के नेपालीको अाम्दानी बढेकै हो त ! नेपालमा मोबाइल आयात पाँच वर्षमा तीन गुणाले बढ्यो
काठमाडौ, २७ भदौ । प्रविधिको उच्च परिवर्तन र विश्वव्यापिकरणका कारण नेपाल पनि अछुतो रहन सकेको छैन्। नेपालमा पनि दिनानुदिन मोबाइल प्रयोगकर्ता बढ्दै जाँदा मोबाइलको बजारसमेत आकासिएको छ । नेपाल मोवाइल डिलर्स एसोसिएसनका अनुसार हरेक ६ महिनमा एउटा कम्पनीले आफ्नो नयाँ मोडल सार्वजनिक गर्ने प्रचलनले पनि आयात ह्वात्तै बढेको हो । मानिस एउटा मोबाइल ६ महिना प्रयोग गरेपछि फेरि नयाँ बोक्न चाहन्छ । यसले मोबाइलको बिक्री बढाएको छ । ‘घरमा दैनिक छाक टार्न नसक्ने मानिसको हातमा ५० हजारभन्दा बढिको मोबाइल प्रत्येक वर्षमा परिर्वतन हुनु पनि यसको उदाहरण हो’, एसोसियसनका कोषाध्यक्ष अनुप थापाले भने, ‘पछिल्लो समय मोबाइल मानिसको आवश्यकता बन्दै जाँदा पनि यस्तो अवस्था आएको हो ।’ भन्सार विभागको पछिल्लो पाँच वर्षको तथ्यांकलाई आधार मान्ने हो भने पनि नतीजा उस्तै छ । आव २०६८/०६९ मा १९ लाख ३३ हजार मोबाइल आयात भएकोमा आव २०७२/०७३ मा ४९ लाख ९० हजार मोबाइल सेट नेपालमा आयात भएको छ। यो पाँच वर्ष अघिको तुलनामा २.५९ गुणाले बढी हो । गत आव २०७१/७२ को मोबाइल आयातलाई मात्र मध्यनजर गर्ने हो भने पनि यो वर्ष मोबाइलको आयात दोब्बरको हाराहारीमा छ । गत आव ३८ लाख नौ हजार मोबाइल सेट भित्रिएको थियो । गत आव नेपालमा १८ अर्ब १९ करोड ७६ लाख ८७ हजार ८६ हजार रुपैयाँको मोबाइल आयात भएको छ । यो अघिल्लो वर्षको तुलनामा पाँच अर्ब रुपैयाँ बढी हो । अघिल्लो वर्ष १३ अर्ब चार करोडको मोबाइल आयात भएको थियो । अन्तर्राष्ट्रियस्तरमा पनि मोबाइलको बजार यही अनुरुपको छ । नयाँनयाँ ब्रान्डका मोबाइल भित्रिनुले पनि यस्तो अवस्था सिर्जना गरेको हो। नेपाल, साउथ अपिफ्रका जस्तो खुला बजार नीति भएको देशमा मोबाइल आयात यो रूपमा हुनु स्वभाविक रहेको नेपालले जानकारी दिए । मानिस बारफोनबाट स्मार्टफोनमा जाने क्रम बढ्नु, बारफोनको मूल्यमा स्मार्टफोन उपलब्ध हुनु र सामाजिक सञ्जालले मानिसलाई आकर्षित गर्नुले पनि मोबाइल बजार आकासिएको हो । नेपालमा अहिले ५० भन्दा बढी मोबाइल कम्पनीको उपस्थिति छ भने ओप्पोलगायतका अन्य थुप्रै कम्पनी भित्रिने क्रममा छन् । यसरी नयाँ कम्पनीले बजारमा आउँदा पनि मोबाइलको आयातमा ठूलो फरक देखिएको हुन सक्ने अनुमान गर्न सकिन्छ । नेपालमा चीन, भारत, दक्षिण कोरिया, भियतनाम, हङकङ, स्पेनलगाय ६१ देशबाट मोबाइल आयात हुने गरेको छ । नेपालमा आयात हुने कुल मोबाइलको ९० प्रतिशत हिस्सा चीनले ओगटेको छ । भ्यालुका आधारमा चीनबाट आउने मोबाइलले ७६ प्रतिशत ओगटेको छ ।
ट्विटरले ल्यायो क्वालिटी फिल्टर फिचर, अनावश्यक र अश्लिल नोटिफिकेशनबाट मुक्त हुने
क्यालिफोर्निया–विश्वको चर्चित सामाजिक संजाल ट्विटरले आफ्नो नोटिफिकेसन सेटिङमा एक क्वालिटी फिल्टर थप गरेको छ। उक्त क्वालिटी फिल्टर फिचर आफ्नो ट्विटर एकाउन्टमा प्रयोग गरमा प्रयोगकर्ता अनावश्यक र अश्लिल नोटिफिकेशनबाट मुक्त हुने कम्पनीले जनाएको छ। उक्त फिचर सेटिङमा थप गर्दा उक्त फिल्टरले अनावश्यक र अश्लिल नोटिफिकेशनाई स्वतः हटाइदिन्छ । उक्त फिचरको प्रयोग गर्दै प्रयोगकर्ताले नोटिफिकेशनसमेत सीमित बनाउन सक्नेछन् । तर ट्विटर प्रयोगकर्ताले फलो गरेका व्यक्तिको र अन्य प्रयोगकर्ताको कमेन्ट भने यस फिचरले फिल्टर नगर्ने कम्पनीले जनाएको छ । साथै उक्त फिचरको प्रयोग गरि प्रयोगकर्ताले अश्लिल कमेन्टलाई हाइड सक्ने तर हाटउन भने नसक्ने कम्पनीले जनाएको छ । एजेन्सीको सहयोगमा
आइफोनको नयाँ वायरलेस हेडफोन विवादमा, मानव स्वास्थ्यमा असर गर्ने चेतावनी
क्यालिर्फोनीया–अमेरिकी मोबाइल कम्पनी एप्पलले आफ्नो नयाँ उत्पादन आइफोन सेभेन र आइफोन सेभेन प्लस वायरलेस हेडफोन सहित सार्वजनिक गर्यो। उक्त सार्वजनिक कार्यक्रममा एप्पलका सिइओ टिम कुकले भनेका थिए ‘ हामी वायरलेस भविष्यतर्फ अग्रसर हुंदैछौ। एप्पलले वायरलेस हेडफोनले प्रयोगकर्ताको ध्यान खिच्ने बताइरहदाँ चिकित्सकहरुले भने वायरलेस हेडफोनले मानव स्वास्थ्यमा गम्भिर असर पुर्याउने चेतावनी दिएका छन् । ब्लुटुथ प्रविधिमा आधारित यस वायरलेस हेडफोनले लो–इन्टेन्सीटि रेडियो वेभलाई प्रयोगकर्ताको कानमा पुर्याउँछ। तर अध्ययनकर्ताहरुले उक्त वेभले रेडिएसन उत्पन्न गरिदिने र यसले मस्तिष्कमा रगत जाम गरिदिने भएकाले यसले मानव स्वास्थ्यमा असर गर्ने बताएका हुन्। युसी ब्रिक्लि स्कुल अफ पब्लिक हेल्थका प्रोफेसर डा. ज्युल मोस्कोविचले भने ‘ हामी प्रविधिको नाममा आगोसँग खेल्दै छौ किन भने हामी माइक्रोवेभ प्रवाह गर्ने साधनलाई हाम्रो मस्तिष्कको नजिक राखिरहेका छौँ जुन धेरै खतरनाक छ। यता एप्पलले भने आफुहरुले फेडरल कम्युनीकेशन कमिसनको एफसीसीको गाइडलाइनका आधारमा उक्त वायरलेस हेडफोन तयार पारेको र यसले मानव स्वास्थ्यमा कुनै हानी नपुर्याउने दाबी गरेको छ। तर मोस्कोविचले मानव स्वास्थ्यका लागि एफसीसीको गाइडलाइन नै अपर्ण भएको दाबी गरेका छन्। त्यस्तै मोवाइल फोनको रेडियसन क्षेत्रमा लामो समय देखि अनुसन्धान गर्दै आएका डा. लिफ सल्फोर्डले भने हेडफोन प्रयोग गरेको मोवाइल भन्दा वायललेस हेडफोन खतरनाक हुने बताए। उनले भने ‘ म मोवाइल प्रयोगकर्तालाई वायरलेस हेडफोन भन्दा वायर भएको हेडसेट वा ह्यान्स– फ्रि मोवाइल सेट प्रयोग गर्न सुझाव दिन्छु। एजेन्सीको सहयोगमा
फेसबुकमा भाइरसको हमला, क्लिक नगर्नुस् तपाईको व्यक्तिगत डेटा चोरी होला !
फेसबुकमा भाइरसको हमला भएको छ। यो भाइरसले आफुले पोस्ट नै नगरेका कुरा पनि देखाइदिने गरेको छ। यो कसले गर्यो र किन गर्यो भनेर यकिन भएको छैन। यो भाइरसको असर फेसबुकको टाइमलाइनमा देखिनेछ। कुनै प्रयोगकर्ताको ‘वाल’ मा उसको फ्रेन्ड लिस्टमा भएको कुनै साथीले लिंक पोस्ट गरेको देखिनेछ। लिंकमा चलाइरहेको प्रयोगकर्ताकै फोटो भएको भिडियो भनेर आउँछ। जस्तैः ABCD shared a link to XYZ’s Timeline. यसमा क्लिक नगर्नुहोला। यदि गरेमा आफ्नो नामबाट पनि अरु साथीको वालमा यस्तै पोस्ट हुनेछ। यो क्लिक गर्दैपिच्छे साङ्ली जस्तो जानेछ। जानकारहरुका अनुसार यसले तपाईको व्यक्तिगत सूचना चोर्नका लागि यो टुल अपनाएको हुनसक्ने बताएका छन्।
पाटन अस्पतालबाट पाँचवटा बेवारिसे शव संकलन गरी दाहसंस्कार
ललितपुर, २७ भदौ । ‘एक्सन फर सोसल चेन्ज’ नामक संस्थाले पाटन अस्पतालमा रहेका ५ वटा बेवारिसे शव संकलन गरी सोमबार दाहसंस्कार गरेको छ । पाटन अस्पतालमा बेवारिसे अवस्थामा रहेर गन्हाउन थालेका शवको दाहसंस्कार गरिएको संस्थाका अध्यक्ष विनय बस्नेतले जानकारी दिए । बस्नेतले तीन वर्ष पहिलेदेखि अस्पतालका रहेका ३३ वटा बेवारिसे शव एक्लै संकलन गरी दाहसंस्कार गरी सकेका छन् । ललितपुरको टीकाथली घर भएका बस्नेतले आफ्नै बावुको शव टिचिङ अस्पतालमा तीन दिनसम्म बेवारिसे अवस्थामा रहेपछि त्यहीँबाट प्रेरणा पाएर अस्पतालमा रहेका बेवारिसे शवको दाहसंस्कार गर्ने काम सुरु गरेको बताए । बस्नेतले अस्पतालहरुबाट संकलन गरेका बेवारिसे शव पशुपति आर्यघाट लगेर अन्त्येष्टि गर्ने गरेका छन् । पशुपति क्षेत्र विकास कोषले विद्युतीय शव दाहगृहमा पुराना शव जलाउन नदिएपछि उनले दाउराको प्रयोग गरेरै अन्त्येष्टि गरे । अस्पतालमा बेवारिसे अवस्थामा रहेका शवको व्यवस्थापन गर्ने काम सम्बन्धित नगरपालिकाको हो । तर, नगरपालिकाले पनि बेवारिसे शव व्यवस्थापनमा चासो नदेखाएको उनको आरोप छ । बेवारिसे शव व्यवस्थापन गर्न कानुनी प्रणाली जटिल भएको उनको अनुुभव छ । उनले अस्पतालहरुले पनि बेवारिसे शव व्यवस्थापन गर्न सहयोग नगरेको बताए ।
सिटिजन्स बैंक इन्टरनेशलनले पायो अन्तर्राष्ट्रिय पुरष्कार
काठमाडौं, २७ भदौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एक अन्तराष्ट्रिय स्तरको पुरस्कार पाएको छ । बैंकलाई सिङ्गापुरमा आयोजित वल्र्ड एच आर डी कन्ग्रेसको भव्य कार्यक्रममा एशिया बैकिङ, वित्तीय सेवा, तथा बीमा क्षेत्रबाट सार्वजनिक क्षेत्रको उत्कृष्ट बैंक विधामा पुरष्कृत गरिएको सो बैंकका प्रबक्ता गणेशराज पोखरेलले जानकारी दिए । विभिन्न उत्कृष्ट बैंकहरु, फाइनान्स कम्पनीहरु तथा इन्सुरेन्स कम्पनीहरुलाई उक्त संस्थाबाट कूल ९ विधाहरुमा पुरष्कार वितरण गरिएकोमा बैंकलाई उक्त अवार्डबाट सम्मानित गरिएको बैंकका प्रबक्ता पोखरेलले बताए । यस अघि पनि इन्टिच्यूट अफ चार्टर्ड एकाउण्टेन्ट अफ नेपालले यस बैंकलाई बेष्ट प्रिजेन्टेड एन्युवल रिपोर्ट २०१५ बाट सम्मान गरेको थियो ।
खाना पकाउने ग्यासमा व्यापक ठगी, अाेम ग्यासकाे सिलिण्डरमा २०० ग्राम कम तौल, अरू पाँच कम्पनी समातिए
काठमाडौँ, २७ भदौ । खाना पकाउने एलपी ग्यासमा व्यापक ठगी हुने गरेको पाइएको छ । सोमबार भएको अनुगमनमा पाँच वटा ग्यास उद्योेगले उपभोक्ता माथि चरम ठगी गरेको भेटिएको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग र क्षेत्रीय कार्यालय बालाजुले सोमबारअनुगमन गर्दा धादिङमा रहेको ओम ग्यास उद्योगबाट उत्पादन हुने सिलिन्डरमा १५० देखि ४०० ग्रामसम्म ठगी हुने गरेको फेला परेको हो । यस्तै, कार्यालयले सगरमाथा ग्यासको डिपो, पेप्सीकोला, भक्तपुर, सिद्धार्थ ग्यासको डिपो, बालकुमारी, ललितपुर, लुम्बिनी ग्यासको डिपो, ललितपुर, त्रिवेणी ग्यासको डिपो, कोटेश्वरबाट बेचिदै आएका सिलिन्डरमा पनि तौल घटी भएको फेला पारेको हो । कार्यालयका प्रमुख शशिभूषण यादवले अधिकांश ग्यास उद्योग तथा डिपोले मापदण्डभन्दा घटी ग्यास बेचेको तथा खाली सिलिन्डरको तौल तोकिएकोभन्दा बढी हुने गरेको बताए । यसैगरी, कार्यालयले त्रिकोण वेभरेज (पानी उद्योग) बालाजु, काठमाडौँ मैदा मिल, बालाजु, क्वालिटी फिड एन्ड कोल्ड स्टोरेज प्रालि बालाजु, भवानी प्लास्टिक कम्पनी बालाजु र केजी एन्ड इन्जिनियरीङ वर्कस प्रालि बालाजुलाई समेत कारबाही गरेको छ । तीमध्ये त्रिकोण पानी उद्योगमा एक लिटर पानीमा २० मिलिलिटर घटी, काठमाडौँ मैदा मिलले अनुमतिपत्र नलिइ सञ्चालन गरेको, क्वालिटी फिड एन्ड कोल्ड स्टोरेज (दाना उद्योग) प्रालिले बोराको तौल प्रमाणित नगराएको, भवानी प्लास्टिक उद्योगले काँटा जाँचपास नगराई प्रयोग गरेको, केजी एन्ड इन्जिनियङ वर्क्स प्रालिले अनुमतिपत्र नलिएको र जाँच नगराई काँटा प्रयोग गरेको फेला पारेको जनाइएको छ ।
स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाफल प्रकाशित
काठमाडौं, २७ भदौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको समाजशास्त्र/मानवशास्त्र विषय ९सोधपत्र बाहेक० को परीक्षाको परीक्षाफल सोमबार प्रकाशित गरिएको छ । त्यसैगरी, २०७३ साल वैशाख/जेठ महिनामा सञ्चालित शिक्षाशास्त्र सङ्काय स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाको परीक्षाफल पनि आजै प्रकाशित गरिएको छ । परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np तथा www.educationkhabar.com मा हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ नम्बरमा डायल गरी तथा ४९४९ मा म्यासेज गरेर पनि थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । रासस