नर्भिकमा मृगौला प्रत्यारोपण सेवा सुरु
काठमाडाैं । नर्भिक इन्टरनेशनल हस्पिटलले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । विगत ३० वर्षदेखि स्वास्थ्य सेवा प्रवाह गर्दै आएको नर्भिकले मृगौला प्रत्यारोपण सेवाको समेत सुरुवात गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । नर्भिकले हालसम्म २ जना व्यक्तिको मृगौलाको सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरिसकेको जानकारी दिएको छ । मृगौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी ५५ वर्षीया पत्नीले दान दिएको मृगौला र ५४ वर्षीय अर्का पुरुषमा उनकी ३० वर्षीया छोरीले दिएको मृगौलाको सफल प्रत्यारोपण गरिएको हस्पिटलले जनाएको छ । विज्ञ चिकित्सक डा. राकेश बर्मा र डा. आर.के. अग्रवाल नेतृत्वको विज्ञ तथा सल्लाहकारहरुको टिमले मृगौला प्रत्यारोपणको काम गर्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले बताएका छन् । मिश्रका अनुसार मृगौला प्रत्यारोपण गर्दा १२ देखि २० लाख रूपैयाँसम्म खर्च हुन्छ । ‘खर्च बिमारीको अवस्थाअनुसार हुन्छ, हामीले १२ देखि २० लाख सम्म खर्च हुने अनुमान गरेका छौं ’, उनले भने । उनले नेपालको मृगौला प्रत्यारोपण विश्वमै सस्तो भएको र नर्भिक अस्पतालमा लाग्ने खर्च पनि मध्यम आर्थिक अवस्था भएकाहरुका लागि सहज भएको बताए । नर्भिकले ३ महिना अगाडि मृगौला प्रत्यारोपण सेवा सञ्चालन गर्ने लाइसेन्स पाएको थियो । कार्यकारी अधिकृत मिश्रका अनुसार आजभन्दा १७ दिन अगाडि पहिलो मृगौला प्रत्यारोपण सेवा शुरु गरेको हो । दुई वटा मृगौला प्रत्यारोपणमा सफलता पाएपछि अस्पताल सेवामा उत्साहित भएको उनले बताए । अस्तालमा भएको जनशक्ति र प्राविधिक पक्षलाई हेर्दा मृगौला प्रत्यारोपणको क्षेत्रमा धेरै काम गर्न सक्ने उनको भनाइ छ । नर्भिकले कोभिड महामारीपछिको २ वर्षमा उपचारको क्षेत्रमा धेरै नयाँ सेवा विस्तार गरेको प्रमुख कार्यकारी अधिकृत मिश्रको भनाइ छ । उनका अनुसार आइभिएफ सेवामा राम्रो पहिचान बनाएको नर्भिकले डर्माटोलोजी र कस्मेटिक सेवा पनि विस्तार गरेर सञ्चालन गरिरहेको छ । अस्पतालले कलेजो प्रत्यारोपणको लागि लाइसेन्स प्रकृया अगाडि बढाएको भन्दै अधिकृत मिश्रले प्रकृया पुरा भएमा आगामी ६ महिनाभित्रमा सेवा सञ्चालन हुन सक्ने बताए ।
भक्तपुर नगरपालिकाद्वारा विदेशी पर्यटन शुल्क समायोजन
भक्तपुर । अमेरिकी डलरको भाउ बढेको भन्दै भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र प्रवेश गर्ने विदेशी पर्यटकसँग लिँदै आएको पर्यटन शुल्क वृद्धि गरेको छ । नगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबारस्कवायरलगायत नगरपालिकाभित्रका सम्पदा अवलोकनका लागि प्रवेश गर्ने विदेशी पर्यटकबाट असुल गर्दै आएको पर्यटन शुल्कमा २०२३ जनवरी १ देखि लागू हुने गरी वृद्धि गरेको हो । नगरपालिकाका पर्यटन सूचना केन्द प्रमुख गौतम लासिवाले अमेरिकी डलरको मूल्य उच्च रुपमा वृद्धि हुँदै गएपछि नगरपालिकाले पर्यटन शुल्कमा सोही अनुरुप शुल्क समायोजन गरेको बताए । नगरपालिका प्रवेश गर्ने सार्क राष्ट्रका पर्यटकसँग लिँदै आएको रु पाँच सय शुल्क भने यथावतै राखिएको र सार्क राष्ट्र बाहेक अन्य राष्ट्रका पर्यटकसँग एक हजार पाँचसय लिँदै आएकामा जनही एक हजार ८०० लिने निर्णय भएकोे उनले बताए । प्रमुख लासिवाले भने, ‘नगरपालिकाले नगर परिषद्बाटै शुल्क समायोजन गर्ने निर्णय गरेको थियो, त्यसलाई फष्ट जनवरीदेखि लागू गरेका हाैँ, डरलको मूल्य एक सय ३० को हाराहारीमा पुगेकाले मूल्य समायोजन गरेका हौँ, डलरमा शुल्क भुक्तानी गर्नेसँग १५ अमेरिकी डलर नै लिने र नेपाली रुपैयाँ भुक्तानी गर्नेको हकमा एक हजार आठसय लिने निर्णय भएको छ ।” रासस
सत्तारुढ गठबन्धनमा सामेल हुन सकिँदैन : माधव नेपाल
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सामेल हुन आग्रह गरिरहँदा उनको यस्तो अडान बाहिर आएको हो । सोमबार (आज)बाट काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकमा बोल्दै उहाँले राष्ट्र र जनताको हितलाई केन्द्रविन्दुमा राखेर आफ्नो पार्टी अघि बढ्ने पनि स्पष्ट पारे । अध्यक्ष नेपालले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठिक गरिरहेको उल्लेख गर्दै कसै सामू लत्र्ने पक्षमा नरहेको समेत बताए । मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे वस्तुनिष्ठ समिक्षा गरेर आफूहरु अघि बढ्ने तर आरोपप्रत्यारोपको राजनीति गर्ने पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाई थियो । अध्यक्ष नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीभित्रै रहेर ती समस्या समाधान गरेर अघि बढने आफूहरुको प्रयास असफल भएपछि नयाँ पार्टी खोलेर अघि बढ्नु परेको तथ्य बुझ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे । अध्यक्ष नेपालले आफूहरुबाट केही गल्ती भए सच्चिन तयार रहेको उल्लेख गर्दै कसैलाई पनि पानी माथिको ओभानो बन्ने प्रयास नगर्न पनि बताए । आजबाट सुरु भएको बैठकमा नेताहरुले सरकारमा पार्टी सहभागी हुने वा नहुने भन्ने विषयमा पनि आ–आफ्नो धारणा राख्ने एजेण्डा समेत तय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । त्यसैगरी बैठकमा निर्वाचनको समिक्षा, पार्टीको भावी नीति र कार्यक्रमबारे पनि छलफल हुने नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ ।
कर्पोरेट क्लबले गर्यो सिद्धार्थ बैंकलाई सम्मान
काठमाडौं । सिद्धार्थ बैंक ‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२२’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई ‘एचआरएम कर्पोरेट एक्सिलेन्स इन फाइनान्सियल इन्स्टिच्युशन’ विधामा उक्त अवार्डबाट सम्मान गरिएको हो । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुयाउने उद्देश्यले बैंकले देशभर १९३ वटा शाखा ९४ एक्स्टेन्सन् काउन्टर सहित २१५ एटिएम् ११८ शाखारहित बैंकिङ्ग सेवा र १,८०० भन्दा बढी पिओएस् मेसिन मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यसबाहेक आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिँदै सुरक्षित तरिकाले अनलाइनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न बैंकिङ्ग सुविधाहरु सरल एवं ग्राहक मैत्रीढङ्गले प्रवाह गर्दै आएको बैंकको भनाइ छ ।
ईसेवाको आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द
काठमाडौं । ईसेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द गरेको छ ।आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाई गरेसँगै ईसेवाले आन्तरिक रेमिट्यान्स कारोबारलाई पूर्ण रूपमा बन्द गरेको हो । कम्पनीको सम्पूर्ण ध्यान विदेशबाट स्वदेशमा रेमिट्यान्समार्फत विदेशी मुद्रा भित्र्याउन उपयोग गर्न आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपले बन्द गर्ने बोर्डले निर्णय गरेको ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले बताए । ‘राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीलाई विदेशबाट रेमिट्यान्समा विदेशी मुद्रा प्राप्त गर्ने कार्य मात्र गर्न पाउने व्यवस्थाको पूर्ण रूपमा पालना गर्नु निर्देशन दिएकाले आन्तरिक रेमिट्यान्स कारोबार बन्द गरेका हौं,’ उनले भने । उनले मुलुकको समग्र रेमिट्यान्समा वार्षिक रुपमा १० प्रतिशत मात्रै वृद्धि हुने गरेको बताए । ‘विदेशी रेमिट्यान्स वृद्धि गर्न आन्तरिक रेमिट्यान्सले ठूलो योगदान गर्न सकेको छैन,’ उनले भने । ०७८ फागुनमा आन्तरिक रेमिट्यान्सको कारोबार सीमा ९मुलुकको एक स्थानबाट अर्को स्थानमा रेमिट्यान्स कम्पनी तथा उसका सब–एजेन्टमार्फत गरिने आन्तरिक रेमिट्यान्स स्थानान्तरण० घटाइएको थियो । त्यसयता प्रत्येक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपैयाँ मात्र स्थानान्तरण गर्न पाउने व्यवस्था छ ।
आजदेखि अल्का अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । अल्का अस्पतालले आजदेखि ५ दिनसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना सुरु गरेको छ। जावलाखेलमा रहेको अल्का अस्पतालले १८ गतेदेखि २२ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो। अस्पतालका अध्यक्ष कुमार थापाले आइभिएफ, मधुमेह र साइकियाट्रिक एक आपसमा सम्बन्ध भएका कारण यस पटकको शिविरमा यी विषयलाई प्राथमिकता दिएको उल्लेख गरे। अस्पताल परिसरमा सुरु निःशुल्क स्वास्थ्य शिविरमा आइभिएफ, मधुमेह तथा न्युरो साइकियाट्रिक विशेषज्ञबाट स्वास्थ्य जाँच भइरहेको प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए। शिविरमा स्वास्थ्य जाँच गरिएकाहरुलाई चिकित्सकको सिफारिस अनुसार निःशुल्क ल्याव जाँच र औषधि वितरण पनि गरिने अस्पतालले जनाएको छ। शिविरमा सहभागी इच्छुकलाई आइभिएफमा १ लाख छुटको व्यवस्था मिलाइएको छ। त्यस्तै एमआरआइ र सिटी स्क्यान पनि निःशुल्क गरिने अस्पताल प्रशासनले जनाएको छ। शिबिरमा सहभागीहरुले एक महिनासम्म फलो अप गर्दा पनि कुनै शुल्क लाग्ने छैन। अस्पतालले केही समय अघि अल्का आइभिएफ सेन्टर र डाइबेटिज सेन्टरको स्तरउन्नती गरेको थियो।
अधिकारीचौरबासीले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै
ढोरपाटन । अधिकारीचौरगाउँ अर्थात् ‘तरकारी गाउँ’ । गाउँभरी प्लास्टिकका टनेल । टनेलभित्र लटरम्म फलेका गोलभेँडा, फक्रिएका बन्दा र काउली । एकदशक अगाडिसम्म गहुँ, जौ, धान र मकै फल्ने अधिकारीचौरका खेतीयोग्य जमिनमा अहिले तरकारीखेती भइरहेका छन् । अहिले ती बारीमा सेताम्मे प्लास्टिका टनेल छन् । पहिले गहुँ, मकै उत्पादन गरे परिवार पाल्न गाह्रो हुने किसानलाई अहिले लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका छन् । ढोरपाटन नगरपालिका–५ मा पर्ने अधिकारी चौर र नाथुरी गाउँका अधिकांश नागरिक तरकारी खेतीमा आबद्ध छन् । विसं २०७५ देखि गाउँलेले सुरु गरेको व्यावसायिक तरकारी खेतीले अहिले ठूलो रुप लिएको छ । कृषकले तरकारी खेतीलाई विस्तार गरेपछि गाउँका बाँझो जमिन पनि प्रयोगमा आएका छन् । युवाले रोजगार पाएका छन् । गाउँमा दुई सय २० घर परिवार छन् । उनीहरु सबै तरकारी खेतीमै आबद्ध छन् । यहाँ प्लास्टिक टनेल नहालेको कुनै परिवार छैन । बुर्तिबाङ बजार नजिकै रहेको अधिकारीचौर तथा नाथुरी गाउँका अधिकांश नागरिक तरकारी खेती गर्दै आएका छन् । बजारीकरणको समस्या नभएको हुँदा यहाँका कृषकले वार्षिक न्यूनतम एक लाखदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको स्थानीय कृष्णलाल कँडेलले बताए । कँडेलले गाउँका स्थानीयमा उद्यम गर्नुपर्छ भन्ने सोँच विकास भएपछि अधिकारीचौर र नाथुरीगाउँ ‘तरकारी गाउँ’का रुपमा विकास भएको बताए । पछिल्लो समय यहाँ तरकारीखेती फस्टाउँदै गएपछि गाउँले नै यसतर्फ आकर्षित भएको उनि बताउछन् । ‘गाउँलेलाई पहिले बारीमा उत्पादन भएको धान, मकै र गहुँले खान पुग्दैनथ्यो, अहिले यहाँका कोही पनि नागरिकलाई किनेर खानुपर्ने अवस्था छैन, सबैको बारीमा तरकारी फलेको छ, पैसा चाहिए एक डोका तरकारी बजारमा लगेर बेचे भइहाल्छ, केही होलान् गाउँमा तरकारी खेती नगरेका तिनीहरू पनि तरकारी खेतीमा जोडिँदै छन्’, कँडेलले भने, ‘अहिले यो गाउँमा टनेल नबनाएको घर नै छैन, तरकारी खेतीले दैनिकी फेरिएको छ ।’ व्यावसायिक तरकारी खेतीले जीवनशैली नै बद्लिएको कँडेलको भनाइ छ । उनले आफूहरुले उत्पादन गरेको तरकारीले पनि राम्रो बजार पाएको भन्दै कृषक थप उत्साहित भएर लागेको बताए । तरकारी खेती गर्न कृषि ज्ञान केन्द्रले पनि राम्रो सहयोग गर्दै आएको उनि बताउछन् । गाउँमा खाली जग्गामा पनि विस्तारै तरकारी खेती हुन थालेको कँडेलको भनाइ छ । ‘विगतमा यहाँका जनताको अवस्था कस्तो थियो, अहिले कस्तो भयो हामी चकित पर्छौँ, लगनशीलता र परिश्रमले जीवन फेरिँदोरहेछ, पहिले धेरै जसोले मजदूरी गरेरै जीविकोपार्जन गर्नुपथ्र्यो, अहिले आफ्नै बारीमा पैसा फलेको छ’, उनले भने, ‘बजारको समस्या छैन, गाउँमै मोटरबाटो आएको छ, त्यसले गर्दा व्यापारी बारीमै तरकारी खरिद गर्न आउँछन् ।’ स्थानीय जनकराज पाण्डेले तरकारी खेतीबाट वार्षिक तीन लाख बढी आम्दानी गर्ने गरेको बताए । आफ्नो बारीमा ११ वटा अस्थायी एउटा स्थायी टनेल निर्माण गरेर तरकारी खेती गर्दै आएको पाण्डेको भनाइ छ । कृषि ज्ञानकेन्द्र बागलुङले तीन लाख सहयोग गरेको भन्दै त्यसबाट तरकारी खेती विस्तारमा ठूलो राहत मिलेको उनि बताउछन् । पाण्डे भन्छन्, ‘मेरो तरकारी फार्म केही लेकमा पर्छ, टनेलमा खेती गर्दा राम्रै उत्पादन हुँदो रहेछ, मैले बाह्र वटा टनेलमा तरकारी खेती गरेको छु, वार्षिक तीन लाख आम्दानी हुने गरेको छ, गाउँमा अरु किसानले पनि राम्रो आम्दानी गरेका छन्, पहिले यस्तो तरकारी खेती गर्ने चलन थिएन, मोटरबाटो आएपछि मात्रै यसरी व्यावसायिकरुपमा खेती हुन थालेको हो ।’ कृषकले उत्पादन गरेको तरकारीले उचित मूल्य पाउन नसकेको पाण्डेले गुनासो गरे । उनले बजारको समस्या रहेको हुँदा व्यापारीले भनेकै मूल्यमा बिक्री गर्नुपर्ने अवस्था रहेको बताए । पाण्डेले हिउँदका समयमा तरकारी बजार पुर्याउन सहज भए पनि बर्खामा ठूलो समस्या पर्ने गरेको बताउछन् । ‘यहाँ उत्पादन भएको तरकारी सबै बुर्तिबाङ बजारमा पुर्याउँछौँ, बजारमा भारतबाट आएका तरकारीले गर्दा हामीले उत्पादन गरेको तरकारी कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था छ, व्यापारीले भनेको मूल्यमा दिनुपर्ने अवस्था छ’, उनले भने, ‘खोलामा पुल छैन, बर्खाको समयमा डोकोमै बोकेर बजार पुर्याउनुपर्ने अवस्था छ, असार लाग्यो भने बाटो बन्द हुन्छ, असोज कात्तिकसम्म बोकेरै बजार पुर्याउनुपर्छ ।’ स्थानीय शालिकराम कँडेलले तरकारी खेती गरेपछि आर्थिक समस्या भोग्नु नपरेको बताए । तरकारी खेतीबाट परिवार चलाउन सहज भएको बताए । उनले कृषि ज्ञान केन्द्रबाट चार लाख अनुदान प्राप्त भएको भन्दै त्यसबाट टेनल व्यवस्थापन गरी थप खेती विस्तार गरेको बताए । ज्ञान केन्द्रले सहयोग गरे पनि ढोरपाटन नगरपालिकाबाट अहिलेसम्म सहयोग प्राप्त नभएको उनको भनाइ छ । कँडेल भन्छन्, ‘सिङ्गो गाउँ नै तरकारी खेतीमा लागेको छ, तर हामीलाई नजिकको सरकार (नगरपालिका)ले सहयोग गरेको छैन, किसानका थुप्रै समस्या छन्, केही सहयोगको अपेक्षा त हुँदो रहेछ तर भएन, तरकारी खेतीले सानो सानो रकम कसैलाई माग्न परेको छैन, परिवार सजिलैसँग चलाउन सकिएको छ ।’ अधिकारी चौर र नाथुरी गाउँ तरकारी खेतीका लागि उर्वर भूमि रहेको हुँदा कृषक पनि सक्रिय भएर लागेका छन् । गाउँका सबै स्थानीय तरकारी खेतीमा आबद्ध हुँदा वार्षिक गाउँमा ५० लाख बढी भित्रिने गरेको छ । कृषकलाई समयसमयमा परामर्श, तालिम तथा आवश्यक अनुदानसमेत दिँदै आएको कृषि ज्ञानकेन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए । उनले यहाँका कृषकले निकै मेहनतका साथ तरकारी खेती गरेको बताए । यहाँको माटो र वातावरण तरकारी खेती सुहाउँदो भएको हुँदा उत्पादन पनि राम्रो हुने गरेको भट्टराई बताउछन् । कृषि ज्ञान केन्द्रले यहाँ तीन सयभन्दा बढी प्लास्टिक टनेल निर्माण गरिदिएको उनको भनाइ छ । ‘अधिकारीचौरका किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण प्रयोजनाअन्तर्गत व्यावसायिक कृषि उत्पादन केन्द्र तरकारी ब्लकबाट दुई वर्षमा ५० लाखको सहयोग गरिसकेका छौँ, यहाँका धेरै किसान तरकारी खेतीमा आबद्ध छन्’, भट्टराईले भने, ‘उनीहरु निकै मेहनतका साथ लाग्नुभएको छ, ज्ञान केन्द्रको सहयोगले उनीहरुलाई ठूलो राहत पुगेको छ ।’ रासस
बीमा प्राधिकरणले घटाएर पठायाे आइएमई जनरलकाे लाभांश
काठमाडाौं । आइएमई जनरल इन्स्योरेन्सको लाभांश संशोधन भएको छ । नेपाल बीमा प्राधिकरणले कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको लाभांश संशोधन गरेर पठाएको हो । संशोधन भएपछि आइएमई जनरलको लाभांश ६.३२ भएको छ । संशोधन हुनअघि कम्पनीको लाभांश ६.८४ भएको छ । उक्त लाभांश कम्पनीको २५ औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।