विकासन्युज

भूकम्पपीडितलाई २५ लाख सहयोग गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको उद्धार तथा राहतका लागि सरकारको राहत कोषमा रु. २५ लाख सहयोग गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको सचिवालयको बैठकले पार्टीका नेता तथा कार्यकर्ताबाट रकम संकलन गरेर भूकम्पपीडितलाई सहयोग गर्ने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार केन्द्रीय तथा प्रदेश सरकारका मन्त्री, सांसद, जनप्रतिनिधि एवं राजनीतिक नियुक्ति भएका व्यक्तिबाट १५ दिनबराबरको पारिश्रमिक पार्टीको राहत उपचार कोषमा जम्मा गर्नुपर्नेछ । भूकम्म प्रभावित क्षेत्रको राहत र उद्धार कार्य व्यवस्थापन, आवश्यक सहयोग तथा अनुगमन गर्नका लागि पार्टीका उपमहासचिव प्रकाश ज्वाला संयोजक रहने गरी एक कार्यदल गठन गरेको छ । कार्यदलमा सांसद अमरबहादुर थापा, नन्दा चपाईं र धनबहादुर बुढा, प्रदेश सांसद कल्याणी खड्कालगायत रुकुमपश्चिम र जाजरकोट जिल्लाका पार्टी अध्यक्षसहितको टोली रहने प्रवक्ता खतिवडाले जानकारी दिए । पार्टी महाधिवेशन आगामी माघमा गर्ने टुंगोमा पुगेको प्रवक्ता खतिवडाले बताए। उनले यसको तयारीबारे छलफल नभए पनि अधिवेशन काठमाडौंमा गर्ने निर्णय भएको बताए । पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितको १५ जनाको टोली मंगलबार चीन भ्रमणमा जाने जनाउँदै प्रवक्ता खतिवडाले उक्त भ्रमणले दुई देशको कम्युनिस्ट पार्टीबीच घनिष्ट सम्बन्ध विकास गर्ने विश्वास व्यक्त गरे । आजको बैठकमा मेचीदेखि महाकाली हुँदै सुर्खेतसम्म १५ दिने ‘समाजवादी जागरण यात्रा’बारे समीक्षा भएको छ। रोजगारी, सुशासन र समृद्धिका लागि राजनीतिक दलको तर्फबाट पहिलोपटक एक हजार दुई सय किलोमिटर लामो यात्रा सफलतापूर्वक सम्पन्न गरेको बैठकले निष्कर्ष निकालेको छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले ह्याम्स अस्पतालबाट सेवा दिने

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाले ह्याम्स अस्पतालमा पुन: सेवा दिने छन् । डा. कोइरालालाई अस्पतालका अध्यक्ष आरएस भण्डारी, कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्मा लगायतले आइतबार एक कार्यक्रमका बीच अस्पतालमा स्वागत गरेका छन् । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष हुनुपूर्व अस्पतालको प्रमुख सल्लाहकार रहेका डा. कोइरालाले काउन्सिलको जिम्मेवारी सम्हालेलगत्तै ह्याम्सबाट सेवा बन्द गरेका थिए । काउन्सिलमा आफ्नो ४ वर्षे कार्यकाल पूरा गरिसकेपछि डा. कोइराला पुन: ह्याम्समा फर्किएका हुन् । अब उनले ह्याम्समा प्रत्येक दिन २ बजेदेखि सेवा दिने छन् । कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले डा. कोइरालालाई अस्पतालमा पाउँदा हर्षित हुनुका साथै कार्डियाक विभाग अझ प्रभावशाली हुने विश्वास गरेका छन् । डा. कोइरालालाई अस्पतालमा स्वागत गर्दै अध्यक्ष आर. एस. भण्डारीले ह्याम्स अस्पताल सम्पुर्ण मुटु उपचारको उत्कृष्ट केन्द्रका रुपमा सञ्चालन भएको बताए । उनले मुटुको सबै विधाका दक्ष र अनुभवी चिकित्सकहरूको टिम ह्याम्स अस्पतालमा रहेको बताए । डा. कोइरालाले आफू जहाँ रहे पनि विरामीको उपचार पहिलो प्राथमिकता भएको भन्दै राम्रो टिम भएको ह्याम्समा फेरि जोडिन पाउँदा खुशी लागेको बताए । गत साउन ९ गतेबाट त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानबाट उमेरका कारण अवकाश पाएका डा. कोइराला अवकासपछि अहिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको शैक्षिक कार्यक्रममा भिजिटिङ प्रोफेसरका रुपमा समेत आवद्ध छन् । त्यसैगरी अस्पतालले डा. रोशन राउतको नेतृत्वमा यस अस्पतालमा ४ वर्ष देखि मुटु उपचारको एउटा विधा ईलेक्टोफिजियोलोजी अन्तर्गत ‘थ्रिडी म्यापिङ’ को सेवा नेपालमा अत्याधुनिक प्रविधिसहित दिइरहेको जानकारी उनले जानकारी दिए । हाल ह्याम्स अस्पतालमा कार्डियाक सर्जन डा. कोइराला सहित कार्यकारी निर्देशक समेत रहेका वरिष्ठ कार्डियाक सर्जन डा. ज्योतिन्द्र शर्मा, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादव देव भट्ट, डा. मान बहादुर केसी, डा. रोशन राउत तथा डा. दिवाकर शर्मा लगायतको टिमले मुटुरोग विभागबाट सम्पुर्ण सेवा दिइरहेका छन् । विगत २६ वर्षदेखि स्वास्थ्य सेवा प्रवाह गर्दै आईरहेको यस अस्पतालमा प्रो.डा.अर्जुन कार्की तथा डा.सबिन कोइरालाको नेतृत्वमा अत्याधुनिक आइसीयू सेवा संचालनमा रहेको छ । त्यसैगरी अस्पतालमा डा.भोला रिजाल तथा प्रो.डा.पदम राज पन्तको नेतृत्वमा प्रसूति तथा स्त्रीरोग र आई.भि.एफ.सेवा, डा.कपिलमणि के.सी. तथा डा.भाष्कर राज पन्तको नेतृत्वमा हाडजोर्नी तथा नशा रोग सेवा संचालनमा रहेको, डा.राजु पंगेनी तथा डा.रक्षा पाण्डेको नेतृत्वमा छातीरोग सेवा दिइरहेको छ । त्यस्तै डा.प्रकाश विष्ट, डा.मनोज बोहोरा र डा.कृष्ण ढुङ्गानाको नेतृत्वमा न्यूरो विभाग, डा.प्रकाश काफ्लेको नेतृत्वमा नाक, कान घाँटी, डा.प्रकाश सायमीको नेतृत्वमा थाइराईड तथा ब्रेष्ट सर्जरी, डा.प्रबिन बिक्रम थापा, डा.अनुज पराजुली र डा.विवेक पुर्बेको नेतृत्वमा जनरल सर्जरी सेवा संचालनमा रहेको छ। २०० भन्दा बढी विशेषज्ञ चिकित्सकहरुद्वारा सेवा दिइरहेको छ।

काठमाडौं महानगरले पठायो भूकम्पीडितलाई राहत सामग्री

काठमाडौं । काठमाडौं महानगरले भूकम्पपीडितलाई राहत सामग्री पठाएको छ । महानगरका प्रमुख बालेन्द्र शाहले महानगरले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई राहत सामग्री पठाएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । मेयर शाहले आवश्यक परेमा महानगरले इन्जिनियरिङ र प्राविधिक सहयोग समेत पठाउने बताएका छन् ।

अब ब्याजदर घट्दै जान्छ, बैंकले प्रिमियम घटाउन थालिसके : अध्यक्ष केसी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकको ब्याजदर घट्दै जाने बताएका छन् । बैंकर्स संघको आयोजनामा सोमबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले बैंकको ब्याजदर क्रमशः घट्दै जाने बताएका हुन् । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)समेत रहेका केसीले बैंकहरुको खराब कर्जा बढेका कारण पहिलो त्रैमासमा १६ अर्ब रुपैयाँ प्रोभिजन गर्नु परेको बताए । जबकी गत वर्षको सोही अवधिमा ७ अर्ब रुपैयाँ मात्रै प्रोभिजन गरेका थिए । विश्वव्यापी रुपमा बढेको उच्च ब्याजदरका कारण १३ बैंकको नाफा घटेको उनको भनाइ छ । ‘बैंकहरुको रिकभरी नहुँदा खराब कर्जा बढेको छ, गत वर्ष ७ अर्ब मात्रै प्रोभिजन गरेकोमा यस वर्ष १६ अर्ब गर्नु परेको छ,’ उनले भने, ‘बैंकहरुले व्यवसाय पनि विस्तार गर्न सकेका छैनन्, विश्वव्यापी रुपमा बढेको उच्च ब्याजदर, बिजनेस डाउन लगायत कारणले नाफामा प्रभाव परेको हो ।’ निजी क्षेत्रको ब्यापार व्यवसाय सुस्ताएका कारण त्यसको प्रभाव स्वतः बैंकहरुमा परेको उनको भनाइ छ । पछिल्लो समय बैंकहरुले १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन बढाएर ८४ अर्ब रुपैयाँ कर्जा बढाएको उनको भनाइ छ । गत वर्ष बैंकहरुको औसत खराब कर्जा २.९८ प्रतिशत रहेकोमा बढेर असोज मसान्तसम्म खराब कर्जा ३.६१ प्रतिशत पुगेको उनले बताए । ‘बाहिरका देशहरुमा पनि खराब कर्जा धेरै बढेको देखिन्छ, अब कसरी सुधार गर्ने भनेर हामीले काम गरिरहेका छौं,’ उननले भने, ‘खराब कर्जा्प्ररति सजग बन्नु पर्छ तर डराउनु पर्ने अवस्था छैन ।’ हिमालयन बैंकका सीईओ अशोक राणाले पनि बैंकको ब्याजदर घट्दै जाने बताए । राष्ट्र बैंकको नीतिले ब्याजदरमा प्रभाव पारेको उनको भनाइ छ । ‘अब ब्याजदर घट्ने देखिन्छ, राष्ट्र बैंकको नीतिले ब्याजदरमा प्रभाव परिरहेको छ, तल जान सक्छ माथि जाने सम्भावना छैन,’ उनले भने । उनका अनुसार बैंकहरुले रिकभरीमा बढी प्राथमिकता दिएका छन् ।

तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँध निर्माण गर्न सेती नदी फर्काइयो

काठमाडौं । १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदीलाई फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई १४० मि. अग्लो कंक्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको छ । डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको छ । जिल्ला समन्वय समिति,तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर लि. सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ, तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र एशियाली विकास बैंकका वरिष्ठ निर्देशक (ऊर्जा) प्रियन्था विजयतुङ्गाले सोमबार बेलुन उडाएर नदी फर्काउने कार्यको सुभारम्भ गरेका हुन् । अब मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका लागि करिब ४० मिटर अग्लो अस्थायी कंक्रिट बाँध (कफर ड्याम) निर्माण गरिने छ । उक्त बाँध आगामी मनसुन सुरु हुनुभन्दा पहिले नै निर्माण सक्ने गरी काम भइरहेको छ । कार्यकारी निर्देशक घिसिङले नदी फर्काउने कार्य आयोजना निर्माणका लागि एउटा महत्पूर्ण कोशेढुङ्गा र फड्को भएको बताए । विगतमा परामर्शदाता र निर्माण व्यवसायी छनोटमा केही ढिलाइ भएतापनि अहिले नमुना आयोजनाको रुपमा अगाडि बढाउने गरी काम भइरहेको उल्लेख गर्दै घिसिङले समयमै सम्पन्न गर्ने गरी तदारुकताकासाथ काम भइरहेको बताए । आयोजनाको समग्र निर्माण प्रगति करिब ४६ प्रतिशत रहेको छ । समग्र निर्माण २०८३ असारभित्र (सन् २०२६ मे) सक्ने लक्ष्य राखिएको छ । जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले आयोजनाले महत्वपूर्ण चरण पार गरेको बताउँदै आयोजना जतिसक्दो छिट्टो निर्माण सम्पन्न हुनु पर्नेमा जोड दिए । उनले निर्माणमा आइपर्ने स्थानीय समस्याहरुलाई संयुक्त रुपमा समाधान गरी निर्माणमा अवरोध हुन नदिने प्रतिबद्धता जनाए । व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले निहीत स्वार्थका व्यक्तिहरुबाट सतर्क भएर आयोजनालाई तोकिएकै समयमा सम्पन्न गरिनु पर्ने बताए । भिमाद नगरपालिका प्रमुख दधिराज सुवेदीले देशमा केही नभएको भन्ने जताततै गुनासो सुनिरहेका वेलामा आयोजना निर्माण नयाँ चरणमा प्रवेश गरी सकारात्मक सन्देश दिएको बताए । तनहुँका प्रमुख जिल्ला अधिकारी रिजालले तनहुँ जलविद्युतको प्रकृति, लागत, यसले सिर्जना गर्ने रोजगारीलगायतका आधारमा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गरिनु पर्ने बताए । उनले स्थानीय तह र प्रशासनको समन्वयकारी भूमिका कारण आयोजना हालको अवस्थामा पुगेको बताए । एडिबीका वरिष्ठ निर्देशक (ऊर्जा) प्रियन्था विजयतुङ्गाले कालीगण्डकी जलविद्युत निर्माण सम्पन्न भएपछि बैंकले तनहुँ जलविद्युतमा लगानी गरेको उल्लेख गर्दै आयोजनाले अवलम्बन गरेका सामाजिक र वातावरणीय सुरक्षणका क्रियाकलापलाई नमुनाको रुपमा दूधकोशी जलविद्युत आयोजनामा लागू गर्न सकिने बताए । उनले विगत वर्षदेखि नेपालको ऊर्जा क्षेत्रमा गर्व गर्न लायक कामहरु भएको बताउँदै दूधकोशी जलविद्युतजस्ता ठूलो आयोजनाहरुमा एडिबीले लगानी गर्न लागिरहेको उल्लेख गरे । तनहुँ हाइड्रोपावर लि.का प्रवन्ध– निर्देशक किरण कुमार श्रेष्ठले कुलेखानीपछि बन्न लागेको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रीत गरिएको बताए । उनले आयोजना निर्माणमा स्थानीय तह,प्रशासन, स्थानीय बासिन्दालगायत सबैको साथ र सहयोग रहेको उल्लेख गरे । आयोजनाको मुख्य निर्माण कार्यलाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । प्याकेज–१अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्रलि नेपाल जेभीसँगको ठेक्का सम्झौता १४ भदौ २०७८बाट कार्यान्वयनमा आएको थियो । निर्माण व्यवसायीले हाल अर्को डाइसर्भन सुरुङ र मुख्य बाँध निर्माणका लागि सेती नदीको दायाँ तथा वायाँतर्फबाट पहाड (स्लोप) काट्ने कार्य गरिरहेको छ । उक्त कार्यको प्रगति करिब ५४ प्रतिशत छ । प्याकेज–१को समग्र प्रगति २५ प्रतिशत छ । आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२को निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग १५ असोज २०७५मा खरिद सम्झौता भएको थियो । निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौता वमोजिम निर्माण कार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात सिनो हाइड्रोले ६ माघ २०७५ बाट आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ । भूमिगत विद्युतगृह खन्ने कार्य सम्पन्न गरी कंक्रिटिङ तथा टर्वाइनलगायतका उपकरणहरु जडान भइरहेको छ । टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ मुख्य सुरुङ खनिरहेको छ । यस प्याकेजको सिभिलतर्फको निर्माण प्रगति ७० प्रतिशतभन्दा बढी छ भने समग्र प्रगति करिब ४७ प्रतिशत छ । प्याकेज–३अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेशनल लिमिटेड, भारतसँग मिति १० पुस २०७५मा भएको खरिद सम्झौता १० फागुन २०७५मा कार्यान्वयनमा आएको थियो । ३४।७ कि।मि। प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ६९ वटा टावरहरुको जग हालिएको छ भने ३३ वटा टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ६९ प्रतिशत रहेको छ । आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत तनहुँ जिल्लामा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय मार्फत तनहुँ ग्रामिण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ । यसअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सबस्टेसनहरुसम्म विद्युत् पुर्याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँ जिल्लाको विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँहरुमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मरहरु जडान र ११ केभी लाइन निर्माण गरिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबिले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

भाइटिकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेट जाँदा

काठमाडौं । भाइटिकाको उत्तम साइत २९ गते बिहान १० बजेर ५१ मिनेट जाँदा भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले विज्ञप्ति जारी गर्दै यो वर्षको भाइटिकाको शुभ साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेट जाँदा भएको जनाएको हो ।

भूकम्प पीडितलाई इक्यानको ५ लाख सहयोग

काठमाडौं । जाजरकोटका भूकम्प पीडितलाई नेपाल शक्षिक परामर्श संघ (इक्यान) ले ५ लाख ६ हजार रुपैयाँ सहयोगको घोषणा गरेको छ । इक्यानले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभावित परिवारमा राहत उपलब्ध गराउने उद्देश्यले इक्यानको कोषबाट ३ लाख १ हजार र कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूबाट २ लाद ५ हजार गरी एकमुष्ठ ५ लाख ६ हजार रुपैयाँको कोष स्थापना विज्ञप्तिमार्फत जानकारी गराएको छ । इक्यानले आफ्ना सम्पूर्ण सदस्य, शुभचिन्तक एवं जनसमुदायलाई उद्धार र राहत सहयोग गर्न अपिल गर्दै आर्थिकरूपमा इक्यानको कोषमा रकम जम्मा गरिदिन समेत आग्रह गरेको छ । यसरी सहयोग गर्न चाहनेहरूले इक्यानको एनएमबी बैंकमा रहेको आधिकारिक खाता नम्बर ०२३००४५२६८५०००१२ वा इसेवा नम्बर ९८४१३६०७२० मा जम्मा गर्न पनि आग्रह गरेको छ । यस विषयमा अन्य जानकारीका लागि अध्यक्ष शेषराज भट्टराई (९८५१०९०८४२), महासचिव दीपकराज भुसाल (९८५१०३१९०६), कोषाध्यक्ष आशिक कार्की, सामाजिक उत्तरदायित्व विभागका संयोजक उमा खड्का पाठक (९८४१६१७७१०) तथा इक्यान कार्यालयका कर्मचारी रुद्रप्रसाद रेग्मी (९८४१३६०७२०), प्रतिक अर्याल (९८१३१३६०८२) लाई सम्पर्क राख्न अनुरोध गरेको छ । इक्यानले भूकम्पबाट ज्यान गुमाएका परिवारप्रति समवेदना र घाइतेहरूको स्वस्थ लाभको कामनासमेत गरेको छ ।

एशिएन बैंकर संघको सम्मेलन कात्तिक २३ र २४ गते काठमाडौंमा

काठमाडौं । एशिएन बैंकर एसोशिएसनले काठमाडौंमा दुई दिने सम्मेलन गर्ने भएको छ । नेपाल बैंकर संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै कात्तिक २३ र २४ गते ‘रोडम्याप फोर रिकभरी एशिएन बैंकिङ इण्डष्ट्री’ विषयमा सम्मेलन गर्ने जानकारी दिएको हो । उक्त सम्मेलन बिहान साढे ८ बजेदेखि सुरु हुने छ । सम्मेलनमा बैंकिङ्ग क्षेत्रको अबको बाटो, डिजिटल ट्रान्सफोर्मेसन, वातावरणीय, सामाजिक गभर्नेन्स विषयमा छलफल हुने छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले सम्मेलन आयोजनाको तयारी भइरहेको बताएको छ । सम्मेलनमा एशिया क्षेत्रका बैंकरहरुको उपस्थिती रहने छ । एशियन बैंकर्स संघको केन्द्रीय कार्यालय ताइवानमा छ । यस संघको २५ देशमा ६० सदस्य रहेका छन् । यस संघमा एशिया क्षेत्रका मात्रै बैंकहरु सदस्य रहन्छन् ।