्निने भएकाले सिस्नोले छुँदा निकै दुख्ने र पोल्ने हुन्छ । अङु्ग्रेजीमा यसलाई नेटल भनेर चिनिन्छ । मध्यपहाडी तथा उपत्यकामा पाइने पोल्ने झार नै सिस्नो हो र यसमा धेरै औषधीय गुण पाइएको छ । नेपालका पाँचतारे होटेलका मेनुमा पनि सिस्नो निकै लोकप्रिय छ । पात मात्र नभएर यसको जरासमेत उपयोगी हुने आर्युवेदिक चिकित्सकको भनाइ छ । सामान्यतया सिस्नोलाई पखाली उम्लेको तातोपानीमा राखी घोटेर पकाउने चलन छ । विशेषगरी यसमा नून, खुर्सानी, टिमुरको धुलो, लसुन, मकैको च्याख्ला राखेर पकाइन्छ । अन्त्यमा नून, मरिच र क्रिम हालेर नेटल सुपको रुपमा प्रयोग गर्ने चलन छ ।