विकासन्युज

रुकुमपश्चिममा १६ हजार पाँच ७० घर पूर्णरूपमा क्षतिग्रस्त

रुकुमपश्चिम । भूकम्पका कारण रुकुमपश्चिमका छ स्थानीय तहका १६ हजार पाँच सय ७० घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले तथ्याङ्क सङ्कलन जारी रहेकाले यो सङ्ख्या बढ्नसक्ने बताए। नगरपालिका प्रमुख तथा गाउँपालिकाका अध्यक्षहरुले समितिको बैठकमा पेश गर्नुभएको प्रारम्भिक तथ्याङ्कअनुसार सबैभन्दा बढी आठबिसकोट नगरपालिकाका घरमा क्षति पुगेको छ । समितिका अनुसार आठबिसकोट नगरपालिकामा सात हजार एक सय ४८ घरमा पूर्णरुपमा क्षति पुगेको छ भने सानीभेरी गाउँपालिकाका तीन हजार एक सय ४६ घर पूर्णरुपमा र सात सय २२ घरमा आंशिक क्षतिग्रस्त बनेका छन् । चौरजहारी नगरपालिकामा एक हजार नौ ८७ घर पूर्ण र चार हजार तीन सय ७४ घरमा आशिंकरुपमा क्षति पुगेको छ भने मुसीकोट नगरपालिकामा दुई हजार तीन सय घर पूर्णरुपमा र तीन हजार पाँच सय घरमा आशिंक क्षति पुगेको छ । त्यसैगरी त्रिवेणी गाउँपालिकामा एक हजार नौ सय ३५ घर पूर्ण र एक हजार दुई सय ५८ घरमा आंशिक क्षति पुगेको छ भने बाँफिकोट गाउँपालिकामा १८ वटा घर पूर्ण र एक सय सात घरमा आंशिक क्षति पुगेको छ ।

राजश्व हिनामिना गरेको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व दुरुपयोग गरेको अभियोगमा मालपोत कार्यालय पर्साका अधिकृत हरिनारायण मिश्रसमेत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मालपोत कार्यालय पर्साको रजिष्ट्रेशन फाँटमा कार्यरत कर्मचारीको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजश्व नियमानुसार दाखिला नगरी हिनामिना गरेको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ । आयोगले मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रविरुद्ध दुई करोड नौ लाख ३१ हजार छ सय ४७ रुपैयाँ बिगो दावी गरेको छ । यस्तै, मालपोत अधिकृत भूपबहादुर बोगटीविरुद्ध एक करोड ४९ लाख ६९ हजार एक सय ४५ रुपैयाँ, मालपोत अधिकृत गोपालबहादुर ढुंगाना विरुद्ध ३५ लाख ४५ हजार नौ सय ५० रुपैयाँ, मालपोत अधिकृत पर्साका तत्कालीन अधिकृत पदमप्रसाद अर्याल विरुद्ध रु १६ लाख ८१ हजार छ सय बराबरको बिगो र कैदको माग दाबी गरेको छ । यस्तै, मालपोत अधिकृत चन्द्रबहादुर भण्डारीविरुद्ध दुई लाख ४४ हजार चार सय ६२ रुपैयाँ, तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारीविरुद्ध एक करोड ४१ लाख ४७ एक सय ७१ रुपैयाँ, तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्यायविरुद्ध पाँच करोड ५५ लाख १९ हजार नौ सय ७५ रुपैयाँ बराबरको बिगो र कैद दावी गरिएको आयोगले जनाएको छ । आरोपी सबैलाई कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। रासस

राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नाे १० दिने युरोप भ्रमण स्थगित गरेका छन् । राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले भ्रमण स्थगित गरिएको हो । गत शुक्रबार राति जाजरकोटमा गएको भूकम्पले देश संकट परेको असहज परिस्थिति भएकाले राष्ट्रपतिले भ्रमण नगर्ने निर्णय गरेको उनले बताए । फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जाने र त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने तालिका थियो । जाजरकोटमा गत शुक्रबार ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी १५३ जनाको ज्यान गएको थियो भने ३३८ जना घाइते भएका थिए ।

वायुसेवा निगमको संरचनागत सुधार प्रतिवेदन कार्यान्वयनका लागि समिति गठन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रतिवेदन कार्यान्वयन सुझाव समिति गठन गरेको छ । मन्त्रालयले वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय व्यवस्थापन समितिको प्रतिवेदन कार्यान्वयन सुझाव समिति गठन गरेको हो । दिपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा तयार पारिएको प्रतिवेदन कार्यन्वयनका लागि निगमका पूर्वमहाप्रवन्धक कुलबहादुर लिम्बुको संयोजकत्वमा समिति गठन भएको हो । समितिको सदस्यमा सञ्चारकर्मी टिकाराम राई,वायुसेवा निगमको सञ्चालक समितिमा मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सहसचिव र वायुसेवा निगमको प्रशासन महाशाखाको विभागीय प्रमुख रहने गरि समिति बनेको हो । पूर्वगर्भनर क्षेत्री संयोजक रहेको समितिले ५ महिना लगाएर वायुसेवा निगम सुधारका लागि व्यवसायीक र संरचनागत सुधारका लागि प्रतिवेदन तयार पारेको थियो । उक्त सुझाव कार्यन्वयनका लागि समिति तयार पारिएको मन्त्रालयले जनाएको छ ।

नेप्से २१.३० अंकले बढ्यो, कारोबार रकम ९३ करोड ८९ लाखमा सीमित

काठमाडाैं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । पछिल्लो साता निरन्तर घटेको बजार सोमबार भने २१.३० अंकले बढेकाे हाे । नेपाल स्टक एक्सेञ्ज (नेप्से) आज १८४७.५४ बिन्दुमा पुगेर रोकिएको छ । सोमबार कूल ९३ करोड ८९ लाख रुपैयाँबराबर कारोबार भएको छ। आज कारोबार भएकामध्ये १ सय ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ। आज हाथवे इन्भेस्ट नेपालको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य पनि ९.९३ प्रतिशतले बढेको छ। आज सर्वाधिक गुमाउनेमा लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन्। यस कम्पनीको सेयर मूल्य ४.२८ प्रतिशतले घटेको छ।

भूकम्पमा बाँचेकाहरु भन्छन् : भाग्यले बचायो, अस्पतालसम्म आइपुगेका छौँ अब त केही नहोला कि

  बाँके । ‘भूकम्प जाँदा घरमा हामी पाँच जना सुतिरहेका थियौँ । अचानक घर हल्लायो । सपना जस्तै लागेको थियो । उठ्न नभ्याउँदै घर भत्कियो । हाम्रो घर गल्र्यामगुर्लुम्मै ढल्यो । रुवाबासी मच्चियो । माथिबाट खसेको काठ तेर्सो परेको हुनाले हामी बाच्यौँ । आमा र दाई च्यापिनुभयो’, ओठ कपाउँदै अनि आँखभरि आँशु बनाउँदै आफ्ना पीडा सुनाइन् भेरी नगरपालिका–१ जाजरकोटकी यमुना रावलले । छब्बीस वर्षीया यमुनाको भनाइ अनुसार शुक्रबार राति भूकम्प जाँदा माथिल्लो दुई कोठामा आमा र ठूल्दाइ सुत्नु भएको थियो भने तल उनको तीन जना परिवार । भूकम्पले घर हल्लाउँदा यमुनालाई भने सपनामा आफू काँपेको झैँ लागेको थियो । जब अचानक घरको माथिल्लो भाग खस्यो त्यसपछि सबै घर भत्कियो । भाग्न नपाउँदै घरले उनको परिवारका सबै सदस्यलाई पुरिसकेको थियो । उनले थरथर ओठ कमाउँदै आफ्ना पीडा सुनाइन्, ‘हामी भाग्नै पाएनौं । म, मेरो श्रीमान र छोरालाई त माथिबाट खसेर तेर्सिएको काठले बचाएको हो ।’ शनिबार दिउँसो अस्पतालको प्राङ्गडमा बिरामी श्रीमान्लाई खाना बोकेर जाँदै गरेकी यमुनाले श्रीमान्को दाँहिने कोखामा काठले चोट लागेको बताइन् । भूकम्पमा परेर उनको दाँहिने टाउकोमा र दाहिने खुट्टामा पनि चोट लागेको छ । यमुना विस्तारै हिँडडुल गर्न सक्छिन् भने उनको श्रीमान्लाई नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको छ । छोरालाई खासै चोट नलागेको हुनाले यमुनाले छिमेकीको भरमा जाजरकोट नै छाडेकी छन् । एउटै घरमा साँझको खाना खाएर सँगै सुतेका आमा र दाइलाई गुमाउनु पर्दाको पीडाले सताएको त छ नै । नसोंचेको घटना भयो । आमा र दाइलाई गुमाउनु पर्दा असैह्य पीडा भएको यमुनाले रुँदै बताइन् । उनी भन्छिन्, ‘अस्पतालसम्म श्रीमान्लाई ल्याएर उपचार गराउन पाएकोमा उहाँलाई केही हलुको भएको छ । अब त उहाँलाई केही हुँदैन जस्तो लागेको छ ।’ छोरालाई अरुको जिम्मा लाएर आफू नेपालगञ्ज श्रीमान्को उपचारमा आएकी यमुनालाई भूूकम्पले अझै तर्साइरहेको बताउँछिन् । उनी बेलाबेलामा एकोहोरो हुने, डराइरहेको जस्तो देखिन्छिन् । नलगाड नगरपालिका–१ जाजरकोटका यादव महराको अवस्था पनि उस्तै छ । भूकम्पले गाउँमा धेरैको ज्यान गए पनि उहाँका परिवारका सबै सदस्य सकुशल नै छन् । छोराको टाउकोमा भने चोट भने लागेको छ । ‘भूकम्प जाँदा होश नै भएन । बचाउन त सबै परिवारलाई बचाएँ तर छोरालाई टाउकोमा चोट लाग्न पुग्यो । अस्पतालसम्म आइपुगेका छौँ । केही दिनमा ठीक होला भन्ने विश्वास छ’, उनी भन्छन्। छोरालाई पीडामा छट्पटाएको देख्न सकिरहेको छैन भन्छन् यादव । सानो छोरालाई चोट लाग्नुभन्दा बरु आफूलाई किन लागेन भन्दै अस्पतालको सिंढी बसेर रोइरहेका यादवले उपचारमा खटिएका चिकित्सकसँग जसरी भए पनि छोरालाई निको बनाइदिन आग्रह गर्दै गरेको दृश्यले सबैलाई भावुक बनाइरहेको हुन्छ । ‘‘भूकम्प जाँदा हामी सबैजना घरमै सुते पनि निदाएका भने थिएनौं । एक्कासी भूकम्प गएको क्षणभरमै घर भत्कियो । मैले चनाखो भएर भत्किएको घरबाट आफना बच्चाहरु र श्रीमतीलाई निकाल्न सफल भएँ । तर मेरा साढे तीन वर्षको छोरोलाई भत्किएको घरको ढुङ्गाले टाउकोमा चोट लाग्यो’ यादवले रुँदै छोरालाई लागेको चोटको कथा सुनाए । यादव जस्तै भूकम्पमा परी घाइते भएकाहरु अस्पतालभित्र अर्धचेत अवस्थामा शय्यामा छन् भने उनीहरुका आफन्तजन र परिवारका सदस्यहरु बाहिर घाइतेहरुको शिघ्र उपचारको आशामा पर्खाइमा छन् । यमुना र यादव जस्तै सुवर्णा शाह पनि आफ्नो २१ वर्षीया छोरी ईशा शाह पनि चाँडै निको भएर घर फर्कने पर्खाइमा छन् । ईशालाई भूकम्पले टाउको, घाँटी र हात खुट्टामा चोट लागेको छ । दसैँ मनाउन आमा सुवर्णासँगै जाजरकोट मामाघरमा गएकी ईशा आफ्नो सानी आमाका दुई दिदीबहीनीहरुसँगै रातिको खाना खाएर सुतेकी थिइन् । आफ्नो छोरी ईशासँगै बहिनीहरुका दुई छोरी पनि भूकम्पमा परी मृत्यु भएको सुवर्णाले भावविभोर हुँदै सुनाए । ‘हामी दसैँ मनाउन माइती गाउँ जाजरकोट गएका थियौँ । यही आइतबार फर्कने हाम्रो तयारी थियो । तर भूकम्पले हाम्रो परिवारको मुटु चुँडालेर गयो’, सुवर्णाले रुँदै पीडा पनि सुनाए । उनका एक छोरी र एक छोरी छन् । सपरिवार नै दसैँ मनाउन जाजरकोट गएका सुवर्णा र छोरालाई चोट लागे पनि छोरी ईशा भने गम्भीर घाईते भएको उनले बताए। ‘चोट त हामीलाई पनि लागेको छ तर धेरै चोट मेरी छोरीलाई लागेको छ । भगवान्सँगै छोरीलाई केही पनि नहोस्, उनलाई चाँडै निको भइदियोस् भनेर प्राथना गरिरहेको छु । भाग्यले उनलाई बचाएको छ । अब डाक्टरले पनि बचाई दिनु हुनेछ भन्ने आशा छ’, सुवर्णाले छोरीको मायमा रुँदै भने । चन्दा शाह पनि भूकम्पमा परी घाइते भएका श्रीमान् चाँडै नै निको हुने आशामा छिन् । भेरी नगरपालिका–३ खलङ्गा जाजरकोटका ४८ वर्षीय चन्दाका श्रीमान् विमलकुमार कार्कीको पनि दाँहिने खुट्टा भाँचिएको छ । विमल शनिबार बिहान भेरी अस्पतालमा उपचारका लागि पुगेका पहिलो बिरामी हुन् । परिवारबाट १० वर्षदेखि अलग बस्दै आएका कार्कीलाई उनकी पत्नी चन्दा शाह कार्कीले अस्पताल पु-याएकी थिइन्। चन्दालाई पनि यमुनालाई जस्तै श्रीमान्को रेखदेख गर्न र खानाको जोहो गर्न भ्याइनभ्याइ भएको छ । ‘भूकम्पले मेरो श्रीमान्लाई घाइते बनाएपनि त्यसको पीडा मलाई र मेरो चार सन्तानलाई अझ बढी भएको छ’, श्रीमती चन्दाले रुँदै भनिन्। विमल खलङ्गाको पीपलडाँडामा एक्लै बस्दै आएका थिए । भने चन्दा चार छोरीसँगै १० मिनेटको दूरीमा बस्ने गर्थिन्। आफ्नो परिवारको सहारा नै श्रीमान् भएको हुनाले भूकम्पमा परेर उनै श्रीमान् नै घाइते भएको हुँदा चन्दालाई आफ्नो परिवारमा ग्रहण लागे जस्तै भएको छ । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पमा परी घाइते भएका जाजरकोटबाट ३८ जनाको अहिले नेपालगञ्जको भेरी अस्पतालमा उपचार भइरहेको छ । अर्का एकजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । शुक्रबार एक जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । प्रजिअ पोखरेलका अनुसार शनिबार राति साढे बाह्र बजेसम्म थप छ जनालाई उपचारका लागि अस्पताल ल्याइएको छ । उपचाररत बिरामीको अवस्था सुधारोन्मुख र खतरामुक्त रहेको पनि उनले जानकारी दिए । प्रजिअ पोखरेलले हिजो शुक्रबार नै नौ जना डाक्टरको टोलीसहित आवश्यकीय औषधिहरु रुकुमको चौरझारीमा पठाइसकेको पनि बताए। भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालमा एक सय पाँच वटा शय्या तयारी अवस्थामा राखिएको छ । कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा रहन भनिएको छ । पर्याप्त मात्रामा डक्टर, नर्सिङ स्टाफ र अन्य आवश्यक सामग्रीको प्रबन्ध मिलाइएको छ । हेलिकप्टरबाट आउने बिरामीका लागि राझा बिमानस्थल र सैनिक ब्यारेकको हेलिप्याडमा दुई÷दुई वटा एम्बुलेन्स तैनाथ गरिएको छ । बिरामीलाई रगतको अभाव हुन नदिन केही पिन्ट रगत मौज्दात रहेको छ । अपुग भएमा ताजा रगत आपूर्तिको लागि रक्तदाताको व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ । समितिका अध्यक्ष शाहले अस्पतालको नयाँ भवनको भूइँतलामा भूकम्पबाट घाइते बिरामीलाई उपचार गर्न आवश्यकता अनुसार शय्या तयारी अवस्थामा राखिएको बताए । जाजरकोट र रुकुमपश्चिममा अहिलेसम्म डेढ सयभन्दा बढीले ज्यान गुमाएका छन् । रासस

साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई समेत १० बोरा चिनी दिने

काठमाडौं । तिहार तथा छठ पर्वका लागि सरकारले चिनीको आयात सहज बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निरन्तर पहलपछि साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि दिइने भएको छ । बजारमा चिनीको हाहाकार भएपछि उक्त कार्यालयले चिनी उत्पादक उद्योगसँग समन्वय गर्दै तीन हजार मेट्रिकटन चिनी साल्ट ट्रेडिङमार्फत किन्ने प्रबन्ध गरेको थियो । यसका साथै अवैधरुपमा भित्रिएको चिनीको खोजतलास गर्न उपत्यकाका तीनवटै जिल्लामा सुरक्षा निकायसँग समन्वय गरी विशेष अनुगमन टोली परिचालन गरिएका थिए । उक्त कार्यालयको समन्वयमा सबै निकायका प्रतिनिधि सम्मिलित उच्चस्तरीय अनुगमन टोलीले राजधानी काठमाडौंका विभिन्न स्थानमा अवैधरूपमा पठाइएका सयौँ बोरा चिनी बरामद गरेको थियो । उद्योगीबाट किनिएको चिनी साल्ट ट्रेडिङले आफ्ना ‘आउटलेट’, खुद्रा बिक्रेता सङ्घअन्तर्गतका केही पसल तथा खाद्य संस्थानबाट मात्रै बिक्री वितरण गरे पनि उपभोक्ताले लामो लाइन लाग्नुपर्ने अवस्था भएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा सबै खुद्रा व्यापारीलेसमेत १० बोरा चिनी बिक्री वितरणका लागि किन्न पाउने भएका छन् । यो चिनी प्रतिकिलो एक सय १५ रुपैयाँमा उपभोक्ताले किन्न पाउनेछन् । व्यापारीले तोकिएका निर्धारित मूल्यभन्दा बढीमा बेचेको खण्डमा भने कारबाही हुनेछ । खुद्रा व्यापारी तथा व्यवसायीले आजदेखि साल्टट्रेडिङको कालीमाटी शाखा र भोलिदेखि कोटेश्वर शाखाबाट चिनी किन्न पाउनेछन् । चिनीको संकट अन्त्य गर्दै सहजरूपमा चिनी उपलब्ध गराउन दसैँलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, वाणिज्य विभाग, खाद्य तथा गुणस्तर विभाग, आन्तरिक राजस्व विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च पदाधिकारीको बैठकले विभिन्न उपायमाथि छलफल गरेको थियो । यसअन्तर्गत हरेक दिन अनुगमनलाई प्रभावकारी बनाउने, अवैधरूपमा ल्याइएको चिनी बरामद गर्न विशेष अप्रेशन सञ्चालन गर्ने, नेपाली चिनी उद्योगमा मौज्दात रहेको चिनी उपभोक्ताका लागि बजारमा ल्याउन समन्वय गर्ने र भारतबाट चिनी आयातका लागिसमेत पहल गर्ने निर्णय भएको थियो । नेपाली चिनी उद्योगको संरक्षणका लागि सरकारले भन्सारमा ३० प्रतिशत महसुल निर्धारण गरे पनि चिनी उद्योगले भने उपभोक्ताका लागिभन्दा चिनी खपत हुने अन्य उद्योगका लागि चिनी बिक्री गर्ने गरेपछि संकट उत्पन्न भएको थियो । सरकारको पहलपछि अहिले बजारमा चिनीको अभाव नहुने भएको छ ।

राँझा विमानस्थलबाट आपतकालीन उडान

कोहलपुर । जाजरकोट र रुकुमपश्चिम भूकम्पबाट प्रभावित भएपछि पहाडी जिल्लामा राँझा विमानस्थलबाट आपतकालीन उडान भइरहेका छन् । विमानस्थलबाट शनिबारदेखि नेपाल एयरलाइन्सको जहाज र नेपाली सेनाको हेलिकप्टरले आपतकालीन उडान भरिरहेका छन् । सेनाको हेलिकप्टरले जाजरकोट र रुकुमपश्चिमबाट भूकम्पका घाइतेलाई उपचारका लागि नेपालगञ्ज ल्याउने र नेपालगञ्जबाट राहत सामग्री बोकेर प्रभावित क्षेत्रतर्फ लैजाने गरिरहेका नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ । सोही क्रममा विमानस्थलमा भारतीय वायुसेनाको जहाज आइतबार अवतरण गरेको छ । उक्त जहाजले ११ टन भन्दाबढी आपतकालीन राहत सामग्री ल्याएको थियो । उक्त जहाजमा त्रिपाल, कम्बल र सुत्ने डस्ना, झोला तथा आवश्यक औषधि, पोर्टेबल, भेन्टिलेटरलगायत सामग्री रहेका छन् । उक्त जहाजले ल्याएको आपतकालीन सामग्रीलाई सेनाको हेलिकप्टरमार्फत भूकम्प प्रभावित जिल्लाका बस्तीसम्म पु¥याइने छ । घाइतेको उपचार र राहत सामग्री ढुवानीका लागि केही दिनसम्म आपतकालीन उडान भर्नुपर्ने भएकाले विमानस्थलमा उडानको चाप रहेको विमानस्थल कार्यालयले जनाएको छ । घाइतेको उद्धार र राहत सामग्री बोक्न दैनिक हेलिकप्टर र जहाजले उडान भरिरहेका छन् । रासस