
काठमाडौं । नेपाललाई ‘वेडिङ डेस्टिनेसन’ का रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ पहिलोपटक ‘इन्डो नेपाल वेडिङ समिट–२०२३’ आयोजना गरिएको छ ।
नेपाल पर्यटन बोर्डको समन्वय तथा सहकार्यमा आयोजना भएको दुईदिने सम्मेलनमा छिमेकी मुलुक भारतका २५ भन्दाबढी ‘वेडिङ अर्गनाइजेसन’कम्पनीको सहभागिता रहेको छ ।
सम्मेलनको पहिलो दिन आज ‘बिजनेस टु बिजनेस’(बिटुबी) कार्यक्रम आयोजना गरिएको छ ।
बिटुबीअन्तर्गत नेपाल र भारतका सरोकारवालाबीच व्यावसायिक प्रवर्द्धनका कार्यक्रम तय भएको बताइएको छ ।
नेपाललाई वेडिङ गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बताए । ‘धेरैभन्दा धेरै भारतीयलाई नेपालमा आइ विवाह गर्न कसरी आकर्षित गर्ने तथा विवाहका लागि कपडा र गरगहना सहजरूपमा ल्याउने वातावरण बनाउन नीतिगत सुधारका लागि सरोकारवाला निकायसँग बहस गर्ने उद्देश्यले सम्मेलन गरिएको हो,’ उनले भने।
भारतीयले विवाहमा सुन र साडी बढी प्रयोग गर्ने भएकाले उनीहरूका सामान सहजरूपमा यहाँ ल्याएर वैवाहिक कार्यक्रम सम्पन्न गर्ने वातावरण बनाउन सके नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने डा. रेग्मीको विश्वास छ ।
भारतको चर्चित इभेन्ट म्यानेजमेन्ट कम्पनी ‘इइमा’ अध्यक्ष समिट गार्जले नेपाल र भारतबीचको सांस्कृतिक, रहनसहन पनि मिल्दोजुल्दो भएकाले नेपालमा वेडिङ महोत्सवको प्रचुर सम्भावना भएकाले पहिलोपटक नेपाललाई गन्तव्यका रूपमा रोजिएको बताए। उनले यस किसिमको कार्यक्रमले दुई देशबीचको सम्बन्धलाई थप मजबुद तुल्याउने र व्यावसायिक लाभ हासिल गर्न पनि सहयोग पुग्नेमा विश्वास व्यक्त गरे।
बिटुबी कार्यक्रममा पुष्प व्यवसायी, कपडा व्यवसायी, इभेन्ट म्यानेजमेन्ट कम्पनी, ‘मेहन्दी र मेकअप’सम्बन्धी व्यवसायीलगायतलाई भारतका वेडिङ कम्पनीसँग छलफल गराई व्यावसायिक साझेदारीको अवसर प्रदान गर्न कार्यक्रमले सहयोग पुग्ने जनाइएको छ ।
सम्मेलनमा नेपालका पाँचतारे र चारतारे होटल तथा लक्जरी रिसोर्टको सहभागिता छ । त्यस्तै पर्यटन विभाग, अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख र प्रतिनिधिको पनि कार्यक्रममा सहभागी हुनेछन् ।
कार्यक्रममा भारतका चर्चित कलाकार अमिताभ बच्चन, ऐश्वर्या राय तथा चर्चित व्यवसायी मुकेस अम्बानीको विवाह गराउने कम्पनी पनि सहभागी रहेको बोर्डले जनाएको छ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीका अनुसार नेपालका पाँचतारे र चारतारे सबै होटलमा विवाह गराउन सकिन्छ । नेपालमा विवाहपछि तारे होटलमा पार्टी दिने प्रचलन छ तर भारतमा विवाह नै विदेशमा गएर गर्ने चलन छ ।
कतिपय सम्भ्रान्त परिवारका विहेहरू वर्षमा करिब एक हजारको थाइल्याण्डमा तथा नेपालमा वार्षिक एक सय हाराहारीमा यस्ता विवाह हुने गरेका छन् । यस्ता विवाहमा मध्यम परिवारले एकदेखि १० करोड रुपैयाँ खर्च गर्ने गरेका छन् । भारतमा पछिल्लो समय विदेशमा गएर विवाह गर्ने करिब २० प्रतिशतले बढेको पाइएको तथ्यांक भेटिन्छ ।
वेडिङ समिट ‘माइस टुरिजम्’को महत्वपूर्ण अङ्ग भएकाले आगामी दिनमा नेपालमा ठूला अन्तर्राष्ट्रिय ‘इभेन्ट’मार्फत गन्तव्य प्रवर्द्धन गर्ने बोर्डको योजना रहेको कार्यकारी प्रमुख रेग्मीले जानकारी दिए।
यस किसिमको कार्यक्रमले विवाह पर्यटनका रूपमा पनि नेपाल गन्तव्यको प्रचारप्रसारका साथै आर्थिकरूपमा समेत नेपाललाई फाइदा पुग्ने आयोजकको विश्वास छ । आगामी दिनमा यो सम्मेलनलाई वार्षिकरुपमा थप व्यवस्थित ढङ्गले आयोजना गर्ने बोर्डको योजना छ ।