दुई महिनामा एक लाख २८ हजार पर्यटक भित्रिए नेपाल
काठमाडौं । सन् २०२३ को पहिलो दुई महिनामा एक लाख २८ हजार ३२९ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरी र फेब्रुअरीमा उक्त संख्यामा पर्यटक नेपाल आएका हुन् । जनवरीमा ५५ हजार ७४ जना र फेब्रुअरीमा ७३ हजार २५५ जना पर्यटक नेपाल आएको बोर्डको तथ्यांकमा उल्लेख छ । पछिल्ला दिनमा विदेशी पर्यटक आगमन उत्साहबर्द्धक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । फेब्रुअरीमा भारतबाट १८ हजार चार सय एक पर्यटक आएका छन् । अमेरिकाबाट सात हजार आठ सय ८७ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यस्तै, थाइल्याण्डबाट चार हजार आठ सय दुई, दक्षिण कोरियाबाट तीन हजार दुई सय ४६, अष्ट्रेलियाबाट दुई हजार नौ सय ६९, चीनबाट दुई हजार दुई सय ६६, म्यानमारबाट दुई हजार दुई सय ३२, श्रीलङ्काबाट दुई हजार एक सय १७ र जर्मनीबाट दुई हजार एक सय आठ पर्यटक नेपाल भित्रिएका छन् । पछिल्लो तथ्याङ्कले महामारीपछि फेब्रुअरी महिनामा हालसम्मकै उल्लेख्य सङ्ख्यामा पर्यटक आएको देखिन्छ । कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने केही बढेको थियो । उक्त वर्ष छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए । तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई दुई लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए ।
यस्तो बन्यो सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लोगो, विश्वास र सुरक्षाको प्रतिवद्धता
काठमाडौं । दुई कम्पनी मर्ज भई बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लोगो सार्वजनिक भएको छ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) मर्ज भई बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लागो सार्वजनिक भएको हो । उक्त नयाँ लोगोमा सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको लोगोको मिश्रण देखिन सकिन्छ । जसमा ‘ट्रष्ट एण्ड सेक्यूरिटी’ लेखिएको छ । जसले ग्राहक अर्थात बीमितलाई विश्वास र सुरक्षा दिने कम्पनीको प्रतिवद्धता रहेको जनाउँछ । सिद्धार्थले सही अर्थमा सुरक्षा दिने प्रतिवद्धता गरेको थियो भने प्रिमियरले आफ्ना वाचाहरु पुरा गर्ने प्रतिवद्धता गरेका थिए । अब दुई एक भएसँगै विश्वास र सुरक्षा दुबैलाई प्राथमिकतामा राखिने प्रतिवद्धता गरिएको कम्पनी श्रोतले बताएको छ । सिद्धार्थ र प्रिमियर मर्ज भई आज (फागुन १७ गते) बाट नयाँ कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुँदै छ । नयाँ कम्पनीको अध्यक्षमा प्रिमियर इन्स्योरेन्स कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठ नियुक्त भएका छन् । त्यस्तै, सञ्चालकमा पवन कुमार अग्रवाल, राजन कृष्ण श्रेष्ठ, राहुल अग्रवाल, बलराम श्रेष्ठ र रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन् । कम्पनीको सीईओमा सिद्धार्थ इन्स्योरेन्सका सीईओ बीरेन्द्र बैदवार क्षेत्री रहने छन् । यससँगै, नयाँ बनेको इन्स्योरेन्सको कम्पनी सचिवमा शुदर्शन आचार्य नियुक्त भएका छन् । आचार्य सिद्धार्थ इन्स्योरेन्सका सूचना अधिकारी हुन् ।
कर नबुझाउनेको बैंक खाता रोक्दै आन्तरिक राजस्व कार्यालय वीरगञ्ज
वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने करदातालाई कारबाही गर्ने भएको छ । बाँकी बक्यौता उठाउने तयारी सुरु गरेको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने मूल्यअभिवृद्धि करका चार सय तीन र आयकरका चार सय २९ गरी करदातामाथि कारबाही प्रक्रिया सुरु भएको कार्यालयले जनाएको छ । प्रमुख कर अधिकृत ढाकाराम तिवारीले भने,‘’पहिलो चरणमा चरणमा करदातालाई १५ दिने र सात दिनेपत्र पठाइसकेका छौँ । यसपछि पुनःतीन दिनको पत्र पठाउने छौँ ।’ पत्र प्राप्त गरेर पनि बक्यौता नबुझाइए उनीहरुको बैंक खाता रोक्का समेत गरिने उनले जानकारी दिए । जिल्लामा एक लाख २४ हजार तीन सय पाँच करदाता रहेको कार्यालयले जनाएको छ । यसैबीच बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगर्दा चालु आर्थिक वर्ष २०७९/८० को छ महिनाको अवधिमा आन्तरिक राजस्व कार्यालय वीरगञ्जको राजस्व सङ्कलनमा कमी आएको छ । सो कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को छ महिनाको अवधिमा चार अर्ब ७३ करोड १६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा ६६ दशमलव ६१ प्रतिशत अर्थात तीन अर्ब १५ करोड १६ लाख मात्र राजस्व सङ्कलन भएको छ । चालु आर्थिक वर्षको छ महिनामा अन्तशूल्कतर्फ एक अर्ब ३१ करोड ९५ लाख २९ हजार, आयकरतर्फ एक अर्ब चार करोड ८८ लाख ६९ हजार, मूल्य अभिवृद्धिकर तर्फ ७३ करोड ६७ लाख ६६ हजार, ब्याजकर तर्फ दुई करोड ४० लाख २३ हजार र घरबहाल करतर्फ दुई करोड २४ लाख ९९ हजार राजस्व सङ्कलन भएको सो कार्यालयका सूचना अधिकारी सञ्जय सरदार क्षेत्रीले जानकारी दिए । विभिन्न कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगरेको तथा विभिन्न सामानको आयातमा सरकारले गरेको प्रतिबद्ध लगायतका कारणले राजस्व सङ्कल घटेको सूचना अधिकारी क्षेत्रीको भनाइ छ । गत आर्थिक वर्ष २०७८/७९ मा सो कार्यालयले नौ अर्ब ४४ करोड ४५ लाख ७५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा लक्ष्यको ९२ दशमलव ३० प्रतिशत अर्थात् रु आठ अर्ब ७१ करोड ६९ लाख ६० हजार राजस्व सङ्कलन गरेको थियो ।
२४ अंकले घट्यो सेयर बजार, आदर्श लघुवित्तको सेयरमा सर्किट
काठमाडौं । बुधबारको सेयर बजार २४।४४ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज९नेप्से०को बुधबार सेयर बजार घटेर १९९५.४९ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज आदर्श लघुवित्त कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य बुधबार १५१.२० रुपैयाँले बढेको छ । मंगलबार पनि यस लघुवित्तको सेयरमा सर्किट लागेको थियो । यस्तै, आज सबैभन्दा बढी बोटलर्स नेपाल तराईका सेयरधनीले गुमाएको छ । कम्पनीका सेयरधनीले १३ सय ३३ रुपैयाँ गुमाएको हो । कारोबारका आधारमा अपर तामाकोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आठ करोड ७२ लाख ३७ हजार बराबरको सेयर कारोबार भएको छ ।
स्वादका लागि चर्चित बागलुङको आलु, १ अर्बको आलु बिक्री
बलेवा । कृषिमा अब्बल बागलुङको ताराखोला आलुका लागि चर्चित गाउँपालिका हो । ताराखोलाका पाँचवटै वडामा बर्खे आलु फल्छ। हिउँदमा पनि गाउँपालिका-४ का बेसी फाँटमा आलु फलेको छ । ताराखोले आलुले अहिले गण्डकी प्रदेशमा नै आफ्नो नाम स्थापित गरिसकेको छ । यहाँको आलुमा मिसावट पनि छैन। किसानले आलुबाटै घर खर्च चलाउने र बालबालिका पढाउने गरिरहेका छन् । आलुको बजारसमेत सजिलै पाइएकाले किसानले हरेक वर्ष उत्पादन बढाउने गरेको ताराखोला-५ की दिलकुमारी पुन बताउँछन् । आएका पाहुनालाई खुवाउनेदेखि कोसेली पठाउने काममा पनि ताराखोले आलु प्रयोग हुन्छ । यहाँका किसानले आलुको चिप्स बनाउनेदेखि अन्य धेरै परिकारका लागि तालिम लिएका छन् । कृषि ज्ञान केन्द्रले पनि आलु उत्पादन बढाउन लगानी गरेको छ । ताराखोलामा जस्तै बागलुङको ढोरपाटनमा पनि उपभोक्ताको जिब्रोमा गडिने आलु फल्छ । काठेखोला गाउँपालिकाको धम्जा, बागलुङ नगरपालिकाको भकुण्डे, जैमिनी नगरपालिकाको दमेक र बरेङ गाउँपालिकाको सुखौरा भित्रीवन आलुका लागि चर्चित ठाउँ हुन् । बागलुङको उपल्लो पहाडी भूभागमा बर्खे आलु फल्छ भने बेसी फाँटमा हिउँदको समयमा आलु उत्पादन हुने गरेको छ। पहाडको आलु बेसीँका लागि बीउ हुन्छ । बागलुङ बजारमा आजकल जिल्ला बाहिरको आलु थोरै मात्र उपयोग हुन्छ। उपभोक्ताले पनि स्थानीय जातकै आलु छानेर खान रुचाउन थालेका छन् । बागलुङमा आलुको स्थानीय उत्पादन बढ्दो छ। किसानले पनि व्यावसायिक रुपमा उत्पादन गरेर बजारमा ल्याएपछि तराईका आलुको माग घटेको छ । ‘आजकल तराईबाट ट्रकमा आलु आउन छाडेको छ, अधिकांशले गाउँतिरका खोज्छन्’, व्यवसायी अर्जुन चोखालले भने, ‘स्वादमै फरक पर्ने भएपछि सबैको चाहना स्थानीय आलुमा छ ।’ पछिल्लो समय बागलुङ बजारमा ताराखोला, ढोरपाटन र मुस्ताङका आलु ल्याउने गरिएको छ। ताराखोलाको आलु सानो आकारको पाइन्छ भने ढोरपाटन र मुस्ताङको आलु ठूलो आकारको हुन्छ। ‘पहिला ट्रकमा आलु र प्याज प्रशस्त आउने गरेकामा केही वर्षदेखि प्याज मात्रै मगाएका छौँ’, थोक बिक्रेता गोपाल कँडेलले भने, ‘बागलुङकै ग्रामीण क्षेत्रबाट आइरहेको आलुले प्रशस्त पुगेको छ ।’ उनले ताराखोला, ढोरपाटन र गाजामा फलेको आलु खरिद गरेर बेच्ने गरेको बताए । ती स्थानबाट पोखरा र भैरहवासम्म पनि बिक्रीका लागि किसानले आलु निकासी गर्ने गरेका छन् । सजिलै पाक्ने र मीठो स्वादका कारण स्थानीय आलुको माग बढिरहेको होटल व्यवसायी बताउँछन् । स्थानीय उत्पादनको आलु खानेले तराई र भारतबाट आउने आलु मन नपराउने होटल व्यवसायी रुसन सापकोटाले बताए । ‘स्थानीय पाएसम्म हामीले पनि बाहिरको लिने कुरै भएन’, सापकोटाले भने, ‘पाहुनाकै चाहनाअनुसार ताराखोले र ढोरपाटनको आलु खुवाइन्छ ।’ स्वादका कारण स्थानीय आलु नै बढी खपत भएको उनले बताए । ताराखोला र ढोरपाटनका अलावा बागलुङका बेसीमा फलेको आलुको पनि उत्तिकै माग छ । अघिल्ला वर्षको तुलनामा बागलुङमा आलु उत्पादन बढेको कृषि ज्ञान केन्द्रको पनि तथ्यांक छ । आलु लगाउने क्षेत्रफल र उत्पादन बढेकाले आत्मनिर्भर मात्र नभइ बिक्री गरेर लाखौं कमाइसमेत भित्रिएको केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए । चालु वर्ष बागलुङमा तीन हजार ५० हेक्टर क्षेत्रमा आलु लगाइँदा ५४ हजार आठ सय १० मेट्रिकटन आलु फलेको केन्द्रको प्रारम्भिक तथ्यांक छ । प्रतिकिलो ३० रूपैयाँमा मात्रै बेच्न सक्दा किसानले एक अर्ब ६४ करोड कमाउन सक्ने उनले बताए । उनका अनुसार गत वर्ष जिल्लामा ४५ हजार छसय मेट्रिक टन आलु फलेको थियो । यस वर्षको उत्पादन २० प्रतिशतले बढी हो । मौसम राम्रो परेको, उन्नत प्रविधिको प्रयोग र समयमा मलको उपलब्धताले यो अवस्था आएको उनले बताए । ‘बागलुङको आलुमा रासायनिक मल प्रयोग भएको छैन, कम्पोष्ट मलको प्रयोग भएको छ’, भट्टराईले भने, ‘राम्रो बजार पाएकाले किसान पनि खुसी भएका छन् ।’ ताराखोला, तमानखोला र काठेखोला गाउँपालिका तथा ढोरपाटन र जैमिनी नगरपालिकामा धेरै आलु फल्छ । गलकोट र निसीखोलामा पनि आलु उत्तिकै फलाइन्छ । बागलुङमा ढोरपाटनको स्थानीयबाहेक कार्डिनल, जनकदेव, खुमलटार र एमएस ४२ दशमलव तीन नामका आलु बढी फलेका छन् । सबैभन्दा बढी उपभोक्ताले ताराखोला र ढोरपाटनको आलु मन पराउने गरेको सापकोटाले बताए । आलुको उत्पादन बढेपछि कृषि ज्ञान केन्द्रसहित स्थानीय पालिका समेतले जिल्लामा सातवटा शीत भण्डार बनाएका छन् । ती शीत भण्डारमा तीन सय ५० मेट्रिक टन बढी भण्डारण गर्न मिल्छ । एक सय १० मेट्रिक टनको भण्डारण निजी क्षेत्रले बनाएको छ। आलुको उत्पादकत्व बढाउन सञ्चालित आलुजोन, ब्लक र पकेटक्षेत्र विस्तार गर्दा पछिल्लो चार वर्षमा आलुको उत्पादन दोब्बर बढेको कार्यालयका सूचना अधिकारी कुमार पुनले बताए । चार वर्षदेखि हरेक वर्ष २० देखि २५ प्रतिशत बढिरहेको छ । घरघरमा फलाएर खाने आलुको रेकर्ड नभएको उनले बताए । ‘जसले ठूलो परिणाममा उत्पादन गरेर बजार पठाएका छन् उनीहरुको मात्रै तथ्यांक राखिएको छ’, पुनले भने, ‘बजारमा आलुको मूल्य ५० देखि ९० प्रतिकिलोमा बिक्री भइरहेको छ ।’ तथ्यांकका लागि किसानले ३० रूपैयाँमात्र पाएको रेकर्ड बनाए पनि एक अर्ब ६४ करोड रूपैयाँबराबरको आलु बिक्री भएको अनुमान गर्न सकिने उनले बताए । रासस
उपचारका लागि पहुँचवालालाई सरकारको डेढ अर्ब सहायता, सर्वसाधारण पालो कुर्दै गुमाउँछन् ज्यान
काठमाडौं । आर्थिक वर्ष २०७२/७३ पछि चालु आवको माघ मसान्तसम्म सत्ताको पहुँचमा भएकाहरुले राज्यकोषबाट उपचार र सहायताको नाममा एक अर्ब ३० करोड रुपैयाँ लिएका छन् । केन्द्रीय सत्ताको पहुँचमा भएका केही सिमित व्यक्तिहरुले राज्यकोषबाट रकम लिएर विदेशका आलिसान अस्पतालमा उपचार गर्ने गरेका छन् । महंगो शुल्कका कारण आर्थिक अवस्था कमजोर भएकाहरुले सामान्य उपचार गर्न पनि निजी अस्पतालमा पहुँच राख्दैनन् । तर, अति साधारण प्रकृतिको अप्रेसन गर्न पनि सरकारी अस्पतालमा महिनौं प्रतिक्षा गर्नुपर्ने र त्यसैका कारण मर्नुपर्ने अवस्था हजारौं नेपालीको बनेको छ । त्यति मात्रै नभएर आकस्मिक अवस्थामा अप्रेसन गर्नको लागि समेत नपाइएका कैंयन उदाहरण देखिएका छन् । चालू आर्थिक वर्षको माघ मसान्तसम्म ५ करोड ४६ लाख ४३ हजार रुपैयाँ साहयता प्रदान गरेको छ भने आथिक वर्ष २०७८/७९ मा १६ करोड २६ लाख ९८ हजार र आर्थिक वर्ष २०७७/७८ मा ७ करोड ९३ लाख ६७ हजार रुपैयाँ सहायत प्रदान गरेको छ काठमाडौंमा सरकारको व्यवस्थापनमा सञ्चालित त्रिभुवन शिक्षण, वीर, ट्रमा, कान्ति, पाटन लगायतका अस्पतालहरुमा दशौं हजार बिमारीहरु साधारण देखि मेजर अप्रेसनको लागि ६ महिना भन्दा लामो समयदेखि पालो पर्खिरहेका छन् । अस्पतालले पालो अनुसार उपचार गरिरहेको छ, तर कति बिमारीहरु पालो कुर्दाकुर्दै मरे वा अन्यत्रै गएर उपचार गरे भन्ने तथ्यांक कुनै अस्पतालसँग छैन । ३ हजार ५ सय भन्दा धेरै विमारी अप्रेसनको लागि नाम लेखाएर पर्खिरहेका त्रिभुवन शिक्षण अस्पतालका महाराजगञ्जका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाले अप्रेसनको लागि पालोमा बस्ने बिमारीको तथ्यांक सम्बन्धित विभागहरुले राख्ने र कुनै बिमारी आफ्नो पालोमा नआएमा अर्कोले उपचार गर्ने गरेको बताए । पालो लिएका कति र को बिमारी अप्रेसनको लागि फर्केर आएन भन्ने रेकर्ड अस्पतालले तयार नगरेको उनको भनाइ छ । त्यस्तै तीन हजार भन्दा बढी अप्रेसनको लागि पालो पर्खिरहेका कान्ति बाल अस्पतालका सूचना अधिकारी रमेश नर्सिङ केसीले अस्पतालले अप्रेसनको लागि पालो पर्खेका तर फर्केर नआएका बिमारीहरुको तथ्यांक नराखेको बताए । कान्तिमा पनि सम्बन्धित अप्रेसनको विभागले बिमारीलाई पालो दिने र अप्रेसन गर्ने गरेको र अप्रेसनको तथ्यांक सम्बन्धित विभागसँगै हुने गरेको उनको भनाइ छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोगले वीर अस्पताल र प्रसुती गृहमा पुर्ननिर्माण कार्यक्रम अन्तर्गत २ अर्ब १० करोडको लागतमा १÷१ वटा आधुनिक भवन निर्माण गरिदिएको थियो । सो आधारमा हेर्दा सरकारले ०७२ सालदेखि हालसम्म पहुँचवालालाई सहायतको नाममा बाँडेको रकमले एउटा सुविधासम्पन्न अस्पताल बन्ने देखिन्छ । साथै त्यसो नगर्दा पनि दर्जनौ अस्पतालहरुको स्तरवृद्धि गरेर विमारीहरुले पालो कुर्दाकुर्दै नमर्ने अवस्था सिर्जना गर्न सकिन्थ्यो । तर, सिमित व्यक्तिको नाममा खर्च गर्ने र देशभित्रका अस्पताललाई सुधार गर्नेतर्फ ध्यान नदिने प्रवृत्ति राजनीतिक नेतृत्वमा थप मौलाउँदै गएको देखिन्छ । राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता टिकाराम पोख्रेलले अस्पतालमा अप्रेसनको लागि बिमारीहरुले नाम लेखाएर सेवा नपाउने विषय गम्भिर भएको बताए । ‘स्वास्थ्यसँग सम्बन्धित धेरै विषयहरु छन्, जसलाई हामीले उठाइरहेका छौं, बिमारीहरुले अस्पताल समेत देख्न नपाएको अवस्था छ, यो विषयमा हाम्रो ध्यान आकर्षण भएको छ’, उनले भने ।
आशा लघुवित्तले लाभांश पारित गर्न बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । आशा लघुवित्त वित्तिय संस्थाले साधारण सभा बोलाएको छ । लघुवित्तको बुधबार बसेको संचालक समितिको बैठकले फागुन ११ गते साधारण सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पूँजीको १४.२८५७ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७१४३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरणको लागि लघुवित्तले फागुन २६ गते एकदिन बुक क्लोज गर्ने भएको छ । यस अनुसार फागुन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्नेछन् ।
फागुन २५ गतेदेखि पोखरा–भद्रपुर सिधा उडान गर्दै बुद्ध एयर
पोखरा । पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुुसी भएका छन् । निजी क्षेत्रको बुद्ध एयरले मार्चबाट पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी गरेको छ । ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाइ कनेक्टिभिटिमार्फत पूर्व–पश्चिम जोडेर यात्रुलाई सहज सेवा प्रदान गर्न बुद्ध एयर प्रतिवद्ध छ’,स्टेशन म्यानेजर गौतम बरालले भने । उनले अब केही दिनपछि पोखरा–भद्रपुर उडान सुरु हुने जानकारी पनि दिए । म्यानेजर बरालका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका चार जहाज रात्रिकालीन समयमा विमानस्थलमा हुनेछन् । ती विमानले बिहान चार स्थानमा उडान भर्नेछन् । काठमाडौ, भैरहवा, नेपालगञ्ज नियमित उडान भइरहेका छन् भने अब पोखराबाट बिहान ६ः१५ मा जहाज भद्रपुरका लागि उड्नेछ । भद्रपुरबाट पोखराका लागि भने बेलुकी ६ः५५ मा उडान हुने जनाइएको छ । हवाइ उडान दुरी एक घण्टा १० मिनेटको हुनेछ । पोखरा–भद्रपुर सिधा उडान नहुँदा यहाँ आउने यात्रुले सास्ती खेप्नु परेकाले यात्रुको सहजताका लागि सिधा उडान सञ्चालन गर्न लागिएको उनले बताए । यसले पश्चिम क्षेत्रलाई पूर्वी गन्तव्यसँग जोडर आन्तरिक पर्यटनका साथै भारतीय पर्यटकलाई पोखरासम्म ल्याउन सघाउ पुग्ने मेनेजर बरालको भनाइ थियो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै अन्य जिल्लासँगको कनेक्टिभिटि बढ्ने र आन्तरिक पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । ‘पोखरा पर्यटकीय शहर हो, पूर्वबाट पोखरा आउन चाहने पर्यटकलाई बुद्ध एयरको सिधा उडानले सहज गराउनका साथै भारतीय पर्यटकलाई पोखरा भित्र्याउन भूमिका निर्वाह गर्छ’, उनले भने । अध्यक्ष श्रेष्ठले यहाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भए पनि अन्तर्राष्ट्रिय उडान हुन नसकेको प्रति गुनासो गर्दै छिटोभन्दा छिटो उडानका लागि पहल गर्न सरकार र सरोकारवालासमक्ष आग्रह गरे । पोखरा पर्यटन बोर्डका प्रमुख काशीराज भण्डारीले पर्यटकहरुले छिटोे र आरामदायी यात्रामा रुची राख्ने हुँदा जति एयर कनेक्टिभिटि पर्यटकको चहलपहल पनि बढ्दै जाने बताए । पोखरा–भद्रपुर सिधा उडानले पर्यटन प्रवद्र्धन हुने उनको भनाइ थियो । सिधा उडानले पर्यटनसँगै यहाँको स्थानीय उत्पादन बिक्री वितरणमा पनि सहज हुने प्रमुख भण्डारीले बताए । योसँगै बुद्ध एयरले मार्च देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान पनि सुरु गर्दैछ । पोखरा बास बस्नेगरी विभिन्न गन्तव्यबाट यात्रु पोखरासम्म आउने भएपछि पर्यटकको सङ्ख्या बढ्ने यहाँका पर्यटन व्यवसायीको अपेक्षा छ । अहिले पोखरा–भद्रपुर सडक यात्रा गर्दा करिब १८ घण्टा बिताउनाका साथै २४ सय–२७ सय रुपैयाँसम्म भाडा तिर्नुपर्छ तर हवाई उडानबाट भने ७० मिनेटमै यात्रा गर्न सकिने र हवाई भाडा पनि नौ हजार छ सय ८५ रुपैयाँ पर्छ । रासस