विकासन्युज

भूकम्प अपडेट : १२८ जनाको निधन हुँदा सयौं घाइते, अस्पतालका बेड भरिभराउ

काठमाडौं । शुक्रबार राति जाजरकोट र पश्चिम रुकुम लगायतका क्षेत्रमा गएको भूकम्पमा परेर  १२८ जनाको मृत्यु भएको खुलेकाे छ । नेपाल प्रहरीका अनुसार हालसम्म १२८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार १४० जना बढी घाइते भएका छन् । भूकम्पमा परेर रुकुम पश्चिममा मात्रै ३७ जनाको मृत्यु भएको छ भने जाजरकाेटमा ९२ जनाकाे निधन भएकाे छ। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । रुकुम आठविसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीले जिल्लाको चारवटा वडामा बढी क्षति पुगेको बताइन् । उनका अनुसार, अस्पतालहरुमा बिरामी ल्याउने क्रम बढिरहेको छ । जाजरकोट रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ बजेर ४७ मिनेटमा ६‍.४ म्याग्निच्युडको भूकम्प गएको हो । लगत्तै लगातार ४.८, ४.२ र ४.३ म्याग्निच्युडका परकम्प गएका थिए ।

भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपतिको अपील

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताएका छन् । उनले विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ ।

शनिबारका कार्यक्रमहरु रद्द गरेर प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्रतर्फ लागेका छन् । उनी स्थलगत अनुगमन र उद्धारको लागि त्यसतर्फ लागेका हुन् । स्वास्थ्यकर्मीको १६ जनाको टोली र आवश्यक उद्धार सामग्रीसहित प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ उडेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो । शुक्रबार राति ११ः ४७ मा ६.४ म्याग्चिच्युडको भूकम्पले ३७ जनाको निधन भइसकेको छ भने सयौं घाइते छन् । प्रधानमन्त्रीले शनिबारका सम्पूर्ण कार्यक्रम स्थगित गरेर त्यसतर्फ लागेका हुन् । उनी सहभागी हुने भनिएका शनिबारका कार्यक्रमहरु कतिपय रद्द गरिएका छन् भने कतिपय स्थगित गरिएको उनको सचिवालयले जनाएको छ ।

शनिबार काठमाडौंका यी ठाउँमा चार घण्टा बिद्युत अवरुद्द हुने

काठमाडौं । शनिबार काठमाडौंको विभिन्न ठाउँमा विद्युत अवरुद्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसाररु शनिबार चार घण्टा विद्युत अवरुद्द हुने भएको हो । प्राधिकरणका अनुसार शनिबार बिहान ७ बजेदेखि दिउँसो ११ बजेसम्म विद्युत अवरुद्द हुने भएको हो । काठमाडौंको सिंहदरबारदेखि स्युचारटारसम्म मर्मत कार्य रहेकोले विद्युतको लाइन अवरुद्द हुने प्राधिकरणको भनाइ छ । ‘शनिबार नेपाल विद्युत प्राधिकरणको सिंहदरबारदेखि स्युचाटार सम्मको मर्मत कार्य गर्ने तालिका रहेकोले बिहान ७ देखि ११ बजेसम्म विद्युत आपूर्ति बन्द भई मोबाइल संचालनमा समेत असर पर्न गई हाम्रा सेवाहरु प्रभावित हुन सक्ने जानकारी गराउन चाहन्छौं, यसबाट ग्राहकवर्गहरुमा पर्न जाने सम्भावित असुविधा प्रति हामी क्षमाप्रार्थी छौं,’ प्राधिकरणले भनेको छ ।

भूकम्पमा परेर नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको निधन

काठमाडौं । गएरातीको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको निधन भएको छ । भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको निधन भएको पुष्टि भएको हो । उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो ।

जाजरकोटमा भूकम्प : ३७ जनाको निधन, सयौं घाइते

जाजरकोट । गए राति गएको भूकम्पमा परी जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन् । उनका अनुसार भूकम्पमा परी सयौँको सङ्ख्यामा मानिसहरु घाइते भएका विवरण प्राप्त भएका छन् । उनका अनुसार भूकम्पमा परी २७ महिला र १० पुरुषको मृत्यु भएको छ । भूकम्पले जिल्लाका भेरी, नलगाड, कुशे, बारेकोट र छेडागाडमा क्षती पुर्‍याएको छ । भूकम्पका कारण घरहरु भत्किएको जानकारी प्राप्त भए लगत्तै उद्धारका लागि कर्णाली प्रदेश र प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको छ । जिल्लाका सबै सुरक्षा अङ्गहरु परिचालन भएको प्रजिअ सुनारले बताए । जाजरकोटका प्रहरी नायव उपरीक्षक सन्तोष रोकाका अनुसार भूकम्पमा परी नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ । भूकम्पका कारण यहाँ विद्युत सेवा समेत अवरुद्ध भएको छ । सडक सञ्चालनमा पनि समस्या भएकाले घाइतेको उद्धार कठिन भइरहेका उनको भनाइ छ । रातिको समय भएकाले थप विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको उनले बताए । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको हो । रासस

भारतमा एप्पलको व्यापारमा नयाँ रेकर्ड, सीईओ कुकले साटे खुसी

एजेन्सी । भारतीय बजारमा आईफोन निर्माता कम्पनी एप्पलको व्यापार फस्टाएको छ । सेप्टेम्बरमा कम्पनीले आम्दानीमा नयाँ रेकर्ड कायम गरेको छ । भारत एक ‘अविश्वसनीय रूपमा रोमाञ्चक’ बजार बनेको कम्पनीकाे भनाइ छ । एप्पलले आर्थिक वर्ष २०२३ को तेस्रो त्रैमासिकको नतिजा सार्वजनिक गरेको छ । कम्पनीले याे अवधिमा ८९.५ अर्ब डलरकाे काराेबार गरेकाे छ । कम्पनीका सीईओ टीम कुकले भारतको आम्दानी ‘अल टाइम रेकर्ड’ भएको बताएका छन् । कुक आफैंले पनि भारतमा कम्पनीको व्यापार फस्टाउँछ भन्ने कल्पना नै गरेकाे प्रतिक्रिया दिएका छन् । ‘हामी भारतमा दोहोरो अंकको बलियो वृद्धिसँगै अगाडि बढेका छौं, यो हाम्रा लागि धेरै राम्राे बजार भएको छ र एक ठूलो फोकस पनि हो,’ कुकले भारतीय बजारबारे भने, ‘यो ठूलो बजारमा हाम्रो हिस्सा एकदमै कम छ, त्यसैले यहाँ धेरै काम गर्ने अवसर छ ।’ कुकले भारत एक ‘असाधारण बजार’ भएको पनि बताएका छन् । भारतका धेरै मानिस मध्यम वर्गतर्फ लागेको पनि उनको भनाइ छ । ‘हामीले यहाँ दुईवटा स्टाेर खोलेका छौं। यिनीहरूले हामीले सुरुवाती दिनमा नै राम्रो गरिरहेका छन् । र, म अहिले जसरी चलिरहेको छ त्यसमा खुसी हुन सक्दिनँ,’ उनले भनेका छन् । एकातिर एप्पलले चीनबाट हुने आम्दानीमा एकपछि अर्को झट्का सामना गरिरहेको छ । काउन्टरप्वाइन्टको मासिक भारत स्मार्टफोन ट्र्याकरले २०२३ को जुलाई–सेप्टेम्बर त्रैमासमा एप्पलको ढुवानी वार्षिकरू पमा ३४ प्रतिशत बढेर २५ लाख नाघेको जनाएको छ । बीक्यू प्राइमका अनुसार एप्पलले भारतमा लगभग ५० प्रतिशत आम्दानी वृद्धि गरेको छ । यसको आम्दानी लगभग ५ खर्ब भारु पुर्‍याएको छ । योसँगै नाफामा पनि राम्रो वृद्धि भएको उल्लेख गरेकाे छ ।

‘इन्डो नेपाल वेडिङ समिट’ काठमाडौंमा सुरु

काठमाडौं । नेपाललाई ‘वेडिङ डेस्टिनेसन’ का रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ पहिलोपटक ‘इन्डो नेपाल वेडिङ समिट–२०२३’ आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्डको समन्वय तथा सहकार्यमा आयोजना भएको दुईदिने सम्मेलनमा छिमेकी मुलुक भारतका २५ भन्दाबढी ‘वेडिङ अर्गनाइजेसन’कम्पनीको सहभागिता रहेको छ । सम्मेलनको पहिलो दिन आज ‘बिजनेस टु बिजनेस’(बिटुबी) कार्यक्रम आयोजना गरिएको छ । बिटुबीअन्तर्गत नेपाल र भारतका सरोकारवालाबीच व्यावसायिक प्रवर्द्धनका कार्यक्रम तय भएको बताइएको छ । नेपाललाई वेडिङ गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बताए । ‘धेरैभन्दा धेरै भारतीयलाई नेपालमा आइ विवाह गर्न कसरी आकर्षित गर्ने तथा विवाहका लागि कपडा र गरगहना सहजरूपमा ल्याउने वातावरण बनाउन नीतिगत सुधारका लागि सरोकारवाला निकायसँग बहस गर्ने उद्देश्यले सम्मेलन गरिएको हो,’ उनले भने। भारतीयले विवाहमा सुन र साडी बढी प्रयोग गर्ने भएकाले उनीहरूका सामान सहजरूपमा यहाँ ल्याएर वैवाहिक कार्यक्रम सम्पन्न गर्ने वातावरण बनाउन सके नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने डा. रेग्मीको विश्वास छ । भारतको चर्चित इभेन्ट म्यानेजमेन्ट कम्पनी ‘इइमा’ अध्यक्ष समिट गार्जले नेपाल र भारतबीचको सांस्कृतिक, रहनसहन पनि मिल्दोजुल्दो भएकाले नेपालमा वेडिङ महोत्सवको प्रचुर सम्भावना भएकाले पहिलोपटक नेपाललाई गन्तव्यका रूपमा रोजिएको बताए। उनले यस किसिमको कार्यक्रमले दुई देशबीचको सम्बन्धलाई थप मजबुद तुल्याउने र व्यावसायिक लाभ हासिल गर्न पनि सहयोग पुग्नेमा विश्वास व्यक्त गरे। बिटुबी कार्यक्रममा पुष्प व्यवसायी, कपडा व्यवसायी, इभेन्ट म्यानेजमेन्ट कम्पनी, ‘मेहन्दी र मेकअप’सम्बन्धी व्यवसायीलगायतलाई भारतका वेडिङ कम्पनीसँग छलफल गराई व्यावसायिक साझेदारीको अवसर प्रदान गर्न कार्यक्रमले सहयोग पुग्ने जनाइएको छ । सम्मेलनमा नेपालका पाँचतारे र चारतारे होटल तथा लक्जरी रिसोर्टको सहभागिता छ । त्यस्तै पर्यटन विभाग, अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख र प्रतिनिधिको पनि कार्यक्रममा सहभागी हुनेछन् । कार्यक्रममा भारतका चर्चित कलाकार अमिताभ बच्चन, ऐश्वर्या राय तथा चर्चित व्यवसायी मुकेस अम्बानीको विवाह गराउने कम्पनी पनि सहभागी रहेको बोर्डले जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीका अनुसार नेपालका पाँचतारे र चारतारे सबै होटलमा विवाह गराउन सकिन्छ । नेपालमा विवाहपछि तारे होटलमा पार्टी दिने प्रचलन छ तर भारतमा विवाह नै विदेशमा गएर गर्ने चलन छ । कतिपय सम्भ्रान्त परिवारका विहेहरू वर्षमा करिब एक हजारको थाइल्याण्डमा तथा नेपालमा वार्षिक एक सय हाराहारीमा यस्ता विवाह हुने गरेका छन् । यस्ता विवाहमा मध्यम परिवारले एकदेखि १० करोड रुपैयाँ खर्च गर्ने गरेका छन् । भारतमा पछिल्लो समय विदेशमा गएर विवाह गर्ने करिब २० प्रतिशतले बढेको पाइएको तथ्यांक भेटिन्छ । वेडिङ समिट ‘माइस टुरिजम्’को महत्वपूर्ण अङ्ग भएकाले आगामी दिनमा नेपालमा ठूला अन्तर्राष्ट्रिय ‘इभेन्ट’मार्फत गन्तव्य प्रवर्द्धन गर्ने बोर्डको योजना रहेको कार्यकारी प्रमुख रेग्मीले जानकारी दिए। यस किसिमको कार्यक्रमले विवाह पर्यटनका रूपमा पनि नेपाल गन्तव्यको प्रचारप्रसारका साथै आर्थिकरूपमा समेत नेपाललाई फाइदा पुग्ने आयोजकको विश्वास छ । आगामी दिनमा यो सम्मेलनलाई वार्षिकरुपमा थप व्यवस्थित ढङ्गले आयोजना गर्ने बोर्डको योजना छ ।