विकासन्युज

सिद्धार्थ प्रिमियरको अध्यक्ष बने सुरेशलाल श्रेष्ठ, कम्पनी सचिवमा आचार्य नियुक्त

काठमाडौं । दुई निर्जीवन बीमा कम्पनी मर्ज भई बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा सुरेशलाल श्रेष्ठ नियुक्त भएका छन् । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनीको अध्यक्षपदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष श्रेष्ठ प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)का अध्यक्ष हुन् । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स एक आपसमा मर्ज भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बनेसँगै उक्त कम्पनीको अध्यक्षमा श्रेष्ठलाई नियुक्त गरिएको कम्पनी श्रोतले बताएको छ । त्यस्तै, सञ्चालकमा पवन कुमार अग्रवाल, राजन कृष्ण श्रेष्ठ, राहुल अग्रवाल, बलराम श्रेष्ठ र रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन् । कम्पनीको सीईओमा सिद्धार्थ इन्स्योरेन्सका सीईओ बीरेन्द्र बैदवार क्षेत्री रहने छन् । यससँगै, नयाँ बनेको इन्स्योरेन्सको कम्पनी सचिवमा शुदर्शन आचार्य नियुक्त भएका छन् । आचार्य सिद्धार्थ इन्स्योरेन्सका सूचना अधिकारी हुन् ।

चारलेन सडक निर्माणमा ढिलासुस्ती, स्थानीयलाई सास्ती

राँझा । चारलेन सडक निर्माणमा ढिलासुस्ती हुँदा बाँके र बर्दियाका जनताले सास्ती व्यहोर्नुपरेको छ । सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गत बाँकेको खजुरा बजार र बर्दियाको सदरमुकाम गुलरियामा निर्माणाधीन चारलेन सडक लामो समयदेखि अलपत्र छन् । विसं २०७४ चैत २९ मा सम्झौता गरी बाँकेको खजुरामा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको चारलेन सडक निर्माण थालिएको थियो । निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै दुईपटक म्याद थपे पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन । गजुरमुखी निर्माण सेवाले २०७७ असोजमा सम्पन्न गर्ने गरी २२ करोड रुपैयाँको लागतमा निर्माण थालिएको सडक हालसम्म पूरा नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । विसं २०७८ चैत ३० सम्म पहिलो पटक म्याद थप गरी सो अवधिमा पनि निर्माण गर्न नसकेपछि २०७९ पुस २९ मा सम्पन्न गर्नेगरी दोस्रो पटक म्याद थप गरेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी जनकबहादुर धामीले जानकारी दिए । उनका अनुसार निर्माण कम्पनीको लापरबाहीका कारण सडक निर्माणमा ढिलाइ भएको हो । विसं २०७४ मा काम सुरु भएयता निर्माण कम्पनीले करिब १८ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ । निर्माण कम्पनीले समयमा काम नसकिनुका पछाडि कोरोना महामारीको कारण देखाउँदै पटकपटक म्याद थपाउँदै आएको छ। चारलेन सडक निर्माण कार्यमा ढिलाइ हुँदा स्थानीयवासीले सास्ती पाएका छन् । सडक निर्माण अधुरो हुँदा सवारी साधन सञ्चालनमा कठिनाइ हुनाका साथै धुलो उडेर आसपासका पसल तथा घरमा पुग्ने गरेको छ । धुलो र हिलोका कारण व्यापार व्यवसाय प्रभावित हुन पुगेको खजुरा बजारका व्यवसायी रमेश थापाले बताए । उनले मुख्य सडकमा सवारी साधन आवतजावत गर्दा उड्ने धुलोले स्थानीय श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित भएको गुनासो गरे । गत वर्ष धुलोका कारण खजुरा बजारका घर र पसलमा बस्न सक्ने अवस्था नरहेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए । सडक नै अवरुद्ध पारेपछि कम्पनीले गिट्टी हालेर ‘सरफेस ट्रेसिङ’ गरेको थियो । उक्त ट्रेसिङ पनि दुई साता नहुँदै उप्किएको थियो । चारलेन सडक योजनाको काममा ढिलाइ हुँदा स्थानीयवासीले सास्ती भोगिरहेको खजुरा गाउँपालिकाका प्रवक्ता धनीराम वलीले बताए । उनले सडकको अवस्थाका बारेमा खजुराका जनताले आफूहरुलाई धेरै गुनासो गर्ने गरेकाले सडक निर्माण कार्य सम्पन्न गर्न ठेकेदार कम्पनीलाई पटक–पटक आग्रह गरे पनि काम हुन नसकेको उल्लेख गरे । सडक निमाणमा लापरबाही हुँदा नेपालगञ्ज–गुलरिया सडक खण्डअन्तर्गत खजुरा र गुलरियामा निर्माणाधीन सडक निर्माण सम्पन्न नहुँदै बीचबीचमा खाल्डाखुल्डी र जीर्ण जस्तो देखिने गरेको छ । अहिले यहाँ आवत गर्ने सर्वसाधारण धुलाम्ये हुने गरेको स्थानीय व्यापारी शतिश निरौलाले बताए । रासस

केडिया स्मृति कानून सम्मान वरिष्ठ अधिवक्ता गुणनीधि न्यौपानेलाई

काठमाडौं । केडिया फाउन्डेसनको कानून सम्मान र पुुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । यस वर्षको केडिया फाउन्डेसनको कानून सम्मान र पुरस्कार वरिष्ठ अधिवक्ता प्राध्यापक गुणनीधि न्यौपानेले पाएका छन् । वरिष्ठ अधिवक्ता प्राध्यापक गुणनीधि न्यौपानेलामो समय नेपाल ल क्याम्पसमा प्राध्यापन गरेर त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष समेत भइसकेका छन् । यस्तै स्वशंकरलाल केडीया स्मृति युवा कानून पुरस्कार वरिष्ठ अधिवक्ता महेश कुमार थापा र स्वशंकरलाल केडिया उत्कृष्ट पुस्तक लेखन पुरस्कार वेपत्ता पारिएका परिवार छानबिन आयोगका सचिव श्याम कुमार भट्टराईद्धारा लिखित संवैधानिक तथा प्रशाशकीय कानूनु पुस्तकको लागी प्रदान गरिएको छ । स्वशंकरलाल केडिया कानून पुरस्कार, कानून युवा पुरस्कार, उत्कृष्ट कानून पुस्तक पुरस्कार एवं कानून पत्रिकामा वर्ष भरिमा प्रकाशित लेख रचना मध्ये उत्कृष्ट लेख, रचनाका लेखकहरुलाई उत्कृष्ट कानून लेखन पुरस्कार प्रदान गरिँदै आएको छ ।              

हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु

काठमाडौं । हिउँदयाम सकिएसँगै देशभर प्रि–मनसुन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् आजदेखि सुरु भएको प्रि–मनसुन तीन महिनासम्म रहनेछ । प्रि–मनसुनको अवधि मार्च, अप्रिल र मेसम्म रहने, त्यसपछि मनसुन सुरु हुने उनले बताए । प्रि–मनसुनको समयमा दिउँसो मेघगर्जन/चट्याङ्का साथै हावाहुरी र असिना पानीको सम्भावना रहने मौसमविद्ले बताएका छन् । यस मौसमी प्रणालीका समयमा स्थानीय वायुको प्रभाव धेरै हुने गरेको बताइएको छ । स्थानीय वायुको प्रभावका कारण आज दिउँसो पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिए । उनका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । यस वर्ष हिउँदमा १४ वर्षयताकै कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिउँदयाम सकिने बेलामा केही दिनअघि काठमाडौं, पोखरासहित केही ठाउँमा हल्कादेखि सामान्य वर्षा भएको थियो । यस वर्षको हिउँदमा उच्च पहाडी र हिमाली जिल्लामा न्यून हिमपात भएको विभागले जनाएको छ ।  

बीमा कम्पनीहरु धरासायी बन्न सक्छन्, बैंकको ब्याज बढ्नु स्वभाविक हो : पाण्डेसँगको अन्तर्वार्ता

नेपाली उद्योग व्यवसाय क्षेत्रमा सीमित घराना र व्यवसायी सफल भएका छन् । कतिपय उद्योग व्यवसाय गर्न नसकेर बिचमै पलायन हुन्छन्, कतिपय जीवभनर व्यवसयामा लागेर सफलता हासिल गर्दैनन् त कतिपयले एकताका निकै सफलता हासिल गरेर बिचमै विभिन्न बदमासीहरुको कारण यो क्षेत्रबाटै पलायन हुन बाध्य हुनु पर्छ । यस्ता उदाहरणहरु नेपाली उद्योग व्यवसाय क्षेत्रमा व्याप्त छन् । तर, आफुले नेपाली उद्योग व्यवसायको क्षेत्रमा एक फरक किसिमको योगदान र आफु पनि सफल उद्योगी व्यवसायीका रुपमा स्थापित हुन सफल भएको दाबी गर्छन् प्रदिपजंग पाण्डे । नेपालको औद्योगिक विकासमा वयस्कदेखि नै लागेर ७५ वर्षको उमेरसम्म पनि सक्रिय रुपमा काम गरिरहेका पाण्डेले छोराहरुसँगै तेस्रो पुस्तालाई पनि व्यवसायमै स्थापित गराउन प्रयास गरिरहेका छन् । लोमश ग्रुपका अध्यक्ष पाण्डे एक सालिन र सभ्य व्यवसायीको छवि भएका उद्योगीका रुपमा परिचित छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका उनले बैंक तथा वित्तीय क्षेत्र, स्वास्थ्य, बीमा, सिमेन्ट, जलविद्युत लगायत क्षेत्रमा लगानी गरेका छन् । उनै पाण्डेसँग विकासन्युजका लागि सन्तोष रोकाया र सीआर भण्डारीले उनको व्यवसायिक जीवन र समसामयिक उद्योग व्यवसाय क्षेत्रको विषयमा कुराकानी गरेका छन् । जीवनको उत्तरार्धमा पनि व्यवसायमा सक्रि देखिनुहुन्छ, तपाइको दैनिकी कसरी बितिरहेको छ ? आफूले रोपेका, उमारेका अथवा सुरु गरेका व्यवसायहरुलाई अब्बल गर्ने काम गरिरहेको छु । सरकारको नियम कानुनभित्र रहेर आर्थिक क्षेत्रमा टेवा पुग्ने गरी व्यवसायमा संलग्न कर्मचारी र मजदुरहरुको हकहित कायम राखेर नयाँ प्रविधि र सिस्टम विकास गरेर आफ्नै क्षेत्रमा अघि बढिरहेको छु । हिमालयन बैंक ६ करोड र सिटिजन्स बैंक ५६ करोड पुँजीमा स्थापना भएका हुन् । सिभिल बैंकलाई राम्रो सिनिर्जी दिने गरी हिमालयनसँग मर्ज गरायौं । ४ जना सञ्चालकको १४ करोडका दरले ५६ करोडमा स्थापना स्थापना गरिएकोमा अहिले १४ अर्बको पुर्याएका छौं । आफूले रोपेका बोटविरुवा (व्यवसाय)हरु राम्रोसँग प्रगति गराउन कानुनी रुपमा काम गरिरहेका छौं । भद्रगोल गरेर मनपरी नगर्ने र सरकारको नियम कानुन भित्र रहेर अर्थनीतिलाई टेवा पुर्याउने मेरो संस्कार हो । साथै, मजदूर र कर्मचारीको हीतलाई मध्यनजर गरेर नविनतम् प्रयास गरिरहेको छु । पछिल्लो समय अर्थतन्त्रको विषयमा विभिन्न चिन्ता चासो तथा वहस हुन थालेको छ, तपाईंको विश्लेषण के छ ? एउटा गोठमा भएका गाइ वस्तु र बाख्राहरुलाई स्वतन्त्र छाड्ने हो भने अर्काको बारीमा गएर बिगार्न सक्छन् । कहिलेकाँही डिलमा गएर लड्न पनि सक्छन् । त्यसैले गोठालो आवश्यक पर्छ । गोठालो भएपछि डिलमा जान दिँदैन र अर्काको बाली खान दिँदैन । कुनैपनि संरचनाहरुले तलमाथि गर्याे, नियम संगत काम गरेन, सरकारको नीति नियम अनुसार काम गर्न सकेन भने राष्ट्र बैंकले सुपरभिजन गर्नुपर्छ । डा. युवराज खतिवडा गभर्नर हुँदा हाउजिङमा धेरै लगानी भएकाले नियन्त्रण गर्नुभयो । यदि त्यही बेला नियन्त्रण नगरेको भए अर्थतन्त्र उतिबेला नै बिग्रिसक्थ्यो । डा. खतिवडाले राम्रोसँग परिचालित गरेर हाउजिङलाई व्यवस्थित गर्नुभयो । उहाँ अर्थमन्त्री हुँदा बिग्रेको अर्थतन्त्र सम्हाल्नु भयो । उहाँकै पहलले गर्दा अर्थतन्त्र अहिले पनि सही ट्रयाकमा छ । तर, अर्थतन्त्र फुत्किन सक्ने अवस्थामा पुगेको छ । नियम कानुनभन्दा बाहिर जाँदा सरकारको आम्दानी घटेको छ । किनभने उत्पादन गर्ने वातावरण श्रृजना भएको छैन । उत्पादन नभएपछि आयात बढेको छ । आयात बढ्दा मुद्रा बाहिरिन्छ । त्यसपछि काम गर्ने वातावरण पनि घट्दै जान्छ । उत्पादन नहुँदा बैंकको लगानी गर्ने क्षेत्र पनि घट्दै जान्छ । फेरी कोरोना महामारीले पनि ठूलो असर गरेको छ । होटलहरु एक/दुई वर्ष बन्द भए । उत्पादन क्षेत्रमा ठूलो असर गर्याे । कृषिमा सरकारले जतिसुकै अनुदान दिएपनि सही ठाउँमा पुगेको छैन । टाँठाबाँठाले मात्रै अनुदान खाएर वास्तविक कृषकमा अनुदान पुग्न सकेन । किसानले समयमा मल पाउन सकेका छैनन् । किसानले आफूले उत्पादन गरेका वस्तुहरुको बजार पाएका छैनन् । किसानले सिँचाइको सुविधा पाएका छैनन् । बैंक तथा वित्तीय संस्थाबाट सहजै कर्जा पाउन सकिरहेका छैनन् । छिमेकी देश भारतमा हेर्ने हो भने किसानलाई धेरै सहज छ । जसले गर्दा हाम्रो उत्पादन भन्दा भारतीय उत्पादन सस्तो भएर आउँछ । अन्य उत्पादनमा पनि लागत धेरै छ । लागत धेरै भएपछि भारतको सामानले नेपालको बजार कब्जा गरेको छ । खुला अर्थतन्त्रमा प्रतिस्पर्धा हुनु स्वभाविक हो । तर, हामीले प्रतिस्पर्धा गर्न सकिरहेका छैनौं । कुखुराका चल्ला र अण्डा बाहिरबाट ल्याउने गरिएको छ । आफ्नै देशमा भएको चल्ला र अण्डा नष्ट गर्ने बानी परेको छ । राष्ट्रिय उद्योगलाई टेवा पुर्याउन र दीगो गर्नका लागि सरकारले संरक्षण गर्नु पर्छ । आम नागरिकले पनि यो हाम्रो उत्पादन हो भनेर खरिद गर्ने वातावरण श्रृजना गर्नुपर्छ । स्वदेशी वस्तुहरु प्रयोग गर्ने भावना बनाउनु पर्छ । सरकार र आम नागरिकको सोचाइ परिवर्तन गर्न जरुरी छ । त्यसपछि मात्रै भएका संरचना, उद्योग, कृषि जन्य वस्तुहरु जोगिन्छन् । अहिले जोगिन सक्ने अवस्था नै छैन । कृषि र उत्पादन क्षेत्रलाई जोगाउन कठिन भएको छ । सबै क्षेत्रलाई जोगाउने हो भने रोजगारी वृद्धि, आर्थिक चलायमान, आयात न्यूनीकरणर निर्यात बढाउन सकिन्छ । यदि यी सबै काम भयो भने देश बलियो हुन्छ । सरकारको राजश्वमा पनि वृद्धि हुन्छ । आर्थिक विकास र उत्पदानशीलता ह्रास आएकाले आजभन्दा भोलि गाह्रो र भोलिभन्दा पर्सी गाह्रो हुने देखिन्छ । त्यसैले समयमा सजग हुन पर्छ । अर्थतन्त्रमा सकस पर्दा उद्योगी व्यवसायीहरु टिक्नै गाह्रो भयो भनेर गुनासो गरिरहेका छन्, अहिले साच्चिकै चिन्ताजनक अवस्था हो ? संरचनाको बागडोर सम्हालेपछि टिकाउने काम पनि गर्नुपर्छ । उसले गर्न सक्छु भनेर बागडोर सम्हालेको हुन्छ । सरकारले गर भनेर जबरजस्ती गर्न लगाएको हुँदैन । आफुले जिम्मेवारी लिएपछि लागत कम गर्ने, गुणस्तरलाई वृद्धि गर्ने र बजारमा स्थायीत्व कायम गर्न सक्नुपर्छ । त्यो गर्न नसक्ने बाहिरिएका छन् । बाहिर जाँदा पनि सीप नहुँदा समस्या खेप्नु परेको छ । कस्ट अफ प्रडक्सन मँहगो छ । किनभने सरकारले दिने सेवा सुविधाहरु ढिला सुस्ती छ । जस्तो सरकारले दिने विदा (छुट्टि) पनि धेरै छन् । यति धेरै विदा अन्य देशमा हुँदैन । जस्तो कुनै सामान आयात गर्नुपर्याे हप्ता दिन कुर्नु पर्ने हुन्छ । सामान भन्सारबाट छुटाउँदा खेरी सरकारले विविधिमा २ प्रतिशत लिने गरेको छ । त्यो पैसा हामीले फोकटमा जम्मा गर्नु परेको हो । भन्सारमा सक्कली कागज लिएर जाँदा ३÷४ दिन पछि सामान छुट्छ । आज विदा, भोलि विदा पर्सी पनि विदा हुँदा समयमा काम हुन सकिरहेको छैन । जसले गर्दा ट्रक भाडा पनि महँगो तिर्नुपरेको छ । नियम कानुनहरु जटिलै जटिल छन् । यसरी नेपालमा उद्योगहरु दीगो हुन सक्दैनन् । अहिले सबै अनलाइनबाट गर्न सकिन्छ तर अझै पनि भन्सारमा अनलाइनबाट काम हुन सकिरहेको छैन । साथै, मजदूरका समस्या पनि उत्तिकै छन् । काम अनुसारको ज्याला पाएका छैनन् । विकृति मात्रै बढेका छन् । पेट्रोलियम पदार्थको मूल्य बढेका कारण ढुवानी भाडा अचाक्लि बढेको छ । भारतमा ५ लाख रुपैयाँ पर्ने गाडी नेपालमा २५ लाख रुपैयाँ पर्छ । भारतको ट्रक खुलम खुला नेपालमा आउँछन् भने नेपालका ट्रकहरु जान पाउँदैनन् । ट्रकहरुलाई पनि मर्का परेको छ । बिना क्वारेन्टाइन भारतीय सामानहरु आयात भइरहेका छन् तर नेपालको सामान निर्यात हुनै सकिरहेका छैनन् ।उत्पादन क्षेत्र बढाउन ढुवानी भाडा सस्तो, सरकारी सेवा सहज, मजदूरको इफिसेन्सी, सरकारको कर प्रणाली राम्रो हुनुपर्छ । यो सबै भएन भने उत्पादन क्षेत्रलाई असर पर्छ । त्यसैले पनि उद्योगीहरु झण्झट देखेर विदेश जाने गरेका छन् । कृषिमा लगानी गर्याे भने लागत पनि उठ्दैन । उद्योगमा लगानी गर्ने वातावरण छैन । एकदुई जना खराब हुन सक्छन् । तीनिहरुलाई नियमसंगत कारवाही गरे हुन्छ । तर, सबैलाई एउटै बास्केटमा राखेर एउटै नजरले हेर्न मिल्दैन । सरकारकै कारण मनोबल पनि कमजोर बन्दै गएको छ । पछिल्लो समय उद्योगी–व्यापारीहरु बैंकको ब्याज उच्च भयो भनेर आन्दोलनमा छन्, तपाईं आफै पनि बैंकको सेयरधनी हो, विभिन्न उद्योग व्यवसायमा पनि संलग्न हुनुहुन्छ, अहिले बैंकहरुले उद्योगी व्यवसायीलाई समस्यामा पार्ने काम गरेकै कुन् ? राष्ट्र बैंकले साढे ११ प्रतिशत ब्याज दिइरहेको छ । यो भनेको आधार दर कायम भए सरह हो । राष्ट्र बैंकले दिने ब्याजमा कर पनि तिर्नु पर्दैन । बैंकले दिने ब्याजमा कर पनि तिर्नुपर्छ । बिना करको साढे ११ प्रतिशत दिएपछि बैंकहरुले पनि ब्याजदर बढाउनु स्वभाविक हो । ब्याजदर महँगो भएको स्वभाविक हो । किनभने हामीसँग पैसाको अभाव छ । बैंकहरुमा निक्षेप नै जम्मा हुँदैन । मुद्दती खातामा १२ प्रतिशत ब्याज दिन्छु भन्दा पनि निक्षेप आउनै सकेको छैन । नेपाली सेना, प्रहरी अक्षय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष लगायतका संस्थासँग मात्रै पैसा छ । एक्सचेञ्ज कम्पनीहरुसँग पनि पैसा छ । तर, सर्वसाधारणको निक्षेप जम्मा गर्ने क्षमता नै कम हुँदै गएको छ । बाँकी जोसँग पैसा छ उनीहरुले ब्याज बढि पाइने भएकाले सहकारीमा जम्मा गरेका छन् । वाणिज्य बैंकहरुले १३ प्रतिशत दिँदा सहकारीले १५ प्रतिशतभन्दा बढी ब्याज दिन्छन् । सरकारले सहकारीलाई नियन्त्रण गर्न सकेको छैन । सहकारीले पनि जम्मा गर्न राखेको पैसा खाएर भागेका छन् । उद्योगीहरुसँग निक्षेप नभएर ऋण मात्रै हुन्छ । कहिल्यै पनि उद्योगी व्यवसायीहरुले राख्दैनन् । रेमिट्यान्सबाट आएको रकमले मात्रै धान्न सक्दैन । धेरै तलव खानेहरु विदेशमा नै सेटल भएर बसेका छन् । उनीहरुले नेपालको घरजग्गा पनि बेचेर गइसके। पढ्न गएका विद्यार्थीहरुले पनि अर्बाै रुपैयाँ बाहिर लगेर गए । जति पैसा विदेशबाट आउँछ त्यो भन्दा बढी शिक्षाका लागि विदेश गइरहेको छ । बैंकमा पैसा नआएपछि ब्याज बढाउनु स्वभाविक हो । अधिकांश बैंकहरुले घरघरमा गएर पैसा लिएर आउ भनिरहेका छन् । जति हुन्छ त्यो सबै पेसा लिए आउन निर्देशन दिइरहेका छन् । २५ प्रतिशत सहकारीमा राखेको पैसा डुबेको छ । सरकारले सहकारी क्षेत्रलाई नियन्त्रण गर्न नसक्दा चुकेको छ । स्वास्थ्य सेवा पनि अचाक्ली महँगो छ । यदि कोही मान्छे विरामी परेको छ भने सामान्य उपचार गराउन एक÷डेढ लाख रुपैयाँ खर्च हुन्छ । खेती किसानी र बाख्रा बेचेर घर खर्च चलाउने व्यक्तिको एक÷डेढ लाख रुपैयाँ खर्च गर्न क्षमता हुँदैन । त्यसपछि उनीहरुले बाध्य भएर घरजग्गा बिक्री गरेर सुकुम्बासी हुनु परेको छ । तल्लो तहसम्म पुग्ने हो भने कहाली लाग्दो अवस्था छ । अहिले उठेको आवाज पनि यही हो । यदि यो आवाजलाई समसमा कम गरेन भने यसले विकराल रुप लिन सक्छ । मेचीदेखि महाकालीसम्मको अवस्था नाजुक छ । कतिपय मानिसहरुलाई गुन्द्रुक र भात खानलाई पनि धौँधौँ छ । अधिकांश मान्छेहरु विदेश गएर उतै बसेका छन् भने कतिपयको लाश मात्रै आउने गरेको छ । नेपाल फर्किदा श्रीमान एक्लै हुन्छ, श्रीमती घरमा हुँदैन । अहिले युवाहरु विदेशिने प्रवृति बढी छ, धेरै उद्योगी व्यवसायीहरुका छोराछोरीहरु र उच्च सरकारी कर्मचारीहरुका छोराछोरी पनि सुविधा सम्पन्न देशमा छन्, अनि देश बनेन भनेर तपाईंहरुले कराएर हुन्छ ? नेपालीहरु विदेश गएका छन् भने बाहिरका मान्छेहरु पनि यहाँ आउँछन् । तर, हामीले त्यो दिन सेवा सुविधा दिन सक्नुपर्छ । पारदर्शी, सुशासन, पुर्वाधार, विकास, खानेपानी लगायतका सबै सेवा दिन सक्नुपर्छ । नेपालमा सबै कुराहरु महँगो छ । हामीले विष खाएको हुन्छौं । हामीले खाने कुराहरुको जाँच हुँदैन । सरकारले शिक्षाको गुणस्तर बढाएर विदेशी मान्छेहरुलाई अध्ययनका लागि भित्र्याउन सक्नुपर्छ । बङ्गलादेश, भारतका विहार र उत्तर प्रदेश, भूटान लगायतका देशको शैक्षिक गन्तव्य नेपाललाई बनाउन सक्नुपर्छ । अहिले पनि कयौं मान्छेहरु डाक्टर, इन्जिनियर पढ्न बाहिर गएका छन् । दुई÷तीन वर्ष राम्रोसँग काम गर्ने हो भने कायापलट गर्न सकिन्छ । अहिले अस्थीरता बढेको छ । व्यवसायीलाई हेर्ने नजर र व्यवहार राम्रो छैन । व्यवसायीहरुलाई सहानुभूति र चाँडै काम हुने हो भने धेरै परिवर्तन हुनसक्छ ।पर्यटनमा पनि संसारभरका मान्छेहरु नेपालमा आउँछन् । नेपालमा अवसर धेरै छन् । विदेशमा मरुभूमिमा खेती गरिरहेका छन् । भारतले दिल्लीबाट मुम्बइ १२ घण्टामा पुग्ने गरी सडक विस्तार गर्याे । तर, नेपालमा जहाँ त्यहीँ खाल्डाखुल्डी मात्रै छन् । बाटोमा राम्रोसँ हिड्न मिल्दैन । सही ठाउँमा पानी खान पाइँदैन । हाम्रा सन्तानहरु विदेश पलायन हुने सम्भावना छ । अहिले गाउँमा प्लस टू पढ्ने विद्यार्थी छैनन् । कलेजहरुमा एक जना पनि पढ्ने विद्यार्थी छैनन् । फार्मेसी कलेजहरु बन्द गर्नुपर्ने अवस्थामा छन् । तपाईंको लगानी पर्यटन, स्वास्थ्य, बैंक तथा वित्तीय संस्था, बीमा, सिमेन्ट लगायत क्षेत्रमा छ, यति धेरै क्षेत्रमा लगानी गर्दा तपाईंलाई सन्तुष्ट कुन क्षेत्रबाट मिलेको छ ? म सबै क्षेत्रमा सन्तुष्ट छु । मैले नकारात्मक कहीँ पनि देखेको छैन । आफूले गर्ने काममा सन्तुष्ट हुन सक्नु पर्छ । सिभिल बैंकले राम्रो काम गरेको हुँदा कर्मचारी, संस्थापकहरु, सेयरधनीहरु सबैलाई फाइदा हुने गरी हिमालयन बैंकसँग मर्ज भएको छ । म सिटिजन्स लाइफको अध्यक्ष भएको ५ वर्ष भयो । जीवन बीमा कम्पनीहरु धरासयी हुने सम्भावना छ । किनभने जीवन बीमा गर्ने संख्या घट्दो छ । किनभने पहिला खानु पर्याे त्यसपछि ओखती गर्नुपर्छ । तर, खानलाई पैसा छैन । खानलाई पैसा नभएपछि बीमा कम्पनीहरु धरासयी बन्छन् । विगत ९÷१० महिनाको तथ्याङ्क हेर्ने हो भने सरेण्डर गर्नेको संख्या बढेको छ । बीमा सरेण्डर गरेपछि नयाँ विजनेश आउँदैन । आर्थिक संकट आउँदा अमेरिकामा बैंकहरु बन्द भएका थिए । त्यस्तै अवस्था नेपालमा पनि आउन सक्छ । नाफाका हिसावले अहिले कुनै पनि क्षेत्र राम्रो छैन । पहिला बैंकिङ्ग क्षेत्र राम्रो थियो । एउटा सेयरको मूल्य ३÷४ हजारभन्दा बढी थियो । तर, अहिले १ सय रुपैयाँको सेयर १ सय रुपैयाँमा नै पाइन्छ । जे पहिला थियो त्यो सबै भयो अब प्रतिस्पर्धा हुन थालेको छ । अहिले दीगो हुनेगरी खरो प्रतिस्पर्धा गर्नुपरेको छ । अहिले बाच्न सक्यो भने पछि पनि नाफा कमाउन सकिन्छ । अहिले नै कोल्याप्स भयो भन त भोलि नाफाको के आश गर्नु । त्यसैले एक÷डेढ वर्ष अझै टिक्न सकियो भने पछि पनि राम्रो नाफा कमाउन सकिन्छ । अहिले बैंकहरु धमाधम कर्जरमा गइरहेका छन्, तपाईं सिटिजनस बैंकको पनि लगानीकर्ता हो, तर सिटिजन्स मर्जरमा जान सकेको छैन, तपाईंहरु मर्जरमा नजाने रणनीतिमा हो ? बेस ठूलो हुँदैमा सबै कुरा ठूलो हुन्छ भन्ने हुँदैन । सिटिजन्स बैंकको १४ अर्बको पुँजी छ । बैंकको पुँजी बढाएपछि दोब्बर प्रतिफल दिन सक्नुपर्छ । १४ अर्बमा नै राम्रो प्रतिफल दिन सक्षम छ । तर, ३०÷३५ अर्ब पुँजि भएका बैंकले कम पुँजी भएका बैंक जति पनि लाभांश दिन सकिरहेका छैनन् । जस्तो स्ट्याण्डर्ड चार्टर्ड बैंकको पुँजी थोरै छ तर प्रतिफल धेरै दिन्छ । पुँजी धेरै गरेर नम्बर वान बन्ने होडवाजी छ । ३८ अर्बको पुँजी भएपछि प्रतिफल धेरै दिन सक्नु पर्याे । ग्राहकहरुलाई गुणस्तरीय सेवा दिएर सन्तुष्ट बनाउनु पर्याे । होडवाजी गरेर पुँजी बढाउन जरुरी छैन । तर, राष्ट्र बैंकको नियमलाई आत्मसात गरिरहेका छौं । भोलिका दिनमा न्यूनतम पुँजी २० अर्ब पुर्याउन निर्देशन दियो भने विकल्प खोज्छौं । राष्ट्र बैंकको नीति अनुसार सिटिजन्स बैंकले ४÷५ वटा संस्थालाई प्राप्ति गरिसकेको छ । राष्ट्र बैंकको आवश्यकतालाई परिपुर्ती गर्ने गरी राष्ट्रका लागि टेवा पुर्याउने काम हामीले गर्छाै । त्यसैले मर्जरमा जाने योजना सिटिजन्स बैंकको छैन ।तपाईं द्यो ग वाणिज्य महासंघको अध्यक्ष भइसकेको व्यक्ति, महासंघको निर्वाचन नजिकिँदैछ, निर्वाचनप्रति चासो कतिको बढेको छ ? मलाई महासंघको चुनाव कत्ति पनि लागेको छैन । म आफ्नो काम गर्छु । म आफू आवद्ध भएका कर्मचारी र मजदूरहरुको हकहित हेर्छु । राष्ट्रका लागि योगदान गर्छु । खराब भएको बेलामा राम्रो होस् भन्ने मेरो चिन्तन हुन्छ । महासंघमा राजनीति धेरै भयो । हामीले निजी क्षेत्रका समस्यालाई खरो रुपमा राख्न सक्नुपर्याे । सरकारलाई उपयुक्त समयमा सही सल्लाह दिएर भएका कमीकमजोरीलाई हटाउन सक्नुपर्छ । काम गर्न सक्ने वातावरण श्रृजना गर्नुपर्छ । आफूआफू झगडा गरिरहेका छन् । प्रतिस्पर्धा गरिरहेका छन् । यो मलाई पटक्कै चित्त बुझ्दैन । त्यसैले म यो महासंघको चुनावबाट टाढा छु । आजका दिनसम्म च्याउ सरह संस्थाहरु दर्ता भएका छन् । उनीहरुको हकहितका लागि काम गर्न सकिएको छैन । महासंघको अध्यक्षमा जो आएपनि केही नि गर्नसक्दैनन् । महासंघको नेतृत्वमा पुग्नेले आफ्नो मात्रै हित हेर्छन् । महासंघको नेतृत्व सम्हाल्ने मान्छेले आफ्नो भन्दा राष्ट्र र अर्थतन्त्रको हित हेर्नुपर्छ । म महासंघको अध्यक्ष हुँदा कहिल्यै पनि औषधीको नाम लिएन । कुनै व्यक्ति सांसद हुन्छ भने उसले निर्माण मात्रै हेरेको देखिन्छ । ठेकेदार मान्छे नेतृत्वमा जान्छ भने उसले ठेक्काको मात्रै काम गरेको छ । महासंघले ग्रासरुट लेभललाई बलियो बनाउन सकेको छैन । ग्रासरुटलाई बलियो बनायो भने अर्थतन्त्र आफै बलियो हुन्छ । जग बलियो बनाउनु भन्दा पनि माथि मात्रै बलियो भयो । व्यक्तिगत स्वार्थभन्दा पनि संस्थाको हित हेर्नुपर्छ । राजनीति चाहिन्छ तर स्वस्थ राजनीति हुनुपर्छ । राष्ट्रिय हित, अर्थतन्त्रको विकास, उद्योगीव्यवसायीहरुको हितका लागि राजनीति आवश्यक छ । अहिले देशभरी नै विरोध भइरहेको छ । उद्योग व्यवसाय पनि जोगाउनु आवश्यक छ । तपाईंका छोराहरु पनि महासंघको राजनीतिसँगै आफ्नो व्यवसाय गरिरहनु भएको छ, तपाईंसँगै उहाँहरु सक्रिय रुपमा व्यवसायमा लागिरहनु भएको छ, महासंघको राजनीतिको विषयमा उहाँहरुलाई के सुझाव दिनु हुन्छ ? राजनीति भन्दा पर रहेर आफ्नो व्यवसाय अगाडि बढाउनुपर्छ । मैले कहिल्यै पनि राजनीति गरेन । म २ टर्म औषधी उत्पदाक संघको निर्विरोध अध्यक्ष बनें । मेरो कार्यकालमा राम्रो काम पनि गरेको थिए । स्वदेशी उत्पादनलाई प्रमोट गरेको थिए । आयातकम गर्ने काम गरेको थिए । खुला प्रतिस्पर्धा भएपनि राम्रोसेवा र सर्वसुलभ सेवामा जोड दिनु पर्छ । सिभिल बैंकलाई सही व्यवस्थापन गर्न सकियो । मैले दिएको संस्कारले त्यो सम्भव भयो । अहिले धेरै उद्योगहरु धरासयी भएका छन् । तर, लोमस फर्मास्यूटिकल्स राम्रै चलिरहेको छ । अहिले नाफा कम भएपनि संस्थालाई दीगो गर्नुपर्ने बाध्यता छ । लोमसको व्यापार कस्तो छ ? लोमसको व्यापार राम्रो र सस्टेन गर्न सकेका छौं । तर, जति गर्नुपर्ने हो त्यो गर्न सकिएको छैन । कोरोना भन्दा अघि हामीले निर्यात गरिरहेका थियौं । कोरोनाले गर्दा बाहिरको सम्बन्ध नै बन्द भयो । क्षमता अनुसार उत्पादन गर्न सकिएको छैन । तैपनि हामी लोमसबाट सन्तुष्ट छौं । हामीले गत वर्ष मजदूरलाई सवा ५ महिनाको बोनस दियौं । अरु कुनै पनि उद्योगले यति धेरै बोनस दिएको छैन । यस वर्षसाढे ३ महिनाको बोनस दिने क्षमता छ । नाफा कमाएको १० प्रतिशत मजदूरलाई वितरण गर्दै आएका छौं । आगामी वर्षमा यी क्षेत्र बाहेक अन्य कुनै क्षेत्रमा लगानी गर्ने योजना बनाउनु भएको छ ? जनकपुरमा नयाँ उद्योग सञ्चालनमा ल्याएका छौं । सलान पानी उत्पादन जनकपुरबाट भइरहेको छ । जनकपुरबाट पनि नयाँ काम भइरहेका छन् । सील भएको पुरानो फ्याक्ट्रिलाई हामीले लिएको हो । त्यसलाई हामीले पुनः सञ्चालनमा ल्याएको हो । आफ्नो क्षेत्रभन्दा बाहिर लगानी गर्ने सोच छैन । अन्य क्षेत्रमा लगानी गर्नका लागि अरुलाई पनि स्थान दिनुपर्छ । सिमेन्ट उद्योगमा लगानी थियो । तर, त्यसलाई जोगाउनै गाह्रो भइरहेको छ । जुन क्षेत्रमा मैले लगानी गरेको छु त्यो क्षेत्रमा म सफल भएको छु । मैले गरेको प्रयास र मेहेनतले सफल भएको छु । म अरुसँग प्रतिस्पर्धा नै गर्दिन । म आफैसँग प्रतिस्पधौ गर्छु ।

रिलायबल लाइफद्धारा प्रहरी परिसर ललितपुरलाई सडक डिभाइडर सहयोग

काठमाडौं । रिलायबल नेपाल लाइफले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी परिसर ललितपुर लाई १२ (बाह्र) थान सडक डिभाइडर सहयोग गरेको छ । कम्पनीले फागुन १६ गते सडक दुर्घटनाको जोखिम न्यूनिकरणका लागि जिल्ला प्रहरी परिसर ललितपुर लाई उक्त सहयोग गरेको हो । उक्त हस्तानतरण कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शिद्घी विक्रम शाहले दुर्घटनाको जोखिम न्यूनिकरण गर्न यसले धेरै सहयोग पुग्ने बताए । साथै कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले कम्पनीले बेला बखत गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सडक दुर्घटनाको जोखिम न्यूनिकरण गर्न यस कम्पनीले जिल्ला प्रहरी परिसर ललितपुर लाई सडक डिभाइडर सहयोग गर्न पाउँदा खुसी भएको व्यक्त गरे । उनले फेरी पनि आउँदा दिनमा आवश्यक परेको खण्डमा सहयोगहरुका लागि निरन्तरता दिने समेत बताए ।

वीरगञ्जमा अतिक्रमण गरेर बनाइएका घर टहरा हटाउन सुरु

फाइल तस्विर पर्सा । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर टहरा हटाउन थालेको छ । महानगरपालिकालले वीरगञ्ज – १० आदर्शनगरस्थित बाल उद्यानको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनालाई मङ्गलबार साँझादेखि भत्काउन सुरु गरेको हो । माइराम पोखरी क्षेत्रको चार बिघा भन्दाबढी जग्गालाई खाली गराउन थालेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले सो क्षेत्रका घर तथा टहरा भत्काउन थालेपछि स्थानीयवासीले विरोध गरेका छन् । पहिलेको माइराम पोखरी रहेको जग्गामध्ये १८ कठ्ठा क्षेत्रफलमा चार वर्ष अगाडि महानगरपालिकाले बाल उद्यान निर्माण समेत गरेको थियो ।

२१६ मेगावाटको त्रिशूली जलविद्युत आयोजनाको नदी फर्काउन बन्यो सुरुङ

काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको बाँधलगायत संरचना (हेडवक्र्स) निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङको निर्माण सकिएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका-१ हाकूमा बाँध निर्माणका लागि ४२० मिटर लम्बाइ र ५ मिटर व्यास भएको पूर्ण कंक्रिट लाइनिङ डाइभर्सन सुरुङ निर्माण सकिएको हो । सुरुङ निर्माण सम्पन्न भएपछि मंगलबारबाट सोही सुरुङबाट नदी फर्काई बाँध निर्माण सुरु गरिएको आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्मेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत थाइ हक युनले बताए । ‘आयोजना निर्माणका लागि एउटा माइलस्टोन पूरा भएको छ, मुख्य तथा प्रवेश सुरुङ, टेलरेसहित सुरुङको जम्मा लम्बाइ १३.५ किलोमिटर रहेकोमा अहिलेसम्म ४.५ किलोमिटर सम्पन्न भएको छ’ उनले. भने, ‘तोकिएकै समयमा सम्पन्न गर्ने गरी निर्माण कार्य भइरहेको छ ।’ आयोजनाको भूमिगत विद्युतगृह खन्ने कार्य करिब २१ प्रतिशत सम्पन्न भएको छ । आयोजनाको समग्र भौतिक प्रगति १४ प्रतिशत रहेको छ । आयोजनाको मुख्य निर्माण गत २०७८ पुसबाट सुरु गरिएको थियो । आयोजना निर्माणमा हाल करिब ७ सय कामदार परिचालित छन् । त्यसमध्ये करिब ३ सय रसुवाका स्थानीय बासिन्दा छन् । आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसानले काम गरिरहेको छ । उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको माथिल्लो त्रिशूली-१ हालसम्मकै ठूलो जलविद्युत आयोजना हो । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन विश्व बैक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम लगायतको शेयर लगानी रहेको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ । आयोजनाको कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको व्याजसहित) रहेको आयोजनामा ९ अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपुँजी (ईक्विटी)बाट जुटाइएको छ । आयोजनाबाट वार्षिक १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायामा उत्पादन हुने छ । उत्पादित उर्जा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली-३बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ । काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युतको अध्याधिक माग हुने हिउँदमासमेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुने छ । आयोजनाको निर्माण २०८३ को मंसिरभित्र सक्ने लक्ष्य राखिएको छ ।