सिटी एक्सप्रेस ग्रुपले भूकम्प प्रभावितलाई २५ लाख सहयोग गर्ने
काठमाडौं । सिटी एक्सप्रेस ग्रुपले भूकम्प प्रभावितलाई २५ लाख सहयोग गर्ने भएकाे छ । सिटी एक्सप्रेस ग्रुपले जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार रातिको शक्तिशाली भूकम्पबाट प्रभावित भएकाहरुको लागि २५ लाख सहयोगको घोषणा गरेको हाे । भूकम्पको भयाबह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आमजनताको तत्काल खोज, उद्धार, घाइतेहरूको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुनस्र्थापनामा सहयोग पुगोस् भन्ने हेतुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिने भएको हो । शुक्रबार राति कर्णाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठुलो जनधनको क्षति भएको छ । प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाईतेहरुको स्वास्थ लाभको लागि कामना गरेकाे सिटी एक्सप्रेसले जनाएकाे छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।
राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय उद्योगी व्यापारीलाई लगानीका लागि आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन् । एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसीआई) को संयुक्त आयोजनामा दुई दिनसम्म चल्ने ३७औँ क्यासी सम्मेलनको आज यहाँ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो आह्वान गरेका हुन् । ‘नेपालमा लगानीका क्षेत्र बढ्दै गएका छन् र लगानी सहज बनाउनका लागि कानुन निर्माण भइरहेका छन्, म कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्दछु’, राष्ट्रपति पौडेलले भने ।राष्ट्रपति पौडेलले आर्थिक विकासको तीव्र चाहना बोकेको हाम्रो देशमा रहेको कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँग जोड्न लगानी र व्यापारका क्षेत्रमा धेरै अवसर रहेको धारणा व्यक्त गरे । ‘नेपाली विद्युत्को बजार अब भारत र बङ्गलादेश पनि बन्दैछ, विद्युत् व्यापारका क्षेत्रमा पछिल्ला दिनमा भएका प्रगतिले जलविद्युत्मा लगानी गर्न चाहने उद्यमीका लागि महत्वपूर्ण अवसर खुलेको छ । म नेपालको जलविद्युत्को क्षेत्रमा लगानी गर्न तपाईंहरू सबैलाई आह्वान गर्दछु’, उनले भने । सो अवसरमा राष्ट्रपति पौडेलले शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भइ गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको घटनाप्रति मानवीय भावसहित पीडितलाई सहयोग गर्न सबै उद्यमी, व्यवसायीलाई अपिल पनि गरे । उनले साना र मझौला उद्यम हाम्रो अर्थतन्त्रको मेरुदण्ड भएको धारणा राखे । ‘आधुनिक युगमा दिगोपन एक शब्दजाल मात्र होइन, यो हाम्रो भविष्यको आधारशीला पनि हो । साना र मझौला उद्यम अर्थतन्त्रका मेरुदण्ड हुन् । तिनीहरूले वृद्धि, नवीनता र रोजगारी सिर्जना गर्छन्’, उनले भने । राष्ट्रपति पौडेलले उद्यमशीलता भनेको व्यवसाय सुरु गर्नु मात्र होइन, यो नवप्रवर्तनलाई अँगाल्ने, विविधतालाई सघनीकरण गर्ने र हाम्रा समुदायले सामना गर्ने ठूला चुनौती समाधान गर्ने सबैभन्दा बलियो आधार भएको बताए । ‘तपाईंहरुले यो भावनालाई अगाडि बढाइरहनुभएको छ र बढाइरहनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु’, उनले भने । राष्ट्रपति पौडेलले दिगो उद्यमशीलता र व्यापार वास्तवमै समृद्ध र दिगो भविष्यका आधारशिला र अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएको बताए । ‘यसले आर्थिक वृद्धिलाई मात्र होइन, सीमापार सम्बन्ध निर्माण र कायम राख्न ऊर्जा प्रदान गर्दछन्’, राष्ट्रपति पौडेलले भने, ‘व्यवसाय क्षेत्रका सङ्गठनहरुले व्यापार सहज बनाउन प्रदान गर्ने मध्यस्थता, प्रक्रियाको डिजिटलाइजेसन र सञ्जालीय अवसरलगायतका सेवा व्यवसायलाई संसारसँग जोड्ने औँजार हुन् ।’ उनले उद्यमशीलता र व्यापारले विश्वव्यापी बहुपक्षीयतावादलाई सवलीकरण गर्न योगदान गर्ने र पारस्परिक लाभदायक सम्बन्धमार्फत् विश्वव्यापी शान्तिलाई बलियो बनाउन योगदान पु¥याउनेमा विश्वास व्यक्त गरे । नेपाल भौगोलिक रुपमा चीन र भारतबीच हुनु व्यापारका लागि रणनीतिक फाइदा भएको भन्दै उहाँले यो स्थितिले नेपाललाई ती विशाल उपभोक्ता बजारमा पहुँच स्थापित गर्न खोज्ने व्यवसायका लागि प्राकृतिक प्रवेशद्वार बनाउने बताए । ‘दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) लगायतका क्षेत्रीय व्यापार सम्झौतामा नेपालको सदस्यताले यस क्षेत्रका व्यापार साझेदारको विशाल सञ्जालमा व्यवसायलाई पहुँच प्रदान गर्दछ’, राष्ट्रपति पौडेलले भने । नेपालको श्रम बजारमा सक्रिय, अनुशासित र शान्तिप्रिय श्रमशक्ति अधिक भएको र यो दक्ष श्रम, नवप्रवर्तन र उद्यमशीलताको सम्भावना खोज्ने व्यवसायको लागि सम्पत्ति भएको उनको भनाइ थियो । उनले देशको बढ्दो मध्यम वर्ग एक उदीयमान उपभोक्ता बजार भएको भन्दै खुद्रा, उपभोग्य वस्तु र सेवालगायत विभिन्न उद्योगका लागि अवसर प्रस्तुत गरेको उल्लेख गरे । प्राकृतिक विविधतायुक्त नेपालले पर्यटन क्षेत्रको विकासको प्रचुर सम्भावना बोकेको छ र यसमा आज हुने लगानीले भोलि प्रतिफल दिनेमा उनले विश्वास व्यक्त गरे। सूचना प्रविधि, उत्पादनमूलक उद्योग, कृषिजन्य उद्योग नेपालमा सम्भावना भएका अन्य क्षेत्र भएकाले यी क्षेत्रमा पनि लगानी बढाउन उनले आग्रह गरे । सम्मेलनका विषय विश्वव्यापी चिन्ता मात्र नभइ नेपालको आर्थिक विकास र दिगोपनका लागि पनि उत्तिकै सान्दर्भिक रहेको उनको भनाइ थियो ।
भिजि फाउन्डेशनले भूकम्प पीडितका लागि २१ लाख सहयोग गर्ने
काठमाडौं । भिजि फाउन्डेशनले भूकम्प पीडितका लागि २१ लाख सहयोग गर्ने भएको छ । ‘शुक्रबारको मध्यरातमा पश्चिमको नेपालको जाजरकोट तथा रुकुममा गएको विनाशकारी भूकम्पबाट पु¥याएको मानवीय तथा संरचनागत क्षतिले हामीलाई अत्यन्त मर्माहित तुल्याएको छ । यस भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्ण नेपालीहरु प्रति श्रदाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दछौं ।’, फाउन्डेशनले विज्ञप्तीमा उल्लेख गरेको छ । साथै, फाउन्डेशनले घाईतेहरु सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विभिन्न संघ संस्थाहरुको हातेमालोको अपेक्षाको साथ प्रधामन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोगार्थ स्वरुप २१ लाख प्रदान गर्ने घोषणा गरेको छ ।
भाटभटेनीका गुरुङ दम्पतीले प्रधानमन्त्रीलाई हस्तान्तरण गरे ११११११११
काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पबाट क्षति भएकाको उद्धार र राहतका लागि भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङ दम्पतीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १ कराेड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उक्त चेक हस्तान्तरण गरेका हुन् । अध्यक्ष गुरुङले जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पमा ज्यान गुमाउने नेपाली दिदीबहिनीप्रति समवेदनासमेत व्यक्त गरे । प्रधानमन्त्री दाहालले भाटभटेनीका अध्यक्ष गुरुङले प्रदान गरेको चेक ग्रहण गर्दै सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए ।
पश्चिमी सीमा नाका गड्डाचौकी भएर आउने पर्यटक बढे
कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी भएर आउने पर्यटकको सङ्ख्या बढ्न थालेको छ । इस्वी सम्वत्काे अक्टोबर महिनासम्म आठ सय ८७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको डिसेम्बर महिनासम्म पाँच सय ४२ पर्यटक भित्रिएका थिए । गत वर्षभन्दा यस वर्षको अक्टोबरसम्म मात्रै तीन सय पाँच बढी पर्यटक भित्रिएका हुन् । कोरोनाको सङ्क्रमण घट्दै गएसँगै आवतजावतका लागि वातावरण सहज भएकाले विदेशी पर्यटक आउने क्रम बढ्दो रुपमा रहेको हो । भारतबाट स्थलमार्ग हुदै सीमा नाकाबाट भित्रिने पर्यटकमा फ्रान्स, इजरायल, रुस, संयुक्त अधिराज्य(युके), संयुक्त अधिराज्य अमेरिका, जापानलगायत युरोपेली मुलुकका रहेका छन् । गड्डाचौकीस्थित अध्यागमन कार्यालयका अधिकृत पदमराज भट्टका अनुसार सबैभन्दा बढी पर्यटक अक्टोबर महिनामा एक सय ६१ जना आएका छन् । गत जनवरीमा ३१, फ्रवरीमा ६३, मार्चमा एक सय ३७, अप्रिलमा एक सय १३, मेमा ८५, जुनमा ४५, जुलाईमा २०, अगस्तमा ३७ र सेप्टेम्बरमा एक सय ५५ पर्यटक भित्रिएका थिए। यसैगरी सन् २०२० मा छ सय २० र सन् २०२१ मा ५८ पर्यटक सीमा नाका भएर आएका थिए । सीमा नाका भएर बाहिरिने पर्यटकको सङ्ख्या भने शून्य रहेको छ । भारत सरकारले निश्चित नाकाहरुबाट मात्रै पर्यटक बाहिरिने अनुमति दिएकाले यस नाकाबाट बाहिरिने पर्यटक शून्य भएका हुन् । कोरोना महामारीको संङ्क्रमण पश्चात्(सन् २०२१ को डिसेम्बर देखि) सीमा नाका भएर भारततर्फ जाने पर्यटकलाई भारत सरकारले रोकेको उनले बताए। ‘सीमा नाका भएर भित्रिने पर्यटकमध्ये केही एकदिन महेन्द्रनगर बजार क्षेत्रका होटलमा बसेर अन्यत्र जाने गरेका छन्’ अध्यागमन कार्यालयका सूचना अधिकारी पदमराज भट्टले भने, ‘केही सिधै गन्तव्यमा जाने गरेका छन् ।’ उनका अनुसार अधिकांश पर्यटक पोखरा, काठमाण्डौ, लुम्बीनी, अछामको रामारोशन, खप्तड, बर्दिया, चितवन राष्ट्रिय निकुञ्ज घुम्नका लागि आउने गरेका छन् भने महिनामा एक दुई जना मात्रै पर्यटकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्नका लागि इच्छा जाहेर गर्ने गरेका छन् । ‘कुन गन्तव्यमा जाने भन्नेबारे विदेशी पर्यटकले आउनु अघि नै योजना बनाइसकेका हुन्छन्’ उनले भने, ‘सोही अनुसार उनीहरु होटेलमा बसेर तोकिएको गन्तव्यमा जाने मार्ग प्रयोग गर्ने गरेका छन ।’ भारत हुँदै यहाँ आइपुग्ने अधिकांश पर्यटकले भारतीय रुपैंया बोकेर आउने गरेका र भिसा दिँदा लाग्ने शुःल्क डलरमा लिइने भएकाले सटही काउन्टर नहुँदा डलर खोज्न झन्झट हुने गरेको छ । नेपाली नागरिकसंग वैवाहिक सम्बन्धमा बाँधिएका विदेशीको भिसा म्याद समाप्त भएको खण्डमा थप्न चाहे ९० डलर भिसा शुःल्क लिएर थप्न सक्ने अधिकार अध्यागमन अधिकृतलाई छ । यसैगरी पर्यटकले तोकेको समय अवधि पूरा गरी एक महिना अझै नेपालमै घुम्ने इच्छा जाहेर गरेमा तोकिएको भिसा शुःल्क लिएर म्याद थप्न सक्ने व्यवस्था रहेको सूचना अधिकारी भट्टले जानकारी गराए। उनका अनुसार वैवाहिक भिसाको म्याद थप्ने विदेशीहरूको सङ्ख्या केही वर्षदेखि बढ्दो रहेको छ । रासस
जबरजस्त हस्तक्षेपको खाँचो
अहिले हामी १६औं योजनाको तयारीमा छौं । हामीले आवधिकरूपमा बनाइरहेका आयोजनाहरू औपचारिक पाटो मात्रै हुन् । औपचारिकताले मात्रै नेपालको अबको विकास योजनाको सम्बोधन गर्न सक्दैन । यसका लागि जबरजस्त हस्तक्षेपको खाँचो छ । अर्थात् समग्रमा युगीन चेतना र ऐतिहासिक सापेक्षताको आधारमा परिस्थितिको मूल्याङ्कन गर्ने र त्यस आधारमा समस्याको पहिचान गरी समाधान खोज्ने बेला भएको छ । योजना निर्माणका आधारहरू पहिलो, आर्थिक समृद्धिको योजना बनाउनका निम्ति वैश्विकरूपमा युगको चेतना हुनुपर्याे । दोस्रो, वैश्विक परिवेशमा नेपालको स्थान के छ भन्ने बुझ्नुपर्याे । तेस्रो, नेपाली समाजकै आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिकबनोट र सम्बन्ध के–कस्ता छन् र त्यसले विकासमा के(कस्तो समस्या ल्याएको छ बुझ्नुपयो । चौंथो, सही नीति निर्माण नेपालको पिछडिएको अल्पविकसित अवस्थालाई चिर्न र विकासलाई तीव्र ढंगले अगाडि बढाउन कुन कुन क्षेत्रमा सचेतन ढंगबाट हस्तक्षेप गर्नुपर्छ ? कुनकुन नीति बनाउनुपर्छ ? कुन क्षेत्रलाई प्राथमिकता दिनुपर्छ भन्ने ढंगबाट हामी जानुपर्छ । यसरी हेर्दा सुरुमा हाम्रा नीति निर्माताहरूले विश्वको परिवेशमा हामी कहाँ छौं भन्ने बुझ्नुपर्याे । यसमा हामीले पर्याप्त बहस र छलफल गरेका छैनौं । भनिन्छ, विश्व २१ औं शताब्दीसँगसँगै नयाँ युगीन परिवर्तनको चौथो औद्योगिक कान्तिको युगमा प्रवेश गरेको छ । आजभन्दा पाँच सय वर्षअघिसम्म संसार कृषि प्रधान अर्थतन्त्र थियो । त्यहाँ वाणिज्य व्यापारका सामान्यरूपहरू मात्रै हुन्थे । त्यसबेला संसारका सबै देशहरू उस्तैउस्तै गरिबीको अवस्थामा थिए । पछिल्लो पाँच सय वर्षमा विभिन्न वैज्ञानिक क्रान्ति हुँदै पहिलो, दोस्रो र तेस्रो औद्योगिक क्रान्ति भयो । यसले आधुनिक प्रविधिको विकास गर्याे । उद्योगधन्दाको विकास र उत्पादकत्व बढायो, जसलाई हामी औद्योगिक युग भन्छौं । त्यसले संसारमा वस्तु र सेवाको अभूतपूर्व उत्पादन बढायो । यो आफैँमा पुँजीवादी उत्पादन प्रणालीमा बनेको हुनाले विभिन्न खाले असमानता ल्यायो र भीषण युद्ध, लडाइँ भए । त्यो पाँच सय वर्षको समय यसरी गुज्रियो । अहिलेको २१औं शताब्दीमा आइपुग्दा पुँजीवादी व्यवस्थाको व्यापक भूमण्डलीकरण भयो । जसले अर्थतन्त्रको चलायमानता, श्रमको चलायमानता, ज्ञान र प्रविधिको चलायमानताका कारण विश्व अन्तरसम्बन्धित भएर जोडिएको छ । मूलतः भूमण्डलीकृत पुँजीवादी विश्व हो । पुँजीवादमा अन्तरनिहित असमान र विषम विकासको नियम हुन्छ । त्यसले कुनैबेला कुनै क्षेत्र बढी विकसित हुन्छ भने कुनैबेला कुनै क्षेत्र । जस्तैः कुनै बेला युरोप विकसित भयो । दोस्रो विश्वयुद्धपछि अमेरिका विकसित भयो । अहिले पूर्वी एसियामा यो केन्द्र सरिरहेको छ । पुँजी र प्रविधि जहाँ केन्द्रित भयो पुँजीवादी विकास त्यही हुने हो । यसले स्वतः त्यहाँ एक प्रकारको द्वन्द्व र लडाई निम्त्याउँछ । अहिले संसारले नै पुँजीवादी भूमण्डलीकरणले सिर्जना गरेको असमानता, त्यसले निम्त्याएको प्रकृतिको वातावरणीय विनाश, आणविक हातहतियार, आर्टिफिसियल इन्टिलिजेन्सलगायतका प्रविधिले ज्याएको विभीषिका समेतलाई मध्यनजर गर्दै समग्र विश्व प्रणालीलाई नै उत्तर पुँजीवादी (पोस्ट क्यापिटालिस्ट) पुनसंरचना गरिनुपर्छ भन्ने विमर्श चलेको छ । २० औं शताब्दीमै कतिपय मुलुकहरू रुस, चीन आदिले उत्तरपुँजीवाद अर्थात् समाजवादको अभ्यास गर्न खोजेका थिए । तर त्यो बजार पुँजीवादको विकल्पमा राज्य पुँजीवाद मात्रै बन्यो । अहिले पुनः पुँजीवादको विकल्पमा नयाँ समाजवादको विमर्श भइरहेको छ । दोस्रो कुरा, यो युग परिवर्तन र वैचारिकरूपमा आएको नयाँपनलाई बुझेर नेपाल कहाँ छ भनेर पहिल्याउनु पर्याे । पाँच सय वर्षअघि विश्व जहाँ थियो, नेपाल अहिले पनि करिब करिब त्यही छ । कृषिप्रधान अर्थतन्त्रबाट औद्योगिक अर्थतन्त्रमा रूपान्तरण हुनै सकेन । पछिल्लो चरणमा राजनीतिक क्रान्ति गरेर हामीले परिवर्तनको ढोका त खोल्यौं तर आर्थिक सामाजिक रूपान्तरण औद्योगिक रूपान्तरणमा परिणत हुन सकेन । यही क्रममा तीव्र रूपमा भूमण्डलीकृत पुँजीवादको लहर आयो । अहिले पुँजीवादी विकासको केन्द्र हाम्रो दुई छिमेक भारत र चीन बनिरहेका छन् । यसले गर्दा नेपालको प्रागपुँजीवादी अर्थतन्त्र पूरे पुँजीवादी विश्व अर्थतन्त्र व्यवस्थासँग जोडिन पुग्यो । जसलाई अध्येताहरूले समग्र विश्व पुँजीवादको मुख्य केन्द्रको किनारा वा काँठ हामी भयौं पनि भन्छन् । गहिराइमा पुगेर हेर्याे भने उत्पादन सम्बन्ध, उत्पादक शक्तिको विकास उद्योगधन्दाको विकास अपेक्षित ढंगले भएको छैन । उत्पादकत्व बढेको पनि छैन । यहाँ त उल्टै श्रम पलायन हुने, तिनै श्रमिकले पठाएको रेमिट्यान्स खर्च गरेर विदेशी वस्तु ल्याएर उपभोग गर्ने जस्ता परनिर्भरता र असमान सम्बन्धले हामी बाँधिएका छौं । यो भनेको हाम्रो परिचायक अर्थ राजनीतिक चरित्र किनारा पुँजीवाद (पेरिफेरियल क्यापिटालिज्म)को हो । यो भनेको कस्तो हो भने उत्पादनशील पनि हुँदैन, उल्टै अनुत्पादक, परनिर्भर, परजीवी खालको पुँजीवाद हुन्छ । सीमित मान्छेहरूले त्यसको लाभ लिने र बहुसंख्यक जनता बञ्चित हुने अवस्था रहन्छ । आसेपासे पुँजीवाद मौलाउँछ । यस्तो अवस्थामा निम्नवर्गीय मानिसहरू श्रमको खोजीमा विदेश जान्छन् । मध्यमः वर्गीय परिवारका मानिस राम्रो अवसरको खोजीमा विदेश पलायन हुन्छन् । त्यसैले हामी झन्झन् पिछडिएका छौं । विश्वको औसत प्रतिव्यक्ति आय १३/१४ हजार डलर छ । यो हाम्रोभन्दा १० गुणा बढी छ । नेपालको प्रतिव्यक्ति आय १३/१४ सय डलरमा सीमित छौं । अझ हाम्रो हिमाल, पहाड र तराईको आयको असमानता हेयौ भने त झनै कमजोर स्थितिमा छौं । यसैले यो कटु यथार्थ बुझेर परनिर्भर विश्व किनारा पुँजीवादसँग जोडिएको नेपालको अवस्थालाई कसरी आत्मनिर्भर र अन्तरनिर्भर अर्थतन्त्रमा रूपान्तरण गर्ने भन्ने वैचारिक र नीतिगत खाका हामीसँग हुनुपर्दछ । तेस्रो कुरा, नेपालको वर्तमान अर्थराजनीतिक संरचनाबारे सही बुझाइ हो । जो अर्थनीति र राजनीति जोडिएको हुन्छ । राज्यको उपरी संरचना (सुप्पर स्टक्चर)सँग सामाजिक आर्थिक आधार अन्तरसम्बन्धित हुन्छ । त्यस हिसाबले राजनीतिको उपरी संरचना परिवर्तनका लागि लोकतान्त्रीकरण, संघीयताजस्ता परिवर्तन त भए तर त्यसको अपूर्णता रह्यो । त्यसले गर्दा अर्थतन्त्र चलायमान गराउने उपयुक्त नीति निर्धारण गर्नका लागि राजनीतिक उपरी संरचना अझै स्थिर प्रकृतिको बन्न सकेको छैन । तीव्र आर्थिक विकास र समृद्धिको मार्गचित्र बनाएर देश विकासमा अघि बढ्ने हो भने त्यसको अपूर्णतालाई चिरेर अघि बढ्न सही र स्थिर प्रकृतिको राजनीतिक नेतृत्व आउनु पर्दछ । न्यायालय, सुरक्षा निकाय सबै राज्यका निकायहरूको आधुनिकीकरण हुनुपर्छ । राज्यका अंगहरूको विकासमुखी रूपान्तरण हुनु पर्दछ । राजनीतिक स्थिरताका निम्ति अहिलेको शासकीय प्रणालीलाई बदलेर हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली र पूर्ण समानुपातिक व्यवस्थापिकामा जानुपर्छ । अहिलेको संघीयतालाई जातीय, क्षेत्रीय आधारमा मिल्नेगरी पुनसंरचना गरिनुपर्छ । यस्तै, वित्तीय संघीयतामा संघ, प्रदेश र स्थानीय तहको प्राकृतिक स्रोतको बाँडफाँट न्यायपूर्ण ढंगले गरिनुपर्छ । यही परिवर्तनसँगै मेल खानेगरी न्यायालय, सुरक्षा अंग र नोकरशाहीतन्त्रको विकासमुखी ढंगले रूपान्तरण गर्नुपर्छ । चौथो र सबैभन्दा महत्वपूर्ण कुरा भनेको अहिले तत्काल आर्थिक विकासका लागि समस्या भनेको हाम्रो राष्ट्रिय विकासको नीति कस्तो हुने भन्ने नीतिगत अस्पष्टता नै हो। किनभने हामी बहुदलीय लोकतान्त्रिक अवस्थामा छौं । फरक दल, फरक बुझाइ छन् । फेरि हाम्रो समाज बहुवर्गीय तथा जातीय र क्षेत्रीय विविधतायुक्त पनि छ । हामी लोकतन्त्रमा त गर्यो तर आधारभूत बुझाइमा सापेक्षितरूपमा एकता त हुनुपर्ने थियो । कांग्रेसले एकातिर तान्ने, कम्युनिस्टले अर्कोतिर तन्काउने, राजावादी भनेकाहरूले अर्कोतिर तान्ने र नयाँ उदय भएका नयाँशक्तिले पनि आफ्नै तन्काउने गरेर त हामी कतै पुगिन्नै । प्रमुख विकास नीति नेपालको आर्थिक विकासको नीति के हुने ? अहिले विश्वको तुलनामा हामी औसत १० गुणा पछाडि छौं । हामी कृषिप्रधान अर्थतन्त्रबाट भखरे संक्रमण मात्रै गर्दैछौं । औद्योगिक पुँजीवादको त विकास नै भएको छैन । अब त तीव्र गतिको फड्को हान्ने नीति लिएर हामी जानुपर्दछ । यो अवस्थामा यी सबै कुरालाई ध्यान दिएर नीतिगत कुरामा स्पष्टता आउनुपर्छ । एकथरीले उदारवादी वैचारिक धार लिएर सबै कुरा बजारलाई छोडिदिने, सबै ठीक भइहाल्छ भन्छन् । पुरानो कम्युनिस्ट धारले राज्यले सबै कुरा नियन्त्रण गरिनुपर्छ भन्छ । तर नेपालको सन्दर्भमा ती दुवै तरिका सम्भव हुन्नँ । पुँजीवादी व्यवस्थाको उत्कर्षमा पुगेका अमेरिका, युरोपले बजारमा जोड गर्ने हुन सक्छ । चीनलगायतका एकदलीय मात्रै शासनसत्ता भएको देशमा सबै राज्यले गर्ने भन्ने हुन सक्छ । तर, हामी भखरै बहुदलीय लोकतान्त्रिक प्रणालीमा प्रवेश गरेका छौं । अतः हामीले आफ्नै मौलिक ढंगको बजार, राज्य र समुदायको सन्तुलित भूमिका रहने अर्थनीति लिनुपर्छ । साथै नीतिगत रूपमा अन्तर्मुखी कि बहिर्मुखी नीति भन्ने दोधार पनि छ । हामी विश्व पुँजीवादसँग जोडिएको अर्थतन्त्र भएकाले आफू मात्रै सबै गर्छु र अरूसँग अलगिन्छु भन्ने पनि सम्भव हुँदैन । तर, अहिले जे भइरहेकछ त्यसैलाई खुला छोड्यौ भने हाम्रो परनिर्भरता भने बढ्छ । सुगौली सन्धियता नै नेपाल निरन्तर भारतीय अर्थतन्त्रको चेपुवामा परेको छ । यस्तो बेलामा खुला र बहिर्मुखी नीति मात्र लियौं भने भारतसँगको परनिर्भरता झनै बढेर जान्छ । यसबारे महत्वपूर्ण नीतिगत व्यवस्था भनेको भार तसँगको खुला सीमा नियमन गर्ने हो । उसको त्यत्रो ठूलो अर्थतन्त्र र हाम्रो यति सानो अर्थतन्त्र, उसको विकसित अर्थतन्त्र र हाम्रो अल्पविकसित अर्थतन्त्रलाई खुला छोडिदिएपछि जहिले पनि ठूलो चुम्बकले सानो चुम्बकलाई तानिहाल्छ । पोखरी र कुवालाई जोडिदिनु भयो भने त कुवा त पोखरीमा डुविहाल्छ । त्यस अर्थमा पनि यसको व्यवस्थापन हामीले गर्नपर्छ । पछिल्लो समय चीन जसरी उदीयमान अर्थतन्त्रको रूपमा आइरहेको छ । ऊसँगको हाम्रो कनेक्टिभिटी बढाउनुपर्छ । भलै हिमाली भूभाग र भौगोलिक कठिनाइका कारण ढुवानीको लागत महँगो छ । चीनसँगको भौगोलिक सहजता बढाउँदै लगेर उसको अर्थतन्त्रको लाभ पनि हामीले उठाउनुपर्छ । हामी दुई ढुंगाबीचको तरुलको रूपमा नभएर दुई देशबीचको पुलको रूपमा विकास गरिनुपर्छ । यसको अर्थ भारतसँगको सीमा बन्द वा नियमन गर्ने र चीनतर्फ फर्काउने भनेको होइन । अव्यवस्थित भारतीय खुला सीमा नियमन गर्ने र चीनतर्फ पनि पूर्वाधार विकास गरेर दुवै अर्थतन्त्रको मूल्य शृङ्खलामा जोडिएर दुवै देशको लगानी भित्रयाउने र नेपालको वस्तु उत्पादन गरेर दुवैतिर निर्यात गर्ने अवस्था सिर्जना गर्न सक्यौं भने यो सन्तुलनमा आउँछ । अहिले हामी पूरे बहिर्मुखी छौं, यसरी पनि हुन्न र पूरे अन्तर्मुखी मात्रै हुन्छु भनेर पनि हुन्न । हाम्रो अर्थतन्त्र धेरै पछाडि छ । पुँजी र प्रविधि हाम्रो आफ्नै पर्याप्त छैन । अर्को नीतिगत कुरा भनेको हामीले आफ्नो देशको भौगोलिक विशिष्टता र भोलिको चुनौती र सम्भावनालाई पनि हेर्नुपर्छ। नेपालको हिमाल, पहाड र तराईको भौगोलिक बनोट, प्राकृतिक सम्पदाको विविधता र पछिल्लो चरणमा उठेका पर्यावरणसम्बन्धी मुद्दालाई पनि ध्यान दिनुपर्छ । अहिले विश्वमा आधुनिकतावादी ढाँचामा ठूलो स्केलमा पूर्वाधार बनाउने, ठूला उद्योगधन्दा बनाएर जाने वा साना र मध्यम खालका उद्यम व्यवसाय गर्ने भन्ने खालको बहस छ । नेपालको हिमाल, पहाड़ र मधेश तराईका विविधताका कारणले ठूलो मात्रामा आधुनिकतावादी विकासबाट छिटो विकास त हुन्छ तर त्यसले पर्यावणरमा ठूलो विनाश ल्याउँछ । यसबाट समेत पाठ सिक्दै हाम्रो मौलिक बाटो बीचको बाटो अर्थात् आलोचनात्मक आधुनिकतावादी (क्रिटिकल मोर्डनिस्ट) बाटो हामीले अवलम्बन गर्नुपर्छ । कृषिप्रधान अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा रूपान्तरण गर्न विकासका ठूला सड़क, सिंचाइ, विमानस्थलजस्ता ठूला पूर्वाधार चाहिन्छ । यो तर त्यो बाटोले पर्यावरणमा हुने विनाश र वातावरणको सन्तुलन खल्बल्याउन दिनुहुन्न । अरूले गरेको गल्ती हामीले दोहोयाउनुहुन्न । त्यसैले ठूलासँगसँगै मध्यम र सानास्तरका आर्थिक गतिविधिको सन्तुलन मिलाउने र हिमाल, पहाड र तराईको विशेषताअनुसार फरकफरक आर्थिक गतिविधि गर्नेगरी जानुपर्छ । यससँगै वातावरणको संरक्षणमा ध्यान दिने र वैकल्पिक ऊर्जाको उपयोगमा पनि ध्यान दिनुपर्छ । यो बाटो भनेको आलोचनात्मक आधुनिकतावादी बाटो हुन्छ । त्यसैल यो महत्वपूर्ण नीतिगत प्रश्नमा हामी प्रस्ट हुनुपर्छ । अर्को महत्वपूर्ण नीतिगत कुरा, तीव्र विकास र वितरणको सन्तुलन मिलाउन पनि जरुरी छ । पुँजीवादीहरूको उत्पादन वृद्धि गरिदिएर सप्लाइमा जोड दिएपछि स्वतः नै माग सिर्जना पुन हुन्छ भन्ने मान्यता हुन्छ । कम्युनिस्टहरुको वितरणप्रधान नीतिले जति समाजमा चाहिन्छ त्यति मात्रै उत्पादन गर्ने भन्ने हुन्छ। हामी यसरी उत्पादनमुखी र वितरणमुखी भनेर बाँधिनु हुँदैन । हामीले युगअनुरूप वृद्धि, वितरण, दिगोपन र खुसीपनको चार आयामिक नीति लिनुपर्छ । तर पनि सबै एकै पटक बराबर गर्ने भन्ने त हुँदैन । शुरुमा मुख्य त वृद्धि र वितरणमध्ये कुनमा जोड दिने र कुनमा ध्यान दिने भन्नेमा हामी प्रष्ट हुनुपर्छ । सर्वप्रथम त हाम्रो प्रतिव्यक्ति आय उत्पादन नै कम छ । अहिले हाम्रो संसारको भन्दा १० गुणा कम प्रतिव्यक्ति उत्पादन भएका कारण कम्तीमा यसलाई १० गुणा बढाउने हगले दुई अंकको आर्थिक वृद्धिदर दुई दशक निरन्तर भन्ने नारा नै बनाएर उत्पादन बढाउने कुरामा जोड दिनुपर्छ । यसका लागि आन्तरिक पुँजी परिचालन, भ्रष्टाचारलगायतका फजुल खर्चमा नियन्त्रण गरी बचत र लगानी गर्नुपर्छ । तर यत्तिले मात्रै आवश्यक लगानी पुग्दैन । दुई अंकको आर्थिक वृद्धिका लागि प्रतिवर्ष जीडीपीको ४० प्रतिशत लगानी गर्नुपर्छ । यसरी हेर्दा अहिलेको ५० खर्व जीडीपीको २० खर्व प्रत्येक वर्ष विकास खर्च गर्नुपर्छ । जुन हाम्रो आन्तरिक स्रोतबाट पुग्दैन । त्यसैले नपुग्ने पुँजी र प्रविधि बाहिरबाट ल्याउनुपर्छ र त्यो विदेशी लगानी, सहुलियतपूर्ण ऋण आदि हुन सक्छ । यसो गर्न सकियो र क्षेत्रगत छनौट गरेर लगानी गर्न सक्यौं भने हामी तीव्र आर्थिक वृद्धि हासिल गर्न सक्छौं । सँगसँगै वितरणमा ध्यान दिइएन भने कुनै समुदाय र क्षेत्र जहाँको त्यही रहने र कुनै क्षेत्र र समुदाय मात्रै माथि उठ्ने हुन्छ । त्यसैले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको दायित्व राज्यले लिने र साना तथा मझौला उद्यम र व्यवसायका निम्ति सबैलाई वित्तीय पहुँच पुयाउनुपर्छ । जबकि अहिले बैंकमा थुप्रिएको रकम सीमित व्यक्तिको मात्र पहुँचमा छ । एकीकृत सामाजिक सुरक्षाको उचित प्रबन्ध गर्न सकियो भने निरपेक्ष गरिबीमा कोही पनि रहेदन यसरी सन्तुलन मिलाउनुपर्छ । यससंगसंगै पर्यावरणीय सन्तुलन तथा संरक्षण र भौगोलिक सुखसँगसँगै व्यक्तिको आर्थिक सुखको प्रश्नमा पनि ध्यान दिनुपर्दछ । योजना निर्माण यी चारवटा मूल पक्ष अर्थात् अन्तर्राष्ट्रिय ’परिवेश बुझने, दोस्रो नेपालको विश्वमा स्थानलाई बुझ्ने, तेस्रो, नेपालको आन्तरिक संरचना बुझ्ने चौथो, नेपालले अपनाउनुपर्ने बाटोबारे स्पष्ट भइसकेपछि बल्ल योजना बनाउने हो । हामी लोकतान्त्रिक व्यवस्थामा छौं । संघीयतामा पनि गइसकेका छौं । तर योजना बनाउँदा फेरि केन्द्रले नै सबै बनाउने तरिका पनि ठीक हुँदैन । त्यसैले योजना आयोगको अवधारणामा पनि सुनसंरचना गरिनुपर्छ । केन्द्रले मूल र संघका खास रणनीति बनाउनुपर्छ । जसमध्ये उपरोक्त चार वटा नीति केन्द्रबाट बन्नुपर्छ । रणनीति बनाउनु पर्छ । अनि क्षेत्रगत । हाम्रो कृषिप्रधान अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा विकास गर्न पूर्वाधारमै लगानी गरिनुपर्छ म प्रधानमन्त्री रहँदा राष्ट्रिय गौरवका आयोजना भनेर पूर्वाधारका १७ वटा योजना छनोट गरेको थिएँ । पछि त्यो महत्व नबुझी गैर पूर्वाधारका योजना पनि त्यसैमा हालियो । त्यसैले पहिलो भौतिक पूर्वाधारको रणनीति बनाउने, दोस्रो ऊर्जा र जलस्रोतको राष्ट्रिय रणनीति बनाउने, तेस्रो शिक्षा, स्वास्थ्य र विज्ञान प्रविधि, नवप्रवर्द्धनलगायतका क्षेत्रको राष्ट्रिय रणनीति बनाउनुपर्छ । चौथो, कृषि र वन नेपालको मुख्य सम्पदा भएका कारण यसको छिटो रूपान्तरण कसरी गर्ने भनेर योजना बनाउनुपर्छ । पाँचौं, औद्योगिक उत्पादनमा तीव्र वृद्धिका निम्ति उद्योग, पर्यटनको क्षेत्रको रणनीति बनाउनुपर्छ । भारत र चीनको मूल्य शृङ्खलासँग जोडेर विकास नीतिमा विशेष ध्यान दिनुपर्छ । छेटी, सामाजिक सुरक्षा र सामाजिक न्यायको प्रत्याभूति सबैलाई हुने रणनीति बनाउनुपर्छ । यसरी केन्द्रले प्रमुख रणनीति लिनुपर्छ । यसका निम्ति अधिकारसम्पन्न विकास÷समद्धि प्राधिकरण केन्द्रमा बनाउनुपर्छ । अहिलेको योजना आयोग आफैंमा कार्यकारी अधिकार नभएको निकाय भएका कारण यसको प्रभावकारिता त्यति छैन । अर्थमन्त्रालयसँग समन्वय गरेर केन्द्रको प्राधिकरणले नीतिनिर्माण गर्छ भने प्रादेशिक योजना आयोगले प्रदेशको विशेषताका आधारमा क्षेत्रगत योजना बनाउँछ । यसको कार्यान्वयन भने स्थानीय तहबाट गरिनुपर्छ। यसरी जान सकियो भने नेपालमा तीव्र गतिको विकास र समृद्धि हासिल गर्न सकिन्छ । नेपाली सपना यसर्थ मेरो आग्रह के हो भने हामीले अलिक ठूलो सपना देख्न सक्नुपर्याे । नेपाल राज्यको औचित्य के हो ? यसको विशेषता के हो ? यसको भोलिको सम्भावना के हो ? भनेर नेतृत्वले ठीक ढङ्गले बुझ्न नसक्दा र जनतालाई बुझाउन नसक्दा युवाहरू पलायन भएर गएका छन् । नेपाल भन्ने राज्य साढे दुई सय वर्ष पहिले निर्माण हुँदा विश्वका २०/२५ वटा स्वतन्त्र राज्यमध्ये हामी एक थियौं । दक्षिण एसियामा त हामी मात्रै स्वतन्त्र राज्य थियौं । यो कसैको लहडमा भएको त होइन । यसको पछाडि केही महत्वपूर्ण कारण र आधार छन् । नेपालको छुट्टै अस्तित्व रहनुका कारण दक्षिण एसिया र पूर्वी एसियाको बीचमा हाम्रो आफ्नै मौलिकतासहितको अवस्थिति हो । भौगर्भिक र भौगोलिक हिसाबले उत्तरको युरेसियन र इण्डियन प्लेटको बीचमा हिमाली क्षेत्र खडा भएको हो । जातीयरूपमा पनि दक्षिण अफ्रिकाबाट फैलिएको होमिसेपियन प्रजातिका सबै हाँगाबिँगाहरूको सङ्गमस्थल नेपाल हो । दक्षिणपट्टि अस्ट्रो–द्रविडहरूको बाहुल्य छ, उत्तरपूर्वमा मंगोलियनको बाहुल्यता छ भने पश्चिममा खसआर्यको बाहुल्य छ। यी तीनवटै प्रमुख धारको मिश्रण भएको नेपाली जाति जसलाई हिमाली सभ्यताभन्दा पनि हुन्छ । नेपाल हाम्रो छुट्टै मौलिक सभ्यता भएको ठाउँ हो । आर्थिक सम्भाव्यताको हिसाबले पनि हिमाल, पहाड र तराईको विविधतायुक्त हावापानी, साधन स्रोतको प्रचुरता, ऊर्जाको निम्ति जलस्रोतलगायतको सम्भावनाका कारण नेपालको भविष्य उज्वल छ । ज्ञान र सभ्याताका हिसाबले पूर्वीय कन्फुसियन सभ्यता र दक्षिणी आर्यन सभ्यातको पुलजस्तो ठाउँमा हामी छौं । मूलतः पहाड़ी जीवनमा बस्ने भएकाले लड्ने र सम्झौता गर्ने क्षमता र संस्कार नेपालीमा छ । यो राज्य यत्तिकै बनेको होइन । दक्षिणमा पहिले त मुगलका साम्राज्य भए, अंग्रेजका साम्राज्य भए तर हामी स्वतन्त्र रह्यौ । तिब्बत र चीनसँग पनि बेलाबखत भिडेकै हो । लडेर नै हाम्रो अस्तित्व रहेको हो । लड्दै र आवश्यकतामा पर्दा सम्झौता गरी यो मुलुक बनेको हो । २००७ सालदेखि माओवादी जनयुद्धसम्म लडेर सम्झौता गरेरे हामी आएका छौं । यसरी ऐतिहासिक भौगोलिक, सामाजिक, आर्थिक, राजनीतिक विशिष्टतासहितको नेपाललाई हामीले वस्तुगत ढंगले बुझ्नुपर्छ । नेपाल भन्ने देश स्वतन्त्र रहन्छ र यो समृद्ध बन्छ भन्ने विश्वास हामीमा हुनुपर्छ । अबको शताब्दी एसियाली शताब्दी भनिँदै छ । यो भनेको मूलतः भारत र चीन वरपर भनेको हो । अर्थात् झण्डै तीन अर्ब जनसंख्याको बीचमा हामी छौं । चीन पहिलो र भारत विश्वको तेस्रो अर्थतन्त्र हुने प्रक्षेपण गरिएको छ । यी दुई ठूला अर्थतन्त्रको बीचमा हामी शून्यता (भ्याकुम) मा रहन्नौ । उपयुक्त नीति लिन सक्यौ भने नेपाल चीन र भारतको बीचमा समृद्धिको गतिशील पुलको रूपमा रहन्छौं । यो शताब्दीमा नेपालको हिमाली भेगको वातावरणीय संरक्षण विश्वको ठूलो एजेण्डा बन्दैछ । त्यस हिसाबले भोलि हरित विकास (ग्रिन डेभलपमेन्ट) को मोडल नेपाल बन्न सक्छ । राजनीतिकरूपमा भारत, चीन र अमेरिकाको द्वन्द्व यस क्षेत्रमा जुन बढ्दैछ, यसमा कतैतिर पनि नलागी गतिशील सन्तुलन कायम गरिनुपर्छ । यस कममा वैचारिकरूपमा बुद्ध जन्मिएको देशबाट गतिशीत शान्तिवाद (डाइनामिक प्यासिफिजम) को सन्देश हामीले दिन सक्छौं । अर्कोतर्फ पूर्व र पश्चिमको ज्ञानको सङ्गम नेपाललाई बनाउन सकिन्छ । आईटी र एआईको प्रयोग आगामी दशकमा बढ्छ । त्यसलाई समेटेर ज्ञानको केन्द्रको रूपमा नेपाललाई विकास गर्न सकिन्छ । यसरी शान्तिको केन्द्र, ज्ञानको केन्द्र र हरित विकासको केन्द्रको रूपमा विकास गर्न सक्ने हो भने आउँदो शताब्दीको अन्त्यसम्म नेपाल हिजोको स्विट्जरल्याण्ड, सिंगापुरजस्तै बन्न सक्छ । यो सम्भावनालाई बुझेर नेतृत्वले ठोस योजना बनाउनुपर्छ र जनता र युवालाई दूरगामी सपना देखाउन सक्नुपर्छ । यो देशमा केही हुन्न भनेर हाम्रा युवाले देश छोड्नु पर्दैन । अहिले अल्पविकासको अवस्थामा रहे पनि अबको केही दशकमा तीव्र आर्थिक विकासको नीति लिएर अघि बढे नेपाल अवश्य समृद्ध बन्छ । यो देश छोडेर जाने होइन कि बाहिर गएकाहरू फर्केर यहाँ आउने छन् । वस्तुनिष्ठ सपना देखौ, नेपाल बनाऔं । (नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले प्रकाशन गरेको अर्थचित्रबाट साभार)
भूकम्प पिडितलाई नबिल बैंकको एक करोड सहयोग
काठमाडौं । नबिल बैंकले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत सामाग्री उपलब्ध गराएको छ । प्रभावित क्षेत्रको जनताको उद्धार तथा राहतको लागि बैंकले एक करोड रुपैयाँ बराबरको राहत सामाग्री वितरण गर्ने निर्णय गरेको हो । जिल्ला विपद् व्यवस्थापन समिती जाजरकोटद्वारा संचालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत कृष्ण सुबेदीले सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत हस्तान्तरण गरेका छन् । गत शुक्रबार मध्यरात जाजरकोटलाई केन्द्र बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा पश्चिम नेपालमा ठुलो धनजनको क्षति भएको थियो । प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्ने नबिल बैंकको आकस्मिक निर्णयसँगै राहत उपलब्ध गराइएको हो । प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाका अनुसार बैंकले खाद्यन्न, त्रिपाल, ब्लाङ्केट, औषधी लगायतका एक करोड बराबरको राहत सामाग्री उपलब्ध गराउने भएको छ । ‘हामीले भूकम्प प्रभावित क्षेत्रका जनताको घाउमा मलम लगाउन सहयोग पुगोस् भनेर यो राहत उपलब्ध गराएका हौँ, यो हाम्रो सामाजिक उत्तरदायित्व पनि हो’, उनले भने । उनले जाजरकोट र रूकुम पश्चिम दुवै क्षेत्रमा राहत सामाग्री उपलब्ध गराउने जानकारी दिए । राहत सामाग्री बोकेर नबिल बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत सुबेदी तथा रारा क्लस्टर प्रमुख तपेन्द्र कुँवर जाजरकोट पुगेका थिए । नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा भइरहेको दैविक प्रकोप पीडितलाई राहत उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, सोमबार तेजावी सुनको मूल्य पनि प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख १४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ । साथै, सोमबार चाँदीको मूल्य स्थिर रही प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।