काठमाडौं । राष्ट्रिय बैंकले ५४ जना नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम दिएकाे छ । बैंकले लोक सेवा आयोगबाट सञ्चालित लिखित परिक्षा तथा अन्तरवार्ताबाट बागमती र गण्डकी प्रदेशका लागि छनौट भएका कर्मचारीहरुलाई चौध दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सैद्धान्तिक ज्ञानले मात्र प्रतिष्पर्धामा सफलता हासिल गर्न नसकिने हुँदा यो दुईहप्ताको तालिमबाट प्राप्त हुने व्यवहारिक ज्ञानले कार्यस्थलमा नागरिकलाई सेवा दिन सहयोग पुगि संस्थाको उत्पादकत्व बृद्धि उपयोग हुने बताए ।
उनले अन्य प्रदेशका सहायक स्तरका कर्मचारीहरुको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछी पुरानो बैंक नयाँ कर्मचारीलेयुक्त हुने बताए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराउदैं ग्राहकहरुको बैंकप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्ने बताए ।
कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनीले आजकाल प्रविधिको प्रयोग मार्फत जोखिम बढिरहेकाले ग्राहकलाई सचेत भएर डिजिटल बैंकिङ्ग सेवा प्रयोग गर्न सिकाउनुपर्ने बताए । कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक प्रशासन सेवाका ५४ जना कर्मचारीहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए ।
कार्यक्रममा बैंकका विभागीय प्रमुख पद्यमा लक्ष्मी जि.सी, मानव संशाधन विभागका उपप्रमुख हरिबावु आचार्यलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।