काठमाडाैं । पर्यटन प्रवद्र्धन गर्न हिमालय ट्राभल मार्टको चौथौ संस्करण हुने भएकाे छ । यहि जुन ६ देखी ९ सम्म काठमाडाैंमा हिमालय ट्राभल मार्ट आयाेजना हुन लागेकाे हाे ।
प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरद्धारा नेपाल सरकार (संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय) को स्वामित्व अन्तर्गत नेपाल पर्यटन बोर्ड, नेपाल वायु सेवा निगम, पाटा अन्तराष्ट्रिय एवम पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाहरुको विशेष सहयोग तथा सहकार्यमा ट्राभल मार्ट आयाेजना गर्ने लागिएकाे हाे ।
सन् २०१७ देखि वार्षिक रुपमा हुँदै आएको यस ट्राभल मार्ट कोभिड–१९ महामारीका कारण सन २०१९ पश्चात आयोजना हुन सकेको थिएन ।
पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुरले पर्यटन क्षेत्र क्रमशः लयमै फर्किरहँदा हिमालयन ट्राभल मार्टको आयोजनाले नेपाल लगायत समग्र हिमालयन क्षेत्रकै पर्यटन पुनरुत्थान र प्रवर्धन पहलहरूलाई सहयोग पुर्याउने तथा महत्त्वपूर्ण अवसर प्रदान गर्ने विश्वास लिएकाे बताए ।
यस्तै, पर्यटनमन्त्री सुदन किँरातीले हिमालयन ट्राभल मार्ट २०२३ मा सहभागी भई नेपालले प्रदान गर्ने जीवन्त अनुभवहरुको अनुभूति लिन तथा कोभिड पछिको पर्यटन पुनरुत्थानमा आवश्यक साथ, सहयोग र सहकार्यका लागि आग्रह गरेका छन् ।
देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हिमालयन ट्राभल मार्टमा नेपाल, भारत, पाकिस्थान, चीन (तिब्बत), भुटान र म्यानमार जस्ता हिमालयन राष्ट्रहरुबाट विक्रेताहरु तथा युरोप, अमेरिका, अष्ट्रेलिया, न्यूजिल्याड, एसिया, सि. आई. एस. राष्ट्रहरु, एशिया र अरब राष्ट्रका विश्वब्यापी क्रेताहरुलाई एउटा मञ्चमा भेला गराई उनीहरुबीच व्यापार आदान–प्रदान तथा सम्बन्ध संञ्जाल विस्तार, ज्ञान तथा सिप आदान–प्रदान गर्ने एक अद्धितीय मञ्च तथा एउटा विशेष लोकप्रिय बी–टु–बी कार्यक्रम हो ।