विकासन्युजकर्मी रोकाया बैंकिङ पत्रकारिता पुरस्कारबाट पुरस्कृत
काठमाडौं । विकासन्युजमा कार्यरत सन्तोष रोकाया बैंकिङ पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५औं वार्षिकोत्सवकाे अवसरमा शनिवार विकासन्युजकर्मी रोकाया सिविफिन-नाफिज बैंकिङ पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् । उनलाई अर्थमन्त्री डा.प्रकाश शरण महत र बैंक तथा वित्तीय संस्था परिसंघका वरिष्ठ उपाध्यक्ष भोज बहादुर शाहले प्रमाणपत्र र नगद हस्तान्तरण गर्दै पुरस्कृत गरेका हुन् । उनले प्रमाणपत्रसहित नगद ५० हजार रुपैयाँ पाएका छन् । बैंकिङ क्षेत्रको समाचार सम्प्रेषणमार्फत् आर्थिक तथा सामाजिक रुपान्तरणमा पुर्याएको योगदान स्वरुप उनलाई पुरस्कारमार्फत् सम्मान गरेको बताएको छ । भारतीय रुपैयाँसँगको विनिमयदरले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव विषयमा नियमित समाचार लेखेका थिए । बैंक तथा वित्तलाई मुख्य बिट बनाएर समाचार लेख्दै आएका छन् । सो पुरस्कारका लागि परेको २७ वटा आवेदनमध्ये रोकायाको समाचार उत्कृष्ट भएको भन्दै पुरस्कारका लागि छनोट गरिएको पुरस्कार छनोट समितिका संयोजक श्रीधर खनालले बताए । गत वर्ष पनि राेकायाले नाफिजले प्रदान गरेको भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कारबाट पनि पुरस्कृत भएका थिए । त्यस्तै, सिबिफिन बैंकिङ पत्रकारिकता पुरस्कार केटिएम भ्वाइसका रोयल आचार्यलाई प्रदान गरिएको छ भने शारदादेवी ढुंढीराज पत्रकारिता पुरस्कार रातोपाटीका प्रयास श्रेष्ठले पाएका हुन् । विकासन्युजकर्मी रोकाया र शिलापत्रकर्मी घिमिरे पुरस्कृत विकासन्युजकर्मी रोकाया पुरस्कृत
भूकम्पपीडितलाई बागमती प्रदेशले डेढ करोड सहयोग उपलब्ध गराउने
काठमाडौं । बागमती प्रदेश सरकारले भूकम्पपीडितको तत्काल प्रभावकारी उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि एक करोड ५० लाख सहयोग उपलब्ध गराउने भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले शनिबार विज्ञप्ति जारी गर्दै नागरिक समाज, विभिन्न गैरसरकारी संस्थालाई विपद्को घडीमा आवश्यक सहयोग गर्नसमेत आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘यस विपद्को घडीमा बागमती प्रदेश सरकार कर्णाली प्रदेश सरकारसँगै रहनेछ ।’ जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई गएराति गएको भूकम्पले ठूलो मात्रामा जाजरकोट र रुकुम पश्चिम जिल्लामा जनधनको क्षति पुगेकामा बागमती प्रदेश सरकारले दुःख व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘उक्त भूकम्पबाट ज्यान गुमाएका सम्पूर्ण व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार र आफन्तजनमा समवेदनाका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।
भूकम्पका घाइतेको केएमसीले निःशुल्क उपचार गर्ने
काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर गएराति गएको भूकम्पमा परी घाइते भएकाहरुलाई काठमाडौँ मेडिकल कलेज (केएमसी) ले निःशुल्क उपचार गर्ने जनाएको छ । मेडिकल कलेजका कार्यकारी अध्यक्ष सोइना शर्माले आज एक विज्ञप्ति जारी गरी भूकम्पमा परी घाइते भएकाहरुलाई केएमसीले निःशुल्क उपचार गर्ने जानकारी दिए। स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी पठाउनसमेत केएमसी तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । अस्पतालका सल्लाहकारसमेत रहेका मोरङ जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा सुनिल शर्माको सक्रियतामा केएमसीले घाइतेहरुको निःशुल्क उपचार गर्न लागेको अध्यक्ष शर्माले विज्ञप्तिमार्फत जानकारी दिए । केएमसीले भूकम्पका कारण ठूलो जनधनको क्षति भएकामा अत्यन्त मर्माहत रहेको जनाउँदै ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र उपचार तथा स्वास्थ्य लाभको कामना गरेको छ ।
जाजरकोट भूकम्प पीडितलाई कैशाल हेलिकप्टरले १० लाख सहयोग गर्ने
काठमाडौं । कैलाश हेलिकप्टरले जाजरकोट भूकम्प पीडितको लागि राहात स्वरुप १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सहयोगको लागि मातहतका कम्पनीहरुलाई आह्वान गरेपछि उक्त कम्पनीले १० लाख रुपैयाँ सहयोगको घोषणा गरेको हो । ‘विभिन्न किसिममा कठिन घडीमा सामाजिक उत्तरदायित्व वहन गर्दै आएको हाम्रो कम्पनीले जाजरकोट भूकम्प पीडितलाई राहात वितरण गर्नको लागि राज्यको विपत कोषमा दश लाख रुपैयाँ सहयोगको घोषणा गरेका छौं’ कम्पनीका प्रबन्ध निर्देशक प्रतावजंग पाण्डेले भने । जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रबार राती ६ दशमलव ४ म्याग्निच्युडको विनाशकारी भूकम्प गएको थियो । उक्त भूकम्पले जाजरकोट र रुकुम पश्चिममा एक सयभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । भूकम्पबाट धेरै घरहरु भत्केका छन् । सयाैं मानिसहरु घाइते भएको हुन सक्ने प्रारम्भिक विवरणहरु आएका छन् । घाइतेको शिघ्र उपचार र पीडित परिवारहरुलाई आपत्कालिन सहयोगको लागि सरकारको राज्य कोषमा सहयोग गर्न लागिएको पाण्डेले बताए । त्यस क्षेत्रको पुर्ननिर्माणमा पनि सबै पक्षको सहयोग आवश्यक हुने उनले बताए ।
सरकारले भूकम्पका घाइतेहरुको उपचार निःशुल्क गर्ने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुममा भूकम्पमा परेर घाइते भएकाहरुको उपचार सरकारले निःशुल्क गर्ने बताउनुभएको छ । स्वास्थ्यमन्त्री बस्नेतले घाइतेहरुको उपचारका लागि स्वास्थ्यकर्मीहरुको टोली घटनास्थल पठाइसकिएको जानकारी दिँदै आवश्यकताअनुसार थप उपचारका लागि औषधिसहित चिकित्सकको टोली तयारी अवस्थामा राखिएको जानकारी पनि दिए। उनले भने, ‘त्यहीँ उपचार गर्नुपर्ने घाइतेहरुको उपचार त्यही गर्छौं, त्यहाँ उपचार सम्भव नहुनेलाई हेलिकप्टरबाट भए पनि सुविधासम्पन्न अस्पताल ल्याएर उपचार गर्छौं । उपचारमा कुनै कमी हुने छैन ।’ मन्त्री बस्नेतले प्राकृतिक विपत्तिका बेला सरकारले उपचारमा कुनै कमी हुन नदिने जानकारी दिए । उनले जाजरकोट र रुकुमका घाइतेको अवस्था हेरेर उपचारका लागि थप के गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयका विज्ञहरुसँग सल्लाह गरेर अगाडि बढ्ने जानकारी दिए ।
घाइतेको उद्धार र राहतमा कमी हुन नदिन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावितको उद्धार र उपचारमा कुनै कमी हुन नदिन आवश्यक निर्देशन दिएका छन् । गृहमन्त्रालयमा जारी आकस्मिक बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले सरोकारवाला सबैलाई उद्धार, राहत तथा खोजीमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका हुन् । गृह मन्त्रालयमा बसेको बैठकमा स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको उपस्थिति छ । गृह मन्त्रालयका प्रवक्ता नारायण भट्टराईले भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टोरमार्फत प्रारम्भिक राहत सामग्री पठाइसकिएको जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, रोल्पा, सुर्खेत, बाँके र दाङका टोलीहरू उद्धारमा खटिएको उनको भनाइ छ । भूकम्प प्रभावित क्षेत्रमा मेडिकल टोली परिचालित भइसकेको छ । सुरक्षा निकायको स्थानीय मेडिकल टिमका अतिरिक्त सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र सैनिक अस्पतालबाट गरी ११ जनाको मेडिकल टोली बिहानै स्काइ ट्रकमार्फत प्रभावित क्षेत्रमा पुगिसकेको छ । गए राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु बनाइ गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका कतिपय ठाउँमा मानवीय र भौतिक क्षति पुर्याएको छ ।
कांग्रेसद्वारा भूकम्प प्रभावितलाई ५० लाख सहयोग
काठमाडौं । नेपाली कांग्रेसले भूकम्प पीडितको उद्धार, राहत र पुनस्र्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । साथै कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल समेत गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । शुक्रबार राति ११ः४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो सङ्ख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएका छन् । कांग्रेसले उक्त घटनाले समस्त नेपालीलाई मर्माहत र दुःखी बनाएको उल्लेख गर्दै यस्तो समयमा सरकार, राजनैतिक दल, संघ–संस्था सबै एक भएर विपद्को सामना गर्न सबैमा अपिल गरेको छ ।
भारतीय प्रधानमन्त्रीद्वारा जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गए राति गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोगका लागि भारत सरकार तयार रहेको बताएका हुन् । प्रधानमन्त्री मोदीले भारत नेपाली जनतासँगै रहेको र आवश्यक सबै सम्भव सहयोग गर्न तयार रहेको पनि उल्लेख गरेका छन् । उनले भूकम्पमा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । साथै उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । गएरातिको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण विशेष गरी जाजरकोट र रुकुमपश्चिममा एक सयभन्दा बढीको ज्यान गएको छ भने भौतिक क्षति भएको छ ।