इजरायलमा मारिएका थप तीन विद्यार्थीको शव नेपाल आइपुग्यो
काठमाडौं । दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप तीनजना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ । फ्लाई दुवईको जहाजमार्फत नेपाल आइपुगेका शवमा धनुषा सापही–६ का आनन्द शाह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार र डोटी पचनाली–३ का राजन फुलाराको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए। उनका अनुसार फुलाराको शव शुक्रबार दिउँसो, स्वर्णकारको गए राति र शाहको शव आज बिहान नेपाल आइपुगेको हो । दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात् ७ अक्टोबरमा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । हमास समूहको आक्रमणमा परी मृत्यु भएकामध्ये आठ जनाको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । शाह र स्वर्णकारको शव आजै सम्बन्धित जिल्लामा नेपाली सेनाको हेलिकप्टोरमार्फत पठाइने सहसचिव आरणले बताए। हालसम्म बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, धनुषा सापही–६ का आनन्द शाह, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन(१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा तथा कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारी छन् । सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कबिहीन छन् । केही समयअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका २ सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो ।
भूकम्पका घाइते तीन जनालाई उपचारका लागि सुर्खेत पठाइयो
रुकुम पश्चिम । भूकम्पमा परी घाइते भएका आठविसकोट नगरपालिकाका तीन जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ । नेपाली सेनाको हेलिकप्टोरमार्फत आज बिहान उपचारका लागि सुर्खेत पठाइएको हो । डाक्टर, स्वास्थ्यकर्मीसहित स्वास्थ्य सामग्री लिएर आठविसकोट नगरपालिका पुगेको हेलिकप्टोरमार्फत तीन जना घाइतेलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाएको आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहले जानकारी दिए। उनका अनुसार घाइते ६२ जनाको नगर अस्पताल राडीमै उपचार भइरहेको छ । नगरपालिकाको वडा नं ११, १२, १३ र १४ मा हालसम्म ५० जनाभन्दा धेरैको मृत्यु भइसकेको उनको भनाइ छ । सुर्खेतबाट आएको एक जना डाक्टरसहित तीन जनाको स्वास्थ्यकर्मीको समूहले नगर अस्पताल उपचार गरिरहेको शाहले जानकारी दिए । शुक्रबार राति जाजरकोटको केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण सानीभेरी गाउँपालिका र आठविसकोट नगरपालिकामा ठूलो मानवीय क्षति भएको छ । क्षतिको विवरण संकलन भइरहेको र उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार सानीभेरी गाउँपालिका–२ मा नौ जनाको मृत्यु भएको छ ।
भूकम्पका घाइतेलाई उपचार गर्न भेरी अस्पताल तयारी अवस्थामा
बाँके । जाजरकोट केन्द्रबिन्दु बनाएर गए राति गएको भूकम्पमा परी घाइते भएकाको उपचार व्यवस्था मिलाउन भेरी अस्पतालले आवश्यक तयारी गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भूकम्पमा परी घाइते भएकाको उपचार व्यवस्था मिलाउन भेरी अस्पताललाई प्राविधिक रुपमा पूर्णतयारी गरिएको छ । ‘अस्पताललाई उपचारका लागि डेडिकेटेड अस्पताल बनाइएको छ । व्यक्तिगत पहलमा उपचारका लागि आउने घाइतेको आफन्तजनको सहजताका लागि पनि ‘फोकल पर्सन’का रुपमा नरेश श्रेष्ठलाई तोकिएको छ,’ उनले भने । घाइतेको उपचारका लागि कोहलपुरमा रहेको मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको पनि प्रजिअ पोखरेलले जानकारी दिए । उनका अनुसार अन्य निजी अस्पताललाई पनि तयारी अवस्थामा राखिएको छ । बाँकेमा रहेका भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको एक सय पाँच वटा बेडसमेत तयारी अवस्थामा राखिएको उनको भनाइ छ । प्रजिअ पोखरेलेका अनुसार हेलिकोप्टरबाट ल्याइने बिरामीको लागि राँझा विमानस्थल र नेपाली सेनाको हेलिप्याडमा एम्बुलेन्स तैनाथ गरिएको गरिएको छ । हाल अस्पतालहरुमा रगतको मौज्दात रहेको बताउँदै उनले रक्तदाता सुरक्षाकर्मीको पनि व्यवस्था मिलाइएको बताए । भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहले अस्पतालको नयाँ भवनको भुइँतलामा भूकम्पबाट घाइते बिरामीलाई उपचार गर्न आवश्यकताअनुसार शय्या तयारी अवस्थामा राखिएको बताए । गए राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
राहत, उद्धार र पुनर्स्थापनामा जुट्न अध्यक्ष तिमिल्सिनाको आग्रह
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूकम्पमा कारण जाजरकोट र पश्चिम रुकुमलगायतका जिल्लामा भएका घाइतेहरुको राहत र उद्धारमा जुट्न आग्रह गरेका छन् । अध्यक्ष तिमिल्सिनाले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त स्थानमा राहत र उद्धारका लागि सरकार, सबै राजनीतिक दल, सुरक्षा निकाय र नागरिक समाजलाई आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रकृतिक विपत्तिको यो क्षणमा सिङ्गो राष्ट्र नै एक भएर समयमै घाइतेको उद्धार र पीडितका लागि राहत तथा पुनःस्थापनाका लागि जुट्न आवश्यक छ ।’ कर्णाली प्रदेशको जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर गए राति गएको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुमलगायतका जिल्लामा मानवीय र भौतिक क्षति पुर्याएको छ । उनले भूकम्पमा परी ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समेवदना व्यक्त गरेका छन्। साथै, घाइतेमा शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरेका छन् ।
प्रदेशको पञ्चवर्षीय योजनामा समावेश गर्न पर्यटन र कृषिमा मनाङवासीको जोड
मनाङ । हिमालपारिको जिल्ला मनाङ पर्यटकीय सम्भावना भएको गन्तव्य मानिन्छ । अन्नपूर्ण चक्रीय पदमार्ग र नार्पाभूमिस्थित काङ्लापास, मनास्लु हिमालतर्फको लार्केपास पदमार्ग यहाँका चर्चित गन्तव्य हुन् । यीबाहेक यहाँको प्राकृतिक सुन्दरताले पनि पर्यटक मोहित पार्ने गरेका छन् । आन्तरिक पर्यटनको बिस्तार भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्या बढेको पाइन्छ । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय (एक्याप) मनाङका अनुसार विगत ६ महिनामा ९ हजार ७ सय २८ जना विदेशी पर्यटकले मनाङ भ्रमण गरेका छन् । विदेशीबाहेक आन्तरिक पर्यटक पनि मनाङ उत्तिकै सङ्ख्यामा आउने गर्दछन् । तर, पूर्वाधार विकास नहुँदा यहाँ आउने पर्यटकले सास्ती भोग्नु परेको छ । यहाँ पर्यटन पूर्वाधार निर्माण र वैकल्पिक पदमार्ग बनाउन व्यवसायीले सरकारसँग माग गरिरहेका छन् । उनीहरुले सरकारी निकायका कोही मनाङ भ्रमणमा जाँदा यो समस्या सुनाइहाल्छन्। शुक्रबार मनाङको सदरमुकाम चामे बजारमा गण्डकी प्रदेश नीति तथा योजना आयोगको टोली मनाङ पुग्दा मनाङवासीको यही गुनासो थियो । गण्डकी प्रदेश सरकार दोस्रो पञ्चवर्षीय योजना निर्माणको काममा जुटेको छ । यसका लागि गण्डकी प्रदेशको नीति तथा योजना आयोगले मुस्ताङका सरोकारवालासँग छलफल गरिसकेको छ । सोही विषयमा छलफल गर्न आयोगको टोली मनाङ आएको हो । अन्तरक्रियामा मनाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित टेकबहादुर गुरुङले मनाङको समृद्धि र विकासमा पर्यटन क्षेत्रको ठूलो भूमिका रहने बताए । ‘मनाङ विकासको मेरुदण्ड भनेकै पर्यटन क्षेत्र हो । यसका लागि प्रदेश सरकारले बनाउन लागेको पञ्चवर्षीय योजनामा यहाँको पर्यटन क्षेत्रले महत्व पाउनुपर्छ,’ उनले भने, ‘यहाँ अन्नपूर्ण चक्रीय पदमार्ग, तिलिचो ताल, एक हजार वर्ष पुराना गुम्बा छन् यसलाई कसरी प्रचारप्रसार र प्रवद्र्धन गर्ने भन्ने कुरा पञ्चवर्षीय योजनामा समेटिनु जरुरी छ ।’ सांसद गुरुङले मनाङमा पर्यटनसँगै कृषि र जलविद्युत्मा पनि सम्भावना रहेको बताए। नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले पनि पर्यटन नै जिल्लाको चिनारी रहेको बताए। ‘विसं २०७८ असारमा आएको बाढीले हाम्रो पालिकाको धेरै पर्यटकीय क्षेत्रको पूर्वाधार बगाएको छ । यहाँ पदमार्ग पनि छैन । यसमा प्रदेश सरकारले ध्यान दिनुपर्छ,’ अध्यक्ष गुरुङले भने, ‘यहाँ पर्यटनसँगै कृषि, पशु र जडीबुटी पनि मुख्य सम्भावना भएको क्षेत्र रहेकाले यसतर्फ ध्यान पुग्नुपर्छ । त्यसैले प्रदेशको पञ्चवर्षीय योजनामा जडीबुटी खेती र प्रशोधन केन्द्र समेट्न जरुरी छ ।’ मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले पर्यटकको सङ्ख्या बढाउन आफ्नो पालिकाभित्र रहेको जिल्लाको एक मात्र हुम्दे विमानस्थल सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्नुपर्नेमा जोड दिए। नार्पाभूमिका प्रमुख प्रशासकीय अधिकृत भीमकान्त भण्डारीले पञ्चवर्षीय योजनामा गाउँपालिकालाई सडक सञ्जालले जाड्ने अनि राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने योजना समेट्न आवश्यक रहेको बताए । कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले अन्तरक्रियापछि मनाङबाट प्रदेश समृद्धिका लागि धेरै राम्रा सुझाव आएकाले छलफलका विषय दोस्रो पञ्चवर्षीय योजनामा समेटेर अघि बढ्ने बताए । रासस
शुक्रबार रातिको भूकम्पमा रुकुमपश्चिममा मृत्यु भएकामध्ये २७ जनाको सनाखत
काठमाडौं । जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी रुकुम पश्चिममा मृत्यु भएका ३६ जनामध्ये २७ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले उपलब्ध गराएको विवरणमा पहिचान भएका २७ जनामध्ये १९ जना बालबालिका छन् । मृतक बालबालिकामा सानीभेरी गाउँपालिका–२ का १२ वर्षीय मनिषा परियार, आठ वर्षीय यमराज पुन, दुई वर्षीय सितम पुन, १० महिने बालक रेजन वली छन् । सोही गाउँपालिका–४ का आठ वर्षीय निर्जल चन्दको मृत्यु भएको छ । आठविसकोट नगरपालिका–११ गौरी गाउँका १८ महिनाकी एलिसा कामी, चार वर्षीय आशा कामी, ६ वर्षीय दिया कामी, नौ वर्षीया रिया कामी, १३ वर्षीया सिर्जना कामीको भूकम्पमा परी ज्यान गएको छ । यस्तै सोही नगरपालिका वडा नम्बर १२ का १४ वर्षीय रमेश पुन, १३ वर्षीय दिलबहादुर केसी, वडा नम्बर १४ का तीन वर्षीय बासु बुढा, पाँच वर्षीय भावना जैसी, दुई वर्षीय दिपेन जैसी, १३ वर्षीय सरिता विक, १३ वर्षीय मदन गौतमको पनि मृत्यु भएको छ । जाजरकोट रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । लगत्तै लगातार ४.८, ४.२ र ४.३ म्याग्निच्युडका परकम्प गएका थिए ।
तीन करोड लगानीमा बाख्रा फार्म सञ्चालन, ६ जनालाई रोजगारी
बागलुङको गलकोटका अधिकांश मानिस रोजगारी र अध्ययनको सिलसिलामा जापानमा छन् । त्यसैमध्येका एक हुन्, चन्द्र खत्री । गलकोट नगरपालिका–५ कौलेनीका खत्री जापानमा रहे भए आफ्नै गाउँमा रु तीन करोडभन्दा बढी लगानीमा बाख्रा फार्म सञ्चालन गरिरहेका छन् । जापानमा रोजगारी सिर्जनाको माध्यम उद्यम भएको आफ्नो २५ वर्षे अनुभव सुनाउँदै खत्रीले जन्मथलोमा रोजगारी सिर्जना गर्ने उद्देश्यले तीन वर्षअघि जामुनबोट एग्रो फार्म सञ्चालनमा ल्याएका हुन् । ‘पच्चीस वर्षदेखि जापानमा छु, अहिले वर्षमा तीन महिना नेपाल र नौ महिना जापानमा हुन्छु, आफ्नो जन्मथलोमा केही गर्ने सोच पहिलेदेखि नै आएको थियो, तर केही गर्न सकेको थिएन, तीन वर्षअघि बाख्रापालन गर्ने सोच आयो,’ खत्रीले भने, ‘अहिले सालो गुमानसिंह खड्काको व्यवस्थापनमा थप पाँच जना फार्ममा कार्यरत छन्, मेरो मुख्य उद्देश्य गाउँमै रोजागरी सृजना गर्नु हो ।’ उनका अनुसार बाख्राको आधुनिक खोरमा मात्रै डेढ करोड रुपैयाँ लगानी भएको छ भने खोरमा एक हजारभन्दा बढी बाख्रा खट्ने क्षमता छ । अहिले ६ जनालाई प्रत्यक्ष रोजगारी दिएको बताउँदै खत्रीले फार्म व्यवस्थापनमा मात्रै मासिक रु तीन लाख खर्च भइरहेको बताए । हाल फार्ममा दुई सय बोका, पाठा र माउ बाख्रा छन् । एक वर्षभित्रै जिल्लाकै ठूलो बाख्रा फार्म सञ्चालन गर्ने सोचअनुसार एक हजार बोका बाख्रा क्षमताको आधुनिक खोर निर्माण गरिएको खत्रीको भनाइ छ । कोरोनाकालमा नेपाल फर्कदा गाउँमा आफ्नै केही गर्ने लक्ष्य र बाख्रापालनको सम्भावना देखेपछि लगानी गरेको उनको भनाइ छ । फार्ममा ९० प्रतिशत बोयर र १० प्रतिशत स्थानीय जातका बाख्रा छन् । रासस
सभापति देउवाद्वारा भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि आग्रह
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जाजरकोट केन्द्रबिन्दु भएर गए राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो मानवीय क्षति भएको खबरले दुखित भएको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली खटाएर घाइतेको उपचार गर्न सरकारसँग माग गरेका छन् । साथै प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्याउने प्रबन्ध गर्न पनि अनुरोध गरेका छन् । सभापति देउवाले भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतको स्वास्थ्य लाभको कामना गरेका छन् । यस कठिन घडीमा उनले कांग्रेसको सम्पूर्ण पार्टी निकायलाई भूकम्प प्रभावित क्षेत्रमा उद्दार, राहत र पुनःनिर्माणमा जुट्न निर्देशन दिएका छन् । जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार मध्यराति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पको जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिममा ठूलो क्षति पुगेको छ ।