भूकम्पपीडितलाई २५ लाख सहयोग गर्ने एकीकृत समाजवादीको निर्णय

<p>काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको उद्धार तथा राहतका लागि सरकारको राहत कोषमा रु. २५ लाख सहयोग गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको सचिवालयको बैठकले पार्टीका नेता तथा कार्यकर्ताबाट रकम संकलन गरेर भूकम्पपीडितलाई सहयोग गर्ने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार केन्द्रीय तथा प्रदेश [&hellip;]</p>

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको उद्धार तथा राहतका लागि सरकारको राहत कोषमा रु. २५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको सचिवालयको बैठकले पार्टीका नेता तथा कार्यकर्ताबाट रकम संकलन गरेर भूकम्पपीडितलाई सहयोग गर्ने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय तथा प्रदेश सरकारका मन्त्री, सांसद, जनप्रतिनिधि एवं राजनीतिक नियुक्ति भएका व्यक्तिबाट १५ दिनबराबरको पारिश्रमिक पार्टीको राहत उपचार कोषमा जम्मा गर्नुपर्नेछ ।

भूकम्म प्रभावित क्षेत्रको राहत र उद्धार कार्य व्यवस्थापन, आवश्यक सहयोग तथा अनुगमन गर्नका लागि पार्टीका उपमहासचिव प्रकाश ज्वाला संयोजक रहने गरी एक कार्यदल गठन गरेको छ ।

कार्यदलमा सांसद अमरबहादुर थापा, नन्दा चपाईं र धनबहादुर बुढा, प्रदेश सांसद कल्याणी खड्कालगायत रुकुमपश्चिम र जाजरकोट जिल्लाका पार्टी अध्यक्षसहितको टोली रहने प्रवक्ता खतिवडाले जानकारी दिए ।

पार्टी महाधिवेशन आगामी माघमा गर्ने टुंगोमा पुगेको प्रवक्ता खतिवडाले बताए। उनले यसको तयारीबारे छलफल नभए पनि अधिवेशन काठमाडौंमा गर्ने निर्णय भएको बताए ।

पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितको १५ जनाको टोली मंगलबार चीन भ्रमणमा जाने जनाउँदै प्रवक्ता खतिवडाले उक्त भ्रमणले दुई देशको कम्युनिस्ट पार्टीबीच घनिष्ट सम्बन्ध विकास गर्ने विश्वास व्यक्त गरे ।

आजको बैठकमा मेचीदेखि महाकाली हुँदै सुर्खेतसम्म १५ दिने ‘समाजवादी जागरण यात्रा’बारे समीक्षा भएको छ। रोजगारी, सुशासन र समृद्धिका लागि राजनीतिक दलको तर्फबाट पहिलोपटक एक हजार दुई सय किलोमिटर लामो यात्रा सफलतापूर्वक सम्पन्न गरेको बैठकले निष्कर्ष निकालेको छ ।

Share News