जाजरकोट भूकम्प : मृत्यु हुनेको सङ्ख्या १०१ पुग्यो
काठमाडौं र जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक सय एक कायम भएको छ । यसअघि जाजरकोटमा मात्र १०५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको थियो । जाजरकोटको नलगाड नगरपालिकाका तीन जनाको ठेगाना फरक परेको र अर्को एक जनाको नागरिकता र बोलाउने नाम छुट्टाछुट्टै रहेकाले मृत्यु हुनेको सङ्ख्या घटेको जिल्ला प्रहरी प्रमुख सन्तोष रोकामगरले बताए । यसअघि नलगाड नगरपालिकामा ५५ जनाको मृत्यु भएको तथ्याङ्क प्रहरीले दिएको थियो । अहिले नलगाडमा ५१ जनाको मृत्यु भएको सङ्ख्या यकिन भएको प्रमुख रोकामगरले बताए , उनले भने, “हामीले प्रारम्भिक तथ्याङ्कअनुसार एक सय ५७ मृतक घोषणा गरेका थियौँ । तर अहिले सबैतिरबाट भेरिफाइ गरेपछि केही नाम र ठेगाना भएको मृतकहरू दोहोरिएकाले मृतक सङ्ख्या घटेको हो ।” प्रमुख रोकामगरका अनुसार नलगाड नगरपालिका–८ की सरिता सिंह, नलगाड–७ का रेगम सिंह, नलगाड–१२ की मीना बिष्टको नाम दोहोरिएको थियो । टेकबहादुर पुन व्यक्ति एउटा मात्र रहेका तर नाम दुई स्थानमा उल्लेख हुँदा सङ्ख्या दोहोरिएको थियो । जाजरकोटको भेरी नगरपालिकामा ४२ जनाको मृत्यु भएको छ । त्यसमध्ये २८ महिला र १४ पुरुष छन् । जाजरकोटकै नलगाड नगरपालिकामा ५१, कुशे गाउँपालिकामा सात र छेडागाड नगरपालिकामा एकजना गरी एक सय एकजनाको मृत्यु भएको हो । त्यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । दुवै जिल्लामा गरेर ज्यान गुमाउनेको सङ्ख्या जम्मा १५३ मात्र निश्चित भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।
म्युचुअल फण्डलाई सेबोनको कडाई, ६ महिनासम्म आईपीओको सेयर बेच्न नपाउने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सामुहिक लगानी कोष (म्युचुअल फण्ड)लाई कडाई गरेको छ । सोमवार निर्देशन जारी गर्दै म्युचुअल फण्डलाई आईपीओ बाँडफाँट भएको मितिले ६ महिनासम्म बिक्री नगर्न सेबोनले निर्देशन दिएको हो । सामूहिक लगानी कोष नियमावली, २०६७ को व्यवस्था बमोजिम आईपीओमा म्युचुअल फण्डले ५ प्रतिशत आरक्षण पाउँदै आएका छन् । उक्त आईपीओ खरिद गरेका म्युचुअल फण्डहरुले कात्तिक २१ गतेदेखि लागू हुने गरी ६ महिनासम्म बिक्री नगर्न निर्देशन दिईएको सेबोनका उपकार्यकारी निर्देशक अम्बिका प्रसाद गिरीले जानकारी दिए । ‘संगठित संस्थाको सार्वजनिक निष्काशन गरिने धितोपत्रको कम्तिमा ५ प्रतिशत धितोपत्र सामूहिक लगानी कोषको लागि छुट्टयाउनु पर्ने सामूहिक लगानी कोष नियमावली, २०६७ को व्यवस्था बमोजिम सामूहिक लगानी कोषले खरीद गरेको धितोपत्र संगठित संस्थाले सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरी बाँडफाँड भएको मितिले ६ महिना पुरा नभएसम्म बिक्री वा हस्तान्तरण गर्न पाउने छैन,’ सेबोनले जारी गरेको निर्देशनमा उल्लेख छ । तर, यसरी खरीद गरेको धितोपत्र बाँडफाँड भएको मितिले ६ महिना भित्र नै योजनाको निर्धारित समयावधि समाप्त हुने वा योजना खारेज हुने अवस्थामा उक्त अवधि भित्र सामूहिक लगानी कोषको स्वामित्वमा रहेको धितोपत्र बिक्री तथा हस्तान्तरण गर्न बाधा नपुग्ने सेबोनले बताएको छ । धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ८७ बमोजिम सिडिएस एण्ड क्लियरिङ्ग र सम्पूर्ण योजना व्यवस्थापकहरुलाई सो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
सुरुवातमै लघुबीमाको उत्साहजनक व्यवसाय, मंसिरदेखि थप ‘पिकअप’ लिने अपेक्षा
काठमाडौं । बीमाको दायरा बढाउन नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीको अवधारणा अघि सार्याे । सोही अनुसार प्राधिकरणले ७ वटा कम्पनीलाई लघुबीमाको कारोबार गर्न अनुमति दिएको छ । जसमध्ये हाल विभिन्न ४ वटा कम्पनीले आफ्नो व्यवसाय सुचारु गरिसकेका छन् । नेपाल माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाईफ इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले बीमा कारोबार गरिरहेका छन् भने लिवर्टी माइक्रो लाईफ इन्स्योरेन्स, ट्रष्ट माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले भने तयारीमा छन् । हाल बीमा कारोबार सुचारु गरेका बीमा कम्पनीहरुको सुरुवाती चरणमा व्यवसाय विस्तार उत्साहजनक रहेको बीमक बताउँछन् । गरिब, विपन्न वर्ग र कम आम्दानी भएका वर्गले बीमा गर्ने भएकाले सचेतनाको अभाव रहेतापनि दीर्घकालमा राम्रो हुने उनीहरुको तर्क छ । सुरुवाती चरण भएकाले एकैपटक ठूलो छलाङ नमार्ने भएकाले भविष्यमा आफ्नो उद्देश्य पुरा गर्न लघुबीमा कम्पनी अघि बढिरहेको लघुबीमाकर्मीहरुको भनाइ छ । नेपाल माइक्रो इन्स्योरेन्सका सूचना अधिकारी सुशन थापा लघुबीमा कम्पनीको व्यवसाय राम्रो भइरहेको बताउँछन् । हाल शाखा सञ्जाल विस्तारको क्रममा रहेकाले लघुबीमाप्रति जनताको आकर्षण बढ्दो रहेको उनको भनाइ छ । साथै, बीमा प्राधिकरणले पनि थप प्रडक्ट बिक्रीका लागि स्वीकृति दिइरहेकोले व्यवसाय गर्न सहज हुने उनले बताए । ‘लघुबीमा कम्पनी शाखा कार्यालय बिस्तार गरिरहेका छन्, बीमा प्राधिकरणले पनि क्रमिक रुपमा प्रडक्ट बिक्रीका लागि स्वीकृत दिइरहेको छ,’ उनले भने, ‘प्रारम्भिक चरणमा व्यवसाय राम्रो छ, अपेक्षा गरेअनुसार नै लघुबीमाको व्यवसाय भइरहेको छ, थप शाखा बिस्तार गर्ने तयारी भएकाले आगामी दिनमा व्यवसाय वृद्धि हुने आशा छ ।’ उनका अनुसार हाल प्राधिकरणले व्यावसायिक सवारी साधन दुई पाँग्रे र सम्पत्ति बीमा गर्न अनुमति दिएको छ । कृषि बीमा लगायतको प्रडक्ट जारी गर्न प्राधिकरणको स्वीकृति अन्तिम चरणमा रहेको उनको भनाइ छ । नेपाल माइक्रो इन्स्योरेन्सले गुर्जुधारा थर्डपार्टी काउन्टर र नेपालगन्ज शाखा सञ्जाल विस्तार गरी बीमा गरिरहेको उनले बताए । थप ४ ठाउँमा शाखा विस्तारको तयारी रहेको उनकाे भनाइ छ । शाखा कार्यालय विस्तारसँगै जनशक्ति पनि भर्ना गरिरहेको उनले बताए । ‘पूर्वको इटहरी, हेटौंडा, वीरगञ्ज र बनेपामा शाखा विस्तार गर्दैछौं, हालसम्म कम्पनीले ३० लाख रुपैयाँसम्मको प्रिमियम संकलन गरेको छ, शाखा कार्यालय विस्तार भएपछि थप प्रिमियम संकलन बढाउँछौं,’ उनले भने । नेपाल माइक्रोका सीईओ मृगेन्द्रनाथ रिमाल भने कृषि बीमा गर्न अनुमति पायो भने व्यवसाय विस्तारमा छलाङ मार्ने बताउँछन् । हाल बिक्री गरिरहेको प्रडक्टबाट पनि लघुबीमा कम्पनीको व्यवसाय विस्तारमा हौसला छाएको उनको भनाइ छ । ‘मुख्य प्रडक्ट कृषि क्षेत्रको हो, त्यो नै हामीले बिक्री गर्न पाएका छैनौं, जतिपनि प्रडक्ट आएका छन्, त्यो प्रडक्ट बिक्री गर्दा उत्साहजनक नै छ, कृषि बीमा गर्न पायौं भने बीमा लेखको संख्या बढि हुन्थ्यो,’ उनले भने, ‘कम्पनीले दैनिक औषत ७५ वटासम्म बीमा लेख जारी गरिरहेको छ ।’ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका सीईओ चिरायु भण्डारी लघुबीमा कम्पनीहरु भर्खर बामे सर्दै गरेकाले सुरुवाती चरण उत्साहजनक नै रहेको सुनाउँछन् । लघुबीमा कम्पनीहरुले डिजिटल माध्यमबाटै बीमा लेख जारी गरिरहेको उनको भनाइ छ । ‘भर्खर जन्मेको मान्छे दौडिन सक्दैन, बामे सर्ने हो, लघुबीमा कम्पनी पनि बामे सरिरहेका छन्, हाल एउटा प्रडक्टको मात्रै कारोबार अनुमति छ, अन्य प्रडक्ट स्वीकृतका लागि प्राधिकरणमा निवेदन पेश गरेका छौं,’ उनले भने, ‘सुरुवाती चरण भएपनि सोचेअनुरुप काम भइरहेको छ, डिजिटल माध्यमबाटै बीमा पोलिसी जारी गर्न मिल्ने भएकाले सहज भइरहेको छ, जुनसुकै बेला जहाँबाट पनि बीमा लेख खरिद गर्न सकिन्छ ।’ उनका अनुसार गार्डियन माइक्रोले ९ वटा शाखा कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ । साथै, थप शाखा विस्तारको तयारी भइरहेको उनको भनाइ छ । हालसम्म कम्पनीले १८ सय पोलिसी बिक्री गरेर २५ लाख रुपैयाँ बराबर प्रिमियम संकलन गरेको उनले बताए । दैनिक २०/२५ वटा पोलिसी बिक्री भइरहेको उनको भनाइ छ । बीमा सम्बन्धी सचतेना अभाव हुँदा व्यवसाय विस्तारमा भने चुनौति रहेको उनले बताए । ‘बीमा सचेतना अभाव छ, बीमा गर्नु पर्छ भन्ने अवधारणा नै छैन, एजेन्टले जोडबल गरेर, कर तिर्नका लागि गर्नै पर्ने बाध्यता भएर, पुराना कम्पनीले गरेको आधारमा गरेको देखिन्छ,’ उनले भने, ‘भित्री आत्मादेखि बीमा गर्नु पर्ने सोच छैन, साथै कम आम्दानी भएको ब्यक्तिको बीमा गर्नु पर्ने भएकाले दैनिक ज्यालामजदुरी गरेर खाने कि बीमा गर्ने भन्ने समस्या छ ।’ प्रोटेक्टिभ माइक्रो लाइफ इन्स्योरेन्सका सीईओ नरेश रोक्का लघुबीमा कम्पनीहरुले सुरुवाती चरणमा उत्साहजनक प्रतिक्रिया पाइरहेको बताउँछन् । जुन उद्देश्यका लागि लघुबीमा ल्याइएको हो सो प्राप्त गर्न आफूहरु सक्रिय भएर काम गरिरहेको उनको भनाइ छ । ‘लघुबीमाको व्यवसाय भयंकर उत्साहजनक छ, सुरुवातमै निराशाजनक भयो भने गन्तव्यमा पुग्न सकिँदैन, बजारले सकारात्मक प्रतिक्रिया दिएको छ,’ उनले भने, ‘लक्ष्यमा पुग्न अझै बाँकी छ, शाखा विस्तारदेखि सबै स्थानीय तहमा पुग्ने तयारी छ, भर्खर उदाउँदै गरेको सुर्यको किरणहरुले आजको दिन झलमल्ल हुन्छ भन्ने संकेत गरेजस्तै लघुबीमाको व्यवसाय वृद्धि भइरहेको छ ।’ उनका अनुसार कम्पनीले हालसम्म १ करोडभन्दा बढीको प्रिमियम संकलन गरिसकेको छ । कम्पनीले बिर्तामोड, भैरहवा, लम्की, डडेल्धुरा, दार्चुला लगायतका क्षेत्रमा शाखा विस्तार गरिरहेको र जनशक्ति भर्नाको काम भइरहेको उनले बताए । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका सीईओ प्रताप मान श्रेष्ठले लघुबीमाप्रति स्थानीय स्तरमा उत्साहजनक प्रतिक्रिया पाएको बताए । तर, पुराना कम्पनीको हेर्ने नजर फरक रहेको र लघुबीमा निर्देशिका अनुसार काम नहुँदा व्यवसाय विस्तारमा समस्या भइरहेको उनको भनाइ छ । ‘गरिब विपन्न वर्गले बीमा गर्छन्, पुराना कम्पनीलाई व्यवसाय खोस्ने डर छ। तर, ठूला कम्पनीहरुसँग लघुबीमा कम्पनीको प्रतिस्पर्धा छैन, विजनेश खोस्नेभन्दा पनि बीमाको दायरा बढाउन लघुबीमा ल्याइएको हो,’ उनल भने, ‘हामी पनि ट्रेडिसनल बीमा कम्पनीबाट नै आएका हौं, लघुबीमा निर्देशिका अनुसार काम गरिरहेका छौं तर अहिलेसम्म एउटा प्रडक्टको मात्रै बीमा गर्न दिएको छ ।’ उनका अनुसार मंसिरदेखि लघुबीमा कम्पनीहरुले पिकअप लिने देखिन्छ । कम्पनीले १६ वटा शाखाबाट सेवा प्रदान गरिरहेको उनले बताए । हालसम्म १२ सय पोलिसी बिक्री गरेर साढे १३ लाख रुपैयाँ बराबरको कारोबार भएको उनको भनाइ छ ।
रिलायबल इन्स्योरेन्सद्वारा एक करोड मृत्यु दाबी भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १ करोड २ लाख रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीको गैँडाकोटस्थित शाखाबाट शाखाबाट मृतक बीमितको परिवारलाई मृत्यु दाबीको रकम भुक्तानी गरिएको हो । गएको वैशाख २४ गते दुर्घटनामा ज्यान गुमाएका बीमित प्रदीप ज्ञवालीकाको बीमांक रकम उनको हकवाला आमा टिका कुमारी घिमिरेलाई दिइएको हो । उक्त दाबी भुक्तानी कार्यक्रममा कम्पनीका तर्फबाट गैँडाकोट शाखा प्रमुख नारायण पौडेल, गैडाकोट नगरपालिकाका वडा अध्यक्ष विनोदकुमार मल्ल ,एजेन्सि म्यानेजर नवराज पौडेल, लिलाधर कंडेललगायत स्वर्गीय ज्ञवालीको परिवार, छिमेकी र जनप्रतिनिधिको उपस्थितिमा रकम हस्तान्तर गरिएको थियो ।
कुमारी बैंकले तिहार र छठ पर्वमा ल्यायो क्यासब्याक अफर
काठमाडौं । कुमारी बैंकले नेपालीहरुको चाड तिहार र छठलाई लक्षित गर्दै हर्षोल्लासका साथ आकर्षक ‘क्यासब्याक अफर’ योजना सार्वजनिक गरेको छ । नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंकले ‘क्यासब्याक अफर’ योजना ल्याई तिहार र छठको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको छ । यस योजनामा हरेक दिन पहिलो ५० जनालाई मोबाइल बैंकिङ्ग मार्फत क्युआर र पहिलो ५० जनालाई कार्डबाट भुक्तानि कारोबार गर्दा बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपैया सम्म क्यास ब्याक दिइने छ । क्यास ब्याक रकम पोस, क्युआर पेमेन्ट तथा अनलाइन पेमेन्ट बाट गरीने कारोबारमा प्रदान गरिनेछ । चाडबाडको यस अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी कार्तिक २६ देखि मंसिर ३ गते सम्म लागु हुने जनाएको छ । बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालय बाहेक), ४८ वटा विस्तारित काउन्टर, ३०९ एटिएम, र ६४ शाखारहित बैंकिङ्ग एकाइहरू सहितको आफ्नो बृहत सञ्जाल सहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।
कामना सेवा विकास बैंकको रक्तदानसहित विभिन्न कार्यक्रम सम्पन्न
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६औं वर्ष पूरा गरी १७औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा आफ्ना सम्पूर्ण क्षेत्रिय कार्यालयहरूमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकको केन्द्रीय कार्यालय, ज्ञानेश्वरमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ५६ पिन्ट, कोशी प्रदेशको विराटचोक शाखामा भएको रक्तदान कार्यक्रममा ४० पिन्ट, मधेश प्रदेशको विरगञ्ज शाखामा भएको रक्तदानमा २३ पिन्ट, बर्दिबास शाखामा भएको रक्तदानमा ३० पिन्ट, नारायणगढ क्षेत्रको खैरहरी पर्सा शाखामा भएको रक्तदानमा ११० पिन्ट, पोखरा क्षेत्रको प्रस्र्याङ्ग शाखामा भएको रक्तदानमा ४६ पिन्ट र पश्चिम क्षेत्रको नेपालगञ्ज शाखामा भएको रक्तदानमा ३६ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ । सोही कार्यक्रम अन्तर्गत गत शनिवार बुटवल क्षेत्रको बुटवल शाखामा भएको रक्तदानमा ७६ पिन्ट रगत संकलन भएको थियो । यसरी बैंकले कुल ४१७ पिन्ट रगत संकलन गरेको जनाएको छ । वार्षिकोत्सवको शुभ अवसरमा बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा रहेको प्रहरी कन्ट्रोल रुमको सवलीकरण कार्यक्रम समेत सम्पन्न गरेको छ । उक्त कन्ट्रोल रुमको सवलीकरण सम्पन्न गरि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापालाई बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रहरी कन्ट्रोल रुमको सवलीकरण गरिदिएकोमा धन्यवाद ज्ञापन गर्नुका साथै प्रहरी कन्ट्रोल रुमको सेवा समेत छिटो र छरितो हुन थालेको बताए । वार्षिकोत्सवकै कार्यक्रम अन्तर्गत बैंकले कोशी प्रदेशको विराटचोकमा रहेको सुकुना बहुमुखी क्याम्पसमा रु.५० हजार रुपैया वरावरको छात्रवृत्ती समेत प्रदान गरेको छ । उक्त छात्रवृत्ती रकम क्याम्पसको व्यवस्थापन संकायमा अध्ययनरत १० जना जेहेन्दार विद्यार्थीहरुलाई प्रदान गरिने क्याम्पसका सहायक क्याम्पस प्रमुख बलराम पोख्रेलले बताए । बैंकले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रम सहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गरिरहेको छ । बैंकले गत शुक्रबारदेखि विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ । आगामी विहीबारसम्म बैंकले विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।
इसेवाले क्यानलाई दियो मेडिकल किट
काठमाडौं । भुक्तानी प्रणाली सेवा प्रदायक इसेवाले नेपाल क्रिकेट संघ ‘क्यान’लाई विभिन्न किसिमका मेडिकल किट प्रदान गरेको छ । इसेवाले एक कार्यक्रमको आयोजना गरेर क्यानलाई मेडिकल किट प्रदान गरेको हो । क्यानलाई मेडिकल किट इसेवाका, प्रमुख बिजनेस अफिसर आशिष गौतम र चिफ स्ट्राटेजी अफिसर रबी शाक्यले हस्तान्तरण गरे । कार्यक्रममा खेलाडी सोमपाल कामी र आशिफ शेखलाई नगद ५० हजार हजारका दरले उपहार पनि हस्तान्तरण गरिएको थियो । सो उपहार खेलाडीहरुले एसिया कपमा गरेको प्रदर्शनको आधारमा दिइएको इसेवाले जनाएको छ । नेपाली खेलकुदको प्रवद्र्धन गर्नका लागि इसेवाले विभिन्न किसिमका सहयोग उपलब्ध गराउँदै आएको छ । नेपाल र नेपानी खेलकुदलाई माथि उठाउन इसेवाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व रकम मार्फत निरन्तर सहयोग प्रदान गर्दै आएको जनाएको छ । हाल एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७८ लाख ग्राहकले इसेवाको सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुई लाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा जनसंख्याले सेवा लिइरहेका इसेवाले जनाएको छ । इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा ४ लाख भन्दा बढी मर्चेन्ट क्यू-आर सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।
भारतमा एक महिनामै ७१ लाख ह्वाट्सएप एकाउन्ट प्रतिबन्धित
एजेन्सी । विश्वव्यापीरूपमा लोकप्रिय सन्देश आदान–प्रदान सेवा ह्वाट्सएपले सेप्टेम्बर महिनामा भारतमा लगभग ७१ लाख १० खाता (एकाउन्ट) मा प्रतिबन्ध लगाएको छ । अमेरिकी टेक्नोलोजी कम्पनी मेटाद्वारा नियन्त्रित यो सेवाले आइटी नियमअन्तर्गत ती एकाउन्टमा प्रतिबन्ध लगाएको हो । ह्वाट्सएपले प्रयोगकर्ताबाट कुनै पनि रिपोर्ट प्राप्त गर्नुअघि तीमध्ये २५ लाख ७ हजार एकाउन्ट प्रतिबन्धित गरेको हो । ह्वाट्सएपले देशका लागि जारी गरेको मासिक प्रतिवेदनमा सेप्टेम्बरमा कम्पनीलाई गुनासो पुनरावेदन समितिबाट ६ वटा आदेश प्राप्त भएको र ती सबैको पालना गरिएको जनाएको छ । ह्वाट्सएपमा भारतीय एकाउन्टहरूको देश कोड ‘+९१’ द्वारा पहिचान गरिन्छ । प्रयोगकर्ता सुरक्षा रिपोर्टमा प्रयोगकर्ताबाट प्राप्त गुनासो र उनीहरूमा ह्वाट्सएपले चालेका कदमबारे जानकारी दिइएको छ । यसका साथै उक्त रिपोर्टमा यो मेसेजिङ प्लेटफर्ममा उत्पीडन रोक्नका लागि ह्वाट्सएपले उठाएका कदमका विवरण पनि समावेश गरिएको छ । ह्वाट्सएपले अगस्टमा पनि भारतका ७४ लाख एकाउन्टमा प्रतिबन्ध लगाएको थियो । तीमध्ये लगभग ३५ लाख एकाउन्ट ब्लक गरिएको थियो जबकि प्रयोगकर्ताले कुनै रिपोर्ट गरेका थिएनन् । रिपोर्टअनुसार सेप्टेम्बरमा ह्वाट्सएपले प्रयोगकर्ताबाट १० हजार ४ सय ४२ रिपोर्ट प्राप्त गरेको थियो । तीमध्ये प्रतिबन्धको पुनरावेदनसँग सम्बन्धित ७ हजार ३ सय ९६ रिपोर्ट थिए । भर्खरै ह्वाट्सएपले च्यानलहरूको सुविधा सुरु गरेको छ । यसमा प्रयोगकर्ताले आफ्ना फलोअरहरूसँग आफ्नै प्रसारण वा अपडेट साझेदारी गर्न सक्छन् वा उनीहरूको मनपर्ने ह्वाट्सएप च्यानल फलो गर्न सक्छन् । प्रधानमन्त्री नरेन्द्र मोदी पनि यो सुविधासँग जोडिएका छन् । उनको च्यानललाई लाखौं प्रयोगकर्ताले फलो गरेका छन् । यो सुविधा अर्को वर्ष लोकसभा चुनावअघि राजनीतिज्ञहरूलाई जनतासँग जोड्नका लागि एक महत्वपूर्ण माध्यम हुन सक्छ । यो एकतर्फी प्रसारण उपकरण हो । यसमा प्रयोगकर्ताले आफ्ना फलोअरलाई आफूसँग सम्बन्धित जानकारी पठाउन सक्छन् । तर, फलोअरहरूसँग सिधा कुराकानी गर्न सक्दैनन् । पाठ सन्देश, फोटो, भिडियो, स्टिकर र मतदान ह्वाट्सएप च्यानलमार्फत पठाउन सकिन्छ । यो सुविधा अपडेट नामक नयाँ ट्याबमा उपलब्ध छ । यो सुविधा एन्ड्रोइड, आइओएस र डेस्कटप प्रयोगकर्ताका लागि उपलब्ध छ ।