वीरगञ्ज महानगरमा बजार अनुगमन, ठूलो परिमाणमा सामान नष्ट
वीरगञ्ज । होली पर्वलाई दृष्टिगत गरी वीरगञ्ज महानगरपालिकाले सुरु गरेको बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद नाघेका सामान बरामद गरी नष्ट गरिएको छ । सरोकारवाला निकायसँग समन्वय गरी महानगरपालिकाले बजार अनुगमन थालेको हो । वीरगञ्ज महानगरपालिका–९ स्थित पानगल्लीमा रहेका किराना तथा खाद्यान्न पसलमा अनुगमन गर्दा विभिन्न पसलबाट म्याद नाघेको पिठो, बिस्कुट, खानेतेललगायत सामान नष्ट गरिएको वीरगन्ज महानगरपालिकाका खाद्य अधिकृत विपीनलाल दासले जानकारी दिए । पानगल्लीस्थित सुमित्रा ट्रेडर्स एण्ड सप्लायर्स, श्री श्याम ट्रेडर्स, बालाजी ट्रेडर्स, सिद्धिदाता ट्रेडर्स, वर्णबाल जेनरल सप्लायर्स, गहवामाई सप्लायर्स र श्री गढीमाई स्टोर्समा अनुगमन गर्ने क्रममा धेरैजसो पसलमा व्यवसाय अनुमतिपत्र नलिई सञ्चालन गरेको, मूल्यसूची नराखेको, पसलको बोर्ड नराखिएको, म्याद गुज्रेको सामान, लिकेज ब्रेकेज सामान राख्ने ठाउँ नराखिएको पाइएको खाद्य अधिकृत दासले बताए ।
विदेशमा सीप सिकेर स्वदेशमा कफीखेतीमा लगानी, मनग्य आम्दानी
रामपुर । कुनै समय घरका आँगन र डिलमा सौखका रूपमा कफी लगाइन्थ्यो । उत्पादन लिन नभई घर वरपरको वातावरण सुन्दर र हरियाली बनाउन गाउँघरमा सबैका घरमा दुई–चार बोट कफीका भेटिन्थे । कफीका बोटमा फलेका दानाको महत्व राम्रोसँग थाहा नहुँदा त्यसै खेर जान्थ्यो । हिजोआज भने कफीतर्फ आकर्षण बढ्दै गएको छ । यसको खरिद बिक्री, खेती विस्तारमा समेत जोड दिइन थालिएको छ । पाल्पाको रामपुर नगरपालिका–५ भम्बकका प्रेमबहादुर सिंले अहिले कफीखेती गर्नुका साथै गाउँघरमा उत्पादित कफी खरिद बिक्री गरिरहेका छन् । करिब आठ वर्ष दक्षिण कोरिया बसेर फर्किएका उनी अहिले कफी व्यवसायमा रमाइरहेका छन् । विदेशमा रोजगारीका क्रममा उनी कफी कम्पनीमा काम गर्थे । त्यहाँ बस्ने क्रममा कफी उत्पादन, प्रशोधन र बजारीकरणका सीप सिकेपछि अहिले स्वदेशमा बसेर व्यवसाय गर्न सजिलो भएको बताउँछन् । वैदेशिक रोजगारीका क्रममा गुल्मीमा उत्पादन भएको कफी आफू कार्यरत कम्पनी सञ्चालकले खरिद गरी हिमालयको गिफ्ट नामले प्रशोधन गरी बजारमा बिक्री गरेको देखेपछि सिंले गाउँ फर्केर आफ्नो देशको उत्पादन आफैँले बिक्री गर्ने अठोट लिए । ‘हाम्रो देशमा उत्पादन भएको कफी विदेशीले महँगो मूल्यमा ब्राण्ड बनाएर बजारमा बिक्री गरिरहेको छ’, उनले भने, ‘सीप र प्रविधि नहुँदा नेपाली उत्पादन विदेशीले प्रशोधन गरी बजार पठाएका छन्, आफ्नो उत्पादन आफैँ प्रशोधन गरी बजार पठाउने मनसायले विदेशबाट फर्केर यस व्यवसायमा लागेको हुँ ।’ नेपालमा उत्पादन भएको कफीको स्वाद बेग्लै पाएपछि नेपाल फर्केलगत्तै व्यवसायमा लागेको सिं बताउछन् । उनले कफी उत्पादन, खरिद बिक्रीमात्र नभई ग्राहकको मागअनुसार बिरुवा उपलब्ध गराउँदै आएका छन् । बरमुन अर्मिलो, बरमुन भर्बिलो, गेइसिया जातका कफी खरिद बिक्री गर्छन् । स्थानीय उत्पादन भएकाले ग्राहकले धेरै मन पराएका छन् । उनी भन्छन्, ‘घरका आँगन, डिल वरिपरि सौखमा रूपमा लगाइएका पाँच–सात कफीका बोट आमाले लगाउने गर्नुहुन्थ्यो, दाना फल्ने आफैँ भुइँमा झर्ने गथ्र्यो, कुनै उपयोगमा ल्याइएन, विदेशमा गएपछि मात्रै कफी कम्पनीमा काम गर्न थालेपछि यसको महत्व र फाइदाबारे जानकारी पाएँ ।’ विदेशमा बटुलेको अनुभवले सिंले स्वदेशमा सोही सीप लगानी गरेका छन् । आफूले उत्पादनदेखि प्रशोधनका प्रविधिको ज्ञान सीप जानेपछि काम गर्न धेरै सजिलो परेको उनको भनाइ छ । उनले गुल्मीबाट बीउ ल्याएर खेती सुरु गरेका हुन् । स्याङ्जाको चापाकोट नगरपालिका–४ लग्दाहामा आजभन्दा करिब सात वर्षअघि पाँच सय बोट बिरुवा लगाए । सो बिरुवाले हाल उत्पादन दिइरहेको छ । व्यावसायिक तवरबाट खेती गरेका उनले बिरुवा लगाएको दुई वर्षमा फुल्न थालेको बताए । स्याङ्जाको वालिङ, जगत्भन्ज्याङमा उत्पादन भएका कफी खरिद गरेर पाल्पा रामपुरमा प्रशोधन गरी बाहिर पठाउछन् । ‘अग्र्यानिक चिया तथा कफी’ नाममा गत वर्ष घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा दर्ता गरी आफैँ उत्पादन, खरिद, प्रशोधन गरी बजारीकरण गरिरहेका छन् । आफ्नै घरमा प्रशोधन मेसिन जडान गरी बजारीकरण गरेपछि राम्रै आम्दानी हुन थालेको सिंले बताए । गत वर्षमात्रै आफूले लगाएको एक हजार आठ सय किलो कफी उत्पादन गरेका छन् भने करिब २८ टन कफी खरिद बिक्री गरेको उनले बताए । गत वर्ष एक हजार छ सय किलो कफी जापान, २५ किलो जर्मनी, सात किलो भारत, छ किलो कोरियालगायत देशमा खपत गरेका छन् । गत वर्ष करिब आठ लाख बराबरको कारोबार गरेका यस वर्ष १० लाख रुपेयाँ बढी कारोबार हुने बताउछन् । छहारी, भिरालो जनिनमा बिरुवा लगाएका छन् । कफीखेतीलाई व्यवसायीकरण गर्न उनले आफैँ उत्पादन गरेको एक हजार बिरुवा स्थानीयलाई निःशुल्क वितरण गरेका छन् । यस वर्ष पाल्पा रामपुरमा कफीका बिरुवा लगाउने तयारी गरिरहेका छन्। ‘यसै व्यवसायबाट परिवारको जीविका चलेको छ, अर्काको देशमा काम गर्न सजिलो छैन, आफ्नै देशमा बसेर व्यवसाय गर्दाको आनन्द नै बेग्लै छ’, उनले भने। कफी प्रशोधनका लागि घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले प्रशोधन गर्ने मेसिन अनुदानमा उपलब्ध गराएपछि सहज भएको छ । आफ्नै देशमा घरपरिवारका साथमा व्यवसाय गर्न पाउँदा मन आनन्दित भएको अनुभव सुनाउँछन् । आफ्नो देशमा उत्पादन भएको वस्तु यहीँ प्रशोधन गरी उपभोक्तामाझ पुर्याउन पाउँदा खुसीको क्षण सम्झन्छन् । उनले रामपुर क्षेत्रलाई कफी उत्पादन प्रशोधन केन्द्रका रूपमा चिनाउने अठोट लिएका छन् । जापानबाट माग धेरै आएकाले पुर्याउन नसकिएको उनी बताउँछन् । प्रशोधन गरिएको कफी हाल सिंले प्रतिकिलो एक हजार आठ सय रुपैयाँमा बजारमा बिक्री गरिरहेका छन् । कफी उत्पादनका लागि सातवटा प्रशोधन मेसिनको व्यवस्थापन गरेका छन् । यस व्यवसायमा करिब १० लाख रुपैयाँ बराबरको लगानी परेको छ । अहिले उनको नर्सरीमा करिब आठ हजार कफीका बिरुवा बिक्री गर्न लायकका छन् । मध्यपहाडका ४० जिल्लामा कफीखेती गरिएको तथ्याङ्क छ । केही जिल्लामा भने व्यावसायिकरूपमा खेती गरेको पाइन्छ । पाल्पा, स्याङ्जा, पर्वत, अर्घाखाँची, कास्की, लमजुङ, तनहुँ, गोरखा, ललितपुर, धादिङ, मकवानपुर, म्याग्दी, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायत जिल्लामा कफीखेतीको विस्तार गरिँदै छ । रासस
सिटिजन्स बैंकले धितोमा रहेको घरजग्गासहित सुन बेच्दै
काठमाडौं । सिटिजन्स बैंकले धितोमा राखिएको घरजग्गा र सुन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । साविक तिनाउ मिसन डेभलपमेन्ट बैंकबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ३५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । ऋणी मुनन्कमी आयल स्टोरका सञ्चालक बिन्दा कुमारी शाही तथा जमानीकर्ता जनार्दन रत्न मुनंकर्मी र जयन्त मुनंकर्मीले बैंकबाट लिएको ऋण वापत राखिएको धितो रुपन्देहीको सिक्टहन १ मा रहेको कित्ता नम्बर ७८६ को १–०–१६.५ क्षेत्रफल र कित्ता नम्बर ७८५ का १–०–१५ क्षेत्रफल भएको जग्गा र जग्गामा निर्मित घरहरु लिलामी गरिएको छ । यस्तै, बैंकले ऋणी जनार्दन रत्न मुनंकर्मीलाई दिइएको कर्जामा राखिएको धितो वापतको १७७ ग्राम सुनचाँदी पनि लिलाममा बिक्री गर्ने भएको हो । बैंकले मुनकर्मीलाई सिटिजन्स सुन कर्जा शिर्षकमा ऋण प्रदान गरेको थियो । सोही ऋणमा धितो सुरक्षणा राखिएको सुन सिक्री लकेट भएको २८ ग्रामका २ थान, ३४ ग्रामका ३ थान ढिका, ३८ ग्रामका ३ थान असर्फी, १० ग्रामका लाहा भएको १ थान, २६ ग्रामको चुरा १ थान, ३० ग्रामको २ थान ब्रासलेट, ७ ग्रामका सानो असर्फी ८ थान र ४ ग्रामका १ थान औँठी गरी कूल १७७ ग्राम (१५.१८ तोला) सुन धितो लिलाम गर्ने भएको हो ।
पुँजीमा ‘नम्बर वान’ बन्यो सिद्धार्थ प्रिमियर, ठूला सम्भावनालाई ‘अनलक’ गर्दै अघि बढ्ने प्रतिवद्धता
काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएका सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) आजबाट एक हुँदै छन् । मर्जर प्रकृयामा रहेका दुबै कम्पनीले आज (फागुन १७ गते) बाट एकीकृत कारोबार शुरु गरी औपचारिक रुपमा एक हुन लागेका हुन् । दुई कम्पनीबीचको यो मर्जर निर्जीवन बीमा क्षेत्र कै तेश्रो हो । तर बीमा क्षेत्रमा भने यो चौथो मर्जर हो । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) मर्जरपश्चात सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् । दुई कम्पनी एक आपसमा गाभ्ने गाभिने सम्बन्धी २०७९ साल असार २७ गते प्रारम्भिक सम्झौता सम्पन्न भएको थियो । जसको लागि नेपाल बीमा प्राधिकरण (साविक बीमा समिति) बाट असार २८ गते नै गाभ्ने गाभिने सैद्धान्तिक सहमति प्राप्त भएको थियो । प्रारम्भिक सम्झौता पश्चात सम्पत्ति र दायित्व मुल्याङ्कनकर्ता (डीडीए) नियुक्त गरी, मुल्याङ्कनकर्ताले प्रस्तुत गरेको प्रतिवेदन अनुरुप संयुक्त मर्जर समितिको सिफारिसको अनुसार सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) सञ्चालक समितिले स्वीकृत गर्यो । त्यसपछि गाभ्ने गाभिने सम्बन्धी अन्तिम सम्झौता भई नेपाल बीमा प्राधिकरणले वार्षिक साधारण सभामा विशेष प्रस्ताव राखि पारित भए बमोजिम गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्यो । र, २०७९ पुस २९ गते सम्पन्न साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेको हो । सोही अनुसार दुई कम्पनी बराबरी हैसियत अर्थात एक बराबर एकको अनुपातको रेसियोमा मर्ज हुने भएका हुन् । मर्जपछि बन्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा सिद्धार्थ इन्स्योरेन्सका सीईओ बीरेन्द्र बैदवार क्षेत्री रहने छन् । यता सञ्चालक समितिको अध्यक्ष र डीसीईओ भने हालसम्ममा तय भइ नसकेको कम्पनीले जनाएको छ । यो विषयमा एकीकृत कारोबार हुनुभन्दा अघि अर्थात आज बस्ने सञ्चालक समितिको बैठकले निर्णय गर्ने जनाइएको छ । यस्तो बन्यो सिद्धार्थ प्रिमियर चुक्ता पुँजीमा ‘नम्बर वान’ मर्जरपछि बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स चुक्ता पुँजीको आधारमा सबैभन्दा ठूलो कम्पनी बनेको छ । निर्जीवन बीमा क्षेत्रमा रहेका कम्पनीमध्ये ठूलो शिखर इन्स्योरेन्सलाई उछिन्दै सिद्धार्थ प्रिमियर चुक्ता पुँजीमा ‘नम्बर वान’ बनेको छ । बराबर हैसियतमा मर्ज भई बनेको सिद्धार्थ प्रिमियरको चुक्ता पुँजी २ अर्ब ८० करोड नाघेको छ । जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा पनि बढी हो । प्राधिकरणले निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ । बीमाकोषमा दोश्रो ठूलो दुई कम्पनीको दोश्रो त्रैमासको वित्तीय विवरण अनुसार सिद्धार्थ इन्स्योरेन्सको बीमाकोषमा एक अर्ब २५ करोड र प्रिमियर इन्स्योरेन्सको बीमाकोषमा एक अर्ब ९ करोड रुपैयाँ सञ्चिति छ । यससँगै मर्जरपछि बन्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमाकोषको आकार २ अर्ब ३५ करोडको भएको छ । जुन निर्जीवन बीमा कम्पनीमध्ये दोश्रो ठूलो हो भने हालसम्म मर्जभएका कम्पनीको तुलनामा सर्वाधिक हो । सरकारको स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको बीमाकोषको आकार भने सबैभन्दा ठूलो अर्थात २ अर्ब ८५ करोड रुपैयाँको छ । कूल बीमाशुल्कमा पनि दोश्रो ठूलो गत माघसम्मको तथ्यांकअनुसार सिद्धार्थ इन्स्योरेन्सको कूल बीमाशुल्क एक अर्ब ५२ करोड रुपैयाँ छ । त्यस्तै, प्रिमियरको एक अर्ब १७ करोड रुपैयाँ छ । मर्जरपछि बन्ने कम्पनीको कूल बीमाशुल्क २ अर्ब ७० करोड रुपैयाँ भएको छ । जुन शिखर इन्स्योरेन्स बाहेक सर्वाधिक हो । शिखर इन्स्योरेन्सले माघसम्ममा २ अर्ब ९८ करोड रुपैयाँ बराबरको कूल बीमाशुल्क आर्जन गरेको छ । ५८ करोड २२ लाखको जगेडा कोष गत पुससम्मको वित्तीय विवरण अनुसार सिद्धार्थ इन्स्योरेन्सको जगेडा कोषमा २८ करोड १४ लाख रुपैयाँ सञ्चिति छ । त्यस्तै, प्रिमियरको उक्त कोषमा ३० करोड ८ लाख रुपैयाँ छ । मर्जपछि सिद्धार्थ प्रिमियरको उक्त कोषको आकार बढेर ५८ करोड २२ लाखको हुने छ । यसको आधारमा भने कम्पनी चौथो स्थानमा छ । सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीको ३ अर्ब ५७ करोडको जगेडा कोषको आकार छ । त्यसपछि शिखर इन्स्योरेन्सको ८१ करोड र हिमालयन एभरेष्टको ६६ करोड २० लाख रुपैयाँ छ । बीमालेख संख्या पुससम्ममा सिद्धार्थ इन्स्योरेन्सले ७३ हजार ७६० वटा बीमा पोलिसी बिक्री गरेको छ । त्यस्तै, सोही अवधिमा प्रिमियर इन्स्योरेन्सले ७५ हजार ६५ वटा बीमालेख जारी गरेको छ । यससँगै सिद्धार्थ प्रिमियरको कूल बीमालेख संख्या एक लाख ४८ हजार ८२५ पुगेको छ । यसकारण भएर मर्ज नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण (साविकको बीमा समिति) बाट निर्जीवन बीमा कम्पनीहरुले २०७९ चैत मसान्तसम्ममा चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ पुर्याउने पर्ने निर्देशनसँगै दुई कम्पनी एक आपसमा मर्जरमा जान तयार भएका हुन् । चुक्ता पुँजी पुर्याउनको लागि मर्जरको बाटो राजेका दुबै कम्पनीले असार २७ गते नै प्रारम्भिक सम्झौता गरी मर्जरको प्रकृया अघि बढाएका हुन् । दुई कम्पनीले २०७९ फागुनको पहिलो साता अर्थात १ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने सेड्युल बनाएका थिए । तर कम्पनी रजिष्ट्रारको कामले गर्दा फागुनको तेश्रो सातासम्म लम्बिन पुगेको कम्पनीका सीईओ बीरेन्द्र बैदवार बताउँछन् । व्यावसायिक प्रतिस्पर्धामक क्षमता बढ्ने, ग्राहकलाई थप सेवा दिने सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स ‘अनलकिङ्ग ग्रेटर पोसिबिलिटिज टुगेदर’ को थिममा एक हुँदै छन् । अर्थात मर्जरपछि बन्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बजारका ठूला ठूला सम्भावनालाई अनलक गर्दै र आईपर्ने चुनौतिलाई समाना गर्दै अघि बढ्ने छ । कोभिड-१९ को महामारी पश्चात विश्वव्यापी आर्थिक मन्दी तथा तत्त्पश्चात युक्रेन र रसियाबीचको तनावले गत आ.व. २०७८/०७९ मा समग्र अर्थ व्यवस्थामा नकारात्मक प्रभाव परेको अवस्थामा पनि कम्पनीले ३५ करोड ५६ लाख रुपैयाँ नाफा गरी ९.४७ प्रतिशत लाभांश वितरण गर्न सफल भएको अध्यक्ष रतनलाल केडिया बताउँछन् । ‘मर्जरपछि व्यावसायिक प्रतिस्पर्धामक क्षमता अभिवृद्धि भई परिणाममूखी र लक्ष्य अनुरुप आशातित उपलब्धि हासिल गर्ने सक्छौं भन्ने विश्वास छ, ’ अध्यक्ष केडियाले भने । त्यस्तै, मर्जरपछि बन्ने कम्पनीको सीईओ बीरेन्द्र बैदवार पनि मर्जरपछि कम्पनीको व्यवसायसँगै लगानी तथा धारण क्षमतामा वृद्धि हुने बताउँछन् । ‘मर्जरपछि व्यवसाय, लगानी तथा धारण क्षमतामा वृद्धि हुने, सेवाको विस्तार हुने र अझ सहज रुपमा ग्राहकलाई बीमा सेवा प्रदान गर्न सकिन्छ भन्ने विश्वास छ,’ सीईओ क्षेत्रीले भने ।
मेरोमाइक्रोफाइनान्स लघुवित्तले खातामा जम्मा गर्याे बोनस सेयर
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश सेयरधनीहरुलाई वितरण गर्न सुरु गरेको छ । लघुवित्तको गत माघ ६ गते सम्पन्न १० औं वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको हो । लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएपश्चात् हितग्राही खातामा जम्मा गरिएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गरेको हो । लघुवित्तले बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । साथै लघुवित्तले हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन आग्रह गरेको छ ।
बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँट, ९०७ जनाले पाए १० कित्ता
काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ ९०७ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । मंगलबारका दिन बाँडफाँट गरिएको लघुवित्तको आईपीओमा ९०७ जनाले १० कित्ता प्राप्त गरेको बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सले जनाएको छ । लघुवित्तको आईपीओमा १० कित्तादेखि १ हजार कित्ताका लागि १५ हजार ९१८ जनाले आवेदन दिएका थिए । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स रहेको छ । लघुवित्तले जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशत अर्थात् ९७ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९७ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । जसमध्ये ९ हजार ७ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको थियो । लघुवित्तले माघ २२ गतेदेखि फागुन ८ गतेसम्म बिक्री खुला गरेको थियो ।
साल्ट्र ट्रेडिङ्गको वार्षिक साधारण सभा आह्वान, यस्ता छन् एजेण्डा
काठमाडौं । साल्ट्र ट्रेडिङ्ग कर्पाेरेशनले ५६ औं बार्षिक साधारणसभा बोलाएको छ । कम्पनी सञ्चालक समितीको फागुन १४ गते बसेको बैठकले चैत १० गते त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौंमा १२ः१५ बजे वार्षिक साधारसभा बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिकिो प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ । यस्तै, सञ्चालकहरुको बैठक भत्ता र भ्रमण भत्ता लगायत अन्य सुविधा वृद्धि र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ७ जना सञ्चालकको निर्वाचन गर्नेछ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
फनपार्क भाडा प्रकरण : २ पूर्वमन्त्रीसहित ९ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौं । विशेष अदालतले भृकुटीमण्डपको फनपार्क भाडा प्रकरणमा दुई पूर्वमन्त्रीसमेत ९ जनालाई दोषी ठहर गरेको छ । अदालतले पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने र टेकबहादुर गुरुङलाई दोषी ठहर गरेको हो । नेपाली कांग्रेसका निलम्बित सांसद तथा पूर्व मन्त्री टेकबहादुर गुरुङ मनाङबाट निर्वाचित भएका थिए । यस्तै, सोही प्रकरणमा जोडिएका तत्कालीन मन्त्री बद्री न्यौपानेलाई पनि अदालतले दोषी ठहर गरेको हो । न्यौपाने फनपार्क भाडा प्रकरणका विभागीय मन्त्री थिए भने गुरुङलाई मुद्दामा मेला सञ्चालकका रूपमा विपक्षी बनाइएको थियो । गुरुङलाई मतियारका रुपमा दोषी ठहर गरेपनि सजाय निर्धारणका लागि भने फागुन २५ गते पेशी तोकिएको छ । दोषी ठहर हुनेमा तत्कालीन समाजकल्याण परिषदका उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुन्जविहारी प्रसाद चौधरी, सदस्य सचिव रविन्द्र कुमार यादव, सदस्य मोहनराज शर्मा, मदनकुमार लाल कर्ण, हरि न्यौपाने छन् । त्यस्तै रमाइलो मेला सञ्चालन गर्ने रविन्द्र गुरुङ र परिषदका निर्देशक मदन प्रसाद रिमाल पनि दोषी ठहर भएका छन् । फैसलामा चित्त नबुझ्ने पक्षले सर्वोच्चमा पुनरावेदनको सुविधा पाउनेछन् । विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले १४ प्रतिवादीमध्ये ९ जनालाई दोषी ठहर र ५ जनालाई सफाइ दिएको बताए । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले कसुर ठहर गरेको हो । अदालतले तत्कालीन कोषाध्यक्ष रत्नबहादुर गाहामगर, तत्कालीन निर्देशक मदनप्रसाद रिमाल, उपनिर्देशक बलबहादुर स्वाँर, परिषद्का तत्कालीन कानुनी सल्लाहकारद्वय प्रेमसिंह धामी र जगदेव चौधरीलाई सफाइ दिएको हो । फनपार्कको मेला क्षेत्र भाडामा लगाउँदा अनियमितता गरेको अभियोगमा अख्तियारले १४ जनाविरुद्ध २०७५ माघ २१ गते मुद्दा दायर गरेको थियो ।