विकासन्युज

राष्ट्र बैंक र महासंघबीच तथ्यांक र सूचना आदानप्रदानसम्बन्धी समझदारी

काठमाडौं । नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच शुक्रबार तथ्यांक आदनप्रदान गर्ने सम्झौता भएको छ । दुई संस्थाबीच अध्ययन अनुसन्धान प्रयोजनार्थ आर्थिक तथ्यांक र सूचना आदानप्रदान गर्ने विषयमा समझदारी भएको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको उस्थितिमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ र महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयारीका लागि महासंघमा आबद्ध उद्योगले प्रत्येक त्रैमासमा आवश्यक तथ्यांक र सूचनाहरू राष्ट्र बैंकलाई उपलब्ध गराउनेछन् । त्यसका लागि महासंघले उद्योगहरूसँग आवश्यकताअनुसार समन्वय र सहजीकरण गर्ने सम्झौतापत्रमा उल्लेख छ । राष्ट्र बैंकले समय-समयमा गर्ने आकस्मिक तथा विशेष अध्ययनका लागि आवश्यक पर्ने औद्योगिक तथ्यांक र सूचना जुनसुकै समयमा महासंघमा आबद्ध उद्योगहरूले उपलब्ध गराउने समझदारी भएको छ । महासंघ वा उद्योगले उपलब्ध गराउने तथ्यांक सरकार वा राष्ट्र बैंकले अध्ययन/विश्लेषण तथा एकीकृत रूपमा प्रकाशन गर्ने प्रयोजनका लागि मात्र उपयोग गरिनेछ । सम्बन्धित निकाय र उद्योगबाट प्राप्त तथ्यांक र सूचनाको पूर्णरूपमा गोपनीयता कायम गरिने दुईपक्षीय समझदारी छ । त्यसरी उपलब्ध गराइएको तथ्यांक र सूचना बृहत् आर्थिक नीति निर्माण गर्ने प्रयोजनबाहेक व्यक्तिगत रूपमा अध्ययन/अनुसन्धान, प्रकाशन र अन्य कुनै पनि प्रयोजनका लागि उपयोग गरिने छैन । तथापि, उद्योग/व्यवसायको पहिचान नहुने गरी प्रकाशित भएको तथ्यांक र सूचनाको उपयोगमा भने बाधा पर्ने छैन । कार्यक्रममा गभर्नर अधिकारीले बैंक र महासंघबीचको समझदारीबाट तथ्यांक र सूचनाको आदानप्रदानमा सहजीकरण हुने उल्लेख गर्दै त्यसले बैंकका नीतिगत व्यवस्थाको तर्जुमा र कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । महासंघका अध्यक्ष ढकालले औद्योगिक क्षेत्रका तथ्यांक र सूचना नियमित रूपमा बैंकलाई उपलब्ध गराउन महासंघले समन्वय गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना, बैंकका निर्देशकद्वय मुक्तिनाथ सापकोटा र नारायणप्रसाद पोख्रेल तथा महासंघका तर्फबाट वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्षहरु सुरकृष्ण वैद्य, हेमराज ढकाल र ज्योत्सना श्रेष्ठलगायतको उपस्थिति थियो ।

विश्वकपमा नेपाल, यूएईसँग नेपालको सानदार जित

काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा नेपालले यूएईलाई पराजित गरेको छ । युएईले दिएको १३५ रनको लक्ष्यलाई नेपालले १८ ओभरमा पुरा गरेको हो । नेपाले ८ विकेटले खेल जितेको हो । युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे । पहिले ब्याटिङ गरेको यूएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशल मल्लले महत्वपूर्ण ३ विकेट लिएका थिए । ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १/१ विकेट लिए । यो जितसँगै नेपाल विश्वकपमा छनोट भएको छ । वर्षौंदेखिको विश्वकप खेल्ने नेपालको सपना साकार भएको छ । नेपाल १० वर्षपछि टी-२० विश्वकप क्रिकेटमा छनोट भएको हाे । अब नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्नेछ । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेको थियो ।  

आईपीओ निष्काशन नियन्त्रण गर्छाैं, बुझेर लगानी गरौं : अध्यक्ष हमालसँगकाे कुराकानी

काठमाडौं । नेपाली पुँजीबजार करिव दुई वर्षदेखि शिथिल छ । मौद्रिक नीतिमा सेयर मार्जिन कर्जामा ४र१२ करोडको सिमा लगायत बैंकको उच्च ब्याजदर, मूल्यवृद्धि तथा अन्तर्राष्ट्रिय असरको कारण बजार प्रभावित बन्दै गएको छ । तर सेयर बजारलाई गति दिनको लागि भन्दै सरकारले ४र१२ करोडको सीमा हटाए पनि पुँजी बजारले अपेक्षित गति लिन सकेको छैन । पछिल्लो समय पुँजी बजारमैत्री नीतिहरु बन्दै गएका छन् । तर पनि धितोपत्र बजारका लगानीकर्तामा निराशा छाएको छ। प्रिमियम मूल्यमा आईपीओ जारी गरेका कम्पनीको सेयर मूल्य लगातार नकारात्मक सर्किट लागिरहेको छ । धितोपत्र बजारको अभिभावक संस्था नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ प्रणाली, प्रिमियममा आइपीओ निष्काशन, धितोपत्र बजार सुधारका नयाँ नीति कार्यान्वयन लगायतका विषयमाआधारित भएर नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालसँग गरिएको कुराकानीको सम्पादित अंशः धितोपत्र बजार सुधारको लागि नयाँ के गर्दै हुनुहुन्छ ? मेरो धितोपत्र बोर्डको अध्यक्षको कार्यकाल सकिन लागेको छ । धितोपत्र बजारलाई सफा पानीमा पौडी खेल्ने बनाउने पहिलो मेरो उद्देश्य हो । त्यसमा सुशासनको पक्षमा धेरै सुधारहरु गर्नुपर्ने देखिन्छन् । कतिपय क्षेत्रमा समय सिमा तोकेर सरकारी हाकिमको तजबिजी कम गर्ने, निजी क्षेत्रले समयमा न्याय पाउने, टाउको र अनुहार नहेरी निर्णय गर्ने सुशासनको प्रणाली अवलम्वन गर्न खोज्यौं । सामुहिक लगानी कोष (म्युचुअल फण्ड)ले बजारको गति वा सन्तुलनलाई स्थायित्व बनाउन म्युचुअल फण्डको भुमिका हुनुपर्छ भनेर अध्ययन गरेर सुधारको नीति तिहारअघि नै लागू गर्दैछौं । म्युचुअल फण्ड कारोबारमा सुधारमा केही नीतिगत कडाई गर्छौं । धितोपत्र बजारमा म्युचुअल फण्डले पुँजी संकलनकोे काम गरिरहेका छन् । त्यो पुँजीको अहिले आइरहेको भन्दा बढी पैसा दोस्रो बजारमा चलायमान बनाउने र त्यसमार्फत् डिमाण्ड साइट बढाउने काम गर्न लागिरहेका छौं । म्युचुअल फण्डमा केही कडाई गर्ने र त्यसले अहिले जति सहयोग गरेको छ । त्यसलाई थप प्रभावकारी बनाउन केही नीतिहरु ल्याउँदैछौं । प्राइभेट इक्विटी फण्ड तथा भेन्चर क्यापिटल फण्डको पुँजीले दोस्रो बजार चलायमान बनाउने छ । र दोस्रो बजारमा माग बढाउने काम भइरहेको छ । बजारमा सुशासनलाई नेपालको इतिहासमा विश्वको प्रणालीसँग दाज्ने दुई वटा प्रोटोकल अगाडि सारिरहेका छौं । ब्रोकर, मर्चेण्ड व्यवसायी र धितोपत्र बजारसँग सम्बन्धित कम्पनीहरुलाई गुणस्तरिय रिपोर्टिङ फम्र्याटमा दिनेगरी धितोपत्र बोर्ड र आईक्यानको सहकार्यमा स्ट्याण्र्ड रिर्पोटिङ फम्र्याट तयार भएको छ । अब कसैले हरियो कसैले पहिलो रिर्पोट दिन पाउँदैन । सबै कम्पनीले एउटै स्ट्याण्र्डर फम्र्याटमा रिपोर्ट दिनुपर्छ । सबैको विवरण विश्लेषण गर्न सकियोस् । धितोपत्र बजारमा समावेश भएर कारोबार भएका कम्पनीहरुमा रहेका स्वतन्त्र सञ्चालकहरुको सुशासनको प्रणाली छैन । जसले जसलाई राखे पनि हुने अवस्था छ । त्यसको पनि सुशासन र अनुगमनको ठोस प्रणाली छैन । ठोस प्रणाली विकास गर्न समिति बनेर धेरै काम सकेका छौं । कम्पनीको स्वतन्त्र सञ्चालक बन्नलाई योग्यता, क्षमता मूल्याङ्कन सेवोनले गर्ने, सूची भन्दा बाहिरको मान्छे स्वतन्त्र सञ्चालक बन्न नपाउने, योग्यतासहित बन्नुपर्ने मापदण्ड तोक्ने योजनामा छ । अब कम्पनीको अडिटरको रिपोर्ट मात्रै नभएर स्वतन्त्र सञ्चालकले पनि आफ्नो स्वतन्त्र रिपोर्ट दिनुपर्छ । विश्वले अपनाएको प्रणाली पनि यही हो । कम्पनीको स्वतन्त्र सञ्चालकमा स्वतन्त्र भन्ने भाषा जरुरी छ । उसले स्वतन्त्र भूमिका निर्वाह गर्नुपर्यो । स्वतन्त्र भुमिका निभाएको छ वा छैन रिपोर्टले देखाउँछ । पछिल्लो समय सेयर बजार बिचौलिया हाबी हुँदा साना लगानीकर्ता मर्कामा परे भन्ने गुनासो पनि आएको छ, सेयर बजारमा चलखेल गर्ने माथि बोर्ड मौन बसेको हो ? कानूनी व्यवस्था नभएकाले समय लाग्यो । कानूनी व्यवस्था छैन भन्दैमा खराब काम गर्नेलाई केही नगरी चुप लागेर बस्नेवाला धितोपत्र बोर्ड छैन । धितोपत्र सुधारको लागि अनेकौं बाटोहरु अपनाउँछौं । ब्रोकर तथा मर्चेण्ड बैंकर बन्नलाई सर्टिफिकेशन कोष पास गर्नुपर्ने हुन्छ । जनताको लगानी सुरक्षा गर्न बनेका प्रमुख वा मार्केटिङ अफिसर र प्रमुख कार्यकारी अधिकृत बन्ने व्यक्तिहरु प्रमाणित हुनुपर्छ । धितोपत्र कारोबारमा समावेश भएका कम्पनीमा संलग्न भएर जिम्मेवारी लिएका व्यक्तिहरुले धितोपत्र बोर्डले बनाएको कोर्ष पास नगरेसम्म त्यो पदमा बस्न पाइँदैन । दियो भने त्यो अवैधानिक हुन्छ । कारबाही गर्न मिल्छ । हामीले धितोपत्र बजारमा यसरी सबै प्रणालीमा सुशासन ल्याउन सक्दा धितोपत्र कारोबारमा सफा पोखरी निर्माण हुन्छ । त्यसको लागि बोर्डले प्रणालीगत सुधारमा एक दुई गर्दै जान्छौं । म प्रणालीमा विश्वास गर्ने मान्छे हो । एउटा व्यक्तिको निर्णयमा मात्रै हुँदैन । काम गर्ने प्रणालीको विकास गर्दा जो व्यक्ति आएपनि प्रणालीमा बसेर काम गर्नुपर्छ । धितोपत्र कारोबार सुधारको प्रणाली भविष्यको लागि बनाउँदै छौं । धितोपत्र बजारमा सबैले समान अधिकार र फोहोर पोखरीमा माछा मार्न खोज्नेहरुलाई कारबाहीको दायरा ल्याउने काम गरेका छौं । बजारमा खराब काम गर्नेहरुलाई कारबाही गर्न द्रुत गतिमा अगाडि बढीरहेका छौं । केही थप कारबाहीको प्रक्रिया तत्कालै सुन्न सकिने छ । मेरो पालामा जस्तो कारबाही धितोपत्र बोर्डको इतिहासमा भएको छैन । २९ वर्षमा १० वटा कारबाही भएका छन् । यसरी हेर्दा ३ वर्षमा एउटा कारबाही भएको देखिन्छ । म आएको १९ महिनामा २० वटा कारबाही गरेको छु । महिनामा एउटा कारबाही गरिरहेको छु । हामीले धितोपत्रको भित्रि कारोबारमा बिगो र जेल सजायको लागि ठूला व्यवसायीलाई नै मुद्दा दर्ता गरेका छौं । बजार मेनुपुलेसनमा मुद्दा दर्ता भएका छन् । सम्पती शुद्धीकरणको केसमा जरिवाना लिएका छौं । रेटिङ कम्पनीलाई कारबाही गरेका छौं । सञ्चालक समितिका सञ्चालकलाई कारबाही गरेका छौं । बोर्डले मेजर कारबाही नै २० गरेको छ । सप्लाई बढी भएर बजार प्यानिक रोक्नको लागि आईपीओ, हकप्रद, एफपीओ, प्रिमियमका आईपीओहरुको निष्काशन स्थगित लाग्नु भएको हो ? अहिले आईपीओको प्रणाली धेरै छिटो भएर अफ्ठ्यारो भयो भनेर गुनासा आएका छन् । कतिपय लगानीकर्ताले राम्रोसँग प्रस्तुत गरेका छन् भने केही लगानीकर्ता उच्छृङखल भएका छन् । बोर्ड अभिभावक भएकाले सबै लगानीकर्ताको कुरा सुनेको छ । उच्छृङखल कुरा पनि सुनेको छ । वैज्ञानिक सुझावलाई सम्मानपूर्वक सुनेको छु । त्यसैले अहिले बोर्डले केही समयका लागि आईपीओ, हकप्रद, एफपीओ, प्रिमियमका आईपीओहरुको निष्काशन कन्ट्रोल (नियन्त्रण)गर्ने व्यवस्था खोजिरहेका छौं । कानूनी व्यवस्था नभएपनि लगानीकर्ताहरुको गुनासो सुनुवाई गर्न नियन्त्रण गर्ने प्रयास भइरहेको छ । बजार सुधारको लागि बोर्डले निरन्तर रुपमा सुधारका नीतिहरु ल्याइरहेको हुँदा ढुक्क भएर चल्दा हुन्छ । बजारमा कुनैपनि दबाब छैन । सेयर बजार नेपालको मात्रै नभएर अन्तर्राष्ट्रिय रुपमा खस्किरहेको छ । अधिकांश देशमा सेयर बजारको अवस्था यस्तै छ । कोभिडको असर र अन्तर्राष्ट्रिय रुपमा भएका उथलपुथल युद्धको वातावरणको कारण,उच्च कर्जाको उच्च ब्याजदर, मूल्यवृद्धि भएकाले बजार राम्रो हुन सकेन । अहिले नेपालको अर्थतन्त्र सुधारको बाटो रहेको तथ्याङ्कहरुले देखाएको छ । आगामी दिन दीर्घकालिन प्रणालीगत विकास गरी धितोपत्र बजारलाई सफा पोखरी बनाउँदा बजारलाई दिगो रुपमा अगाडि लैजान्छ । आगामी दिनमा बजारको विकास यस्ता प्रणालीले सुनिश्चित रुपमा गर्छ भन्ने विश्वत छु । पुँजी बजार सुधारको लागि नीतिहरु ल्याउँदा कार्यान्वयको पक्षमा कस्ता चुनौति छन् ? नेपालमा हरेक काम गर्न चुनौति छन् । नेपालको अर्को नाम चुनौति हो । एकले अर्कोलाई खुट्टामा ठोक्काएर अल्झाउनु वरदान जस्तै छ । नेपालमा हरेक काम गर्न प्रणालीगत विकास हुनुपर्छ । म सरकारी अधिकारीहरुलाई शतप्रशित अधिकार दिनुपर्छ भन्ने मान्यता राख्दिन । हामी विकासको बाटो हिँड्ने भन्दा पनि विनाशको बाटोमा बढी हिड्न रुचाउँछौं । सुधारको पक्षमा कोही छैन । पछिल्लो समय धितोपत्र बजार सुधारको लागि ल्याएका नीतिहरु समग्र टिमले ल्याएको हो । नीति बनाउन कसैले राम्रो सुझाव दिँदैन । गाली, सिण्डिकेशन र समूहको हितको लागि काम गर्ने हाम्रो समाजको प्रचलन छ । समाज देशको विकास गर्ने हो भने यस्तो प्रचलनको अन्त्य गर्नुपर्छ । बोर्डले सर्वोत्तम सिमेन्टलाई ‘बुक बिल्डिङ’ विधिबाट सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ, बुक बिल्डिङ’ प्रणाली लागू पश्चात नेपाली पुँजीबजारमा कस्तो प्रभाव पर्छ ? नेपाली पुँजी बजारमा लामो समयदेखि थाति रहेर विवादित बनेको बुक बिल्डिङ प्रणाली मेरै पालामा शुरु भएको छ । यतिका वर्ष अड्किएर बसेको विषय मेरै भाग्यमा रहेछ । मेरो नै पालामा बुक बिल्डिङ प्रणालीको शुरुवात भयो । अब शुरु भएपछि बुक बिल्डिङ राम्रोसँग लागू हुन्छ । अब आउने कम्पनीलाई बोर्ड स्वागत गर्छ । बुक बिल्डिङमा आईपीओ जारी गर्ने कम्पनीको फाइल तत्काल आईपीओका लागि सदर गर्छौं । बुक बिल्डिङ प्रणाली विश्वको उतकृष्ट प्रणाली हो । विश्वमा कुनैपनि प्रणाली शतप्रतिशत सही हुँदैनन् । प्रणालीलाई सञ्चालन गर्ने पात्राहरुले प्रभाव पार्छ । प्रणाली १०० प्रतिशत पूर्ण हुँदैन । सवारी मात्रै राम्रो भएर हुँदैन सवारी साधन चलाउने चालक पनि राम्रो हुँदैन । त्यसैले प्रणालीलाई सहीसँग परिचालन गर्नुपर्छ । बुक विल्डिङ प्रणाली सैद्धान्तिक रुपमा असाध्यै राम्रो अन्तर्राष्ट्रिय प्रणाली हो । त्यहीअनुसार नेपालमा पनि लागू गरेका छौं । आगामी दिनमा अर्थतन्त्रमा गासिएका उत्पादनमुलक कम्पनीले जनतालाई पनि समृद्धि बाँड्ने हो । समृद्धि बाँड्ने क्रममा बुक बिल्डिङ प्रणाली आउँदा कम्पनीहरुको काम चाँडो हुन्छ । बोर्डले प्रिमियमलाई भन्दा बुक बिल्डिङ प्रणाली बढी प्राथमिकता दिएको छ । बुक विल्डिङ प्रणालीमा पहिला अफ्ठ्यारो स्थिति थियो । समस्यामा फसेको कारण अगाडि बढाउने नेतृत्व आवश्यक थियो । त्यो हाम्रो नेतृत्वले दियो । पहिलो समस्यामा फसेको बुक बिल्डिङ प्रणाली अरु भए डराउने थिए । तर हामीले आट गरेर अगाडि बढाएका छौं । हामीले हेरक चुनौपतलाई पार गर्दै अगाडि बढाएका छौं । बुक बिल्डिङ प्रणालीमा ठूला प्रतिष्ठित कम्पनी आउँदा जनताको समृद्धिमा ठूलो हात हुन्छ । प्रिमियममा आईपीओ अनुमति दिनु सेबोनको गैरजिम्मेवारी काम गरेको भन्ने आरोप लागेको छ, प्रिमियममा आईपीओ निकाल्ने कम्पनीहरुको कारोबार लगातार रुपमा नकारात्मक सर्किट लागेर नयाँ रेकर्ड बनाइरहेका छ नि ? प्रिमियममा आईपीओ निकाल्नु गलत हो भने नियम सुधार गर्नुपर्छ । त्यो सरकारको हातमा छ । सरकारले निर्देशन दिए हामी नियम सुधार गर्न आवश्यक छ । प्रिमियम भन्ने शब्द आफैँमा गलत हो । संसारमा नै शेयरबजारमा चलेको प्रणाली भनेकै मूल्य बढाउने हो । एक सय रुपैयाँको पनि ग्यारेन्टी गर्नु हो । अण्डर राइटिङ प्रक्रियाबाट मूल्य निर्धारण गरिने हो । त्यो मूल्य निर्धारण बजारले आजको स्थिति र भोलिको अवस्थालाई हेरेर अण्डर राइटिङ कम्पनीहरु र इनभेष्टमेन्ट बैंकर्सहरुले त्यसलाई तय गर्ने हो। आईपीओ प्रणालीमा विश्वले अपनाएको प्रणाली भनेको डिसकोलोज गर्नुपर्ने सत्यता र निष्पक्ष हुनुपर्छ भन्ने मान्यता हो । हाम्रो नेपालमा के गरौ भने एक सय रुपैयाँमा दिएपनि सबै कुरा निपष्क्ष भयो । तर सय रुपैयाँ भएको कम्पनीले पनि त उसको मूल्य ८० रुपैयाँ हुनसक्छ । हाम्रो अहिलेको विद्यमान नियमावली निर्देशिकाले के भन्छ भने उसको सर्टिफाइड स्टेटमेण्टमा भएको निर्धारित मूल्यमा कार्यविधि स्पष्ट छ । दुई गुणा निर्धारित मूल्यको प्रिमियममा जान मिल्छ भन्ने छ । यो प्रिमियमको नीति मैले ल्याएको होइन । वर्षौंदेखि धितोपत्र बोर्डले बनाएको नीति हो । मैले नेतृत्व नभएको अवस्था नेतृत्व दिएको हो । हामीले कसैको टाउको र अनुहार नहेरी दिगो आर्थिक प्रणाली निर्माणमा निजी क्षेत्रलाई सम्मान गर्नुपर्छ । ठूला निकाय लुकेर बस्ने होइन । आधार दिनुपर्छ भनेर मात्रै हामीले निर्णय गरेका हौं । म आउनु भन्दा ६ महिना अगाडिदेखि अध्यक्ष पद खाली भएकाले ६ महिना अगाडि देखिका फाइल बसेका थिए । त्यसलाई न्याय दिनु पनि मेरो कर्तव्य थियो । पहिलो वर्ष धेरै आईपीओ जारी भए । आईपीओको लागि सबै काम सकिएको थियो मैले आएर हस्ताक्षर मात्रै गरेको हो । अब सरकार र जनताले नै छनोट गरोस् कस्तो प्रणाली लागू गर्ने हो । कसैले आईपीओ प्रणाली नराम्रो हो । आईपीओ प्रणाली लुट हो भन्ने लाग्छ भने आईपीओ प्रणाली बन्द गरिदिए हुन्छ । त्यसलाई जे गर्दा राम्रो हुन्छ त्यसमा अगाडि बढ्ने हो । नेतृत्वको काम नै सहि दिशामा काम गर्ने हो । यो गलत तत्वहरुसँग जनताहरु र लगानीकर्ता,सरकार र सरकारी निकायका मानिसहरु बच्नु प¥यो । बिना अध्ययन कुनै सत्यता बिना दोसा रोपन गरेमात्रै भएन । समूह बनाएर समूहले जतिसुकै नाजहेज माग राखे पनि अगाडि बढ्छ भन्ने समाज निर्माण गर्न खाजेको होकी भन्ने हामीलाई लागेको छ । सही बाटो छोड्ने काम भइरहेको छ । अब सही बाटो भनेको देशको उच्चतम विकास देश र जनताको प्रगतिको लागि सबै कानून निर्माण हुनुपर्छ । एउटा समूहको मात्रै विकास हुनुहुँदैन । समूहसँग डराएर मात्रै पनि हुँदैन । एउटा समूह होइन देश र जनता हाबी हुनुपर्छ । अब नेपालको पुँजीबजार कता जान्छ ? अब मुलुकको पुँजीबजारको बाटो सुशासनको बाटो अपनाउँदा मात्रै पुँजी बजारको विकास हुन्छ । प्रणालीले मात्रै सही गाइड दिन्छ भने अन्तर्राष्ट्रिय मापदण्ड बने मात्रै पुँजीबजारको विकासमा अगाडि बढ्छ । नेपालको पुँजीबजारको पहिलोको भन्दा प्रणालीगत रुपमा धेरै बलियो छौं । शेयर बजार देश वा अन्तर्राष्ट्रिय प्रतिकुल अवस्थामा बजार मूल्य तल वा माथि जहाँ पनि जान सक्छ । शेयर बजार तल जाने बित्तिकै कसैको चरित्र हत्या गर्ने काम गर्नु हुँदैन । लगानीकर्ता सबैले बुझेर लगानी गर्नुपर्छ । यो विश्वव्यापी मान्यता हो । हामीमा मात्रै नभएको कुरा लागू गर्न मिल्दैन । सबैले सुजबुझले मात्रै लगानी गर्नुपर्छ । कसैको प्रेसर वा बहकाउमा आएर लगानी गर्नु भएन । नेपाली पुँजीबजार धेरै धमिलो पानीमा माछा मार्ने तत्वहरु छन् । विचौलीयाहरुले सोझसाझा मानिसहरुलाई फसाउने काम गरेका छन् । आज पनि तीनै मानिसहरुको कुरा सुनिन्छ हाम्रो समाजमा । पुँजीबजारमा साक्षरताको कमी छ ।

जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा संचालन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ता (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा संचालन आजदेखि शुरू गरेको छ । बीमा ऐन, २०७९ मा ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था भए बमोजिम प्राधिकरणले पहिलो पटक जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा शुरू गरेको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा संचालनको शुभारम्भ गरेका हुन् । अध्यक्ष सिलवालले परीक्षामा सफल भई इजाजतपत्र पाउने बीमा अभिकर्ताहरूले गर्ने व्यवसायबाट बीमा सम्बन्धी सही सूचना प्रवाह हुने र हाल बीमा बजारमा देखिएको बीमालेख व्यतित तथा सरेण्डरको समस्या समाधानमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे । प्राधिकरणको केन्द्रीय कार्यालयबाट आज पहिलो दिन संचालित जीवन बीमा अभिकर्ता अनलाइन परीक्षामा देशका विभिन्न स्थानबाट ४७ जना परीक्षार्थीहरू अनलाइन माध्यमबाट सहभागी भएका थिए । अनलाइन परीक्षा संचालनको शुभारम्भ कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलको समेत उपस्थिती थियो । जीवन बीमा अभिकर्ताका लागि हाललाई एकपटकमा १०० जनासम्मले अनलाइन माध्यमबाट परीक्षा दिनसक्ने व्यवस्था गरिएको छ । परीक्षा संचालन भएको मितिले ७ दिनभित्र जीवन बीमा अभिकर्ताको परीक्षाफल प्रकाशन गरिनेछ । जीवन बीमा अभिकर्ताको अर्को परीक्षा यही कात्तिक २०, २२ र २४ गतेका लागि तोकिएको छ । इन्स्याेरेन्स रेगुलेटरि मेनेजमेन्ट इन्मरमेसन सिस्टम  (आइआरएमआइएस) मार्फत् बीमा अभिकर्ताको परीक्षाका लागि आवेदन दिने, एजेन्ट एक्जाम सिस्टमबाट आवेदन शुल्क बुझाउने, परीक्षा मिति चयन गर्ने तथा परीक्षा उत्तीर्ण हुनेले इजाजतपत्र शुल्क बुझाउने र (आइआरएमआइएस) बाटनै बीमा अभिकर्ताको इजाजतपत्र अनलाइन मार्फत प्रिन्ट गरेर लिन सकिने व्यवस्था प्राधिकरणले गरेको छ ।

पाइलट कुटाकुट घटनामा रामेछाप विमानस्थल प्रमुख थापा निलम्बित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको विषयमा रामेछाप विमानस्थल प्रमुख अशोक थापालाई निलम्बन गरेको छ । रामेछाप मन्थली विमानस्थलमा शुक्रबार बिहान निजी वायुसेवा कम्पनी तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको थियो । सोही घटनामा थप अनुसन्धान गर्नुपर्ने भन्दै उड्डयन नियामक प्राधिकरणले रामेछाप विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख थापालाई अर्को सूचना नआउन्जेल निलम्बन गरेको जनाएको छ । ताराको ट्विनअटर जहाज सोलुखुम्बुको लुक्लाबाट मन्थली विमानस्थल ल्याएका वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव श्रेष्ठबीच विमानस्थल परिसरमै कुटाकुट भएको थियो । प्राधिकरणले दुवै पाइलटको लाइसेन्स निलम्बन गरिसकेको छ ।

महानगरद्वारा तीन महिनामा १६ करोड २६ लाख राजस्व सङ्कलन

वीरगञ्ज  । मधेस प्रदेशकै एकमात्र महानगरपालिका वीरगञ्ज महानगपालिकाले चालु आर्थिक वर्षको तीन महिनामा  १६ करोड २६ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।  सो अवधिमा विभिन्न २१ शीर्षकमा रु १६ करोड २६ लाख ३६ हजार चार सय ३७ राजस्व सङ्कलन गरिएको हो । महानगरपालिकाको राजस्व शाखाका अनुसार चालु आर्थिक बर्षको साउनदेखि असोजसम्ममा सम्पत्ति करबाट सात करोड ४३ लाख ८२ हजार ४७, घरबहाल करबाट एक करोड ७२ लाख २४ हजार एक सय १७, व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट एक करोड आठ लाख २६ हजार दुई सय ३०, सरकारी सम्पत्ति बहालबाट एक करोड २७ लाख ९६ लाख दुई सय चार, अन्य सेवा शुल्कबाट रु एक करोड २७ लाख सात हजार दुई सय ७८, नक्सा पास दस्तुरबाट एक करोड चार लाख ४४ हजार छ सय १२, अखेटोपहारमा लाग्ने करबाट  ६१ लाख राजस्व सङ्कलन भएको छ । यस्तै सिफारिस दस्तुरबाट ७२ लाख २६ हजार पाँच सय ४१, साना सवारी साधन करबाट १० लाख ९९ हजार तीन सय ५०, भूमिकर/मालपोतबाट ३८ लाख ३२ हजार चार सय ७८, बहाल बिटौरी करबाट रु आठ लाख १२ हजार  र प्रशासनिक दण्ड जरिवानाबापत २३ लाख २३ हजार ८३ राजस्व सङ्कलन भएको राजस्व शाखाप्रमुख मनोजकुमार कर्णले जानकारी दिए । यसैगरी व्यक्तिगत घटना दर्ताबाट नौ लाख ३८ हजार तीन सय छ, नाता प्रमाणित दस्तुरबाट सात लाख ७४ हजार सात सय ८०, सिफारिस दस्तुरबाट ७२ लाख २६ हजार पाँच सय ४१ राजस्व सङ्कलन भएको राजस्व शाखाप्रमुख कर्णले बताए । गत आर्थिक वर्ष २०७९/८० को तीन महिनाको तुलनामा करिब तीन करोडभन्दा बढी राजस्व सङ्कलन भएको हो । महानगरपालिकाले गत आर्थिक वर्षको साउनदेखि असोजसम्म विभिन्न शीर्षकमा १३ करोड ४४ लाख एक सय ८१ राजस्व सङ्कलन गरेको थियो । आर्थिक वर्ष २०७८/७९ सम्म घरजग्गा रजिष्ट्रेसन शुल्क महानगरपालिकाले उठाउँदै आएकामा गत आर्थिक वर्षबाट राजस्व बाँडफाँट शीर्षकमा तीनै तहको सरकारमा राजस्व सङ्कलन हुन थालेको छ । चालु आर्थिक वर्षमा महानगरपालिकाले सम्पत्ति करको दर घटाए पनि दायरा बढेको, लामो समयपछि जग्गाको कित्ताकाट खुल्ला गरिएको नक्सापास र जग्गा कारोबार सुरु भएकाले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा राजस्व सङ्कलन बढेको  वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताए । रासस

भायानेटले ल्यायो रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग अफर

काठमाडौं । भायानेट कम्युनिकेसनले आफ्नो नयाँ रोमान्चक अफर ‘रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग’को घोषणा गरेको छ । यस अन्तर्गत चारजना साथी वा परिवारका सदस्यलाई रेफर गर्ने ग्राहकहरूले ४ महिनाको नि:शुल्क इन्टरनेटका साथै अल्टिमा इयरबडहरू पनि नि:शुल्क प्राप्त गर्न सक्नेछन् । यो अफर भायानेटको पहिले नै लोकप्रिय भैसकेको चाडपर्व अफर चाडमा चौका अभियानको विस्तारको रूपमा आएको हो । चाडमा चौका अफर अन्तर्गत भायानेटले नयाँ किफायती इन्टरनेट प्याकेजहरू प्रति महिना भ्याट बाहेक ७०० र ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबडहरू तथा हिमस्टार होम एप्लिएन्सहरूमा ५० प्रतिशत छुट प्रदान गर्ने कम्पनीले जनाएकाे छ । कार्तिक १६ गतेबाट शुरू भएर मङ्सिर ९ मा अन्त्य हुने यो नयाँ अफर रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग१ मा भायानेटका ग्राहकहरूले भायानेट परिवारमा सामेल हुनका लागि चारजना साथी वा परिवारका सदस्यहरूलाई रेफर गरी निम्नलिखित विशेष फाइदाहरू प्राप्त गर्नेछन् छुटहरू यसप्रकार छन्ः १. नि:शुल्क अल्टिमा एटम १९२ वायरलेस इयरबड्सस् तोकिएको समयसीमा भित्र चारजना साथीहरूलाई सफलतापूर्वक रेफर गर्ने प्रत्येक ग्राहकले एक जोड अल्टिमा एटम १९२ वायरलेस इयरबड नि:शुल्क प्राप्त गर्नेछन् । २. आफ्नो लागि चार महिनाको नि:शुल्क इन्टरनेटस् प्रत्येक सफल रेफरलका लागि भायानेटका ग्राहकले स्ट्यान्डर्ड रेफरल योजना अन्तर्गत १ महिनाको नि:शुल्क इन्टरनेट सेवा पाउने छन् । यस अनुसार, चारजना ग्राहकलाई रेफर गर्दा पहिले नै चार महिनाको निस्शुल्क इन्टरनेट प्राप्त हुनेछ । ३. रेफर गरिएकाको लागि एक महिनाको नि:शुल्क इन्टरनेटस् ग्राहकद्वारा रेफर गरिएका साथी वा परिवारजनलाई भायानेटको स्ट्यान्डर्ड रेफरल योजनाको एक भागको रूपमा अल्ट्रा-फाइ योजनाको सदस्यता लिएको खण्डमा एक महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गरिनेछ ।

यूएईले नेपाललाई दियो १३५ रनको लक्ष्य, नेपालले कति ओभरमा समेट्ला ?

काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा युएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ । यूएईले २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन मात्रै बनाउन सक्यो । युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४ र कप्तान मोहम्मद वासिमले २६ रन बनाए । नेपालका कुशल मल्लले ३, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १/१ विकेट लिए । खेल मुलपानी मैदानमा जारी छ । यो खेल जित्ने टिम अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ । त्यसैले दुवै टिमका लागि यो खेल महत्वपूर्ण छ ।