फेरियो राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचन चिह्न फेरिएको छ । रास्वपाको चुनाव चिह्नबाट गोलो हटाएर घण्टीमात्रै राखिएको हो । यसअघि रास्वपाको चुनाव चिह्नमा गोलो घेराभित्र घण्टी रहेको थियो । निर्वाचन आयोगले पनि राजनीतिक दलसम्बन्धी विवरण अद्यावधिक गर्दै रास्वपाको चुनाव चिह्न घण्टीमात्रै राखेको छ ।
जजीरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हप्तामा ३ वटा गर्ने
काठमाडौं । जजीरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा फागुन २५ गतेदेखि आफ्नो निर्धारित उडानहरू पुनः शुरु गर्ने घोषणा गरेको छ । जजीरा एयरवेजले फागुन २५ गतेदेखि भैरहवाबाट साप्ताहिक (हप्ता) रुपमा ३ वटा उडान गर्नेछ । जजीराले भैरहवाबाट कुवेतको लागि मंगलबार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८ः०५ बजे उडान भर्ने र कुवेतमा स्थानीय समय अनुसार बिहान १०ः५५ बजे अवतरण गर्ने जानकारी दिएको छ । जजीरा एयरवेजले भैरहवादेखि कुवेतसम्म २८ हजार ८३६ रुपैयाँको विशेष प्रारम्भिक एकतर्फी उडानका भाडा कायम गरेको छ ।
हिमालय ट्राभल मार्टको चौथो संस्करण हुँदै
काठमाडाैं । पर्यटन प्रवद्र्धन गर्न हिमालय ट्राभल मार्टको चौथौ संस्करण हुने भएकाे छ । यहि जुन ६ देखी ९ सम्म काठमाडाैंमा हिमालय ट्राभल मार्ट आयाेजना हुन लागेकाे हाे । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरद्धारा नेपाल सरकार (संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय) को स्वामित्व अन्तर्गत नेपाल पर्यटन बोर्ड, नेपाल वायु सेवा निगम, पाटा अन्तराष्ट्रिय एवम पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाहरुको विशेष सहयोग तथा सहकार्यमा ट्राभल मार्ट आयाेजना गर्ने लागिएकाे हाे । सन् २०१७ देखि वार्षिक रुपमा हुँदै आएको यस ट्राभल मार्ट कोभिड–१९ महामारीका कारण सन २०१९ पश्चात आयोजना हुन सकेको थिएन । पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुरले पर्यटन क्षेत्र क्रमशः लयमै फर्किरहँदा हिमालयन ट्राभल मार्टको आयोजनाले नेपाल लगायत समग्र हिमालयन क्षेत्रकै पर्यटन पुनरुत्थान र प्रवर्धन पहलहरूलाई सहयोग पुर्याउने तथा महत्त्वपूर्ण अवसर प्रदान गर्ने विश्वास लिएकाे बताए । यस्तै, पर्यटनमन्त्री सुदन किँरातीले हिमालयन ट्राभल मार्ट २०२३ मा सहभागी भई नेपालले प्रदान गर्ने जीवन्त अनुभवहरुको अनुभूति लिन तथा कोभिड पछिको पर्यटन पुनरुत्थानमा आवश्यक साथ, सहयोग र सहकार्यका लागि आग्रह गरेका छन् । देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हिमालयन ट्राभल मार्टमा नेपाल, भारत, पाकिस्थान, चीन (तिब्बत), भुटान र म्यानमार जस्ता हिमालयन राष्ट्रहरुबाट विक्रेताहरु तथा युरोप, अमेरिका, अष्ट्रेलिया, न्यूजिल्याड, एसिया, सि. आई. एस. राष्ट्रहरु, एशिया र अरब राष्ट्रका विश्वब्यापी क्रेताहरुलाई एउटा मञ्चमा भेला गराई उनीहरुबीच व्यापार आदान–प्रदान तथा सम्बन्ध संञ्जाल विस्तार, ज्ञान तथा सिप आदान–प्रदान गर्ने एक अद्धितीय मञ्च तथा एउटा विशेष लोकप्रिय बी–टु–बी कार्यक्रम हो ।
उद्योग वाणिज्य महासंघकाे जिल्ला नगर उपाध्यक्षमा सुमार्गी सिफारिस
फाइल फाेटाे काठमाडौं । मकवानपुर उद्योग वाणिज्य संघले अरुणराज सुमार्गीलाई नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा सिफारिस गरेको छ । सोमबार बसेको संघको बैठकले महासंघको केन्द्रीय सदस्य रहेका सुमार्गीलाई जिल्ला नगर उपाध्यक्षमा सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै, सोमबारको बैठकले संघका अध्यक्ष कृष्ण कटुवाल खुल्ला तर्फको केन्द्रीय सदस्यमा सिफारिस गर्ने निर्णय गरेको जनाईएको छ । महासंघको विधान अनुसार आगामी चैत मसान्तमा निर्वाचन गर्नैपर्छ । महासंघको विधानअनुसार निर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्षको हुन्छ तर शेखरको कार्यकाल २ वर्ष ४ महिना मात्र भयो । कोरोना महामारीको कारण २०७६ चैतमा हुनु पर्ने साधारणसभा २०७७ मंसिरमा भएको थियो ।
सर्लाहीमा ५ हजारभन्दा बढी शिक्षक दरबन्दी रिक्त
सर्लाही । सर्लाहीका सामुदायिक विद्यालयमा ५ हजारभन्दा बढी शिक्षक र कर्मचारीको दरबन्दी खाली छ । जिल्लाका ४ सय ७८ सामुदायिक विद्यालयमा ५ हजार ३ सय १७ शिक्षकको दरबन्दी खाली भएको हो । जिल्लामा ४ सय ७८ सामुदायिक विद्यालय रहेकामा २ हजार ३ सय ८८ शिक्षक मात्र कार्यरत छन् । ५ हजार ३ सय १७ शिक्षकको दरबन्दी खाली रहेको शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहले जानकारी दिए । त्यस्तै विद्यालय सहायक परिचर ५ सय ७८, विद्यालय सहयोगी ८६ र निजी स्रोतका शिक्षक १ सय ८ दरबन्दीमा कार्यरत रहेको उनले बताए । सामुदायिक विद्यालयमा २ हजार ९ सय ३९ शिक्षकको दरबन्दी अतिआवश्यक रहेको कुशवाह बताउँछन् । शिक्षक पदपूर्ति नहुँदा सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रवाह गर्न नसकेको गुनासो आउने गरेको उनको भनाइ छ । जिल्लामा अधिकांश सामुदायिक विद्यालयमा तहगत शिक्षक, विषयगत शिक्षक र विद्यार्थी तथा शिक्षकको अनुपात मिलान नहुँदा अध्यापनमा सुधार हुन सकेको छैन । २० स्थानीय तह रहेको सर्लाहीमा हरेक स्थानीय तहमा १० भन्दा बढी सामुदायिक विद्यालय छन् । सामुदायिक विद्यालयको गुणस्तर खस्किँदो अवस्थामा रहेकाले विद्यार्थी संख्या न्यून हुँदै गएको छ । केही विद्यालयमा विद्यार्थी संख्या धेरै रहे पनि शिक्षक अभाव छ । केही विद्यालयमा शिक्षक मात्र छन् भने केहीमा विद्यार्थी छैनन् । रासस
तोलामा ५ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । आज बुधबार सुनचाँदीको भाउ बढेको छ । हिजो मंगलबार तोलामा १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुनको भाउ पनि प्रतितोला ५ सय रुपैयाँले नै बढेर तोलाको १ लाख १ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर तोलाको १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
भूमिहीनलाई जग्गा दिन प्रक्रिया थालियो
खोटाङ । राष्ट्रिय भूमि आयोगको कार्यालय खोटाङले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गा दिन प्रक्रिया थालेको छ । कार्यालयलाई हालसम्म जग्गा प्राप्तिका लागि सात सय ७९ भूमिहीनले निवेदन दिएका छन् । जिल्लाका १० वटै स्थानीय तहले सबै प्रक्रिया पूरा गरी भूमि आयोगलाई उनीहरुको तथ्याङ्क पठाएको छ । जिल्लाभर भूमिहीन सुकुम्बासी एक सय ४९, भूमिहीन दलित ५० र अव्यवस्थित बसोबासी पाँच सय ८० जनाले जग्गाका लागि निवेदन दिएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५१ भूमिहीन सुकुम्बासी, १६ भूमिहीन दलित र दुई सय अव्यवस्थित बसोबासीले जग्गाका लागि निवेदन दिएका छन् । यस्तै हलेसी तुवाचुङ नगरपालिकामा १४ भूमिहीन सुकुम्बासी, आठ भूमिहीन दलित र एक सय ४० अव्यवस्थित बसोबासीले निवेदन दिएका नापी कार्यालयका प्रमुख मदन खत्रीले जानकारी दिए । यसैगरी खोटेहाङ गाउँपालिकामा आठ भूमिहीन सुकुम्बासी, छ भूमिहीन दलित र १० अव्यवस्थित बसोबासी, केपिलासगढी गाउँपालिकामा छ भूमिहीन दलित र छ अव्यवस्थित बसोबासी, जन्तेढुङ्गा गाउँपालिकामा १५ भूमिहीन सुकुम्बासी र ३१ अव्यवस्थित बसोबासी, बराहपोखरी गाउँपालिकामा १८ भूमिहीन सुकुम्बासी र ३७ अव्यवस्थित बसोबासी, रावाबेँसी गाउँपालिकामा १५ भूमिहीन सुकुम्बासी र ४२ अव्यवस्थित बसोबासी, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १६ भूमिहीन सुकुम्बासी, चार भूमिहीन दलित र ५२ अव्यवस्थित बसोबासी, ऐसेलुखर्क गाउँपालिकामा छ भूमिहीन सुकुम्बासी र चार भूमिहीन दलित, साकेला गाउँपालिकामा छ भूमिहीन सुकुम्बासी, छ भूमिहीन दलित र ६२ अव्यवस्थित बसोबासीले जग्गा प्राप्तिका लागि निवेदन दिएका छन् । स्थानीय तहबाट प्राप्त निवेदन भूमि आयोगको प्रविष्ट प्रणालीमा समावेश गर्ने काम भइरहेको आयोगका सदस्यसचिव खत्रीले बताए । भूमि आयोगले गत भदौ १ गते सूचना प्रकाशन गरी निवेदन दिन आह्वान गरेको थियो । दुई चरणमा निवेदन सङ्कलन गरिएको थियो । निवेदन दिने व्यक्ति भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी हो÷होइन भनेर मालपोत कार्यालयले छानविन गरेर टुङ्गो लगाएपछि मात्र उनीहरूलाई जग्गा उपलब्ध गराइने भूमि आयोगका अध्यक्ष सुरेशकुमार राईले बताए । उनीहरुले आवास वा खेतीका लागि कानुनअनुसार जग्गा पाउनेछन् । सम्बन्धित स्थानीय तहका प्रमुख संयोजक रहने गरी पालिकास्तरीय समिति र वडाध्यक्ष संयोजक रहने गरी वडास्तरीय सहजीकरण समिति गठन गरिएको थियो । रासस
स्थगित भयो प्रतिनिधि सभा बैठक, उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने
काठमाडौं । आज दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । स्थगित बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ । संसद सचिवालयले सूचना जारी गर्दै प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ । यही फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ ।