विकासन्युज

६०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार ६०० रुपैयाँले सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सोमबार सुनको मूल्य घटेर तोलाको १ लाख ८ हजार रुपैयाँ कायम भएको छ । महासंघको अनुसार तेजावी सुनको मूल्य पनि घटेर तोलाको १ हजार ७ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार तेजावी सुन तोलाको १ लाख ६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि २० रुपैयाँदे घटेर तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ ।  

युनिलिभरद्वारा नेपाली सेनाको हिमाल सफाइ अभियानमा हातेमालो

काठमाडौं । युनिलिभरको ‘विश्वलाई दिगो साझा बासस्थान बनाउने’ प्रतिबद्धताको एक अंश रूपमा यसले ‘हिमाल सरसफाई अभियान २०२३’ मा नेपाली सेनासँग हातेमालो गरेको छ। नेपाली सेनासँग हातेमालो गर्ने कम्पनीले जनाएको छ। युनिलिभरले नेपालका लागि जे राम्रो छ त्यसको पक्षमा उभिने र विश्वास गर्ने हुनाले हिमालयलाई फोहोरबाट स्वच्छ राख्न राष्ट्रिय सरसफाइ कार्यक्रमसँग युनिलिभरको यो तेस्रो सहकार्य हो। हिमालको संरक्षण गर्ने र चुचुरो/हिमालहरु सरसफाइ गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने उद्देश्यले बहुपक्षीय कार्यक्रम सञ्चालन गरिएको हो। यस वर्षको अभियानअन्तर्गत सगरमाथा, लोत्से, अन्नपूर्ण, बरुणत्से हिमालहरुको सफाइ गर्दै ३५ टन फोहोर संकलन गर्ने लक्ष्य राखेको छ। फोहोरमुक्त विश्वका लागि चक्रीय आर्थिक प्रणालीको दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहँदै आएको छ। फोहोरमैला व्यवस्थापनमा लापरबाहीले हिमालहरुको सौन्दर्यलाई तहसनहस पार्नुका साथै हाम्रो विश्वको वातावरणीय स्वास्थमाथि जोखिम उत्पन्न गरिरहेको छ। युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले भने, ‘यस निरन्तर सहकार्यमार्फत हामीले यस वर्ष फोहोर संकलन, छुट्याउने, सञ्चित फोहोरको पुनः प्रयोगमा नयाँ कीर्तिमान कायम गर्ने लक्ष्य राखेका छौँ।’

विभिन्न कलेजमा हिमालयन बैंकले संचालन गर्यो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । हिमालयन बैंकले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ‘ग्लोबल मनि विक २०२३’ कार्यक्रम अनुसार बैंकको प्रादेशिक कार्यालय तथा २४ वटा शाखा कार्यालयहरुले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ । यस कार्यक्रममा विभिन्न कलेजका विद्यार्थीहरु, अविभावकहरु, शिक्षकहरु, सामाजिक कार्यकर्ताहरु, व्यवसायीहरु, बैंकका ग्राहकवर्गहरु लगायत सो स्थानका बासिन्दाहरुलाई बैंकिङ शिक्षाबारे जानकारी गराएका थिए । सो कार्यक्रमबाट कार्यक्रममा उपस्थित सहभागीहरुलाई बैंक के हो, बैंकले प्रदान गर्ने विभिन्न सेवा–सुविधाहरु, बैंकङ्ग बारे आधारभूत ज्ञान, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने तरिका, बचत गर्ने बानी सुधार गर्ने तरिका सिकाएकाे छ । बैंकले प्रवाह गर्ने विभिन्न कर्जा लगायत सहुलियत पूर्ण कर्जा र त्यसमा प्राप्त गर्न सकिने अनुदान, कानूनीरुपमा गरिने रेमिट्यान्सको प्रक्रिया, कानून विपरितको हुण्डी र त्यसका नकरात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिका, आदि जस्ता विषयहरुमा विस्तृत ज्ञान दिएका छन् ।  

स्ट्रबेरी खेतीबाट मनग्य आम्दानी गर्दै नवलपरासीकी मिश्रा

मध्यविन्दु । नवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–७ मा मिश्रा पराजुलीले व्यावसायिक स्ट्राबेरी खेती सुरु गरेकी छन् । उनले रोपेको बिरुवामा अहिले स्ट्रबेरी लटरम्म फलेको छ । यस क्षेत्रमै पहिलो पटक दुई लाख रुपैयाँको लगानीमा व्यावसायिकरुपमा स्ट्रबेरी खेती सुरु गरिएको उनले बताइन् । ‘प्लाष्टिक टनेलमा मल्चिङ प्रविधिको प्रयोग गरी सिँचाइ सुविधा पुर्याउनका लागि थोपा सिँचाइको समेत व्यवस्था गरिएको छ’, उनले भनिन्, ‘चार महिनाअघि प्लाष्टिक टनेलमा रोपिएको स्ट्रबेरीले फल दिन सुरु गरेको छ ।’ हालसम्म तीन क्विन्टलभन्दा धेरै स्ट्रबेरी स्थानीय बजारमा बिक्री भइसकेको किसान पराजुलीले बताइन् । प्रतिकिलो छ सय रुपैयाँका दरले स्ट्रबेरी स्थानीय बजारमा सहजै बिक्रि भएको छ । ‘स्थानीय बजारसगै बाह्य क्षेत्रबाट समेत माग आउन थालेको छ’, उनले भनिन्, ‘कात्तिकमा लगाएको स्ट्रबेरी माघबाट उत्पादन भएको र बिक्री गर्न सुरु भएको छ, सुरुमा आठ सय प्रतिकेजी बिक्री गरेको र अहिले छ सय प्रतिकेजी बिक्री भइरहेको छ । माग धेरै आउन थालेको छ । धान्नै गाह्रो भइसकेको छ ।’ दुई कट्ठा क्षेत्रफलमा लगाइएको स्ट्रबेरीको उत्पादनबाट सन्तोषजनक आम्दानी पनि हुन थलोको छ । अहिलेसम्म दुई लाख रुपैयाँ आम्दानी भइसकेको र अझै स्ट्रबेरी बिक्री गर्न बाँकी रहेकाले आगामी दिनमा क्षेत्रफल विस्तार गरी उत्पादन बढाउनका लागि काम अगाडि बढाइएको पराजुलीको भनाइ छ । ‘इन्टरनेटको माध्यमबाट खेती गर्ने तरिका सिक्यौँ, कृषि विज्ञको सल्लाह लिएर प्लाष्टिक टनेलमा चितवनबाट गत वर्ष आठ सय स्ट्रबेरीका बोट ल्याई रोपेका हौँ’, उनले भनिन्, ‘यसरी फस्टाउने कल्पना नै गरेका थिएनौँ अहिले दुई हजारभन्दा बढी स्ट्रबेरीका बिरुवा लगाएका छौ राम्रैसँग फल्न सुरु गरेको छ ।’ एउटै बोटमा एक केजीसम्म स्ट्रबेरी फल्ने गरेको छ । आफ्नो घर परिवारसगै एक जनालाई रोजगारसमेत दिएको पराजुली बताउँछिन् । स्ट्रबेरीका नयाँ बिरुवा तयार गरी नर्सरीसमेत बनाइएको छ । उत्पादन भएको सबै फल बिक्री नभएमा प्रशोधन गरी जाम, रस, आइसक्रिम, मिल्कसेक बनाई बजारमा बेच्ने फार्म सञ्चालकको योजना छ । आफ्नो जमिन नभए पनि दुई बिघा जग्गा भाडामा लिएर स्ट्रबेरी, खरवुजा, ड्रागन खेती, कागती, बयर, शीतलचिनी खेती गरेको पराजुलीले बताइन् । ठाउँ र जातअनुसार स्ट्रबेरीका बिरुवा हुर्कन सक्ने कृषि ज्ञान केन्द्र नवलपुरका सुचना अधिकारी शङ्कर पौडलले बताए । ‘फूल फुलेको करिब ३० देखि ४५ दिनभित्र फलको विकास हुन्छ र त्यसको १५ देखि २० दिनपछि फल टिप्नलायक हुन्छ’, उनले भने, ‘हिउँदमा फस्टाउने स्ट्रबेरीको वृद्धि विकासका लागि २२ देखि २५ डिग्री सेल्सियस दिनको र सातदेखि १३ डिग्री सेल्सियस रातको तापक्रम सबैभन्दा राम्रो मानिन्छ ।’ पौष्टिकताका हिसाबले महत्वपूर्ण मानिएको यस फलमा एन्टिअक्सिडेन्ट, भिटामिन सी, प्रोटिन र खनिजलगायतका तत्व पाइन्छ । स्ट्रबेरीलाई भुइँकाफल भन्ने गरिए पनि स्थानीय भाषामा भने बुढी काफल भन्ने गरिन्छ । यो फल पिसाबसम्बन्धी रोग भएका बिरामीका लागि उपयोगी मानिने जनाइएको छ । रासस

महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी हुँदा ७ वटा गाडी नष्ट

काठमाडौं । ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ । आगलागी हुँदा ७ वटा चारपांग्रे गाडी जलेका छन् । ३ वटा मोटरसाइकल र ३ वटा स्कुटर पनि जलेका छन् । आज बिहान ४ः४७ मा लागेको आगो नेपाल प्रहरीको सक्रियतामा ५ः१७ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । प्रहरीको अनुसार आगलागीको कारण नखुलेको र क्षतिको पूर्ण विवरण संकलनको काम भइरहेको छ ।

एक सहकारी संस्थाले काठमाडौंमा घरजग्गा बेच्दै

काठमाडौं । नेपाल सहकारी वित्तीय संस्थाले गैह्रबैंकिङ्ग सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । सहकारी संस्थाले आफ्नो नाममा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति घरजग्गा लिलामीमा बिक्री गर्ने भएको हो । संस्थाको नाममा मालपोत कार्यालय डिल्लीबजार काठमाडौंमा दर्ता कायम काठमाडौं महानगरपालिका १० देवकोटामार्ग स्थित कित्ता नम्बर २२ को क्षेत्रफल ०–१३–०–० रोपनी जग्गा र उक्त जग्गाले चर्चेको सम्पुर्ण संरचना बिक्री गर्ने भएको हो । उक्त गैह्र बैंकिङ्ग सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति र फर्म÷कम्पनी तथा संघ संस्थाहरुले २०८० बैशाख ५ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त गैह्रबैंकिङ्ग सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अबस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने बताएको छ । सहकारी संस्थाको केन्द्रिय कार्यालय नयाँ बानेश्वरमा प्राप्त बोलपत्रहरु खोलिने बताएको छ ।

राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वर्षे विकास ऋणपत्र २०८५ ‘छ’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सरकारको १० अर्ब रुपैयाँको ६ वर्ष अवधि रहेको विकास ऋणपत्र २०८५ ‘छ’ बोलकबोल मार्फत् बिक्री गर्ने भएको हो । राष्ट्र बैंकले चैत २१ गते बोलकबोल मार्फत् बिक्री गर्ने र चैत २२ गते निष्काशन गर्नेछ । उक्त ऋणपत्र खरिदका लागि बोलकबोल पेश गर्न राष्ट्र बैंकले आग्रह गरेको हो । विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंकिङ्ग वित्तीय संस्था, बीमा कम्पनी र सर्वसाधारण नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

घरभाडा नतिरी सम्पर्कविहीन बनेपछि एक सहकारी संस्थाविरुद्ध महानगरपािलमा उजुरी

काठमाडौं । घरभाडा नतिरी सम्फर्कमा आउन छाडेपछि काठमाडौं महानगरापलिकामा एक सहकारी संस्था विरुद्ध उजुरी परेको छ । सुनौलो दियालो बचत तथा ऋण सहकारी संस्थाले घरभाडा नतिरेपछि काठमाडौं महानगरपालिकामा होमल्याण्ड इन्भेष्टमेष्ट प्रालिद्धारा सञ्चालित कान्तिपुर मलले उजुरी दिएको हो । सहकारी संस्थाले २०७१ असारदेखि बहाल लगायतको रकम नतिरी सम्पर्कमा नै आउन छाडेको उजुरीमा उल्लेख गरिएको छ । मौखिक तथा लिखित रूपमा बहाल बुझाई पसल खाली गर्न अनुरोध गर्दा समेत अटेर गरेको उजुरीकर्ता होमल्याण्ड इन्भेष्टमेष्ट प्रालिद्धारा सञ्चालित कान्तिपुर मलले बताएको छ । सहकारी संस्थाले गोङ्गबु नयाँ बसपार्क भित्र रहेको कान्तिपुर महलस्थित ३०१ र ३०२ वटा कोठा भाडामा लिएको छ । सुनौलो दियालो बचत तथा ऋण सहकारी संस्थाको प्रधान कार्यालय काठमाडौंको इन्द्रचोकमा रहेको छ । काठमाडौं महानगरपालिका घर बहाल व्यवस्था निर्देशिका २०७९ को दफा २७ उपदफा ३ बमोजिम विपक्षीहरूलाई वडा नम्बर २६ वडा कार्यालयमा १५ दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।