विकासन्युज

एनआईबीएल एस क्यापिटल र सिटिटेक ग्रुपबीच लगानी सम्झौता

काठमाडौं । एनआईबीएल एस क्यापिटल र सिटिटेक ग्रुपबीच सम्झौता भएको छ । दुई ग्रुपबीच एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा कपोरेट पेरोल एसआइपि मार्फत उक्त कम्पनीका कर्मचारीहरुले लगानी गर्ने सम्झौता भएको हो । उक्त सम्झौतामा सिटिटेक ग्रुपका तर्फबाट कम्पनिका वित्तीय प्रमुख अच्युत अधिकारी र एनआईबीएल एस क्यापिटलका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सिटिटेक ग्रुपका विभिन्न तहका कर्मचारीहरुले मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डमा व्यवस्थित लगानी योजना मार्फत लगानी गर्न सक्नेछन् ।

सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन

काठमाडौं । सिटिजन्स बैंकले धनगढी शाखामा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले सुदूरपश्मिमा ३०० जनालाई नि:शुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधीहरु समेत नि:शुल्क वितरण गरेको हाे । शिविरमा अत्तरिया अस्पतालका डा. आनन्द पाठक, डा. अनिश कुमार शाह, डा. सीता बम र डा. धनसार जागरीको नेतृत्वमा रहेको टोलीले सुगर, प्रेसर सहित सामान्य स्वास्थ्य जाँच गरी विभिन्न रोगको चेकजाँच सहित आवश्यक स्वास्थ्य सुझाव दिएका थिए । गाउँ गाउँमा शिविरको आयोजना गरी रोगको उपचार मात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्य अनुरुप शिविरको आयोजना गरिएको बैंकले जनाएकाे छ । सिटिजन्स बैंक इन्टरनेसनलले धनगढी शाखा सहित देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजारभन्दा बढि ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

धितोपत्र बोर्डलाई अर्थमन्त्रीको निर्देशन : केही दिनमै सेयर बजारमा राम्रो नतिजा ल्याउनु

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण नेपाल धितोपत्र बोर्डलाई कही दिनभित्र नै पूँजीबजारमा सकारात्कक नतिजा ल्याउने गरी काम गर्न निर्देशन दिएका छन् । सोमबार महतले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाईसँग भेटेर यस्तो निर्देशन दिएका हुन् । उनले छलफलमा सेयर बजारमा समस्या र लगानीकर्ताबीचको समन्वय गर्न र समस्या समाधान गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री महतले नेपाल उद्योग वाणिज्य महासंघ, पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीसँग सोमबार बिहान भेटेलगत्तै धितोपत्र बोर्ड अध्यक्ष हमाललाई भेटेका हुन् ।  

म्युचुअल फण्ड : उच्च अंकमा सेयर बेचेर न्यून विन्दु कुर्दै

काठमाडौं । पछिल्लो समय अर्थतन्त्र सुस्ताएको छ । लगानीको वातावरणमा कमी आएको छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दै जाँदापनि सेयर बजारका लगानीकर्ताको मनोबल बढ्न सकेको छैन । सेयर बजार उच्च बिन्दुमा हुँदा लगानीकर्ताले जति कमाए त्यति नै गुमाएका पनि छन् । तर, ठ्याक्कै कति लगानीकर्ताले कमाए, कतिले गुमाए भन्ने यकिन तथ्याङ्क हुँदैन । तर, संस्थागत लगानीकर्ताहरुका रुपमा चिनिएको म्युचुअल फण्डले भने बजार घटेको र बढेको बेलामा पनि नाफा कमाइरहेको लगानीकर्ताहरु बताउँछन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३० वटा म्युचुअल फण्ड सूचीकृत छन् । म्युचुअल फण्डहरुले संकलन गरेको रकम सेयर बजारमा लगानी गर्छन् । तर, पछिल्लो समय बजार घटिरहेका बेला म्युचुअल फण्डहरु पनि सेयर बिक्री गरेर बाहिरिरहेको तथ्याङ्कले देखाउँछ । ३१ सय माथि पुगेको सेयर बजार घटेर १८ सय अंकमा झरेको थियो । सेयर बजारले उकालो यात्रा तय गर्ने बित्तिकै सेयर खरिद गरेका म्युचुअल फण्डले पुनः सेयर बिक्री गरेर नाफा बुक गरेको तथ्याङ्कले देखाउँछ । नेप्से सूचक २२ सय अंक हुँदा म्युचुअल फण्डले सेयर बिक्री गरेर नाफा बुक गरेको एक लगानीकर्ता बताउँछन् । ‘माघ फागुनमा सेयर बजार २२ सय अंकमा पुगेको थियो, यो बीचमा राजनीतिक उथलपुथल भयो, सरकार परिवर्तन भयो, राष्ट्रपतिको चुनावमा सेयर बजार घट्यो, त्यहि बेला म्युचुअल फण्डले नाफा बुक गरे, कारोबार रकम पनि धेरै थियो,’ एक लगानीकर्ताले भने, ‘अहिले भोलुम पनि कम छ, सेयर बजार पुनः १८ सय अंकमा झरेको छ, अब म्युचुअल फण्डले एउटा विन्दुलाई समातेर खरिद गर्छन्, त्यसपछि पुनः बजार बढ्छ ।’ माघसम्मको तथ्याङ्क अनुसार म्युचुअल फण्डहरुले धितोपत्र बजारमा सूचीकृत कम्पनीहरुको १८ अर्ब ५० करोड ३३ लाख १३ हजार रुपैयाँ बराबरको सेयर खरिद गरेका थिए । फागुनसम्म म्युचुअल फण्डहरुले १७ अर्ब ९४ करोड ४२ लाख ५८ हजार रुपैयाँ बराबरको सेयर खरिद गरेका छन् । जुन एक महिनामै ३.०२ प्रतिशत अर्थात् ५५ करोड ९० लाख ५४ हजार रुपैयाँ बराबरको सेयर बेचेको तथ्याङ्कले देखाउँछ । पछिल्लो समय बजार घट्दै गएपछि सेयर बिक्री गरेर म्युचुअल फण्ड बाहिरिएको तथ्याङ्कले देखाउँछ । एक महिनाको अवधिमा २१ वटा म्युचुअल फण्डले सेयर बिक्री गरेको देखिन्छ । एनआईबिएल प्रगति फण्डले १२.७२ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ ले १२ प्रतिशत, सिद्धार्थ इक्विटी फण्डले ११.९६ प्रतिशत, एनआईसी एशिया ग्रोथ फण्डले १०.१२ प्रतिशत, नबिल ब्यालेन्सड् फण्ड-३ ले ९.७३ प्रतिशत, नबिल इक्विटी फण्डले ९.६३ प्रतिशत, नबिल ब्यालेन्सड् फण्ड-२ ले ८.४० प्रतिशत, एनआईसी एशिया ब्यालेन्सड फण्डले ८.११ प्रतिशत सेयर बिक्री गरेका छन् । यस्तै, एनआईबिएल समृद्धि फण्ड-२ ले ८.०५ प्रतिशत, आरविवि म्युचुअल फण्ड-१ ले ७.८६ प्रतिशत, लक्ष्मी इक्विटी फण्डले ७.४२ प्रतिशत, सानिमा इक्विटी फण्डले ७.३३ प्रतिशत, लक्ष्मी उन्नति कोषले ६.३५ प्रतिशत, सानिमा लार्ज क्याप फण्डले ६.२२ प्रतिशत, सनराइज फस्र्ट म्युचुअल फण्डले ४.८१ प्रतिशत, सनराइज ब्लुचिफ फण्डले ४.६८ प्रतिशत, मेगा म्युचुअल फण्ड-१ ले ४.३६ प्रतिशत, एनएमबि हाइब्रिड फण्ड एल-१ले ४.२० प्रतिशत, कुमारी इक्विटी फण्डले २.९६ प्रतिशत र प्रभु सेलेक्ट फण्डले १.९५ प्रतिशत सेयर बिक्री गरेको तथ्याङ्कले देखाउँछ । सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्दीप कार्की बजार घट्दो अवस्थामा रहेकाले म्युचुअल फण्डको लगानी पनि घटेको बताउँछन् । बजार घटेका बेलामा म्युचुअल फण्डले धेरै आम्दानी गर्ने अवस्था नरहेको उनको भनाइ छ । ‘बजार अझै घट्छ भन्ने मनसाय बनाएका हुन सक्छन्, बजार घटेपछि नगद लिएर बसेका मात्रै हुन्, बजार अझै घट्यो भने खरिद गरुँला भनेर योजना बनाएका हुन्, त्यसैले म्युचुअल फण्डले पनि सेयर बिक्री गरेका हुन्,’ उनले भने । म्युचुअल फण्डले संकलन गरेको रकमले विभिन्न कम्पनीको सेयर खरिद गरेका हुन्छन् । म्युचुअल फण्डलाई सेयर खरिद गर्न बाहेक अन्यमा लगानी गर्ने व्यवस्था छैन । म्युचुअल फण्डहरुले सरकारी ऋणपत्र, बैंकको मुद्दती, हकप्रद सेयर, बोनस सेयर लगायतमा निश्चित सीमा भित्र रहेर लगानी गर्न पाइने व्यवस्था छ । म्युचुअल फण्डले सेयरमा लगानी गरेका भएपनि पछिल्लो समय बजार घटेका कारण बिक्री गरेको उनको भनाइ छ । पूँजी बजारमा म्युचुअल फण्डको कूल लगानी ३० अर्ब रुपैयाँ भन्दा बढी रहेको छ । बजारको मुभमेन्ट अनुसार म्युचुअल फण्डको लगानी घटबढ भइरहने सीईओ कार्कीले बताए । लगानीकर्तामा आज लगानी गरेर भोलि नाफा खाने प्रवृत्ति हावि रहेको उनको भनाइ छ । आफैले एकदुई स्टक किन्नु र म्युचुअल फण्डमा लगानी गर्नुमा धेरै फरक रहेको उनले बतााए । म्युचुअल फण्डले अहिले पनि औषत १५ प्रतिशत भन्दा बढी नाफा वितरण गरिरहेको उनको भनाइ छ । ‘बजार घटेको बेला होस् वा बढेको बेला होस् म्युचुअल फण्डले सेयर खरिद बिक्री गरिरहेका हुन्छन्, बजारको मुभमेन्टले म्युचुअल फण्डको न्याभमा असर गरेपनि दीर्घकालका लागि लगानी गर्दा राम्रो प्रतिफल दिइरहेका छन्, अहिले पनि अधिकांश म्युचुअल फण्डले राम्रो प्रतिफल दिइरहेका छन्,’ उनले भने । फागुनसम्मको तथ्याङ्क अनुसार सिद्धार्थ इक्विटी फण्ड र सानिमा इक्विटी फण्डले १ अर्ब भन्दा बढीको सेयर खरिद गरेका छन् । सबैभन्दा धेरै सिद्धार्थ इक्विटी फण्डले १ अर्ब ८ करोड ४ लाख रुपैयाँ र सानिमा इक्विटी फण्डले १ अर्ब ४ करोड २५ लाख रुपैयाँ बराबरको सेयर खरिद गरेका छन् । माघ महिनामा सिद्धार्थ इक्विटी फण्डले १ अर्ब २२ करोड ७२ लाख रुपैयाँ र सानिमा इक्विटी फण्डले १ अर्ब १२ करोड ५१ लख रुपैयाँ बराबरको सेयर खरिद गरेका थिए । यी दुई फण्डको क्रमशः ११.९६ प्रतिशत र ७.३३ प्रतिशतले सेयर बेचेका हुन् । कुनले कति घटाए/बढाए ? पछिल्लो समय सेयर बजार घट्दो अवस्थामा रहेपनि १० वटा फण्डले भने सेयर खरिद गरेका छन् । एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ ले ५३.४३ प्रतिशत, एनआईबिएल ग्रोथ फण्डले ३१.६३ प्रतिशत, सानिमा ग्रोथ फण्डले २७.०६ प्रतिशत, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले २०.३९ प्रतिशत, एनआईसी एशिया सेलेक्ट-३० ले १३ प्रतिशत, कुमारी धनवृद्धि योजनाले ५.२२ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ ले ४.१७ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड-२ले ३.५६ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड-१ ले २.६२ प्रतिशत र एनएमबि फिफ्टीले २.२३ प्रतिशत बढी सेयर खरिद गरेका छन् । एक मर्चेन्ट बैंकका नायव महाप्रबन्धकका अनुसार म्युचुअल फण्डहरुले अहिले सेयर बिक्री गरेर तल्लो बिन्दुबाट लगानी गर्न खोजेको देखिन्छ । बजार घटेको बेला कुनै म्युचुअल फण्ड आक्रामक सेयर खरिद गर्न खोज्ने र कुनै फण्ड सन्तुलन मिलाएर सेयर खरिद गरेको अभ्यास रहेको उनले बताए । ‘अहिले बजार डाउन छ, लगानीकर्ताको मनोविज्ञान कमजोर नै छ, उपत्यकाबाहिरका लगानीकर्ताको हालत झनै खराब छ, यो बेलामा फण्डामेन्टल राम्रो भएको र निरन्तर लाभांश दिइरहेका कम्पनीको सेयरमा लगानी गर्नुपर्छ,’ उनले भने । पछिल्लो समय केही म्युचुअल फण्ड पनि घाटामा गएको उनले बताए । बजार तल झरेको हुँदा म्युचुअल फण्डहरुले सेयर बिक्री गरेको उनको भनाइ छ । ‘म्युचुअल फण्डहरु अघिल्लो महिनाको तुलनामा यो महिना घाटामा छन् तर, समय अझै बाँकी छ, बजार चलायमान भए ट्रेडिङलाई जोड दिन्थे तर अहिले दीर्घकालको स्टकमा मात्रै लगानी गरेका छन्, बजार बढ्न थालेपछि म्युचुअल फण्डले लगानी गर्न सुरु गर्छन्,’ उनले भने, ‘कुनै म्युचुअल फण्डले बेचेर अन्यमा लगानी गरेका हुन्, कुनै म्युचुअल फण्ड परिपक्व पनि भए, उनीहरुले बिक्री गरेको हुँदा सेयरमा लगानी कम देखिएको हो तर, बजार ८०/९० प्रतिशत घटबढ भएका कारण नै सेयरमा लगानी घटबढ हुने हो ।’

हिमालयन बैंकको नारी र तलब बचत खातामा १० लाखको दुर्घटना बीमा

काठमाडौं । हिमालयन बैंकले दुई बचत खातामा भएको दुर्घटना मृत्यु बीमाको सीमा रकम बढाएको छ । बैंकले नारी बचत खाता र विशेष तलबी खातामा भएको बीमाको सीमा रकम बढाएको हो । बैंकले दुर्घटना बीमाको सीमा रकम ५ लाखबाट बढाएर १० लाख पुर्याएको छ । बैंकले एक विज्ञप्ती जारी गर्दै सीमा रकम बढाएको जानकारी दिएको छ । नारी वचत खाता नारीहरुको सम्मान स्वरुप विशेष गरी नारीहरुलाई लक्षित गरिएको योजनाको रुपमा र विशेष तलबी खाता कुनै पनि संघ संस्थामा आवद्ध व्यक्तिको नाममा तलब जम्मा गर्ने प्रयोजनले खोलिने तलबी खाताको रुपमा रहेको छ । १० लाखसम्मको दुर्घटना मृत्यु बीमा बाहेक पनि नारी वचत खातामा लकर धरौटीमा ५० प्रतिशत छुट र विभिन्न बैंकिङ्ग सेवाहरुमा २५ प्रतिशतसम्म छुट रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीहरुलाई दियो तालिम

काठमाडौं । राष्ट्रिय बैंकले ५४ जना नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम दिएकाे छ । बैंकले लोक सेवा आयोगबाट सञ्चालित लिखित परिक्षा तथा अन्तरवार्ताबाट बागमती र गण्डकी प्रदेशका लागि छनौट भएका कर्मचारीहरुलाई चौध दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सैद्धान्तिक ज्ञानले मात्र प्रतिष्पर्धामा सफलता हासिल गर्न नसकिने हुँदा यो दुईहप्ताको तालिमबाट प्राप्त हुने व्यवहारिक ज्ञानले कार्यस्थलमा नागरिकलाई सेवा दिन सहयोग पुगि संस्थाको उत्पादकत्व बृद्धि उपयोग हुने बताए । उनले अन्य प्रदेशका सहायक स्तरका कर्मचारीहरुको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछी पुरानो बैंक नयाँ कर्मचारीलेयुक्त हुने बताए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराउदैं ग्राहकहरुको बैंकप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्ने बताए । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनीले आजकाल प्रविधिको प्रयोग मार्फत जोखिम बढिरहेकाले ग्राहकलाई सचेत भएर डिजिटल बैंकिङ्ग सेवा प्रयोग गर्न सिकाउनुपर्ने बताए । कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक प्रशासन सेवाका ५४ जना कर्मचारीहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए । कार्यक्रममा बैंकका विभागीय प्रमुख पद्यमा लक्ष्मी जि.सी, मानव संशाधन विभागका उपप्रमुख हरिबावु आचार्यलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बस्ती विकासको लागि ६० लाख खर्च गर्दै हिमचुली बस्ती सुधार समिति, सम्पन्न गर्यो वार्षिक साधारण सभा

काठमाडौं । हिमचुली बस्ती सुधार समितिले तेश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । समितिले गत चैत १८ गते धादिङ्गको सिद्धखलेस्थित रिभर पार्क बिच मख्खुमा उक्त सभा सम्पन्न गरेको हो । समितिका अर्जुन बस्नेतको अध्यक्षतामा बसेको उक्त सभाले बस्ती सुधारको लागि सबै मिलेर काम गर्ने एजेण्डाहरु पारित गरेको छ । सभामा प्रमुख अतिथिको रुपमा रहेकी प्रदेश सभा सभासद् रमा आले मगरले पनि टोल सुधारको लागि विभिन्न सल्लाह सुझावहरु दिएकी थिइन् । समितिका अध्यक्ष बस्नेतले टोल सुधारको लागि समितिले कूल ५२ लाख रुपैयाँ खर्च गरिएको बताएका छन् । जसमध्ये २० लाख प्रदेश सभा, वडाबाट साढे ५ लाख रुपैयाँ, नगरपालिका र उपभोक्ता समितिबाट बस्ती सुधारको लागि करिब साढे २६ लाख रुपैयाँ बराबरको सहयोग भएको उनले बताए । जसमा सडक बनाउने, बत्ती जडान तथा ढल निकास लगायतका पूर्वाधार विकासको कामहरु भएका अध्यक्ष बस्नेतले जानकारी गराए । ‘चालु आवमा हामीले बस्तीको पूर्वाधार विकासको लागि ५२ लाखको काम गर्यौं, अब आगामी वर्षमा प्रदेश सभा, नगरपालिका, वडा र उपभोक्ता समितिको सहयोगमा ६० लाख बराबरको काम गर्ने लक्ष्य छ,’ अध्यक्ष बस्नेतले बताए । ‘समाज हाम्रो हो, यो समाज हामीले बनाउने हो, सकारात्मक सोचले नै समाज परिवर्तन हुन्छ’ भन्ने उद्देश्यका साथ उक्त समिति अघि बढेको छ । समितिको सभामा मिलन समाजका अध्यक्षले शुभकामना मन्तब्य दिएका थिए । त्यस्तै, सल्लाहाकार मोहन डागी र दौप्रदी शाहले पनि बस्ती सुधारको लागि विभिन्न सुझावसहितको आफ्ना भनाईहरु राखेका थिए । त्यस्तै, समितिका उपाध्यक्ष पवित्र पराजुलीले स्वागत मन्तव्य दिएका थिए भने कोषाध्यक्ष कबिता बर्तौलाले गत आर्थिक वर्षको आयव्यय रहेको वित्तीय प्रतिवेदन पेश गरेका छन् । उक्त प्रतिवेदन सभाले पारित गरेको छ । कार्यक्रमको सञ्चालन समितिका सचिव सुब्बा थपलियाले गरेका हुन् । साथै, उक्त सभामा नयाँ वर्ष अर्थात वि.सं. २०८० सालको क्यालेन्डर समेत विमोचन गरिएको छ ।

अघि बढ्यो दरौदी कोरिडोर प्रसारण लाइन

काठमाडौं । दरौँदी तथा चेपे खोलामा निर्माण हुन लागेको जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि केराबारी–मस्याङ्दी दरौँदी कोरिडोर प्रसारण लाइन निर्माण हुने भएको छ । आइतबार एक समारोहबीच प्रसारण लाइनको शिलान्याश गरिएको राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा नेत्रप्रसाद ज्ञवालीले जानकारी दिए । कम्पनीले निर्माण गर्न लागेको यो पहिलो आयोजना हो । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव एवं राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष दिनेशकुमार घिमिरेले प्रसारण लाइन आयोजनाको टावर निर्माणको शिलान्यास गरे । आयोजना अन्तर्गत गोरखा जिल्लाको सिरानचोक गाउँपालिका –१ मा एक सय ३२ केभी क्षमताको केराबारी सवस्टेशन निर्माण हुनेछ । यस्तै सो सव–स्टेशन देखि तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपलिका–२ स्थित न्यु – मस्याङ्दी मार्किचोक सव–स्टेशनसम्म करिब ३२ किमी लामो एक सय ३२ केभीको डबल सर्किट प्रसारण लाइन निर्माण हुनेछ । कूल एक सय सात वटा टावर रहने यस प्रसारण लाइन आयोजनाको टावर नम्बर १९ बाट निर्माण सुरु गर्न लागिएको हो । आयोजनाका प्रबन्धक देवेश सैंजुले आयोजनाको निर्माणपछि चेपे तथा दरौंदी खोलामा निर्माण गरिने विभिन्न जलविद्युत आयोजनाबाट उत्पादित करिब एक सय २० मेगावाट विद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने जानकारी गराए । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीका अनुसार छुट्टा छुट्टै प्रसारण लाइन निर्माण गर्नुभन्दा एउटा साझा प्रसारण लाइन निर्माण गरी विद्युत प्रवाह गर्न प्राविधिक, आर्थिक तथा पर्यावरणीय दृष्टिकोणबाट उपयुक्त देखिएको बताए । उनले सो आयोजनाबाट दरौंदी तथा चेपे खोलामा निर्माण गरिने जलविद्युत आयोजनाहरु लाभान्वित हुने र अन्य आयोजनाका लागि समेत मार्ग प्रशस्त गर्ने विश्वास दिलाए । प्रसारण लाइन नदि कोरिडोरका धेरै आयोजनालाई समेट्ने गरी बनाइएको साझा प्रसारण लाइन बिकासको एक मोडेलको रुपमा स्थापित हुने बताए । गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले प्रसारण लाइन आयोजनाबाट हुने क्षति न्यूनिकरण गर्न एकीकृत प्रसारण लाइन निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । जिल्ला प्रशासन कार्यालयबाट आयोजना निर्माणमा आवश्यक सहयोगरसहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्न शुभकामना व्यक्त गरेका थिए । उर्जा सचिव घिमिरेले आयोजना प्रभावित स्थानीय तहका जनप्रतिनिधि तथा सम्बन्धित सरकारी निकायले आयोजनाप्रतिको अपनत्वको सराहना गरे । देशमा तीव्र गतिमा उत्पादन भइरहेको बिजुलीलाई लोड केन्द्रमा पुर्याउनका लागि प्रसारण गुरु योजना तयार पारिएको र सोहि बमोजिम राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले प्रथामिकीकरण गरी आयोजनाको निर्माण द्रुत गतिमा बढाइएको उनको भनाइ छ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड तथा निर्माण व्यवसायीलाई आयोजना चाँडोभन्दा चाँडो सम्पन्न गर्न निर्देशन दिँदै आयोजना सफलतापूर्वक सम्पन्न हुनेमा विश्वास व्यक्त गरेको छ । गोरखा नगरपालिकाका अध्यक्ष कृष्ण राना मगर र सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले आयोजनालाई स्थानीय तहबाट आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरे । रासस